Blog

  • आगलागीमा परी वृद्धको मृत्यु

    आगलागीमा परी वृद्धको मृत्यु

    किमाथाङ्का (सङ्खुवासभा),मंसिर २८ –
    चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उहाँको घरमा आगलागी भएको थियो ।

    आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी रु १० लाख बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिनुभयो । रासस

  • एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

    एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

    २८ मंसिर, काठमाडौं ।
    नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ ।

    दशौं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो ।

    पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, विधान संशोधनसहित १९ जना पदाधिकारी बनाउने प्रस्ताव बन्द सत्रको हलमा प्रस्तुत हुनेछ ।

    गत भदौमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ जनाको बनाएको थियो । यसअघि दुई दिनअघि मात्रै बसेको सचिवालय बैठकले पनि विधान संशोधन नगर्ने र भदौमै पारित विधान अनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने निर्णय गरेको थियो ।

    तर, अन्तिम समयमा आइतबार बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउँदै विधान संशोधन गरेको हो ।

    जस अनुसार, अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना रहने पदाधिकारी संख्या बन्द सत्रको हलमा प्रस्तुत गर्ने निर्णय भएको हो ।

    त्यस्तै, पोलिटब्युरो सदस्यको एक तिहाइ स्थायी कमिटी बनाइने पनि उनले जानकारी दिए ।

    उनका अनुसार, पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । केन्द्रीय कमिटी भने २ सय ५१ बाट बढाएर ३ सय १ जनाको बनाइएको छ ।

  • चितवनमा डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

    चितवनमा डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

    चितवन, मंसिर २८ –
    जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गी र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ ।

    जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा मङ्सिरमा ११३ जनामा डेंङ्गी देखिएकामा यस वर्ष १२ जनामा यो रोगको सङ्क्रमण भेटिएको छ । कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार यस आवमा पाँच हजार ९२३ जनाको नमुना परीक्षण गरिएकामा अहिलेसम्म १७४ जनामा डेङ्गीको सङ्क्रमण देखिएको हो ।

    गत आवकोे मङ्सिरसम्ममा एक हजार ४६३ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । गत आवभर १७ हजार ३५३ जनाको परीक्षण गर्दा एक जनाको मृत्यु भएको थियो ।

    जिल्लामा गत वर्ष साउनमा १६०, भदौमा ३४९, असोजमा ४८७, कात्तिकमा ३३४ र मङ्सिरमा ११३ जनामा डेङ्गीको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष साउनमा ४२ जना, भदौमा ४४ जना, असोजमा २९ जना, कात्तिकमा ४७ जना र मङ्सिरमा १२ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।

    गत वर्षको तुलनामा यो वर्ष चितवनमा डेङ्गीको सङ्क्रमण कम पाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस लागेसँगै यो रोगको सङ्क्रमण घट्दै जान्छ ।”

    यो रोग बढीमात्रामा सहरी क्षेत्रमा देखिएको उहाँले जानकारी दिनुभयो । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । डेङ्गी प्रजाति कुन हो र कसरी यसको विकास भएको छ भन्ने अध्ययन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । रासस

  • खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

    खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने

    चितवन, मंसिर २८-
    चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा हरिभद्र आचार्यका अनुसार यही डिसेम्बर १७ तारिखमा कतार पठाउन लागिएको हो । भैरहवा विमानस्थलबाट हात्ती पठाउन लागिएको हो । चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उहाँले बताउनुभयो । जहाजको समय मिलाएर बाटोको अवस्था हेरी सौराहाबाट अघिल्लो दिन हात्ती लगिने तयारी छ ।

    कतारको दोहास्थित अलखोर पार्कको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली सात वर्ष र खगेन्द्र प्रसाद छ वर्षका छावा हुन् । रुद्रकली पूजाकली र खगेन्द्र कोशीकलीको बच्चा हो । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरीले जानकारी दिनुभयो ।

    हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माण गरेको छ । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । हात्तीसँगै निकुञ्जका पशु प्राविधिक दिनेश ढकालको नेतृत्वमा दुई जना हात्तीका माउते पनि कतार जाँदै हुनुहुन्छ ।

    उहाँहरुले हात्तीले त्यहाँ व्यवस्थापन मिलाएर फर्कनुहुनेछ । यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिइँदै आइएको छ । आचार्यका अनुसार पहिलो पटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागिएको हो ।

    विसं २०४४ मा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये छको मृत्यु भएको छ ।

    यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ गैँडा, १० घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । सोपश्चात् कतार सरकारको कूटनीतिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाउन लागिएको हो । रासस

  • सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी चितवनमा घोषणा

    सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी चितवनमा घोषणा

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, मंसिर २७ –
    नेपाल प्रहरीका पूर्व प्रमुख सवेन्द्र खनालले पार्टी खोलेका छन् । चितवनको भरतपुरमा एक कार्यक्रमका बीच खनाल सभापति रहेको समुन्नत नेपाल पार्टी (सनेपा) को घोषणा गरिएको हो ।

    ‘समुन्नत नेपाल – समान अवसर, सुरक्षित भविष्य, सम्मानजनक जीवन’ लाई राष्ट्रिय दृष्टि मानेर पार्टी घोषणा गरिएको हो । यो दृष्टि नारा नभएर राज्य पुननिर्माणको एकीकृत खाका रहेको पार्टीको धारणा छ ।

    ३९ सदस्यीय केन्द्रीय कमिटी रहने गरी पार्टी घोषणा गरिएको छ । कमिटीको उपसभापतिहरुमा निर्मल थापा र सरिता यादव, महामन्त्रिमा बालकृष्ण पण्डित, सहमहामन्त्रिहरुमा शेख कस्मुद दिन र उत्तर कुमार श्रेष्ठ, कोषाध्यक्षमा शान्ता भट्ट, प्रवक्तामा सुदर्शन कार्की र सह प्रवक्तामा प्रज्वल भट्टराई रहेका छन् । अरु सबै सदस्य रहने गरी पार्टी केन्द्रिय कमिटी बनेको छ । पार्टीले संगठन विस्तार गर्दै मातहतका अन्य कमिटीहरु पनि निर्माण गर्ने बताएको छ ।

    पार्टी घोषणा गर्दै सभापति खनालले भने, ‘नेपाल असफल देश होइन । नेपाल गलत ढंगले चलाइएको देश हो । यदि हामी राजनीति बदल्न तयार छौं भने समुन्नत नेपाल सम्भव छ ।’

    जेन्जीले राखेका मागहरुलाई पूरा गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेर पार्टी खोलिएको सभापति खनालले बताए । अहिलेको सरकारसहित नयाँ र पूराना कुनै पनि पार्टीले जेन्जीको भावनालाई बुझ्न नसकेको उनको भनाइ छ । जेन्जीले जसलाई सरकारमा पठाए तिनैले जेन्जीलाई अहिले आएर अलपत्र बनाएको खनालले दाबी गरे ।

    पार्टीले वैचारिक आधारलाई तीन वटा बुंदामा राखेको छ । पहिलोमा छ, प्राग्मेटिक प्रोस्परिज्म । दोश्रो, समुन्नत नेपाल पार्टी न त कटट्र वाम हो, न कटट्र दक्षिण । तेश्रो बुँदामा छ, हाम्रो दर्शन प्राग्मेटिक प्रोस्परिज्म हो । यसलाई पार्टीले अर्काे ६ वटा बुँदामा सारका रुपमा प्रस्तुत गरेको छ ।

    पहिलोमा छ, समृद्धि अनिवार्य छ । दोश्रो, समृद्धि उत्पादान, सीप, उद्यम र नवप्रवर्तनबाट आउँछ । तेश्रो, समावेशन दया होइन–आर्थिक बुद्धिमता हो । चौथौं, विकास वातावरणसँग द्वन्द्व होइन सहकार्य हो । पाचौं, नीति भावना होइन–डाटा र प्रमाणमा आधारित हुनुपर्छ । छैठौं, हामी अन्ध बाजरवाद र राज्य–नियन्त्रित असफलता दुबै अस्वीकार गर्छाैं ।

    पार्टी घोषणा गर्दै सवेन्द्र खनालले ग्रामिण समृद्धि बिना राष्ट्रिय स्थिरता संभव नभएकाले ग्रामीण विकासमा ध्यान दिँदै कृषि विकासलाई पार्टीले प्रमुख प्राथमिकतामा राखेको बताए । उनले कक्षा १२ सम्म रोजगारयोग्य सीप प्रदान गर्ने र सन् २०३५ सम्ममा उच्च शिक्षा दर ४० प्रतिशत पु¥याउने पार्टीको लक्ष्य रहेको बताए । स्वास्थ्य खर्चका कारण कोही पनि गरिब नबन्ने गरी स्वास्थ्यमा सुधार ल्याइने उनले बताएका छन् । १० वर्षमा १५ लाख शिष्ट रोजगारी सृजना गर्ने उनले बताए ।

    पाइलट–इभ्यालुएट–स्केल का आधारमा शासन सञ्चालन गर्ने खाका पार्टीले बनाएको छ । जसलाई ४ वटा बुँदामा व्याख्या गरिएको छ । पहिलो, डाटामा आधारित निर्णय, दोश्रो स्वतन्त्र समीक्षा, तेश्रो सार्वजनिक ड्यासबोर्ड, चांैथो आवश्यक परे कोर्स करेक्सन ।

    पार्टीले चुनाव चिन्हमा महिला पुरुषले हात मिलाएको राखेको छ । समान हक हुनुपर्छ भन्ने मान्यताका आधारमा महिला पुरुषले हात मिलाएको चुनाव चिन्ह राखिएको पार्टीले जनाएको छ । पार्टीले सात तारे रातो झण्डा, झण्डाका बोर्डरमा निलो रंग राखेको छ ।

    पार्टी घोषणा अघि भरतपुरको रिंग रोडमा मोटरसाइकल र्याली निकालिएको थियो ।

  • मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

    दमौली (तनहुँ), मंसिर २८ –
    भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ । जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उहाँले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको हो ।

    मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पश्चिम खण्डमा भौतिक प्रगति ५९ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत भएको छ ।

    आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमीमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

    उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा पुल निर्माणाधीन छ । गत आर्थिक वर्षमा पश्चिम खण्डको २५ किमी सडक चार लेनमा स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव शून्य छ किमी कालोपत्र भएको आयोजना प्रमुख कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम ११ वटै सम्पन्न भएका छन् ।

    छैसठ्ठी कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ६५ र ५१ दशमलव पाँच किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किमी सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । आगामी पुस १६ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ जेठ ३ गते रु सात अर्ब ४० करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । रासस

  • एमाले केन्द्रीय कमिटी बैठक सुरु

    एमाले केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडौँ, मंसिर २८-
    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो ।

    बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए । यो बैठक कार्यकालको अन्तिम बैठक हो ।

    भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र भने दिउँसो १ बजेका लागि सारिएको छ ।

  • सुनको भाउ हालसम्मकै उच्च

    सुनको भाउ हालसम्मकै उच्च

    काठमाडौँ, २८ मङ्सिरः
    गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा रु दुई हजार २ ०० ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५८ हजार ८०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८२५ निर्धारण भएको छ ।

    शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५६ हजार ६००निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ९०५ मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

  • चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

    चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

    चितवन, २८ मङ्सिर-
    चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।

    पशु सेवा कार्यालय प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग पुष्टि भएको छ । रत्ननगरमा रहेका गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट नतिजा आएको छैन । मङ्सिर ११ गते भरतपुर महानगर क्षेत्रका गाईको नमूना खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा पठाइएको र १६ गते नतिजा आएको उहाँले बताउनुभयो ।

    कार्यालय प्रमुख डा न्यौपानेले हाल रोग देखिएका क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउने काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोग लागेको क्षेत्रमा खोप लगाउने काम भइरहेको छ । अब जिल्लाभरिनै अभियान चलाउने योजना छ ।”

    भाइरसका कारण सर्ने यो रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती भए गर्भ तुहिने, दूध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दानापानी नखानेजस्ता लक्ष्यण देखिने गरेको छ । यो रोग बढी मात्रामा गाईभैँसी र बुङ्गुरमा देखिने गरेको कार्यालय प्रमुख डा न्यौपानेले बताउनुभयो ।

    जिल्लाका सबै पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको भए पनि बाहिरबाट खरिद गरेर ल्याइएका पशुमा यो रोग देखिएको हुनसक्ने जनाइएको छ । बाहिरबाट खरिद गरेर ल्याएका पशुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र आफ्नो बथानमा मिसाउन र सङ्क्रमिण देखिएका पशुलाई समेत छुट्टै राखेर उपचार गर्न कार्यालयले आग्रह गरेको छ ।

    “जङ्गली जनावरबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी सङ्क्रमण देखिने गरेको छ । यसमा सतर्कताका साथै हरेक फार्ममा जैविक सुरक्षाको विधि अपनाएर वर्षमा दुईपटक खोरेतविरुद्धको खोप लगाउन हाम्रो आग्रह छ”, कार्यालय प्रमुख न्यौपानेले भन्नुभयो ।

  • एमालेको बन्दसत्र १ बजेलाई सर्‍यो, त्यसअघि केन्द्रीय कमिटी बैठक

    एमालेको बन्दसत्र १ बजेलाई सर्‍यो, त्यसअघि केन्द्रीय कमिटी बैठक

    काठमाडौं मङ्सिर २८

    एमालेको बन्दसत्र १ बजेलाई सर्‍यो, त्यसअघि केन्द्रीय कमिटी बैठक

    नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत बन्दसत्रको समय फेरि सरेको छ ।

    यसअघि आइतबार बिहान ८ बजे बोलाइएको बन्दसत्र दिउँसो साढे १२ लाई सारिएको थियो ।

    त्यसअघि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बिहान ९ बजेका लागि भनेर तय गरिएको केन्द्रीय कमिटी बैठक अब बस्दैछ ।

    केन्द्रीय कमिटी बैठक बस्न ढिलाइ भएका कारण बन्दसत्र धकेलिएको हो । बन्दसत्र आइतबार दिउँसो १ बजेदेखि शुरू हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

    त्यसअघि केन्द्रीय कमिटी बैठकमा पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमै बस्दैछ ।

    एमालेको महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने चर्चा छ ।