Blog

  • आज गाईतिहार :  गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै

    आज गाईतिहार : गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै

    काठमाडौँ कार्तिक ५
    कार्तिक शुक्ल प्रतिपदाको दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

    गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

    गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ ।
    गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।

  • बालुवाटार बैठक : दलहरू निर्वाचनमा जाने सङ्केत, सरकारमाथि सुरक्षाको प्रश्न

    बालुवाटार बैठक : दलहरू निर्वाचनमा जाने सङ्केत, सरकारमाथि सुरक्षाको प्रश्न

    काठमाडौं ।
    प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय बैठक निर्वाचन केन्द्रित बन्यो । जेनजी आन्दोलन पछि प्रधानमन्त्री कार्कीले दलहरूसँग प्रत्यक्ष भेटवार्तासहित संवाद गरिन् ।

    सुरुबाटै सरकारको तर्फबाट प्रधानमन्त्री तथा गृहमन्त्रीले फागुन २१ गतेको निर्वाचनमा दलहरूको सक्रिय सहभागिताको विषयमा जोड दिएका थिए । तर, दलहरूले भने अहिले निर्वाचनको वातावरण बनिनसकेको बताएका थिए।

    अहिले शान्ति सुरक्षामा चरम समस्या देखिएको भन्दै दलका प्रतिनिधीहरुले यही अवस्थामा निर्वाचन हुने विषयमा शङ्का व्यक्त गरेका थिए।‘शान्ति सुरक्षाको प्रत्याभूति छैन । आम नागरिकहरूले पनि निर्वाचन हुन्छ भन्ने विश्वास गरेका छैनन्’ बैठकमा कांग्रेसले भनेको थियो, ‘सरकारको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्छ । शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ । ’

    बैठकमा सरकारको अभिव्यक्तले समस्या गर्नेबारे पनि चर्चा भएको थियो । सरकारले सहज बनाउने भन्दा पनि उत्तेजित बनाउने अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो ।

    दलहरूले निर्वाचनका लागि तीन बटम लाइन प्रस्तुत गरेका थिए ।

    पूर्ण रूपमा शान्ति सुरक्षाको प्रत्याभूति , सुरक्षा निकायको मनोबल बढाउनु पर्ने र २४ गते लुटपाट आगजनी तथा तोडफोड गर्नेहरूलाई कारबाही गर्नुपर्ने । तर, सरकारले त्यो किसिमको आत्मविश्वास दिलाउन नसकेको कांग्रेस प्रवक्ता प्रकाशसरण महतले बैठक पछि बताएका थिए ।

    सरकारले दलसँगै जेनजीको प्रतिनिधीहरुसँग पनि छलफल गर्ने जनाएको छ । बैठकमा संविधान र व्यवस्थाबारे पनि चिन्ता व्यक्त गरिएको थियो ।

    राप्रपाले राजासहित दल र जेनजी पनि समेटिनु पर्ने बताएका थिए ।

    दलहरूले शान्ति सुरक्षाको व्यवस्था गरे निर्वाचनबाट नभाग्ने बताएका थिए ।

    प्रधानमन्त्री र गृहमन्त्री सुरक्षाको प्रत्याभूति गराउने प्रतिबद्धता जनाएका थिए । २४ गते लुटिएका हतियार फिर्ता गराउने पनि गृहमन्त्रीको प्रतिबद्धता थियो ।

    बैठक पछि सूचना तथा सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जगदीश खरेलले निर्वाचनको मिति, सुशासन भ्रष्टाचार र जेनजी आन्दोलनको विषयमा घनिभूत छलफल भएको बताए ।

    राजनीतिक दलहरूसँग भएको वार्ताबाट सरकार उत्साहित भएको उनको भनाइ थियो ।

    ‘फागुन २१ गते हुने निर्वाचनको लागि दलहरूले शान्ति सुरक्षाको व्यवस्था माग गर्नुभयो ’ उनले भने, ‘ राजनीतिक दल, जेनजीहरुको साथमा सरकारले वातावरण बनाएर फागुन २१ गते निर्वाचन हुने छ ।’

