Blog

  • कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल कार्तिक १२ गते । बुधबार । ईश्वी सन् २०२५ अक्टोबर २९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–अष्टमी, ५६ घडी ३१ पला, रातको ४ बजेर ४९ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तराषाढा, १९ घडी १३ पला, दिउसो १ बजेर ५४ मिनेट उप्रान्त श्रवण । योग–शूल, ५६ घडी २९ पला, रातको ४ बजेर ४९ मिनेट उप्रान्त गंड । करण–भद्रा, बेलुकी ४ बजेर ४३ मिनेट उप्रान्त बव, रातको ४ बजेर ४९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मकर ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २१ मिनेट । दिनमान २७ घडी ४९ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य कमजोर रहने तथा पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार होइनेछ । तर पनि समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । वित्तीय बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेको छ । समस्याहरूको सजिलै समाधान गरी उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने प्रतिफल प्राप्त हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तका साथ भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुँदा अरूभन्दा पछि परिनेछ । व्यापारमा तत्काल लगानी नगर्नु नै राम्रो रहनेछ । पढाइ लखाइमा ध्यान नजाँदा अरूकै नाम अग्र स्थानमा आउनेछ । तर पनि प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कुनै पनि कामलाई पुनः गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । पुराना रोगहरू फेरि बल्झन सक्छ ध्यान दिनुहोला । रकम लगानी गर्नको लागी केही समय पर्खनु नै उचित रहेको छ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँदा आर्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्कालाई बुझ्न नसक्दा केही समयको लागि टाढिनु पर्ने हुन सक्छ । कुनै पनि विवादमा सामेल भए हारिने सम्भावना रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सन्तान वृद्धिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरूले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रसन्न हुनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । पहिरन तथा गरगहनाको व्यवसायमा उल्लेख्य वृद्धि हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममा आजको दिन टाढै रहनु नै बेस हुनेछ नजिकिँदा मनमुटाब हुनेछ । अरूकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईँले सुरु गरेको काममा आफन्त तथा दाजुभाइहरूको सहयोग तथा समर्थन पाइनेछ । विवादित विषयहरू तपाईँ आफ्नै पक्षमा निर्णय हुनेछन् । प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ । प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । तर पनि यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ । वित्तीय क्षेत्रमा लगानीको लागी केही समय पर्खनु नै राम्रो रहनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्ग्रह गर्न सकिनेछ । विद्यार्थीहरूले मेहनत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दूरीको विदेश यात्राको तय हुनेछ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तर पनि आफ्नो वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

    मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

    काठमाडौँ, ११ कात्तिकः
    जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ ।

    विभागले आज एक सूचना जारी गरी उसबारे जानकारी दिएको हो ।

    यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थिति कार्यालयबाट मौसम पूर्वानुमान सेवा र हवाई उडड्यान सेवा प्रदान गर्दै आइरहेको थियो ।

    अब मौसम पूर्वानुमान सेवा विभागको केन्द्रीय कार्यालय बबरमहलबाट तथा हवाई उडड्यन सेवा यथावतै रूपमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरबाटै प्रदान गर्ने जानकारी दिएको हो ।

    यस्तै, विभागले मौसम पूर्वानुमान सेवा विशेष परिस्थितिबाहेक बिहान ६ देखि साँझ ६ बजेसम्म वर्षको ३६५ दिन नै दुई ‘सिफ्ट’मा सञ्चालन गर्ने जनाएको छ ।

  • आगजनी, तोडफोड र लुटपाटमा संलग्न भन्दै करिब २५० जना पक्राउ

    आगजनी, तोडफोड र लुटपाटमा संलग्न भन्दै करिब २५० जना पक्राउ

    काठमाडौँ, ११ कात्तिक :
    जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रममा संलग्न भन्दै प्रहरीले अहिलेसम्म करिब २ सय ५० जनालाई पक्राउ गरेको छ।

    भदौ २३ गते गोली लागेर १७ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूले भोलिपल्ट सरकारी तथा व्यावसायिक भवनहरूमा आगजनी र तोडफोड गर्नुका साथै प्रहरीको हत्या गरेका थिए।

