Blog

  • युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते

    युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते

    नैरोबी ।

    युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको र धेरै घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटना मध्यरातपछि कम्पाला–गुलु मोटरवेमा भएको हो ।

    प्रहरीद्वारा सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार दुर्घटना ‘ओभरटेक गर्ने क्रममा’ भएको हो । चालकहरू मध्ये एकले ठक्करबाट जोगिन प्रयास गर्दा बस पल्टिएको र त्यसपछि ‘चेन रियाक्सन’ स्वरूप अन्य चार सवारीसाधन समेत नियन्त्रण गुमाई पटक–पटक पल्टिएको उल्लेख गरिएको छ ।

    घटनामा संलग्न सवारीसाधनका सबै यात्रुसहित ६३ जनाको मृत्यु भएको पुष्टि भएको छ’, विज्ञप्तिमा भनिएको छ । प्रहरीका अनुसार धेरैजना गम्भीर घाइते भएका छन्, जसलाई किर्‍यान्डोङ्गो अस्पताल तथा नजिकका अन्य स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ । यद्यपि, घाइतेहरूको सङ्ख्या र अवस्थाबारे विस्तृत विवरण तत्काल उपलब्ध नभएको प्रहरीले जनाएको छ

    युगान्डामा यसअघि पनि ओभरटेकका कारण हुने ठूला सवारी दुर्घटनाहरूले मानवीय क्षतिको दोहोरो सङ्ख्यामा वृद्धि गरिरहेको भन्दै प्रहरी प्रवक्ताले सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

  • विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायली राजदूतको भनाइ

    विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायली राजदूतको भनाइ

    काठमाडौँ, कात्तिक ५ –
    गाजामा हमासको नियन्त्रणमा रहँदा नेपाली विद्यार्थी विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायलले जानकारी दिएको छ ।

    जोशीको पार्थिव शरीर इजरायल हुँदै नेपाललाई हस्तान्तरण गरेसँगै उनको परिवारले मंगलबार दाहसंस्कार गरिसकेको छ । सुदूरपश्चिमको कञ्चनपुरमा आयोजित दाहसंस्कार कार्यक्रममा सहभागी नेपालका लागि इजरायली राजदूत स्मूलिक एरी बासले जोशीको टाउकोमा गोली हानेर हमास समूहले हत्या गरेको बताएका हुन् ।

    कञ्चनपुरमा बीबीसीसँग कुरा गर्दै राजदूत बासले फोरेन्सिक ल्याबको परीक्षणबाट जोशीको टाउकोमा गोली लागेको देखिएको बताए । जोशी जीवितै छन् भन्ने सबैलाई लागेको भए पनि हमासले नियन्त्रणमा रहेकै बेला उनको हत्या गरेको दाबी गर्दै राजदूत बासले विधिविज्ञान परीक्षणको प्रतिवेदनबाट पनि विपिनको टाउकोमा गोली प्रहार भएको पुष्टि भएको बताए ।

    शोकमा रहेका परिवारलाई भेटेपछि राजदूत बासले विपिन जोशी साहस एवम् इजरायल-नेपाल सम्बन्धका प्रतीकका रूपमा रहने बताएका थिए ।

    इजरायलले जोशीलाई युद्धको आक्रमणमा नभई बन्धक बनाएर गोली हानी हत्या गरिएको दाबी गरेको छ । इजरायलको यो दाबीबारे हमासले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

  • तिहार सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि

    तिहार सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि

    काठमाडौँ, कात्तिक ५ –
    हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ ।

    रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    तिहारको चहलपहल सुरु भएसँगै उपत्यकाका मुख्य नाकामा यात्रु बाहिरिने क्रम बढेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तिहार सुरु भएसँगै काठमाडौँका विभिन्न नाकाबाट ४४ हजार ५०९ जनाले उपत्यका छाडेका छन् र ३१ हजार १२ जना भित्रिएका छन् ।”

    उपत्यका ट्राफिक प्रहरी कार्यालयको तत्थ्याङ्कअनुसार नागढुङ्गा नाका सबैभन्दा व्यस्त नाका देखिएको छ । सो नाकाबाट मात्रै १८ हजार ९२० यात्रु उपत्यका बाहिरिएका छन् । यसैगरी थानकोट नाकाबाट २८५, तिनपिप्लेबाट ८४५ र साँखु नाकाबाट ६९२ जना उपत्यका बाहिरिएका छन् ।

    चाडपर्वमा हुनसक्ने ट्राफिक जाम, सवारी दुर्घटना र यात्रु ठगीजस्ता घटनालाई न्युनिकरण गर्न विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरिएको प्रवक्ता सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “नाकाहरुमा ट्राफिक चेकपोइन्ट सक्रिय बनाइएको छ भने लामो दूरीको सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने गरी निगरानी गरिँदैछ ।”

    सार्वजनिक यातायातमा यात्राको सहजतालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले यात्रुलाई सवारीसाधनको अवस्था जाँच गरेर मात्र यात्रा थाल्न सुझाव दिनुका साथै कुनै समस्या वा ठगी भएमा तत्काल ट्राफिक प्रहरीको हेल्पलाइन १०३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

  • नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यहार गर्ने ३ जना पक्राउ

    नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यहार गर्ने ३ जना पक्राउ

    काठमाडौं, कात्तिक ५-
    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक प्रदीप अधिकारीमाथि आक्रमणको प्रयासमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा अन्दाजी ३२ वर्षीय हेम तामाङ, श्रीजन अधिकारी र ३८ वर्षका कोकिलबहादुर शाही छन्।

    उनीहरू तीन जनाले सोमबार राति साढे ५ बजेतिर ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्सको गेट अगाडि प्रदीप अधिकारीको गाडी रोकेर हातपातको प्रयास गरेका थिए।

    उनीहरूले प्रदीप अधिकारीको गाडी अगाडि स्कुटर रोकेको प्रहरीले जनाएको छ। पछि हल्ला भएपछि श्रीजन स्कुटर त्यहीँ छाडेर भागेका थिए।

  • महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

    महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

    ५ कात्तिक, काठमाडौं।
    प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २१ वर्षीय सोङ गुरूङलाई पक्राउ गरेको हो।

    सोङ काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेका हुन्।

    भदौ २४ गते आन्दोलन क्रममा महाराजगन्ज वृत्तमा प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या भएको थियो।

    प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी समेत गरेका थिए।

  • केपी ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग

    केपी ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग

    ५ कात्तिक, काठमाडौं-
    नेकपा एमालेले पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग गरको छ ।

    मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको सर्वदलीय बैठकमा एमालेका नेताहरूले यस्तो माग गरेका हुन् ।

    उक्त बैठकमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीव ज्ञवाली सहभागी थिए।

    महासचिव पोखरेलले सर्वदलीय बैठकमा रहेका विषयहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

    जसमा पार्टी अध्यक्ष ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग गरिएको उल्लेख छ।

  • तोकिएको समयमै निर्वाचन हुनुपर्छ: प्रचण्ड

    तोकिएको समयमै निर्वाचन हुनुपर्छ: प्रचण्ड

    धनुषा, कार्तिक ०५-
    पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्।

    जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन्।

    नेकपा माओवादी केन्द्रका संयोजक रहेका प्रचण्डले सरकारले हिजो संसदीय दलहरूसँग गरेको वार्ताले सरकार बिस्तारै निर्वाचनप्रति गम्भीर हुँदै गएको आभास दिए पनि अझै निर्वाचनको वातावरण नबनिसकेको बताए।

    उनले अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेपछि निर्वाचनमै केन्द्रित हुनुपर्ने निर्णय गर्ने पहिलो पार्टी माओवादी केन्द्र बनेको स्मरण गराए।

    उनले जेएनजी आन्दोलनपछि सार्वजनिक रूपमा अपिल गर्ने र काठमाडौं उपत्यका बाहिर मधेस प्रदेशमा कार्यक्रम गर्ने पनि माओवादी केन्द्र नै पहिलो पार्टी भएको दाबी गरे।

  • निर्वाचन आयोगबाट दलीय छायाँ हटोस् : रास्वपा

    निर्वाचन आयोगबाट दलीय छायाँ हटोस् : रास्वपा

    ५ कात्तिक, काठमाडौं
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगबाट दलीय छायाँ हट्नुपर्ने बताएको छ ।

    मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको सर्वदलीय बैठकमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

    निर्वाचन आयोगका रहेका पात्रहरूले झुलाउने/अल्झाउने काम गर्न सक्ने र त्यसो भएमा अविश्वासको वातावरण सिर्जना गर्न सक्ने उनले बताए ।

    सर्वदलीय बैठकमा पार्टीले राखेका विषयहरू डा. वाग्लेले सामाजिक सञ्जालमा समेत राखेका छन्। जहाँ उनले निर्वाचन आयोगबाट दलीय छायाँ हट्नुपर्ने उल्लेख गरेका छन् ।

  • ८ घण्टा सुते पनि किन थकित महसुस हुन्छ ?

