Blog

  • बीपी राजमार्गमा सडकबाट ४२ फिट तल खस्यो कार, श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

    बीपी राजमार्गमा सडकबाट ४२ फिट तल खस्यो कार, श्रीमान्‌को मृत्यु, श्रीमती र छोरा घाइते

    ११ कात्तिक, काभ्रेपलाञ्चोक ।
    बीपी राजमार्ग सडक खण्डको सिन्धुलीको सुनकोशी गाउॅपालिका-६ चैनपुरमा कार पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

    विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार मंगलबार बिहान आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी ४२ फिट तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका-१७ का ६५ वर्षिया ओमबहादुर अर्जेलको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

    कार ओमबहादुरले चलाएका थिए । कारमा सवार उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त सवार थिए । उनीहरू दुवै जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार सुनिताको अवस्था गम्भिर छ भने निशान्तको अवस्था मध्यम रहेको छ ।

    घाइतेहरूको खाल्टे स्थित आत्मिय सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

  • चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

    चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

    दमौली कात्तिक ११-
    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    चितवनबाट लमजुङतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यसक्रममा उक्त माइक्रो सडक छेउमा रोकिराखेको नेपाल विद्युत् प्राधिकरणको बा१ञ १२८७ नम्बरको गाडीसँग समेत ठोक्किएको थियो ।

    घाइते हुनेहरुमा माइक्रो चालक लमजुङको बेँसीसहर नगरपालिका–८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ, चितवनको भरतपुर महानगरपालिका–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ छन् ।

    यस्तै लमजुङको दोर्दी गाउँपालिका–४ बस्ने २० वर्षीया गङ्गा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ, नवलपुरको देवचुली नगरपालिका–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर महानगरपालिका–१६ वर्षीया गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ घाइते भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । दुर्घटनाका घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस

  • आगामी पुसमा बाघ गणना गरिने

    आगामी पुसमा बाघ गणना गरिने

    कार्तिक ११,चितवन ।
    आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।

    बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ । रासस

    हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । एकसिङ्गे गैँडा गणना चैत महिनामा गर्ने जनाइएको छ । गैँडा गणना गर्न तीन साता लाग्छ । निर्वाचन हुने भएकाले गैँडा गणनाका विषय भने अन्योल छ ।

    गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिनेछ । बाघ गणनाका लागि चालु आर्थिक वर्षमा विभागले रु १८ लाख विनियोजन गरेको छ । यसका लागि रु एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ । गैँडा गणनाका लागि पनि विभागले रु १८ लाख नै विनियोजन गरेको छ । गैँडा गणना गर्न रु दुई करोड बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दाताहरुसँग सहयोग मागिने छ ।

    यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरु राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघहरुको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् ।

    गैँडा गणना हात्तीमाथि चढेर प्रत्यक्ष अवलोकन गरी गर्ने गरिएको छ । यस पटक फरक विधि प्रयोग गर्ने विषयमा विभागले छलफल गरेको छ । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना गरिएको थियो । सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए ।

    सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब एक सयको हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो ।

  • प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

    प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

    काठमाडौँ, कात्तिक ११-
    प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान केही ढिला हुन गएका छन् ।

    अहिले अन्तरराष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन् । हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार खराब मौसमका कारण अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स ९आइएफआर० उडान मात्रै भइरहेको छ । केही उडान डिले भए पनि रद्द नै गर्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । निश्चित हवाई रुट भएकाले उडानमा सामान्य चाप बढेको छ ।

    हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ । यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा बिहानदेखि बद्ली रहेको छ । रासस

  • यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान, केही ठाउँमा भारी हिमपात र वर्षा हुने

    यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान, केही ठाउँमा भारी हिमपात र वर्षा हुने

    काठमाडौं,कार्तिक ११-
    पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका धेरैजसो ठाउँको मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ । गण्डकी प्रदेशको मनाङ र मुस्ताङआसपासको हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात पनि भइरहेको छ ।

    मोन्था चक्रवातको प्रभाव देखिन सक्ने

    बंगालको खाडीमा बनेको चक्रवाती आँधी (मोन्था)को प्रभाव नेपालमा पनि देखिन सक्ने मौसमविद्हरूले बताएका छन् । बीबीसी हिन्दीका अनुसार पछिल्लो ६ घण्टामा मोन्था चक्रवाती आँधीमा बदलिएको छ । भारतीय मौसम विभागले मोन्थाले भीषण रूप लिन सक्ने भन्दै रेड अलर्ट जारी गरेको छ । भुवनेश्वर मौसम विज्ञान विभागका अनुसार यतिबेला मोन्था पश्चिम-मध्य बंगालको खाडीभन्दा केही माथि सक्रिय रहेको छ । विभागकी निर्देशक मनोरमा मोहन्तीले भनेकी छिन्, यो आँधी उत्तर पश्चिमतर्फ अगाडि बढ्नेछ । आन्ध्र प्रदेशको तटीय क्षेत्र मछलीपट्टनम र कंलिगपट्टनमको बीचतिर आज साँझ वा राति ९० देखि १०० किमि प्रतिघण्टाको गतिले ठोक्किने सम्भावना रहेको छ ।

    यता नेपालको जल तथा मौसम विज्ञान विभागले पनि यसबारे मोनिटरिङ गरिरहेको जनाएको छ । नेपालमा यसको असर कस्तो पर्छ भन्ने अध्ययन भइरहेको र यसबारे बुलेटिन जारी गरेर जानकारी दिइने विभागले जनाएको छ ।

    यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

    २०८२ कात्तिक ११ गते (मंगलबार)

    दिउँसो स् देशभर साधारणतया बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातरवर्षा तथा बाँकी तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात वर्षाको पनि सम्भावना रहेको छ ।

    राति स् कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको छ ।

    २०८२ कात्तिक १२ गते (बुधबार)

    दिउँसोः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

    रातीः देशभर आंशिक बदली बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

    २०८२ कात्तिक १३ गते (बिहीबार)

    दिउँसोः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

    राति स् कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानरू तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको साथै मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

  • संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर भूकम्प

    संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर भूकम्प

    ११ कात्तिक,काठमाडौं।
    संखुवासभाको उत्तरी क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार संखुवासभा जिल्लाको किमाथांका आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पबाट क्षति भएको /नभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ।

    यसअघि यही कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।

  • तोलामा २ हजार ९ सय घट्यो सुन

    तोलामा २ हजार ९ सय घट्यो सुन

    ११ कात्तिक, काठमाडौं ।
    मंगलबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ९ सय रुपैयाँ मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकिएको छ ।

    अघिल्लो दिन २ लाख ३९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९८० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९२० मा झरेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि घट्दै गएको छ । तिहारपछि सुनको भाउ प्रतितोला १६ हजार ५ सय रुपैयाँ घटिसकेको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । त्यस्तै सोही दिन चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घट्नुको मुख्य कारण : अमेरिका र चीनबीचको व्यापारिक तनाव कम हुनु हो । अमेरिका र चीनबीच हुने व्यापारिक सम्झौताको ड्राफ्टमा सहमति जुटेसँगै सुनचाँदीको भाउ घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    आर्थिक सबलतामा सबैभन्दा ठूला शक्ति राष्ट्रबीचको यो सहमतिले सुनको माग घटेसँगै मूल्यमा कमी आएको हो । अर्कोतर्फ यसले विश्वको सेयर बजारलाई सकारात्मक प्रभाव पारेको छ ।

  • मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना हुँदा १९ जना घाइते

    मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना हुँदा १९ जना घाइते

    बनियानी (झापा), कात्तिक ११-
    झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

    यहाँस्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छभने बाँकी छ जना यात्रु सकुशल रूपमा आआफ्नो गन्तव्यतर्फ गएका छन् । पच्चीस जना यात्रु सवार बस घटनास्थलमै रहेको र सडकमा यातायात सञ्चालनमा अवरोध नभएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा बस चालक झापा मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेल सहित झापा गाउँपालिका–३ का १७ वर्षीया इक्षा लिम्बू, कचनकवल–४ का २० वर्षीय रविलाल गणेश, कचनकवल–४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनको छोरा नौ वर्षीय एलोन घाइते भएका छन् ।

    त्यस्तै, रामेछाप मन्थली–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी रामेछाप मन्थली–९ का ३५ वर्षीय भीमप्रसाद पुरी, रामेछाप खाँडादेवी–३ का ६५ वर्षीया मिटु खत्री, दोलाखा बैनेश्वर–३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीकी आठ वर्षीया अनु श्रेष्ठ, दोलखा तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल घाइते भएका छन् ।

    त्यसैगरी, झापा कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड–५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ, उनको छोरा नौ वर्षीय रिदम, बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, सोही स्थानकी १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका–२ का १८ वर्षीय श्यमलाल किस्कु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबैको उपचार भइरहेको छ ।

    बस अनियन्त्रित भई पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छभने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

  • मुक्तिनाथ क्षेत्रमा भारी हिमपात, पर्यटकलाई सकस

    मुक्तिनाथ क्षेत्रमा भारी हिमपात, पर्यटकलाई सकस

    मुस्ताङ ११ कात्तिक
    मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत मुक्तिनाथ क्षेत्र लगायत उपल्लो मुस्ताङका अधिकांश स्थानमा भारी हिमपात भएको छ।

    जिल्लाको घरपझोङ गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकासहितका क्षेत्रमा भएको हिमपातका कारण मुस्ताङ घुम्न आएका पर्यटक र मुक्तिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरूलाई असहज भएको छ। हिमपातले गर्दा यात्रा र आवागमनमा प्रभाव परेको छ।

    गएको १२ घण्टामा विशेष गरी गण्डकी प्रदेश धेरै स्थानहरू तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू साथै कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका पहाडी र तराई भू-भागमा हल्का देखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ ।

    गण्डकी प्रदेशको मनाङ र मुस्ताङ आसपासको हिमाली क्षेत्रमा भने मध्यमदेखि भारी हिमपात पनि भइरहेको छ ।

     

  • उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न

    उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न

    सिराहा ११ कात्तिक 
    सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

    कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ ।

    मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए । त्यस्तै, षष्टि तिथिको दिन अर्थात आइतबार सन्ध्याकालीन र आज सोमबार प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन भएको छ ।

    छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान्न परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य दिने प्रचलन रहेको छ ।

    निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

    सुरुमा तराइवासीले मात्र मनाउने यो पर्व अब अन्य जाति एवं राजधानी लगायत पहाडमा पनि मनाउन थालेका छन् । यस वर्षको छठ शान्तिपूर्ण र सैहार्दपुर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । पर्वलाई लक्षित गरेर विशेष सुरक्षा व्यवस्था सिराहामा ९सय ५० जना प्रहरी खटाइएको थियो ।

    पर्वका वेला महिलामाथि हुन सक्ने दुर्व्यवहार र लुटपाटका घटनालाई ध्यानमा राख्दै प्रत्येक छठ घाटहरूमा प्रहरी परिचालन थियो । सिराहामा करिब एक सय ६४ स्थानमा छठका घाटहरू रहेकाले ती सबै ठाउँमा प्रहरी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख एसपी अनन्त राम शर्माले जानकारी दिए ।