Blog

  • उत्तरी गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित

    उत्तरी गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित

    गोरखा ११ कात्तिक
    उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् ।

    हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए । “गए राति हल्का पानी पर्न सुरु भएको थियो । राति नै हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि हिउँ परिरहेको छ”, उनले भने, “अहिले मान्छेहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि भित्रको भित्रै छन् ।”

    सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् । त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ ।

    हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएका स्थानीयले बताएका छन् ।

  • निर्वाचन सफल पार्न सरकार प्रतिबद्धताका साथ लागेको छः सञ्चारमन्त्री खरेल

    निर्वाचन सफल पार्न सरकार प्रतिबद्धताका साथ लागेको छः सञ्चारमन्त्री खरेल

    काठमाडौँ, १० कात्तिकः 
    सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताउनुभएको छ ।

    ललितपुरको इमाडोलस्थित (इभी दह) बोजेपोखरीमा छठ पूजा व्यवस्थापन समाजले आज आयोजना गरेको छठ पूजामा कार्यक्रममा मन्त्री खरेलले निर्वाचन सफल बनाउन र मुलुकमा सुशासन कायम तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

    सञ्चारमन्त्री खरेलले भन्नुभयो, “अहिलेको सरकार खासगरी निर्वाचन गर्ने सन्दर्भमा, सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने तथा जेनजी आन्दोलको क्रममा भएको धनजनको क्षतिको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको छ ।”

    मन्त्री खरेलले छठ पर्व सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव र आत्मीयताको पर्व रहेको उल्लेख गर्नुभयो । “छठ तराई–मधेसवासीको मात्रै पर्व रहेन । यो सम्पूर्ण नेपालीहरुको राष्ट्रिय गौरव, आत्मीयताको पर्व र पवित्रताको प्रतिक पनि रहेको छ । यस पर्वको उपलक्षमा म सम्पूर्ण नेपालीहरुमा हार्दिशक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । छठिया माताले देशकमा शुख, शान्ति र समृद्धिको लागि हामीलाई आशिर्वाद प्रदान गर्नुहुनेछ भन्ने कामना पनि गर्दछु”, उहाँले भन्नुभयो ।

  • मुस्ताङमा लेक लागेर तीर्थालुको मृत्यु

    मुस्ताङमा लेक लागेर तीर्थालुको मृत्यु

    मुस्ताङ, १० कात्तिकः
    मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् । उनको आज मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए ।

    उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो ।

  • अझै पाँच हजार कैदी कारागार बाहिरै

    अझै पाँच हजार कैदी कारागार बाहिरै

    काठमाडौँ, १० कात्तिक:
    ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए ।

    तीमध्ये हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार चार हजार ५९६ कैदी र ३८६ बालबन्दी गरी कुल चार हजार ९८२ बन्दी अझै फरार छन् ।

    सरकारले फरार कैदीबन्दीलाई कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत फरार कैदीलाई नियन्त्रणमा लिँदै सुरक्षाकर्मीले सम्बन्धित कारागारमा बुझाइरहेका छन् ।

    मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो ।

    प्रदर्शनको मौका पारेर सुनसरीको झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँका नक्खु, डिल्लीबजार, जगन्नाथदेवल, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, दाङ तुलसीपुर, नौवस्ता बाँके, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट १३ हजार ५८५ कैदीबन्दी भागेका थिए । यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधारगृहबाट ९६४ बालबन्दी भागेका थिए ।

    सुरक्षा घेरा तोडेर भाग्ने क्रममा रामेछापमा तीन, धादिङ र सप्तरीमा दुई÷दुई कैदीको गोली लागेर मृत्यु भएको थियो । यस्तै, नौवस्ता बालसुधारगृहमा झडप हुँदा पाँच र डोटी बालसुधारगृहमा एक बालबन्दीको मृत्यु भएको थियो । कारागार कार्यालयहरूले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्की आउन सूचित गराउँदै आएका छन् । सरकारको सूचनालाई बेवास्ता गरी फरार रहेका कैदीबन्दीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

    देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागार र बालगृहमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४१ कैदी र बालबन्दी रहेका छन् ।

  • अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो

    अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइयो

    जलेश्वर (महोत्तरी), १० कात्तिकः
    आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व मनाइएको छ ।

    मिथिलाका सबै घाटमा बर्तालुहरुले प्रसाद तथा पूजा सामग्री लिएर दिनभर सपरिवार भगवान् सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरी छठपर्व मनाएका हुन् । गत शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चार दिने महापर्व छठ उत्सवको आज षष्ठी तिथिको साँझ मुख्य पूजाआजा गरिएको हो ।

    छठ पर्व मनाउनका लागि सम्पूर्ण मिथिलावासी आज आआफ्ना घरमा गुलियो परिकार ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ढकियामा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाट पुगेका थिए ।

    सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

    पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

    यस पर्वको पहिलोदिन बर्तालुहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछन् । दोस्रो दिन खरना मनाइएको थियो । खरनाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए भने राति अरवा अरबाईन (बिना नुनको) खानेकुरा खाएका थिए ।

    यस पर्वलाई बर्तालुहरुले भोलि मङ्गलबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पन गरेको क्रम दोहो¥याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अघ्र्य दिई छठपर्व सम्पन्न गर्नेछन् ।

  • छठ पूजाका लागि प्रधानमन्त्री कार्की कमलपोखरी जाने

    छठ पूजाका लागि प्रधानमन्त्री कार्की कमलपोखरी जाने

    १० कात्तिक, काठमाडौं ।
    प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी हुने भएकी छिन् ।

    प्रधानमन्त्री कार्की दिउँसो सवा ४ बजे कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी हुने प्रेस संयोजक राम रावलले जानकारी दिए ।

    छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

    छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

    अस्ताउँदो सूर्यलाई अर्घ दिने छठ पर्वको मुख्य दिन सरकारले सार्वजनिक बिदा दिएको छ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

  • परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः संयोजक प्रचण्ड

    परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः संयोजक प्रचण्ड

    चितवन, कात्तिक १० –
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग उहाँले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिनुभयो ।

    संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ”,उहाँले भन्नुभयो,“मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।”

    संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गर्नुभयो । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उहाँको भनाइ थियो । “यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ”, संयोजक दाहालले भन्नुभयो । रासस

  • समुद्री आँधीको चपेटामा भारतको पूर्वी राज्य, भारी वर्षाको चेतावनी

    समुद्री आँधीको चपेटामा भारतको पूर्वी राज्य, भारी वर्षाको चेतावनी

    भारत, कात्तिक १०-
    बंगालको खाडीमा समुद्री आँधी मोंगा विकसित भइरहँदा भारतीय मौसम विभागले अलर्ट जारी गरेको छ । देशका पूर्वी तटीय क्षेत्रका धेरै राज्यहरूमा भारी वर्षाको चेतावनी दिइएको छ ।

    यसैबीच, अरब सागरमा बनिरहेको नयाँ ‘डिप्रेसन’ले गुजरात र महाराष्ट्रलगायत पश्चिमी तटीय राज्यहरूमा बेमौसमी भारी वर्षा गराइरहेको छ । वर्षाले विशेष गरी किसानहरू प्रभावित भएका छन् । वर्षाका कारण नगदे बाली नष्ट भएको छ । मौसम विभाग (आईएमडी) ले गुजरातदेखि केरला र पश्चिमी राजस्थानसम्मका क्षेत्रहरूको लागि सुन्तला रंगको चेतावनी जारी गरेको छ । मध्य प्रदेश, भित्री कर्नाटक र तेलंगानाका लागि पनि भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

    बेमौसमी वर्षाले गुजरात, महाराष्ट्र र पश्चिमी राजस्थानलाई सबैभन्दा बढी असर गरेको छ । मौसम विभागको बिहानको बुलेटिनले तीनै राज्यहरूको लागि सुन्तला रंगको चेतावनी जारी गरेको छ । गोवा, कर्नाटक, पश्चिमी मध्य प्रदेश र केरलाका लागि भारी वर्षाको चेतावनी जारी गरिएको छ । अरब सागरमा विकसित भइरहेको ‘डिप्रेसन’को कारण यो वर्षा भइरहेको बताइएको छ ।

    विगत ४८ घण्टादेखि गुजरातका सौराष्ट्र र कच्छ जिल्लाहरूमा मुसलधारे वर्षा भइरहेको छ । मौसम विभागले बिहान ५ः३० बजेदेखि पूर्व–मध्य अरब सागरमा बनिरहेको डिप्रेसन गएको छ घण्टामा २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–उत्तरपूर्व (महाराष्ट्र–गोवा)तर्फ सर्दै गएको जनाएको छ । यो हाल मुम्बईबाट ७२० किलोमिटर पश्चिम–दक्षिणपश्चिम, गोवा (पणजी)बाट ७५० किलोमिटर पश्चिम, लक्षद्वीप (अमिनीदिवी)बाट ८५० किलोमिटर उत्तरपश्चिम र मंगलोरबाट ९४० किलोमिटर पश्चिम–उत्तरपश्चिम अर्थात् समुन्द्री क्षेत्रमा छ ।

  • घाइते भेट्दा नवनियुक्त स्वास्थ्यमन्त्रीले आँसु रोक्न सकिनन्, भनिन् : कसैले चुनाव भाँड्ने प्रयास नगर्नुहोस्

    घाइते भेट्दा नवनियुक्त स्वास्थ्यमन्त्रीले आँसु रोक्न सकिनन्, भनिन् : कसैले चुनाव भाँड्ने प्रयास नगर्नुहोस्

    १० कात्तिक, काठमाडौं ।
    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् ।

    सोमबार काठमाडौंको ट्रमा सेन्टर, शिक्षण अस्पताल र सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूसँगको भेटपछि मन्त्री गौतमले निर्वाचनको वातावरण बनाउन आग्रह गरेकी हुन् ।

    शिक्षण अस्पताल महाराजगञ्जमा एक जना घाइतेको गम्भीर अवस्था देखिएपछि गहभरी आँसु बनाउँदै मन्त्री गौतमले अब निर्वाचन भाँड्ने नाममा आन्दोलन नगर्न सबै शक्ति र व्यक्तिहरूको ध्यानाकर्षण गराएकी हुन् ।

    ‘बिरामीहरूको अवस्था हेर्दा मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु र जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ, त्यो नगर्नुस् भनेर म सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनले भनिन् ।

    मन्त्री गौतमले सरकार निर्वाचनमा केन्द्रित भएकाले त्यसको विरोध गरिरहन आवश्यक नभएको बताइन् ।

    ‘हाम्रो जनआन्दोलनको मर्म कुरीति, बेथितिहरू सबै हटून् भन्ने थियो । त्यसका लागि आएका सकारात्मक सुझावहरूलाई ग्रहण गर्दै हामी सबैले त्यही दिशामा कार्यरत रहनुपर्छ,’ उनले भनिन्, ‘मैले गरेका कामहरू कति, के भयो भन्ने कुरा म पारदर्शी ढंगले देखाउनेछु ।’

    सिनामंगल पुगेकी गौतमले जेनजी आन्दोलनका शहीद र घाइतेहरूको बलिदान खेर जान दिन नहुने बताइन् ।

    उनले केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाइते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको जानकारी दिइन् । उपचाररत घाइतेमध्ये एक जना महिला रहेकी र उनीमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताइन् ।

    त्यहाँ उपचाररत अर्का घाइते भने गोली लागेर उपचाररत रहेको मन्त्री गौतमले जानकारी दिइन् । दुवै घाइतेको अवस्था सुधारोन्मुख रहेको उल्लेख गर्दै उनले भनिन्, ‘यत्रो शहीद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । सुशासनको मुद्दा हामीले बिर्सिनु हुँदैन,’ उनले भनिन् ।

    उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताइन् ।

  • छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

    छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

    काठमाडौँ, कात्तिक १०-
    सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसेका छन् ।

    दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । छठको मुख्य दिन आज राजधानीको गुह्येश्वरीबाट गौरीघाटसम्म बनेको छठ घाटमा भक्तजनको चहलपहल बढेको छ ।

    कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

    सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

    व्रतविधि

    कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

    यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ ।

    कार्तिक शुक्ल षष्ठीको रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजाआराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।

    छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत बागमती, नक्खु र विष्णुमती नदी किनारका विभिन्न स्थानमा सजावट गरिएको छ । छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा स्थापित भएको छ । रासस