    ८ घण्टा सुते पनि किन थकित महसुस हुन्छ ?

    चिकित्सा क्षेत्रमा शरीरको रिकभरीका लागि दैनिक कम्तीमा ८ घण्टा सुत्नुपर्ने कुरा बारम्बार दोहोर्‍याइन्छ। तर, के ८ घण्टाको निद्रा साँच्चै पर्याप्त छ? किन कसै-कसैलाई यति सुत्दा पनि बिहान उठ्दा थकित महसुस हुन्छ?

    यही प्रश्नको जवाफ दिँदै निद्रा चिकित्सा र बाल स्नायु विज्ञानका चिकित्सक डा. क्रिस्टोफर जे एलेनले आफ्नो इन्स्टाग्राम पोस्टमा ‘८ घण्टाको निद्रा’ र ‘उत्कृष्ट निद्रा’ बिच तालमेल नहुने बताएका छन्। उनले जोड दिँदै भनेका छन्, ‘तपाईँलाई धेरै सुताइ होइन। तपाईँलाई राम्रो निद्रा चाहिएको छ।”

    डाक्टरका अनुसार, यदि तपाईं पर्याप्त सुते पनि अझै थकित महसुस गर्नुहुन्छ, बिहान उठ्दा सुक्खा मुख वा टाउको दुख्ने जस्ता समस्या हुन्छन् भने निद्राको गुणस्तरमा समस्या छ। निद्राको अवधि (७ देखि ९ घण्टा) महत्त्वपूर्ण भए पनि, निद्राको गुणस्तर त्योभन्दा कम महत्त्वपूर्ण छैन। पत्ता नलागेका निद्रा सम्बन्धी विकारहरूले पनि तपाईंको आराममा बाधा पुर्‍याउन सक्छन्।

    समस्या समाधानका लागि दुई उपाय:
    निद्रा विशेषज्ञ डा. एलेनले समस्याको जरो पत्ता लगाउन दुईवटा कदम चाल्न सुझाव दिएका छन्:

    १. आफ्नो बेड पार्टनरसँग कुरा गर्ने: सुत्ने बेलामा तपाईं घुर्नुहुन्छ वा श्वासप्रश्वासमा अवरोध आउँछ कि भनेर आफ्नो पार्टनरलाई सोध्नुहोस्।

    २. निद्रा विशेषज्ञलाई भेट्ने: तपाईंको निद्राको गुणस्तर किन खराब छ भनी पत्ता लगाउन र कुनै स्लिप डिस्अर्डर छ/छैन भनी सुनिश्चित गर्न विशेषज्ञलाई भेट्नुहोस्। यसले तपाईँलाई बिहान उठ्दा स्फूर्ति महसुस गराउन मद्दत गर्छ।

  • भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन छैन : प्रधानमन्त्री

    भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन छैन : प्रधानमन्त्री

    ५ कात्तिक, काठमाडौं ।

    प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय भएको निर्वाचनको वातावरण तयार पार्नका लागि सरकार दत्तचित्त भएर लागेको बताएकी छिन् ।

    बुधबार नेपाल संवत्को अवसरमा काठमाडौंका बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
    जेनजी समुदाय र राजनीतिक दलहरूसँग प्रत्येक दिन कुन न कुनै माध्यमबाट सरकारले संवाद गरिरहेको उनको भनाइ ।
    ‘विद्रोहपछिको अवस्थालाई सामान्यीकरण गरी आगामी फागुन २१ गते भयरहित ढंगले चुनाव सम्पन्न गर्ने वातावरण तयार गर्न यो सरकार दत्तचित्त भएर लागेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रत्येक दिन राजनीतिक दलहरुसँग कुनै न कुनै रुपमा संवाद भइरहेको छ ।
    परिवर्तनकाबाहक जेनजी समुदायसँग पनि निरन्तर संवाद र सम्पर्कमा छौं ।’उनले निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेको रुपमा बुझ्न नहुने बताइन् ।
    ‘निर्वाचन प्राथमिकतामा छ भन्नुको अर्थ भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन बसेका छौँ भन्ने होइन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने मूल दायित्व पनि हामीमाथि छ । यसमा पनि परिणाम दिने गरी राज्यका संयन्त्रहरूबाट काम अघि बढिरहेको छ ।
    ’लोकतन्त्र जीवित राख्ने र भ्रष्टाचार नियन्त्रण गर्ने राष्ट्रिय अभिभारा पूरा गनै अपिल समेत गरिन् ।