Blog

  • एमाले महाधिवेशनः आजदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदे

    एमाले महाधिवेशनः आजदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदे

    काठमाडौं,मंसिर २८

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार सुरु हुँदैछ। शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो।

    देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको छ। तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्। महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो।

    महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागीले एक सय आठ रोपनी क्षेत्रफल भरिएको थियो। बन्दसत्रबाट एमालेले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

    देशभरका करिब साढे ६ लाख सदस्यबाट छनोट भएका दुई हजार दुई सय ६२ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन हुनेछ । एक अध्यक्ष, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् । नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको एमालेले जनाएको छ । सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन हुनेछ।

     

  • लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

    लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

    माधव सापकोटा
    मङ्सिर २८, चितवन

    श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् यसअन्तर्गत संचालित श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्) भरतपुर -४ , धर्मचोक , लङ्कु, चितवनको साधारण सभा तथा अधिवेशन हिजो शनिवार सम्पन्न भएको छ।

    मन्दिर सञ्चालक समितिका अध्यक्ष एवम् पीठाधीश स्वामी जगन्नाथाचार्यको सभापतित्व, हरिहर सन्न्यास आश्रम , देवघाटधामका स्वामी विमलानन्द सरस्वती महाराजको प्रमुख आतिथ्य तथा शुकदेव भागवत आश्रम गैंडाकोटका उत्तराधिकारी स्वामी लक्ष्मणाचार्यको विशिष्टतम आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा मन्दिर संचालक समितिका निवर्तमान सचिव भूमीश्वर सापकोटाले सचिवको प्रतिवेदन ,कोषाध्यक्ष ज्यो. माधव सापकोटाले लेखापरीक्षण प्रतिवेदन , गुरुकुल संचालक समितिका सचिव एवम् प्रधानाध्यापक नारायणप्रसाद सापकोटाले सचिवको प्रतिवेदन, गुरुकुल संचालक समितिका निवर्तमान कोषाध्यक्ष लक्ष्मीदेवी सापकोटाले गुरुकुलतर्फको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा वैदिक धर्म परिषद् नेपालका केन्द्रीय अध्यक्ष ध्रुवराज शर्मा अर्याल , शेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुरका मठाधीश स्वामी पद्मनाभाचार्य, हरिकीर्तन धार्मिक संस्थाका पीठाधीश स्वामी अनन्तप्रपन्नाचार्य( अखण्ड बाबा) , स्वामी रङ्गराजाचार्य , मन्दिरद्वारा संचालित गुरुकुलका पूर्व प्रधानाध्यापक दामोदर सापकोटा , डा. लक्ष्मीनाथ कंडेल , मन्दिरका संस्थापक धनेश्वर सापकोटा , जैसी टीकाराम सापकोटा , भूपतिदास सापकोटा लगायतको उपस्थिति रहेको थियो। सो कार्यक्रममा ८४ वर्ष पूरा भएका वृद्ध – वृद्धाहरूको सम्मानसमेत गरिएको थियो।

    मन्दिर संचालक समितिका निवर्तमान उपाध्यक्ष कमलनयन कंडेलको स्वागत मन्तव्य तथा गुरुकुलका विद्यार्थीहरूको वैदिक एवम् पौराणिक मङ्गलाचरणका साथ सुरुवात भएको उक्त कार्यक्रमको संचालन डा . गोपीनाथ कंडेलले गर्नुभएको थियो। अधिवेशनले आगामी ३ वर्षका लागि मन्दिर संचालक समितिमा २ जना सदस्य र गुरुकुल संचालक समितमा १ जना सदस्य पछि मनोनीत हुने गरी मन्दिर एवम् गुरुकुल संचालक समिति गठन गरेको छ। नेपाल संस्कृत विश्वविद्यालयका सह- प्रा. डा, रामचन्द्र कंडेल , रोमाकान्त कंडेललगायतको निर्वाचन समितिले निर्वाचनकार्य सम्पन्न गराएको थियो । मन्दिर संचालक समितिको अध्यक्षमा महन्त नै पदेन अध्यक्ष हुने विधानअनुरूप अध्यक्षमा स्वामी श्री जगन्नाथाचार्य , उपाध्यक्षमा राधादेवी शर्मा कँडेल
    सचिवमा डा. गोपीनाथ कँडेल ,सह- सचिवमा श्रीहरि ( हरीश )कँडेल,कोषाध्यक्षमा लक्ष्मीदेवी सापकोटा,सदस्यमा तुलसीदास ( तारानाथ) कँडेल,नारायण भण्डारी,कौशिला खरेल हरिनारायण सापकोटा चयन हुनुभएको छ।

