Blog

  • आज बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज वि.सं.२०८२ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२५ अक्टोबर ३० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक शुक्लपक्ष । तिथि–नवमी, ५६ घडी ६ पला, रातको ४ बजेर ४० मिनेट उप्रान्त दशमी । नक्षत्र–श्रवण, २१ घडी ५ पला, दिउसो २ बजेर ४० मिनेट उप्रान्त धनिष्ठा । योग–गंड, ५३ घडी १७ पला, रातको ३ बजेर ३३ मिनेट उप्रान्त वृद्धि । करण–बालव, बेलुकी ४ बजेर ४९ मिनेट उप्रान्त कौलव, रातको ४ बजेर ४० मिनेट उप्रान्त तैतिल। आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मकर ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १९ मिनेट । दिनमान २७ घडी ४५ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शरीरमा घाउ,खटिरा तथा चोटपटकको भए रहनेछ । आफन्तसँगको लेनदेनको कारोबारले शत्रुता बढाउनेछ । माया प्रेममा सामान्य मनमुटाब बढ्ने तथा श्रीमान् श्रीमती बिचको सम्बन्धमा उतार चढाव आउनेछ । बुवा आमाको स्वास्थ्य बिग्रनाले खर्च बढ्नेछ । समाजसेवा तथा राजनीतिमा जनताको साथ नपाइने हुँदा पद प्राप्तिको योग टरेर जानेछ । तर पनि आर्थिक क्षेत्र वा शेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटन सम्बन्धी व्यवसाय फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । प्रविधिको प्रयोग मार्फत काम वा अध्ययनलाई अगाडी बढाउन सकिनेछ । राज्यको नजिक भई काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक सङ्कटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । गोप्य सूचना तथा घर परिवारका कुराहरू बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आवश्यक पर्दा साथ दिनेहरू भेटिने हुँदा मन प्रसन्न हुनेछ । परिवारका साथ देश विदेशको यात्राको तय गर्न सकिनेछ । स्थायी सम्पत्तिको भरपुर प्रयोग गर्न पाइनेछ । नाफामूलक काम गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने सेवामूलक काम गरी नाम पनि कमाउन सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । अध्ययनमा मन जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट आगामी दिनमा आम्दानी गर्न सकिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्नीहरूमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउँदा ख्याल गर्नुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनै पनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउने छैनन् । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रसँग पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न नसकिने हुनाले प्रतिष्ठामा कमी हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा सुझबुझका साथ लगानी गर्नुहोला ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दौडधुप तथा लामो खटाइले मात्र काम सम्पादन हुनेछन् । पुराना मुद्दाहरूको निर्णय तपाईँको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आए पनि तत्काल भन्दा पनि पछिको लागी फाइदा हुनेछ । आफूभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरूसँग विवाद बढ्ने योग रहेको छ । तर पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । आर्थिक क्षेत्र वा शेयर बजार सम्बन्धी कामबाट लाभ लिन सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित संस्था एनजिओ तथा आईएनजिओमा काम पाउने प्रबल सम्भावना रहेको छ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । खर्च बढे पनि उपलब्धि मूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दा बढी नै उत्साहित हुन खोज्दा नकारात्मक परिणाम आउनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिवार,आफन्त र इष्टमित्रसँग आत्मीयता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । राजनीतिक काममा सफलता मिल्नेछ । शत्रुहरू पराजित हुनेछन् । पति पत्नीबिच सम्बन्धमा सुधार आउनेछ । राजनीति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीमा बढोत्तरीको योग रहेको छ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते

    राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते

    कात्तिक १२, काठमाडौं :
    सरकारले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि २०८२ माघ ११ गते निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि जगदीश खरेलले जानकारी दिए।

    बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ । यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको प्रवक्ता खरेलले बताए।

    त्यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा यहि कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए।

