Blog

  • चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण: शतबीज छर्न आउनेलाई समस्या

    चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण: शतबीज छर्न आउनेलाई समस्या

    चितवन, मंसिर १-
    पवित्र तीर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको तयारी अन्तिम चरणमा पुगेको छ । नवलपुर, तनहुँ र चितवनमा पर्ने कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हजारौँ भक्तजन शतबीज छर्न आउने गरेका छन् ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटमा यही मङ्सिर २ गतेदेखि नै भक्तजनहरु आउने भएकाले सोहीअनुसारको तयारी गरिएको बताए। बालाचतुर्दशीको अवसरमा अघिल्लो दिन ९मङ्सिर २ गते०आएर रातभर बत्ती बाल्ने तथा भोलिपल्ट बिहानै स्नान गरी सतबिज छर्न प्रचलन रहेको उनको भनाइ छ ।

    “देवघाटतर्फ चार स्थानमा हाइमास्ट बत्ती राखेका छौँ, तनहुँतर्फ सडक बत्ती बाल्नेगरी पोल ठड्याएका छौँ” उनले भने, “देवघाटको बेनी सङ्गममासमेत उज्यालो हुने गरी बालाचतुर्दशीका लागि पाँच बत्ती जडान गर्दैछौँ ।”

    देवघाटको समग्र सुरक्षा व्यवस्थालाई मजबुत पार्न स्थानीय प्रशासन र प्रहरीसँग छलफल गरिसकेको बरालको भनाइ छ । “शतबीज छर्न आउने भक्तजनलाई सुरक्षित महसुस गर्न पर्याप्त सुरक्षाकर्मी परिचालन हुने आश्वासन पाएका छौँ” उनले भने, “स्नानघाटसमेत हुनसक्ने दुर्घटनालाई मध्यनगर गर्दै दुईवटा र्‍याफ्टिङ बोट तयारी अवस्थामा राखेका छौँ ।”

    तीर्थयात्रीको सुरक्षालाई ध्यान दिएर बेनी सङ्गममा मागन्तेहरुलाई बस्न नदिनेगरी तनहुँको प्रहरीसँग छलफल गरिएको कार्यकारी निर्देशक बरालले बताए। देवघाटको बेनी सङ्गममा जानका लागि पैदल, सवारीसाधन तथा जलमार्गबाटसमेत पुग्न सकिन्छ ।

    देवघाटको बेनी सङ्गममा नवलपुरको गैँडाकोट हुँदै हर्दीकेलादी तथा चितवनको ठिमुरा र दासढुङ्गाबाट यातायातको साधनमासमेत जान सकिन्छ । त्यस्तै जलमार्ग हुँदै चितवनबाट त्रिशूली नदी एवम् नवलपुरबाट कालीगण्डकी नदीमा र्‍याफ्टिङबाट तरेरसमेत बेनी सङ्गममा पुग्ने सकिने अवस्था छ ।

    पैदल जाँदा भने चितवनको भरतपुर–१ देवघाटबाट झोलुङ्गे पुल तरेर जानुपर्ने हुन्छ । चितवन र तनहुँको देवघाटधामलाई जोड्न ४४ वर्ष अगाडि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएकाले २ गतेदेखि नै पुलमा मोटरसाइकल आवतजावत गर्न प्रतिबन्ध लगाइने कार्यकारी निर्देशक बरालले बताए ।

    “यो झोलुङ्गे पुल देशकै सबैभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने झोलुङ्गे पुल हो, पुल निकै पुरानो भएको हुँदा पुलका नटबोल्टुहरु हल्लिएका छन्” उनले भने, “पुल पुरानो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने भन्दै ललितपुरमा रहेको सस्पेन्सन ब्रिज तथा झोलुङ्गे पुल महाशाखामा ताकेता गरिरहेका छौँ, तर मर्मत भएको छैन ।”

    झोलुङ्गे पुलको कम प्रयोग गर्न तथा पुलको प्रयोग गर्नै परेमा पनि लामबद्ध भएर यात्रा गर्न बरालले तीर्थयात्रुसमक्ष अनुरोध गर्नुभयो । “एकैपटक धेरै यात्रुलाई पुलले नथेग्न सक्छ” उनले भने, “यसका लागि लाइन लागेर पुलबाट यात्रा गर्न अनुरोध गरेका छौँ ।” देवघाटमा त्रिशूली नदी र कालीगण्डकी नदी तर्नका लागि र्‍याफ्टिङ बोटकोसमेत व्यवस्था भएको भन्दै बरालले नदीमा एकतर्फि डुङ्गा गर्न रु ५० भाडा तोकिएको जानकारी दिए ।

    देवघाटधाममा सतबिज छर्न मङ्सिर २ गतेदेखि नै भक्तजन आउने भएकाले यहाँ सवारीसाधन व्यवस्थापन निकै कठिन रहेको बरालले बताए । “हामीले सकेसम्म भक्तजनको भिड कम हुने र सुरक्षित हुनेगरी स्नान गरेर फर्किने गरी व्यवस्था गरेका छौँ” बरालले भने, “ठूला सवारीसाधन चितवनतर्फ र नवलपुरतर्फ पार्किङ गर्ने व्यवस्था गरेका छौँ भने मोटरसाइकल क्षेत्र विकास समितिको कार्यालय अगाडिको चौरमा पार्किङ गर्ने व्यवस्था गरेका छौँ ।”

    तीर्थयात्रु लिएर तनहुँ पुगेका ठूला सवारीसाधनले टाउनचोकमा यात्रुहरु झारेर कालीगण्डकी नदीको पुल तरी नवलपुरको केलादीमा पुगेर पार्किङ गर्नुपर्ने बरालले बताए । गतवर्ष बालाचतुर्दशीमा सतबिज छर्न करिब एक लाख भक्तजन आएको उल्लेख गर्दै बरालले अहिले पनि त्यही सङ्ख्यामा आउने अनुमान गरिएको बताउनुभयो । देवघाटमा करिब २० हजार भक्तजनलाई रात बिताउनका लागि आश्रम तथा त्रिपालको व्यवस्था गरिएको भन्दै बरालले त्यो भन्दा बढी भक्तालु रात बिताउने गरी आएमा आफैले व्यवस्थापन गर्नुपर्ने जानकारी दिए।

    सतबिज छर्न चितवनको बाटो हुँदै जाँदा यात्रुहरुलाई सवारीसाधनको जाम तथा झोलुङ्गेपुलको असुरक्षित यात्रा गर्नभन्दा नवलपुरको बाटो भएर बेनी सङ्गम पुग्न गैँडाकोट नगरपालिकाले आग्रह गरेको छ । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो हुँदै केलादी पुग्न सकिने बताए।

    “नवलपुरबाट देवघाट पुग्न सहज र सुरक्षित छ, बाटोसमेत कालोपत्र गरिएकाले सहज तरिकाले देवघाट पुग्न सकिन्छ” उनले भने, “केलादीघाटमा सवारीसाधन रोकेर कालीगण्डकी नदीमा स्नान गर्न तथा सतबिज गर्न पनि सकिन्छ, बेनीमा जानका लागि पनि पैदल १० मिनेटमा पुगिन्छ ।”

    नवलपुर हुँदै यात्रु देवघाट जाँदा सहज हुने उनले बताए । नवलपुर तथा यस जिल्लाभन्दा पश्चिमतर्फका यात्रु चितवनतर्फ नगइ सिधैँ गैँडाकोटबाट देवघाट जाँदा सहज हुने तिवारीको भनाइ छ । रासस

  • ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र

    ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र

    काठमाडौं मंसिर,१
    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरुको भाषा परीक्षा आजदेखि सुरु हुँदै छ । पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् ।

    सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा सुरु गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरुको परीक्षा हुने छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।

    दक्षिण कोरिया जान रोस्टरमा रहेका युवाहरुले पहिला आफूहरूलाई कोरिया लैजानुपर्ने माग राख्दै परीक्षा नगर्न अनुरोध गर्दै आइरहेका थिए । यही बेला उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा सुरु गरिएको हो ।

    भाषा परीक्षा दुई महिनाभित्र सक्ने तयारी रहेको वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ ।

    दक्षिण कोरियाले १७ ईपीएस सदस्य देशहरुमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक लग्ने गरेको छ ।

  • आगामी २४ घण्टा देशभरको मौसम सफा रहने

    आगामी २४ घण्टा देशभरको मौसम सफा रहने

    काठमाडौँ १ मङ्सिर
    मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम स्थिति सार्वजनिक गरेको छ ।

    सोमबार बिहान ८ बजे सार्वजनिक बुलेटिनअनुसार देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम अधिकांश ठाउँमा सफा रहने जनाएको छ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

    आज राति भने देशभर मौसम पूर्ण रूपमा सफा रहने महाशाखाको पूर्वानुमान छ।

     

  • पूर्वसचिव अर्जुन कार्की पक्राउ

    पूर्वसचिव अर्जुन कार्की पक्राउ

    काठमाडौँ, ३० कात्तिक :
    नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल ट्रष्टका नाममा दर्ता भएको जग्गा भाडामा दिने सम्झौता गर्दा गैरकानुनी लाभ हासिल गरी मुलुकलाई नोक्सानी पु¥याएको अभियोगमा ट्रष्टका तत्कालीन सचिवसमेत रहेका कार्कीलाई आज पक्राउ गरेको हो ।

    ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीच भाडामा दिने र लिने करार सम्झौता गर्दा सूचनामा उल्लेख भएकाभन्दा बढी जग्गा दिएको पाइएकाले अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

    ब्यूरोका अनुसार कित्ताको जग्गाभन्दा बढी अर्को कित्तासमेत थप गरी भाडामा दिने र लिने सम्बन्धमा सञ्चालक समितिको निर्णय तथा आधारविना बदनियतपूर्वक सम्झौता गरिएको पाइएको छ । उक्त जग्गा विसं २०७४ जेठ १४ गते करार सम्झौता गरी भाडामा दिइएको थियो ।

    ब्यूरोले उक्त घटनाको अनुसन्धानका क्रममा गत कात्तिक २१ गते ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई समेत पक्राउ गरेको थियो ।

  • एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने

    एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने

    काठमाडौं, कात्तिक ३०-
    नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ। मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन चल्नेछ।

    पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन र बन्द सत्र हुनेछ।

  • ‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गएः बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

    ‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गएः बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

    म्याग्दी, कात्तिक ३०-
    यहाँ उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् ।

    अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग आउन थालेपछि कोदोको बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । “पहिलेपहिले कोदोखेती गर्ने र यसका परिकार उपभोग गर्नेलाई गरिब भनेर हेप्ने चलन थियो”, उहाँले भन्नुभयो, “स्वस्थकर र पोषिलो कोदोको महत्व बुझेपछि माग आउन थालेपछि मैले पनि बिस्कुट बनाएर बेच्न थालेको छु ।”

    यसअघि धवलागिरि गाउँपालिका–७ ताकममा धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदाको पीठो प्रशोधन गरी बिस्कुट उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ ।

    रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन र बजारमा बिक्री गर्न कोदोको बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । उद्यमी खड्काले गाउँबाट काम विशेषले बजारमा बसाइँसराइ गरेका, विदेशमा रहेका र भ्रमणमा आउने पाहुनाले कोदोको पीठो र बिस्कुट किनेर लैजाने गरेको बताउनुभयो ।

    कोदोको बिस्कुटको माग ग्रामीण क्षेत्रको तुलनामा बजारबाट बढी आउने गरेको व्यवसायी खड्काले बताउनुभयो । भुटेको कोदोको पीठोमा चिनी, मह, उखुको खुदो मिसाएर बिस्कुट बनाउने गरिएको छ । प्रतिदर्जन (१२ वटा) कोदोको बिस्कुट रु ६० का दरले बिक्री हुने गरेको छ ।

    पर्यटकीय जिल्ला मुस्ताङ र अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थलको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिकाको केन्द्र पोखरबेगरमा स्थानीय उत्पादनको कोसेलीघर सञ्चालन र कोदोको बिस्कुटका साथै पाउरोटी बनाउने तयारी गरेको उद्यमी खड्काले बताउनुभयो ।

    कोसेलीघर स्थापना र कोदोको बिस्कुट बनाउन आवश्यक पर्ने ‘ओभन’ गर्न कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा रु दुई लाख अनुदान सहयोग गरेको थियो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले परम्परागत बाली संरक्षण र प्रवर्द्धन कार्यक्रममार्फत कोदोलगायत खाद्य, दलहन बालीको खेती विस्तार, प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सहयोग गर्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको बताउनुभयो ।

    चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि म्याग्दीमा प्रदेश सरकारबाट रु १५ लाख बजेट विनियोजन भएको छ । कार्यक्रममार्फत उद्यमी तथा किसानले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् । केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ । समुद्री सतहदेखि तीन हजार १०० मिटर उचाइको भूगोलसम्म कोदोखेती गर्न सकिन्छ ।

    क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइने कोदोलाई बालबालिकादेखि ज्येष्ठ नागरिकका लागि उत्तम खानाका रूपमा लिइन्छ । गर्भवतीहरूका लागि पनि कोदो पोषिलो खाना हो । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने र झाडापखलाका रोगीका लागि कोदो अति राम्रो मानिने केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो ।

    कोदोको उपभोगले रगतमा बोसो र कोलस्टेरोलको मात्रा घटाउँछ । नेपालमा नसर्ने रोगबाट ग्रसित हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा कोदोको परिकार उपभोगका लागि माग बढेको ताकमका उद्यमी अनिल भण्डारीले बताउनुभयो । खेती घटेर संरक्षण गर्नुपर्ने अवस्थामा पुगेको कोदोको परिकारलाई विविधकरण र बजारीकरण गर्दा किसानलाई फाइदा पुग्ने र आयात घटाउन सहयोग पुग्ने उहाँको भनाइ छ । रासस

  • नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन

    नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन

    काठमाडौँ, कात्तिक ३०-
    जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न भएको छ ।

    गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घसंस्थाको सहकार्यमा जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ ९नेपाल हाउस० निर्माणका लागि नोभेम्बर ८ देखि सुरु भएको टोकियो सप्ताह सम्पन्न भएको हो ।

    जापानको टोकियोस्थित शिन्ज्युकुमा आयोजित सप्ताहमा वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेल र बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले कथा वाचन गर्नुभएको थियो । एनआरएनए जापानका अध्यक्ष सुभास लामिछानेले जापानमा आठ दिनसम्म चलेको सप्ताहमा झण्डै रु ११ करोड नगद सङ्कलन भएको जानकारी दिनुभयो । हालसम्म रु १० करोड ५० लाख नगद सङ्कलन भइसकेको र बाकसमा दान गरेको भेटीलाई गन्ने काम भइरहेको उहाँको भनाइ छ ।

    जापानमा रहेका नेपालीबीचको एकता, भाइचारा र एक अर्का पुस्ताबीचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउनका लागि निर्माण गर्न लागिएको ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित सप्ताहमा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको अध्यक्ष लामिछानेले बताउनुभयो ।

    जापानमा बन्न लागेको नेपाल हाउसभित्र नेपालको संस्कृति झल्काउने घर, विभिन्न जातजातिको संस्कृति तथा वेषभूषा, पशुपतिनाथ, बौद्ध, स्वयम्भूलगायत मन्दिर, नेपालका परम्परागत कृषि औजारहरु, विवाह ब्रतबन्ध गर्न मिल्ने ठाउँहरु निर्माण हुनेछन् । आठ दिनसम्म सञ्चालन भएको सप्ताहमा जापानमा रहेका झण्डै २५ हजार नेपालीको सहभागिता रहेको अध्यक्ष लामिछानेले बताउनुभयो । एनआरएनए जापानका पूर्वअध्यक्ष नवीन निउरेले जापानमा एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र निर्माणका लागि टोकियोको चिवा केनमा यसअघि नै जमिन खरिद भइसकेको जानकारी दिनुभयो । रासस

  • सहिद बोहराकी आमा भन्नुहुन्छ– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्

    सहिद बोहराकी आमा भन्नुहुन्छ– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्

    महेन्द्रनगर, कात्तिक ३०-
    गत भदौ २३ गते साँझ बझाङ खप्तडछान्ना गाउँपालिका–७ गोरखालीकी कैलीदेवी बोहरा भारतको बैङ्ग्लोरस्थित साहुको घरको काममा व्यस्त हुनुहुन्थ्यो । साँझपख बझाङका आफन्तले खबर पुर्‍याए, “तिम्रो छोरा अब यस संसारमा रहेन ।”

    सन्तानलाई राम्रो शिक्षादिक्षा दिन सकूँ भनी बैङ्ग्लोरमा मजदुरी गर्दै आउनुभएकी उहाँलाई संसार सकिएजस्तो भयो । मुटु फुट्ला जस्तो भयो, श्वास कसैले चुँडेर लगेजस्तै भयो ।
    बोहराका जेठो छोरा सुभासको सोही दिन दिउँसो जेनजी आन्दोलनका क्रममा काठमाडौँमा गोली प्रहारबाट मृत्यु भएको थियो । जीवनको भरोसाका रुपमा रहेको छोरालाई गुमाउनुपर्दाको पीडा कैलीदेवीको मनले थाम्नसक्ने अवस्था रहेन ।

    “अघिल्लो दिन भदौ २२ गते साँझ छोरासित दसैँमा घर जाने विषयमा भलाकुसारी भएको थियो, २३ गते काम सकेर कुराकानी गर्ने सुरसार गर्दै थिएँ, छोराको मृत्युको खबर आयो”, कैलीदेवीले सुनाउनुभयो ।

    कैलीदेवी करिब १० महिनाअघि मजदुरी गर्नका लागि बैङ्ग्लोर पुग्नुभएको थियो । छोराको मृत्युपछि बैङ्ग्लोरमा रहेका आफन्तले पैसा जुटाएर विमानमार्फत काठमाडौँ पठाएको उहाँले बताउनुभयो । अहिले उहाँ कान्छो छोरा सन्दीपसँग काठमाडौँ सिनामङ्गलमा रहेको डेरामा दिन कटाइरहनुभएको छ । “छोरा गुमाएपछि के गर्ने भन्ने सोच्नै सकेकी छैन, बाँकी दिन कसरी कटाउने हो टुङ्गो छैन”, उहाँले सुनाउनुभयो, “सुभास विदेश गएर परिवार पाल्छु भन्थ्यो, आफैँ अस्तायो ।”

    सुभासले सहादत प्राप्त गरेपछि कैलीदेवीले धनगढीमा कक्षा–९ मा पढिरहेको छोरा सन्दीपलाई लिएर काठमाडौँ जानुभएको थियो । अहिले सन्दीपलाई एक जना म्याडमले तीनकुनेमा रहेको एउटा स्कुलमा तीन वर्षसम्म पढाइदिन्छु भन्नुभएको छ । “छोरा पढाउने जिम्मा एक जना म्याडमले लिनुभएको छ, बाँकी अहिलेसम्म सञ्चो विसञ्चोसम्म सोध्न कोही आएको छैन”, उहाँले भन्नुभयो, “हामी आमाछोरा टुहुरा जस्तै भएर बसेका छौँ ।”

    काठमाडौँमा बस्न सुरु गरेपछि पैसाको अभाव बढ्दै गएको छ । डेरा भाडा मासिक रु छ हजार छ, त्यसको जोहो कसरी हुन्छ भन्ने पनि थाहा छैन ।

    कैलीदेवीको जीवनमा आइपरेको दुःख यो नयाँ होइन, गत वर्ष श्रीमान् बेपत्ता भएपछि नै सुरु भएको हो । उहाँका श्रीमान् दीपक बोहरा भारतको बैङ्ग्लोरमा मजदुरी गर्नुहुन्थ्यो । एक वर्षअघि घर आएका दीपक बझाङबाट धनगढी झरेका थिए । त्यसपछि परिवारसँग सम्पर्क छैन । श्रीमान् हराएपछि उहाँ आफैँ मजदुरी गर्न बैङ्ग्लोर पुग्नुभएको थियो ।

    “दश महिना बैङ्ग्लोरकमा घरघरमा पुगेर भाडामाझे, महिनामा २० हजार रुपैयाँ जति कमाइ हुन्थ्यो, दसैँमा घर जान कान्छो छोरालाई रु १० हजार पठाएकी थिएँ, सुभासले केही दिनपछि पठाए पनि हुन्छ भनेको थियो”, उहाँले भन्नुभयो । पहिले श्रीमान् र अहिले छोराले छाडेर गएपछि कैलीदेवीको परिवारमा आमा छोरामात्रै हुनुहुन्छ ।

    आम्दानी नभएपछि परिवारमा आर्थिक सङ्कट चुलिन थालेको छ । अहिले उहाँ काठमाडौँमा छोरासँगै बस्नका लागि आयस्रोतको बाटो खोज्दै हुनुहुन्छ ।
    भीमराज सहिद बन्दा व्यवसाय चौपट
    जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौँको कालीमाटीमा गोली लागेर बझाङ दुर्गाथली गाउँपालिका–१ का २८ वर्षीय भीमराज धामीले सहादत प्राप्त गर्नुभयो ।
    छ वर्षदेखि कीर्तिपुरमा गाईफार्म र डेरी सञ्चालन गर्दै आउनुभएका धामी आठ दाजुभाइमध्येका कान्छा हुन् । सहिद धामीका दाजु दुर्गाथली गाउँपालिका–१ का वडाध्यक्ष अम्मरराज धामीले भाइको निधनपछि परिवारमा पहिरो गएको बताउहुन्छ ।

    “तीन महिनाको दूधे बालक छोडेर भाइ भीम सदाका लागि कालीमाटीमा अस्तायो”, वडाध्यक्ष धामीले भन्नुभयो, “कोरिया जाने योजनामा काठमाडौँ गएको थियो, जाने निश्चित नभएपछि कीर्तिपुरमा व्यवसाय सञ्चालन गरिएको थियो ।”

    भीमराजले सञ्चालन गरेको गाईफार्म र डेरी चलाउन अहिले सकस भइरहेको छ । “करिब रु ५० लाख व्यवसायमा लगाएको थिएँ, घटनापछि सबै चौपट भयो, यता परिवारको विचल्ली उता व्यवसाय सञ्चालनमा समस्या भयो”, उहाँले भन्नुभयो र
    भाइलाई सरकारले सहिद घोषणा गरेर क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाएको बताउनुभयो । सरकारले जेनजी आन्दोलनका क्रममा सहिद बनेका मृतकका परिवारलाई रु १० लाख दिने घोषणा गरेको छ । रासस

  • जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य

    जेनजी आन्दोलनका सहिदः छोरीलाई डाक्टर बनाउने सपना जेनजी आन्दोलनसँगै अन्त्य

    गाईघाट (उदयपुर), कात्तिक ३०-
    सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँका लागि छाडेर जानुपर्ने हुन्छ । जीवनमा कसको लेखान्तर कस्तो हुन्छ भन्ने कसैलाई थाहा छैन ।

    उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–३ बसाहास्थित आमसालमा जन्मी हुर्किएर कान्छी छोरीलाई डाक्टर बनाउने सपनासहित काठमाडाँैको कपनमा मजदुर काम गर्दै आएका सारकुमार राईको कान्छी छोरीलाई डाक्टर बनाउने सपना पनि गत भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर ढलेपछि सदाका लागि राईको सपना अन्त्य भएको छ । जीवनमा आफूले ठूलो प्रगति गर्न नसके पनि सन्तानलाई ठूलो मान्छे बनाउने उत्कट चाहना हरेक बाबुआमालाई हुने गर्दछ तर सबैका चाहना पूरा हुन सक्दैनन् । यही अधुरो चाहनामै जीवन गुमाउनुप¥यो सारकुमारले पनि ।

    विसं २०५६ देखि २०५८ सम्म सर्लाही र चितवनतिर रोजगारी गर्दै हिँडेको स्व राईले २०५८ सालमा सर्लाही बरहथवाकी सुनिता मगरसँग भेट भएपछि दुवैको प्रेम विवाह भएको स्व राईका श्रीमती सुनिता बताउनुहुन्छ । दुवैको जेठी छोरीका रुपमा २०६३ सालमा ठूली छोरी अनुसाको जन्म भएको र २०६८ सालमा कान्छी छोरी आकृतिको जन्म भएको स्व राईका श्रीमती सुनिता बताउनुहुन्छ । दुवै छोरीको जन्म भए पनि दुःख र बेरोजगारीका कारण ठूली छोरीलाई कक्षा ८ भन्दाबढी पढाउन नसकिएको पनि सुनिता बताउनुहुन्छ ।

    सानैदेखि कान्छी छोरीको पढाइ राम्रो रहेका कारण पनि चितवनमा रोजगार गर्दै आएका सारकुमार राईले आफू काठमाडौँमा गएर रोजगारी गरेर भए पनि कान्छी छोरीलाई डाक्टर बनाउने भन्दै चितवनबाट काठमाडौँको कपनमा गएर घर रङरोगन गर्ने मजदुर काम गर्दै आउनुभएको थियो । गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा काम छाडेर जेनजी मजदुरहरुसहित सडकमा हिँडिरहेका राईलाई देब्रेपट्टिको कञ्चटबाट गोली लागेपछि दाँहिने त्यहीँ ढल्नुभयो ।

    त्यस दिनको घटना स्मरण गर्दै सुनिता भन्नुहुन्छ, “तत्काल उहाँलाई फोन गरेँ उठेन, तर रातको ९ः०० बजे उहाँकै साथीले मलाई फोन गरेर दाई त गोली लागेर अस्पतालमा गम्भीर बिरामी हुनुहुन्छ भनेपछि म त बेहोस भएछु ।” जीवनमा यस्तो घटना सुन्नुपर्ला भन्ने उहाँले कहिल्यै सोच्नु भएको थिएन । दुई दिनपछि चितवनबाट काठमाडौँ पुग्दा श्रीमान्को मृत्यु भइसकेको थियो ।

    सुनिताका अनुसार श्रीमान्को मृत्युपश्चात् आफू उदयपुरको चौनपा–३ बसाहा फर्केर आएको र त्यसको १० दिनपछि श्रीमान्को शवलाई घरमा सेनाले काठमाडौँबाट ल्याइदिएका कारण घरको आफैँ कर्ता भएर किराँती राईको अन्तिम संस्कार गराउनुभयो । कान्छी छोरी र आफू किरिया पुत्री बसेर काजकिरियासमेत सम्पन्न गरेको श्रीमती राई बताउनुहुन्छ ।

    स्व सारकुमार राईको दिदी कुमारी राईका अनुसार सारकुमार राईको घरपरिवारमा पाँच दाजुभाईमध्ये सारकुमार साइला छोरा रहेको र उहाँले गाउँको स्कुलमा सामान्य ६ कक्षासम्म मात्र अध्ययन गरेका थिए । विसं २०७२ मा आमा नेपी मायाको निधन भएको र २०८० सालमा बुबा गजब सिं राईको निधन भएको स्व राईका दिदी कुमारी बताउनुहुन्छ ।