    त्यस्तै अधिवेशनले कमलनयन कंडेलको अध्यक्षतामा श्री वैकुण्ठनाथ परमवैदिक विद्या-प्रतिष्ठानम्(गुरुकुलम्) सञ्चालक समिति गठन गरेको छ । नव गठित गुरुकुल समितिको
    उपाध्यक्षमा नृसिंह कँडेल , सचिवमा नारायणप्रसाद सापकोटा , सहसचिवमा श्रीहरि( हरीश) कँडेल,
    कोषाध्यक्षमा उमानाथ भण्डारी , सदस्यमा रामचन्द्र सापकोटा ,इन्दिरा भण्डारी ,उद्धव अर्याल, डा. गोपीनाथ कण्डेल ,लक्ष्मीदेवी सापकोटा चयन हुनुभएको छ।

  • तीन नेताले अडान नछाड्दा गुण्डुमा महासचिवको लागेन टुंगो

    तीन नेताले अडान नछाड्दा गुण्डुमा महासचिवको लागेन टुंगो

    काठमाडौँ २८ मङ्सि
    ११औँ महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाए । ओलीले बोलाएका नेतत्रय ११ औँ महाधिवेशनमा महासचिवको उम्मेदवारका आकांक्षी हुन् ।

    तीनै जनाले महासचिव दाबी गरेपछि अध्यक्ष ओलीले सहमति जुटाउन तीन नेतालाई बोलाएर छलफल गरेका हुन् । तर उक्त छलफलमा नेताहरूले अडान नछाड्दा सहमति जुट्न नसकेको स्रोतको दाबी छ ।

    स्रोतका अनुसार गुण्डुमा करिब ४ घण्टा भएको छलफलमा महासचिव शंकर पोखरेलले आफू महासचिवको उम्मेदवार बन्नबाट पछि नहट्ने अडान राखेका थिए । जवाफमा पृथ्वी सुब्बा गुरुङले पोखरेल महासचिव भएर एक कार्यकाल बिताएकाले महासचिव पद आफूलाई छाड्नुपर्ने आशय व्यक्त गरेका थिए । उता प्रदीप ज्ञवाली दुवै जना अन्य पदमा प्रतिस्पर्धा गरेर आफूलाई महासचिव बनाउन प्रस्ताव गरेका थिए ।

    ‘अध्यक्षसामु तीनै जना नेताले महासचिवमा दाबी राख्नुभयो’, गुण्डु स्रोतले भन्यो, ‘छलफलका क्रममा पीएसले शंकरजी कुनै हालतमा हुदैन भन्नुभयो ।’

    प्रदीप भए स्विकार्न सकिने पीएसको भनाई रहेपनि सहमति जुट्न नसकेको स्रोतको भनाइ छ । ओलीले महासचिव टुङ्ग्याएपछि मात्र अरू पद मिलाउन सकिने बताएका थिए । उनले उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णु पौडेल र गुरु बराललाई नै अघि सार्ने संकेत गरेका छन् ।

    त्यस्तै उपमहासचिवमा पनि ओलीको चाहना पृथ्वी सुब्बा, प्रदीप ज्ञवाली र विष्णु रिमाललाई नै दोहोर्‍याउने ओलीको तयारी छ । सचिवमा भने ४ जना नयाँ अनुहार र तीनजना पुरानैलाई स्थान दिने ओलीको तयारी रहेको बुझिएको छ । उता ईश्वर पोखरेल समूहमा लागेका नेताहरू छुट्टै प्यानल बनाएर चुनाव लड्ने तयारी गरेपछि ओलीले आफ्नो समूहका नेताहरूको व्यवस्थापनका लागि यस्तो तयारी गरेका हुन् ।

    यद्यपि ईश्वर समूहले पनि आफ्नो पक्षका ककसलाई पदाधिकारीमा अघि सार्ने भन्ने यकिन गर्न सकेको छैन । पोखरेल समूहले ओली समूहको प्यानल हेरेर मात्र आफ्नो प्यानल बनाउने रणनीति बनाएको छ । त्यसो गर्दा ओलीसँग असन्तुष्टलाई तान्न सकिने सो समूहको बुझाई छ ।

    ओलीलाई आफ्नै समूहका नेताहरूको व्यवस्थापन गर्न र चित्त बुझाउन कठिन भएपछि आज बिहान साढे सात बजेबाट सुरु हुने भनिएको बन्दसत्र नै प्रभावित बनेको छ । बन्दसत्र अघि अध्यक्ष ओलीले भृकुटी मण्डपमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् । ९ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव लैजान सक्ने एक नेताले बताए ।

    ‘नेताहरूको व्यवस्थापन कठिन भएको छ । त्यसका लागि पनि अध्यक्षले विधान संशोधनको प्रस्ताव लैजान सक्ने देखिन्छ’, एक नेताले भने, ‘सहमतिमै नेतृत्व चयनको प्रस्ताव पनि अघि बढ्न पनि सक्छ ।’

  • हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

    हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

    आज मिति ०८२ मंसिर २८ गते (१४ डिसेम्बर २०२५) आइतवार, पौष कृष्णपक्ष दशमी तिथि। हस्त नक्षत्र, ११ः२१ बजेपछि चित्रा। चन्द्रराशि कन्या।

    आजको राशीफल

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। समयमा अल्छी गर्ने प्रवृत्तिले पनि व्यवहारमा समस्या निम्त्याउनेछ। यात्रा र किनमेलमा अधिक खर्च हुनेछ। आफ्ना कमजाेरीकाे फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। अरूकै काममा समय बित्नेछ। तत्काल नयाँ काममा हातहाल्न नसकिएला। नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा पनि अरूले दाबी गर्न सक्छन्। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    माहोल रमाइलो रहनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।

  • एनपीएल : उत्कृष्ट खेलाडी बन्दै रोहितले पाए कार

    एनपीएल : उत्कृष्ट खेलाडी बन्दै रोहितले पाए कार

    काठमाडौँ मङ्सिर २७
    च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको हो ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गरेको हो । नेपाली राष्ट्रिय टिमका कप्तान पनि रहेका रोहितले एनपीएल दोस्रो सिजनमा २ सय ७६ रन बनाए । फाइनलमा उनले १२ बलमा १६ रन बनाए ।

    दुवै सिजन गरेर रोहितले प्रतियोगितामा बनाएको रन संख्या ५ सय ५५ पुगेको छ । बलबाट पनि उनी उत्तिकै सफल रहे । उनले फाइनलमा १२ रनमा तीन विकेट लिए । यसक्रममा उनले ह्याट्रिक गरेका हुन् ।

    यस सिजन उनले लिएको विकेट संख्या १० पुगेको छ । उत्कृष्ट खेलाडी चुनिएसँगै उनले ‘जेइको जे–५’ एसयूभी पनि जिते । उनी एनपीएल प्रतियोगिताको इतिहासमै सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् ।

  • लुम्बिनी बन्यो दोस्रो संस्करणको च्याम्पियन, फाइनलमा निरीह बन्यो सुदूरपश्चिम

    लुम्बिनी बन्यो दोस्रो संस्करणको च्याम्पियन, फाइनलमा निरीह बन्यो सुदूरपश्चिम

    काठमाडौं मङ्सिर २७
    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । लुम्बिनीले शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

    सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनलमा पराजित हुन पुग्यो । यसअघि पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमको टोली जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सकेको थियो ।

    दोस्रो सिजनको एनपीएलमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको यो नै सबैभन्दा कम स्कोर हो । यसअघि लुम्बिनी लायन्सविरुद्ध नै पोखरा एभेन्जर्स एक सय ११ रनमै अलआउट भएको थियो ।

    जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी लायन्सले नौ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो । दोस्रो सिजनको एनपीएलमा कुनै पनि टोलीले सबैभन्दा छिटो विजय लक्ष्य पूरा गरेको हो ।

    लुम्बिनी लायन्सको जितमा ओपनर ब्याट्सम्यान दिनेश अधिकारीले ४२ रनको योगदान गरे । उनले प्रारम्भदेखि नै आक्रामक पाली खेल्दै केवल १३ बलमा पाँच छक्का र एक चौका हिर्काए ।

    अर्का ओपनर डी’आर्ची सर्टले पनि १३ बलमा तीन चौकाको मद्दतले १४ रन बनाए । कप्तान रोहित पौडेलले १२ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन जोडे ।

    निरोसन डिक्वेलाले अविजित ११ रन बनाए । सुदूरपश्चिमका बलर हेमन्त धामीले दुई तथा अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

    त्यसअघि, सुदूरपश्चिमका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । टोलीको कूल स्कोर ५० रन पुग्नुअघि नै सुदूरपश्चिमले ६ विकेट गुमाइसकेको थियो ।

    प्रारम्भदेखि नै सुदूरपश्चिमका ब्याट्सम्यान लुम्बिनीका बलरको दबाबमा परेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा ओपनर इशान पाण्डेले ५१ बलमा एक चौकाको मद्दतले ३३ रन बनाए ।

    अर्का ओपनर विनोद भण्डारी शून्य रनमै पेभेलियन फर्किए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सिल्डन ज्याक्सन पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् ।

    अनुभवी खेलाडी आरिफ शेख पनि ६ रन बनाउँदै आउट भए । दीपक बोहरा र पुनित मेहराले त खातासम्म खोल्न सकेनन् ।

    ११ औं ओभरको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिए । रोहितले ११ औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी (१३ रन) लाई रुवेन ट्रम्पलम्यानद्वारा क्याच गराए ।

    सोही ओभरको पाँचौ बलमा रोहितले दीपक बोहरा (शून्य रन) लाई सन्दीप जोराद्वारा क्याच गराए । त्यसलगत्तै छैटौं बलमा रोहितले पुनित मेहरा (शून्य रन) लाई एलबीडब्लूको धरापमा पारे । छैटौँ विकेट गुमाउँदा सुदूरपश्चिम रोयल्सले केवल ४४ रन बनाउन सकेको थियो ।

    हरमित सिंहले ११ बलमा एक छक्काको मद्दतले १० रन बनाए । स्कट कुग्गेलियनले आठ बलमा एक छक्काको मद्दतले १० रन बनाए । हेमन्त धामीले अविजित सात र अविनाश बोहराले एक रन बनाए ।

    लुम्बिनी लायन्सका बलर रोहित पौडेलले ह्याट्रिकसहित तीन विकेट लिए । उनले किफायती बलिङ गर्दै केवल १२ रन खर्चिए ।

    शेर मल्लले पनि तीन विकेट हात पारे । उनले पनि निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल १८ रन खर्चिए ।

    रुवेन ट्रम्पलम्यानले पनि तीन विकेट लिए । उनले २.१ ओभरमा केवल तीन रन खर्चिए । तिलक भण्डारीले पनि एक विकेट कुम्ल्याए । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा चार रन पायो ।

  • एनपिएलको फाइनलमा लुम्बिनी लायन्स विजयी, पराजित बन्यो सुदुरपश्चिम

    एनपिएलको फाइनलमा लुम्बिनी लायन्स विजयी, पराजित बन्यो सुदुरपश्चिम

    चितवन, मंसिर २७ –

    एनपिएल सिजन २ को उपाधी लुम्बिनी लायन्सले जितेको छ ।

  • एमाले महाधिवेशन उद्घाटन : कुन दलबाट को-को जाँदैछन् ?

    एमाले महाधिवेशन उद्घाटन : कुन दलबाट को-को जाँदैछन् ?

    काठमाडौं मङ्सिर २७
    नेकपा एमालेको ११औं महाधिवेशन आजबाट सुरु हुँदैछ । अतिथि सत्कार समितिका अनुसार भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा मध्यान्हमा हुने उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघ/संस्थालाई बोलाइएको छ ।

    समितिी सदस्य सुनिता बरालका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएको छ ।

    तर, महाधिवेशनको उद्घाटनमा कांग्रेसबाट कार्यवहाक सभापति पूर्णबहादुर खड्का सहभागी हुँदैछन् । खड्काको सचिवालयले यसको पुष्टि गरेको छ ।

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई बोलाइएको थियो । तर, नेता देव गुरुङ सहभागी हुने भएका छन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले सुर्खेतमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा छ । यसकारण एमालेको महाधिवेशनको उद्घाटनमा गुरुङ जान लागेका हुन् ।

    अतिथि सत्कार समितिका सदस्य बरालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट महामन्त्री कविन्द्र बुर्लाकोटी उपस्थित हुने भएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजतन्त्र पार्टी (राप्रपा) राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाल कम्युनिस्ीट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ उपस्थित हुँदैछन् ।

    अतिथि सत्कार समितिका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पनि आमन्त्रण गरिएको थियो । तर, उनले अनुपस्थित हुने जानकारी गराएका छन् ।

    जनमत पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेत आमन्त्रण गरिएको छ ।

    जनमत पार्टीका अध्यक्ष सिके राउतले भने काठमाडौं बाहिर रहेको सन्देश पठाएका छन् ।

    सत्कार समितिका अनुसार नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल वार एशोसिएसन, नेपाल उद्योग परिसंघसहितका ६ वटा सामाजिक संस्थालाई समेत बोलाएको छ ।

  • एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

    एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

    काठमाडौँ मङ्सिर २७
    नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो ।

    एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।

    महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।

    महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईका अनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ ।

    महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।

    लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्त्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठुलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ ।

    टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको छ ।

    महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको जानकारी दिए ।

    महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झन्डा राखिने, १० वटा झन्डा सुरुमै फहराइने, एउटा झन्डा रिमोटबाट फहराउने तयारी गरिएको छ ।

    महाधिवेशन उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको छ । उद्घाटन अघि गठ्ठाघर र जगातीबाट भव्य र्‍याली गरी आउने व्यवस्थासमेत गरिएको छ ।

  • एमाले ११औँ महाधिवेशनको तयारी पूरा

    एमाले ११औँ महाधिवेशनको तयारी पूरा

    भक्तपुर, २६ मङ्सिर :
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघामा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएको हो ।

    विभागका संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनको तयारी पूरा भएको जानकारी दिँदै पार्टीको सचिवालयको अन्तिम बैठक पार्टी कार्यालय च्यासलमा आज सम्पन्न भएको बताउनुभयो ।

    कार्यक्रममा महाधिवेशन जनपरिचालनका संयोजक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले महाधिवेशनको उद्घाटनसत्रमा देशभरबाट नेता तथा कार्यकर्ताको उपस्थिति रहने बताउनुभयो । उहाँले कार्यक्रममा नेपालको एकताको प्रतीकका रूपमा दुई सयभन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन गरिने बताउनुभयो ।

    उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायतका नेताहरू आउने प्रतिबद्धता जनाइसकेको जानकारी दिँदै विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं नेताहरूको सहभागिता रहने बताउनुभयो । उहाँले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिहरूको शुभकामना सन्देश प्राप्त भइरहेको बताउनुभयो ।

    त्यसैगरी, महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ वटा जनसङ्गठनहरूको प्रतिनिधित्व रहनेगरी पाँच सय बढी स्वयंसेवक ड्रेसकोडमा खटिने व्यवस्था गरेको बताउनुभयो । जनसभालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने बताउनुभयो । पत्रकार सम्मेलनमा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र रातिसम्ममा सम्पूर्ण कार्य पूरा हुने बताउनुभयो ।