    बैठकले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ।

  • चितवनमा मौरी चरन क्षेत्र अभाव

    चितवनमा मौरी चरन क्षेत्र अभाव

    चितवन, कात्तिक १२-
    जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् ।

    मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार अहिलेको समयमा चरन क्षेत्रको अभाबका कारण यहाँका किसानले बाहिरी जिल्लामा मौरी चराउन लाने गरेका छन् । उहाँका अनुसार दाङ, प्यूठान, रोल्पालगायतका जिल्लामा मौरी चरनका लागि लैजाने गरिएको छ । उहाँले भन्नुभयो “यहाँका ७० प्रतिशत मौरीका घार चरनका लागि बाहिर लैजाने गरिएको छ ।” दाङमा यो समयमा तोरी फूल्ने भएकाले ६० प्रतिशत मौरीका घार लैजाने गरेको उहाँले बताउनुभयो । यस्तै प्यूठान र रोल्पामा १० प्रतिशत घार लैजाने गरिन्छ ।

    जिल्लामा रहेका गोलामध्ये बलियो गोला छनोट गरेर चरनका लागि लैजाने गरिएको छ । यहाँ यो समयमा चरन नहुँदा बाँकी रहेका ३० प्रतिशत मौरीलाई चिनीको घोल ९चास्नी० खुवाएर राख्ने गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यहाँ राखिएका मौरीबाट मह निकाल्न मिल्दैन । यहाँका मौरी पालक किसानले १६ हजार २०० घार मेलीफेरा र ३०० घार सेरेना जातको मौरी पालन गरेको उहाँले जानकारी दिनुभयो । यसबाट वार्षिक ४६५ मेट्रिकटन हाराहारी मह उत्पादन हुँदै आएको छ । रासस

  • लोबुचे हेलिकप्टर दुर्घटनाः पाइलट सकुशल, पुच्छरको भागमा क्षति

    लोबुचे हेलिकप्टर दुर्घटनाः पाइलट सकुशल, पुच्छरको भागमा क्षति

    सोलुखम्बु, कात्तिक १२-
    सगरमाथाको मुटुमा पर्ने लोबुचे आज बिहान केहीसमय हवाई त्रासमा रह्यो । हिउँले छोपिएको सगरमाथाको फेदमा अल्टिच्युट एयरको हेलिकप्टर अकस्मात् चिप्लिएर अवतरणस्थलमा ठोक्कियो । तर, समय बलियो थियो, यो दुर्घटनाले मानवीय क्षति भएन ।

    आज बिहान ८ः१५ बजे ‘अल्फा माइक सेरा’ कलसाइन भएको हेलिकप्टर लुक्लाबाट ९४,९४० मिटर) लोबुजेतर्फ उडेको थियो । मङ्गलबार राति परेको बाक्लो हिमपातपछि त्यहाँ रोकिएका केही पर्यटकलाई उद्धार गर्न हेलिकप्टर त्यसतर्फ उडेको थियो । तर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा सतहमा जमेको हिउँले रनवे चिप्लियो, अनि हेलिकप्टरको पुच्छर जमिनमा ठोक्कियो ।

    “अवतरणकै क्रममा हेलिकप्टर चिप्लिएर पछाडिको भाग क्षतिग्रस्त भएको हो”, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले भन्नुभयो, “तर पाइलट विवेक खड्का सकुशल हुनुहुन्छ, यो खुसीको खबर हो ।” उहाँका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टर अहिले पनि सोही क्षेत्रमा छ ।

    बाक्लो हिउँ र प्रतिकूल मौसमका कारण तत्काल उद्धार सम्भव नभएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । “हेलिकप्टर हिउँमा केही भाँसिएको छ, त्यसैले उडान सम्भव छैन”, उहाँले भन्नुभयो ।

