चितवनमा भोलि नेकपा एमालेको जनसभा, र्याली समेत गरिने

चितवन, कार्तिक २८ –
नेकपा (एमाले) केन्द्रीय कमिटीले कार्तिक २९ गते देशका ७७ वटै जिल्लाहरुमा जनसभा गर्ने निर्णय गरेको छ । जस अनुसार चितवनमा पनि सभा हुँदैछ ।

प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जनसभा गर्न लागिएको एमाले चितवनका अध्यक्ष कमल राज पाठकले जानकारी दिए । कार्यक्रममा र्याली र सभा हुने छ ।

अध्यक्ष पाठकका अनुसार भोलि दिउँसो १२ः३० बजे लायन्सचोकबाट र्याली सुरु हुनेछ । लायन्स चोक हुँदै र्याली शहिद चोक, मिलन रोड, लिला चोक हुँदै पोखरा बसपार्कमा पुगि कोण सभामा परिणत हुनेछ । सभामा प्रमुख वक्ताका रुपमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले संवोधन गर्नेछन् ।

र्यालीका क्रममा विभिन्न नारा लगाइने तय भएको छ । नेकपा (एमाले) जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, हत्या, हिंसा, आतंक बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर, शान्ति सुरक्षाको प्रत्याभूति गर, भदौ २३ र २४ गतेको अपराधिक घटनाको निष्पक्ष छानबिन गर, सामाजिक सद्भाव कायम गरौं, संविधानको रक्षा गर, कानुनी राज्यको प्रत्याभूति गर, वीर सहिद अमर रहुन्, प्रतिनिधि सभा पुनः स्थापना गर लगायतका नारा र्यालाीका क्रममा लगाइने छ ।

जनसभाको व्यापक तयारी भइरहेको अध्यक्ष पाठकले जानकारी दिए । उनले जिल्ला जनसभामा सहभागि हुन नेता कार्यकर्तासहित आम जनसमुदायलाई आह्वान गरेका छन् । उनले भने, ‘जन सभामा सहभागि हुन एमालेको कार्यकर्ता तथा एमाले समर्थक नै हुनुपर्छ भन्ने छैन, जो कोही पनि आउनुहोला, एमालेले के भन्दैछ सुन्नुहोला । अनि आफ्नो धारणा बनाउन तपाईं स्वतन्त्र हुनुहुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *