Blog

  • अब मतदाता नामावली सहजै बनाउन सकिने, राष्ट्रिय परिचयपत्र भए पुनः बायोमेट्रिक दिन नपर्ने निर्णय

    अब मतदाता नामावली सहजै बनाउन सकिने, राष्ट्रिय परिचयपत्र भए पुनः बायोमेट्रिक दिन नपर्ने निर्णय

    काठमाडौँ २७ कात्तिक
    निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाएको छ। अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने भएको छ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले राष्ट्रिय परिचयपत्रको भण्डारमा रहेको बायोमेट्रिक विवरणलाई सोझै मतदाता नामावलीको अनलाइन आवेदनसँग जोड्ने निर्णय गरेको जानकारी दिए। यो व्यवस्थाले नागरिकले बेहोर्दै आएको झन्झट अन्त्य हुने र दर्ता प्रक्रिया छिटो र प्रभावकारी हुने उनले बताए।

    बुधबार जेनजीसहितका सरोकारवालाको एक बैठकमा बोल्दै भण्डारीले भने, ‘राष्ट्रिय परिचयपत्रको भण्डारमा जम्मा भएको बायोमेट्रिक विवरणलाई तपाईंहरूले अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानबिन गरेर नामावली प्रकाशन गर्ने निर्णय हामीले गरेका छौं।’

    यो नयाँ व्यवस्थाअनुसार, राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका व्यक्तिले निर्वाचन आयोगको वेबसाइटमार्फत अनलाइन फाराम भर्न सक्नेछन्। आयोगले उक्त आवेदनलाई राष्ट्रिय परिचयपत्रको प्रणालीमा रहेको बायोमेट्रिक विवरणसँग आबद्ध गरी प्रमाणीकरण गर्नेछ। यसले गर्दा नागरिकले नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय वा इलाका प्रशासन कार्यालयमा भौतिक रूपमा उपस्थित भएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता पनि हट्नेछ।

    आयोगको यो निर्णयले अध्ययन, रोजगारी वा अन्य कामले विदेशमा रहेका नेपालीहरूलाई पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सहज हुने भएको छ। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विदेश जाने अधिकांश नेपालीले राष्ट्रिय परिचयपत्र बनाइसकेको उल्लेख गर्दै उनीहरूले पनि अनलाइनमार्फत आवेदन दिन सक्ने बताए।

    ‘विदेशमा बस्नेहरूले पनि अनलाइनमार्फत फाराम भर्न सक्नुहुन्छ। उहाँहरूको राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकलाई हामीले यहाँ (नेपालमा) जोड्ने व्यवस्था मिलाएका छौं,’ उनले भने।

    हाल मतदाता नामावली दर्ताका लागि देखिएको अत्यधिक चापलाई व्यवस्थापन गर्न आयोगले दर्ता केन्द्रहरूमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा काम गरिरहेको पनि उनले जानकारी दिए। अनलाइन प्रणाली र राष्ट्रिय परिचयपत्रसँगको आबद्धताले आगामी दिनमा यो चाप स्वतः घट्ने आयोगको विश्वास छ। नाम दर्ताको समय कात्तिक सम्म रहेको छ ।

    कसरी सम्भव भयो ?

    जेनजी समर्थकहरू राष्ट्रिय परिचय पत्र विभाग र निर्वाचन आयोगका प्राविधिकसँग ३–४ दिनसम्म यसबारे छलफलमा रहेका थिए । ‘राति–रातिसम्म बसेर गरिएको हाम्रो प्रयासपछि मतदाता परिचयपत्र बनाउने क्रममा राष्ट्रिय परिचयपत्र भएकालाई बायोमेट्रिक नदिन पर्ने प्रणालीको परीक्षण हिजो सफलतापूर्वक सम्पन्न भयो, जेनजी अभियानलाई साथ दिँदै आएका अभिनेता समेत रहेका रवीन्द्रसिंह बानियाँले भने ।

    उनकाअनुसार नमुना फारम भर्ने क्रममा कुनै प्राविधिक समस्या नदेखिएसँगै आयोग अहिले निर्णय गर्ने स्थितिमा पुगेको हो । उनले भने, ‘आन्दोलनका घाइते साथीहरू पनि अस्पतालमै बसेर विदेशमा हुनु भएकाहरूले विदेश बाटै भोटर कार्ड बनाउन पाउने बाटो खुलेको छ।’

    यसैबिच पूर्वमन्त्री सुमना श्रेष्ठले आम नागरिक, विशेषगरी युवाहरूलाई आफ्नो स्मार्टफोन र ल्यापटप लिएर सडकमा निस्किई मतदाता नामावली दर्ता गर्न छुटेकाहरूलाई सहयोग गर्न आह्वान गरेकी छन्।

    राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरण अब निर्वाचन आयोगले मतदाता नामावलीका लागि सोझै प्रयोग गर्न सक्ने व्यवस्था गरिसक‍ेको जानकारी दिँदै उनले यो प्रक्रिया पहिलेभन्दा निकै सहज भएको बताइन्।

    श्रेष्ठले रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रमा कार्यरत धेरै युवाहरूको मतदाता परिचयपत्र नभएकोतर्फ ध्यानाकर्षण गराउँदै उनीहरूलाई सहयोग गर्न विशेष आग्रह गरिन्। ‘धेरैभन्दा धेरै साथीहरू आफ्नो स्मार्टफोन, आफ्नो ल्यापटप लिएर अब सडकमा जाऔँ,’ उनले भनिन्, ‘रेस्टुरेन्टमा काम गर्ने हाम्रा धेरै युवा साथीहरूको भोटर आइडी छैन। उहाँहरूलाई भोटर आइडी बनाउन सहज गर्दिऔँ।’

    उनले सडक, चोक वा अन्य सार्वजनिक स्थानमा लाइनमा बसेका मानिसहरूलाई मतदाता परिचयपत्र बनाएको वा नबनाएकोबारे सोध्न र आवश्यक परेमा आफ्नै मोबाइल वा कम्प्युटरबाट अनलाइन फारम भरिदिनसमेत सुझाइन्।

  • रवि र छविको मुद्दामा बहस सुरु

    रवि र छविको मुद्दामा बहस सुरु

    बुटवल २७ कात्तिक
    सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सुरु भएको छ। उच्च अदालत बुटवलमा न्यायधिशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा बहस सुरु भएको हो ।

    बहसमा रवि र छविका कानुन व्यावसायीहरु उपस्थित भएका छन् । रविको तर्फबाट महेन्द्र पाण्डेय, नारायण कँडेल लगायतका कानुन व्यवसायी सहभागी छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम सङ्ख्या १ मा रहेको छ ।

    यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।

  • भरतपुरमा स्कुल बसको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु

    भरतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    भरतपुर कार्तिक २७
    भरतपुर महानगरपालिका वडा नं–२३, जगतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    ७ नम्बर चोकदेखि कसरा चोकतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ३–००१ ग ००२९ नम्बरको लक्ष्मी माविको स्कुल बसले विपरीत दिशाबाट जादै गरेको ना ६० प ३२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर–६, बछौली बस्ने ३३ वर्षीय सुरेश महतोको पुरानो मेडिकल कलेज (सिएमएस) भरतपुरमा मृत्यु भएको हो ।

    दुवै सवारी साधन र बस चालक भरतपुर–२३ बस्ने ४३ वर्षीये सुखबहादुर दरैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

  • ५ महिनामै बागमती प्रदेशका प्रमुख सचिवको सरुवा

    ५ महिनामै बागमती प्रदेशका प्रमुख सचिवको सरुवा

    हेटौँडा कार्तिक २७
    बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको ५ महिनामै सरुवा भएको छ । अर्थ प्रशासनमा लामो अनुभव भएका बराललाई सचिवमा बढुवा भएपछि २०८२ जेठ १९ मा बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको थियो ।

    जिम्मेवारी पाएको ५ महिनामै उनलाई बागमती प्रदेशको प्रमुख सचिवबाट अर्थ मन्त्रालयमा सरुवा गरिएको हो । बराल दुई वर्षपछि पुनः अर्थ मन्त्रालयमा फर्किएका हुन् ।

    सोमबार कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । उनले शुक्रबारबाट आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।

    बराल यसअघि उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख थिए । बरालले यसअघि अर्थ मन्त्रालयमा बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा प्रमुख तथा आन्तरिक राजस्व विभागको महानिर्देशक जस्ता महत्त्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका छन् ।

    दिनेश घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरेपछि रिक्त रहेको राजस्व सचिवमा बराललाई ल्याइएको हो । यसैगरी मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको प्रमुख सचिवमा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीलाई सरुवा गरेको छ ।

  • दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरले चलायो डोजर

    दीपक खड्काले स्काउटको जग्गामा बनाएका संरचनामा महानगरले चलायो डोजर

    काठमाडौं कात्तिक,२७
    काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले बनाएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।

    आज बिहान महानगर प्रहरीहरु डोजरसहित पुगेर संरचनाहरु भत्काएका हुन् ।

    कांग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका छन् । तर लामो समयदेखि भाडा तिरेका छैनन् । त्यसैले २० कात्तिकमा स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । सो म्याद आज सकिएको छ ।

    स्काउटले आफ्नो जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने र त्यसबाट पनि भाडा असुल उपर नभए खड्काको जायजेथाबाट लिने चेतावनी दिएको थियो ।

  • रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

    रुपन्देहीमा भेटियो १२ फिट लामो दुर्लभ किङ कोब्रा सर्प

    बुटवल कात्तिक,२७
    पहाडी भेगमा पाइने किङ कोब्रा ( राज गोमन) तराई क्षेत्रको रूपन्देहीमा पहिलोपटक भेटिएको छ ।

    रुपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा सर्प भेटिएको हो ।

    यसअघि नदेखेको निकै लामो र ठूलो सर्प देखेपछि राना परिवारले सर्प उद्धारकर्तालाई खबर गरेका थिए । सर्प उद्धारकर्ता विशाल पाण्डेका अनुसार चरङ्गेमा भेटिएको किंग कोब्रा १२ फिट ३ इन्च लम्बाइ र ७ किलो २०० ग्रामको रहेको छ ।

    सर्प उद्धारकर्ता विशालको नेतृत्वमा बुटवल स्नेक रेस्क्युर टिमका नवीन पौडेल, सागर पाण्डे, विश्वास पाण्डेलगायतले तीन घण्टाको मिहिनेतमा किंग कोब्रा समाएका थिए ।

    किङ कोब्रालाई उद्धार गरिसकेपछि डिभिजन वन कार्यालयको रोहरबरमा सर्जमिन गरी जिल्लाकै घना जंगल क्षेत्र सुरक्षित वासस्थानमा छोडिएको देवदह-१० का वडाअध्यक्ष एकबहादुर सुनारले बताए ।

    नेपालमा अत्यन्त दुर्लभ मानिएको राज गोमन सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा छिटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको संरक्षण गर्नुपर्ने भन्दै वहस सुरु गरेका छन् ।

    अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले मानिसलाई डसेको जानकारी नभएको विज्ञहरू बताउँछन् । नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्राको संख्या अत्यन्त न्यून रहेको र यसले आहाराका रूपमा अन्य प्रजातिको सर्प खाने उद्धारकर्ता नवीन पौडेलले बताए ।

    १४ वर्षअघि बुटवलको फूलबारीमा मृत अवस्थाको एउटा किङ कोब्रा फेला परेको थियो ।

    विशाल पाण्डेको टिमले यो वर्ष वैशाख महिनायता रुपन्देहीको तिलोत्तमास्थित एक घरबाट एकैपटक २३ वटा अति विषालु कमन कोब्रा, ६ वटा रसल्स भाइपरसहित ४०० बढी विषालु सर्पको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएर छोडेका छन् ।

     

  • आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    काठमाडौं कात्तिक २७
    हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

    त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

  • हेर्नुस तपाईंको आजको राशीफल

    हेर्नुस तपाईंको आजको राशीफल

    आज मिति २०८२ कार्तिक २७ गते (१३ नोभेम्बर २०२५) बिहीवार, मार्ग कृष्णपक्ष नवमी तिथि। मघा नक्षत्र। चन्द्रराशि सिंह।

    हेर्नुस तपाईंको आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अवसरले पछ्याए पनि माैकाकाे फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहाेला। मिहिनेतकाे परिणाम भने राम्रै हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। झमेला बेहोर्नुपरे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    घर–परिवारमा असमझदारी बढ्न सक्छ। फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। मान–सम्मानमा समेत आघात पुग्ने सम्भावना छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ। तर परिस्थितिअनुसार नियम मिचेर भए पनि कुनै काम गर्न अघि सर्नुपर्ला।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। कुनै विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। लगनशीलताले समाधान दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा फाइदै हुनेछ। तर विराेधीहरूले दुःख दिनेछन्, सजग रहनुहाेला।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    नयाँ अवसर पाइनेछ। तर चुनौती समेत देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। पहिलेकाे काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    समस्या र अर्थअभाव एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेकाे काम राेकिने भयले सताउनेछ। गरेकाे श्रमबाट उचित लाभ नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ र तत्कालकाे अभाव पनि टर्नेछ। सञ्चित रकम खर्चनुपरे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सुझबुझका साथ काम लिनुहोला। योजनाबिनै यात्रा गर्नुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी राम्रो भए पनि सुविधाका लागि खर्च बढ्न सक्छ। वादविवादमा अघि नसर्नुहोला। ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ। तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ।

  • सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

    सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

    काठमाडौँ, २६ कात्तिकः 
    गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति र सहकार्य  भएको बताउनुभएको छ ।

    व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको ‘नागरिक बचाऊ महाअभियान’का प्रतिनिधिको ज्ञापनपत्र बुझ्दै उहाँले तत्कालीन अप्ठ्यारो परिस्थितिलाई सामान्यीकरण गर्न, शान्ति सुव्यवस्था कायम गर्न, सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन गर्ने प्रमुख उद्देश्यका साथ गठन भएको बताउनुभयो ।

    दुर्गा प्रसाईं नेतृत्वमा रहेको नागरिक बचाऊ महाअभियानले ज्ञापनपत्र बुझाउन समय माग गरेर ज्ञापनपत्र बुझाउनुभएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।

  • सदर चिडियाखानामा कालो रङको चितुवा

    सदर चिडियाखानामा कालो रङको चितुवा

    काठमाडौँ, २६ कात्तिक :
    जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ ।

    पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले राससलाई जानकारी दिनुभयो ।

    पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको उक्त कालो चितुवा हाल सामान्य अवस्थामा आएपश्चात अवलोकन गर्न सक्ने गरी राखिएको हो ।

    यो चितुवाकै प्रजाति भए पनि मेलानिज्म नामक जेनेटिक म्युटेसनबाट शरीरमा अधिक मात्रामा मेलानिन् उत्पन्न भई काला धब्बाहरू बन्ने भएकाले पूर्ण रूपमा कालो देखिन्छ । यस प्रकारका चितुवाहरू विरलै मात्रामा भेटिने गर्छन् ।