Blog

  • चितवनमा लागूऔषध खैरो हिरोइनसहित ८ जना पक्राउ

    चितवनमा लागूऔषध खैरो हिरोइनसहित ८ जना पक्राउ

    चितवन मंसिर २४–
    चितवनमा लागूऔषध खैरो हिरोइनसहित ८ जना पक्राउ परेका छन्। भरतपुर महानगरपालिका–१० स्थित लाहुरे टोलबाट लागूऔषध बिक्री वितरण र ओसारपसार गरिरहेको अवस्थामा मंगलबार प्रहरीले उनीहरुलाई पक्राउ परेका हो ।

    उनीहरूलाई लागूऔषध सम्बन्धी कसूरमा आज चितवन जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

    पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३२ घर भई हाल भरतपुर–१० मा बस्दै आएका १९ वर्षीय अनवर अन्सारी, रहिफुल्ला मिया ठकुराई, प्रवेज अन्सारी, भरतपुर–४ स्थित त्रिचोक बस्ने २१ वर्षीय सरोज तामाङ, भरतपुर–१७ का २४ वर्षीय बसन नेपाली, भरतपुर–२१ का ३२ वर्षीय मनोज बिक, वीरगञ्ज–१ छप्कैया बस्ने २३ वर्षीया आयुषा खातुन र भरतपुर–२१ का ३६ वर्षीय भीमबहादुर तामाङ रहेका छन्।

    उनीहरूको साथबाट १४२ ग्राम ६८ मिलिग्राम खैरो हिरोईन समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

  • ग्रीनल्याण्ड पब्लिकमा विज्ञान प्रदर्शनी तथा आँखा परीक्षण

    ग्रीनल्याण्ड पब्लिकमा विज्ञान प्रदर्शनी तथा आँखा परीक्षण

    भरतपुर, २४ मङ्सिर :
    भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा भरतपुर महानगरीय विज्ञान प्रदर्शनी र आँखा परीक्षण सम्पन्न भएको छ । स्कुलमा जारी पिबिएल मेलाको दोस्रो दिन आज (बुधबार) एकै साथ दुई कार्यक्रम आयोजना भएको हो ।

    आज भएको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा नारायणी पब्लिक स्कुल प्रथम भएको छ । यस्तै सृजना ईंग्लिस बोर्डिङ स्कुल दोस्रो तथा अर्किड स्कुल तेस्रो भएको कार्यक्रम संयोजक लिलबहादुर हमालले जानकारी दिएका छन् ।

    उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सन बागमती प्रदेशका सल्लाहकार टिकाराम चापागाई, स्कुलकी प्राचार्य इन्दिरा कार्की, सह प्राचार्य उपेन्द्र आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । प्रदर्शनीमा भरतपुर महानगरपालिका भित्रका १५ स्कुल सहभागी थिए ।

    यस्तै आज नै अभिभावकहरु नि:शुल्क आँखा परीक्षण पनि सम्पन्न भएको छ । स्कुलको आयोजना तथा चितवन आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा परीक्षण गरिएको हो । जसमा दुई सय जना अभिभावकले आँखा परीक्षण गराएको संयोजक एवं स्कुलकी नर्स सुरुची कंडेलले जानकारी दिईन् । अस्पतालका आउटरिच कोअर्डिनेटर परशुराम रेग्मी र डा प्रभात यादवको टोलीले उनीहरुको आँखा परीक्षण गरेको हो ।

    साताव्यापी कार्यक्रम अन्तर्गत बिहीबार र शुक्रबार मिनी पिबिएल मेला हुनेछ । जसमा विद्यार्थीहरुले प्रस्तुति दिनेछन् । २९ गते मेलाको मुख्य दिन रहेको छ । उक्त दिन विद्यार्थीहरुले आफूले तयार पारेका बस्तुहरु प्रदर्शनीमा राख्ने तथा बिक्री गर्नेछन् । सो दिन विद्यार्थीहरुले उत्पादन गरेका धुपबत्ती, साबुन, विभिन्न परिकारका खाजालगायत बिक्री गर्नेछन् । अभिभावकहरु स्वयं उपस्थित भएर आफ्ना बालबालिकाले उत्पादन गरेका बस्तुहरु हेर्न तथा खरिद गर्न सक्ने प्राचार्य कार्कीले बताईन् ।

  • सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

    सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

    काठमाडौँ, २४ मङ्सिर :
    नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा खडा रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले भएको सम्झौतापत्र भोलिको परिवर्तनलाई निर्देशन गर्ने बताउनुभयो ।

    प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यसले संविधान बनाउन गाइड गर्छ । भविष्यमा रक्तपातको आन्दोलन र विपद् रोक्न प्रयास गर्छ । हामी एउटै पक्ष छौँ । जेनजी मेरा सन्तान हुन् । हामी सबैको एउटै विचार हो, युवा शक्तिले सत्ता लिओस् । उनीहरूका विचारअनुसार राज्य चलोस् । हामी सन्तानको भविष्य हेर्न चाहन्छौँ ।”

    गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा सरकारका मन्त्रीहरू, मुख्यसचिवलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

  • पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै

    पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै

    मलेखु (धादिङ) , मंसिर २४-
    नागढङ्गा–मलेखु सडकखण्ड एक साताका लागि आंशिक बन्द गरेर सडक विस्तारको कामलाई तीव्रता दिइएको छ । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुङ्गा–मुग्लिन सडक आयोजनाले आजदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा गाडी बन्द गरेर काम तीव्र पारेको हो ।

    सडक आयोजनाले निकालेको सूचनाअनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०ः३० देखि अपराह्न ३ः३० बजेसम्म सडक आवागमन बन्द गरेको छ । यो समयमा वैकल्पिक सडक प्रयोग गरिदिन र यात्रा समयलाई यो समयभन्दा अगाडि वा पछाडि व्यवस्थापन गर्न आग्रह गरिएको नागढुङ्गा मुग्लिङ सडक आयोजनाका इन्जिनियर केशव ओझाले जानकारी दिनुभयो ।

    एकै पटकमा धेरै गह्रौँ उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने र त्यसबेला दुर्घटनाको जोखिम बढ्ने भएकाले आंशिक रुपमा सडक बन्द गरेर काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो । धादिङको गल्छी–गजुरी खण्ड पनि साँघुरो र जोखिमपूर्ण रहेकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने आयोजनाले जनाएको छ ।

    त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड कालोपत्र गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । काठमाण्डौ जिल्लाभित्र पर्ने नागढुङ्गा पिप्लामोड खण्ड कालोपत्र उच्च प्राथमिकतामा राखिएको छ ।
    नागढुङ्गा– पिपलामोड खण्डका लागि काठमाडौँतर्फबाट आउने सवारीसाधनलाई नागढुङ्गा चेकपोस्टमा र गल्छीबाट काठमाडाँैतर्फ जाने सवारीसाधनलाई खानीखोला तथा जुँगेखोलामा रोकिएको छ । गल्छी–गजुरी खण्डका लागि नौबिसेतर्फबाट आउने सवारी साधनलाई गल्छी बैरेनी, मासटार र मुग्लिनतबाट नौबिसेतर्फ आउने सवारीसाधनलाई मलेखु क्षेत्रमा रोकिएको छ ।

    अत्यावश्यक अवस्थामा साना तथा मझौला गाडीले सीतापाइला–भिमढुङ्गा–रामकोट–धार्केको सडक प्रयोग गर्न सक्नेछन् । सामाखुसी–टोखा–छहरे हुँदै गल्छी निस्कने र जरेखेतबाट त्रिशूलीको पुल तरेर घाटबेँसीको पुल निस्कने वैकल्पिक बाटो पनि प्रयोग गर्न सकिनेछ ।

    एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दमकल, शववाहनजस्ता अत्यावश्यक गाडी भने पनि सडक चौडा गर्नका लागि काटिएको पहराबाट सडकमा ढुङ्गामाटो थुप्रिएकाले आउजाउ गर्न सकिने अवस्था छैन । रासस

  • जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्

    जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस्

    कीर्तिपुर (काठमाडौँ), मंसिर २४-
    सरकारले सामाजिक सञ्जाल बन्द गरिदिएपछि आम सर्वसाधारण र नयाँ पुस्तालाई मात्र नभई व्यवसाय गर्दै आएका जो कोही पनि नराम्ररी प्रभावित बनेका थिए । भर्खर कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्ने सपना बोक्नुभएका कीर्तिपुर नगरपालिका–२ मा पर्ने मैत्रीनगरका पासाङ तामाङलाई पनि साथीभाइसँग भलाकुसारी गरिरहने माध्यम फेसबुक आदि सामाजिक सञ्जाल बन्द भएपछि आक्रोश जाग्नु स्वभाविक नै थियो ।

    बौद्धमा क्याफे चलाएर बसेका उहाँका बाबु बुद्धबहादुर पनि सरकारको सो निर्णयप्रति आक्रोषित बन्नुभएको थियो । उहाँलाई पनि गत भदौ २३ गते आफ्ना छोरासरहका युवाहरुले गरेको आन्दोलनमा एक्यबद्धता नजनाई रहन सक्नुभएन । उहाँ बानेश्वर केन्द्रित आन्दोलनमा सरिक हुनुभयो । दिन जति बढ्दै थियो, आन्दोलन पनि उति नै चर्किरहेको थियो । जुलुस अन्तरराष्ट्रिय सम्मेलन केन्द्रतर्फ लागेको थियो, प्रहरी र प्रदर्शनकारीबीच मुठभेड सुरु भएको खबर आउन थालेका थिए । पासाङ आफ्नी हजुरआमा लक्ष्मीलाई आन्दोलनको खबर बेलाबोलामा दिइरहनुहुन्थ्यो र मोबाइलमा फोटो पनि देखाउँदै हुनुहुन्थ्यो ।

    अपराह्नतिर आन्दोलनमा जब गोली चल्न थाल्यो, घाइते र मृतकका फोटोहरु पनि धमाधम आउन थाले । एकपछि अर्को मानवीय क्षतिको समाचार आउन थाले । त्यसपछि आमा लक्ष्मीको मनमा छोरा बुद्धिबहादुर बौद्धको क्याफेमै छन् कि आन्दोलनमा गए भन्ने कुराले खुल्दुली मच्चियो । लक्ष्मी र पासाङले आ–आफ्ना मोबाइलबाट धेरै पटक बुद्धिबहादुरलाई फोन गर्नुभयो तर फोन उठेन । फोन गर्नासाथ उठाइहाल्ने वा केही बेरैमै कल फर्काउने बुद्धिबहादुरको फोन नउठेपछि परिवारमा चिन्ताको बादल मडरिनु स्वभाविक थियो ।

    आन्दोलन चर्किएसँगै सरकारले कफ्र्युको घोषणा गरिसकेको थियो । हिँडडुल गर्न सहज थिएन । कसलाई कहाँ भनेर बाबासँग सम्पर्क गर्ने भन्ने छटपटीमा हुनुहुन्थयो पासाङ । बाबु विष्णुबहादुर, पत्नी मीरा, भाइबुहारी सुनितालगायतका सबै परिवार सदस्यले यताउता फोन गरेर सम्पर्क गर्न खोजे तर पत्ता लागेन ।

    छोरासँग सम्पर्क हुन नसकेको चिन्त बीच अबेर राति कोठातर्फ गएका तामाङ दम्पतीलाई निद्रा पर्ने त कुरै भएन । बरु ११ः०० बजेतिर नाति पासाङले ढोका ढक्ढक्याउँदै मोबाइलमा आन्दोलनको एउटा फोटो देखाएर ‘यो त बाबाको फोटोजस्तो छ’ भनेर देखाउन आइपुगे । नभन्दै त्यो फोटो बुद्धिबहादुरकै थियो । त्यसपछि बल्ल तामाङ परिवारले आफ्नो जेठा छोरा दिउँसै आन्दोलनमा गोली लागेर सहिद भएको थाहा पाए । रातभर रुवावासी चल्यो । वल्लोपल्लो घरका मानिसहरु सान्त्वना दिन आए । अकस्मात् आइपरेको यस्तो बज्रपात सहनुबाहेक परिवारमा अर्को विकल्प थिएन ।

    बुबा विष्णुबहादुर कफ्र्युका बीच छिमेकीलाई बोलाएर ट्रमा सेन्टरतर्फ दौडिनुभयो । छोराको शव भेटेपछि उहाँ धेरैबेर रुनुभयो, कराउनुभयो । उहाँजस्तै परिवारको सदस्य गुमाएका अरु मानिसहरुलाई पनि त्यहाँ देखेपछि उहाँ विस्तारै सम्म्हालिनुभयो । परिस्थतिलाई सम्हाल्नु नै पर्ने थियो । बुद्धिबहादुरको शरीरका विभिन्न भागमा छ वटा गोली लागेको थियो । “हामी कसैले पनि दाइ९जेठाजु०को शव हेर्न सकेनौँ । बुबाले नै परिस्थितिलाई सम्हाल्नुभयो”, विष्णुकी कान्छी बुहारी सुनिता भन्नुुहुन्छ ।

    आमा लक्ष्मी भने अझै पनि छोराको कुरा कसैले उप्काउने बित्तिकै भावुक बन्नुहुन्छ । पुत्र वियोग सहनु कुनै पनि आमाका लागि सामान्य घटना हुँदैन । “केही वर्ष विदेश बसेर घर फर्की अब देशमै बसेर आफ्नै काम गर्छु भनेर बौद्धमा क्याफे खोलेर बसेको थियो । भर्खरैको अल्लारे केटो पनि होइन । किन जानुपरेको होला त्यो आन्दोलनमा रु” उहाँको प्रश्नको उत्तर कसैसँग छैन ।

    विष्णुको परिवार धेरै वर्षअघि टिस्टुङबाट कीर्तिपुर नपा–२ स्थित मैत्रीनगरमा बसोबास गर्दै आएको थियो । परिवारमा पत्नी र दुई छोरा हुनुहुन्थ्यो । खासगरी पर्यटक ओसार्ने सवारीसाधन चलाएर दशकौँ बिताउनुभएका उहाँले जसोतसो परिवार चलाउँदै आउनुभएको थियो । बूढेसकालमा पुत्रशोक बोक्नुपर्ला भन्ने विष्णु दम्पतीले कल्पना पनि गरेको थिएन । ४१ वर्षका बुद्धिबहादुरले बौद्धमा क्याफे खोलेर छ÷सात जना युवालाई रोजगारी दिइरहनुभएको थियो । क्याफेमै काम गर्ने तिनै युवाहरुको उक्साहटमा उहाँ भदौ २३ गते क्याफे बन्द गरेर बानेश्वरतर्फ लाग्नुभएको थियो ।

    बुद्धिबहादुरको निधनपछि आमा लक्ष्मी र पत्नी मीरा, जेठा छोरा पासाङ र कक्षा ८ पढ्दै गरेका कान्छा छोरासहितको परिवारको खम्बा ढलेको छ । खासगरी पत्नी मीराको काँधमा बुद्धिले सम्हालेका सबै जिम्मेवारी र दायित्व आइलागेको छ । बुद्धिबहादुरले बौद्ध र तीनथानामा चलाएको क्याफेको व्यवस्थापन, भर्खरै १२ कक्षा सकेका जेठा छोरा र कक्षा आठमा पढ्दै गरेका कान्छा छोराको पढाइ तथा सासूससुराको लालनपालन गर्नुपर्ने मीराको दायित्व छ ।

    छोरा बितेपछि बौद्ध परम्पराअनुसार काजकिरियामा व्यस्त रहेकै बेला नयाँ सरकार बन्यो । बुद्धिबहादुरलगायत आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरियो । परिवारलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की स्वयम् मैत्रीनगर पुग्नुभएको भयो । प्रम कार्कीले परिवारलाई सान्वना मात्र दिनुभएन, बुद्धिका दुई छोराहरुको शिक्षादीक्षा, पत्नी मीराको जीविकोपार्जन लागि सरकारले पहल गरिदिनेसमेत बताउनुभएपछि शोकाकूल परिवारलाई ठूलो आत्मबल मिलेको थियो । साथै, दोषीलाई कारबाहीको दायरामा ल्याउने र न्यायका लागि आफूले कुनै सम्झौता नगर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले सहिद परिवारलाई आश्वासन मिलेको थियो ।

    सरकारका अर्का मन्त्री कुलमान घिसिङ दुई पटकसम्म पुग्नुभएको थियो । उहाँले पनि सहिद परिवारलाई सहयोग गर्न र न्याय दिन लागिपर्ने बताउनुभयो । कीर्तिपुरका नगरप्रमुख कृष्णमान डङ्गोलले छोराछोरीको शिक्षादीक्षा र रोजगारीका लागिसमेत नगरपालिकामार्फत सहयोग गर्ने वचन दिनुभएको थियो ।

    यस्तै विभिन्न सामाजिक र व्यावसायिक सङ्घसंस्थाले समेत तामाङ परिवारलाई आवश्यक सहयोग दिने तत्परता देखाएका छन् । कान्छा छोरालाई गोल्यान समूहले कक्षा १२ सम्म पढाइदिने भएको छ भने जेठो छोरालाई कीर्तिपुर नगरपालिका प्रमुख डङ्गोलले कीर्तिपुरकै सहिद स्मारक कलेजमा पढाइदिने र नगरले सम्पूर्ण खर्च ब्यहोर्ने आश्वासन दिनुभएको थियो । गृहिणीको भूमिकामा मात्र रहेकी मीरालाई पतिको व्यवसाय अघि बढाउन वा कुनै रोजगारी गर्न सजिलो छैन भन्ने थाहा छ । त्यसैले आफूलाई भन्दा छोराको भविष्य सुनिश्चित हुने व्यवस्था होस् भन्ने चाहनुहुन्छ । “हामीलाई चाहीँ राज्यले सहयोग गर्छ गर्दैन भन्दा पनि महत्वपूर्ण प्र्रश्न न्याय छिटो पाइन्छ कि पाइँदैन भन्ने हो”, बुबा विष्णुबहादुर भन्नुहुन्छ । घटनाको राम्रोसँग छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्नेमा उहाँको जोड छ । उहाँले अहिले पनि जेन्जी आन्दोलनमा सहिद हुनेका परिवारको सम्पर्कमा हुनुहुन्छ । उहाँहरुले एउटा संंयोजन समिति पनि बनाउनुभएको छ । रासस

  • बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

    बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

    बुटवल, मंसिर २४-
    प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बहुविवाह मुद्दामा डीएसपी मधु नेपाललाई पक्राउ गरेको हो ।

    उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए । डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

    ‘बहुविवाहको केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ,’ एसपी क्षेत्रीले भने । नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

  • एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

    एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

    काठमाडौँ, मंसिर २४-
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।

    प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र ९कार्ड० छपाइको कार्य सुरु गरिसकेको जनाएको छ । रासस

  • निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध

    निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध

    काठमाडौँ, मंसिर २४
    प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन गराउन सबै पक्षलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ । उहाँले मानवअधिकार रक्षकहरूको सुरक्षा र पहिचानका लागि आवश्यक कानुन निर्माण, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने प्रयास र छैटौँ राष्ट्रिय मानवअधिकार कार्ययोजनाको निर्माण गरी कार्यान्वयन सरकारको पहिलो प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

    ७७औँ अन्तरराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सरकारले भ्रष्टाचारका विरुद्धमा कठोर कदम चाल्ने प्रतिबद्धता जनाउँदै सुशासन कायम गर्नु सरकारले लक्ष्य रहेको धारणा राख्नुभयो । पारदर्शिता र जवाफदेहिताको वातावरणबिना मानवअधिकार सुरक्षित रहन नसक्ने उल्लेख गर्दै उहाँले यो मार्गमा सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभयो ।

    प्रधानमन्त्री कार्कीले भन्नुभयो, “लोकतन्त्रको आत्मा भनेको स्वच्छ र निष्पक्ष निर्वाचन हो । नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो । आगामी फागुन २१ गतेको निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार प्रतिबद्ध छ ।” उहाँले निर्वाचनमा खटिने सुरक्षा निकायका कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउने विश्वास दिलाउनुभयो ।

    सम्पूर्ण बालिग नेपालीको मताधिकारलाई सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्वाध रूपमा भाग लिन र निर्वाचनजस्तो लोकतान्त्रिक अनुष्ठानलाई सफल पारी मानवअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नसमेत प्रधानमन्त्री कार्कीले अनरोध गर्नुभयो ।

    “नेपालको शान्ति प्रक्रियाले विश्वलाई प्रेरणा दिएको छ, तर सङ्क्रमणकालीन न्यायका बाँकी काम टुङ्गिन ढिलो भइरहेका छन् भन्ने विषयमा सरकार जानकारीमा छ । पीडितलाई न्यायको अनुभूति नदिलाएसम्म सङ्क्रमणकालीन न्याय पूर्ण हुँदैन”, प्रधानमन्त्रीले भन्नुभयो । हालै परिमार्जित कानुन र सहमतिहरूको आधारमा यस प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय निष्कर्षमा पु¥याउन सम्बन्धित संयन्त्रहरू सफल हुने उहाँको भनाइ छ ।

    राष्ट्रिय मानवअधिकार आयोग लोकतन्त्रको पहरेदार संस्था भएकाले यसको स्वायत्तता, स्वतन्त्रता र प्रभावकारितालाई सरकारले उच्च प्राथमिकताका साथ संरक्षण गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आयोगका सिफारिसहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्धत बताउनुभयो । आयोगलाई ‘क’ श्रेणीमा कायम राख्न संस्थागत तथा भौतिक पूर्वाधार, जनशक्ति र बजेट व्यवस्थापनलाई अझ सुदृढ बनाइने उहाँले उल्लेख गर्नुभयो ।

    प्रधानमन्त्री कार्कीले भन्नुभयो, “मानवअधिकारको संरक्षणमा जलवायु परिवर्तन आजको अर्को चुनौतीका रूपमा देखा परेको छ । नेपाल न्यूनतम कार्बन उत्सर्जन गर्ने राष्ट्र हुँदाहुँदै पनि जलवायु परिवर्तनका विनाशकारी प्रभावहरू सबैभन्दा बढी भोग्नुपरेको छ । हिमाल पग्लिनु, अनिश्चित मौसमचक्र, बाढीपहिरो, तापक्रम वृद्धिलगायत जलवायुजन्य असरले हाम्रो जीवनका हरेक आयाम, खाद्य सुरक्षा, स्वास्थ्य, बसोबास, शिक्षालगायतलाई प्रत्यक्ष प्रभावित बनाइरहेका छन् ।”

    सरकारले अनुकूलन, जोखिम न्यूनीकरण, दिगो विकास र जलवायु न्यायका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदारीलाई मजबुत बनाउँदै सक्रिय रूपमा अघि बढिरहेको उहाँले बताउनुभयो ।
    प्रधानमन्त्री कार्कीले दिगो विकासका लक्ष्यको मूल भावनासहित गरिबी न्यूनीकरण, लैङ्गिक समानता, सामाजिक न्याय, समावेशिता, शान्ति र समृद्धिको दिशामा सरकार निरन्तर अग्रसर रहेको बताउनुभयो । नेपाल पक्ष भएका अन्तरराष्ट्रिय मानवअधिकार महासन्धिअन्तर्गतका दायित्वहरू समयमै पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    “मानवअधिकार केवल कानुनी प्रावधान होइन, यो हाम्रो सामाजिक चरित्र बन्नुपर्छ । हामी सबै मिलेर मानवअधिकारलाई दैनिक जीवनको संस्कृतिमा रूपान्तरण गर्नसके मात्र दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल हुन सक्छन्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । रासस

  • चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा ‘एनेमिया भाइरस’

    चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा ‘एनेमिया भाइरस’

    चितवन, मंसिर २४ –
    चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो ।

    राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाबाट आएको १८२ नमूनामध्ये ५४ प्रतिशतमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्लामा पहिलोपटक गत आर्थिक वर्षमा यो रोगको सङ्क्रमण देखिएपछि कार्यालयले अध्ययन सुरु गरेको थियो । अध्ययनका क्रममा चितवनसहितका जिल्लामा यो समस्या देखिएको उहाँले बताउनुभयो । चितवन, मकवानपुर र नवलपरासी जिल्लाबाट लिइएको नमूनामा यो रोग देखिएको हो ।

    यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ । जसले गर्दा अन्य रोगहरुले कुखुरामा आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्यक्ष रुपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने गर्दछ ।”

    यस रोग लागेका कुखुरामा रक्तअल्पता हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्षण देखा पर्दछन् । उहाँले भन्नुभयो, “कुखुराले चारा खाने, हिँडडुल गर्ने गरे पनि यसको प्रभाव दीर्घकालीन रुपमा पर्ने भएकाले बेवास्ता गर्नुहुँदैन ।” कुखुरालाई यो रोगबाट बचाउनका लागि चिकेन एनेमिया भाइरसविरुद्धको भ्याक्सिन दिनुपर्ने उहाँले बताउनुभयो । ब्रोइलरको माउमा र लेयर्सको माउ तथा चल्ला दुवैमा यो खोप दिनुपर्ने उहाँले बताउनुभयो ।

    चितवनसहित १६ जिल्लाबाट सङ्कलित नमूना यो प्रयोगशालामा परीक्षण हुँदै आएको छ । जैविक सुरक्षाको अभावमा सङ्क्रमण देखिने गरेको उहाँले बताउनुभयो । अहिले कुखुरामा इन्फुलुन्जाको एच ९ को सङ्क्रमण देखिने समय भएकाले सबै कुखुरापालक किसानहरुलाई यसबाट सचेत रहन उहाँले आग्रह गर्नुभयो । यसका लागि फार्ममा दाना, पानी, औषधि, भूषलगायतका सामग्री लैजाँदा र अण्डा बाहीर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ । रासस

  • चाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ सुनको कारोबार?

    चाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ सुनको कारोबार?

    २४ मंसिर,काठमाडौं ।
    चाँदीको मूल्यले उच्च रेकर्ड काएम गरेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ कायम भएको छ।

    चाँदीको यो मूल्य हालसम्मकै उच्च हो। मंगलबार प्रतितोला चाँदी ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    नेपाली बजारमा सुनको भाउ पनि आज सामान्य बढेको छ। आज सुनको मूल्य मंगलबारको तुलनामा २०० रुपैयाँले बढेको हो।

    नेपाल सुन-चाँदी व्यवसायी संघका अनुसार बुधबार २०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ। बुधबार १ हजार रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।