    दुर्घटनाको क्षणमा हेलिकप्टरमा पाइलट खड्का एक्लै सवार हुनुहुन्थ्यो । उहाँलाई अर्को हेलिकप्टरमार्फत उद्धार गरी लुक्ला ल्याइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । “हामीले तत्काल उद्धारको व्यवस्था गरेका थियौँ, पाइलट सकुशल हुनु ठूलो राहत हो”, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले भन्नुभयो ।

    हिउँले ढाकिएको सगरमाथा क्षेत्रः पर्यटक होटलमा

    मङ्गलबार रातिदेखि परेको लगातार हिमपातपछि सगरमाथा क्षेत्र सेतो चाँदरले ढाकिएको छ । दिङबोचे ९चार हजार ४१० मिटर०माथि मात्र अहिले करिब तीन सय ३२ जना विदेशी पर्यटक रहेको प्रशासनले जनाएको छ । “ती सबै पर्यटक होटलभित्र सुरक्षित छन्”, प्रहरी नायब उपरीक्षक कुँवरले भन्नुभयो । मौसम अझै बिग्रिँदै गएकाले तल्लो क्षेत्रमा झर्नेहरूको सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो ।

    सगरमाथा क्षेत्रमा अहिलेको अवस्था ‘उच्च जोखिमयुक्त तर शान्त’ जस्तो देखिएको प्रहरी नायब उपरीक्षक कुँवरको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज बिहानदेखि खुम्बु क्षेत्रमा सबै हेलिकप्टर र विमान उडान रोकिएका छन् । मौसममा सुधार नआएसम्म कुनै उडान सम्भव नभएको जनाइएको छ । रासस

  • ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

    ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरबीच भेटवार्ता

    काठमाडौँ, कात्तिक १२-
    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्ठरबीच भेटवार्ता भएको छ ।

    अन्तरराष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्लीमा रहनुभएका घिसिङ र भारतीय समकक्षी खट्ठरबीच आज भेटवार्ता भएको उहाँको सचिवालयले जनाएको हो ।

    विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति, दुवै देशबीच दीर्घकालीन ऊर्जा क्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो ।

    यसैबीच, नेपाल र भारतबीच दुईवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम ९जेभी० तथा सेयरहोल्डर सम्झौतामा हस्ताक्षर भएको छ । इनरुवा–पूर्णिया र लम्की–दोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि यस्तो सम्झौता भएको ऊर्जा मन्त्रालयले जनाइएको छ ।

    ऊर्जामन्त्री घिसिङ र भारतका विद्युत्मन्त्री खट्ठरको उपस्थितमा नेपाल विद्युत् प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक सुभाषकुमार मिश्र र पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडका प्रमुख सञ्चालन अधिकृत सञ्जयकुमार गुप्ताले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । संयुक्त लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी संस्थापना गर्न बाटो खुलेको छ ।

    मन्त्री घिसिङले थप दुईवटा ‘क्रस बोर्डर’ प्रसारण लाइन निर्माण अगाडि बढ्नु द्विपक्षीय एवं क्षेत्रीय विद्युत् व्यापारका लागि अर्को महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले अन्तरदेशीय प्रसारण लाइनको निर्माणबाट दुवै देश एवं क्षेत्रीयस्तरमा समेत नेपालमा उत्पादित विद्युत् निर्यात गर्ने आधार तयार भइ अन्तरराष्ट्रिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    यसैगरी नेपालको जलविद्युत् क्षेत्रको विकास एवं विस्तारमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न द्विपक्षीय सम्झौताले सहयोग पुर्याउने धारणा व्यक्त गर्दै लगानीका लागि आग्रह गर्नुभयो ।

    त्यस्तै, भारतीय विद्युतमन्त्री खट्ठरले थप दुई ‘क्रस बोर्डर’ प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि नेपाल–भारतबीचको विद्युत् विनिमय प्रक्रियामा सहज हुने, सुदृढ ग्रिडसहित क्षेत्रीय ऊर्जा सुरक्षामा सुधार आउने र दुवै देशको आर्थिक वृद्धिमा योगदान पुग्ने धारणा व्यक्त गर्नुभएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को ३० असोजको बैठकले प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवैतर्फ दुईवटा संयुक्त कम्पनी स्थापना गर्न र उक्त कम्पनीहरूमा स्वपुँजी ९इक्विटी० लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । रासस

  • नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति

    नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति

    त्रिवेणी (नवलपरासी), कात्तिक १२
    नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् ।

    चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२र८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको हो । उक्त अनुमतिले पर्यटकीय गतिविधि थप बढ्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो ।

    निकुञ्ज र नवलपुर पर्यटन समितिबीच नवलपुरको मार्ग हुँदै निकुञ्जमा जीप सफारीको सम्झौता भएको जनाउँदै उहाँले उक्त सहमति अनुसार आधा दिन र पूरै दिन जीपबाट निकुञ्ज क्षेत्र भ्रमण गर्न सकिने जानकारी दिनुभयो ।

    आधा दिनको निकुञ्जभित्रको सफारीमा नवलपुरको अमलटारीघाट हुँदै टेम्पलटाइगर–मुण्डा ताल–देवीताल हुँदै सोही बाटो फर्कने तथा अमलटारीघाट–मुण्डा ताल–टाइगर टप्स हुँदै फर्कने मार्ग तोकिएको समितिका अध्यक्ष महतोले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पूरै दिनको भ्रमण मार्ग घडियाल प्रजनन केन्द्र पुग्नेका लागि मात्र प्रदान गरिएको छ । जसअन्तर्गत घडियाल प्रजनन केन्द्र हुँदै प्रमुख वनमार्ग भएर अमलटारी फर्किने अनुमति प्राप्त भएको महतोले बताउनुभयो । नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीका लागि सातवटा सवारीसाधनलाई अनुमति दिइएको जनाउँदै उहाँले समितिले प्रयोग गर्ने सवारीसाधनको विवरणसमेत निकुञ्जले स्वीकृत गरेको उल्लेख गर्नुभयो ।

    अध्यक्ष महतोका अनुसार सवारीसाधनमा ‘भेइकल ट्र्याकिङ एण्ड मोनिटरिङ सिस्टम’ ९जिपिएस० अनिवार्य जडान गर्न निकुञ्जले अनुरोध गरेको छ । निकुञ्जको निर्देशनअनुसार शीघ्र सवारीमा जिपिएस जडान गरिने बताउँदै उहाँले निकुञ्जसँगको सम्झौतामा आगामी मङ्सिर १५ गतेभित्र सवारीमा जिपिएस जडान गर्ने समयसीमा तोकिएको जानकारी दिनुभयो ।

    नवलपुर पर्यटन समितिमार्फत नवलपुरको मार्ग हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी गर्न चाहने पर्यटकलाई अमलटारीघाटस्थित नारायणी नदीमा डुङ्गाबाट तारेर निकुञ्ज क्षेत्रमा जीप सफारी गराइने छ । समितिले स्वीकृत प्राप्त सवारी भने नदीपारि निकुञ्जमै राख्ने छ । नवलपुरबाट निकुञ्जमा जीप सफारी गर्ने पर्यटकले नारायणीमा बोटिङको आनन्दसमेत लिन पाउनेछन् ।

    नवलपुरबाट निकुञ्ज क्षेत्रमा जीप सफारीको अनुमतिले यहाँको पर्यटनमा थप चहलपहल बढ्ने पर्यटन व्यवसायी धनिराम गुरौले बताउनुभयो । नवलपुरको मध्यवर्ती सामुदायिक वन गैँडा अवलोकनका लागि उपयुक्त गन्तव्य रहेको भन्दै उहाँले यहाँका सामुदायिक वनमा जीप सफारी सञ्चालन रहिरहेको अवस्थामा चालु आवमा यहाँ पर्यटकीय गतिविधि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

    “यहाँका सामुदायिक वन गैँडा अवलोकनका लागि प्रख्यात छ, अब निकुञ्ज जान्छु भन्ने पर्यटकसमेत अमलटारी हुँदै घुम्न पाउने हुँदा पर्यटकीय गतिविधि पक्कै थप बढ्नेछन्”, गुरौले भन्नुभयो । यसबाट पर्यटन प्रवर्द्धन हुनुका साथै आर्थिक गतिविधि बढ्ने र रोजगारीका अवसर सृजना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस

  • यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या

    यस्ता छन् सरकारले सार्वजनिक संस्थानमा देखेको चुनौती र समस्या

    काठमाडौँ, कात्तिक १२ –
    सरकारले सार्वजनिक संस्थानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी प्रभावकारिता र कार्यकुशलता अभिवृद्धि गर्नु जस्ता विषयलाई प्रमुख चुनौतीका रुपमा चित्रण गर्दै सुधारको मार्गचित्र सार्वजनिक गरेको छ ।

    अर्थ मन्त्रालयले सार्वजनकि गरेको ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ मा वित्तीय सुधार र अनुशासन कायम गर्नु, सरकारी लगानीको उचित प्रतिफल सुनिश्चित गर्नुलाई चुनौतीका रुपमा चित्रण गरिएको छ ।

    सार्वजनिक संरचनाको सङ्गठनात्मक पुनःसंरचना गरी प्रशासनिक खर्च अनावश्यक आर्थिक दायित्व घटाउनु, सञ्चालक समितिको प्रभावकारिता अभिवृद्धि गर्नु, सार्वजनिक संस्थानको व्यावसायिकताका लागि उपयुक्त स्वरुप र सञ्चालन ढाँचा निर्धारण गर्ने काम चुनौतीका रुमपा लिइएको छ ।

    आमनागरिकको अपेक्षाअनुसार वस्तु तथा सेवाको उत्पादन तथा वितरणमा सुधार गर्नु र नीतिगत, कानुनी र प्रक्रियागत सुधारमार्फत संस्थान सञ्चालनमा विद्यमान बाह्य हस्तक्षेप न्यूनीकरण गर्नुपर्ने विषयलाई चुनौतीका रुपमा चित्रण गरिएको छ ।

    कार्य सञ्चालनको नियमित अनुगमन ता मूल्याङ्कन नियमन गर्ने प्रभावकारी संयन्त्र नहुनु, संस्थानको कार्यकारी प्रमुखमा संस्थाको उद्देश्य एवं कार्यक्षेत्र कमोजिमको योग्य व्यक्ति नहुनलाई समस्याका रुपमा लिइएको छ ।

    अधिकांश सार्वजनिक संस्थानमा कर्मचारी व्यवस्थापन कमजोर हुनु, सरकारी लगानीको यर्थाथ आकलन हुन नसक्नु, सरकारको लगानीको प्रतिफल अत्यन्त न्यून हुनु, कोषम व्यवस्था नभएको दायित्व तथा सम्भावित दायित्व निरन्तर बढ्दै जानु समस्याको रुपमा रहेको छ । संस्थानमा आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुुनु, संस्थानको समग्र कार्य सम्पादनमा पारदर्शिताको अवस्था कमजोर रहनुलाई समस्याका रुपमा लिइएको छ ।

    सरकारले संस्थानको व्यावसायिक कार्ययोजना, वार्षिक बजेट र वित्तीय प्रतिवेदन स्वीकृत गरी लागू गराउने, कार्यकारी प्रमुखको कार्य सम्पादन मूल्याङ्कन गर्ने, संस्थानको लेखापरीक्षण, जोखिम व्यवस्थापन, व्यावसायिक सुशासन र पारिश्रमिकसम्बन्धी व्यवस्थालाई पारदर्शी र समयसापेक्ष बनाउने लक्ष्य राखेको छ । यस्तै, सार्वजनिक संस्थानको सङ्गठनात्मक संरचना स्वीकृत गराइ लागू गर्ने गराउने, संस्थानमा वित्तीय अनुशासन सुनिश्चित गर्ने, संस्थान गठन गर्ने कानुन बमोजिम तोकिएका कार्यहरु गर्ने लक्ष्य राखिएको छ ।

    सार्वजनिक संस्थान व्यवस्थापनको नेतृत्व तथा सञ्चालक छनोट प्रक्रियामा योग्यता प्रणाली र समावेशिता सुनिश्चित गर्ने, सार्वजनिक संस्थानको सेवा प्रवाहलाई प्रविधिमा आधारित र एकीकृत बनाउने, सार्वजनिक संस्थानमा व्यवसाय प्रक्रिया पुनःनिर्धारण गरिनेछ । संस्थानको सञ्चालन र व्यवस्थापन तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्ने, सेवाग्राही तथा ग्राहकप्रति उत्तरुदायित्व सुनिश्चित गर्ने रणनीति लिइएको छ ।

    नियमित अनुगमन र मूल्याङ्कन प्रणाली विकास गर्ने, पारदर्शी वित्तीय व्यवस्थापन र अनुशासन कायम गरी आर्थिक रुपमा सबल बनाउने, सार्वजनिक संस्थानको लेखा प्रणालीलाई विश्वसनीय समयानुकूल र तुलनायोग्य बनाइनेछ ।

    नीतिमा सार्वजनिक संस्थानबाट हुने सम्भावित वित्तीय जोखिम पहिचान नियन्त्रण गर्ने, कार्यसम्पादन मापनलाई व्यवस्थित गरी कार्यसमपादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरिने उद्देश्य राखिएको छ ।

    सार्वजनिक संस्थानमा कार्यरत जनशक्तिको क्षमता विकास गर्ने र उपयुक्त जनशक्ति भित्र्याउने, सार्वजनिक संस्थानको सङ्गठनलाई संस्थानको उद्देश्य अनुरुप बनाउने, सहभागितामूलक निर्णय प्रक्रिया अवलम्बन गर्ने विषयलाई नीतिमा प्रष्ट उल्लेख गरिएको छ । संस्थानमा श्रमिकको सीप विकास र आधुनिक प्रविधि उपयोगलाई प्रोत्साहन गर्ने, अनुसन्धान, नवप्रवर्तन र गुणस्तरमा सुधारमा जोड दिइनेछ ।

    हाल ४५ सार्वजनिक संस्थान कायम छन् । हाल कायम रहेकामध्ये २० वटा सरकारको पूर्ण स्वामित्व र २५ वटा अधिकांश स्वामित्वमा सञ्चालित छन् । आव २०८०/८१ सम्म सरकारले सार्वजनिक संस्थानमा कूल रु सात खर्ब तीन अर्ब ९३ करोड ८८ लाख लगानी गरेको छ । रासस

  • सुनको भाउ घट्यो, चाँदी बढ्यो

    सुनको भाउ घट्यो, चाँदी बढ्यो

    १२ कात्तिक, काठमाडौं ।
    बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    अन्तर्राष्ट्रिय बजारमा बुधबार (नेपाली समय ११ बजे) प्रतिऔंस ३९५८ अमेरिकी डलरमा सुनको कारोबार भएको छ ।

    चाँदीको भाउ भने बढेको छ । प्रतितोला ४५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन २९२० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९६५ रुपैयाँ पुगेको छ ।

  • दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

    दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

    भद्रपुर (झापा), कात्तिक १२ –
    दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।

    बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

  • पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ हिमपातसहित वर्षा

    पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ हिमपातसहित वर्षा

    काठमाडौँ कार्तिक १२
    हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।

    गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    आज राति देशभर आंशिक बदली बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

    मौसम विभागका अनुसार आज देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ । ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको विभागको भनाइ छ ।

    यस्तै बागमती प्रदेशका काठमाडाैँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।

    सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।