Blog

  • सिराईचुलीको फेद हात्तिवांगबाट अस्मिन घिमिरेको घरदैलो अभियान सुरु (फोटोफिचर)

    सिराईचुलीको फेद हात्तिवांगबाट अस्मिन घिमिरेको घरदैलो अभियान सुरु (फोटोफिचर)

    चितवन, माघ १३ –
    चितवन क्षेत्र नम्बर २ मा एमालेका उम्मेद्वार अस्मिन घिमिरेले चुनावी घरदैलो सुरु गरेका छन् । चितवनको सगरमाथाको रुपमा चिनिने सिराईचुलीको फेद ईच्छाकामना गाउँपालिका १ हात्तिवांगबाट घिमिरेले आफ्नो चुनावी घरदैलो अभियान सुरु गरेका हुन् । समानुपातिक उम्मेद्वार सन्तबहादुर चेपाङलाई साथमा लिएर घिमिरे चुनावी घरदैलो अभियानमा जुटेका छन् ।

    दुबै उम्मेद्वारको साथमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, चितवन २ बाट दुई पटकसम्म निर्वाचित संविधान सभा सदस्य कृष्णभक्त पोखरेल लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा चुनावी अभियान सोमबारबाट सुरु गरिएको उम्मेद्वार अस्मिन घिमिरेले जानकारी दिए ।

    तस्विरमा हेरौं, चुनावी घरदैलो अभियान सुरु गरिएको दिनको दृश्य :

  • युवराज सफल पक्राउ

    युवराज सफल पक्राउ

    १३ माघ, काठमाडौं ।
    युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।

    सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द, गाली गलौज गरेको आरोप छ ।

  • देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

    देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

    काठमाडौँ, १३ माघः
     देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् ।
    यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर भने मध्यम जोखिममा छन् । प्राधिकरणले वन डढेलो पूर्वानुमान, निगरानी तथा चेतावनीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपायलाई अवलम्बन गरी वन डढेलोको जोखिम कम गर्ने कार्ययोजना तय गरेको छ ।
    सङ्घ, प्रदेश, तथा स्थानीय तहका जिम्मेवार निकाय तथा सरोकार भएकाहरूका बीचमा समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्राधिकरणले कार्ययोजना तय गरेको छ । वन डढेलो नियन्त्रण गरी जनधन तथा पर्यावरणीय स्रोतको हानिनोक्सानी न्यूनीकरण गर्नु कार्ययोजना तय गरिएको छ ।
    जनचेतना अभिवृद्धि तथा नियमनलाई प्रभावकारी बनाई वन डढेलोको जोखिमबारेको बुझाइलाई स्पष्ट पार्ने रणनीति तय गरिएको छ । वन डढेलोको आँकलन, वन क्षेत्र एवं वनजन्य इन्धन व्यवस्थापन गरी आगलागीको जोखिम न्यूनीकरण गरिनेछ । मौसम पूर्वानुमान एवं पूर्वसूचनालाई सुदृढ र सबल बनाई वन डढेलोजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने रणनीति तय गरिएको छ ।
    प्रविधिको प्रयोग एवं मानवसंशाधन परिचालनमार्फत आगलागी जोखिम क्षेत्रको निगरानी, अनुगमन, पहिचान तथा पूर्वचेतावनीलाई प्रभावकारी प्रभावकारी बनाउने, सरोकारवाला निकाबीच समन्वय, सञ्चार कायम गर्दै सचेतनामूलक अभियान, तालिम र कृत्रिम अभ्यासमार्फत पूर्वतयारी तथा डढेलो नियन्त्रण कार्यलाई सुदृढ तुल्याउने रणनीति प्राधिकरणले तय गरेको छ ।
    यसैगरी, वन डढेलोबाट प्रभावित वर्ग, क्षेत्र र समुदायको उद्धार, उपचार राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई प्रभावकारी तुल्याउने, अनुगमन र तथ्याङ्क व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाई पृष्ठपोषण र अध्ययन तथा अनुसन्धानको आधार तयार पार्ने प्राधिकरणको रणनीति छ ।
  • कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने

    कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने

    काठमाडौँ, १३ माघः
    नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताउनुभएको हो ।

    उहाँका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ । “घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन्,” चालिसेले भन्नुभयो,“हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव सङ्कलन गरिरहेको छ ।”

    स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उहाँको भनाइ छ ।

    “कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,” प्रवक्ता चालिसेले भन्नुभयो, “घोषणापत्रमार्फत हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गरिने छ ।”