    एमाले निर्वाचनमा सहभागी हुने वा नहुने चर्चाका बिच बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो । तर बैठकमा एमाले महासचिव शङ्कर पोखरलेले सुरक्षा नै निर्वाचनको बाधक रहेको बताए ।सरकारले सुरक्षाको वातावरण बनाउनु पर्ने , राजनीतिक दलहरूले भोट माग्न पाउनु पर्ने र मतदाताहरूले भोट हाल्न पाउने वातावरण बनाउनु पर्ने बताएका थिए ।
    ‘एमाले नकारात्मक छैन’सरकारका प्रवक्ता खरेलले भने ‘सबै दलहरू सकारात्मक देखिनु भएको छ सरकार उत्साहित भएको छ ।’

    बैठकमा दलहरूले सुरक्षा कै कारण निर्वाचनबारे प्रश्न गरेपछि प्रधानमन्त्री र गृहमन्त्री ज्यूले सुरक्षा व्यवस्था गर्ने प्रतिबद्धता दोहोराएका थिए ।
    छलफलमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा (एमाले)बाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला,राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, र जनमत पार्टीबाट चन्दन सिंह सहभागी भएका थिए ।
    त्यस्तै केदारभक्त माथेमा र विद्याधर मल्लिकले पर्यवेक्षकका रूपमा सहभागी थिए ।

  • गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

    गीतानगरमा कार्तिक ५ गते सांस्कृतिक एंव लाईभ कन्सर्ट हुँदै

    चितवन, कार्तिक ४

    भरतपुर ६ स्थित गीतानगर ब्वाईजको आयोजनामा १६ औं विविध सांस्कृतिक कार्यक्रम एंव लाईभ कन्सर्ट हुने भएको छ । तिहारको अवसर पारेर बुधबार उक्त कार्यक्रम हुन लागेको हो ।

    गीतानगर बजारमा हुने कार्यक्रममा कट्टभ द एस्कर्पमेन्ट ब्याण्डको विशेष प्रस्तुति रहनेछ । यस्तै डिजे सुपरम्यानले दर्शक झुमाउने क्लबका अध्यक्ष श्रवण थापाले जानकारी दिए । यस्तै मौलिक संस्कृति झल्किने थारु, गुरुङ नृत्य, तामाङ सेलो र लोक दोहोरी कार्यक्रम पनि हुनेछ । साथै स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुती रहने थापाले जानकारी दिए ।

    बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रममा ४ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । कार्यक्रमको सहप्रयोजक चितवन कलेज अफ़ कुकरी प्रायोजकमा द जिएमआई, बार्हसिगें युरो पेन्ट्स र सपोर्टेड बाई मा M3 mobile house, एपोलो फ़ीड्स ,बैदिक आयुर्बेद सेवा प्रा.ली. ओशिनिया एडु एंड भीसा सर्विसेज रहेका छन् ।

    लामो समयदेखि क्लबले तिहारको समयमा हरेक वर्ष यसरी नै कार्यक्रम गर्दै आएको छ । २०६६ सालमा क्लबले पहिलो पटक कार्यक्रम आयोजना गरेको थियो । त्यसयता निरन्तर कार्यक्रम हुँदै आएको क्लबका अध्यक्ष थापाले चितवन आजलाइ जानकारी दिए ।

  • मादल बिक्री नभएपछि व्यवसायी निराश

    मादल बिक्री नभएपछि व्यवसायी निराश

    बागलुङ, ४ कात्तिक
    पाँच वर्ष अगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घर खर्च चलाउँदै आएका थिए । मादल बनाएर ३० वर्षदेखि जीविकोपार्जन गर्दै आएका उनलाई अहिले परिवार पाल्न हम्मेहम्मे भएको छ ।

