Blog

  • पोखरामा कुटपिटबाट एक पुरुषको मृत्यु

    पोखरामा कुटपिटबाट एक पुरुषको मृत्यु

    कास्की, कात्तिक ८-
    पोखरामा सामान्य विवादमा आज बिहान एक जनाको कुटपिटबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ प्रस्र्याङका ४५ वर्षीय अनिल पराजुलीको बिहान ४ः ३० बजे हत्या भएको प्रहरीले जनाएको छ ।

    हत्या अभियोगमा प्रहरीले सोही ठाउँका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सामान्य विवादमा तिमिल्सिनाले पराजुलीलाई कुटपिट गरेका थिए ।

    प्रनाउ बस्नेतले भने-‘प्रारम्भिक सोधपुछमा सामान्य विवादमा आक्रमण गरी हत्या गरिएको देखिएको छ, आक्रमणकारीलाई नियन्त्रणमा लिएका छौँ, घटनाको थप अनुसन्धान र सोधपुछ भइरहेको छ ।’

    पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले घर नजिकैबाट नियन्त्रणमा लिएको थियो । मृतक पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

  • एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

    एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

    मुस्ताङ, कात्तिक ८-
    धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

    तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पुरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यहाँ एकैदिन छ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । शुक्रबार एकैदिन दुई हजार १६८ यात्रुवाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको लामाले उल्लेख गर्नुभयो ।

    यसैगरी कात्तिकको एक सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५०९ जना आन्तरिक तथा बाहय पर्यटक मुुस्ताङ भित्रिएका छन् । यहाँ कात्तिक १ देखि ७ गतेसम्म १७ हजार १२९ आन्तरिक र तीन हजार ३८० विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाले बताउनुभयो । कात्तिकको पहिलो सातासम्म बेनी–जोमसोम सडकमार्ग हुँदै छ हजार ७३६ सवारीसाधन मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ ।

    चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक लाख १८ हजार ५८९ पर्यटक मुस्ताङ भित्रिएका थिए । यहाँ आन्तरिक ९१ हजार १२५ र विदेशी २७ हजार ४६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । मुक्तिनाथमा आज बिहानैदेखि दर्शनार्थीको सङ्ख्याले परिसर पूरै खचाखच भरिएको कोषाध्यक्ष गुरुङको भनाइ छ । मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वंयसेवक खटाइएको कोषाध्यक्ष गुरुङले जनाउनुभयो ।

    हिउँदयाम सुरु भइसकेकाले चिसोसमेत बढेकाले हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखेर दर्शनकार्यमा सहजीकरण गरिएको उहाँले बताउनुभयो । यहाँ वडा कार्यालय र मुक्तिनाथ विकास समितिको पहलमा मन्दिरको चारैतर्फ सीसी क्यामेरा जडान गरिएकाले दर्शनार्थी सुरक्षाका लागि कुनै समस्या नहुने कोषाध्यक्ष गुरुङले सुनाउनुभयो ।

    तिहारलगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको चापले ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जनाएको छ । सयौँ सवारीसाधन एकैसाथ बेनी–जोमसोम सडकमार्गमा फ्लो हुँदा ट्राफिक जामसमेत भएको थियो । मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्म करिब ३०० होटलले पर्यटक थेग्न नसक्दा पर्यटक व्यवस्थापनमा चुनौती भएको थियो ।

    उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रबार बेनी–जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिभराउ भएको बताउनुभयो । चाडपर्वका बेला मुस्ताङ घुमफिर गर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास भएकै कारण पर्यटकको सङ्ख्यामा अकल्पनीय रुपमा वृद्धि हुँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ ।

    विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपाली मुस्ताङ भ्रमण गर्नेको संङ्ख्या बढेको अध्यक्ष लालचनले बताउनुभयो । सामान्य अवस्थामा पर्यटक व्यवस्थापन नहुने भए पनि दसैँ तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बन्न थालेको छ ।

    राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज हुँदै जान थालेपछि यहाँको पर्यटन व्यवसायमा नयाँ उभार आउन थालेको हो । पर्यटकीय याममा यहाँ सञ्चालनमा रहेका होटलले पर्यटक थेग्न नसक्ने अवस्था रहेको छ । प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटक होटल बुकिङ गरेर मात्रै आउन अनुरोध गरेको छ । रासस

  • आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

    आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

    नवलपुर (नवलपरासी), कात्तिक ८-
    नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ ।

    ब्रम्हस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो ।

    सार्वजनिक बिदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकको उपस्थिति उल्लेख्य रहने मध्यविन्दु–३ का पूर्वजनप्रतिनिधि नारायणप्रसाद नेपालले बताउनुभयो । “सामान्य दिनमा २०० जनाको हाराहारीमा आउने मानिसहरु सार्वजनिक बिदाको दिनमा ५०० नाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “यो तिहारको बेलामा त यहाँ दैनिक एक हजारभन्दा बढीको सङ्ख्यामा मानिस आएका थिए ।”

    ब्रम्हस्थानको फारम क्षेत्रबाट नारायणी नदीको आकर्षक दृश्य, दुर्लभ एकसिङ्गे गैँडा, घडियाल गोही, नदीको पारिपट्टि रहेको चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्यले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका नेपालको भनाइ छ ।

    यस क्षेत्रमा पर्यटकको चहलपहल हुन थालेपछि यहाँ दृश्यावलोकन स्तम्भसहित व्यवस्थित पार्क निर्माण अगाडि बढेको भए पनि बजेट अभावमा दृश्यावलोकन स्तम्भ निर्माण अलपत्र परेको नेपालले बताउनुभयो । यद्यपि यहाँ स्थानीय भूतपूर्व सैनिकहरुको पहलमा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

    “ब्रम्हस्थानको यस पार्कमा मानिसहरु दृश्वालोकनसँगै वनभोजका लागि आउने गरेका छन्”, उहाँले भन्नुभयो, “पार्कभित्र वनभोज स्थलसमेत रहेकाले पछिल्लो समय ब्रम्हस्थान आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।” पार्क नजिकै रहेका होटलमा नारायणी नदीको माछा तथा थारु र बोटे समुदायको मौलिक खानाको स्वाद लिन पाइने भएकाले मानिसहरु ब्रम्हस्थान आउने गरेका स्थानीय हुमनाथ उपाध्यायले बताउनुभयो ।

    “यहाँ छिमेकी जिल्ला चितवन, तनहुँ, रुपन्देहीबाट मानिसहरु घुम्न आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यहाँ एकपटक आएका मानिस यहाँको सुन्दरताका कारण पटकपटक आउने गरेका छन् ।” यहाँ पार्कबाहेक अन्य संरचना निर्माण नहुँदै मानिसहरु आउन थालेका भन्दै उपाध्यायले यस क्षेत्रको प्रवर्द्धन र प्रचारप्रसार गर्न सके नवलपुरकै मुख्य पर्यटकीय केन्द्रको रुपमा विकास हुने सम्भावना रहेको बताउनुभयो ।

    मध्यविन्दु–७ चोरमाराबाट परिवारसहित वनभोज आउनुभएकी सरस्वती महतोले यहाँको दृश्यावलोकनका कारण आफूहरुलाई आकर्षित गरेको बताउनुभयो । “हामी परिवारका सदस्य भेला भएको बेला चार÷पाँच घण्टा समय मिलेमा घुम्न आउने ठाउँ बनेको छ”, उहाँले भन्नुभयो, “घरबाट सवारीसाधनमा आधा घण्टामा पुगिने र प्रकृतिमा समय बिताउन पाउने भएपछि सबै जना खुसी हुन्छन् ।”

    घरबाट नजिकै पारिवारिक रुपमा रमाउन उपयुक्त ठाउँ ब्रम्हस्थान भएपछि उहाँहरु परिवार र छिमेकी गरी २० जनाको समूहमा घुम्न आएको महतोले बताउनुभयो । गैँडाकोटबाट पहिलोपटक साथीहरुसँग यहाँ आउनुभएका सुजन पाण्डेले ठाउँ राम्रो भए पनि यसलाई अझै व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

    पार्कमा भन्दा नदी किनारमा मान्छे धेरै बस्ने गरेका भन्दै उहाँले नदी किनारमा व्यवस्थित तरिकाले तारबार गर्नुपर्ने बताउनुभयो । “नदी किनारबाट नदी अवलोकन गर्न सुरक्षित पार्न सकेमा अप्रिय दुर्घटना हुनबाट जोगाउन सकिन्छ”, उहाँले भन्नुभयो, “नदीमा गरिएको तटबन्धका कारण नदी छेउमै गहिरो भएकाले सावधानी अपनाउनुपर्छ ।”

