Blog

  • हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड

    हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड

    काठमाडौँ, मङ्सिर २६-
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताउनुभयो ।

    राष्ट्रिय युवा परिषद्द्वारा आज आयोजित ‘सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद’ विषयक कार्यक्रममा मन्त्री खरेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौतामा जनआन्दोलनको मान्यता दिइसकिएकाले त्यस आन्दोलनलाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने बताउनुभएको हो ।

    “अबको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवाकै हो । युवाले केही गर्न सक्दैनन् भन्ने भ्रम जेनजी आन्दोलनले तोडिदिएको छ । उनीहरुले परिवर्तनका लागि बलिदान दिन सक्छन् भन्ने देखाएका छन्”, सरकारका प्रवक्ता खरेलले भन्नुभयो, “हरेक चरणका आन्दोलनमा युवाको भूमिका रहँदै आएको छ । युवाले चाहेमा २७ घण्टामा कायापलट हुन सक्छ भनेर प्रमाणित गरे तर यसपटक जेनजीहरु सरकारमा आउन चाहेनन् । त्यसकारण यो निःस्वार्थ आन्दोलन हो । उनीहरु आफू सत्तामा आउन चाहेनन्, सुशासन र रोजगारीको माग मात्रै गरे ।”

    उहाँले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद अपुरो हुने भन्दै युवा नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली राजनीतिमा अब युवाको दबदबा हुनेवाला भएको र त्यसलाई कसैले रोकेर नरोकिने भनाइ व्यक्त गर्नुभयो ।

    “अब हरेक राजनीतिक पार्टीले युवालाई नेतृत्वमा ल्याउन तयार नभई सुखै छैन । मुलुकका युवाको भविष्य राजनीतिमा उज्ज्वल छ ।”

    मन्त्री खरेलले निकट भविष्यमा हुने राजनीतिक दलको महाधिवेशनमा कति युवा आउँछन् रु आगामी फागुन २१ गते हुने चुनावमा कति प्रतिशत युवाले टिकट पाउँछन् रु भन्ने प्रश्नले ती दल कत्तिको युवामैत्री छन् भन्ने झल्कने बताउँदै उहाँले अब युवा कुनै वादको बन्धक नभई अधिकार लिने र देश बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । सञ्चार क्षेत्रले पनि यस आयामलाई बोक्न सक्नुपर्ने बताउँदै उहाँले मुलुक परिवर्तनको बाटोमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    राष्ट्रियसभाका सदस्य एवं जनसङ्ख्या एवं विकासका लागि संसदीय सञ्जालका महासचिव गङ्गाकुमारी बेलवसेले युवालाई समस्या नभई समाधान, ऊर्जा र नवप्रवर्तनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मनिता श्रेष्ठले शिक्षाका माध्यमबाट दक्ष जनशक्ति निर्माण आजको आवश्यकता भएको बताउनुभयो ।

    संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या विकास कोषका नेपाल प्रतिनिधि श्रीराम हरिदासले मिडिया, युवा र जवाफदेहिताबारेको संवादलाई निरन्तरता दिन अत्यावश्यक भएको बताउनुभयो ।

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनमा सञ्चार क्षेत्रमाथि पनि भौतिक प्रहार हुनुले मिडियामाथि पनि आक्रोस रहेछ भन्ने बुझेर सामग्रीमा पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभयो । रासस

  • जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते

    जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते

    तानसेन (पाल्पा) मङ्सिर२६ –
    पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।

    निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो । दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन ।

    दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताउनुभयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । रासस

  • चितवनको चुम्लिङटारमा तीन सवारी साधन आपसमा ठोक्किँदा ७ जना घाइते

    चितवनको चुम्लिङटारमा तीन सवारी साधन आपसमा ठोक्किँदा ७ जना घाइते

    मंसिर २६,चितवन ।
    चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित पृथ्वी राजमार्गमा तीन सवारी एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

    नारायणगढबाट काठमाडौँ तर्फ जाँदै गरेको बा.प्र. ०२–०२४ प ३६३८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट पछाडिबाट आइरहेको RJ 11 2881 नम्बरको भारतीय ट्रेलरले ठक्कर दिँदा, त्यसपछि काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको बा.५ ख. १०७७ नम्बरको माइक्रोबस समेत दुर्घटनामा परेको चितवन प्रहरीले जानकारी दिएको छ।