    स्व राई सात वर्षदेखि काठमाडाँैको कपन क्षेत्रमा घरको रङ्गरोग गर्ने मजदुरका रुपमा काम गर्दै आउनुभएको थियो भने श्रीमती सुनिता चितवन भरतपुर महानगरपालिका–११ स्थित मनशिला बोर्डिङ स्कुलको होस्टेलमा काम गर्ने गर्नुहुन्छ । उहाँले सोही स्कुलमा कान्छी छोरी आकृतिलाई पढाउँदै आउनु भएको छ । अहिले उनी कक्षा १० मा अध्ययनरत छिन् । सुनिताका अनुसार ठूली छोरी अनुसालाई पढाउन नसकिएका कारण हाल भारतको हिमाञ्चल प्रदेशमा आफ्ना दिदीसँग बस्दै आएकी छिन् । श्रीमती सुनीता श्रीमान्बारे यसो भन्नुहुन्छ, “चौदण्डीको बसाहामा सबै दाजुभाइको संयुक्त १५ कट्ठा सुक्खा बारी जग्गा रहेको र एउटा काठको घरसमेत रहेकामा हाल दाजुहरु र उहाँहरुको परिवारहरु बस्दै आएका छन् ।”

    सुनिताका अनुसार श्रीमान्ले मजदुर गरेर नै बसाहामा एउटा घर पनि बनाउने र कान्छी छोरीलाई पनि डाक्टर पढाउने अठोट गरेर चितवनबाट आफूसहित छोरीलाई यहाँ राखेर काठमाडौँ जानुभएको थियो । छोरीलाई डाक्टर पढाउनका लागि धेरै खर्च लाग्ने भनेर केही खर्च पनि जुटाउँदै कृषि विकास बैंकमा जम्मा गर्ने गरेको सुनिता बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “श्रीमान् काठमाडौँमा हुँदा दुई–तीन महिनामा एकपटक भेट्न चितवन आइरहनुहुन्थ्यो, हिजोआज त म एक्लै छु तर छोरीलाई हेरेर मन बुझाएर बसेकी छु ।”

    छोरी डाक्टर पढ्न थालेपछि मात्र श्रीमतीसहित बसाहा गएर घर बनाउने र बस्न भन्दै काठमाडौँबाट घर फर्कने अठोट लिएर काठमाडौँ कपनमा मजदुरी गर्दै आएका सारकुमार भदौ २३ को जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुग्नुभयो । श्रीमान्को अधुरो सपना आफूले पूरा गर्ने भन्दै श्रीमती सुनिता भन्नुहुन्छ, “श्रीमान्ले अधुरो छाडेर गएको सपना छोरीलाई डाक्टर बनाउने सपना मैले पूरा गर्ने अठोट लिएकी छु ।”

    सारकुमारलाई जेनजी सहिद घोषणा गरेपछि सरकारबाट सहयोग भएको रु १५ लाखमध्ये पाँच लाख श्रीमान्को काजकिरियामा खर्च भएको र र बाँकी १० लाख कृषि विकास बैंकमा जम्मा गरेर राखेको उहाँको भनाइ छ । श्रीमान्ले मजदुर गरेर कमाएको केही रकम पनि बैंकमा रहेको र पछि सोही खर्चबाट र सरकारले केही सहयोग गरे आफूले घर नबनाएर भए पनि छोरीलाई डाक्टर बनाएरै छाड्ने सुनिताको अठोट रहेको छ ।

    स्व सारकुमारका छिमेकी चौनपा–३ बसाहाका रामबहादुर राईका अनुसार सारकुमार सानैदेखि सोझो र इमानदार र परिश्रमी रहेका थिए । घरमा धेरै भाइछोराहरु रहेको र आर्थिक कमजोर भएका कारण गाउँमा ६ कक्षासम्म मात्र अध्ययन गर्नुभएका सारकुमार मजदुरी गर्नकै लागि सर्लाहीबाट चितवन हुँदै काठमाडाँैको कपनमा काम गर्दै आउनुभएको थियो ।

    आफू दुःखले पढ्न नपाए पनि कान्छी छोरीलाई डाक्टर बनाउने सपना बोकेका राईको गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा गोली लागेर सहिद हुन पुगेपछि उनको सपना अधुरै अन्त्य भएको बसाहा आमसालका कृपाराज राईले बताउनुहुन्छ । उदयपुर बेलका नगरपालिका–४ का सन्तोष विक पनि जेजनी आन्दोलनका क्रममा राईसँगै गोली लागेर सहिद हुनुभएको छ । रासस

