एनपिएलः च्याम्पियन बन्ने दाउमा सुदूरपश्चिम र लुम्बिनी

काठमाडौँ, २६ मङ्सिरः 
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि शनिबार साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा उपाधिका लागि दिउँसो ३ः३० बजे भिडन्त हुँदैछ ।

साविकको विजेता खेलबाट बाहिरिएपछि यस संस्करणमा नयाँ च्याम्पियन बन्ने पक्का छ । सुदूरपश्चिम र लुम्बिनी उपाधि रक्षाका लागि तयार छन् । लुम्बिनीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित पौडेलले सम्हालेका छन् । सुदूरपश्चिमको जिम्मा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान रहेका दीपेन्द्रसिंह ऐरीको रहेको छ ।

रोयल्स लिग चरण खेल र साविक उपविजेता भएकाले लायन्सभन्दा बलियो देखिएको छ । लिग चरणका सातमध्ये चार खेल जितेर पहिलो क्वालिफायर खेल्दै रोयल्स उपाधि नजिक पुगेको हो । रोयल्स गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेट पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

लायन्स यो वर्ष लिग चरणका सातमध्ये चार खेलमा विजयी हुँदै इलिमिनेटर र दोस्रो क्वालिफायर आफ्नो पक्षमा पार्दै फाइनलमा सुरक्षित भएको हो । लुम्बिनी गत संस्करणमा लिग चरणबाटै आउट भएको थियो ।

जारी सिजनमा एकपटक मात्रै यी दुवै टोली एकआपसमा भिडेका हुन् ।  लिग चरणको उक्त खेलमा रोयल्स सात विकेटले विजयी भएको थियो । गत संस्करणमा एकपटक भेट भएकामा लायन्स ४५ रनले पराजित भएको थियो । तेस्रो भेट दुवैका लागि महत्त्वपूर्ण रहेको छ । जसले जित हात पार्‍यो । त्यसले खेल मात्रै जित्ने छैन । च्याम्पियन बन्दै इतिहास लेखाउने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *