Blog

  • तिहारमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

    तिहारमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

    काठमाडौँ, १ कात्तिकः
    यस वर्षको तिहारमा कुनै उल्लेखनीय ठुलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार जारी गरेको बुलेटिनअनुसार पहाडी भू–भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ ।

    महाशाखाले तिहारका विभिन्न दिनहरूका लागि जारी गरेको मौसमी पूर्वानुमान निम्नानुसार रहेको छः

    कार्तिक ३ गते (लक्ष्मी पूजा)

    लक्ष्मी पूजाको दिन देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

    कार्तिक ४ गतेः

    यस दिन पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना कायमै रहनेछ ।

    कार्तिक ५ गते (गोवर्धन पूजा)

    गोवर्धन पूजाको दिन देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

    कार्तिक ६ गते (भाइटीका)

    भाइटीकाको दिन कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाले तिहार अवधिभर सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि सचेत रहन आग्रह गरेको छ ।

  • नवलपुरमा दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते

    नवलपुरमा दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते

    नवलपुर, कार्तिक ०१
    नवलपुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको चोरमारा बजारमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छ्न ।

    पुर्व पश्चिम राजमार्गमा कावासोतीबाट नवलपरासी तर्फ जाँदै गरेको जिजे१४जेड ६४६ नम्बरको भारतिय बसले सोही दिशामा जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा परेर मोटरसाइकलमा सवार सर्लाहीको लालबन्दी नगरपालिका४ बस्ने अनिता चौधरीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन ।

    दुर्घटनामा परेर मृतक अनिता चौधरीका श्रीमान नरेश चौधरी र उनिहरुका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाईते भएका नवलपुर प्रहरीले जनाएको छ । घाईते नरेश चौधरी नेपाल प्रहरीमा कार्यरत सहायक हवल्दार हुन ।

    घाईतेहरुको अवस्था गम्भीर रहेको र उनिहरुलाई थप उपचारका लागि मेडिकल ईक्युप्मेन्ट सहित चिकित्सकको निगरानीमा चितवन मेडिकल कलेज पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

  • पार्टीको नेतृत्व छाड्न तयार छु: प्रचण्ड

    पार्टीको नेतृत्व छाड्न तयार छु: प्रचण्ड

    काठमाडौं, कात्तिक १
    नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पार्टी नेतृत्व छाड्न तयार रहेको बताएका छन्।

    अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी गर्दै छाड्न तयार रहेको बताएका हुन्।

    ‘कतिपय मानिसहरुले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन के बलिदान गर्न पर्छ गर्न तयार छु । आजै म तपाईहरुको अगाडि घोषणा गर्न चाहन्छु । देश बच्न पर्‍यो हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो,’ उनले भने।

     

     

  • कार्तिक कृष्ण त्रयोदशीः यमपञ्चक सुरु, घरघरमा यमदीपदान

    कार्तिक कृष्ण त्रयोदशीः यमपञ्चक सुरु, घरघरमा यमदीपदान

    काठमाडौँ, १ कात्तिकः 
    कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ ।

    यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टाछुट्टै दिनुपर्ने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो ।

    यमदीपदान गरी आज सुरु भएको तिहारको दोस्रो दिन आइतबार कागको पूजा गरी मीठामीठा खानेकुरा खान दिइन्छ । सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ ।

    चौथो दिन मङ्गलबार तिहारको कुनै कर्म नगरिने धर्मशास्त्रविद् प्राडा भट्टराईले बताउनुभयो । उहाँका अनुसार पाँचौँ दिन बुधबार गाईको पूजा गरिन्छ । यसै दिन गोवर्द्धनपूजा, बलिपूजा, हलितिहार, गोरुको समेत पूजा गरिन्छछ । छैटौँ दिन बिहीबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ ।

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित

    ललितपुर, १ कात्तिकः
    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गतेसम्म स्थगित भएको छ ।

    नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, नेपाल विद्यार्थी सङ्घका संस्थापक केन्द्रीय सदस्य एवं कांग्रेस बाराका पूर्वसभापति ऋषिकेश गौतमको ८४ वर्षको उमेरमा भएको निधनका कारण कात्तिक १३ गतेसम्म बैठक स्थगित गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो ।

    “आज बसेको केन्द्रीय समिति बैठकद्वारा पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित भएको छ ।

    कांग्रेस बाराका पूर्वसभापति ८४ वर्षीय गौतमको गत असोज ३१ गते राति ९ः१५ बजे काठमाडा पेप्सीकोलास्थित निजी निवासमा भएको निधनप्रति कार्यसमितिको बैठकले गहिरो दुःख व्यक्त गरेको छ”, मुख्यसचिव पौडेलले भन्नुभयो ।

    स्वर्गीय गौतम विसं २०३६ देखि २०४८ सम्म बारा जिल्लाको सभापति, २०४८ र २०५६ मा बाराको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित र कांग्रेस संसदीय दलको पूर्वसचिव हुनुहुन्थ्यो ।

    नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका आन्दोलनहरू र सङ्घर्षका क्रममा उहाँले पटकपटक जेलजीवन व्यतित गर्नुभएको थियो ।

  • नेकपा एमाले चितवनको सदभाव र्याली तथा जागरण अभियान (फोटो फिचरसहित)

    नेकपा एमाले चितवनको सदभाव र्याली तथा जागरण अभियान (फोटो फिचरसहित)

    चितवन, कार्तिक १ –
    नेकपा (एमाले) चितवनले शान्तिपूर्ण सद्भाव र्याली तथा जागरण अभियान सम्पन्न गरेको छ ।
    आज शनिबार पूर्वपश्चिम राजमार्गको सिक्स लेन स्थित गोन्द्राङबाट मोटरसाइकल र्याली सुरु भई, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, बाइपास रोडको विशाल चोक, मालपोत चोकमा आएर सम्पन्न भएको थियो । त्यसपछि मालपोत चोकबाट अस्पताल रोड हुँदै पैदल र्याली चौबिसकोठीसम्म आएर कोण सभामा परिणत भएको थियो ।

    र्यालीका क्रममा जेनजीको आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही गर, हत्या हिंसाको छानबिन गर, आगजनी र तोडफोड गर्नेलाई कारबाही गर, सचेत युवाको जायज माग पूरा गर, वीर शहिदहरु अमर रहुन्, संविधानको रक्षा गर, शान्ति सुरक्षा कायम गर, राष्ट्रिय एकता कायम गर, सामाजिक सद्भाव कायम गरौं, नेकपा एमाले जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद लगायतका नारा लगाइएको थियो ।

    चौबिस कोठीमा भएको कोण सभालाई एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए भने एमाले केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज जेएन थपलिया र एमाले चितवनका अध्यक्ष कमल राज पाठकले संवोधन गरेका थिए ।

    नेता थपलियाले कालापानी र लिपुलेक हाम्रो भूमि हो भनि केपी शर्मा ओलीले विदेशी मञ्चमा गएर पनि आवाज उठाउन थालेपछि षड्यन्त्र भएको बताए । जेनजीको आन्दोलनमा घुसपैठ तथा हाइज्याक गरी देशि विदेशी शक्तिहरुले देशमा अराजकता मच्चाएको उनको भनाइ छ । नेकपा एमालेलाई इतिहासमा पनि बेलाबेलामा आक्रमण हुने गरेको स्मरण गर्दै उनले यस्ता आक्रमणहरु बेलाबेलामा भए पनि पार्टी उठ्दै आएको बताए । यसपाली पनि त्यस्तै भएको बताउँदै नेता थपलियाले नेकपा एमाले पुनः जुरुक्क उठेर समृद्ध नेपाल सुखी नेपालीको अभियानमा लाग्ने बताए ।

    नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठकले एमाले चुनावबाट नभाग्ने बताएका छन् । तर यो सरकार चुनाव गर्ने पक्षमा नरहेको उनले तर्क गरे । उनले जेनजी आन्दोलनमा देश विरोधी देशि, विदेशी शक्तिहरुले घुसपैठ गरी अराजकता मच्चाएको बताए । ‘नेकपा एमाले सत्य छ, सही छ र जनताको पक्षमा छ, यो राष्ट्रको पक्षमा छ, सार्वभौम सत्ताको पक्षमा छ’ भन्दै अध्यक्ष पाठकले कोण सभालाई समापन गरे ।

    फोटोफिचर :

  • अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोडको क्षति

    अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोडको क्षति

    बुटवल, कात्तिक १-
    रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ स्थित भैयाटोल (चित्रगुप्त पथ) मा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको हो ।

    विद्युत सट भएर आज (शनिबार) बिहान न्यू जय अम्बे अगरबत्ती तथा पुजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको थियो । आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेशिन, सिसिटिभी क्यामेरा, कम्प्यूटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । उद्योगका सञ्चालक श्रीराम गुप्ताले आगलागीबाट करिब २ करोड ३२ लाख बढी मूल्य बराबरको क्षति भएको बताए ।

  • अपडेटः नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटनामा परेका २१ घाइतेको पहिचान खुल्यो

    अपडेटः नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटनामा परेका २१ घाइतेको पहिचान खुल्यो

    चितवन, कार्तिक १–
    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सवारी दुर्घटनामा परेका २१ जना घाइतेको पहिचान खुलेको छ । घाइते हुनेमा अधिकांश नवलपरासी वर्दघाट पुर्वका रहेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ७ः१५ बजे सात सवारीसाधन एकअर्कासँग ठक्कर खाएका थिए । भरतपुर महानगरपालिका–२९ स्थित गाईघाटमा मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस ठोक्किएका थिए। त्यस बसको पछाडि लस्करै रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, बा.प्र– ०६–००१ ग ०४८४ नम्बरको विद्युतीय माइक्रो, ग २ ख १६२६ नम्बरको बस, त्यसपछाडिको ना ३ च ३२५६ नम्बरको बलेरो र बिएबि ८४७० नम्बरको कार ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    घाइतेको उपचार भरतपुरका विभिन्न अस्पतालमा भइरहेको छ । अहिलेसम्म नेशनल सिटी अस्पतालमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना, जनता केयर अस्पतालमा ४ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइत मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । तनहुँको देवघाट गाउँपालिका ५ स्थित ५२ वर्षिय युवराज साखी, सोही ठाउँका सर्मिला साखी, अर्चना साखी, हेटौँडा उपमहानगरपालिका ७का अजय स्याङताङ रहेको छन् । यस्तै नवलपरासी (बर्दघाट सुस्ता पश्चिमका) ३२ वर्षिय प्रकाश पाण्डे, पवित्रा पाण्डे, सोही ठाउँका प्रज्ञा पाण्डे, आसुतोष पाण्डे, कलस पाण्डे, पुष्पा भण्डारी, चितवनको खैरहनी नगरपालिका–२की कृपा नेपाल, केदार नेपाल, काव्य नेपाल, जुना तामाङ, रत्ननगर नगरपालिकाकी सरु चेपाङ, इस्मिरिका राना मगर, काठमाडौँकी १८ वर्षिय कला दुर्लाकोटी रहेका छन् । उनीहरुको उपचार नेशिनल सिटि अस्पताल भरतपुरमा भइरहेको छ । उनीहरु मध्ये जुना र सरुको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।
    यस्तै नवलपरासी बा ४ ख ७४२० नं. को बसमा सवार नवलपरासी स्थित कावासोतीका श्रीराम रानाभाट, पार्वती रानाभाट, निशान रानाभाट, विपिन्सा रानाभाट घाइते भएका छन् । उनीहरुको उपचार जनता केयर अस्पताल मुग्लिङमा भइरहेको छ । सडक दुर्घंटना भएर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

  • राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

    राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

    १ कात्तिक, काठमाडौं ।
    राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् ।

    सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति पौडेलको छलफल चलिरहेको शीतलनिवासले जनाएको छ ।

    ‘सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल भइरहेको छ,’ शीतलनिवास स्रोतले भने ।

    छलफलका विषयका बारेमा भने केही खुलाइएको छैन ।

  • नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँः मन्त्री घिसिङ

    नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँः मन्त्री घिसिङ

    काठमाडौँ, कात्तिक १ –
    सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।

    कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उहाँले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

    मन्त्री घिसिङले विद्युतीय सवारीसाधन, चार्जिङ स्टेसनजस्ता ‘इ—मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिनुभयो ।

    “ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र नगरपालिकासँगको साझेदारीमा लगानी परिचालन गरिने यस कोषबाट फोहर व्यवस्थापन र ऊर्जा उत्पादनजस्ता परियोजनामा लगानी गर्न सकिन्छ । त्यसको सम्भाव्यता अध्ययन गरौँ । अब लगानी गर्नुपर्ने तथा लगानी गर्ने क्षेत्राधिकारलाई अझ विस्तार गर्नका लागि आवश्यक कानुनी प्रबन्ध गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो ।

    हाल हरित जलवायु कोषबाट मान्यता प्राप्त हुने क्रममा रहेको र मान्यता प्राप्त भएपछि कोषलाई हरित ऊर्जासम्बन्धी परियोजनामा लगानीका लागि ठूलो आर्थिक अनुदान सहयोग उपलब्ध हुने मन्त्री घिसिङको विश्वास थियो ।

    कोषका कार्यकारी निर्देशक विनोदप्रकाश पण्डितले कोषकोे वित्तीय स्रोतका रूपमा रु सात अर्ब स्वःपुँजी ९इक्विटी० रहेको, एसियाली विकास बैंकमार्फत रु पाँच अर्ब १९ करोड, विश्व बैंकबाट रु १२ करोड र नेपाल सरकारबाट रु दुई अर्ब ऋणका रूपमा प्राप्त भएको जानकारी दिनुभयो । कोषले रु १६ अर्ब ऋण प्रवाह गरेको उहाँले बताउनुभयो ।

    कोषले सहरी पूर्वाधार आयोजनामा वित्तीय (ऋण-अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । कोषबाट नगर क्षेत्रमा बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माणलगायत क्षेत्रमा लगानी भइरहेको छ । हालैको ‘जेनजी’ आन्दोलनका कारण क्षति भएका नगरका भवनको पुनर्निर्माणमा कोषलाई परिचालन गर्न सकिनेबारे पनि त्यसअवसरमा छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । रासस