Blog

  • स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु

    स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु

    काठमाडौँ, २५ मङ्सिरः 
    उपत्यकाको ललितपुरस्थित युएन पार्क नजिक आज अपराह्न करिब ४ः०० बजेको समयमा एकै ठाउँमा पाँच वटा सवारीसाधन ठोक्किएर दुर्घटना भएको छ ।

    उक्त दुर्घटनामा रौतहट जिल्लाको गौर बस्ने ४५ वर्षका राजिव सिन्हाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बा ५१ प ९५६९ नम्बरको स्कुटरका चालक सिन्हाको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको होे ।

     

    स्कुटरसहित कुपण्डोलबाट आउँदै गरेको बा प्र ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यान, विपरीत दिशाबाट आउँदै गरेको बाप्र ०१–०२२ च ००६१ नम्बरको कार, बा २ ज ४७६० नम्बरको कार र बाप्र ०१–०२९ नम्बरको भ्यानसमेत ठोक्किन पुगेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • कांग्रेस सभापति देउवा डडेल्धुराबाट आठौं पटक उम्मेदवार सिफारिस

    कांग्रेस सभापति देउवा डडेल्धुराबाट आठौं पटक उम्मेदवार सिफारिस

    २४ मंसिर, काठमाडौं-
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्।

    सात पटक डडेल्धुराबाट चुनाव जितेका देउवा आठौं पटक उम्मेदवार हुन लागेका हुन्।

    देउवा २०४८ सालदेखिका चुनावमा डडेल्धुराबाट जित्दै आएका छन्।

    प्रतिनिधि सभा समानुपातिकतर्फ नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभातर्फ भीम साउद र रघु भट्टको नाम सिफारिस भएको छ।

  • जेनजी आन्दोलनमा साढे ८४ अर्ब बराबर क्षति, कति खर्च लाग्ला पुनर्निर्माण गर्न?

    जेनजी आन्दोलनमा साढे ८४ अर्ब बराबर क्षति, कति खर्च लाग्ला पुनर्निर्माण गर्न?

    २४ मंसिर, काठमाडौं-
    २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारी तथा निजी क्षेत्रमा गरी कुल ८४ अर्ब ४५ करोड रुपैयाँ बराबर क्षति भएको तथ्यांक सार्वजनिक भएको छ ।

    राष्ट्रिय योजना आयोगले बिहीबारको मन्त्रिपरिषद् बैठकमा जेनजी आन्दोलनको क्षति विवरण प्रस्तुत गरेको छ । विवरण अनुसार सरकारी/सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख बराबर क्षति भएको देखिएको छ ।

    त्यस्तै निजी क्षेत्रतर्फ ३३ अर्ब ५४ करोड ८७ लाख बराबर क्षति भएको सरकारको अध्ययनमा देखिएको हो । बाँकी सामुदायिक क्षेत्रको क्षति भएको योजना आयोगको अध्ययनमा छ ।

    आजको मन्त्रिपरिषद् बैठकमा आयोगका सचिव रविलाल पन्थले यस्तो विवरण प्रस्तुत गरेका हुन् । सरकारले आयोगको संयोजकत्वमा एक समिति बनाएर अध्ययन र पुनर्निर्माण योजनामा काम गरेको थियो ।

    समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो ।

    समितिका अनुसार जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो । यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन् ।

    प्रतिवेदनअनुसार भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कुल ७७ जनाको ज्यान गएको छ ।

    २ हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन् । १३ देखि २८ वर्षका १४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

    समग्र भौतिक क्षति हेर्दा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भएको समितिको मूल्यांकन छ । जसमध्ये प्रभावित निकाय/संस्था २१६८ छन् । २६७१ भवनहरुमा क्षति पुगेको छ । जसमा क्षतिको मूल्यांकन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ ।

    १२ हजार ६५९ वटा सवारी साधन क्षतिग्रस्त हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुन पुगेको छ । सरकारी/सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

    निजी क्षेत्रको क्षतिको मूल्यांकन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर छ । सामुदायिक तथा अन्य क्षेत्रको ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

    सरकारी क्षतिमा तीन तहमध्ये संघीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ । समितिले पुनर्निर्माण कार्ययोजना पनि पेस गरेको छ । पुनर्निर्माण गर्न ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

  • विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा

    विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा

    काठमाडौं, २५ मङ्सिरः
    काठमाडौंसिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो। उपाधि भिडन्त पर्सी शनिबार साढे तीन बजे हुनेछ।

    गत सिजन सुदूरपश्चिम उपविजेता बनेको थियो भने लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो।

    बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनी १३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट हुन पुग्यो।

    सामान्य लक्ष्य भए पनि विराटनगरले खराब सुरूवात गर्‍यो। उसले ६ बलको अन्तरमा सुरुवाती तीन ब्याटरलाई गुमायो।

  • चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर पुस १ गतेदेखि बाघ गणना गरिँदै

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर पुस १ गतेदेखि बाघ गणना गरिँदै

    चितवन, २५ मङ्सिरः
    अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

    तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइदै छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंम सेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदैछन् । करिब एक सय ५० जना तालिम लिएर गणनामा खटिने उहाँले बताउनुभयो ।

    पुस ३ गते तालिम लिएका गणनाका लागि कार्यक्षेत्रमा परिचालन हुनेछन् । मगरका अनुसार दुई निकुञ्जमा नौ सय ग्रिड बनाइएको छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने छ । गणनाका क्रममा दुई निकुञ्जलाई तीन भागमा बाँडेर गणना गरिने छ । हरेक भागमा २० दिन क्यामेरा राखिने छ । एक भागमा ३०० ग्रिड हुनेछन् । एउटा ग्रिडमा २० दिन एउटा क्यामेरा राखिने छ । ग्रिडहरुकोबीच भागपर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने छन् ।

    उनीहरुले भूगोल अनुसार आठदेखि बाह्र सम्मको ग्रिडमा राखिएको क्यामेरा दैनिक अनुगमन गर्ने उहाँले जानकारी दिनुभयो । ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ ।

    ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा व्लक हुने छन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुने छ । यो एउटै व्लक बनाइने छ ।

    यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारी छ । गतवर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो ।

    हरेक चार/चारवर्षमा गैँडा गणना गरिँदै आएको थियो । गतवर्ष गर्न नसकिएको गैँडा गणना यसवर्ष फरक विधिबाट गर्ने तयारी निकुञ्ज विभागको रहेको छ ।

  • एनपिएलः फाइनलमा पुग्न विराटनगरलाई १३५ रनको लक्ष्य

    एनपिएलः फाइनलमा पुग्न विराटनगरलाई १३५ रनको लक्ष्य

    काठमाडौँ, २५ मङ्सिरः 
    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङससामु जितका लागि एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनायो । लुम्बिनिका लागि डार्शी शर्टले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ४१ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४५ रनको योगदान दिएका हुन् ।

    त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३० बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । यस्तै निशोसन डिक्वेलाले २२ बलमा चार चौका प्रहार गर्दै २९ रन बनाए । रुबेल ट्रम्पलम्यानले अविजित  ११ रन जोडे ।

    बलिङतर्फ विराटनगरका सुवास भण्डारी र प्रशित जिसिले समान तीन÷तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

    यसअघि विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै लुम्बिनीले एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई पराजित गरेसँगै यी दुई टोलीको दोस्रो क्वालिफायरमा भेट भएको हो । लिग चरणमा भने लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको थियो । यसअघि भएको पहिलो क्वालिफायरमा सुदुरपश्चिमले विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ । सुदुरपश्चिम पहिलो संस्करणको उपविजेतासमेत हो ।

  • कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मृत भेटिए

    कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मृत भेटिए

    २५ मंसिर, काठमाडौं ।
    काठमाडौंको कोटेश्वरस्थित महादेवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बागमती नदी किनारमा मृत भेटिएका छन् ।

    मृत भेटिनेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ५२ वर्षीय बैजुहरि भट्टराई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

    उनी शंखमुलस्थित बागमती नदी किनारमा मृत भेटिएको प्रहरीले बताएको छ । मदिरा सेवन गरेको अवस्थामा सडकबाट बागमती किनारमा खसेर मृत भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

    उनी कोटेश्वरकै पञ्चशील सहकारीका ऋण अधिकृत समेत हुन् ।

  • सोलुमा हिउँले ढाकेका भाग घट्दै

    सोलुमा हिउँले ढाकेका भाग घट्दै

    सोलुखुम्बु,मंसिर २५ –
    दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हुन्थे । पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ ।

    “अर्कै युग सुरु भएको छ जस्तो लाग्छ,” खुम्बुका वृद्ध पासाङ शेर्पाले भन्नुभयोे, “बाल्यकालदेखि सेताम्य हिमाल मात्रै देख्थ्यौँ, तर अहिले त पहाडको आधा भाग कालो चट्टानजस्तो देखिन्छ, हेर्नुस् त हाम्रो आँखैअघि देखिएका यी हिमाल कहाँ हिमालजस्ता छन् र ? कति धेरै फरक भइसक्यो ।”

    दुई दशकअघिसम्म जिल्लाको माथिल्लो भाग नाम्चे, खुम्जुङ, तेङ्बोचे, लोबुचेदेखि गोरक्षेपसम्म हिउँले भरिएको देखिन्थ्यो । तर हालका वर्षमा हिउँ पर्ने समय छोटिएको मात्र होइन, पर्वतको सतहमा टाँसिएको हिउँका कण पनि तीव्रगतिमा पग्लिन थालेको स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो । विगतमा वर्ष भरी नै सेतो हिउँले ढपक्कै ढाकिने सगरमाथा, ल्होत्से, नुप्चे, आमादब्लम, थामसेर्कुजस्ता हिमाल अहिले कालो चट्टान र पर्वतका रङ्ग स्पष्ट देखिनु आजभोलिको सामान्य दृश्य जस्तै बनेको छ । सगमाथा क्षेत्र अवलोकनका लागि आउने पर्यटक उक्त अस्वभाविक दृष्य देखेर अच्चमित हुने गर्छन् भने स्थानीयलाई भने सोही दृष्य अब सामान्य जस्तै लाग्न थालेका छन् ।

    “भ्रमणकर्ताहरुको जिज्ञासापछि हामी पनि सोच्न बाध्य हुन्छौँ नत्र अब त हामीलाई सामान्य जस्तै लाग्न थालिसक्यो किन की यो प्रकृया तीव्रगतिमा बढिरहेको छ, सोधौँ हामीले कसलाई सोध्ने रु रोकौँ कसरी रोक्ने रु केही विकल्प नहुँदा हामी चुपचाप बस्न बाध्य छौँ ।” खुम्जुङका फुडोमा शेर्पाले भन्नुभयो । “पृथ्वी तातो हुँदा हिमालको हिउँ हरेक वर्ष पातलो हुँदै गएको हो,” सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्याय भन्नुहुन्छ्, “हिउँले ढाकेका भाग घट्दै गएका छन् ।

    हालका वर्षमा मौसमचक्र नै उल्टो भएको स्थानीयको बुझाइ छ । जोरसल्लेका पेमा शेर्पा भन्नुहुन्छ “पहिलेदेखि जाडो कडा हुन्थ्यो तर सहन सकिन्थ्यो । अहिले भने जाडोमा हड्डी नै कटकट दुख्ने गरी चिसो हुन्छ । गर्मीमा त झनै, हिमालकै काखमा बसेर पनि पसिना आउने गरी तातो हुन्छ ।

    उच्च हिमाली क्षेत्रमा सन् १९७० पछि तापक्रम करिब १।५ डिग्री सेल्सियसले बढेको बताइएको छ । तापमानले रेखा नाघेपछि हिमालको सतहमा जम्ने हिउँको मात्रा घट्ने, जमिसकेको हिउँ द्रुत पग्लने र पर्वतको चट्टानी भाग खुला देखिनु स्वाभाविक प्रक्रियाजस्तै बन्दै गएको वातावारणविद् राजन थापाको भनाइ छ ।

    उहाँ भन्नुहुन्छ, “हिमालमा कालो रङ देखिनु केवल हिउँ पग्लिनुको कारण होइन । विशेष कारणमध्ये हिमालबाट खसेको ठूलो चट्टान सतह, सुक्खा हिउँ पग्लेर बनेको चट्टानी पट्टी, वायुमण्डलबाट जम्मा हुने ब्ल्याक कार्बन र निकुञ्ज क्षेत्रमा बढ्दो मानवीय गतिविधि–मुख्यरूपमा उल्लेखनीय छन् ।”

    गत वर्षको साउन ३२ गते शुक्रबार दिउँसो थामेखोलामा आएको बाढीले खुम्बु क्षेत्रमा वितण्डा मच्चियो । स्थानीयहरू अझै पनि त्यो क्षण सम्झँदा डराउँछन् । यसले २० भन्दा बढी घरमा क्षति पु¥यायो । विद्यालय, स्वास्थ्यचौकीसहित सरकारी संरचनादेखि पर्यटक पदमार्ग तथा स्थानीयको घर खेत, कामचलाउ संरचना, पशुका गोठ, जलविद्यत आयोजनासमेत बगाएर लग्यो । थामेको बाढी तल झर्दै आइपुग्दा फाक्दिङ–नाम्चे जाने मुख्य पर्यटकीय पदमार्ग नै कटान गरियो ।

    खुम्बु क्षेत्रको पर्यटनलाई नेपालको सम्पूर्ण पर्यटन आयको मेरुदण्ड मानिन्छ । त्यही मेरुदण्ड जलवायु सङ्कटका कारण हरेक वर्ष कम्जोर हुँदै गएको छ । फेरिचे, इम्जा र खुम्बु क्षेत्रमा हिमतालको विस्तार तीव्र गतिमा बढेको छ । इम्जा ताल २० वर्षमा ६५ प्रतिशतले ठूलो भएको तथ्यले खुम्बु क्षेत्रमा जलवायु परिवर्तन कति तेज छ भन्ने स्पष्ट सङ्केत दिएको छ ।

