Blog

  • लोकतान्त्रिक विद्यार्थी संघ चितवनद्वारा CTEVT सम्बन्धी नीतिगत सुधारको माग

    लोकतान्त्रिक विद्यार्थी संघ चितवनद्वारा CTEVT सम्बन्धी नीतिगत सुधारको माग

    चितवन, कात्तिक २८-
    प्राविधिक तथा व्यावसायिक शिक्षामा लगातार बढ्दै गएको अव्यवस्था र सरकारी बेवास्ताप्रति आपत्ति जनाउँदै लोकतान्त्रिक विद्यार्थी संघ चितवनले CTEVT सम्बन्धी नीतिगत सुधारको माग गरेको छ ।

    विद्यार्थी संघ चितवनले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न मागहरु गरेका हुन्  ।

    संघले CTEVT अन्तर्गत सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमहरू, विशेषगरी स्वास्थ्य, कृषि, पशु विज्ञान, इन्जिनियरिङ र अन्य प्राविधिक तहका पाठ्यक्रममा सरकारले ध्यान नदिँदा विद्यार्थीहरू गम्भीर समस्या भोग्नु परेको भन्दै तत्काल सुधारका कदम चाल्न आग्रह गरेको छ। विज्ञप्तिमा हाल प्रविधिक शिक्षा क्षेत्र अस्तव्यस्त बनेको र परीक्षा व्यवस्थापनदेखि प्रशासनिक प्रक्रिया सबैमा अव्यवस्था बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ।

    संघले विभिन्न माध्यमबाट निरन्तर माग गरे पनि CTEVT र सरकार बेपरवाह बनेको आरोप लगाउँदै प्राविधिक शिक्षामा ‘त्वरित सुधार’ आवश्यक रहेको जनाएको छ। विशेष गरी, डिप्लोमा तेस्रो वर्षको परीक्षा नियमित सञ्चालन, ८० लाख विद्यार्थीलाई प्रभावित पार्ने ढिलासुस्ती रोक्ने, Skill Mapping अनिवार्य लागू गर्ने, उपकरण तथा स्रोत अभाव तत्काल समाधान गर्ने लगायतका मागहरू प्राथमिकताका रूपमा अघि सारिएका छन्।

    यस्तै, संघले CTEVT कार्यक्रम विस्तारमा पारदर्शिता, विद्यार्थी रोजगारीमुखी तालिमको प्रभावकारी व्यवस्था, One Door TVET System लागू तथा Basket Funding प्रणाली सञ्चालन गर्न माग गरेको छ।

    प्रेस विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ कि — यदि सरकारले ७२ घण्टाभित्र माग सम्बोधनमा पहल नगरे विद्यार्थीहरू आन्दोलनमा जान बाध्य हुनेछन्। चितवनका विभिन्न प्राविधिक विद्यालय बन्द हुने अवस्था आएपछि विद्यार्थीहरूको भविष्य संकटमा पर्ने भन्दै तत्काल सम्बोधनको आवश्यकता औंल्याइएको छ।

  • प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आआफ्नो सम्पत्ति विवरण

    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आआफ्नो सम्पत्ति विवरण

    काठमाडौँ, २८ कात्तिक : 
    प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति विवरण बुझाउनुभएको छ ।

    प्रधामन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री, परराष्ट्र, रक्षा, खानेपानी; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; वन तथा वातावरण; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  कार्कीसहित अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाउनुभएको हो ।

    त्यसैगरी गृहमन्त्री ओमप्रकाश अर्याल; उद्योग, वाणिज्य तथा आपूर्ति; कानुन, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा,  शिक्षा, विज्ञान तथा प्रविधि डा महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिकमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्चत्री सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको सम्पत्ति विवरण प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

  • अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

    अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, २८ कात्तिक : 
    प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    “आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि माननीय मन्त्रीहरू र सचिवहरूलगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुन्छ । आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्द्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु ।” उहाँले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रर्दशनबाट सिर्जित असामान्य परिवेश, मनसुनजन्य विपद् र चाडपर्वका लामा सार्वजनिक बिदा जस्ता विविध कारणका बाबजुद केही न केही काम भएकामा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री कार्कीले भन्नुभयो, “म यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु, मन्त्रालयहरूबाट सम्पादित कार्यहरूको प्रगतिको समीक्षा गर्ने कार्य केवल प्रशासनिक प्रक्रिया मात्र होइन, यो जवाफदेहिताको एक उत्तम अभ्यास हो । यस प्रकारको अभ्यासबाट सरकारको काम र त्यसप्रति जनताको विश्वास र आस्थाको अभिवृद्धि गर्ने अवसर हो ।”

    सरकारले आफ्नो प्रशासनिक प्रक्रिया सञ्चालन गरिरहने तर त्यसबाट जनताको आकांक्षा सम्बोधन नहुने, सार्वजनिक हितका लागि सरकारी स्रोतसाधन परिचालन भइरहेको उहाँको भनाइ छ । “जनताले महसुस गर्न तथा गराउन नसकेका कारण आमनागरिक र विशेषगरी नवयुवा पुस्ताको आक्रोश विध्वंसात्मक रूपमा विष्फोट भएको हामी सबैले प्रत्यक्ष रूपमा देखेका छौँ,  यसबाट समग्र सरकारी संयन्त्रले गहिरो पाठ सिक्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो ।

    उहाँले मन्त्री र सचिवलगायत सबै जिम्मेवार अधिकारीहरूलाई जनताको अपेक्षा सम्बोधन हुने गरी काम गर्न, आफ्ना मातहतका निकायहरूलाई प्रभावकारी रूपमा परिचालन गरी जनतालाई परिवर्तन र सुधारको महसुस हुनेगरी नतिजा निकाल्न आह्वान गर्नुभयो ।

    भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा क्षति हुन पुगेका सार्वजनिक संरचनाको पुनःनिर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरूत्थान र राहतसमेतका लागि आयोजनाको पुनः प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकको निर्णयअनुसार सबै मन्त्रालय तथा निकायहरूबाट वार्षिक कार्ययोजना संशोधन हुने क्रममा रहेको प्रधानमन्त्रीको भनाइ छ ।

  • नेपालमै पहिलो पटक सिएमसीमा रोबोटबाट बिरामीको अप्रेशन सुरु

    नेपालमै पहिलो पटक सिएमसीमा रोबोटबाट बिरामीको अप्रेशन सुरु

    कार्तिक २८,भरतपुर ।
    काठमाडौँ उपत्यका बाहिर पहिलो पटक चितवन मेडिकल कलेज (सिएमसी)ले रोबटिक सर्जरी सुरु गरेको छ ।

    रोबटिक तथा युरो सर्जन डा प्रतीकमान सिंह गुरुङ, जिआई सर्जनहरु डा विशाल आचार्य र डा रोहित कुमार मिश्रको नेतृत्वमा रोबटिक सर्जरी सेवा सुरु गरिएको सिएमसीले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    सिएमसीमा रोबटिक सर्जरी सुरु भएको करिब डेढ महिना भएको छ । यसबीचमा रोबटिक सर्जरी प्रविधिको प्रयोग गरी १४ वटा शल्यक्रिया गरिएको कलेजले बताएको छ । रोबटिक सर्जरी प्रविधिमा चिकित्सकले प्रत्यक्ष रुपमा हातले नभई कम्प्युटरद्धारा नियन्त्रण हुने रोबटिक हातहरुको माध्यमबाट अपरेशन गरिन्छ ।

    रोबटिक सर्जरीबाट सानो प्वालमार्फत शल्यक्रिया गर्न सकिने, कम रक्तस्राव, कम पिडा र छिटो निको हुने, संक्रमणको सम्भावना न्यून र दीर्घकालिन सफलता मुख्य विशेषता रहेको उनी बताउँछन् । रोबटिक सर्जरी सेवा सुरु गरेको अवसरमा शनिबार रोबटिक सर्जरी कन्फ्रेन्स आयोजना गर्न लागिएको उनले बताए ।

    सिएमसीका सिईओ प्रताप देवकोटाका अनुसार सिएमसीमा सर्जरीको प्रकृतिअनुसार ५० हजारदेखि दुई लाख रुपैयाँसम्ममा रोबटिक सर्जरी गर्न सकिने ।

    कन्फ्रेन्समा भारतबाट वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा प्रियंका भात्रा, डा विरेन्द्र भगत लगायत नेपालबाट समेत गरी २०० जना सहभागी हुनेछन् । उक्त कार्यक्रममा नेपालका जीआई सर्जन, युरो सर्जन, स्त्रीरोग विशेषज्ञ, अंको सर्जन, एनेस्थेसियोलोजिष्ट, जनरल सर्जन तथा रेजिडेन्टहरु र नर्सहरु सहभागी हुने बताइएको छ । कन्फ्रेन्समै ‘लाइभ रोबटिक सर्जरी’ पनि हुनेछ ।

  • चितवनमा भोलि नेकपा एमालेको जनसभा, र्याली समेत गरिने

    चितवनमा भोलि नेकपा एमालेको जनसभा, र्याली समेत गरिने

    चितवन, कार्तिक २८ –
    नेकपा (एमाले) केन्द्रीय कमिटीले कार्तिक २९ गते देशका ७७ वटै जिल्लाहरुमा जनसभा गर्ने निर्णय गरेको छ । जस अनुसार चितवनमा पनि सभा हुँदैछ ।

    प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जनसभा गर्न लागिएको एमाले चितवनका अध्यक्ष कमल राज पाठकले जानकारी दिए । कार्यक्रममा र्याली र सभा हुने छ ।

    अध्यक्ष पाठकका अनुसार भोलि दिउँसो १२ः३० बजे लायन्सचोकबाट र्याली सुरु हुनेछ । लायन्स चोक हुँदै र्याली शहिद चोक, मिलन रोड, लिला चोक हुँदै पोखरा बसपार्कमा पुगि कोण सभामा परिणत हुनेछ । सभामा प्रमुख वक्ताका रुपमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले संवोधन गर्नेछन् ।

    र्यालीका क्रममा विभिन्न नारा लगाइने तय भएको छ । नेकपा (एमाले) जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, हत्या, हिंसा, आतंक बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, शान्ति सुरक्षाको प्रत्याभूति गर, भदौ २३ र २४ गतेको अपराधिक घटनाको निष्पक्ष छानबिन गर, सामाजिक सद्भाव कायम गरौं, संविधानको रक्षा गर, कानुनी राज्यको प्रत्याभूति गर, वीर सहिद अमर रहुन्, प्रतिनिधि सभा पुनः स्थापना गर लगायतका नारा र्यालाीका क्रममा लगाइने छ ।

    जनसभाको व्यापक तयारी भइरहेको अध्यक्ष पाठकले जानकारी दिए । उनले जिल्ला जनसभामा सहभागि हुन नेता कार्यकर्तासहित आम जनसमुदायलाई आह्वान गरेका छन् । उनले भने, ‘जन सभामा सहभागि हुन एमालेको कार्यकर्ता तथा एमाले समर्थक नै हुनुपर्छ भन्ने छैन, जो कोही पनि आउनुहोला, एमालेले के भन्दैछ सुन्नुहोला । अनि आफ्नो धारणा बनाउन तपाईं स्वतन्त्र हुनुहुन्छ ।’

  • किन दिए सन्तोष परियारले राजीनामा ? यस्तो छ राजीनामा पत्र

    किन दिए सन्तोष परियारले राजीनामा ? यस्तो छ राजीनामा पत्र

    काठमाडौं, कात्तिक २८
    राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र पठाउँदै रास्वपा परित्याग गरेको जानकारी गराएका छन्।

    परियारले आज दिउँसो रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन्।

    उनी रास्वपामा निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक तथा समानुपातिकतर्फ निवर्तमान सांसद थिए।

    यस्तो छ पत्र:

    श्री महामन्त्रीज्यू,
    राष्ट्रिय स्वतन्त्र पार्टी, बनस्थली काठमाडौं
    विषय: राजीनामा सम्बन्धमा

    आदरणीय महामन्त्रीज्यू, सर्वप्रथम त राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भएर वैकल्पिक राजनीतिक अभियानको एउटा सदस्य हुन पाएकोमा र रास्वपाको जिम्मेवार सदस्य भएर नेपाली समाजको रूपान्तरणमा थोरै भए पनि राजनीतिक योगदान गर्न पाएकोमा वैकल्पिक राजनीतिक अभियानका सुरूवातकर्ता सबैप्रति हार्दिक नमन।

    रास्वपाको सदस्य भइरहँदा मैले पार्टी र देशको हितमा इमान्दार प्रयत्न गरेको छु। निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दु:खी छु।

    यसै सन्दर्भमा गएको भदौ २३ र २४ गते नेपालको राजनीतिक इतिहासमा भएको पछिल्लो पुस्ता (Gen-G) को विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ। यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ। जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाइ हो। यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा सोच्नुपर्ने अवस्था आएको छ।

    नेपाली राजनीतिक आन्दोलनको पुनर्संचना, अवधारणाहरूको पुनपरिभाषा र संगठनहरूको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ।

    तसर्थ, बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कात्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु।

    रास्वपामा रहेर विभिन्न भूमिकामा काम गरिरहँदा मलाई साथ र सहयोग गर्ने सबै रास्वपाका प्रिय साथीहरूप्रति आभारी छु। यो देश निर्माणको क्रममा, समाज रूपान्तरणको क्रममा अनि आम नेपाली नगरिकको जीवनलाई गुणस्तरीय, सुरक्षित र समृद्ध बनाउने राजनीतिक यात्रामा फेरि भेटियो भने, मिठो सहकार्य हुनेछ।

    – सन्तोष परियार सचिवालय सदस्य, रास्वपा

  • भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज

    भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज

    भोजपुर कात्तिक २८-
    नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट(प्रेषण) रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ ।

    सातामा दुई वटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न थालेपछि बाह्यका अस्पतालमा रेफर गरिएका बिरामीलाई सहज भएको हो ।

    यसअघि उडान कम हुँदा बाह्य अपस्तालमा बिरामी लैजान समस्या हुँदै आएको थियो । अकास्मिक अवस्थामा हेलिकोप्टरमार्फत बाहिर लैजानुपर्ने समस्या अन्त्य हुनुका साथै ठूलो आर्थिक भारसमेत हुँदै आएको भोजपुर नगरपालिका–१२ का स्थानीय पर्शुराम कार्कीले बताउनुभयो ।

    उडान थप भएपछि स्थानीय कम लागतमा काठमाडौँका अस्पतालमा पुगेर उपचार गर्न सक्ने वातावरण बनेको उहाँको भनाइ छ ।

    निगमले काठमाडौँ–भोजपुर–काठमाडौँ उडान तालिका थप गरेको निगमका भोजपुर शाखा प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यही कात्तिक २६ गतेदेखि मङ्गलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान हुँदै आएको छ ।

    प्राविधिक कारणले जहाजमा समस्या हुँदा यसअघि बिहीबार र शनिबार मात्र उडान हुँदै आएको थियो । निगमले यात्रुलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत अनलाइन टिकट खरिद गर्न सक्ने व्यवस्थासमेत गरेको छ ।

    भोजपुरमा नेपाल वायु सेवा निगमको जहाजले मात्र उडान भर्दै आएको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई काठमाडौँ, विराटनगर, धरानलगायत स्थानका अस्पताल जानुपर्ने बाध्यता छ । रासस

  • सिंगापुरको उपचारपछि सभापति देउवा दम्पती स्वदेश फर्किँदै

    सिंगापुरको उपचारपछि सभापति देउवा दम्पती स्वदेश फर्किँदै

    काठमाडौं, कात्तिक २८
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् । सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेका उनी निकट एक नेताले पुष्टि गरेका छन् ।

    उनी १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर गएका थिए । उक्त समय उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका थिए ।

    जेनजी आन्दोलन क्रममा भदौ २४ गते बुढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि भौतिक आक्रमण भएको थियो। उनीहरूको घरमा समेत आगजनी र तोडफोड गरिएको थियो। सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने तत्कालीन परराष्ट्रमन्त्री राणालाई प्रदर्शनकारीहरूले लछारपछार गरेका थिए।

  • पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह

    पार्टी दर्ताबारे कुनै भ्रममा नपर्न संयोजक दाहालको आग्रह

    काठमाडौँ, कत्तिक २८ –
    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गर्नुभएको छ ।

    संयोजक दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।

    सचिवालयले भनेको छ, “निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको थियो, कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भई हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पु¥याइएको हो, यो कुनै अलग संरचना होइन, विधानबमोजिम संरचना बनाउन बाँकी छ ।”

    पार्टी संयोजक र सह–संयोजकबाहेक सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुने संयोजक दाहालको भनाइ छ । त्यसका लागि गृहकार्य भइरहेको र एकीकृत पार्टीको केन्द्रीय समितिसहित सबै संरचनासमेत यही प्रक्रियाअनुसार टुङ्गो लाग्ने सचिवालयले जनाएको छ ।

    नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा बढी वाम विचारधाराका समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढेको छ । यसै क्रममा सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचन प्रयोजनार्थ यही ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्ने निर्वाचन आयोगको समयसीमा छ । रासस

  • राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

    राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

    काठमाडौँ, कात्तिक २८-
    राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।

    संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

    उक्त मन्त्रालयले स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताको अक्षरसः पालना गर्न आग्रह गरेको छ । रासस