Category: मनोरञ्जन

  • महेशको ‘भाइरल गोर्खे’मा ऋषि धमलाको ईन्ट्री

    महेशको ‘भाइरल गोर्खे’मा ऋषि धमलाको ईन्ट्री

    काठमाडौं, १३ बैशाख ।

    कमेडी जनराको चलचित्र ‘भाइरल गोर्खे’मा चर्चित पत्रकार ऋषि धमला अनुबन्ध भएका छन् । धमलाले आज (बिहीबार) चलचित्रका लागि कागजी सम्झौता गरेका हुन् ।

    चलचित्रमा धमलाले पत्रकारको भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिए । चलचित्रको छायाँकन बैशाख ९ गते लम्जुङको भुजुङ गाउँबाट सुरु भएको छ । छायाँकनका लागि बैशाख तेस्रो साता धमला भुजुङ गाउँ जानेछन् ।

    पत्रकार ‘धमलाको हमला’ कार्यक्रम निकै चर्चित छ । चितवनका युवा उद्यमी महेश लामिछाने र विशाल ताम्राकार निर्मित चलचित्रमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, लक्ष्मी गिरी, वुद्धि तामाङलगायतको मूख्य भूमिका छ । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने चलचित्रमा अमर महर्जनको छायांकन रहनेछ ।

    सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावको कथामा निर्माण हुने चलचित्रको छायाँकन भुजुङसहित काठमाडौं, गोरखा र चितवनमा हुने निर्माता लामिछानेले बताए ।

  • चितवनका लामिछानेले चलचित्र ‘भाइरल गोर्खे’ निर्माण गर्दै, सौगात र सृष्टि प्रमुख भूमिकामा रहने

    चितवनका लामिछानेले चलचित्र ‘भाइरल गोर्खे’ निर्माण गर्दै, सौगात र सृष्टि प्रमुख भूमिकामा रहने

    चितवन, ०७ बैशाख
    चितवनका युवा उद्यमी महेश लामिछानेले चलचित्र निर्माण गर्ने भएका छन् । द जिएमआई एकेडेमीका सञ्चालक लामिछानेले विशाल ताम्राकारसँग मिलेर चलचित्र ‘भाइरल गोर्खे’ निर्माण गर्न लागेका हुन् ।

    सामाजिक संजालले निम्ताएको सकारात्मक र नकारात्मक प्रभावको कथामा निर्माण हुने चलचित्रलाई ‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्नेछ्न् । चलचित्रमा अहिलेका चर्चित अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा रहनेछन् ।

    निर्माण घोषणासँगै चलचित्रको टिजर पोस्टर पनि सार्वजनिक गरिएको छ । जसमा सौगातको क्यारेक्टर लुक्स देखाईएको छ । कमेडी जनरामा बन्ने चलचित्रमा हाल सामाजिक सन्जालमा भाइरल हुने होडबाजी प्रवृत्तिलाई देखाइने निर्माता लामिछानेले जानकारी दिए ।

    चलचित्रमा बुद्धि तामाङ, लक्ष्मी गिरी लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । अमर महर्जनको छायांकन रहने चलचित्र केही दिनमा फ्लोर जाँदैछ । चलचित्रको छायांकन लमजुङ र गोर्खामा हुने निर्माता लामिछानेले बताए । भरतपुर निवासी लामिछाने चितवनका युवा उद्यमीको रुपमा परिचित छन् ।

  • तामाङ सेलोको ‘ओइ सोल्टिनी’ सार्वजनिक

    तामाङ सेलोको ‘ओइ सोल्टिनी’ सार्वजनिक

    काठमाडौँ, २४ चैत
    गायक अयुमी तामाङको तामाङ सेलोको म्युजिक भिडियो ‘ओइ सोल्टिनी’ सार्वजनिक भएको छ ।

    नेपाली सेनाका उपरथी डा आशबहादुर तामाङको गीत तथा सङ्गीत रहेको उक्त म्युजिक भिडियोको निर्देशन अनिश क्षेत्रीले गर्नुभएको हो । अयमी तामाङ, सिद्धार्थ सिल्वाल, अनिश क्षेत्रीलगायतको अभिनय रहेको सो म्युजिक भिडियो टयुटुव मार्फत केही समयअघि सार्वजनिक गरिएको हो ।

    नेपाली लोकभाका तामाङ सेलोको संरक्षण एवं नयाँ पुस्तालाई लोकभाकाप्रति चाख जगाउनु रहेको गीतकार डा तामाङले बताउनुभयो । अष्ट्रेलियामा अध्ययनरत अयमी आफनी हजुरआमा धनमाया तामाङको विँडो थाम्ने सिलसिलामा ‘ओई सोल्टिनी’को म्युजिक भिडियोका लागि काठमाडौँ आउनुभएको थियो ।

    उहाँ अष्ट्रेलियामा आधुनिक पप गीत समेत गाउँदै आउनुभएको छ । अयमीका पिता आशबहादुर खासगरी लोकगीतका साथै राष्ट्रियता र प्रकृति संरक्षण सम्बन्धी गीत लेखनमा स्थापित हुनुहुन्छ ।

  • चलचित्र भवनमा ‘महाजात्रा’ र ‘बद्री बहादुर’ प्रदर्शनमा

    चलचित्र भवनमा ‘महाजात्रा’ र ‘बद्री बहादुर’ प्रदर्शनमा

    काठमाडौँ, २३ चैत
    चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । ‘बद्री बाहदुर’ को प्रदर्शन आजदेखि सुरु गरिएको हो भने ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शनरत छ । शोभित बस्नेतले निर्माण तथा निर्देशन गर्नुभएको ‘बद्री बहादुर’ हास्य विधामा आधारित चलचित्र हो । निर्देशक बस्नेतले ‘धेरै हाँस्न नसक्नेले यो चलचित्र नहेर्नु होला’ भन्दै प्रचारसमेत गर्नुभएको छ ।

    “बद्रीबहादुर अहिलेको समाजमा देखिने पात्र हो, जसको भोगाइले मनोरञ्जनसँगै विविध पक्षलाई उजागर गरेको छ, यसले दर्शकलाई केही न केही सन्देश अवश्य दिन्छ”, निर्देशक बस्नेतले भन्नुभयो ।

    चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी कार्यकारी निर्माता रहनुभएको चलचित्रमा जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजङ्ग बस्नेत, धीरेन शाक्य, वर्षा चौलागाईंलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

    ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ आजदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । आपत्तकालीन रुपमा आइलाग्ने धन व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने चुनौतीलाई रोचक शैलीमा प्रस्तुत गरिएको चलचित्रलाई लेखन तथा निर्देशन प्रदीप भट्टराईले गर्नुभएको हो ।

    “जात्रा शृङ्खलाको मनोरञ्जनसँगै यसपटक राष्ट्रिय विषयलाई जोडेका छौँ, तीन पात्रहरूको जात्रामा कलाकार थपेर यसपटक महाजात्रा गरेका हौँ, चलचित्र हेर्दा मनोरञ्जनसँगै संदेश पनि ग्रहण गर्नु हुनेछ”, निर्देशक भट्टराईले भन्नुभयो ।

    चलचित्रमा अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुभएको ‘महाजात्रा’ नेपालसँगै विश्वभर व्यावसायिक रुपमा समेत सफल भएको छ ।

    निर्माता खत्रीले चलचित्रले नेपालमा दुई सातामा रु १० करोड १५ लाखको कूल व्यापार (ग्रस कलेक्सन) गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल मात्र नभई विश्वभर चलचित्र गरिरहेको व्यापारले बजार विस्तार गर्न र बलियो बनाउन टेवा पुग्नेछ, सपरिवारलाई दर्शक बनाएर चलचित्र भवनसम्म ल्याएर खुसी बनाएर पठाउन पाउँदा हाम्रो समूह नै कृतज्ञ छ ।” -राष्ट्रिय समाचार समिति(रासस)

  • मदिरा पिएर होहल्ला गरेपछि गायक राजेश पायल राई पक्राउ

    मदिरा पिएर होहल्ला गरेपछि गायक राजेश पायल राई पक्राउ

    काठमाडाैं चैत २२,

    गायक राजेश पायल राई पक्राउ परेका छन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राईलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राईसहित अरु चार/पाँच जना छन् । उनीहरू पनि कलाकार नै रहेको प्रहरीको भनाइ छ ।

    उनीहरूलाई मध्यराति मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

    मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेपछि प्रहरी पुगेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

    उनीहरूलाई आजै आफन्तको जिम्मा लगाइने प्रहरीको भनाइ छ ।

  • दोलखाको घुम्नैपर्ने शैलुङका सय थुम्का : कसरी पुग्ने शैलुुङ सय थुम्का ?

    दोलखाको घुम्नैपर्ने शैलुङका सय थुम्का : कसरी पुग्ने शैलुुङ सय थुम्का ?

    दोलखा, १७ चैत
    दोलखाको शैलुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीयस्थलका रूपमा परिचित छ । समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ जिल्लाको दक्षिण, पश्चिममा पर्छ । शैलुङ डाँडा प्रकृतिका हिसाबले मात्रै सुन्दर नभई धार्मिकस्थलका रूपमा पनि प्रसिद्ध छ । यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेलाजस्ता चाडपर्वमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

    शैलुङ डाँडामा एक सय वटा मनमोहक थुम्का छन् । तिनै थुम्काथुम्कीलाई सय थुम्की भनेर पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो । ती प्रत्येक थुम्काबाट पर्यटकले आकर्षक दृश्यावलोकन गर्न पाउँछन् । शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । स्थानीयका अनुसार तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको थुम्का भन्ने बुझिन्छ । शैलुङ डाँडाबाट मनमोहक गौरीशङ्कर, सगरमाथा, माछापुच्छ्रे , गणेश हिमाललगायतका हिमाल र काठमाडौँ उपत्यकासँगै तराईका केही भाग देखिन्छ । यिनै सुन्दर दृश्यावलोकन गर्ने ठाउँका रुपमा सय थुम्का पर्यटकीय गन्तव्य बनेको स्थानीय सोभित उप्रेतीले बताउनुभयो । धेरै आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा हिजोआज सय थुम्का पर्न थालेको उपे्रतीको भनाइ छ ।

    यहाँ १२ वर्षमा एकपटक खुल्ने शैलुङ्गेश्वर महादेवको मन्दिर, गोदावरीजस्ता धार्मिकरूपले चर्चित गुफा छन् । चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफेमुनाल, चौँरी र विभिन्न जातजातिका चराचुरुङ्गी एवं जङ्गली जनावरले शैलुङका डाँडाकाँडामा जोकोही रमाउन सक्छन् । सय थुम्कामा हिउँदका बेला सेताम्मे हिउँ पर्ने भएकाले हिउँ खेल्नेको भीड लाग्ने गर्दछ । हिउँ खेल्नकै लागि टाढाटाढाका पर्यटकसमेत आउँछन् । उनीहरु हिउँमा खेल्ने र सेताम्मे शैलुङको दृश्यसँगै प्राकृतिक स्वाद लिने गर्दछन् ।

    शैलुङको कोसेली के ?
    शैलुङको अर्को महत्वपूर्ण विशेषता भनेको यहाँको चौँरीको दूधका परिकार हुन् । यहाँका प्रायः सबै स्थानीयले चौँरीपालन गर्छन् । चौँरीको दूधबाट उनीहरूले मीठो छुर्पी, चिज उत्पादन गर्छन् । ती उत्पादन विभिन्न ठाउँमा लगेर बिक्री गरिन्छ । यहाँको चर्चित मुडेको आलु बिक्री केन्द्र मुडे भए पनि उत्पादित क्षेत्र शैलुुङ हो । स्थानीयले भेडाबाख्रा पाल्ने गरेका छन् । शैलुङमा व्यावसायिक तरकारीखेती गरिन्छ । लेकको चिसो हावापानीमा उत्पादित आलुु, काउली, बन्दा, केराउ, मटरकोसा गाडीमा काठमाडाँै लगेर बिक्री गरिन्छ । बारीबाटै अग्र्यानिक कोसेलीका रुपमा आफन्तलाई तरकारी लैजाने चलन छ । घुम्न आउने पर्यटकले काउली र बन्दाको गुन्द्रुुक कोसेलीका रुपमा लैजाने गर्छन् ।

    ग्रेटवालाको झल्को
    शैलङडाँडा पुुग्न नपाउँदै दोलखाको कालापानीबाट चीनको ग्रेटवालको झल्को दिने ढुुङ्गाको सिँढीसहितको पर्खाल बनाइएको छ । यो सिंढीबाट शैलुुङका थुम्कामा जान सहज हुने स्थानीयको भनाइ छ । सिँढी नहुँदा विगतमा पर्यटकले बाटो भुल्ने गरेका थिए । बाटो भुल्दा निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो । तर अहिले त्यो बाध्यता छैन ।

    कसरी पुुग्ने शैलुुङ सय थुम्का ?
    शैलुुङ क्षेत्र पुुग्न काठमाडौँबाट मुडेसम्म पुुगेपछि चरिकोटतर्फका लागि दायाँबाट बाघखोरतर्फ जानुपर्छ । लामोसाँघुु जिरी सडक खण्डअन्तर्गत तामाकोसी बजार हुँदै चर्णावतिधाम पुगेर फस्कुु हुँदै पनि शैलुुङ डाँडामा पुुग्न सकिन्छ । रामेछापको दोरम्बाबाट शैलुङ पुग्ने अर्को बाटो छ । सबैभन्दा सजिलो र सहज यात्रा भने काठमाडौँबाट दोलखा जाने बाटोमा पर्ने मुडेबाट चरिकोट जाने सडक छोडेर दायाँको सडक भएर जान सकिन्छ । करिब एक सय ३० किलोमिटर सडक पार गरेपछि शैलङको सय थुम्का पुुग्न सकिन्छ । यहाँ बास बस्नका लागि पर्यटक लक्षित होटल प्रशस्त खुलेका छन् ।

    यहाँ पाइने जडीबुटी
    शैलुङका सय थुम्कामा विभिन्न किसिमका खानी हुनसक्ने स्थानीयको अनुमान छ । तर हालसम्म कुनै अनुसन्धान र उत्खनन भएको छैन । यहाँ बहुमूल्य जङ्गली जडीबुटीका रुपमा पाइने पाँचऔँले, चिराइतो, मझिठो, च्यातुलगायत प्रशस्तमात्रामा पाइन्छ ।

    पर्यटक सुरक्षा
    सय थुम्का क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेपछि स्थानीयको अगुवाइमा प्रहरी चौकी माग गरिएको छ । जिल्ला प्रशासन कार्यलय दोलखाले प्रहरी चौकीका माग भए पनि निर्णय भईनसकेको जनाएको छ । यहाँ घुम्न आउने पर्यटकलाई स्थानीयले सहज वातावरणमा डुल्न घुम्नका लागि सहजीकरण गर्ने गरेका छन् । -राष्ट्रिय समाचार समिति (रासस)

  • एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने

    एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने

    काठमाडाैं, चैत १२-

    गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।

    झापाबाट उनीहरूको विवाह हुन लागेको हो।

    झापाकी एलिना र बागलुङका विष्णुले पारिवारिक सल्लाहमै केही समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।

    एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्। ‘के माया लाग्छ र?, मिनरल वाटर, धोकेबाज हौं तिमी, कट्टा हान्दिन्छु’ जस्ता गीतहरू उनका निकै चलेका गीत हुन्। यता गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्। उनी गीतसंगीतमा समेत सक्रिय छन्।

  • नारायणीमा किनारमा श्याम रानाको प्रस्तुतिमा दर्शकको ‘क्रेज’, सँगै गाए ‘रेलै सलल’

    नारायणीमा किनारमा श्याम रानाको प्रस्तुतिमा दर्शकको ‘क्रेज’, सँगै गाए ‘रेलै सलल’

    चितवन, चैत ११–

    नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा लोक तथा दोहोरी गायक श्याम रानामगरले उधुम मच्चाएका छन्। पछिल्लो समय ‘रेलै सलल’ गीतबाट थप लोकप्रिय बनेका गायक मगरले गीत गाउँदा दर्शकले पनि सँगै गाएर नाचेका थिए।