    दुर्घटनामा मोटरसाइकल चालक र माइक्रोमा सवार गरी ७ जना घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पताल कुरिनटारमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ ।

    घाइतेहरूमा मोटरसाइकल चालक काठमाडौँ तारकेश्वर–४ बस्ने २९ वर्षीय किशोर फैयाल अवस्था मध्यम रहेको छ । त्यस्तै, माइक्रोमा सवार गोर्खा पालुङटार–४ बस्ने ४१ वर्षीय नारायण न्यौपाने, सोही ठाँउमा बस्ने ३४ वर्षीय कोपिला न्यौपाने, गोर्खा सहिद लखन-८ बस्ने १८ वर्षीय सङ्गीता उमागाई, गोर्खा भीमसेन–४ बस्ने ३२ वर्षीय सविना शाक्य, गोर्खा सहिद लखन–२ बस्ने ३४ वर्षीय बालकृष्ण थापा र गोर्खा नागेश्वर–३ बस्ने ३९ वर्षीय उषा श्रेष्ठको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए ।

    दुर्घटनामा मोटरसाइकल र माइक्रो दुवैमा क्षति पुगेको भए पनि राजमार्ग अवरुद्ध भने नभएको प्रहरीले बताएको छ।

    भारतीय ट्रेलर, मोटरसाइकल, माइक्रो तथा चालकहरूलाई एरिया प्रहरी चौकी फिस्लिङले नियन्त्रणमा लिएको छ।

  • ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु

    ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु

    चन्द्रपुर (रौतहट),मंसिर २६ –
    पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ ।

    बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नंको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने वर्ष ७९ का भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभयो । कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो ।

    दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते हुनुभएको छ उहाँहरुको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिनुभयो । रासस

  • ‘अण्डा’को लागत मूल्य बढ्यो

    ‘अण्डा’को लागत मूल्य बढ्यो

    चितवन, मंसिर २६ –
    अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो ।

    लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क्षक डा अनन्त दाहालका अनुसार अहिले निकालिएको एउटा अण्डाको लागत मूल्य रु १९.१२ पर्न आउँछ । विगतमा लागत मूल्य रु १६.५६ रहेको थियो । तीन वर्ष अघि सरकारी र निजी क्षेत्रका भेटेरिनरियन चिकित्सकहरुले लागत मूल्य निकालेका थिए ।

    डा दाहालका अनुसार दश हजार लेयर्स कुखुरापालन गरी अण्डा उत्पादन गर्दा लाग्ने अण्डाको मूल्य निकालिएको हो । यस अनुसार चल्लाको मूल्य प्रतिगोटा रु १५० का दरले रु १५ लाख, तीन प्रकारका दाना, औषधि र भेक्सिन गरी रु तीन करोड ४८ लाख ८८ हजार ८०० खर्च निकालिएको छ । यसमा सुरुमा चल्लालाई खुवाउने एल वान दाना एउटा चल्लालाई दुई किलो, जसको मूल्य प्रतिकिलो रु ६८ राखिएको छ । हुर्काउलो कुखुराका लागि छ किलो (एल टु दाना), यसको सरदर मूल्य रु ६१ राखिएको छ । उन्नाइस हप्तादेखि ८० हप्तासम्मको अण्डा दिने समयका लागि ४८ किलो एलथ्री दाना एउटा कुखुराले खान्छ । जसको मूल्य रु ६०.५० पर्दछ । त्यस्तै औषधि र भेक्सिनको रु ११ लाख खर्च हुने उहाँले जानकारी दिनुभयो ।

    त्यसैगरी मजदुर, भेटेरिनरी चिकित्सक, व्यवस्थापक, विद्युत, धानको भुस, खोरको मर्मत, खोरमा त्रिपाल, चल्ला तातो बनाउने ग्यास, अण्डाको क्रेट र डिजेल गरी रु ६० लाख ५८ हजार ६९६ खर्च हुने दाहालले बताउनुभयो । जसमा मजदुर खर्च रु २५ लाख २० हजार, भेटेरिनरी चिकित्सक(आंशिक) को रु चार लाख ५० हजार, व्यवस्थापकको रु सात लाख २० हजार, विद्युत्को रु दुई लाख १३ हजार ९९६, धानको भुसको रु चार लाख, खोरको मर्मत रु तीन लाख ५० हजार, पाँच वटा खोरमा त्रिपाल राख्दा रु एक लाख ५० हजार, ग्यासको रु ४० हजार लागत निकालिएको छ । यस्तै अण्डाको क्रेटको रु आठ लाख ९६ हजार र डिजल एवं जेनेरेटर खर्च रु तीन लाख १९ हजार लागत निकालिएको उहाँले जानकारी दिनुभयो ।