  • चितवन फोटोग्राफी सङ्घको ४६औ स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजित विभिन्न कार्यक्रमहरू सम्पन्न ।

    चितवन फोटोग्राफी सङ्घको ४६औ स्थापना दिवसको पूर्व सन्ध्यामा आयोजित विभिन्न कार्यक्रमहरू सम्पन्न ।

    कार्तिक ३०, चितवन-
    चितवन फोटोग्राफी सङ्घको ४६ औं स्थापना दिवसको पावन अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।हिजाे भएको सो कार्यक्रममा संस्थाको कार्यालय लायन्सचोक देखि चाैविसकोटीसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो।

    जुन कार्यक्रममा चितवन फोटोग्राफी सङ्घका १५० जना भन्दा बढी फोटोग्राफरहरूले को प्रत्यक्ष सहभागिता रहेको थियो।सस्थाका सस्थापक काेषाध्यक्ष गाेविन्द कडेलले रिवन काटेर उद्घाटन गरेका थिए । प्रभात फेरि चाैविसकोटी मा भएकाे रक्तदान कार्यक्रममा अाएर विसर्जन गरेकाे थियाे ।

    चितवन जिल्लामा देखिएको रक्त अभावको पदपूर्ति गर्न खुल्ला रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक कृष्णप्रसाद सापकोटाले जानकारि दिएका छन । उक्त कार्यक्रममा २९ जना पुरुष सहित ६ जना महिलाले रक्तदान गरेका छन्। पहिलोचोटि रक्तदान गर्नेहरूको सङ्ख्या ४ जना रहेको थियाे , उनिहरूलाई रक्त सकलन हुने व्याग कार्यक्रम का प्रमुख अतिथि भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारिले दिएर कार्यक्रम उद्घाटन गरिएकाे थियाे , ६०अाै पटक रक्तदान गर्ने संस्थाका पूर्व कार्यसमिति सदस्य प्रकाश घिमिरे रहेका छ।

    उपप्रमुख अधिकारीले फोटोग्राफी संघले मानवीय सेवाप्रति देखाउँदै आएको तत्परता, सामाजिक जिम्मेवारी र कला–संस्कृतिप्रतिको योगदानको प्रशंसा गरे। चितवनका फोटोग्राफरहरूको कला र व्यावसायिकता उच्च स्तरको रहेको उल्लेख गर्दै उनले फोटोग्राफरहरूको एकताले चितवनलाई अझ सशक्त बनाउने बताए।उनले संघले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको उल्लेख गर्दै संघका लागि भवन निर्माण गर्न खाली जग्गा पहिचान गरी प्रस्ताव लिएर आउन आग्रह गरे। “भवन बनाउन मिल्ने खाली जग्गा पहिचान गरेर वडा मार्फत प्रस्ताव ल्याउनुहोस्, महानगर सहयोग गर्न तयार छ,” उनले भने।

    हिजै ट्राफिक सचेतना कार्यक्रम पनि सम्पन्न भएको छ। ट्राफिक व्यवस्थापन सम्बन्धी विभिन्न स्टिकरहरू सवारि साधनमा टासि, पर्चा सामाग्रिहरू चितवन जिल्ला ट्राफिक निरिक्षकलाई प्रदान गरिएकाे कार्यक्रम सयाेजक सापकाेटाले जानकारि दिए ।

    उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूमा पूर्व अध्यक्ष चन्द्रकान्त ओझा, पूर्व अध्यक्ष एवं नेपाल फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कडेल, निवर्तमान अध्यक्ष ध्रुव सापकोटा, सरक्षक कमलनारायण श्रेष्ठ, सस्थापक काेषाध्यक्ष गाेविन्द कडेल,चितवन जिल्ला ट्राफिक निरीक्षक अनिल थापा, वडा प्रहरी कार्यालय पुलचाेक प्रमुख, नेपाल फोटोपत्रकार का केन्दिय सचिव काेमलचन्द्र भगत रहेका थिए, अतिथिहरूमा सस्थाका सल्लाहकार सदस्य ईश्वरि घिमिरे, नेपाल फोटोग्राफर सङ्घका केन्द्रीय सदस्य विपिन खतिवडा, चितवन मिडिया एडका अध्यक्ष गुणराज दाहाल रहेका थिए। स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले गरेका थिए भने कार्यक्रमकाे सहजिकरण चितवन जिल्ला फोटोग्राफर सङ्घका सचिव रमेश घिमिरेले गरेका थिए । उक्त कार्यक्रम सस्थाका अध्यक्ष हरिचन्द्र पन्तकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।