Blog

  • मधेस प्रदेश सभाका पाँच सदस्यमाथिको कारबाही उपसभामुखले गरिन् बदर

    मधेस प्रदेश सभाका पाँच सदस्यमाथिको कारबाही उपसभामुखले गरिन् बदर

    जनकपुरधाम  २८ कात्तिक 
    मधेस प्रदेश सभाका पाँच सदस्यमाथि सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीलाई उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन् ।

    सभामुख मण्डलले बिहीबार जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेका थिए ।

    उपसभामुख ईशरले सभामुखद्वारा गरिएको उक्त कारबाही प्रतिशोधपूर्ण रहेको भन्दै ती पाँच सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रस्ट पारेकी छन् ।

    उनले पाँचै जना प्रदेश सभा सदस्यमाथिको कारबाही बदर गरिएको भन्दै बिहीबार सूचना जारी गरेकी छन् ।

  • कस्तो रहला आज देशभरको मौसम ?

    कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ कार्तिक २८
    हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

    राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • हेर्नुस तपाइँको आजको राशीफल

    हेर्नुस तपाइँको आजको राशीफल

    आज मिति २०८२ कार्तिक २८ गते शुक्रवार (१४ नोभेम्बर २०२५)  मार्ग कृष्णपक्ष दशमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।

    हेर्नुस तपाइको आजको राशीफल : 

    मेष: बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी हुनेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। दाम्पत्य सुख मिल्ला। साँझमा कलहको योग छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

    भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

    वृष: विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। मनमा देखिने अस्थिरता र अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। साँझमा दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्।

    भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

    मिथुन: रमणीय र सुखद यात्राको योग छ। साझेदारीमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।

    भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

    कर्कट: ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्। नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन्। कहीँकतैबाट उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।

    भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

    सिंह: आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ। नयाँ कार्यको योजना बन्नेछ। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजगता अपनाउनु पर्नेछ।

    भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

    कन्या: परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। मनमा दुबिधा उत्पन्न हुन सक्छ। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन्। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ।

    भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

    तुला: मान्यजनबाट सहयोग प्राप्त हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। शुभचिन्तकले पूर्ण समर्थन गर्नेछन्। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पुँजी बजारबाट धनलाभ हुनेछ।

    भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

    वृश्चिक: विशिष्ट व्यक्तिलाई प्रभावित बनाएर काम बनाउन सकिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आँटे-ताकेको पूरा होला। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

    भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

    धनु: राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। पुँजी बजारबाट लाभ मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ला। प्राविधिक र वैदेशिक काम रोकिन सक्छ।

    भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

    मकर: आलस्य तथा थकानको अनुभूति हुनेछ। मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ। भोजभतेरमा बोलावट हुँदा स्वास्थ्य मापदण्ड पूरा गुर्नु होला। घरायसी झमेलामा परिनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला। प्रेममा बाधा हुन सक्छ।

    भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

    कुम्भ: सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ। रोकिएका काम पुनः सुरु हुने छन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। व्यापार-व्यवसायबाट फाइदा हुनेछ।

    भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

    मीन: अध्ययन-अध्यापन सफल रहनेछ। ठिक समयमा सही निर्णय लिइएला। लाभदायक यात्रा हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। ज्ञानमा वृद्धि हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

    भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

    यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

  • चाँडो इञ्जिन ल्याएर विमान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

    चाँडो इञ्जिन ल्याएर विमान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, २७ कात्तिकः 
    प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० विमानको इजरायलमा रहेको इञ्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

    निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई आज सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले जहाजको इञ्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने बताउनुभयो । “आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ, यता भाडा बढेको बढ्यै छ”, उहाँले भन्नुभयो, “सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी पनि नतिजा दिनुपर्छ ।”

    उहाँले कुनै प्रक्रियागत बहाना नगर्न निर्देशन दिँदै जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिन नहुनेमा जोड दिनुभयो ।

    प्रधानमन्त्री कार्कीले देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,  “मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन, गलत काम गर्दा मात्र डराउनुहोस् ।”

    बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, निगमका अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलगायतको उपस्थिति थियो ।

  • एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य

    एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य

    काठमाडौँ, २७ कात्तिकः
    आगामी सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि टिकट मूल्य तोकिएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गरेर टिकट दर सार्वजनिक गरेको हो ।

    क्यानका अनुसार पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूको लागि मात्र टिकट बिक्री खुला गरिएको छ।

    साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि रु. ५०० तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ । प्लेअफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।

    यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ ।

    प्लेअफ तथा फाइनलका लागि २००० रुपैयाँको प्रिमियम टिकट किन्नुपर्ने छ ।

    त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ । प्रतियोगिता भरीलाई‌ हुने उक्त पासको मूल्य १५ हजार रुपैयाँ तोकिएको क्यानले जनाएको छ।

  • सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

    सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

    काठमाडौँ, २७ कात्तिकः 
    गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिनुभएको छ ।
    प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिनुभएको हो ।
    त्यसक्रममा प्रहरी महानिरीक्षक कार्कीले सरकारको निर्देशनको परिधिभित्र रही आफू र आफ्नो सङ्गठन सधैँ शान्ति सुव्यवस्था कायम गर्न दत्तचित्त भई खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
    यसैबीच, गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका घाइते तथा जेनजी प्रतिनिधिसँग भेट गर्नुभएको छ । भेटमा घाइतेहरुले उपचारको प्रबन्ध र जेनजीका न्यायोचित मागको सम्बोधन गरिदिन आग्रह गर्नुभएको थियो ।
  • एनपीएलको ओटीटी प्रसारण अधिकार डिशहोमलाई, क्यानविरुद्ध अख्तियारमा निवेदन

    एनपीएलको ओटीटी प्रसारण अधिकार डिशहोमलाई, क्यानविरुद्ध अख्तियारमा निवेदन

    काठमाडौं कात्तिक,२७ 

    नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) प्रसारण अधिकार वितरणमा अनियमितता र नीति–स्तरको भ्रष्टाचार गरेको आरोप लगाउँदै एमएसएम भिडियो एपले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ ।

    निवेदनमा क्यानले एनपीएलको लाइभ स्ट्रिमिङ र ओटीटी प्रसारण अधिकार टेण्डर मूल्यांकनमा मिलेमतो र आर्थिक स्वार्थमा आधारित निर्णय गरेको आरोप लगाइएको छ ।

    क्यानले डिशहोम र एमएसएमबाट प्राप्त प्रस्तावमध्ये डिशहोमलाई प्राथमिकता दिएर ओटीटी अधिकार दिएको थियो ।

    क्यानले यसअघि टेलिभिजनलाई मार्केटिङ समय नै नदिई क्यानले विभिन्न प्रकारका हेलचेक्रयाइँ गरेर समय घर्काएको थियो ।

    सामान्यतया : दुई महिना अघि नै आह्वान हुनुपर्ने टेन्डर क्यानले एक साताअघि मात्रै खुलाएको थियो ।

    पहिलो बिडिङ फारम बाँड्दा नेपालको टेलिभिजनलाई पनि एक्सक्लुसिभ भनिएकोमा अन्तिम समयमा त्यसलाई परिवर्तन गर्दै नेपाली टीभीलाई ननएक्सक्लुसिभ दिने जानकारी क्यानले गराएको हो ।

    डिशहोमले ४ करोड ११ लाख रुपैयाँ न्यूनतम ग्यारेन्टी र ७१/२९ प्रतिशत राजस्व साझेदारी प्रस्ताव गरेको थियो भने एमएसएम भिडियो र सूश्री मिडियाको जोइन्ट भेन्चर कम्पनीले ५ करोड २५ लाख रुपैयाँ न्यूनतम ग्यारेन्टी र १५–८५ प्रतिशत साझेदारी प्रस्ताव गरेको थियो ।

    आर्थिक रूपमा क्यानका लागि बढी लाभदायक प्रस्ताव पेस गर्ने कम्पनीलाई पन्छाएर डिशहोमलाई रोज्नु आन्तरिक प्रभाव र नीति–स्तरको भ्रष्टाचारको संकेत भएको दाबी गरिएको छ ।

