Blog

  • एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

    एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

    काठमाडौँ, २६ मङ्सिरः 
    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३ः३० बजे भिडन्त हुँदैछ ।

    साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित पौडेलले सम्हालेका छन् । सुदूरपश्चिमको जिम्मा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान रहेका दीपेन्द्रसिंह ऐरीको रहेको छ ।

    रोयल्स लिग चरण खेल र साविक उपविजेता भएकाले लायन्सभन्दा बलियो देखिएको छ । लिग चरणका सातमध्ये चार खेल जितेर पहिलो क्वालिफायर खेल्दै रोयल्स उपाधि नजिक पुगेको हो । रोयल्स गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेट पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

    लायन्स यो वर्ष लिग चरणका सातमध्ये चार खेलमा विजयी हुँदै इलिमिनेटर र दोस्रो क्वालिफायर आफ्नो पक्षमा पार्दै फाइनलमा सुरक्षित भएको हो । लुम्बिनी गत संस्करणमा लिग चरणबाटै आउट भएको थियो ।

    जारी सिजनमा एकपटक मात्रै यी दुवै टोली एकआपसमा भिडेका हुन् ।  लिग चरणको उक्त खेलमा रोयल्स सात विकेटले विजयी भएको थियो । गत संस्करणमा एकपटक भेट भएकामा लायन्स ४५ रनले पराजित भएको थियो । तेस्रो भेट दुवैका लागि महत्त्वपूर्ण रहेको छ । जसले जित हात पार्‍यो । त्यसले खेल मात्रै जित्ने छैन । च्याम्पियन बन्दै इतिहास लेखाउने छ ।

  • पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा

    पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा

    काठमाडौँ, २६ मङ्सिर :
    विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन् ।

    सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कमदारको माग भएकाले सो होटलमा रोजगारी मिलाइदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट उनीहरूलाई पक्राउ गरेको हो । उनले आफू पूर्वराजाको भान्जा भएको भन्दै सहजै युवायुवतीलाई ठगी गर्ने गरेको थिए ।

    युवायुवतीलाई विश्वास दिलाउन उनले होटल र आफ्नो कम्पनीबीचको नक्कली रोजगार–सम्झौता, काठमाडौँस्थित बेलायती दूतावासको नक्कली पत्र, नक्कली प्रवेशाज्ञा (भिसा) र हवाई टिकटलगायत कागजात देखाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

    उनीहरूले आकर्षक तलबको प्रलोभनमा परी युवायुवतीमाथि ठगी गर्ने गरेका थिए । पैसा बुझाएर पनि लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

    पक्राउ परेका सिहंविरुद्ध यसअघि अमेरिका र बेलायत पठाइदिने भन्दै ठगी गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाठौँमा चार, ललितपुरमा दुई गरी छवटा ठगीसम्बन्धी कसुुर तथा पूर्वराजपरिवारको सदस्य भन्दै धाकधम्की दिएको भनी प्रहरी बृत्त दरबारमार्गमा एउटा मुद्दा दर्ता रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।

    कार्यालयले सिंहको समूहबाट ठगिएका अन्य पीडितहरूले निजविरुद्ध कानुनी कारबाहीका लागि आवश्यक कागजातसहित अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भ्रदकालीमा जाहेरी दिन अनुरोधसमेत गरेको छ ।

  • आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह

    आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह

    काठमाडौँ, २६ मङ्सिरः
    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अनुरोध गरेको छ ।
    प्राधिकरणले आज एक सूचना जारी गर्दै राष्ट्रसङ्घीय निकाय, गैरसरकारी सङ्घसंस्था, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज र सञ्चार जगतलगायत सम्बद्ध सबैले आफ्नो तर्फबाट आवश्यक पहल एवं सहयोग गर्न अनुरोध गरेको हो ।
    “प्राधिकरणबाट जारी हुने पूर्वसूचना एवं ‘अलर्ट’अनुसार आवश्यक सतर्कताका लागि विशेष भूमिका निर्वाहगरी नागरिक सुरक्षामा योगदान पु¥याउनु हुनसमेत आग्रह गर्दछ”, प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा उल्लेख छ ।
    पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा आगलागीका घटनामा परी आठ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका प्राधिकरणले जनाएको छ । पछिल्लो समय सुक्खायाम र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएका छन् ।
    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन बहुपक्षीय सहकार्य, समन्वय र सहभागिताबाट मात्र सम्भव हुने उल्लेख गर्दै प्राधिकरणले आगलागीजन्य विपद् रोकथाम तथा न्यूनीकरणका लागि सचेतना अभिवृद्धि गर्न सचेतनामूलक श्रव्यदृश्य सामग्री लक्षित वर्ग, क्षेत्र र समुदायमा पु¥याउन आग्रह गरेको छ ।
  • महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे

    महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे

    काठमाडौँ, मंसिर २६-
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताउनुभएको छ ।

    आज यहाँ पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा आयोजित युवा भेला कार्यक्रममा उहाँले पार्टीमा नाम टाँसेर कमिटी बनाउने प्रवृत्ति हुर्किएकाले त्यसलाई विस्थापित गर्दै कार्यकर्ताबाटै नेता छान्ने प्रवृत्तिको विकास गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

    उपाध्यक्ष पाण्डेले भन्नुभयो, “अबको महाधिवेशनबाट कमसेकम २० प्रतिशत युवासमेत केन्द्रीय कमिटीमा ल्याउन आफूहरूले लडाइँ गरिरहेका छौँ । युवालाई नेतृत्वमा सहभागी गराउनुपर्छ । युवाको शक्तिविना अब पार्टी राम्रोसँग चल्न सक्दैन । युवाको शक्तिबाट पाकाहरूको अनुभवसहितको शक्तिशाली पार्टी निर्माण गर्न आवश्यक छ ।”

    उहाँले प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवाद (जबज) को मूल मान्यता रहेकासमेत जिकिर गर्नुभयो । रासस

  • मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ

    मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ

    काठमाडौँ, २६ मङ्सिरः
    नवनियुक्त चार मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई सपथ गराउनुभएको हो ।

    प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँहरुलाई राष्ट्रपति पौडेलले आज नियुक्त गर्नुभएको हो । गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १४ पुगेको छ ।

    त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद् यसअघि गत भदौ ३०, असोज ६ गते र कात्तिक ९ गते विस्तार भएको थियो ।

  • बर्दी लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा

    बर्दी लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा

    २६ मंसिर, काठमाडौं ।
    सशस्त्र प्रहरी बल, नेपालको पोशाक (बर्दी) लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा परेका छन् ।

    सामाजिक सञ्जाल प्रयोग आचार संहिता विपरित बर्दीको दुरुपयोग गरिएको भन्दै २१२ सशस्त्र प्रहरीलाई कारबाही गरिएको हो ।

    सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत कारबाहीको विषय जानकारी गराएका हुन् ।

    उनका अनुसार २०८० सालदेखि अहिलेसम्म विभिन्न सामाजिक सञ्जालहरुमा बर्दीसहितको तस्वीर पोस्ट गर्ने २१२ जनालाई विभागीय कारबाही गरिएको छ ।

  • एमाले महाधिवेशनको तयारी पूरा

    एमाले महाधिवेशनको तयारी पूरा

    काठमाडौं, मंसिर २६-
    नेकपा (एमाले)ले ११औँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशनको तयारी पूरा भएको एमालेले जानकारी दिएको हो ।

    ११औँ महाधिवेशनका निम्ति एमालेले इतिहासमै पहिलोपल्ट कलात्मक मञ्च बनाइएको जिकिर गरेको छ । आज (शुक्रबार) भक्तपुरको सल्लाघारीमा महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उद्घाटन समारोहमा १०८ रोपनी क्षेत्रफलको चौरमा करिब तीन लाखजनाको उपस्थिति रहने जानकारी दिए ।

  • आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

    आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

    काठमाडौँ, मंसिर २६-
    फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस भएकी छन्। उनले कैलाली क्षेत्र नम्बर ५ र बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेकी हुन्।

    कैलाली ५ मा आरजुसहित ४ जनाको नाम सिफारिस भएको हो भने बर्दियामा उनीसहित १० जनाको नाम सिफारिस भएको हो।आरजु कैलाली ५ बाट चुनाव लड्ने तयारीमा छिन्। उनी २०७४ सालमा पनि यही क्षेत्रमा चुनाव लडेकी थिइन्।

  • पूर्व-पश्चिम राजमार्गस्थित दुधौरा पुलको निर्माण पुसभित्र सक्ने कम्पनीको प्रतिबद्धता

    पूर्व-पश्चिम राजमार्गस्थित दुधौरा पुलको निर्माण पुसभित्र सक्ने कम्पनीको प्रतिबद्धता

    २६ मंसिर, काठमाडौं ।
    पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले जनाएका छन् ।

    मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरे ।

    मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्या लगायत विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत् लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए । उनले पुल नजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्ने उल्लेख गरे ।

    पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती—हिराचन उपक्रम (जेभी)का रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए ।

    चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती—हिराचन उपक्रम (जेभी)सँग २४ असार २०७५ मा १७ करोड २२ लाख (कर सहित)मा ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नुपर्ने थियो । पछिल्लो म्याद थप बमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नु पर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

    मनमत—कलैया—मटिरवा सडक तत्काल सम्पन्न गर्न स्थानीयको माग

    उता, हुलाकी राजमार्गअन्तर्गत बाराको मनमत—कलैया—मटिरवा सडक खण्ड तत्काल सम्पन्न गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । मधेश प्रदेश बारा, पर्सा र रौतहट जिल्लाका सडक, सिँचाइ र विद्युत् आयोजनाहरूको निर्माण प्रगतिको स्थलगत निरीक्षणका क्रममा कलैया पुगेका मन्त्री घिसिङ समक्ष स्थानीयबाट सदरमुकामकै सडक नबन्दा ठूलो सास्ती बेहोर्नु परेको बताए । मन्त्री घिसिङले सडक रुग्ण अवस्थामा रहेको सडक निर्माणको ठेक्कालाई सरकारले उपयुक्त निर्णय गरी अगाडि बढाउने बताए ।

    करिब चार किलोमिटर सडक स्तरोन्नतिका लागि २७ पुस २०७८मा सप्तकोशी जलाधार—ओम साई एण्ड कम्पनी उपक्रम (जेभी), काठमाडौंसँग २२ करोड ३१ लाख रुपैयाँ (कर सहित)मा ठेक्का सम्झौता भएको थियो ।

    १ माघ २०७९ भित्र निर्माण सम्पन्न गर्ने गरी सुरुवाती ठेक्का सम्झौता भएकोमा दोस्रो पटक थपिएको म्याद ४ चैत २०८२ मा सकिँदैछ । सडक निर्माणको भौतिक प्रगति करिब २० प्रतिशत मात्र छ ।

    निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण सडक निर्माण अलपत्र छ । ठेक्का अन्त्य किन नगर्ने भन्दै गत ३१ असोजमा निर्माण व्यवसायीलाई सार्वजनिक स्पष्टीकरण सोधिएको थियो । त्यसपछि निर्माण व्यवसायी निर्माणस्थलमा परिचालित भएको तर हालसम्म पनि उल्लेखनीय प्रगति हासिल नभएको अवस्था छ ।

  • त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू

    त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू

    धादिङ मङ्सिर २६ –
    हातमा बेल्चा साबेल, टाउकामा रुमाल र कम्मरमा सलको पटुकी । एकाबिहानै बालुवा सार्दै गर्नुभएको अवस्थामा भेटिनुभयो, कल्पना भुजेल । कठ्याङ्ग्रिँदो जाडोेमा पनि खलखल पसिना बगिरहेको छ, तर उहाँलाई यसको कुनै प्रवाह छैन । भुजेल भन्नुहुन्छ, “हाम्रो काम उज्यालो भएदेखि अँध्यारो नभएसम्म बगरमा बालुवा खोज्ने हो । एकदिन अल्छी गर्‍यो भने अर्को दिन चुल्हो बाल्न गाह्रो हुन्छ । बिरामी परियो भने औषधि खाने पैसा हुँदैन । त्यसैले चिसो, गर्मी केहीको प्रवाह हुँदैन ।”

    झापा स्थायी घर भएकी भुजेल श्रमकै लागि त्रिशूली किनारमा बस्दै आउनुभएको छ । उहाँ एकाबिहानै धादिङ र नुवाकोटको सीमामा पर्ने केउरेनी बगरमा पुग्नुहुन्छ । बगर खोतलेर बालुवा थुपार्नुहुन्छ । दिनभर यसरी नै बगरमा पसिना बगाएपछि साँझ मात्रै बासस्थान फर्किनुहुन्छ । “कहिले बगरमा छरिएको बालुवा थुपार्न त कहिले नदीमा डुबेर बालुवा निकाल्दानिकाल्दै दिन बित्छ । यसरी जम्मा गरेको बालुवा चाल्ने, गाडीमा हाल्ने र त्यसबाट आर्जेको आम्दानीले बिहान बेलुकाको छाक टार्नुपर्ने बाध्यता छ । यो नै परिवारको जीवन धान्ने आधार हो”, उहाँले सुनाउनुभयो ।

    कल्पनासँगै उहाँका श्रीमान् विनोद भुजेलले पनि काम गर्नुहुन्छ । उहाँकी एउटा छोरी छन्, उहाँलाई एउटा बालआश्रमले लगेर पढाइरहेको छ । बालुवा चालेर आएको पैसाले श्रीमान्, श्रीमतीको गर्जो टार्नुहुन्छु ।

    कल्पना र विनोद मात्रै होइन, नुवाकोट, धादिङ, चितवन, नवलपरासीलगायत जिल्लामा नदी किनारमै बसेर जीवन गुजार्ने सयौँ परिवार छन् । असिनपसिन पार्ने गर्मी होस् वा कठ्याङ्ग्रिँदो जाडो, उहाँहरूको दैनिकी नदी किनारमै बित्छ । त्यसबाट हुने आम्दानी भने न्यून छ । दिनभरि खट्दा कहिले रु ५०० त कहिले रु ८०० आम्दानी हुने गरेको धेरैले बताउने गरेका छन्, त्यो पनि सधैँ हुँदैन । स्थानीय तह र प्रहरी प्रशासनले कडाइ गरेका बेला कमाइ शून्य हुने गरेको भुजेलले बताउनुभयो ।

    मजदुरका अनुसार हिउँदको बेला ९हिजोआज० एक ‘टिप’ बालुवा जम्मा गर्न दुई जनालाई तीन दिनसम्म लाग्छ भने गाडीमा ‘लोड’ गर्न आधा दिन लाग्छ । त्यसबापत ठेकेदारले रु चार हजारदेखि बढीमा रु चार हजार ५०० दिन्छन् । सात वर्षदेखि यस्तै काम गरेर गुजारा चलाउँदै आउनुभएका नुवाकोट चाउथेका रामबहादुर सुनारले भन्नुभयो, “बूढाबूढीले बिहानदेखि बेलुकासम्म काम गरेर दिनको रु एक हजार कमाउन पनि मुस्किल पर्छ । प्रहरीले कडाइ गरेका बेला त त्यति पनि हुँदैन । लुकामारी गर्दै दिन बित्छ ।”

    धादिङको सिद्धलेक गाउँपालिका–७ का बाबुराम आचार्यले पनि २५ वर्षदेखि बालुवामा पसिना चुहाएर परिवारका सामान्य आवश्यकता पूरा गर्दै आउनुभएको छ । बालुवा चालेरै चार छोराछोरीको शिक्षादिक्षा, परिवारको गुजारा चलाउनु आफ्नो बाध्यता भएको उहाँले सुनाउनुभयो । “काम गरेको दिन चुलो बल्छ, नगरेको दिन भोकै परिन्छ । त्यसैबाट आएको केही रकमबाट गास काटेर छोराछोरीको शिक्षादिक्षाको व्यवस्था गछौँ”, आचार्यले भन्नुभयो ।

    विशेषगरी नुवाकोटको बेलकोटगढी, धादिङको गल्छी र गजुरीमा पर्ने नदी किनार र बगरमा २०५० सालदेखि मजदुरले बालुवा निकाल्दै आएका छन् । धादिङतर्फ पर्ने त्रिशूली नदीको बेल्खु, घाटबेंसी, बाङ्गे, जरेखेत, महेशखोला, पोखरेखोला, मलेखुलगायत बगरमा मजदुरको सङ्ख्या बढी देखिन्छ ।

    पानीमा डुबेर थुन्सेमा निकालेको र बगरमा छरपस्ट बालुवालाई अञ्जुलीले सोहोरेर जम्मा गरेको बालुवामा स्थानीय सरकारले कर छुट गरिदिए आफूहरूलाई ठूलो राहत हुने मजदुरको भनाइ छ ।

    मजदुर भवानी अर्याल भन्नुहुन्छ, “सरकारले थुन्सेमा बोकेर गाडीमा लोड गरेको बालुवाको कर नलिइदिए गाडीवालाले हामीलाई अलिकति भए पनि पैसा बढी दिन्थेँ । कर पनि तिर्नुपर्छ भनेर बालुवा उठाउने ठेकेदारले हामीजस्ता मजदुरलाई पैसा कम दिन्छन् । घर छेउछाउतिरका बगरमा बालुवा निकाल्दा त झन् घरवालालाई पनि बाटोकर तिर्नुपर्छ । कि बाटोकर तिर, नत्र बालुवा ननिकाल भनेर समस्यामा पार्छन् ।”

    जिल्ला प्रशासन कार्यालयले भने मजदुरको सुरक्षा, वातावरणीय जोखिमलाई मध्यनजर गरी त्रिशूली नदी र आसपासका अन्य खोलाबाट बालुवालगायत नदीजन्य सामग्री उत्खननमा रोक लगाएको छ । स्थानीय पालिकाले भने हरेक वर्ष बालुवा निकाल्न ठेक्का लगाउँदै आएका छन् । मजदुरका हितमा कुनै निकायले काम नगरेको मजदुरहरूको गुनासो छ ।

    गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बालुवा निकाल्ने मजदुर सधैँ एकैठाउँमा नबस्ने र फेरबदल भइरहने भएकाले उनीहरूका विषयमा निर्णय गर्न समस्या हुने बताउनुभयो । “ठेक्का लागेका ठाउँमा होस् वा मजदुरले थुन्सेमा निकालेको बालुवा होस्, टिपको हिसाबले कर त उठाउँछौँ । मजदुर हितका लागि चाहेर पनि केही गर्ने मेसो मिलेको छैन । मजदुरबाट औपचारिक रूपमा केही माग भएर आएमा छलफल गर्न सकिन्छ”, उहाँले भन्नुभयोे ।

    त्रिशूली नदीले छुने गजुरी, थाक्रे, गल्छी, बेनिघाट गाउँपालिकाले बर्सेनि रु पाँचदेखि रु १० करोडसम्मको ठेक्का लगाउने गरेको छ । रासस