Blog

  • राष्ट्रियसभा अध्यक्ष दाहालले गरे स्विट्जरल्याण्डमा नेपालको जेनजी आन्दोलनबारे चर्चा

    राष्ट्रियसभा अध्यक्ष दाहालले गरे स्विट्जरल्याण्डमा नेपालको जेनजी आन्दोलनबारे चर्चा

    ४ कात्तिक, काठमाडौं ।
    राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिका संघको १५१ औं सभालाई सम्बोधन गर्दै नेपालको जेनजी आन्दोलनबारे चर्चा गरेका छन् ।

    स्वीट्जरल्याण्डको जेनेभा जारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालमा हालको स्मरणयोग्य जेनेरेशन जेडको भ्रष्टाचारविरोधी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्ने दिशातिर गइरहेका छौँ ।’

    जेनजीको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने रहेको पनि अध्यक्ष दाहालले भने ।

    संघीय संसद जेनजीका लक्ष्यहरू पूरा गर्ने केन्द्र बिन्दु भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हामी यस परिवर्तनबाट प्राप्त अवसरको उपयोग गर्न प्रयत्नरत छौँ ।’

    सुशासन कायम गरि जनता र लोकतन्त्रको पक्षमा आफ्नो जीवन बलिदान गर्ने जेनजी सहिदहरूप्रति सभामा उनले भावपूर्ण श्रद्धासुमन समेत अर्पण गरे ।

    गत भदौ २३ र २४ गते नेपालमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले आगामी फागुन २१ गते चुनाव गर्ने मान्डेड पाएको छ ।

    अन्तरिम सरकारले समयमै प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे ।

    विश्वव्यापी भाइचारार सद्भावलाई विभिन्न कोणबाट चुनौती थपिएको अनुभूति भइरहेको उल्लेख गर्दै उनले साइबर अपराध, स्वचालित हतियार र एआई लगायतको दुरूपयोगबाट सिर्जित समस्यालाई संसदीय कूटनीतिमार्फत् नियन्त्रण गर्न सकिने उनले बताए । यसका लागि आईपियू अन्तर्गत मानवीय कानूनको अनुपालनाको अनुगमन गर्न, असल अभ्यास अनुसरण गर्न र विश्वव्यापी एकतालाई सुदृढ गर्न जरूरी छ।

    नेपालसँग संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागिताको लामो अनुभव रहेको उल्लेख गर्दै उनले थपे, ‘विगतमा वार्ताको माध्यमबाट सशस्त्र द्वन्द्वलाई कुशलता पूर्वकशान्ति प्रक्रियामा सफल रूपान्तरण गरि द्वन्द्व व्यवस्थापन गरेको अभूतपूर्व अनुभवको दृष्टान्त पनि विश्वसामु प्रष्ट नै छ । साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन संशोधन गरि लागु गरिएको छ।’

  • निर्वाचनको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री र दलका नेताबीच आज छलफल

    निर्वाचनको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री र दलका नेताबीच आज छलफल

    काठमाडौँ, कात्तिक ४ –
    प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग आज छलफल गर्दै हुनुहुन्छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा सहभागी हुन सात राजनीतिक दललाई औपचारिक पत्र पुगेको र टेलिफोनबाट पनि सम्पर्क भएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । चुनावको वातावरण बनाउन भइरहेका विभिन्न प्रयासमध्ये एउटा प्रयासका रूपमा दलहरूसँग छलफल राखिएको उहाँको भनाइ छ ।

    सरकारले निर्वाचनसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था, पूर्व तयारी, सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोग र सुरक्षासम्बद्ध निकायसँग छलफल गर्दै आएको छ । निर्वाचन तयारीलगायतका विषयमा प्रधानमन्त्री कार्कीबाट पहिलो पटक राजनीतिक दलसँग हुन लागेको औपचारिक छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादीलगायत दलका नेता सहभागी हुनेछन् । ती दलबाट उच्चस्तरीय प्रतिनिधित्व हुने संयोजक रावलले जनाउनुभयो ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा राष्ट्रपति कार्यालय शीतल निवासमा गत असोज २४ गते प्रधानमन्त्री कार्कीको विशेष उपस्थितिमा राजनीतिक दलहरूसँग निर्वाचन तयारीका सन्दर्भमा छलफल भएको थियो ।

    यसैगरी निर्वाचन आयोगले गत असोज ३० गते विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत स्थानीय निर्वाचनमा कम्तीमा एक वडा सदस्य जित्ने समेत गरी २९ वटा राजनीतिक दलहरूसँगको छलफलका क्रममा प्रतिनिधिहरूले पार्टीहरूसँग सघन छलफल गरी निर्वाचनको वातावरण तयार गर्न सरकारसँग आग्रह गर्नुभएको थियो । रासस

  • चितवनमा दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

    चितवनमा दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

    चितवन, कात्तिक ४ –
    जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।

    जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये १८१ जना चितवनका हुन् भने ६५ जना जिल्लाबाहिरका रहेका छन् । सङ्क्रमितमध्ये २५ जना भरतपुर महानगरपालिकाका हुन् । खैरहनी नगरपालिकाका ४३, माडी नगरपालिकाका चार, रत्ननगर नगरपालिकाका ६१, राप्ती नगरपालिकाका २०, कालिका नगरपालिकाका २३ र इच्छाकामना गाउँपालिकाका पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

    स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले व्यक्तिलाई टोकेपछि सर्ने गर्दछ । स्क्रफ टाइफस भएको व्यक्तिलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

    यसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने किट नियन्त्रक केसीले बताउनुभयो । रासस

  • देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

    देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

    ढोरपाटन (बागलुङ), कात्तिक ४ –
    बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् ।

    तिहारमा खेलिने देउसी भैलोसमेत हिन्दी, अङ्ग्रेजी गीतलाई खेल्न थालेपछि मौलिकता हराउँदै गएको भन्दै मौलिकता संरक्षणका लागि यहाँका विद्यार्थीले पहल थालेका हुन् । बागलुङ बजारको चोकचोक र मुख्य सडकमा देउसीभैलो खेल्ने समूहले मौलिकतालाई खास्सै चासो दिएको छैन । हिन्दी, अङ्ग्रेजी र र्‍याप गीत समावेश गरेर नृत्य प्रस्तुत गर्ने गरेका छन् ।

    मगर विद्यार्थीले हिन्दी, अङ्ग्रेजी गीतलाई स्थान दिएका छैनन् । उनीहरूले परापूर्वककालदेखि बागलुङमा प्रचलित मारुनी, सोरठी, कौरालगायत गीत र नाचलाई प्राथमिकता दिएका छन् । स–साना बालबालिकादेखि युवायुवतीले पुरानो भागा गाउँदै मगर वेषभूषामा नृत्य प्रदर्शन गर्दा बागलुङ बजारवासीको बढी ध्यान त्यतातिर गएको छ ।

    मौलिक संस्कृतिको जगेर्ना र पुस्ता हस्तान्तरणका लागि नेपाल मगर विद्यार्थी सङ्घ जिल्ला कार्यसमितिले यस वर्ष देउसी खेल्न थालेको हो । बजारमा पश्चिमा संस्कृतिको हाबी हुँदै गएपछि त्यसलाई रोक्नका लागि आफूहरु मौलिक संस्कृतिलाई समेटेर देउसी खेल्ने थालेको जिल्लास्थित मगर विद्यार्थी सङ्घका अध्यक्ष कृष्ण अठारे मगरले जानकारी दिनुभयो ।

    पुर्खाहरूरुले तिहारका बेला गाउने र नाच्ने नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेपछि आफूहरू यसको संरक्षणमा जुटेको उहाँको भनाइ छ । खास गरी तिहारमा मारुनी, सोरठी नाच नाच्नुपर्ने भए पनि पछिल्लो समय हिन्दी र अङ्ग्रेजी गीतमा नाच्ने प्रचलन बढेको अध्यक्ष अठारेले बताउनुभयो । मगर विद्यार्थी सङ्घले बूढापाकाबाट प्रशिक्षण लिएर मौलिक गीत र नाचमा देउसी खेलेको उहाँको भनाइ छ । युवा पुस्तामा पुरानो संस्कृति हस्तान्तरणका लागि पनि आफूहरू लागि रहेको अठारेले बताउनुभयो ।

    सोरठी र मारुनी नाच मगर समुदायको पहिचान भएकाले यसलाई सिकेर अन्य युवालाई सिकाउन थालेको सङ्घका सचिव प्रदीप थापामगरले जानकारी दिनुभयो । करिब चार वर्ष बूढापाकाबाट आफूले सोरठी र मारुनी सिकेको उहाँको भनाइ छ । गाउँका टीकाराम थापा, पदम श्रीसलगायतका बुढापाकाहरुबाट सोरठी सिकेपछि मगर विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीहरूलाई तालिम दिएर यसपाली देउसी खेल्न थालेको थापाले बताउनुभयो ।

    देउसी खेलेर सङ्कलन गरेको रकमले सांस्कृतिक साँझ गर्ने मगर विद्यार्थी सङ्घले जनाएको छ । विद्यार्थी सङ्घले विभिन्न समयमा भाषा, कला र संस्कृति संरक्षणमा काम गर्दै आएको छ । रासस

  • भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

    भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

    चितवन, कार्तिक ४–

    चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज विहान स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।

    राति दुई बजेको समयमा भरतपुर–१०, स्थित विमानस्थल नजिकै बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडी सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    दुर्घटनामा दुबै जनाको टाउकोमा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । दुवै जनालाई विहान २ः३५ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

  • आजको मौसम : आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना

    आजको मौसम : आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना

    काठमाडौँ कार्तिक ४
    हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ।

    आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । बुधवार भने सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

  • आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

    आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

    आज मिति वि।सं।२०८२ साल कार्तिक ४ गते । मंगलबार । ईश्वी सन् २०२५ अक्टोबर २१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–औशी, बेलुकी ४ बजेर २९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–चित्रा, बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त स्वाती । योग–विष्कुम्भ, रातको ४ बजेर ३ मिनेट उप्रान्त प्रिती । करण–नाग, बेलुकी ४ बजेर २९ मिनेट उप्रान्त किंस्तुध्न, रातको ५ बजेर २३ मिनेट उप्रान्त बव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–कन्या, बिहान ९बजेर ३८ मिनेट उप्रान्त तुला ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २७ मिनेट । दिनमान २८ घडी १९ पला ।

    आजको राशिफल

    मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० उपभोग्य वस्तु तथा चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ । लगनशीलता तथा इमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययन वा कामलाई प्रविधिको प्रयोगबाट सहज बनाउन सकिनेछ । खानपान, यात्रा, तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मिथुन ९का,की,कू,घ,ङ,छ,के,को,हा० तपाईँको इमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमत्ता पूर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपहार प्राप्तिको योग रहेको छ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रसन्न रहनेछ । परिवारका साथ खानपान, यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।

    कर्कट ९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० बिहानको समय राम्रो रहेकोले चाडबाड लक्षित सामानको व्यापारमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

    सिंह९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । यात्रा, मनोरञ्जन तथा स्वादिष्ट भोजन ग्रहण गर्दै समय व्यातित गर्न सकिनेछ ।

    कन्या ९टो,पा,पी,पू,ष,ण,ठ,पे,पो० बोल बचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ । गीत सङ्गीत तथा यस्तै क्षेत्रमा समय खर्चँदै हुनुहुन्छ भने प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मीयता बढ्नेछ भने पारिवारिक माहौलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धित र चाडबाड लक्षित सामानको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