    त्यसैगरी अण्डा ढुवानीको मजदुर खर्च रु छ लाख ३० हजार, ढुवानी सवारीको रु दुई लाख ५० हजार र खोरको ह्रासकट्टी रु १९ लाख ७२ हजार ५००, मजदुरको आवासको ह्रासकट्टी रु दुई लाख र बैंक व्याज रु ४९ लाख ५९ हजार ७५० लागत निकालिएको छ । यी सबैको एकमुष्ट रु ८० लाख १२ हजार २५० हुन आउँछ ।

    सम्पूर्ण खर्च जोड्दा १० हजार कुखुरापालन गरी अण्डा उत्पादन गर्दा रु चार करोड ९८ लाख ५९ हजार हुन आउँने उहाँको भनाइ छ । डा दाहालले भन्नुभयो, “१० हजार कुखुरापालन गरी अण्डा उत्पादनपछि बजारसम्म पु¥याउँदा लाग्ने सम्पूर्ण खर्चलाई जोडेर लागत मूल्य निकालेका हौँ ।” त्यसैको आधारमा प्रतिगोटा लागत मूल्य रु १९.१२ पर्न आएको उहाँको भनाइ छ । पालिएका सबै कुखुराले शतप्रतिशत अण्डा नदिने, अण्डा बजारसम्म पु¥याउँदा नोक्सान हुनेजस्ता विषयवस्तु समेतको अध्ययन गरी लागत मूल्य निर्धारण गरिएको उहाँले बताउनुभयो ।

    चल्ला राखेदेखि अण्डा दिई ८० हप्तासम्म पाल्दा दुई हजार कुखुरा मर्ने हुँदा आठ हजार कुखुराले २६ लाख ८८ हजार अण्डा पार्दछन् । जसको तीन प्रतिशत फुट्ने र बिक्री अयोग्य हुन्छ । दाहालका अनुसार जसबाट ८० हजार ६४० वटा अण्डा बिक्री गर्न अयोग्य हुन्छ । यसरी हेर्दा २६ लाख ७ हजार ३६० अण्डा बिक्री गर्न योग्य हुन्छन् ।

    यसैगरी आम्दानीतर्फ अण्डा दिन छाडेपछि आठ हजार कुखुरा रु २०० का दरले बिक्री गर्दा रु १६ लाख र ३०० बोरा मल रु २०० का दरले बिक्री गर्दा रु ६० हजार गरी कूल अन्य आम्दानी रु १६ लाख ६० हजार हुने उहाँको भनाइ छ ।

    अध्ययन समितिको संयोजकमा सोही विश्वविद्यालयका प्रा डा रेवन्तकुमार भट्टराई, प्रा डा सुविर सिंह,सहप्राध्यापक डा अनिलकुमार तिवारी र सदस्यसचिवमा उपप्राध्यापक डा अनन्त दाहाल रहनु भएको छ ।

    अध्ययन प्रतिवेदनमाथि सरोकारवालाहरुबीच अन्तक्र्रिया सम्पन्न भएको छ । मञ्चले आज एक विज्ञप्ति जारी गर्दै अध्ययन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी निर्णय गरेको जनाइएको छ । छलफलमा पन्छीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपाने, भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्र पौडेल, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष शङ्कर गिरी, चितवन उद्योग संघका उपाध्यक्ष गोपाल गैरे, चितवन चेम्बर अर्फ कमर्सका कोषाध्यक्ष प्रकाश श्रेष्ठलगायत पोल्ट्रीसँग सरोकार राख्ने सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

    नेपाल कुखुरा व्यवसायी मञ्चले अण्डाको लागत मूल्य निर्धारणका लागि गठित समितिले अण्डा उत्पादनका लागि लाग्ने विभिन्न खर्चहरुको विश्लेषण गरी वर्तमान अवस्थामा अण्डाको प्रतिगोटा उत्पान लागत रु १९.१२ कायम भएकाले उक्त लागत मूल्यलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । सो मूल्यलाई जिल्ला पशु सेवा कार्यालय हुँदै कृषि तथा पशुपछी विकास मन्त्रालय पठाई अनुमोदन गराउने निर्णय भएको सङ्घका अध्यक्ष रघुनाथ भट्टले बताउनुभयो । रासस

