Blog

  • प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूतको भेट

    प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूतको भेट

    काठमाडौँ, १३ कात्तिकः 
    प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेट गर्नुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज  भएको उक्त भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित तथा मित्रताका विषयमा विचार आदान–प्रदान भएको थियो । प्रधानमन्त्रीमा कार्की नियुक्त हुनुभएपछि उहाँहरुबीचको यो पहिलो भेट हो ।

    यस क्रममा जर्मनीका राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै सदा झैँ नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।

    प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मिति अगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

    जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताउनुभयो । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत कूटनीतिक अधिकारीहरुको उपस्थिति थियो ।
    –––

  • चितवनमा रगतको चरम अभावः रक्तदान गर्न आह्वान

    चितवनमा रगतको चरम अभावः रक्तदान गर्न आह्वान

    चितवन, कात्तिक १३-
    चितवनमा रगतको चरम अभाव भएको छ । चाडपर्वका कारण नियमित रक्त सङ्कलनका कार्यक्रम नभएका कारण जिल्लामा रगतको अभाव भएको हो । बिरामीका आफन्तले खोजेका रक्तदाता मार्फत् मात्र रगत उपलब्ध हुने अवस्था जिल्लामा सिर्जना भएको छ ।

    चितवनमा दैनिक १०० देखि १५० यूनिट रगतको माग हुने गरेको जनाइएको छ । यो सङ्ख्या सङघीय राजधानी काठमाडौ पछिको दोस्रो रगतको माग हुने जिल्ला हो । रगतको अभाव भएपछि भरतपुर महानगरपालिका वडा नम्बर २ मा आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरियो । कार्यक्रममा भरतपुर महानगरपालिका –२ र १० का वडाध्यक्ष क्रमशः मनोज रानाभाट र परमेश्वर खनाल सहित १०५ जनाले रक्तदान गर्नुभयो ।

    प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको आग्रहमा नेपाल रेडक्रस सोसाइटी उपशाखा नारायणगढद्वारा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा उपशाखाकी अध्यक्ष कृपा राजभण्डारीले रगतको अभाव भएपछि केन्द्रको आग्रहमा आकस्मिक रक्तदानको आयोजना गरिएको बताउनुभयो । अभियानमा जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरुसंगै आम रक्तदाताहरुलाई रक्तदान गर्न आव्हान गरिएको थियो ।

    नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरि पौडेलले रगतको अभाव भएपछि रक्तदान गर्न सबैमा आव्हान गरिएको बताउनुभयो । उहाँका अनुसार आज नेपाल रेडक्रस सोसाईटी उपशाखा गीतानगरले पनि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार लायन्स क्लबहरुले रक्तदानको कार्यक्रम आयोजना गर्दै छन् । यसबाट क्रमशः रगतको अभाव घट्दै जाने अपेक्षा गरिएको छ ।

    रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चाडपर्व, राजनीतिक गतिविधि, संघ संस्थाका गतिबिधिमा कमी, विद्यालय कलेज बिदा, खेतीपाती भित्र्याउने समय लगायतका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । दैनिक बिरामीले खोजेका रक्तदाता र स्वस्फूर्त आउनेहरु ५० हाराहारी हुने भएपनि यसले धान्न नसेको उहाँले बताउनुभयो । यहाँ रहेका क्यान्सर अस्पतालका बिरामीहरुलाई धेरै रगत आबश्यक पर्दछ । त्यसै गरी दुर्घटना, प्रसुती, शल्यक्रिया लगायतमा रगतको अभाव हुने गर्दछ । केन्द्रले चितवन सहित छिमेकी जिल्लामा पुगेर रगत सङकलन गर्ने गरेको छ । रासस

  • जेन—जीका माग सम्बोधन गर्न मुख्यसचिवले देखाए चासो

    जेन—जीका माग सम्बोधन गर्न मुख्यसचिवले देखाए चासो

    काठमाडौँ, कात्तिक १३-
    जेन—जीका माग सम्बोधन गर्न मुख्यसचिव एकनारायण अर्यालले चासो देखाउनुभएको छ । उहाँले सचिवस्तरीय बैठक डाक्दै जेनजी आन्दोलनका क्रममा उठाइएका सुशासनसम्बन्धी मागहरूलाई सम्बोधन गर्न सबै मन्त्रालय र निकायहरूलाई ‘तत्काल सुधार कार्ययोजना’ पठाउन निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको सचिवहरूको कार्तिक १२ गते मंगलवार बसेको बैठकको निर्णयमा २०८२ भाद्र २३ र २४ गते भएको जेन—जी आन्दोलनपछि उठान भएका मागहरू सम्बोधन गर्नका लागि आवश्यक सुधारका कार्यहरू समावेश गरी कार्ययोजनाको खाका आगामी कार्तिक १६ गते आइतबारसम्म शासकीय सुधार महाशाखामा पठाउन उल्लेख छ ।

    त्यस्तै आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पतीमा पुगेको क्षतिको विवरण राष्ट्रिय योजना आयोगले तोकेको पोर्टलमा शिघ्र प्रविष्ट गर्न व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ । आयोगले क्षतिको समग्र विवरण प्राप्त हुनेगरी आवश्यक टेम्प्लेट परिमार्जन र सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्ने बताइएको छ । बैठकले आन्दोलनका कारण अवरुद्ध सार्वजनिक सेवाहरू सुचारु गर्न विशेष खरिद प्रक्रिया अघि बढाउन र सेवा सञ्चालनमा असहजता भएका क्षेत्रमा शहरी विकास मन्त्रालयले सम्भव भएसम्म सरकारी भवन उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

    त्यसैगरी, स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सार्वजनिक निकायहरूले यथासम्भव स्वदेशी वस्तुको प्रयोग गर्न÷गराउनुपर्ने निर्णय गरिएको छ । सुरक्षा निकायहरूलाई चुस्त, दुरुस्त र उच्च मनोबलयुक्त बनाउन आवश्यक न्यूनतम सामग्री तथा बन्दोबस्तीका वस्तुहरूको व्यवस्थाका लागि अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

  • माधवलाई झलनाथको प्रश्न– पार्टी फुटाएर माओवादीमा मिसिन तपाईंलाई सुहाउँछ?

    माधवलाई झलनाथको प्रश्न– पार्टी फुटाएर माओवादीमा मिसिन तपाईंलाई सुहाउँछ?

    १३ कात्तिक, काठमाडौं।
    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माओवादी केन्द्रसँग अहिले एकता भन्नु विसर्जनको यात्रा हुने बताएका छन्।

    जारी केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री खनालले पार्टीलाई विसर्जन गर्ने गल्ती नगर्न आग्रह गरे। ‘हिजो कांग्रेसतिर लागेर दक्षिणपन्थी भड्कावलाई साथ दिन पुग्यौं। अहिले पार्टी कमजोर भयो भन्दैमा माओवादीतिर मिसिनु विसर्जन हो,’ खनालले भनेका छन्।

    अध्यक्ष माधवकुमार नेपाललाई हतारमा माओवादीसँग एकता नगर्न खनालले आग्रह गरे। ‘पार्टी कार्यालय चलाउन सकिएन, कार्यकर्ता पनि धेरै भएन, भोट आएन भन्दैमा कुनै पार्टीमा मिसिन विर्सजन हो,’ उनले भने।

    अहिले माओवादीसँग एकता गर्ने निर्णयले एकीकृत समाजवादी एकताबद्ध नरहने पनि खनालले बताए। ‘पार्टी फुटाएर माओवादीमा मिसिन तपाईंलाई सुहाउँछ,’ खनालले प्रश्न गरेका थिए।
    खनालले मागे राजीनामा

    सम्बोधनकै क्रममा पूर्वप्रधानमन्त्री खनालले माधव नेपालको राजीनामा मागे। भ्रष्टाचार आरोपको मुद्दा लाग्नासाथ राजीनामा दिनु राम्रो हुने सुझाव पहिले दिएको सम्झँदै खनालले भने, ‘यो बैठकबाट पनि भन्छु– तपाईंले राजीनामा दिनुस्।’

    सांसद् र संसदीय दलको नेता हुन नमिल्ने नेताले पार्टीको नेतृत्व गरिरहन नसुहाउने तर्क खनालले गरेका थिए।

  • स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

    स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरमै सार्ने तयारी

    काठमाडौँ, कात्तिक १३ –
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब सिंहदरबारमा सार्ने तयारी थालिएको छ । सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्न लागिएको हो ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सो जग्गामा ‘प्रिफ्याब’ भवन अस्थायी रुपमा बनाइँदै गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन बन्दैछ । बाँकी खाली रहेको भवनमा रङ लगाएर कार्पेटिङ गरेर बस्ने योजना छ ।”

    प्रवक्ता बुढाथोकीले दुई हप्ताभित्र संरचना तयार गरी स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी भइरहेको र मङ्सिर १ गतदेखि सम्भवतः सरिसक्ने बताउनुभयो । “सिंहदरबारभित्र रहेको नयाँ संसद् भवन बनेपछि अहिलेको संसद् सचिवालयको भवन स्वास्थ्य मन्त्रालयको स्थायी संरचनाको रूपमा पायौँ भने त्यहाँ सर्छौैँ । त्यसका लागि पनि छलफल भइरहेको छ,” उहाँले भन्नुभयो ।

    भदौ २४ गते जेनजी आन्दोलनको आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो । हाल मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ । रासस

  • रवि र छविको मुद्दामा सुनुवाइ स्थगित

    रवि र छविको मुद्दामा सुनुवाइ स्थगित

    १३ कात्तिक ,बुटवल ।
    सहकारी ठगी र संगठीत अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइआज पनि स्थगित भएको छ ।

    उनीहरू दुवैको मुद्दा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलाशमा सुनुवाइ हुने कार्यसूची अदालतले प्रकाशित गरेको थियो ।

    तर तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविललाल जोशी निवेदकका तर्फबाट आजको सुनुवाइ स्थगित गरिपाउं भन्ने निवेदन परेकाले सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुंवरले बताए ।

    ‘अब अर्को बिहीबार साप्ताहिक पेशी पर्छ, रवि र छवि दुवै निवेदकका तर्फबाट स्थगितको निवेदन नपरे सुनुवाइ हुन्छ’–कुँवरले भने ।

    यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

    बिगोबमोजिमको रकम बुझाई थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रवि सँगै छविलाल जोशीको पनि फाइल पेश गर्न आदेश दिएको थियो ।

    यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

    बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

    यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

    बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेश गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेश गरेका थिए ।

    लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेश गरेका थिए ।

    तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

    पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।

  • धारिलो हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

    धारिलो हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

    काठमाडौँ, कात्तिक १३-
    प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा फूलबारी गेट नजिक धारिलो हतियार देखाइ लुटपाट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

    मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१० घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २३ वर्षीय मनोज चौधरीलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गएराति तारकेश्वर–५ गोलढुङ्गा फूलबारी गेट नजिक गोकणेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय श्रवण तामाङ सडक किनारामा बा प०२–०५० प १६०२ नम्बरको मोटरसाइकल रोकेर बसिरहेको बेलामा बा ४२ प ४०६९ नम्बरको मोटरसाइकलमा सवार दुई जनाले धारिलो हरियार देखाइ निजसँग रहेको कालो रङको झोला लुटेर फरार रहको अभियोगमा पक्राउ गरिएको हो ।

    प्रहरी वृत बालाजु बार्यालयबाट पीडितसँग समन्वयमार्फत मातहतमा चेकजाँच खडा गरी पीडितले दिएको हुलियाका आधारमा अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट जाँचमा खटिएका प्रहरी वरिष्ठ हवल्दार जीवन बुढाथोकी र प्रहरी सहायक हवल्दार कृष्णबहादुर बस्नेतले लुटिएको झोलासहित सामान र लुटपाटमा प्रयोग भएको मोटरसाइकल र निजहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनीहरूको साथबाट बा प्र ०२–०५० प १६०२ नम्बरको बिलबुक, मोबाइलको चार्जर, घरको चाबी, रोलेक्स लेखेको घडी एक थान, नगद रु तीन हजार, खुकुरी एक थान, रेड्मी कम्पनीको मोबाइल एक थान, बोबो लेखिएको कालो रङको झोला एक थान, ट्रमाडोल लेखिएको लागुऔषध ३० थान, बा ४२ प ४०६९ नम्बरको रातो कालो मोटरसाइकल बरामद गरेको जनाएको छ ।

    उक्त घटनामा संलग्न व्यक्तिलाई प्रहरी वृत बालाजुमा राखी सोधपुछ थालिएको बताउँदै घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रमुख कार्कीले जानकारी दिनुभयो । रासस

  • ट्रेड युनियनका उपाध्यक्ष कमल गौतमको भाषण गर्दागर्दै मृत्यु

    ट्रेड युनियनका उपाध्यक्ष कमल गौतमको भाषण गर्दागर्दै मृत्यु

    रूपन्देही, कात्तिक १३-
    राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्षको निधन भएको छ । केन्द्रीय उपाध्यक्ष ६५ वर्षीय कमल गौतमको आज (बिहीबार) भाषण गर्दागर्दै आकस्मिक निधन भएको हो।

    भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला उपाध्यक्ष गौतम अचानक ढलेका थिए।

    उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।

  • रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

    रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

    काठमाडौँ १३ कात्तिक
    सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका स॥सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ ।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुन लागेको हो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।

    जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि सहकारी ठगीको बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी दिएको निवेदनमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले दुवै मुद्दा साथै राख्ने आदेश भएको थियो ।

    बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

    लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगो बापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

    पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।

  • बैतडीमा जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

    बैतडीमा जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

    दशरथचन्द (बैतडी), कात्तिक १३ –
    जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताउनुभयो । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।