    ‘क्यानले आन्तरिक सेटिङ गरेर रोयल्टी आउने कुनै आधार नै नभएको कम्पनीलाई अधिकार दिनुले यहाँ पूर्वसेटिङ छ भन्ने बुझिएको छ, सचिव पारस खड्काको स्वार्थ पनि देखिएको छ’ एमएसएम भिडियो एपका एमडी सुजन थापाले भने, ‘उहाँ आफैं पनि डिशहोमको एमबासडर भएकाले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट देखिएको छ ।’

    ‘टेक्निकल कुराहरू नहेरिकन अधिकार दिइएको छ, दुईवटै एपलाई बोलाएर चालु छन् कि छैनन् भनेर हेर्नुपर्ने हो, टेक्निकलभन्दा आर्थिक प्रस्ताव पहिला हेरिएको छ, डिशहोमलाई फेभर गरेको प्रष्ट देखिएको छ। रोयल्टी आउने पक्का भएको कम्पनीलाई दिने फाइदाजनक कि अब आउने रोयल्टी लिन फाइदाजनक?,’ उनले थपे ।

    निवेदकले अख्तियारसमक्ष उक्त टेण्डर प्रक्रिया छानबिन गर्न, मूल्यांकन समितिका सदस्यबीचको सम्भावित मिलेमतो सार्वजनिक गर्न, छानबिन पूरा नहुँदासम्म टेण्डर रोक लगाउन र दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

    निवेदनमा भनिएको छ, ‘क्यानको यस्तो निर्णयले संस्थाको वित्तीय हितमाथि मात्रै होइन, क्रिकेट प्रशासनको पारदर्शिता र विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ ।’

    अख्तियारमा मात्र नभएर आईसीसीको एन्टी करप्सन युनिटमा पनि निवेदन दिइएको छ ।

     

  • राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने

    राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने

    काठमाडौँ, २७ कात्तिकः
    नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।

    सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताउनुभएको हो ।

    उक्त सूचनाअनुसार राष्ट्रिय परिचयपत्र भएका नागरिकले निर्वाचन आयोगको वेवसाइटमा प्रि–रजिष्ट्रेशन फारम भरेपछि बायोमेट्रिकका लागि कार्यालय जानुपर्ने बाध्यता हटेको छ । मतदाता दर्ता प्रक्रिया चार चरणमा सम्पन्न हुनेछ ।

    पहिलो चरणमा राष्ट्रिय परिचयपत्रको विवरण मिलान गरी मतदाता परिचयपत्रसँग जोड्ने प्रक्रिया सुरु हुनेछ ।

    दोस्रो चरणमा देखिएका विवरण पुनःजाँच गरी त्रुटि भए सच्याउने व्यवस्था गरिएको छ । तेस्रो चरणमा मतदानस्थल छनोट गर्न तथा नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भए आवश्यक कागजात अपलोड गर्न सकिनेछ । चौथो चरणमा सबै विवरण अन्तिम पटक जाँच गरी फारम अनलाइनमार्फत पेस गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया पूरा हुनेछ ।

  • रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

    रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

    काठमाडौँ  कार्तिक २७,
    सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

    बिहीबार उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा मिसिल झिकाउने(थप प्रमाण) आदेश गरेको हो ।

    यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।

  • माओवादी सांसद चढ्ने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    माओवादी सांसद चढ्ने गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    विराटनगर कात्तिक,२७
    नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो चढ्दै आएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    को १ झ ६५० नम्बरको सरकारी गाडीले बिहीबार दिउँसो विराटनगरबाट बेलबारी तर्फ जाने क्रममा ग्रामथान–५ ककडमाडीमा बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

    सो गाडीको ठक्करबाट ग्रामथान गाउँपालिका–५ का ३५ वर्षीय प्रवेश चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनाको समयमा सांसद आङ्बो भने गाडीमा थिएनन् ।

    गाडी र चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । गम्भीरमान आङ्बोका स्वकीय हुन् ।