    व्यवस्थित र पर्याप्त बस्ने ठाउँको अभावमा मानिसहरु नदीको ढिकमा उभिने, नदी तटबन्ध गरिएको ग्याभिनमा गएर फोटो, भिडियो बनाउने गरेको दृश्य देखिएको भन्दै पाण्डेले यसलाई सुरक्षित पार्न स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो ।

    जेनजी समूहका पाण्डेले आफ्नो समूहका मानिसलाई प्रकृतिसँग रमाउने यो ठाउँ उपयुक्त स्थान भएको भन्दै यसलाई सुधार गरेर व्यवस्थित पार्न सकेमा बाह्य पर्यटकसमेत यस स्थानमा आउने बताउनुभयो । “ब्रम्हस्थान किन जाने भनेर भन्दा नारायणी, गोही, गैँडा, निकुञ्ज, सूर्यास्तको दृश्यावलोकन भनेर भन्न सकिन्छ”, उहाँले भन्नुभयो, “अब यस स्थानलाई सुरक्षित र केही भौतिक संरचना थप्दा जिल्लाकै प्रमुख गन्तव्य बन्न सक्छ ।”

    पूर्वपश्चिम राजमार्गको डण्डाबाट करिब नौ किलोमिटर दक्षिणमा पर्ने ब्रम्हस्थान प्राकृतिक रुपमा सुन्दर रहेको छ । पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको यस स्थानमा आवश्यक संरचना निर्माण गर्दै पर्यटकले फाल्ने प्लाष्टिकजन्य फोहरलाई सही रुपमा व्यवस्थापन गर्न सके देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने सम्भावना छ । रासस

  • बेवारिसे अवस्थामा भेटिएका पुरूषको मृत्यु

    बेवारिसे अवस्थामा भेटिएका पुरूषको मृत्यु

    कार्तिक ८,भरतपुर ।
    बिरामी अवस्थामा भेटिएका एक युवाको शुक्रबार राति मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार परिचय नखुलेका करिब ३५/३६ वर्षका पुरूषको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा राति साढे १२ बजे मृत्यु भएको हो।

    ती व्यक्तिलाई इच्छाकामना गाउँपालिका वडा नं.५ मुग्लिङ बजारमा बेवारिसे अवस्थामा शुक्रबार साँझ करिब ८ बजे फेला परेपछि प्रहरीले उद्दार गरी अस्पताल पठाएको थियो। बाहिरी चोटपटक नदेखिए पनि बोल्न नसक्ने अवस्थामा थिए। शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

  • छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व

    छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व

    काठमाडौँ, कात्तिक ८ –
    श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्व आजदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदैछ । सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरूको महान चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

    सूर्य उपसना गरिने यो पर्वमा परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा चार दिन सम्म मनाइन्छ । छठ पर्वको आरम्भदेखि अन्त्य सम्म गीतको ध्वनि गुञ्जिरहन्छ । पिठो पिंध्दा, परिकार बनाउँदा, पूजा सामग्री नदी, पोखरी वा जलाशयसम्म लैजाँदा, पूजा चलिरहँदा र सूर्य देउतालाई अघ्र्य चढाउने बेलामा समेत गीत गाइन्छ । कात्तिक महिनाको चौथीेखि बर्तालु भई यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको विहान यो पर्वको समापन गरिन्छ । पहिलो दिनअर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ । यो दिनमा बर्तालुहरूले खोला, नाला, नदी, पोखरी र तलावलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदोजस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई बर्तालुहरूले आँखा पनि भन्ने गरिन्छ ।

    पञ्चमी तिथि(दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन बर्तालुहरू दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादको रूपमा विशेषगरी पाकेको केरा र खीरलाई लिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदय पछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।

    षष्ठीका दिन (तेस्रो दिन )गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामाग्री तयार पर्दा विशेष चनाखो हुन्छन् । पूजाका सामग्रीलाई चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरूले श्रद्धापूर्वक गीत गाउने गर्छिन् ।

    केरवा ज फरल घउरस वोपर सुगा मडराय,
    मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।

    छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुन्न । छठ मातालाई चढाउने केरा सुगाले नखाउन भनेर गीतबाटै सचेत गराउन खोजिएको छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् । यस अवसरमा बर्तालु महिलाहरूले श्रद्धापूर्वक गाउने गर्छिन्–

    हातबा मे फूलवा के डलिया, छठ पूजन जाय ।
    छठी मैया होइब सहाय, छठ पूजन जाय ।।

    (अर्थात् हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौँ, छठी माता हामी माथि विशेष कृपा बनाइराख्नु होला)

    यस पर्वमा चढाइने वस्तुहरू पनि प्रकृतिमै आधारित छन् । जस्तै उखु, बोटसमेतको बेसार र त्यसबेला उपलब्ध अन्य कृषि—खाद्य सामग्री । यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै यस पर्वले सिकाउँछ । निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीनअर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसादस्वरूप अघ्र्य दिनका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूरलगाएर अक्षेता फूल हालेर अन्य अघ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।

    पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरिन्छ । अघ्र्य सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातःकालीन अघ्यमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि हुन्छ ।

    महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको बिराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि ‘छठ पर्व’ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ ।

    छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्ति बिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

    छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न भई व्रतीलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव रहे पनि भिक्षा मागेर भए पनि यो पर्व मानिसहरू मनाउने गर्छन् । तराईवासीहरूको महान् चाड छठपर्व पछिल्लो दिनमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख भएको छ । यो महापर्व जहाँकहीँ पनि विश्वमा मैथिली र भोजपुरी भाषी छन्, त्यहाँ मनाइने गरिएको छ ।

    महापर्व छठले पवित्रता, स्वच्छता र सफाइको महत्वमा जोड दिएको छ, यी स्वास्थ्य र निरोगिताका लागि अनिवार्य छन् । यस पर्वले पर्यावरणको सन्तुलन र संरक्षणको सन्देश पनि दिएको छ, जो प्राणी जगत्का लागि आवश्यक छ । प्रकृतिप्रति आदर भावको उद्देश्य पर्यावरणको संरक्षणका सन्दर्भमा जनचेतना जागृत गर्नमा पनि यो पर्वको महत्वपूर्ण भूमिका छ । प्रकृति सबैको हो । यो सामूहिक सम्पदा हो, यसको उपयोग सबैले गर्न पाउनुपर्छ र कुनै पनि आधारमा कसैलाई पनि प्रकृतिको सदुपयोगबाट वञ्चित गरिनुहुँदैन भन्ने सन्देश पनि यस पर्वले दिन्छ ।

    जल नै जीवन हो भन्ने महत्वपूर्ण सन्देश दिने यो महापर्व दसैँजस्तै वर्षमा दुई पटक मनाइन्छ । कात्तिक र चैत महिनाको शुक्ल पक्षमा मनाइने यो पर्व पारिवारिक सुख, समृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्तिका लागि गरिन्छ । बिहान र बेलुकाको सूर्यको किरण मानव स्वास्थ्यका लागि उपयुक्त हुन्छ भन्ने सन्देश पनि यस पर्वमा निहित छ । सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन । त्यसरी नै छठपर्वले पनि कसैलाई भेदभाव गर्दैन । सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन । रासस

  • जेनजी आन्दोनलमा लुटिएको गोलीसहित  दुई किशोर पक्राउ

    जेनजी आन्दोनलमा लुटिएको गोलीसहित दुई किशोर पक्राउ

    काठमाडौँ, कात्तिक ८-
    काठमाडौँबाट दुई किशोरलाई पक्राउ गरेको छ। जेनजी आन्दोनलका क्रममा लुटिएको गोलीसहित प्रहरीले काठमाडौँबाट दुई किशोरलाई पक्राउ गरेको हो।

    हिजो (शुक्रबार) राति नरेफाँटबाट तीन थान गोलीसहित प्रहरी प्रभाग कोटेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बर्दिया घर भइ कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा घर भई काठमाडौँको मालिगाउँ बस्दै आएका १६ वर्षीय सोनम थापामगर छन्।

    उनीहरूको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको प्रहरीले जनाएको छ।

  • तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

    तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

    काठमाडौँ, कात्तिक ८ –
    सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ ।

    ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले भेरी करिडोरको बिजुली राष्ट्रिय प्रणालीमा जोडनका लागि महत्वपूर्ण मानिएको नलगाड मैनताडा प्रसारण लाइनलाई निर्माण अनुमति प्रदान गरेको छ । सो प्रसारण लाइन ७५ किलोमिटर लामो रहेको छ ।

    कूल ४०० केभी क्षमताको सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बराबरको बिजुली प्रवाह गर्न सक्ने विभागले जनाएको छ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले सो प्रसारण लाइन निर्माण गर्दैछ ।

    यस्तै, ३३ केभी क्षमताको खोरुङगा खोला प्रसारण लाइन निर्माणका लागि पनि अनुमति दिएको छ । सो प्रसारण लाइन चार दशमलव ३८ किलोमिटर रहेको छ । सो प्रसारण लाइनले चार दशमलव आठ मेगावाट बिजुली प्रवाह गर्छ । जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रणालीमा जोडनका लागि सो प्रसारण लाइन निर्माण हुन लागेको हो ।

    यसैगरी सुपर सर्दी खोला हाइड्रोपावरले पनि उत्पादित बिजुली प्रणालीमा जोडनका लागि ३३ केभी क्षमताको तीन दशमलव ६८ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्दैछ । सो प्रसारण लाइनमा दुई दशमलव नौ मेगावाट बिजुली प्रवाह हुनेछ ।

    विभागले हालसम्म कूल २७४ वटा साना ठूला प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र प्रदान गरिसकेको छ ।

    यस्तै, चालु आवको हालसम्म कूल आठ वटा प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिइएको छ । ती आयोजनामा १३२ केभी क्षमताको मध्य चमेलिया रहेको छ ।

    बेल्डिया सोलार पावर परियोजना, फालेखु खोला १३२ केभी प्रसारण लाइन परियोजना, जानकी सोलार पावर प्रसारण लाइन, दुधकोशी पाँचौँ २२० केभी प्रसारण लाइन परियोजना, समुन्द्रटार लप्सेफेदी २३२ केभी प्रसारण लाइन निर्माणका लागि अनुमति दिइएको छ ।

    यस्तै, डाडाँखेती बुर्तीबाङ १३२ केभी प्रसारण लाइन र सानी भेरी १३२ केभी प्रसारण लाइन परियोजना छन् । विभागले हालसम्म कूल १४४ प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमति दिएको छ ।

    यसैगरी विभागमा हालसम्म कूल सर्वेक्षण अनुमतिपत्रका लागि कूल २१ वटा प्रसारण लाइनको आवेदन परेको छ । त्यसमध्ये चालु आवको हालसम्म मात्रै ११ परियोजनाले अनुमतिका लागि आवेदन दिएका छन् । रासस

  • रुकुम पश्चिम जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    रुकुम पश्चिम जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

    त्रिवेणी (रुकुम पश्चिम ), कात्तिक ८ –
    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा पु¥याएको बेला मृत्यु भएको हो ।

    मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट नगरपालिका १ कि १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

    घाइते हुनेमा आठविसकोट नगरपालिका–२ कि १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा र १९ वर्षीया शान्ति बुढा रहेका छन् । त्यस्तै अन्य घाइते हुनेमा १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र गाडी चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । नौ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।

    जिप सडकदेखि ७०० मिटर तल खसेको थियो । ओभर लोड र साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । रासस

  • ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

    ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

    काठमाडौँ, कात्तिक ८ –
    प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गर्नुभएको छ ।

    प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गर्नुभएको थियोे । अर्थमन्त्री खनालले भन्नुभयो, “तपाईँहरू आत्तिनुभएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।”

    यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने जनाएको छ । रासस

  • रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० जना गम्भीर

    रुकुमपश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० जना गम्भीर

    ७ कात्तिक, रुकुमपूर्व-
    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार, अहिलेसम्म ७ जनाको शव फेला परिसकेको छ भने १० जना गम्भीर घाइते भएका छन् ।

    घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि प्रसाद पुनका अनुसार, खलंगाबाट आठबिसकोट नगरपालिका–९ स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार दुर्घटना भएको हो ।

    प्रहरीले उद्धारको काम जारी राखेको छ । जिपमा करिब २० जना यात्रु सवार थिए । मृतकहरूको परिचय खुल्न बाँकी छ ।