    उपस्थित दर्शकको सङ्ख्या देख्दा श्याम रानाको ‘क्रेज’ कति रहेछ भन्ने प्रष्टै देखिन्थ्यो। यतिसम्मकि रेलै सलल गीत दुई पटकसम्म दोहो¥याएका उनले दर्शकको रोजाइका कारण प्रत्यक्ष दोहोरी पनि यही भाकामा गाउनुपर्‍यो। आयोजकका अनुसार आइतबार एकै दिन दश हजार बढी दर्शकले अवलोकन गरेका थिए। महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार श्याम रानाको प्रस्तुतिसँगै फागु पर्व पनि परेको हुँदा दर्शकको उपस्थिति बाक्लो देखिएको हो।

    यसका साथै ‘हाइ मेरी मायालु’ (कौडा), ‘झोरा’लगायतका गीत गाएका थिए। फागु खेलेर रंगिन बनेका दर्शकहरूले श्याम रानाको गीतमा सँगसँगै नाचेर साथ दिएका थिए।

    श्याम रानामगर भन्दा अघि भोजपुरी गायक सुनिल पण्डितले ‘बाँझो खेतमा’को भोजपुरी भाषाबाट गायन सुरू गरेका पण्डितले ‘मिनरल वाटर’लगायत आधा दर्जनजति गीत सुनाएर बिखा भए । साँझ पर्दै गर्दा मञ्चमा गायिका साहिमा श्रेष्ठ उक्लिइन्। उनले पनि सन्ध्याकालीन दर्शकलाई भरपुर मनोरञ्जन दिलाइन्।

    दिनभर विभिन्न जातीय साँस्कृतिक कार्यक्रमले मनोरञ्जन प्रदान गरेको थियो। थारू र गुरूङ जातिको साँस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। यही क्रममा सोमबार दोहारी गायिका ज्योति मगर र जादुगर बलराम सरकारको प्रस्तुति रहने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए।

    महोत्सव अवधिभर हरेक दिन आदिवासी जनजातिका साँस्कृतिक प्रस्तुति रहँदै आएको छ। अन्तिम दिनसम्म यो क्रम जारी रहने साँस्कृतिक संयोजक मगरले जानकारी दिए। यसका साथै आदिवासी जनजाति समुदायमा प्रचलित मौलिक खानाका परिकारसमेत पस्किँदै आएको छ।

    प्रवेशद्वारबाट भित्र छिर्नासाथ देखिने आदिवासी जनजाति परिसरमा मगर र गुरूङ समुदायले साँस्कृतिक घरसँगै परम्परागत खानाका परिकार राखेर बिक्री वितरण गरिरहेको छ।

  • मीठास पुरानै होली गीतमा

    मीठास पुरानै होली गीतमा

    काठमाडौँ, ११ चैत
    होली रङको मात्रै पर्व होइन, यो सङ्गीतको पनि पर्व हो । होलीमा रङ जस्तै गीत सङ्गीतको स्थान पनि महत्वपूर्ण छ । त्यसो त हाम्रा हरेक पर्वमा गीत सङ्गीतको विशेष स्थान छ । तीज, दसैँ, तिहारलगायतका पर्वमा जस्तै होलीमा पनि सङ्गीतको विशेष महत्व छ । सङ्गीत विना हाम्रा पर्व अधुरा छन् ।

    ‘होलीले रङ्ग्यायो मेरो चोली…’ चलचित्र अधिकारको यो गीत हरेक जसो होलीमा नछुट्ने गीतमा पर्छ । होली सुरु भएसँगै रेडियो, टेलिभिजन र युट्युवमा यो गीत बज्न सुरु भइहाल्छ ।

    राजेश हमाल, मिथिला शर्मा, कृष्टी मैनाली, प्रकाश थापा, राजाराम पौडेल, बसुन्धरा भुसाल र नीर शाहलगायतका कलाकारको नृत्य रहेको यो गीत मौलिकताकै कारण आजसम्म लोकप्रिय भएको धेरैको बुझाइ छ ।

    “इन्द्रेणी रङ लिइ आयो होली, फागुन महिनामा खेलौ होली… सरसरसर होली हो…’ शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको यस गीतमा उदितनारायण झा र दीपा नारायण झाले स्वर दिनुभएको छ । गीतले होलीको महत्व अझ बढाएको छ ।

    चलचित्र ‘वसन्ती’मा समावेश ‘रातो रातो पहेँलो…’, होस वा चलचित्र ‘सीता’ मा समावेश ‘होली रे होली रे’ पनि अहिले पनि उत्तिकै लोकप्रिय छन् । होली पर्वलाई लक्षित गर्दै नयाँ गीत नबनेका होइनन् तर पुरानै गीतमा आकर्षण रहिरहनुलाई सङ्गीतकार अर्जुन पोखरेलले स्वाभाविक रुपमा लिनुभएको छ ।

    उहाँले पुराना गीतमा चाडपर्वको प्रसङ्ग र सोही वातावरणमा गीतसङ्गीतको दृश्याङ्कन गरिएकाले ती गीत कालजयी भएको उहाँको बुझाइ छ । “पुराना चलचित्रमा अधिकांश गीतहरू प्रसङ्गसहित आएका थिएँ । त्यहि भएर दर्शकको रोजाइमा पर्न सफल भए । चलचित्रमा भएका गीतसङ्गीतले तुलनात्मकरुपमा बढी प्रचार पाउछन, सोही कारण पनि अहिले उक्त गीतहरू हामीले सुन्छौँ र उत्तिकै मन पर्छ”, सङगीतकार पोखरेलले भन्नुभयो ।

    सङ्गीतकार पोखरेल झैँ गायक कर्णराज गिरी पनि पुरानै गीतमा नाचगान गर्दै होली मनाउनु हुन्छ । नयाँ गीत आइरहेता पनि उहाँलाई स्मरण छैन । “म कार्यक्रममा होस् या मेला, महोत्सवमा होलीको सन्दर्भमा पुरानै गीत नै मन पराइन्छ । पुराना केही गीत जनजिब्रोमै छन्”, गायक गिरीले भन्नुभयो । यद्यपि पछिल्लोको होलीमा आधुनिक र हिन्दी गीत बढी गुञ्जिने हुँदा यसको मौलिकता हराउन सक्नेतर्फ धेरैले चिन्ता व्यक्त गरेका छन् ।

    फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ ।

    यो पर्वमा गीत–सङ्गीतको आफ्नै महत्व छ । ख्याली, टप्पा, जोगिरा र वसन्त राग गाउँदै अबिर लगाएर शुभकामना आदानप्रदान गरिने भएता पनि नेपाली चलचित्रका केही कालजयी गीत छन्, जसले होली आएको आभाष दिलाउने गरेका छन् । ती गीतहरू गाउँ होस् या सहर उत्तिकै गुञ्जिने गरेकाछन् । – राष्ट्रिय समाचार समिति (रासस)

  • चलचित्र महाजात्रा’को दुई दिनको कलेक्सन तीन करोड ६ लाख

    चलचित्र महाजात्रा’को दुई दिनको कलेक्सन तीन करोड ६ लाख

    काठमाडौं चैत ११
    नेपाली कथानक चलचित्र ‘महाजात्रा’ले आकर्षक ओपनिङ गरेको छ । देशभर उच्च शो पाएको चलचित्रले काठमाडौंभित्र र बाहिर नै राम्रो कमाई गरेको हो ।

    निर्माता दीपेश खत्री ‘म्याक्स’का अनुसार काठमाडौं उपत्यका र बाहिर गरेर शुक्रबार चलचित्रले एक करोड २३ लाख ग्रस कलेक्सन गरेको छ । शनिबार एक करोड ८३ लाख गरी दुई दिनमा तीन करोड ६ लाख ग्रस कलेक्सन गरेको हो ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रले शुक्रबार ३४२ भन्दा धेरै शो पाएको थियो । ‘महाजात्रा’ नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा रिलिज भएको छ ।

    आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।