  • तोलामा ३ हजार ५ सय बढ्यो सुन, चाँदीमा दिनदिनै नयाँ रेकर्ड

    तोलामा ३ हजार ५ सय बढ्यो सुन, चाँदीमा दिनदिनै नयाँ रेकर्ड

    २६ मंसिर, काठमाडौं ।
    शुक्रबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ५३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    सुनको मूल्य यसअघिको उच्चतम रेकर्ड नजिक पुगेको छ । असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार पुगेको रेकर्ड छ ।

    चाँदीले भने केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको छ । शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।

    अघिल्लो दिनको तुलनामा चाँदी १०० रुपैयाँ बढेको हो । अघिल्लो दिन ३ हजार ८०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

  • मुग्लिन पोखरा सडक: पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

    मुग्लिन पोखरा सडक: पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

    दमौली (तनहुँ), मंसिर २६-
    मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो ।

    यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा यहाँ कालोपत्रको काम सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो ।

    हाल दुई लेनमा कालोपत्रको काम भइरहेको छ भने दुई लेन सकिएपछि अर्को दुई लेनमा कालोपत्र हुनेछ । पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको छ । ३८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव ४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किलोमिटर खण्डमा चारलेन र ७ दशमलव ७९ किलोमिटर खण्डमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।

    उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेको छ भने सेती नदीमा पुल निर्माणाधीन रहेको छ । पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३।०६ किलोमिटर कालोपत्र भएको छ । ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम ११ वटै पुल बनेका छन् ।

    छैसठ्ठी कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१ दशमलव पाँच किलोमिटर नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किलोमिटर नाला निर्माण सम्पन्न भएको कुँवरले जानकारी दिनुभयो ।

    विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद विसं २०८२ पुस १६ गतेसम्म रहेको छ । यो खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले रु सात अर्ब ४० करोडमा पाएको थियो । रासस

  • नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

    नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

    त्रिवेणी (नवलपरासी), मङ्सिर २६-
    नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम सकिएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।

    गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब एउटा पुल निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताउनुभयो । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा एउटा पुलमात्र निर्माणको काम बाँकी रहेको सूचना अधिकारी खनालले जानकारी दिनुभयो ।

    सूचना अधिकारी खनालका अनुसार लामा पुलमा पनि दुई सय मिटरभन्दा लामा गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुलमध्ये अरुणखोलाको पुलमात्र निर्माणको काम बाँकी छ । अरुणखोला पुलको काम अन्तिम चरणमा रहेको छ । निर्माण गरिएका पुलमध्य कावासोतीको केरुङ्गे खोला र चोरमाराको गिरुबारी खोलामा ‘एप्रोच’ सडकको काम भइरहेको छ । केही दिनमा यी पुलबाट सवारी सञ्चालन हुने छ । “पुलहरू बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ, एउटा अरुणखोलाको पुलमा केही काम बाँकी छ, त्यो पनि चाँडै सकिन्छ”, सूचना अधिकारी खनालले भन्नुभयो । दाउन्ने खण्डमा केही कल्भर्टको काम बाँकी रहेकाले ती कल्भर्ट निर्माणसमेत अन्तिम चरणमा चलिरहेको छ ।

    नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको हालसम्म भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा दाउन्नेबाहेकका क्षेत्रमा कालोपत्रको धेरैजसो काम भएकाले यात्रा सहज बनेको छ । दाउन्ने क्षेत्रमा भने अझै सडक ढलानको काम बाँकी रहेकाले यात्रा सहज हुनसकेको छैन ।

    नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल एक सय १३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।

    निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको थियो । अहिले चौथोपटक २०८३ असारसम्म म्याद थप गरिएको छ ।

    एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ । रासस

  • एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

    एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

    काठमाडौँ, मङ्सिर २६ –

    यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।

    लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

    दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
    गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुवबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो । एपिएलको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले रु ५१ लाख, तेस्रो टोलीले रु २५ लाख र चौथो रु १५ लाख प्राप्त गर्नेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियोे ।रासस

     

  • नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला हुने

    नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला हुने

    मलेखु मंसिर २६
    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ ।

    नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो । नागढुंगा–मुग्लिन सडक आयोजनाले यही मंसिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ ।

    दुई दिनका लागि सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए ।

    “स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौंको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मंसिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर काम गरिरहेका थियौँ,” उनले भने । रासस