    इम्जा, थामसेर्कु बेसिन, खुम्बु बेसिनजस्ता क्षेत्र अहिले उच्च जोखिम सूचीमा रहेका बताइएको छ । खुम्बुका पशी लामा भन्नुहुन्छ, “पहिला हामी हिमताल फुट्ने कथा सुन्थ्यौँ, अब त्यसैको डर लिएर दिन बित्छ । हिउँ पग्लिएर ताल ठूलो हुँदै गएपछि यहाँका गाउँ, पुल, बाटो, बस्ती सबै जोखिममा छन् ।”

    यहाँको पहिचान यहाँको जीवनशैली हिमालसँग गाँसिएको छ । पहिलादेखि सधैँ हिउँले भरिएको चिसो मौसममा गोठमा पशु राख्ने, पानी हिउँबाट पगालेर प्रयोग गर्ने, खेतीपाती तय गर्ने परम्परा पनि बदलिन थालेको छ । हिउँ कम परेपछि खोला नालामा पानी घटेको छ । दुधकोशी, इम्जा खोला, खोलाजस्ता स्रोत वर्षायामपछि मात्र बढ्छन्, तर हिउँ पग्लिने गति अनिश्चित भएकोले सुक्खा मौसममा पानी अभाव देखिन थालेको छ ।

    जलवायु परिवर्तनसँगै ट्रेकिङ मार्गमा पहिरो, हिउँपहिरो र चट्टान खस्ने जोखिम बढेको उहाँको तर्क छ । स्थानीय गाइड बल दर्नाल भन्नुहुन्छ, “पहिला जसरी योजना बनाइन्थ्यो, अहिले मौसम अनिश्चित भएकाले पर्यटकका लागि जोखिमको हिसाबले धेरै सावधानी आवश्यक हुन्छ ।” यहाँको पहिचान जोखिममा पर्न सक्ने आरोही स्पीडकाजी शेर्पाको चिन्ता छ । रासस

  • एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

    एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

    काठमाडौँ, मंसिर २५ –
    नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ ।

    बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता दिनभरि नै भरिभराउ देखिन्छन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले तीन–चार दिनदेखि पार्टी कार्यालयमा भिडभाड बढेको बताउनुभयो ।

    “बिहान ८ बजेदेखि पार्टी कार्यालयमा नेता र प्रतिनिधिको चहलपहल हुन्छ”, उहाँले भन्नुभयो, “काठमाडौँ आएका प्रतिनिधिले एकापसमा पार्टी नेतृत्वबारे छलफल र उम्मेदवारका विषयमा छलफल गर्ने गरेका छन् ।” उहाँले पार्टी कार्यालयमा महाधिवेशनमा अन्य कामसमेत भइरहेकाले देशभरिबाट आएका प्रतिनिधिले पार्टी कार्यालयको रौनक नै थपेको बताउनुभयो ।

    उहाँका अनुसार महाधिवेशनमा सहभागी हुने करिब ७५ प्रतिशतभन्दा बढी काठमाडौँ आइसक्नुभएको छ । महाधिवेशनमा करिब दुई हजार दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरस्थित सल्लाघारी र बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको तयारीको अन्तिम चरणमा पुगेको बताउनुभयो । एमालेले महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १३ समिति गठन गरेको छ । रासस

  • सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली

    सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली

    काठमाडौँ, मंसिर २५ –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति भएमा वा प्रतिनिधिले चुनेमा आफू पार्टीको अध्यक्षमा पुनः रहनसक्ने बताउनुभएको छ ।

    प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले यथास्थितिमा केही परिवर्तन दिने र नेतृत्वमा क्रमशः पुस्तान्तरण तथा हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कुनै पूर्वसर्त राखेर आफूले कुनै दबाबमा काम नगर्ने स्पष्ट गर्दै बाहिर प्रस्ताव दिनुभन्दा पार्टीभित्र बसेर सहमतिको पहल गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेतालाई आग्रह गर्नुभयो ।

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमाले लामो इतिहास भएको पार्टीका रूपमा रहेको बताउँदै यो जनचाहना अनुसार चल्ने पार्टी भएकाले यसले देश बनाउने मार्गमा आफूलाई सक्रिय बनाइरहेको उल्लेख गर्नुभयो । उहाँले एमालेलाई सिध्यायौँ भन्नेहरूले एमाले हैसियत हेर्न मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनको उद्घाटनसत्रमा आउन आग्रह गर्नुभयो ।

    अध्यक्ष ओलीले संसद् पुनःस्थापनालगायत राष्ट्रिय राजनीतिका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा संवाद भएको जनाउँदै उहाँले एमाले संसद् पुनःस्थापनाको पक्षमा रहेको बताउनुभयो । अदालतको फैसलालाई चित्त नबुझे पनि मान्दै आएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफूले बयान दिन जानुपर्ने कानुनी व्यवस्था नभएको जिकिर गर्नुभयो । एमालेको महाधिवेशन यही मङ्सिर २७ गतदेअि २९ गतेसम्म हुँदैछ । रासस