Blog

  • यस वर्ष इच्छाकामना र भरतपुरमा गरी नौ करोड बढीको सुन्तला बिक्री

    यस वर्ष इच्छाकामना र भरतपुरमा गरी नौ करोड बढीको सुन्तला बिक्री

    चितवन, माघ १२-
    जिल्लामा सुन्तलाखेती गर्दै आएका किसानले रु नौ करोड १० लाख बराबरको सुन्तला बिक्री गरेका छन् । कृषि विकास कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ का किसानले सो रकम बराबरको सुन्तला बिक्री गरेका हुन् ।

    कार्यालयका अर्थविज्ञ निर्मलकुमार पौडेलका अनुसार यस वर्ष जिल्लामा एक हजार दुई दशमलव आठ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । जिल्लामा ९२ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जहाँ आर्थिक बर्ष २०८०/८१ मा एक हजार ३६ मेट्रिकटन सुन्तला उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    पुराना बिरुवाको वृद्धावस्था, सुन्तला बगैँचा व्यवस्थापनमा कम चासो हुँदा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बेमौसमी वर्षा वा खडेरी, रोग किराको समस्या, उचित मलजलको कमीका कारण सुन्तला उत्पादनमा कमी आएको हो । सुन्तालको बोटमा फल लाग्न नदिने सिट्रस ग्रिनिङ रोगको समस्या, सिजनमा मल र बोटका हेरचाहमा ढिलाइ र बजारमा मूल्य अस्थिरता हुँदा किसानमा चुनौती थपिएको उहाँले बताउनुभयो ।

    सुन्तला उत्पादनका दृष्टिले प्रचुर सम्भावना भएको इच्छाकामना गाउँपालिकामा वैज्ञानिक प्रविधि र प्राविधिकको सहयोगबाट उत्पादन वृद्धि गर्नतर्फ लाग्न जरुरी रहेको उहाँले बताउनुभयो । यहाँको सुन्ताल नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ, पोखरालगायत सहरहरूमा बिक्री हुँदै आएको छ । रासस

  • भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

    भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

    चितवन, माघ १२ –
    भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् । भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा भारतबाट ठूलो मात्रामा नेपालमा दूध आउने गर्दथ्यो ।
    विगतका वर्षमा यो मौसममा भारतबाट अवैैध दूध भित्रिँदा यहाँको उत्पादन प्रभावित हुने गर्दथ्यो ।

    यससँगै यहाँ उत्पादन भएको दूधलाई बिक्री गर्न नसकेपछि प्रशोधन गर्न बाध्य हुनुपथ्र्यो । यस वर्ष भारतमा दूधको मूल्य बढेपछि यहाँको दूध सीमा क्षेत्रबाट अवैध रुपमा भारतका बजारमा जान थालेको छ । जसका कारण नेपाली उत्पादनले बजार पाएको छ ।

    केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार भारतमा दूधको मूल्य नेपालको भन्दा ४६ पैसा मात्र बढी छ । जसका कारण भारतीय बजारबाट विगतमा अवैध रुपमा आउने गरेको दूध यस वर्ष आएको छैन । उहाँले भन्नुभयो, “ढुवानी जोड्दा नेपालीभन्दा महँगो पर्ने भएपछि भारतबाट दूध आएको छैन, यहाँको लुकीछिपी सीमा क्षेत्रबाट भारत लगिएको छ ।”

    यहाँको सीमा क्षेत्रबाट भारतको पट्नालगायत सीमा क्षेत्रमा लुकाई–छिपाई दूध गएको सूचना आएको उहाँ बताउनुहुन्छ । यससँगै भुक्तानी समयमा नपाउँदा किसानले पशुपालनमा रुचि कम गरेका कारण उत्पादन पनि घटेको उहाँको भनाइ छ ।

    यो मौसममा यकिन तथ्याङ्क नभए पनि दैनिक ४५ लाख हाराहारी लिटर दूध उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ । गत वर्षको तुलनामा एक लाख हाराहारी लिटर दूध घटेको उहाँको भनाइ छ ।
    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले यस वर्ष भारत तर्फबाट दूध नआउँदा यहाँ उत्पादित दूधले बजार पाएको बताउनुहुन्छ । उहाँको भनाइमा मङ्सिर, पुस र माघ महिना दूधको खपत कम हुने भएकाले उत्पादनको व्यवस्थापन जटिल हुने गर्दछ । जाडो महिनामा दही, आइसक्रिम जस्ता दुग्धजन्य उत्पादन खपत नहुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “भारततर्फबाट दूध नआउँदा हामीलाई ठीक भएको छ, यहाँको बजार मिलेको छ ।” विगतका वर्षमा मिल्क होलिडे पनि गर्नु परेको भन्दै उहाँले अहिले बजारमा उत्पादित दूध खपत भइरहेको बताउनुभयो ।

    दूध बिक्री नभएपछि प्रशोधनका लागि यहाँको चितवन मिल्कमा यो समयमा धेरै दूध आउने गर्दथ्यो । चितवन मिल्कका प्रबन्धक दुर्गाप्रसाद पराजुलीले विगतका वर्षमा तीन दिनसम्म कन्टेनर सडकमा लाइन बस्ने गरेको भन्दै उहाँले यो वर्ष त्यस्तो अवस्था नरहेको बताउनुभयो । गत वर्षमा दैनिक दुई लाख लिटर दूध आउने गरेकामा यो वर्ष ७० हजार लिटर हाराहारी मात्रै आएको बताउनुहुन्छ ।

    असार, साउनमा यहाँ प्रशोधनका लागि दूध आउँदैन । भदौदेखि जेठसम्म प्रशोधनका लागि दूध आउने गर्दछ । यो वर्ष भदौ, असोजमा महिनाको चार लाख लिटर हाराहारी, कात्तिकमा १० लाख हाराराहारी, मङ्सिरमा १५ लाख हाराहारी र पुसमा २० लाख हाराहारी दूध आएको भन्दै उहाँले गत वर्षको तुलनामा निकै कम भएको बताउनुभयो । उहाँले स्मरण गर्नुभयो, “गत वर्षमा नौनी र दूध पाउडर राख्ने ठाउँ नभएर उद्योग बन्द गर्नुपर्ने अवस्था हुन्थ्यो, अहिले अवस्था त्यस्तो छैन ।”

    भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क अहिले सहकारी र डेरीहरूले शुल्क तिरेर प्रशोधन गर्न दूध ल्याउने गर्दछन् । चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ । रासस

  • श्रम नगरी देश बन्दैनः अध्यक्ष साम्पाङ

    श्रम नगरी देश बन्दैनः अध्यक्ष साम्पाङ

    दमौली (तनहुँ), माघ १२ –
    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देश विकास हुन नसक्ने बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज स्थानीयसँग भेटघाट गर्दै अध्यक्ष साम्पाङले गफले मात्रै मुलुक नबन्ने बताउँदै त्यसका लागि श्रम अनिवार्य रहेको बताउनुभयो ।

    गफभन्दा श्रमलाई प्राथमिकता दिने पार्टी आफ्नो मात्रै रहेको दाबी गर्दै साम्पाङले सबै जनता उत्पादनशील काममा जोडिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “काम नगरेर देश नबनेको हो । काम गर्ने मानिसलाई अपमान गर्ने प्रवृत्ति छ । श्रम गरेर देशलाई स्वाधीन बनाउनुपर्छ ।”

    अध्यक्ष साम्पाङले राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको आरोप लगाउँदै आफ्नो पार्टीले श्रमलाई व्यवहारमै उतारेको दाबी गर्नुभयो । “काम नगरेर देश बनेको छैन । हामी कहाँ काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार छ,” उहाँले भन्नुभयो, “यो सोच बदल्न सकेनौँ भने देश कहिल्यै अगाडि बढ्दैन ।”

    उहाँले देशका सबै नागरिकलाई उत्पादनशील काममा जोड्न नसक्दासम्म बेरोजगारी, गरिबी र परनिर्भरताको समस्या समाधान नहुने बताउनुभयो । विशेषगरी युवाहरू श्रमबाट टाढा रहँदा ठूलो जनशक्ति विदेशिन बाध्य भएको उहाँको भनाइ थियो ।

    अध्यक्ष साम्पाङले विदेशी सहयोग र अनुदानले मात्र देश नबन्ने स्पष्ट पार्दै आफ्नै श्रम र स्रोतको सदुपयोगमार्फत विकास गर्नुपर्नेमा जोड दिनुभयो । “विदेशी आएर हाम्रो देश बनाई दिँदैनन् । आफ्नो देश आफैँले बनाउने हो,” उहाँले भन्नुभयो, “श्रमलाई मूल आधार मानेर हामी अघि बढेका छौँ ।” रासस

  • सङ्खुवासभामा बोलेरो जिप दुर्घटना अपडेटः मृतक दुई जनाको पहिचान खुल्यो

    सङ्खुवासभामा बोलेरो जिप दुर्घटना अपडेटः मृतक दुई जनाको पहिचान खुल्यो

    किमाथाङ्का (सङ्खुवासभा), माघ १२-
    सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । चैनपुर–२ नुनढाकीस्थित चैनपुर नुनढाकी खण्डको भित्री सडकमा जिप दुर्घटना हुँदा चैनपुर–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र चैनपुर–१ का पैरेका अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो ।