    उहाँका अनुसार कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्नेछ ।

    पार्टीले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको छ ।

    प्रवक्ता चालिसेले पार्टीले चुनाव प्रचारप्रसारलाई मितव्यी र मर्यादित बनाउने बताउनुभएको छ । उहाँले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन आयोगको आचारसंहितालाई पूर्ण रूपमा पालना गरिने बताउनुभयो ।

    “गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिक रूपमा थप आचारसंहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको छ, प्रचारका दौरान पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ ।

    कुनै पनि प्रतिपक्षी उम्मेदवारको व्यक्तिगत जीवनमा प्रवेश नगर्ने, मानव स्वतन्त्रताको सम्मान गर्ने हाम्रो नीति रहेको छ” प्रवक्ता चालिसे भन्नुभयो ।

  • साहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

    साहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

    मङ्गलबारे (इलाम), माघ १३-
    यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन् । केही घरेलु मजदूर बनेका छन् । उनीहरू शिक्षाबाट वञ्चित मात्र भएका छैनन् । अभिभावकको सहारा नपाउँदा दुव्र्यवहार सहन बाध्य छन् । कोही कुलतमा फस्ने गरेका छन् ।

    इलामको रोङ गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ । अध्यक्षसँग विद्यार्थीकार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको छ । सो कार्यक्रमलाई उद्यमशीलतामा जोडेर अगाडि बढाइएको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बोले बताउनुभयो । कार्यक्रमअन्तर्गत एक रुपैयाँ बचत कार्यक्रम, अभिभावकविहीन विद्यार्थी सहयोग कार्यक्रम, विद्यार्थी उद्यमशीलता कार्यक्रम र विद्यार्थी प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।

    एक रुपैयाँ बचत कार्यक्रमअन्तर्गत पालिकाभित्रका बालबालिकाको बैङ्क खाता सञ्चालन गरेर दैनिक रु एक बचत गाउँपालिकाले गरिदिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म रु ५३ बचत भइसकेको छ ।

    पालिकाले हालै अभिभावकविहीन विद्यार्थी सहयोग कार्यक्रम सुरु भएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाले अभिभावकविहीन ३८ जना विद्यार्थीलाई कक्षा १२ सम्मको पठनपाठनको व्यवस्था गर्ने छ । गाउँपालिकाले प्रत्येक विद्यार्थीको रु पाँच लाख बराबरको जीवन बीमा गर्ने भएको छ । रासस

  • कोलकाताका दुई गोदाममा आगलागी, कम्तीमा ८ जनाको मृत्यु

    कोलकाताका दुई गोदाममा आगलागी, कम्तीमा ८ जनाको मृत्यु

    काठमाडौं ।
    भारतको पश्चिम बंगालको राजधानी कोलकाताको आनन्दपुर क्षेत्रमा दुई गोदाममा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

    गोदाममा काम गर्ने कम्तीमा २० जनाका परिवारले प्रहरी चौकीमा हराएको रिपोर्ट दर्ता गरेका छन् ।

    कोलकाता प्रहरीका एक अधिकारीले भने कि अहिलेसम्म भेटिएका ८ जनाको शव नराम्ररी जलेका थिए र पहिचान गर्न गाह्रो थियो ।

    यसैबीच, यस घटनालाई लिएर राजनीतिक विवाद पनि तीव्र भएको छ ।

    अग्नि नियन्त्रक स्रोतहरूले भने कि एक प्रसिद्ध मोमो कम्पनीको स्वामित्वमा रहेका यी गोदामहरूमा पेय पदार्थ र सुख्खा खानाका प्याकेजहरू थिए ।

    आइतबार साँझ ३ बजे आगलागीको खबर आएको थियो। लगभग एक दर्जन दमकलको प्रयासका बाबजुद पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

    बरुईपुरका प्रहरी उपरीक्षक शुभेन्द्र कुमारले पत्रकारहरूसँग भने, ‘अहिले नै जनधनको क्षतिको सही तथ्यांक दिन सम्भव छैन । यो घटनाको अनुसन्धान भइरहेको छ । त्यसपछि मात्र यकिन तथ्यांकबारे स्पष्ट हुनेछ ।’

    घटनास्थलको भ्रमण गरेका अग्नि नियन्त्रक मन्त्री सुजित बसुले दुवै गोदामहरू ठूलो क्षेत्रफलमा बनेका र आगो कसरी सुरु भयो भन्ने बारेमा अनुसन्धान भइरहेको बताए । उनको प्रश्न थियो, रातको समयमा गोदाममा यति धेरै मानिसहरू के गरिरहेका थिए ?

  • छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

    छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

    काठमाडौँ, माघः १३-
    सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा सांसद सुमित्रा बिसीले गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।

    राष्ट्रियसभा सदस्य गङ्गाकुमारी वेल्वासेले राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणका कारण नागरिकको ज्यान जाने र घाइते हुनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उल्लेख गर्नुभयो ।
    अर्का सांसद गोपीबहादुर सार्की आछामीले झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा हात्तीको आतङ्क बढ्दै गएको बताउनुभयो ।

    सांसद तुलसाकुमारी दाहालले सर्लाही जिल्लामा दादुरा र रुबेलाजस्ता सरुवा रोगको प्रकोप बढिरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा र पूर्वतयारीमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    सांसद मायाप्रसाद शर्माले जाजरकोट भूकम्पका पीडितले अझै पर्याप्त राहत नपाएका गुनासो गर्नुभयो । पुनर्निर्माणका सम्पन्न नहुँदा भूकम्प पीडितको जीवन कष्टकर भएको उहाँले बताउनुभयो ।

    सांसद शारदादेवी भट्टले मदिरापान गरी सवारीसाधन चलाउने तथा सवारी नियम उल्लङ्घन गर्नेलाई कठोर सजाय हुनुपर्ने बताउनुभयो । रासस

  • भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

    भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

    माघ १३,काठमाडौं ।
    चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

    चितवनको भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

    अख्तियारको प्रवक्ता सुरेश न्यौपानेका अनुसार ६ करोड ७८ लाख ९१ हजार १५ रूपैयाँ बिगो माग दावी गर्दै मुद्दा दर्ता गरिएको हो।

    उनी २०४८ माघ ६ गते सेवामा प्रवेश गरी २०८० असार ६ गतेसम्म काम गरेको देखिन्छ।

    उक्त अविधमा तलब, दैनिक भम्रण भत्ता, स्थानीय भत्ता, बैठक भत्तालगायत गर्दा १० करोडभन्दा बढी आय देखिएको छ। उक्त आयबाट ३ करोड ५१ लाख ८ हजार २१० मात्र वैधानिक देखिएको छ।

    आचार्यले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

    प्रचलित कानुन बमोजिम उक्त सम्पत्ति जफत गर्ने प्रयोजनार्थ सुवेदीलाई पनि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ ।

  • चुनावी अभियानमा राष्ट्रिय झण्डाको प्रयोगमा रोक लगाउन माग

    चुनावी अभियानमा राष्ट्रिय झण्डाको प्रयोगमा रोक लगाउन माग

    काठमाडौँ, माघ १३-
    नेपाली कम्युनिस्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्‍यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोगमा रोक लगाउन सरकारसँग माग गरेकी छन् । मंगलबार (माघ १३) बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बेलवासेले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताइन् ।

    उनका अनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन । घाँटीमा मालाझैँ लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले बताइन् ।

    नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने उनको भनाइ छ । यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई उनले आग्रह गरिन् । ‘नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न हुँदैन । टोटल ढंगले रोक्नुपर्छ । यहाँ कारबाहीको कुरा पनि गरिएको छ, घाँटीमा माला लगाएको झण्डा अहिले कहाँ पुगेको छ, कसरी राखेको छ, कसले स्याहारसम्भार गरेको छ, त्यसको खोजबिन गर्न सकिने अवस्था छैन,’ बेलवासेले भनिन्, ‘त्यसैले यो झण्डाको दुरुपयोग भइराखेको कुरालाई टोटल सरकारले रोक्नुपर्छ ।’

    राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागु गर्नुपर्नेमा जोड दिइन् ।

  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं, माघ १३-
    प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनेर परेको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।

    जसमा झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी १ का उम्मेदवार हर्क साम्पाङ र रुपन्देही २ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर २ का उम्मेदवार महेश बस्नेतलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

    बालेनको हकमा अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा कमेन्ट गरेको विषयमा स्पष्टीकरण सोधिएको छ । निकोसल भुसालको हकमा जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको छ । हर्क साम्पाङको हकमा चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको लगायतको विषयमा स्पष्टीकरण सोधिएको छ ।

    महेश बस्नेतको हकमा बालेनलाई छाउरा भनेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको छ । भक्तपुर २ कै उम्मेदवार जानुका पाठकलाई पनि स्पष्टीकरण साधिएको छ । उनलाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।

    यसैगरी, स्वास्थ्य स्वयमसेवक संघलाई पनि स्पष्टीकरण सोधिएको छ । अनुमति नलिइ आचारसंहिता लागूपछि अधिवेशन गरेको भनेर स्पष्टीकरण सोधिएको हो ।