    काठमाडौं उपत्यकासहित देशभरि भएका तोडफोड, लुटपाट र आगजनीका घटनामा २४५ जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले तीन जना प्रहरीको हत्यामा संलग्न भन्दै १२ जनालाई पक्राउ गरेको छ।

  • नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

    नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

    सिरहा, ११ कात्तिक : 
    युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताउनुभएको छ ।

    मन्त्री गुप्ता आज आफ्नो गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा देशभर नीतिगत भ्रष्टाचार व्यापक बनेको र त्यसकै परिणामस्वरूप जनतामा असन्तुष्टि र विद्रोहको भावना बढ्दै गएको बताउनुभयो ।

    “शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सबै क्षेत्रको उचित विकास नहुनुको मूल कारण नीतिगत भ्रष्टाचार नै हो”, मन्त्री गुप्ताले भन्नुभयो, “यही भ्रष्टाचारको अन्त्यका लागि भएको जेनजी आन्दोलनमा युवाहरूले बलिदान दिनुपर्ने स्थिति आयो ।” उहाँले जेनजी आन्दोलनलाई पनि भ्रष्टाचारको अन्त्य र रोजगारी सिर्जनाका मागमा केन्द्रित जनआन्दोलनको रूपमा व्याख्या गर्नुभयो । “यो आन्दोलनले युवाको आवाज र चाहना स्पष्ट रूपमा देखाएको छ”, उहाँले थप्नुभयो, “अब सरकारले युवाको सोच र आकांक्षाअनुसार नीति बनाउनुपर्छ ।”

    मन्त्री गुप्ताले लहानमा रहेको खेलकुद क्षेत्रका पुराना विवाद र नीतिगत अनियमितताको विषयमा पनि चर्चा गर्नुभयो ।

    उहाँले बलान पुल नजिकको लहान खेलकुदको सात बिघा पाँच कट्ठा १७ धुर जग्गाको उचित मूल्य नउठेको र त्यसमा पनि नीतिगत भ्रष्टाचार भएको बताउनुभयो । “यो प्रकरणको फाइल म आफैँले खोजी गरिरहेको छु”, उहाँले भन्नुभयो ।

    गृहजिल्ला आएको अवसरमा मन्त्री गुप्ताले लहान–१५ स्थित जेनजी सहिद विजय चौधरीको परिवारसँग सोमबार भेटघाट गर्नुभएको थियो । सो अवसरमा उहाँले सहिद परिवारलाई सरकारले बेवास्ता गर्न नहुने र सहिदका सपना पूरा गर्ने दिशामा आफू सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    मन्त्री गुप्ताले आगामी दिनमा सिरहाको खेलकुद क्षेत्रको पूर्वाधार निर्माण र युवा कार्यक्रमका लागि विशेष पहल गर्ने आश्वासन दिनुभयो ।

  • हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार

    हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार

    काठमाडौँ, ११ कात्तिक : 
    नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन् । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको छ । मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

    यसैबीच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर वेहोस भएका काठमाडौँ महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ ।

    सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकको उद्धारमा सहजता भएको जनाइएको छ ।

  • मुस्ताङ र मनाङमा भारी वर्षा

    मुस्ताङ र मनाङमा भारी वर्षा

    काठमाडौँ, कात्तिक ११ –
    पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज मनाङ र मुस्ताङमा भारी वर्षा अभिलेख भएको हो ।

    विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४.४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा भएको छ । पचास मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ ।

    अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । अहिले ३ः४० बजेसम्मको अभिलेख अनुसार डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ ।

    पछिल्लो १२ घण्टामै बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१.८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९.६ मिलिमिटर वर्षा भएको छ । चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ ।

    आज राति बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भारी हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वर्षा र हिमपात जारी रहेकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गर्नुभएको छ । रासस

  • बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित

    बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित

    सोलुखुम्बु, कात्तिक ११-
    सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।

    सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भन्नुभयो, “दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा वर्षा भइरहेको छ, पर्यटकहरू सबै होटलभित्रै छन् । बाहिर निस्कन सम्भव छैन ।”