    आइतबार साँझ ५ः३० बजे चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ स्थित नुनढाकी नजिकै दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका थिए । जिप दुर्घटनामा परेर चैनपुर–१ सिङरिङ बस्ने ३४ वर्षीय निमदोर्जी शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा, चैनपुर मैदानेका ४५ वर्षीय भीमबहादुर थुलुङ र पाँचथरको फिदिम नगरपालिका–४ का २८ वर्षीय दीपेश माझी रहेको नायब प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो ।

    गम्भीर घाइते चैनपुर–१ सिङरिङ्का निमदोर्चि, भीम बहादुर र पाँचथरको फिदिमका दीपेशलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । घटनालगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

  • विद्यालयको बसको ठक्करबाट नवलपुरमा चार वर्षीय बालिकाको मृत्यु

    विद्यालयको बसको ठक्करबाट नवलपुरमा चार वर्षीय बालिकाको मृत्यु

    माघ १२,मध्यविन्दु ।
    नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ ।

    नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।

    विद्यालय हाताभित्र बस घुमाउने क्रममा बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्ने बिबु पासवानको चार वर्षीय छोरी सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन् ।

    घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

    ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिइएको छ ।रासस

  • मुस्ताङमा ११ हजार ३२८ जना मतदाताः ३९ मतदान केन्द्र कायम

    मुस्ताङमा ११ हजार ३२८ जना मतदाताः ३९ मतदान केन्द्र कायम

    मुस्ताङ, माघ १२-
    आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि यहाँको थासाङ गाउँपालिकास्थित पाँचवटा मतदानस्थल तथ मतदान केन्द्रको स्थलगत अनुगमन गरिएको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल र प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली र स्थानीय सञ्चारकर्मी लगायतको संयुक्त टोलीले मुस्ताङको थासाङ गाउँपालिकामा रहेका आठवटा मतदान केन्द्र तथा मतदानस्थलमध्ये पाँच वटाको संयुक्त अनुगमन गरेको हो ।

    निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रको शान्तिसुरक्षाको अवस्था तथा मतदान केन्द्र तथा मतदानस्थलको वस्तुगत अवस्था र मतदानदातालाई निर्भिकतापूवर्क मतदान गर्न पाउँने संवैधानिक हक अधिकारको सुनिश्चितता गराउने उद्देश्यले यहाँका मतदान केन्द्र तथा मतदानस्थलको स्थलगत अनुगमन गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । जिल्लाको थासाङ गाउपालिकास्थित घाँसा, छयो, लेते, कोवाङ र कोवाङ मतदान केन्द्र तथा मतदानस्थलमा पुगेर प्रत्यक्ष अनुगमन गरिएको उहाँको भनाइ छ ।

    यसैगरी थासाङमा बाँकी रहेका कालीगण्डकी पारीका सौरु, कुञ्जो र झिप्रा देउराली लगायतका मतदानस्थलको अर्को चरणमा अनुमगन गरिने निर्वाचन अधिकारी ज्ञवालीले बताउँनुभयो । मुस्ताङमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयपत्र दाखिला, दाबी विरोध, अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने लगायतका काम सकिएलगत्तै थासाङ गाउँपालिकामा मतदान केन्द्र तथा मतदानस्थलको अनुगमन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले बताउँनुभयो ।

    यसअघि जिल्ला सुरक्षा समिति जिल्लाले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी उपल्लो मुस्ताङका विभिन्न मतदान केन्द्र तथा मतदानस्थलको अनुमगन सम्पन्न गरेको थियो । प्रजिअ अजिता शर्मा नेतृत्वको जिल्ला सुरक्षा समिति लगायतको टोलीले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– २८ मतदान केन्द्र तथा मतदानस्थलमध्ये २५ को स्थलगत अनुगमन सम्पन्न गरेको थियो ।

    माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डस्थित ताङ्ग्या र ढी मतदानस्थल र बारागुङ मुक्तिक्षेत्रको साङ्ता मतदानस्थलको अनुमगन गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि जिल्लाका पाँच पालिकामा ३९ मतदान केन्द्रस्थल छन् । यसअन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ—२ सम्जुङ मतदान केन्द्रलाई सोही वडाको दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा ठाउँ सारी (मर्ज)गरिएको छ ।

    लोघेकर दामोदरकुण्ड—४ मा यसअघिको मतदान केन्द्र रहेकोमा थप अर्को एक मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्रबहादुर ज्ञवालीले जानकारी दिनुभयो । जिल्ला ११ हजार ३२८ जना मतदाता छन् । यहाँको घरपझोङमा दुई हजार ४९२, थासाङमा दुई हजार ९०७, वारागुङ मुक्तिक्षेत्रमा दुई हजार ३९, लोघेकर दामोदरकुण्डमा एक हजार ५४२ र लोमान्थाङ गाउँपालिकामा दुई हजार ११ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

  • एकैदिन ५२ सयले बढेपछि सुनको मूल्य पुग्यो प्रतितोला ३ लाख ९ हजार

    एकैदिन ५२ सयले बढेपछि सुनको मूल्य पुग्यो प्रतितोला ३ लाख ९ हजार

    काठमाडौँ, माघ १२-
    नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५ हजार २ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन लाख ९ हजार रुपैयाँ पुगेको हो । आइतबार सुनको मूल्य तोलामा तीन लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । हिजो प्रतितोला ६ हजार ४८० रुपैयाँ मूल्यमा कारोबार भएको थियो ।

  • महिला टी-२० विश्वकप ग्लोबल छनोटः स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

    महिला टी-२० विश्वकप ग्लोबल छनोटः स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

    काठमाडौँ, माघ १२-
    आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ।

    आज (सोमबार) त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनायो।

    स्कटल्यान्डविरुद्द नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन् भने रुविना क्षेत्रीले ३ विकेट लिइन्। त्यस्तै, सीता राना मगर, रुविना क्षेत्री, कविता जोशी र रिया शर्माले समान १/१ विकेट लिए।

  • चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको दोस्रो भागको काम सकियो, एकभाग बाँकी

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको दोस्रो भागको काम सकियो, एकभाग बाँकी

    चितवन, माघ १२ –
    चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ । उहाँले भन्नुभयो “आज देखि क्यामेरा उठाउने काम सुरु भएको छ । दुई देखि तीन दिनमा क्यामेरा उठाउने काम सकिने छ ।” उहाँका अनुसार तालिम दिएका १५० गणकहरू गणनामा खटिएका छन् ।

    दोस्रो भागमा १३ क्याम्प बनाएर गणक खटिएको निकुञ्जका सूचना अधिकारी मगरले बताउनुभयो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुँदै, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । ती क्यामेरा निकाल्न थालिएको हो ।

    सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको थियो । एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर बाघ गाणना गरिएको हो । मगरका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिने छ । तेस्रो भाग अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा रखिने छ । दोस्रो भागमा राखिएका क्यामेरा उठाएर ती क्षेत्रमा राखिने उहाँले जानकारी दिनुभयो ।

    चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

    तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताउनुभयो । हरेक चार वर्षमा बाघ गणना गरिँदै आइएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभागमा पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरेका छन् ।

    गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिनुभयो । “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, उहाँले भन्नुभयो ।

    बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले बताउनुभयो । उहाँका अनुसार हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए । रासस

  • आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल माघ १२ गते । सोमबार । इस्वी सन् २०२६ जनवरी २६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ शुक्लपक्ष । तिथि–अष्टमी, ३० घडी १ पला, बेलुकी ६ बजेर ५६ मिनेट उप्रान्त नवमी । नक्षत्र–अश्विनी, ९ घडी ३८ पला, बिहान १० बजेर ४७ मिनेट उप्रान्त भरुणी । योग–साध्य, २ घडी २८ पला, बिहान ७ बजेर ५५ मिनेट उप्रान्त शुभ । करण–भद्रा, बिहान ८ बजेर १ मिनेट उप्रान्त बव, बेलुकी ६ बजेर ५६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मेष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३७ मिनेट । दिनमान २६ घडी ४७ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसाय वा शेयर बजारमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले आम्दानीको तुलनामा खर्च कम हुँदा रुपैयाँ पैसाको बचत हुनेछ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने एनजिओ आइएनजीओ जस्ता संस्थामा काम पाउने तथा बढुवा हुने योग रहेकोले । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा राज बाझिनेछ भने संयमित नभए अप्रिय घटना घट्न सक्छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला सामान्य क्षति हुने योग रहेको छ । तर पनि राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ । पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानीमा वृद्धि गर्न सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा मान सम्मान पाइनेछ । शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रुपमा सबल हुने ग्रहयोग रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरू फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा हुने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा गरेको लगानीबाट आम्दानी हुनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा बिलासी वस्तुहरू जोड्न सकिनेछ । लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागी प्रक्रिया अगाडी बढ्नेछ भने पति पत्नी बिच आत्मीयता बढेर जानेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धी तथा सहपाठीहरूलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । वित्तीय बजार तथा व्यापारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामलाई निरन्तरता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा वित्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रूपमा बित्नेछ । बौद्धिक साहित्य तथा सिर्जनात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेको छ । माया प्रेममा नजिक हुने तथा मन परेका मानिसबाट उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा छोरा छोरीसँगको सम्बन्ध अझ राम्रो हुनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पत्ति तथा सवारी साधनको खरिद बिक्रीबाट धन आर्जन गर्न सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ ।
    राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै मध्यमा बाट धेरै कामहरू गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।