    परियारले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए । तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ ।

    मादल व्यवसाय सङ्कटमा परेपछि उनले पेसा बदल्नु परेको छ । बुबा, बाजे र दाइहरूबाट सिकेको सीपले परियारलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरू विदेश पलायन भएका छन् ।

    परियारले आफूसँग भएको सीप नबिकेपछि पेसा परिवर्तन गर्नु परेको दुःखेसो गरे । उनले भने, “मलाई ५/७ वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले अरू काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।”

    परियारले पहिले बाह्रै महिना मादलको माग आउने गरेको र पछि–पछि चाडबाडको बेला मात्र ग्राहक आउने गरेको बताए । उनले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताए । मादलको मूल्यसमेत घटेको परियार बताए ।

    “मेरो पसलमा पहिले बाह्रैमास मादल किन्नेहरु आउँथे, हरेक महिना कम्तीमा १० मादल बिक्री गर्थे, मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे । कमाई पनि राम्रो हुन्थ्यो, वर्षमा झन्डै पाँच लाख कमाई गर्थे,” परियारले भने, “अहिले मादल किन्न बेला मौकामा एक/दुई जना आउँछन्, उनीहरूलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको रु एक हजार २०० देखि रु पाँच हजारसम्ममा बेच्ने गर्थे ।”

    परियारले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए । गाउँ तथा सहरमा देउसी–भैलो खेल्नेहरुले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठुला–ठुला साउन्ड सिस्टमहरु किन्ने गरेको उनको भनाइ छ ।

    “तिहार आयो कि मादल किन्नेको भीड लाग्थ्यो, अहिले देउसी–भैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ,” उनले भने ।ढोरपाटन–२ का मकरबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उनको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक एक हजार २०० बढी मादल बेच्ने उहाँले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताए ।

    पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताए ।

    “चार वर्ष भइसक्यो मादल कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, अहिले बिक्री नै हुँदैनन्,” नेपालीले भने, “वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरू नै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।”

    नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताए । उनले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताए । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजाहरु बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउन्ड सिस्टमहरुको प्रयोग हुन थालेको नेपालीको भनाइ छ ।

    “आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युत्को पहुँच थिएन, माइक, स्पिकर र राउन्ड सिस्टमको आएका थिएनन्,” उनले भने, “अब मादल र बाजाहरु हराउँदै जाने खतरा छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।”

    अब विद्युतीय सामग्रीको माग बढेको छ । बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आएका जीवन शर्माले पछिल्लो समय ठुला–ठुला साउन्ड सिस्टम र माइकको माग बढेको बताए ।

  • चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

    चितवनको टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु, ९ जना घाइते

    चितवन, कार्तिक ४–
    चितवन रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

    नारायणगढबाट टांडीतर्फ आउंदै गरेको ना३ख ९९८६ नम्बरको मिनि बस र बिपरित दिशाबाट जांदै गरेको बीएबी ५००८ नम्बरको कार एक आपसमा ठक्कर खांदा बसमा सवार चालक सहित ९ जना घाइते भएका हुन् । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

    दुर्घटनामा मृत्यु हुनेमा रत्ननगर–१० बस्ने बर्ष ३३ की पुजा सुबेदीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
    दुर्घटनामा घाइतेहरुको नामावली यसप्रकारको छः
    १.बस चालक जिल्ला चितवन राप्ती नगरपालिका–२ बस्ने वर्ष ३६ को सुरज कडेल, मध्यम ।
    २.बसमा सवार जिल्ला गोरखा गण्डकी गा.पा. ५ बस्ने वर्ष ३२ को भोजराज कार्की, सामान्य
    ३.जिल्ला चितवन रत्ननगर–७ झुवानी बस्ने वर्ष २७ को प्रभु नारायण महतो, सामान्य्र
    ४.ऐ.बस्ने निजको छोरा वर्ष ८ का रियान महतो, सामान्य ।
    ५.बसमा सवार जिल्ला गोर्खा गण्डकी गा.पा. ३ बस्ने बर्ष ३२ को भोजराज काप्री, सामान्य ।
    ६.बसमा सवार जि।चितवन भरतपुर–१२ बस्ने वर्ष ३७ की शोभा आचार्य, सामान्य ।
    ७.ऐ.ऐ. बस्ने निजको छोरी बर्ष ३ की सदिक्षा आचार्य सामान्य ।
    ८.बस चालक जिल्ला चितवन राप्ती न.पा. २ बस्ने बर्ष ३६ को सुरज कडेल, सामान्य ।
    ९.बसमा सवार जिल्ला गोर्खा बारपाक सुलिकोट गा.पा.३ बस्ने बर्ष ५५ की माईता गुरुङ, सामान्य

  • प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा दलहरूको संवाद सुरु

    प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा दलहरूको संवाद सुरु

    काठमाडौँ, कात्तिक ४ –
    प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग संवाद सुरु गरेकी छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ११ दलका नेताहरूसँग प्रधानमन्त्री कार्कीले संवाद सुरु गरेकी हुन् ।

    आफूले कार्यभार सम्हालेपछि पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरिरहेकी हुन् ।कार्कीको सचिवालयले राजनीतिक दलहरूसँग निर्वाचनबारे संवाद गरिरहेको जानकारी दिएको छ ।

    कार्कीसँग छलफलका लागि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ दलमध्ये ११ दलका नेता बालुवाटार पुगेका छन् ।

  • चितवन राइनोजले सार्वजनिक गर्‍यो तीन विदेशी खेलाडी, डेविड मलान पहिलोपटक खेल्दै

    चितवन राइनोजले सार्वजनिक गर्‍यो तीन विदेशी खेलाडी, डेविड मलान पहिलोपटक खेल्दै

    चितवन, कार्तिक ४–
    नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाईज टिम चितवन राइनोजले तीन जना विदेशी खेलाडी आज सार्वजनिक गरेको छ । ट्रफी टुर कार्यक्रम अन्तरगत सौराहामा आयोजित कार्यक्रममा तीन विदेशी खेलाडी औपचारिक रुपमा सर्वाजनिक गरेको हो ।
    राइनोजले दोस्रो संस्करणका लागि इङल्याण्डका स्टार खेलाडीलाई डेविड मलानलाई आवद्ध गरेको छ ।

    मलान १० हजारभन्दा बढी टि–२० रन बनाएका इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी पूर्व टि–२० विश्व नम्बर–१ ब्याटर र सन् २०२२ को टि–२० विश्वकप विजेता पनि हुन् । उनको आगमनले रायनोजमा नयाँ उर्जा र जितको विश्वास भरेको टिमको भनाई छ । यस्तै पहिलो संस्करणमा आवद्ध भएका इंग्ल्यान्डका रबि बोपारा र पाकिस्तानका सोहेल तनभिरलाई पनि पुनः दोस्रो संस्करणका लागि आवद्ध गरेको छ ।

    बोपाराले पहिलो सिजनको एनपीएलमा राइनोजका लागि सर्वाधिक २८६ बनाउँदै टोलीलाई प्लेअफसम्म पुर्‍याएका थिए। उनको क्लासिक ब्याटिङ शैलीले चितवनका फ्यानहरूलाई मोहित पारेको थियो ।

    तनभिर अघिल्लो सिजनमा १४ विकेटसहित राइनोजका प्रमुख बलर बनेका पाकिस्तानका अनुभवी खेलाडी हुन् । यस सिजनमा पनि बलिङ आक्रमणको नेतृत्व उनले गर्नेछन्। यी तीन विश्वस्तरीय खेलाडीहरूको आगमनले राइनोजलाई एनपीएल उपाधिका प्रमुख दावेदार बनाएको चितवन राइनोजका मुख्य प्रशिक्षक कलाम अलीले बताए ।

    चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रोफेसर डा.हरिशचन्द्र न्यौपाने तीन विदेशी खेलाडी घोषणाले विश्वस्तरमा चितवन राइनोजलाई चिनाएको बताए । उनले भने–‘क्रिकेट नेपालमा खुशीको कारण बनेको छ। हामी एनपीएलको दोस्रो सिजनलाई अझ भव्य बनाउन काम गर्दैछौँ। आजको घोषणा चितवन राइनोजलाई विश्वस्तरमा उत्कृष्ट फ्रेन्चाइजका रूपमा स्थापित गर्ने हाम्रो यात्राको अर्को कदम हो।’ उनले थपे–‘ट्रफी टुरप्रति देखिएको प्रतिक्रिया साँच्चै उत्साहजनक छ। आजको ‘फेस अफ रायनोज’ र खेलाडी घोषणा कार्यक्रमले यस सिजनलाई थप विशेष बनाएको छ।’

    यस्तै राइनोजका प्रमुख कार्यकारी अधिकृत डा.आशिष खड्काले आजको कार्यक्रमलाई चितवन राइनोजलाई थप विशेष बनाएको बताए । उनले भने–“ट्रफी टुरप्रति देखिएको प्रतिक्रिया साँच्चै उत्साहजनक छ। आजको ‘फेस अफ रायनोज’ र खेलाडी घोषणा कार्यक्रमले यस सिजनलाई थप विशेष बनाएको छ।”

    राइनोजका निर्देशक प्रताप देवकोटाले यसपटक टिमको उपाधि जित्ने मुख्य लक्ष्य रहेको बताए । उनले भने–‘उर्जा र सकारात्मकता दुवै अद्भुत छन्। टोलीभित्रको आपसी सम्बन्ध र समर्पण नै हाम्रो बल हो, र यसपटक उपाधि चितवन ल्याउने हाम्रो विश्वास बलियो छ।’

  • नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

    नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

    नवलपुर (नवलपरासी), कात्तिक ४ –
    मनसुन निष्क्रिय भएसँगै जिल्लामा स्क्रब टाइफसका बिरामी बढेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०ले दिएको जानकारीअनुसार यस रोगबाट हालसम्म ४४ जना सङ्क्रमित भएका छन् ।

    कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार यस रोगबाट असोज ५ गतेसम्म १७ जना मात्रै सङ्क्रमित भएका थिए । “पछिल्लो २० दिनमा स्क्रब टाइफसबाट नवलपुरमा २७ जना सङ्क्रमित भएका छन्”, उहाँले भन्नुभयो, “स्क्रब टाइफसको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ ।” सङ्क्रमितमध्ये हालसम्म ३८ जना निको भइसकेका भन्दै सूचना अधिकारी सुवेदीले छ बिरामी अस्पतालमा उपचाररत रहेको जानकारी दिनुभयो ।

    जिल्लामा डेङ्गी सङ्क्रमण न्यून भए पनि स्क्रब टाइफस एक्कासि बढ्दै गएको भन्दै सुवेदीले यस रोगबारे सावधानी अपनाउनुपर्ने बताउनुभयो । स्क्रब टाइफसका लक्षण डेङ्गीसँग मिल्दो जुल्दो भए पनि यो रोग मानव स्वास्थ्यका लागि डेङ्गीभन्दा ३० गुणा बढी घातक भएको उहाँले बताउनुभयो । यो रोग मानिसमा एक प्रकारको ‘माइट’ (किर्ना)ले टोक्दा ‘ओरेनसिया सुसुगामुसी’ भन्ने ब्याक्टेरियाबाट लाग्ने रोग भएको सुवेदीको भनाइ छ ।