    तुला ९रा,री,रु,रे,रो,ता,ती,तू,ते० विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । चाडबाड लक्षित सामानको लगानीबाट नाफा कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । परिवारका साथ यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृश्चिक९तो,ना,नी,नू,ने,नो,या,यी,यू० खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग मनमुटाब बढ्नेछ । तर पनि विदेशमा उत्पादित सामानको व्यवसाय फस्टाएर जानेछ । चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    धनु ९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने तथा नोकरी पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरू प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरूमा विवाहरूपी निकास पाउने योग रहेको छ । परिवारमा साथ खानपान, मनोरञ्जन तथा किनमेलमा केही समय खर्च हुनेछ ।

    मकर ९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा० समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । औषधीजन्य, दैनिक उपभोग्य सामान तथा चाडबाड लक्षित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै छुटिदा मन प्रसन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।

    मीन ९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले गोप्य रिपोर्टहरू बाहिर आउने तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । माया प्रेममा धोका तथा मनमुटाब सिर्जना हुने योग रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • विपिन जोशीको शव ल्याइयो नेपाल

    विपिन जोशीको शव ल्याइयो नेपाल

    काठमाडौँ, कात्तिक ३-
    विपिन जोशीको शव नेपाल ल्याइएको छ।

    इसराइलबाट उनको शव सोमबार दिउँसो काठमाडौं ल्याइएको हो।

    इसराइलबाट सोमबार दिउँसो फ्लाइ दुबईको नियमित उडानमार्फत विपिनको शव काठमाडौं ल्याइएको हो।

    काठमाडौंबाट नेपाली सेनाले विपिनको शव कञ्चनपुरस्थित उनको घरमा पुर्‍याइदिनेछ।

     

     

  • यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

    यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

    काठमाडौँ, कात्तिक ३-
    यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।

    सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ ।

    लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

    दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

    लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।

    आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घर घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो ।

    आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परा अनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख छ ।

  • नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

    नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

    चितवन, ३ कात्तिकः
    नारायणी नदी किनार नारायणगढमा कार्तिक १८ देखि हुने बृहत खेलकुद तथा बृहत व्यापारिक मेलाको तयारी तिव्र पारिएको छ । महोत्सव परिसरमा अहिले काम तिव्र गतिमा भइरहको आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ ।

    खेलकुदसँगै व्यवसाय प्रवर्द्धनका लागि आयोजित महोत्सव मंसिर २ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न खेलहरु खेलाईनुका साथै ३ सय भन्दा बढी व्यवसायिक स्टलहरु रहने समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । कार्कीका अनुसार महोत्सवमा बिच भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ ।

    यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने पनि कार्कीले जानकारी दिए । महोत्सवको मुख्य आकर्षणमा दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिमा रहनेछ । नेपालमा नै पहिलो पटक अतिरिक्त शुल्क नतिरी दर्शकहरुले दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावर अवलोकन गर्न सकिने महोत्सव संयोजक विकल क्षेत्रीले जानकारी दिए ।

    यस्तै महोत्सवमा बाल उद्यान र मुभिङ ट्रेन पनि रहनेछ । महोत्सव कृषि प्रवर्द्धनका लागि छुट्टै प्यागोडा शैलीको ३० भन्दा बढी स्टलको व्यवस्था गरिनेछ । खेलकुद संघ संस्थाले स्टल राख्न चाहेमा नि:शुल्क उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । नेपालमा चर्चित कलाकारहरुले हरेक दिन प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६:३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ । महोत्सवमा निकालिने झाँकी मध्य उत्कृष्ट ३ लाई क्रमश ३०, २० र १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।

    तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान रहेका छन् । महोत्सवका लागि एक सय रुपैयाँको टिकट रहने खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले बताए । उनका अनुसार विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिनेछ । महोत्सव सम्पन्न गर्नका लागि अनुमानित एक करोड ५० लाख खर्च हुने कार्कीले बताए । महोत्सवबाट खर्च कटाएर बचत भएको रकम जिल्लाको खेल क्षेत्रको बिकास र प्रवर्द्धनमा खर्च गर्ने आयोजकको लक्ष्य छ । खेलकुद र व्यापार प्रवर्द्धनलाई मध्यनजर गरेर चितवनमा नै पहिलो पटक यस किसिमको महोत्सव आयोजना गर्न लागिएको हो ।