Blog

  • आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल माघ १३ गते । मंगलबार । इस्वी सन् २०२६ जनवरी २७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ शुक्लपक्ष । तिथि–नवमी, २४ घडी २२ पला, बेलुकी ४ बजेर ४० मिनेट उप्रान्त दशमी । नक्षत्र–भरुणी, ५ घडी ४९ पला, बिहान ९ बजेर १५ मिनेट उप्रान्त कृतीका । योग–शुक्ल, ४७ घडी १० पला, रातको १ बजेर ४७ मिनेट उप्रान्त ब्रह्म । करण–बालव, बेलुकी ४ बजेर ४० मिनेट उप्रान्त तैतिल, रातको ३ बजेर ३० मिनेट उप्रान्त गर । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष, दिउँसो २ बजेर ५१ मिनेट उप्रान्त वृष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३८ मिनेट । दिनमान २६ घडी ५० पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने लगानीको नयाँ वातावरण बनाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैक तथा वित्तीय क्षेत्रको शेयरबाट आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी दिन प्रभावकारी रहनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार तथा शेयर बजारबाट राम्रो आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीतिक, सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ । धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनछ । व्यापार, शेयर बजार तथा उत्पादनमुखी क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ । नसोचेका तथा लामो समय देखि रोकिएर बसेका कामहरू सम्पादन गर्न सकिनेछ । आफन्त तथा घरपरिवारका मानिसबाट सहयोग प्राप्त हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारको सिलसिलामा लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । साँझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा शेयर बजारको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) चिट्ठा पर्ने तथा उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । व्यापार वा शेयर बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको कारोबारमा सुधार भई आम्दानीमा वृद्धि हुनेछ । आमा तथा अग्रजहरूको साथ सहयोगले राम्रा तथा उत्पादनमूलक कामहरू गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । काम वा अध्ययनबाट विश्राम लिँदै यात्रा तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट प्रशस्त नाफा कमाउन सकिनेछ । सापटी दिइएका रकमहरू फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग पाइनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको भरपुर सहयोग पाइनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धिमूलक यात्रा हुनेछ । साँझपख आफन्त तथा साथीभाइसँग छुट्टिएर यात्रा गर्नु पदा मन खिन्न हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारिक माहौलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…

    अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…

    सिरहा, १२ माघः
    लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरिएको छ ।

    जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्यष्टि गरेको हो ।

    गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।

    रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर सुनेलगत्तै नेपाल फर्किए । आज बिहान छोरीको अन्तिम संस्कारका लागि शव लिन अस्पताल पुग्दा त्यहाँ शव फेला पारेनन् ।

    अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरीको शव परीक्षणका लागि अस्पतालमा राखिएको र ती किशोरीका परिवारले आइतबार झुक्किएर शव लिएको र सोही दिन अन्त्येष्टिसमेत गरिसकेको खुलेको छ ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले शव राख्ने क्रममा ‘कोडिङ’ नगरिएका कारण कर्मचारीबाट गल्ती भएको स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो अस्पताल प्रशासनको गम्भीर लापर्बाही हो, यसको छानबिन गरी दोषीलाई कारबाही गर्नेछौँ ।”

    छोरीको अन्तिम पटक मुख देख्नसमेत नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल हुनुभएको छ । उहाँले भन्नुभयो, “छोरीलाई समयमै बचाउन सकिएन, सास हुँदा देख्न पनि पाइएन, कम्तीमा लास त हेर्न पाइएला कि भनेर अर्को देशबाट आयौँ तर अस्पतालको लापर्बाहीले त्यो पनि सम्भव भएन ।”
    शव हराएको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । त्यसक्रममा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी दोषीलाई कारबाही र न्यायको मागसमेत गरेका छन् ।

    इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकार भएका पक्षबीच वार्ताको तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

  • सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

    सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

    चितवन, १२ माघः
    डेढ वर्षअघि चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको गणपति डिलक्स बसको भग्नावशेषबाट मानव कङ्काल फेला परेको छ।

    तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको बस उत्खनन गर्ने क्रममा १६ औं दिनमा मानव कङ्काल भेटिएको हो।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि मानव शरीरको अङ्ग भेटिएको पुष्टि गरेका छन्।

    त्यसलाई जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा कानुनी प्रकृयाअनुसार काम गर्ने उनले बताए।

    भेटिएको कङ्काल परीक्षणको लागि भरतपुर अस्पताल ल्याइएको छ।

  • यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै

    यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै

    काठमाडौँ, १२ माघः 
    सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप बालिका तथा किशोरीहरुलाई लगाउने भएको छ ।

    स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले यही महिनाको तेस्रो सातादेखि देशव्यापी अभियानका रुपमा एचपिभी खोप लगाइने जानकारी दिनुभयो ।

    “खोप अभियानअन्तर्गत यस वर्ष विद्यालय भर्ना भएका कक्षा ६ मा पढ्ने छात्रा र विद्यालय भर्ना नभएका १० वर्ष उमेर समूहका बालिकाहरुलाई खोप लगाइने छ”, उहाँले भन्नुभयो, “कक्षा ६ मा पढ्ने ११ र १२ वर्षसम्मका छात्राले पनि खोप पाउने छन् ।

    फागुनको पहिलो हप्तासम्म लक्षित किशोरी तथा बालिकाहरुलाई खोप लगाइसक्ने हाम्रो तयारी छ ।” उहाँले अहिले खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिरहेको बताउनुभयो ।

    सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप लगाएको थियो ।

    शाखा प्रमुख गौतमले गत वर्ष खोप लगाउन छुटेका बालिकाहरुलाई पनि यसवर्ष खोप प्रदान गरिने जानकारी दिनुभयो । गत वर्ष छुटेका ११ देखि १४ वर्षसम्मका बालिकाहरुलाई यसपटक खोप लगाइने छ ।

    उहाँका अनुसार यस वर्ष करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने छ । सरकारले उक्त खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल आइपुगेको उहाँले जानकारी दिनुभयो ।

    नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।

  • समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

    भक्तपुर, १२ माघः 
    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ ।

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

    केन्द्रले आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।

    केन्द्रले यसअघि १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरेर निर्वाचन आयोगलाइ पठाइसकेको जनाएको छ ।

  • जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

    जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु, दुई जना घाइते

    दैलेख, १२ माघः
    यहाँको महावु र भैरवी गाउँपालिकाको सीमा क्षेत्रमा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छभने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

    महावु गाउँपालिका–५ कुटीमा आज दिउँसो आँगनमा घाम तापेर बसिरहेको अवस्थामा बँदेलको आक्रमणमा परी ८० वर्षीय प्रदीप सिंहको मृत्यु भएको हो । दिउँसो करिब १२ः०० बजेतिर भएको उक्त आक्रमणपछि सिंहको हेलिकप्टरमार्फत उद्धारका लागि पहल गरिए पनि उपचारका लागि लैजान नपाउँदै घटनास्थलमै मृत्यु भएको महावु–५ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिनुभयो ।

    सोही क्षेत्रसँगै जोडिएको भैरवी गाउँपालिका–६ कुर्माकोटमा पनि बँदेलकै आक्रमणबाट आजै दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा दीपक सिंजाली र निकेश सिंजाली छन् । उनीहरू दुवैको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यो क्षेत्र दुवै गाउँपालिकाको सिमानामा पर्ने भएकाले बँदेलले दुवैतर्फका बस्तीमा आतङ्क सिर्जना गरेको स्थानीयले बताएका छन् ।

    महावु–४ गीताचौर स्वास्थ्यचौकीका इञ्चार्ज राजेश हमालले घटनास्थलको वस्तुस्थितिबारे जानकारी दिँदै भन्नुभयो, “आक्रमण गर्ने बँदेल अहिले पनि घटनास्थल नजिकै ५०–६० फिटको दूरीमा बसिरहेको छ । यसले गाउँलेहरू आतङ्कित छन् । तत्काल नियन्त्रण नगरिए थप मानवीय क्षति हुनसक्ने देखिएको छ ।”

    घटनाको जानकारी पाएलगत्तै काँशिकाँध अस्थायी प्रहरीचौकीबाट प्रहरी टोली र स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको छभने गाउँपालिकाको टोली पनि सो क्षेत्रतर्फ लागेका छन् । प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वन्यजन्तुको आक्रमणबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त बँदेललाई नियन्त्रणमा लिन सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल भइरहेको बताउनुभयो । “हामीले स्थिति नियन्त्रणमा लिन र थप घटना हुन नदिन आवश्यक योजना बनाइरहेका छौँ”, प्रजिअ सारुले भन्नुभयो ।

    यो क्षेत्रमा विगत केही समयदेखि जङ्गली बँदेल र जनावरहरूले मानिसलाई आक्रमण गर्ने तथा बालीनाली नष्ट गर्ने गर्दा स्थानीयवासी सास्ती भोग्दै आएका छन् । वन्यजन्तुको बढ्दो आतङ्कका कारण बस्ती नै असुरक्षित भएपछि स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन् ।

  • चितवन-२ मा काँग्रेस उम्मेदवार मिना खरेलको चुनावी अभियान, घरमै पुगेर महिलाहरुले गरे भव्य स्वागत

    चितवन-२ मा काँग्रेस उम्मेदवार मिना खरेलको चुनावी अभियान, घरमै पुगेर महिलाहरुले गरे भव्य स्वागत

    चितवन, १२ माघः
    नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का उम्मेदवार मिना खरेलले चुनावी अभियान सुरु गरेकी छन् । भरतपुरको लन्कु स्थित उनको घरबाट शुरु भएको चुनावी अभियानमा राजनितिक दलका विभिन्न महिलाहरुले उनको घरमै पुगेर आज भव्य स्वागत गरेका हुन् ।

    कार्यक्रममा जिल्ला, प्रदेश, क्षेत्र, वडा, टोल लगाएत सबै तहका महिलाहरूको उत्साहजन सहभागिता रहेको थियो। जसमा उनिहरुले खरेललाई आशिर्वाद दिँदै जितको शुभकामना व्यक्त गरे । चितवन क्षेत्र नम्बर–२ का लगभग सबै क्षेत्रबाट महिलाहरूको उल्लेख्य उपस्थिति रहेको यस कार्यक्रममा माहोल उत्साहपूर्ण बनेको थियो ।

    यस्तै मिना खरेलले आफ्नै निवासमा आएर महिला दिदी बहिनी, आमाबुवाहरुबाट आशिर्वाद पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले महिलाहरूको उत्साहजनक उपस्थितिले आफ्नो जित भएको अनुभव गराएको बताईन् ।

    उनी भन्छिन्, बाल मस्तिष्कदेखि राजनीतिक चेत भोगेर राजनीतिक बुझाइलाई समाजसेवाको पाटोबाट निरन्तर महिला बालबालिकाको सेवामा खटिरहे । त्यसको मूल्याङ्कन गर्दै पाटीले दिएको टिकट, मेरो उम्मेदवारीमा पार्टीका साथी र पार्टीमा नभएका अन्य स्वतन्त्र महिलाहरु मीनाको उम्मेदवारी हाम्रो उम्मेदवारी हो भन्नुभएको छ । जस्ले गर्दा समग्र महिलाको प्रतिनिधित्व गर्दै कानुन निर्माण गर्ने ठाउँमा पुगेर समाजको सेवा र बिकासमा हिजो जस्तै भोलिका दिनहरूमा पनि निरन्तरता दिन चाहान्छु ।

    संविधानले ३३% महिलाको व्यवस्था गरे पनि हाल पार्टीका तर्फबाट ११ प्रतिशत मात्रै महिला उम्मेदवार भएकाले निर्वाचनमा होमिन लागेका महिला उम्मेदवारहरूलाई जिताउनुपर्ने चुनौती पनि रहेको उनको भनाई थियो ।

    खरेलले चितवन क्षेत्र नम्बर–२ मा आफ्नो प्रतिस्पर्धी अरू कोही नभई आफू स्वयं भएको दाबी गर्दै यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशतभन्दा बढी महिलाहरू रहेको कारण चितवनका महिलाहरूले आफूलाई मतदान गर्ने पूर्ण विश्वास व्यक्त गरिन् । महिलाहरूको न्यायका लागि सधैँ अग्रपंक्तिमा रहने बताउँदै उनले यस क्षेत्रबाट विजयी भएमा महिलामाथि हुने अन्याय, हिंसा र विभेदका मुद्दा संसदमा सशक्त रूपमा उठाउने स्पष्ट पारीन् ।

    विजय पश्चात् चितवन क्षेत्र नम्बर–२ को पहिचान मजबुत बनाउँदै राष्ट्रिय स्तरमै महिला तथा बालबालिकाका अधिकार सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै खरेलले आफ्नो व्यावहारिक अनुभव र विगतको कामका आधारमा आफू जिम्मेवारी वहन गर्न पूर्ण रूपमा सक्षम रहेको बताइन् ।

  • वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

    कर्णाली, माघ १२ –
    सुर्खेतको वीरेन्द्रनगरमा इभी गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    वीरेन्द्रनगर नगरपालिका–३ लाटीकोइलीका ४२ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा आज कर्णाली प्रदेश अस्पातलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको क.प्र.०२००१ ज.०६२३ नंको इभी गाडीसँग विपरीत दिशाबाट बिसीले चलाएको भे।६ प।३३२१ नंको मोटरसाइकल ठोक्किएको हो ।

    घटनास्थलबाट इभी गाडी चालक वीरेन्द्रनगर नगरपालिका–७ का ४४ वर्षीय बालकृष्ण रिजाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस

  • नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

    नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

    १२ माघ, काठमाडौं ।
    नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको स्वागतका लागि आएका समर्थकहरू विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् ।

    बालेन चुनाब प्रचारका लागि पश्चिम नेपाल जाँदा उनका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल पुगेका थिए । समर्थकको गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत बनेका छन् । उनी चुनावी प्रचार-प्रसारका लागि अहिले पश्चिततर्फ गएका छन् । बालेन भने झापा ५ बाट चुनाव लड्दैछन् ।

    झापामा उम्मेदवारी दिएर पूर्वी पहाडी जिल्ला पुगेर बालेन काठमाडौं फर्किएका थिए । त्यसपछि उनी आज पश्चिम लागेका हुन् ।

  • आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

    आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

    माघ १२, लमजुङ ।
    लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ ।

    यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नको लागि आज बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, “सो स्थानमा केही वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे –बेँसीसहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार प्रशासनले एक सूचना जारी गरेर सडक बन्द गरेको हो ।”

    नेपाली सेनाको चण्डीप्रसाद गण उदीपुर ब्यारेकको क्षेत्रबाट सवारी साधन डाइभर्ट गराई आवगमन भइरहेको उनको भनाइ छ । यस सडक हुँदै काठमाडौँ, पोखरा, चितवन लगायतको जिल्लामा सवारीसाधन सञ्चालन हुने गरेको छ । सो स्थानबाट बेँसीसहर र साथै हिमाली जिल्ला मनाङको स्थानीयसमेत यही सडक हुँदै आवतजावत गर्ने गर्दछन् ।

    सो स्थानमा विसं २०७८ असार १ गते र २०७८ साउन ११ गते गएको पहिरोले सडक बगाएको थियो । सडक रोकथामको लागि सङ्घीय सरकारले ११ करोड १९ लाख बजेटमा रोकथाम कार्य तथा सो स्थानमा ४०० मिटर जति सडक कालोपत्रे हुन लागेको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजना प्रमुख सतीश सुवेदीले भने, “यस सडकमा कालोपत्रे गर्नको लागि काम भइरहेको छ, यहाँ पहिरो रोकथाम कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको छ ।”रासस