    हाल यस क्षेत्रमा करिब तीन हजार बढी विदेशी पर्यटक रहेको अनुमान छ । सोमबार मात्रै करिब ८०० विदेशी पर्यटक काठमाडौँबाट लुक्ला आएका थिए ।

    हिमपातका कारण बाटो नदेखिने हुँदा पर्यटकहरू हराउन सक्ने जोखिम भएकाले जिल्ला प्रशासन कार्यालयले पर्यटकहरूलाई यात्रामा ननिस्कन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले भन्नुभयो, “मौसम प्रतिकूल भएकाले सबै पर्यटकलाई सुरक्षित रहन र होटल वा बस्तीमै बस्न अनुरोध गरिएको छ ।”

    जिल्ला प्रशासनले उद्धार टोली तयारी अवस्थामा राखेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार दिङ्बोचेमा अस्थायी प्रहरी पोस्ट छ, त्यहाँका प्रहरीसँग निरन्तर सम्पर्कमा रहेर पर्यटकहरुका बारेमा जानकारी लिने कार्य भइरहेको छ ।

    दिङ्बोचेभन्दा माथि करिब दुई हजार विदेशी पर्यटक रहेको अनुमान गरिएको छ । लगातारको हिमपात र वर्षाले चिसो बढेको छ । खुम्जुङका स्थानीय पेम्बा शेर्पाले भन्नुभयो, “आज बिहानदेखि निकै चिसो छ, हिउँले गाउँ ढाकेको छ, सबैजना घरभित्रै छौँ ।”

    लगातारको हिमपातले खुम्बुक्षेत्रको जनजीवन प्रभावित भएको छ । पर्यटकको भीडले गुञ्जिने नाम्चेबजार सुनसान भएको छ । “हिउँले सुन्दर दृश्य त दिएको छ, तर दैनिकी भने कठिन बनाइदिएको छ,” खुम्जुङकी शिक्षक कोपिला घतानीले बताउनुभयो । रासस

  • एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

    एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

    काठमाडौँ, कात्तिक ११-
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय मर्मत थालेको छ ।
    गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएपछि पार्टीले मर्मत सुरु गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । उहाँले तोडफोड र आगलागीबाट क्षति भएको भवनको छानो तथा पर्खालहरू मर्मतका साथै रङ्गरोगनका काम भइरहेको बताउनुभयो ।

    इन्जिनियरले बुझाएको प्रतिवेदनमा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रबलीकरण गरेर बस्न मिल्ने भनेपछि मर्मत थालेको हो । आगजनी र तोडफोड भएपछि कार्यालयको भवन नहुँदा पार्टी कार्यालय परिसरमा यही कात्तिक ८ गतेदेखि पाल टाँगेर एमाले अस्थायी रुपमा कार्यालय सञ्चालन गरेको छ ।

    गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका थिए । रासस

  • बालेनले गृहमन्त्री हटाउन दबाब दिएको भन्दै ईः ईः को टिप्पणीः प्रधानमन्त्री पनि फेरिन सक्छन्

    बालेनले गृहमन्त्री हटाउन दबाब दिएको भन्दै ईः ईः को टिप्पणीः प्रधानमन्त्री पनि फेरिन सक्छन्

    काठमाडौं,कात्तिक ११-
    काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिएको चर्चाबीच सामाजिक अभियन्ता ईशान अधिकारी (ईः ईः)ले प्रधानमन्त्रीसमेत परिवर्तन हुनसक्ने टिप्पणी गरेका छन् । बालेनले राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन खोजिरहेको र ओम प्रकाश अर्याललाई हटाए प्रधानमन्त्री नै परिवर्तन हुने परिस्थिति बन्ने उनको दाबी छ ।

    प्रधानमन्त्री कार्कीले नै सल्लाहकार बन्न खोजेका अर्याललाई गृहमन्त्री बनाउन जोडबल गरेको भन्दै ईः ईःले उनी फेरिए प्रधानमन्त्री पनि फेरिने तर्क गरेका हुन् । ‘गृहमन्त्री कमजोरीरहित व्यक्ति होइनन्, तर सारथि फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकसित हुनसक्छ,’ उनले भनेका छन्, ‘यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिस्पर्धा चलिरहेको छ। अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको होरु कस्तो विडम्बना१ कस्तो निर्लज्जता१’

    ईः ईःले यसो भने

    भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनु थियो । शुरुमा तयार भए पनि परिस्थिति सोचेको भन्दा विकराल भएपछि उनले खुट्टा कमाए । दोस्रो प्राथमिकतामा रबि थिए तर विकशित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो। त्यसपछि २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चल्यो । तर संविधानका आधारभूत विषयमा उनको फरक मत सर्वस्वीकार्य भएन भन्ने बुझिएको छ । यी प्रयास प्रारम्भबिन्दूमा यस्तो सानो बृतमा सीमित थियो कि निर्मल निवास, अधिकांश दलका पदाधिकारी र कैयन् शक्तिकेन्द्र यसबारे बेखबर थिए ।

    पूर्ण भ्याकुम र थप अनिष्ट परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य, सर्वविश्वाशिलो बन्नुभयो । यसमा बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, सक्दो विधिसम्मत ढङ्गले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठूलो भूमिका थियो । त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो । उनको सट्टा प्राथमिकतामा राजु पाण्डे, नभए समावेशिताका लागि मीरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हरसंभव प्रयास गरेकै हुन् ।

    अहिले पनि गर्दैछन् । गृहमन्त्री कमीकमजोरी रहित व्यक्ति होइनन् तर सारथी फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकशित हुनसक्छ । यहाँ ठूलो भूराजनीतिक र स्थानीय शक्तिप्रतिष्पर्धा चल्दैछ। अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ । के नवयुवाको रगत यसैको लागि बगेको हो ? कस्तो बिडम्बना१ कस्तो निर्लज्जता१

    बेलैमा सबै पक्षले आआफ्नो भूमिकाबारे थप दूर्घटना टार्न सचेत हुन जरूरी देखिन्छ । स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनुनैपर्छ । आम मानिसको हकमा मात्र नभई जवाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्छ । समयमा चुनाव हुनैपर्छ। सबैको आआफ्नो स्वार्थपूर्ण निकाश परिदृश्य होला, तर समाजको लागि उपयुक्त यही हो। रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा हुँदैन। अनि यतिको सत्य बोल्न पनि ज्यानै खतरामा भएको महसूस गर्नुपर्ने हो भने, होस् खतरा होस् !

  • चितवनबाट लमजुङ जाँदैे  गरेको माइक्रो दुर्घटना अपडेटः चितवनकी एक महिलाको मृत्यु

    चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो दुर्घटना अपडेटः चितवनकी एक महिलाको मृत्यु

    तनहुँ, कात्तिक ११-
    पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो बस दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ निवासी ५५ वर्षीया बुधमाया तामाङ रहेकी छन् । दुर्घटनामा परी टाउकामा गम्भीर चोट लागेकी ती महिलाको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

    चितवनबाट लमजुङतर्फ जाँदै गरेको बा।प्र।०३–००१ ज ०९३७ नम्बरको माइक्रो बसमा १४ जना सवार थिए । बसका चालकले नियन्त्रण गुमाई सडक छेउको भित्तामा ठक्कर खाई सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको सवारी साधनको पछाडि ठोकिन जाँदा उक्त दुर्घटना भएको हो ।

    दुर्घटनामा परी माइक्रो चालक लमजुङ बेँसीशहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवन भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, सोही स्थान निवासी ३७ वर्षीय डोलराज तामाङ, सोही नगरपालिका–२८ लोखरी बस्ने ४८ वर्षीय कमई तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ, ४१ वर्षीया गममाया तामाङ, ३० वर्षीया मङ्गली तामाङ र निजकी छोरी ५ वर्षीया सिर्जना तामाङ घाइते भएका छन् ।

    त्यसैगरी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, सोही गाउँपालिका–८ बस्ने ६३ वर्षीया मैतीमाया तामाङ र जिल्ला नवलपरासी पूर्व देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ घाइते भएका हुन् । सबै घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस