Blog

  • विप्लवको आशंका : के ‘अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बन्न लागेको हो ?

    विप्लवको आशंका : के ‘अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बन्न लागेको हो ?

    २ कात्तिक, काठमाडौं ।
    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा जेनजी आान्दोलनमा देखिएको टी‌ओबी समूहको संलग्नताप्रति आपत्ति जनाउँदै नेपालमा ‘अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बनाउन त खोजिएको होइन भन्दै शंका व्यक्त गरेका छन् ।

    पार्टीका निर्णय सार्वजनिक क्रममा उनले आइतबार यस्तो आशंका गरेका हु्न् ।

    उनले भने,’अहिले टीओबो भन्ने समूह देखिएको छ । हतियार देखाएको छ । अहिले अमेरिकाको प्रत्यक्ष हस्तक्षेप भएको छ । कतै अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बनेको त होइन ?’

    महासचिव चन्दले अहिले सविधान लेखन आयोग बनाउनुपर्ने बताए । उनले यस्ता व्यक्तिहरूमाथि सुशीला कार्की नेतृत्वको सरकारले छानबिन गर्ने हैसियत नराख्ने बताए

    विप्लवले सर्वपक्षीय अन्तरिम सरकारको माग समेत गरेका छन् । अन्तरिम सरकार खारेज अथवा यसैलाई टेकेर अन्तरिम सरकार बनाउनुपर्ने उनको माग छ ।

    ‘हामीले भनेका छौं सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ । त्यसमा जेनजीका प्रतिनिधिहरू प्रत्यक्ष सहभागी बन्नुपर्छ,’ उनले भने, ‘नेपालका उत्पीडित मजदुर, किसान, दलित, महिला, जनजाति, मधेश, पहाड, बुद्धिजिवी, वैज्ञानिक व्यवसायीहरू सहभागी हुनुपर्छ ।’

    सर्वपक्षीय सरकारमा राजनीतिक दलहरू पनि सहभागी हुनुपर्ने विप्लवले प्रस्ताव गरेका छन् ।

    उनले उच्च स्तरीय संविधान सुधार आयोग गर्ने र त्यस मार्फत संविधान संशोधन गर्नुपर्ने एजेन्डा पनि राखेका छन् ।

    ‘उच्च स्तरीय संविधान सुधार आयोग, संविधान संशोधन गरिनुपर्छ । शासकीय स्वरुप बदल्नुपर्छ,’ विप्लवले भनेका छन्, ‘पूर्ण समानुपातिक बनाउनुपर्छ, प्रत्यक्ष निर्वाचन हुने शासकीय स्वरुप निर्माण गरिनुपर्छ । अनि चुनावमा जानुपर्छ ।’

    उच्च स्तरीय भ्रष्टाचार छानबिन आयोग बनाएर जेनजी आन्दोलनको समेत माग पूरा गर्नुपर्ने उनले बताएका छन् ।

  • नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित

    नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित

    चितवन, कात्तिक २ –
    नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२-१७९)औँ समूहलाई प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले आज एक कार्यक्रमबीच दीक्षित गर्नुभएको हो ।

    दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले प्रहरी सङ्गठनको गरिमा बढाउँदै कर्तव्य निष्ठ भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सङ्गठनको गरिमालाई जोगाउँदै तालिममा सिकेका विषयलाई पालन गरी कर्तव्यमा लाग्न निर्देशन गर्दछु ।” जनतासँग प्रत्यक्ष काम गर्नुपर्ने भएकाले सङ्गठनप्रति इमान्दार हुँदै काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

    प्रहरीको उपस्थिति र इमानदारिताले मात्र पनि आमनागरिकले सुरक्षाको प्रत्याभूति गर्ने भन्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीको उपस्थितिलाई निश्चित समयको बसाइभन्दा पनि एक अवसरका रूपमा लिन आग्रह गर्नुभयो । प्रहरीको कर्म र धर्म नै नागरिकको सेवा हो भन्दै उहाँले देशका दुई हजार ६६० वटा युनिटमार्फत अभिछिन्न सेवा दिँदै आएको प्रहरी समाजका हरेक घटनाको पहिलो जवाफदेही भएकाले सोहीअनुसार काम गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।