    कार्यालय प्रमुख शैलेन्द्रकुमार सिंहले विगतका वर्षमा स्क्रब टाइफस सामान्य रुपमा देखिएको भए पनि अहिले यो रोग एक हप्तामा १० जनामा देखिएपछि महामारी हुन नदिन सतर्कता अपनाइएको बताउनुभयो । समयमै यसको उपचार हुन नसकेमा सङ्क्रमित बिरामीको ज्यान जानसक्ने जोखिम रहेको सिंहको भनाइ छ ।

    यस रोगको विरुद्धमा कुनै पनि खोप उपलब्ध नभएको भन्दै उहाँले यो रोगबाट बच्ने उपाय भनेकै स्क्रब टाइफस सङ्क्रमित माइटको टोकाइबाट बच्नु भएको बताउनुभयो । स्क्रब टाइफस रोग सार्ने माइटहरु स–साना बोट बिरुवाका झाडी तथा झाडीमा बस्ने मुसाका कानमा पाइने हुनाले सकेसम्म यस्ता झाडी भएका ठाउँबाट टाढा रहनु सिंहले सुझाव दिनुभयो ।

    घर बाहिर यस्ता ठाउँमा काम गर्नुपरेमा माइट निवारक स्प्रे प्रयोग गरेर काम गर्नुपर्ने सिंहको भनाइ छ । शरीरमा रातो बिबिरा आउने, टाउको दुख्ने, जिउ गल्ने, मांसपेसी दुख्ने, टोकेको ठाउँमा रातो दाग देखिने तथा १०४ डिग्री ‘फरेनहाइट’भन्दा बढी ज्वरो आउने यस रोगको लक्षण भएको उहाँले बताउनुभयो ।

    स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्ने भन्दै उहाँले दुखाइ कम गर्ने औषधि सेवन गर्न नहुने बताउनुभयो । अस्पताल गएर चिकित्सकको परामर्शमा मात्रै औषधि खाएमा रोग निको हुने उहाँको भनाइ छ । रासस

  • जवर्जस्ती करणी र चोरी डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

    जवर्जस्ती करणी र चोरी डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

    बागमती, कात्तिक ४ –
    जवर्जस्ती करणी र चोरी डाँका मुद्दामा फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ ।

    जुवा खेलिरहेको अवस्थामा असोज ३१ गते ११ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुई जना जवर्जस्ती करणी तथा चोरी मुद्दाका फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हेटौँडा उपमहानगरपालिका–१० बाट ११ बुक तास र रु तीन लाख छ हजार ३१० नगदसहित पक्राउ परेकामध्ये स्थानीय ३७ वर्षीय अर्जुन तामाङ भन्ने विजय तामाङ सिन्धूपाल्चोक जिल्ला अदालतबाट २०७४ साल साउन ११ गते जवर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाइ फरार रहेका थिए ।

    यसैगरी पक्राउ परेकामध्ये मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरे निवासी २७ वर्षीय राजेश दर्नाल भन्ने हेमन्त परियार चोरी तथा डाँका मुद्दामा फरार अभियुक्त रहेको प्रहरी नायव उपरीक्षक बोगटीले बताउनुभयो ।

    दर्नालमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त महाराजगञ्ज काठमाडौँमा गरी चोरी तथा डाँका कसुर सम्बन्धी पाँच मुद्दा दत्र्ता रहेको उहाँको भनाइ छ । दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया पुरा गरी सम्बधित निकायमा बुझाइने प्रहरीले जनाएको छ । रासस

  • पाल्पामा कुटपिटबाट महिलाको हत्या

    पाल्पामा कुटपिटबाट महिलाको हत्या

    रामपुर (पाल्पा), कात्तिक ४ –
    जिलाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक महिलाको हत्या भएको छ । गएराति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् ।

    विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएको प्रहरीले जनाएको छ । उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएकामा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

    गएराति १२ः३५ बजे प्रहरीलाई खबर आउना साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घटनामा संलग्न विश्वकर्मालाई पक्राउ गरेको हो । घरमै लुकिछिपी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । कुटपिटमा धारिलो हतियारसमेत प्रयोग भएको स्थानीयले बताएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस