Blog

  • ‘म नभागेको भए के गर्नुहुन्थ्यो’ ? प्रधानमन्त्रीलाई ओलीको प्रश्न

    ‘म नभागेको भए के गर्नुहुन्थ्यो’ ? प्रधानमन्त्रीलाई ओलीको प्रश्न

    काठमाडौं ,मंसिर २५ –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू भागेको भनेर विभिन्न टिप्पणीहरू हुने गरेकोप्रति आपत्ति जनाएका छन् ।

    प्रेस चौतारी नेपालद्वारा आज आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा उनले यसो भनेका हुन् । साथै, उनले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गर्दै भनेका छन्, म ‘नभागेको भए के गर्नुहुन्थ्यो ?’

    आफू राजधानी वरपर नै कसैको घरमा बसेको र डेरा पाउनासाथ गुण्डुमा सरेको ओलीले बताएका छन् ।

    ‘मैले डेरा खोजेँ । पाएपछि सरेँ । डेरा नसर्दा म यहाँ छु भनेर डाँडाडाँडामा गएर माइक लगाउने कुरा त भएन नि,’ ओलीले भनेका छन्, ‘२ गते म गुण्डुमा आएँ । त्यहाँ फुत्त निस्किएँ त । यतै कतै आसपासमा रहेछु र त फुत्त निस्किएँ नि । एयरपोर्ट बन्द थियो के रे ।’

    उनले विमानस्थलमा गएर टिकट हेरे हुने पनि बताए । आफ्नो घरमा नहुँदा अर्काको डेरामा हुँदा धाक लगाएर असहज त पारिदिन भएन नि,’ ओलीले भने ।

    ‘नभाग्या भए के गर्थे त सुशीला जी वा अरुले ? के गर्नुहुन्थ्यो उहाँले ? हुन त भाषा सुनिएको छ, रेकर्डमा आएको छ । तर पनि उहाँहरूकै मुखबाट सुनौं न त ? जेनजी नेताहरू सुशीला कार्कीहरूलाई नै सोध्छु,’ ओलीले भने ।

  • चितवन सहितका राष्ट्रिय निकुञ्जमा पुस १ गतेदेखि बाघ गणना गरिँदै

    चितवन सहितका राष्ट्रिय निकुञ्जमा पुस १ गतेदेखि बाघ गणना गरिँदै

    चितवन, मंसिर २५ –
    अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यससँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

    तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइदै छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंम सेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदैछन् । करिब एक सय ५० जना तालिम लिएर गणनामा खटिने उहाँले बताउनुभयो ।

    पुस ३ गते तालिम लिएका गणनाका लागि कार्यक्षेत्रमा परिचालन हुनेछन् । मगरका अनुसार दुई निकुञ्जमा नौ सय ग्रिड बनाइएको छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने छ । गणनाका क्रममा दुई निकुञ्जलाई तीन भागमा बाँडेर गणना गरिने छ । हरेक भागमा २० दिन क्यामेरा राखिने छ । एक भागमा ३०० ग्रिड हुनेछन् । एउटा ग्रिडमा २० दिन एउटा क्यामेरा राखिने छ । ग्रिडहरुकोबीच भागपर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने छन् ।

    उनीहरुले भूगोल अनुसार आठदेखि बाह्र सम्मको ग्रिडमा राखिएको क्यामेरा दैनिक अनुगमन गर्ने उहाँले जानकारी दिनुभयो । ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दीया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा व्लक हुने छन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुने छ । यो एउटै व्लक बनाइने छ ।

    यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारी छ । गतवर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो ।

    हरेक चार÷चारवर्षमा गैँडा गणना गरिँदै आएको थियो । गतवर्ष गर्न नसकिएको गैँडा गणना यसवर्ष फरक विधिबाट गर्ने तयारी निकुञ्ज विभागको रहेको छ । रासस

  • नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

    नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ

    काठमाडौँ, मंसिर २५ –
    नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शङ्कास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई बुधबार साँझ पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले देशका विभिन्न भागबाट राजधानी काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

    प्रहरीले आज मात्र ४६ जनालाई नियन्त्रणमा लिएको छ । “सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कडा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो । प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने बताउनुभयो । रासस

  • गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

    गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

    भोजपुर, मंसिर २५ –
    गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् ।

    ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानीपिसानी विधि थियो । गाउँघरका बासिन्दाले कुटानी–पिसानीका लागि सहज, सस्तो र सरल विकल्पका रूपमा पानीघट्टालाई अपनाउने गर्थे । तर, अहिले पानीघट्टा चलाउने परम्परा हराउँदै गएको टेम्केमैयुङ–५ का वृद्ध बेनीबहादुर विष्ट बताउनुहुन्छ ।

    “अहिले पानीघट्टाको चलन हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “पहिला टोलभरिका मानिस कुटानीपिसानी गर्न पानीघट्टा आउने गर्थे, अहिले यो पुरानो चलन लोपहुँदै गएको छ ।” पानीघट्टामा कुटानीसिपानी गर्दा विद्युतीय तथा डिजेल, पेट्रोलबाट सञ्चालन हुने मिल भन्दा सस्तो पर्ने टेम्केमैयुङ–५ मा पानीघट्टा सञ्चालन गर्दै आउनुभएका हरिबहादुर लम्सालले बताउनुभयो ।

    पछिल्लो समय पानीघट्टा चलाउने प्रचलन लोपहुँदै गएको उहाँले बताउनुभयो । आफूले भने परम्परागत सामग्रीको संरक्षण गर्ने लक्ष्यले पानीघट्टा चलाउँदै आएको उहाँको भनाइ छ । “पानीघट्टामा पिसिएको अन्न स्वादिलो हुन्छ”, उहाँले भन्नुभयो, “आधुनिक प्रविधिको विकाससँगै यस्ता परम्परागत सामग्री हराउँदै गइरहेका छन्, मैले भने परम्परा जोगाउन निरन्तर चलाइरहेको छु ।” उहाँले पानी प्रशस्त भएको समयमा पानीघट्टाले दिनमा छदेखि आठ मुरीसम्म अन्न पिस्न सक्ने बताउनुभयो ।

    स्थानीयका अनुसार पानीघट्टाले पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुन्छ । प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहने उनीहरुको भनाइ छ । तर, पछिल्लो पुस्ताले यस्तो परम्परागत साधनप्रति कम चासो देखाउँदै आएको छन् । परम्परागत सीप र पहिचान जोगाउन पानीघट्टाको संरक्षण गर्न आवश्यक रहेको स्थानीयवासीले बताउने गरेका छन् । रासस

  • रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

    रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

    २५ मंसिर, काठमाडौं ।
    सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । स्थगित हुनुको कारण हेर्न नमिल्ने रहेको छ । आज रवि र छविको मुद्दाको पेसी ४ नम्बर इजलासमा तोकिएको थियो ।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासका सुचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधिशहरु सागर विष्ट र तेजनारायण पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको न्यायाधिस विष्टले हेर्न नमिल्ने भएपछि स्थगित भएको हो।

    आज ४ नम्बर इजलासको क्रम संख्या एकमा रहेको थियो । निवेदक र न्यायाधिश विष्टको चिनजानको ब्यक्ति भएका कारण मुद्दा हेर्न नमिल्नेमा परेको हो।

  • नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल

    नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल

    हनोइ (भियतनाम), मंसिर २५ –
    थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गर्नुभएको छ ।

    आज भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलका क्रममा उहाँले नेपाल र भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्र्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानी क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    “पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ चुनौती देखिएको छ, यस्तो अवस्थामा दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनेतर्फ ध्यान दिनु जरुरी छ”, उहाँले भन्नुभयो, “नेपालमा निर्यातजन्य उद्योगमा लगानीका लागि म भियतनामी लगानीकर्तालाई आग्रह गर्दछु ।” उहाँले दुवै देशबीच पर्यटनको क्षेत्रमा सम्भावना रहेको समेत उल्लेख गर्नुभयो ।

    नेपाल र भियतनाम सरकारबीचको आर्थिक सहकार्यमार्फत क्षेत्रीय तथा अन्तरराष्ट्रिय स्तरमा व्यापार गर्न सकिने पनि उहाँको भनाइ थियो । उहाँले नेपालमा उत्पादनमुलक उद्योग, आइसिटी, फार्मास्युटिकल्स तथा जडीबुटीलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउनुभयो । नेपाल सरकार भियतनामी लगानीकर्ताका लागि स्वागत गर्न तयार रहेको उल्लेख गर्दै उहाँले दुवै देशबीचको व्यापार तथा लगानीका लागि नेपाल सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गर्नुभयो । दुई देशबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै उहाँले अब दुई देशबीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबीच आर्थिक सहकार्यका लागि म भियतनामी लगानीकर्तालाई आग्रह गर्दछु, नेपालमा लगानीको ठूलो सम्भावना छ, यस अवसरलाई सदुपयोग गर्नका लागि हाम्रो प्रयास रहनेछ”, उहाँले भन्नुभयो ।

    नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसतर्फ पनि लगानी बढाउन सकिने उल्लेख गर्नुभयो । उहाँले दुई देशको अर्थतन्त्र एकापसमा पूरक बन्न सक्ने सम्भावना रहेको पनि बताउनुभयो ।

    नेपालमा भियतनामको कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको ठूलो बजार रहेको उहाँको भनाइ थियो । “नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानून पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनलगायतका क्षेत्रमा सुधार भएको छ, सरकार पनि विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ”, उहाँले भन्नुभयो ।

    नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी केबलकार, रिसोर्ट, साहसिक पर्यटन, वेलनेस सेन्टरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उहाँले भियतनामी लगानीकर्तालाई आफूहरु स्वागत गर्न चाहेको बताउनुभयो । अध्यक्ष ढकाललले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निम्तो दिनुभयो ।

    भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्र्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उहाँले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ”, उहाँले भन्नुभयो । रासस

  • सुनको भाउ १ हजार बढ्यो, चाँदी हालसम्मकै उच्च

    सुनको भाउ १ हजार बढ्यो, चाँदी हालसम्मकै उच्च

    २५ मंसिर, काठमाडौं ।
    बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ १ हजार रुपैयाँ बढेको जनाएको छ ।

    जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

    चाँदीले भने केही दिनयता नयाँ रेकर्ड बनाइरहेको छ । यसै क्रममा बिहीबार प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

    अघिल्लो दिनको तुलनामा आज ५५ रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन ३ हजार ७५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

  • दाङमा बस दुर्घटना, २२ यात्री घाइते

    दाङमा बस दुर्घटना, २२ यात्री घाइते

    दाङ, मंसिर २५-
    डडेल्धुराबाट काठमाडौँतर्फ गइरहेको ना८ख ७४५५ नम्बरको यात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुलमा दुर्घटना हुँदा २२ जना यात्री घाइते भएका छन् ।

    लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट खोलामा बस खसेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु¥याइएको छ । बसमा ३८ जना यात्री थिए । रासस

  • किसानलाई दूधमा दश रुपैयाँ अनुदान

    किसानलाई दूधमा दश रुपैयाँ अनुदान

    दमौली (तनहुँ), मंसिर २५-
    भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १० अनुदान दिने निर्णय गरेको छ ।

    दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।

    नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ ।

    नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर रु ११०, थोक बिक्री मूल्य प्रतिलिटर रु १२० र खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३० तोकिएको छ ।

    यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य रु ११५, थोक बिक्री मूल्य रु १३० र खुद्रा बिक्री मूल्य रु १४० निर्धारण भएको छ । रासस

  • बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल मंसिर २५गते । बिहीबार । इस्वी सन् २०२५ डिसेम्बर ११ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–सप्तमी, ३० घडी २३ पला, बेलुकी ६ बजेर ५५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मघा, ३ घडी ५६ पला, बिहान ८ बजेर २० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–विष्कुम्भ, २६ घडी ३१ पला, बेलुकी ५ बजेर २२ मिनेट उप्रान्त प्रिती । करण– भद्रा, बिहान ७ बजेर २ मिनेट उप्रान्त बव, बेलुकी ६ बजेर ५५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–सिंह ।

    काठमाडौमा सूर्योदय बिहान ६ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ७ मिनेट । दिनमान २५घडी ५५ पला ।

    हेर्नुस आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आकस्मिक धन सम्पत्ति लाभ हुने तथा चिट्ठा, उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्या र खेलकुदमा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । वित्तीय बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । तर पनि कृषि तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईँले सुरु गरेको काममा आफन्त तथा दाजुभाइहरूको सहयोग तथा समर्थन रहनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । विवादित विषय तपाईँ आफ्नै पक्षमा निर्णय हुनेछ । प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ । पढाइ लेखाइमा तथा खेलकुदमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धन स्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । अध्ययन वा खेलकुदमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । वित्तीय बजारमा लगानी गरी थोरै भए पनि नाफा कमाउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दैनिक खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । शेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गर्नुपर्ने समय रहेको छ । लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् । व्यापार तथा शेयर बजारबाट आम्दानी बढ्नेछ । परिवारका इच्छा, आकांक्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ । पैतृक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययन तथा खेलकुदमा प्रतिस्पर्धीहरूलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढोत्तरीको योग रहेको छ । व्यवसाय वा शेयर बजारमा लगानी बढाइँ मनग्गे धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले छोटो दुरीको यात्राको योग रहेको छ । सानो प्रयत्नले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अविश्वास हुनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । सानातिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेली माइती बिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत संगितमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रियजन भेट हुनुको साथै आतिथ्यपूर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । बैक तथा वित्तीय क्षेत्रमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।