    दीक्षान्त समारोहमा दीक्षित भएका विसं २०८१ मङ्सिर ७ गतेदेखि तालिममा सहभागी भएका थिए । ५३ जना महिलासहित ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका हुन् ।

    कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसी, शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्री, प्रहरी नायब उपरीक्षक अर्जुन केसीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । दीक्षान्त समारोहमा दीक्षित भएका परिवारका सदस्यको उपस्थिति थियो । रासस

  • हरित् निर्वाचनका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

    हरित् निर्वाचनका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

    काठमाडौँ, कात्तिक २ –
    आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पर्यावरणमैत्री अर्थात् हरित् निर्वाचनका रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीनितिक दलहरूसँग आग्रह गरेको छ ।

    आयोगले आधुनिक समयमा पर्चा, पम्पप्लेट र प्रदूषणमुक्त निर्वाचन गराई हरित निर्वाचन ९ग्रीन इलेक्सन० समयसापेक्ष हुने भन्दै यसका लागि आग्रह गर्दै राजनीतिक दलबाट सहयोग र सुझाव माग गरेको हो ।

    गत असोज ३० गते आयोगमा भएको राजनीतिक दलसँगको छलफलमा पनि प्रस्ताव गरिएको थियो । आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जैविक रूपले नष्ट नहुने वा वातावरणमा हानि पु¥याउने कागज, प्लाष्टिक, इन्धनजस्ता सामग्रीको न्यूनतम् प्रयोग गर्दै डिजिटल, दिगो र प्रदूषणमुक्त माध्यमबाट सम्पन्न गरिने निर्वाचनलाई ‘हरित निर्वाचन’ भनेर बुझ्नुपर्ने बताउनुभयो ।

    छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिहरूले उचित वातावरण बनेमा आफूहरूले निर्वाचनमा भाग लिने र निर्वाचनलाई पर्यावरणमैत्री बनाउने सवालमा सकारात्मक रहेको बताएका थिए ।

    आयोगले पर्यावरणमैत्री निर्वाचनका लागि विसं २०७९ को निर्वाचनमा पनि पहल गरेको थियो । रासस

  • नेपाल संवत्लाई नेपाली नोटमा समावेश गराइने

    नेपाल संवत्लाई नेपाली नोटमा समावेश गराइने

    भक्तपुर कात्तिक २ –
    यस वर्षदेखि नेपाली नोटमा नेपाल संवत्को मिति उल्लेख गरिने भएको छ ।

    शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल संवत् ११४६ नयाँ वर्षको दिन आगामी ५ गते बुधबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा शङ्खधर साख्वाःको शालिकमा हुने माल्यार्पण कार्यक्रममा त्यसको औपचारिक घोषणा गर्ने गरी सहमति भएको जानकारी दिइयो ।

    प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले प्रधानमन्त्रीसँगको छलफलमा त्यसबारे सहमति भएको र बुधबार औपचारिक घोषणा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल संवत् नेवारहरूको मात्रै होइन, सिङ्गो नेपाल र सबै नेपालीको आफ्नै मौलिक संवत् हो । यसबारेमा प्रधानमन्त्रीसँग छलफल भयो र बुधबारको कार्यक्रममा घोषणा गर्ने तयारी छ ।”

    अध्यक्ष श्रेष्ठले नेपाल संवत्को नयाँ वर्षको दिन बुधबार प्रधानमन्त्री कार्कीबाट कार्यक्रमको उद्घाटन भई शङ्खधर साख्वाको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

    प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले देश तथा विदेशमा शङ्खधर साख्वाःको योगदान, नेपाल संवत्को महत्त्व तथा यसलाई कार्यान्वयनमा ल्याउन पहल गरिरहेको र यस देश तथा विदेशका विभिन्न ठाउँमा शङ्खधर साख्वाःको शालिक स्थापना गर्ने काम भइरहेको बताउनुभयो । रासस

  • हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा

    हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा

    काठमाडौं कात्तिक २
    विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ ।

    इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा जोशीलाई श्रद्धाञ्जली दिन नेपालीहरू भेला भेला भएका हुन् ।

    इजरायली विदेश मन्त्रालयको घोषणाअनुरुप जोशीको शव नेपाल पठाउनुअघि विमानस्थलमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । जोशीको शव राखिएको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

    श्रद्धाञ्जली दिन विमानस्थल पुगेका इजरायलमा रहेका नेपालीहरू भावविह्वल देखिन्छन् । उनीहरूले पुष्पगुच्छा र खादा अर्पण गरेर जोशीलाई श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । श्रद्धाञ्जली सभामा इजरायली प्रशासनका अधिकारी र इजरायली नागरिकहरू पनि सहभागी देखिन्छन् ।

    पढ्दै कमाउने सपना बोकेर इजरायल पुगेका जोशीको हालै मृत्यु पुष्टि भएपछि घटनाले समग्र नेपालीजनमा पीडा दिएको छ । जोशीको शव भोलि सोमबार नेपाल ल्याउने तयारी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइनेछ ।

    सो विमान सोमबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।

    विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ ।

    अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए ।

    इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

    उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरुले बताएका छन् ।

  • गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत

    गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत

    चितवन, कात्तिक २-
    भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो ।

    भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको दोस्रो तलाको काम भइरहेको छ । प्याराफिट र टावरमा फर्मा र डण्डी बाँध्ने काम भइरहेको जनाउँदै उहाँले टावरको वाल निर्माण गर्ने कामसमेत भइरहेको बताउनुभयो । उहाँका अनुसार टावर तीन तलाको हुनेछ ।

    “प्यारापिटको पछाडिपट्टि कोठा निकाल्न ढलानको काम हुँदैछ । रङ्गशालामा चार वटा प्यारापिट र दुई वटा टावर रहेका छन्”, मिश्रले भन्नुभयो, “दैनिक १२२ जनाले काम गरिरहेका छन् । तिहार लागेसँगै मुस्लिम समुदायका २५-३० जनाले मात्र काम गर्नेछन् । छठपछि कामले तीव्रता पाउने छ ।” ठेक्का सम्झौताअनुसार यतिबेला ४८ प्रतिशत काम हुनुपर्नेमा सम्झौता गरेअनुरुप केही ढिलो भएको उहाँले बताउनुभयो ।धुर्मुस-सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरलाई उक्त परियोजना हस्तान्तरण गरिएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले रङ्गशाला निर्माणको जिम्मा पाएको छ । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको महानगरले जनाएको छ ।

    पहिलो चरणको काम सम्पन्न भएपछि यहाँ अन्तरराष्ट्रियस्तरका खेल आयोजना गर्न सकिनेछ । पहिलो चरणमा जम्मा १५ हजार जना दर्शक अट्ने प्यारापिट, दुई वटा भिआइपी टावर, मैदानसहित पाँच वटा पिच, ड्रेनेज (पानी निकास), रेलिङ, बाटो, पार्किङ क्षेत्र निर्माण गरिने महानगरका इञ्जिनियर मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार थप क्षमताका लागि दोस्रो चरणमा काम गरिनेछ ।

    त्रिभुवन विश्वविद्यालयका नाममा रहेर कृषि तथा वनविज्ञान विश्वविद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । यो भरतपुर महानगरपालिका–१५ मा पर्दछ । अन्तरराष्ट्रियस्तरका खेल खेल्न मिल्नेगरी रङ्गशाला निर्माण भइरहेको हो ।रासस

  • तिहारमा विद्युतको कमी हुँदैन, जति मन लाग्छ बत्ती बाल्नुस् :  प्राधिकरण

    तिहारमा विद्युतको कमी हुँदैन, जति मन लाग्छ बत्ती बाल्नुस् : प्राधिकरण

    काठमाडौँ कार्तिक २
    नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा लोडसेडिङ नहुने र ढुक्कसँग जति पनि बत्ती बालेर चाड मनाउन सकिने बताएको छ । उज्यालोको पर्व तिहारमा बिजुली आपूर्तिको कुनै समस्या नहुनेमा विश्वस्त रहन प्राधिकरणले आम उपभोक्तालाई आग्रह गरेको हो ।

    प्राधिकरणका अनुसार तिहारको समयमा उद्योगधन्दाहरू बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठुलो मात्रामा बिजुली बचत हुन्छ । जसलाई घरायसी प्रयोजनका लागि सहजै उपलब्ध हुन्छ ।

    प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार तिहारमा विद्युत् आपूर्तिमा समस्या हुँदैन । उनले भने– ‘पहिले तिहारको लक्ष्मी पूजामा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ । अहिले विद्युत् खेर जाने अवस्था छ, त्यसैले जति पनि प्रयोग गर्न सक्नुहुन्छ ।’

    उनले प्राविधिक समस्याबाहेक अन्य कारणले बत्ती नजानेमा ढुक्क हुन आग्रह गरे । तिहारमा उद्योगहरू बन्द हुँदा दैनिक करिब २०० देखि ३०० मेगावाट विद्युत् बचत हुनेछ । उक्त बिजुली सिधै घरायसी उपभोक्तालाई उपलब्ध गराइनेछ, जसले गर्दा बत्तीको माग बढे पनि आपूर्तिमा कुनै कमी हुनेछैन ।

    प्राधिकरणले विद्युत् आपूर्तिमा कुनै पनि किसिमको प्राविधिक गडबडी आउन नदिन कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । कुनै स्थानमा फल्ट भएमा तत्काल समाधान गर्न विशेष टोलीहरू तयारी अवस्थामा राखिनेछ ।

    कति हुन्छ तिहारमा विद्युत् माग ?

    विगतका वर्षहरूमा तिहारको समयमा, विशेषगरी लक्ष्मी पूजाको दिन, विद्युतको माग बढेर अधिकतम १६ सय मेगावाटसम्म पुग्ने गरेको थियो । यस वर्ष पनि सोही हाराहारीमा माग रहने प्राधिकरणको अनुमान छ । सामान्यतया तिहारमा साँझ ६ बजेदेखि ९ बजेसम्मको समयमा विद्युत् खपत ३० देखि ४० प्रतिशतसम्म बढ्ने गर्छ ।

    प्राधिकरणले विद्युत् प्रणालीलाई विश्वसनीय बनाउन नयाँ प्रसारण लाइन विस्तार, सबस्टेसनको स्तरोन्नती र पूर्वाधार थप्ने कामलाई निरन्तरता दिएकोले पनि यस वर्ष आपूर्ति थप भरपर्दो हुने विश्वास दिलाइएको छ ।

  • कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भन्यो– केन्द्रीय समितिको म्याद थप्न खोजिएको छ

    कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भन्यो– केन्द्रीय समितिको म्याद थप्न खोजिएको छ

    २ कात्तिक, काठमाडौं ।
    नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले अहिलेको केन्द्रीय समितिको म्याद थप्न नहुने बताएका छन् । केन्द्रीय सदस्य गुरु घिमिरे, मनोजमणि आचार्य लगायतले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय समितिको म्याद थपिने आशंका गर्दै त्यसो गर्न नहुने बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै आचार्यले समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्न खोजिएको आरोप लगाए ।

    उनले भने, ‘असोज २८ बाट प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको बैठक विनाकारण लम्ब्याउने, ढिला गर्ने र आगामी बैठक छठपछि अर्थात् कात्तिक १३ पछि मात्र डाकिएको र कहिले सकिने समेत टुङ्गो नभएकाले वर्तमान कार्यसमितिको मनसाय नै समयमा नियमित महाधिवेशन नगर्ने र केन्द्रीय कार्यसमितिको म्याद थप्नतर्फ उद्धत रहेको प्रष्ट देखिन्छ । वर्तमान केन्द्रीय कार्यसमितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ ।’

    राष्ट्रिय राजनीति अत्यन्त तीव्रताका साथ अगाडि बढिरहेको बेला बिलम्ब गर्ने, अल्मलिने र पार्टीको नयाँ नेतृत्व चयन गर्न ढिलाइ गर्ने छुट नभएको उनले बताए ।

    आगामी फागुन २१ गते नेपाल सरकारबाट घोषित प्रतिनिधि सभाको निर्वाचन अगावै पार्टी महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरी आगामी चुनावमा जानुपर्ने उनले बताए ।

    त्यही राष्ट्रिय आवश्यकता महसुस गरी विशेष महाधिवेशन माग गरिएको उनले बताए । ‘यसभन्दा उत्तम हामीसँग अर्को विकल्प छैन । तसर्थ यस मागप्रति गम्भीर रहन र कार्यान्वयनतर्फ अग्रसर रहनु अनिवार्य आवश्यकता रहेको व्यहोरा पुन: स्मरण गराउन चाहन्छौं,’ उनले भने ।

  • कस्तो रहला आज देशभरको मौसम ?

    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ कार्तिक २
    हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । राति भने देशभर मौसम मुख्यतया सफा रहने छ ।

    भोलि (सोमबार) भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

  • तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

    तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

    काठमाडौँ कार्तिक २
    आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ।

    तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन गाई तिहार र पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म मनाइन्छ।

    वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ। नेपाली समाजमा अझै पनि काग करायो भने पाहुना आउँछ भन्ने जनविश्वास रहेको छ। यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका मिठा परिकार अर्पण गर्ने चलन छ। ‘काकेन दधि भक्षितम्’ कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास छ।

    कागलाई नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने पनि मान्यता छ। त्यसैले आजको दिन कागलाई प्रसन्न पार्दै यमदण्डरूपी संकटबाट मुक्त रहोस् भनेर प्रार्थना गरिन्छ। यो पर्वले धार्मिक पक्ष मात्र नभई मानिस र जनावरबिचको सम्बन्ध, पक्षीप्रति कृतज्ञता, तथा प्रकृतिप्रतिको सम्मानको सन्देश पनि दिन्छ।

    कागोऽसि यमदूतोऽसि वायोसोऽसि माहामते ।

    ईहं बलिं गृहाण त्वां त्रायस्व यमसङकटात् ।।

    अर्थात तपाईँ कागको रूपमा हुनुहुन्छ, यमराजका दूत हुनुहुन्छ । तपाईँ वायुपतिका शक्ति (हवा वा गति) सँग सम्बन्धित हुनुहुन्छ । हे महामान्य व्यक्ति, हे बुद्धिमान् यहाँ म (दान/आहार/बलिदान) लिएर तपाईँलाई अर्पण गर्छु । मलाई यम (मृत्यु) का सङ्कटबाट मलाई बचाउनुहोस् भनी कागलाई सम्झनु पर्दछ वा खाना दिनु पर्दछ ।

    धर्मशास्त्र अनुसार यमराजले पृथ्वीमा रहेका सबै जीवहरूको जन्म मृत्युको विवरण राख्ने गर्छन्। सो विवरण ल्याउने र लैजाने कार्य कागले गर्छ भन्ने विश्वास आज पनि रहँदै आएको छ। आकाश मार्गबाट छिटो सन्देश ल्याउने र पठाउने क्षमताका कारण यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति पाइन्छ।

    त्यस्तै, अर्को धार्मिक किंवदन्ती अनुसार वैदिक कालमा असुरराज बलि अत्यन्त दानी राजा थिए, जसका कारण देवताहरू समेत त्रसित थिए। भगवान् विष्णुले वामन अवतार धारण गरी ब्राह्मणको भेषमा बलिसँग तीन पाउको स्थान माग्दा, उनले पृथ्वी, अन्तरिक्ष र अन्ततः आफ्नो शिर अर्पण गरेका थिए। विष्णुले बलिको दानशीलताबाट प्रसन्न भई उनलाई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म–पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ। यही अवधिमा तिहार पर्व मनाइने गरिन्छ।

    आजको दिन काठमाडौँको कागेश्वरी मनोहरा महादेव मन्दिरमा विशेष पूजा आराधना भइरहेको छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा तथा दर्शनका लागि भक्तजनको भीड लागेको छ।