Category: शिक्षा

  • कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताव सहयोग

    कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताव सहयोग

    पोखरा, ८ असार-
    पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पूराना र नयाँ किताव किनेर उनीहरुले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरुले यस्तो अभियान सुरु गरेका हुन् ।

    एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियान सुरु गरेको सदस्य देव भुजेलले जानकारी दिए । देवसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सन्चिता थापा, विवस रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेलले किताव संकलन अभियान थालेका छन् ।

    ५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई किताव र कापी संकलन गरेर पठाउन लागिएको हो । विशेषगरी कालिकोट जिल्लाका विभिन्न पालिकामा रहेका विद्यालयमा पढ्ने विद्यार्थीलाई सहयोग गर्न लागिएको भुजेलले बताए । हालसम्म संकलित पुस्तक लिएर केही विद्यार्थी कालिकोटतर्फ गएका छन् ।

    ‘किताव नपाएर पढ्न नसकेको समाचार हामीले सुन्यौं,’ उनले भने, ‘हामीले आफ्नो कर्तब्य पूरा गरेका हौं ।’ किताव र कापीसँगै कपडा र नगद रकम समेत सहयोग जुटेको उनले बताए । संकलित सामग्री ढुवानीका लागि मात्रै १ लाख रुपैयाँ लाग्ने अर्का अभियानकर्ता कृष्ण पौडेलले बताए । -न्युज कारखाना

     

  • विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन निर्देशन

    विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन निर्देशन

    काठमाडौं ,असार ७-

    प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ ।

    समितिको मंगलबारको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेल, मन्त्रालयका सचिव यादव कोइराला, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिल झालगायतसँग छलफल गरेपछि सभापति जयपुरी घर्तीले सो निर्देशन दिएका हुन् । शैक्षिकसत्र सुरु भइसकेको दुई महिना बितिसक्दा पनि विद्यालय तहका सबै पाठ्यपुस्तक उपलब्ध नभएको विषयमा समितिका सदस्यले सरकार र सम्बन्धित पदाधिकारीको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

    समितिले यसअघि जेठ ११ गतेको बैठकमा वैकल्पिक उपायबाट गरेर भए पनि समयमा पाठ्यपुस्तक उत्पादन र वितरण गर्न तथा सोबारे सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय गरी आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुन नदिन निर्देशन र सुझाव दिएको थियो । हाल कक्षा १ देखि ३ सम्म निजी प्रेस र कक्षा ४ देखि १० सम्म जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएका छन् ।

    बैठकमा शिक्षामन्त्री पौडेलले सबै विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध होस् भनेर आफूले हरेक दिन जनक शिक्षा केन्द्रमा फलोअप गर्ने गरेको, जिल्ला र विभिन्न पक्षबाट पाठ्यपुस्तक उपलब्धताको स्थितिको विवरण लिएर अभाव भएको पाइएमा सम्बोधनका लागि सम्बन्धित निकायलाई तत्काल भन्ने गरेको अवगत गराएका थिए । उनले निजी क्षेत्रका मुद्रकले सबै कक्षाका पाठ्यपुस्तक छाप्न सक्ने जनाएर अनुमति मागेको भए पनि सरकारी स्वामित्वको जनक शिक्षालाई मेसिन थप गरेर काम दिनु उचित लागेकाले केन्द्रलाई नै मुख्य जिम्मेवारी दिइएको बताए ।

    सांसद मानबहादुर विश्वकर्मा, योगेश भट्टराई, सरिता न्यौपाने, जीवनराम श्रेष्ठ, हितबहमादुर तामाङ, अञ्जना विसंखे, जगतबहादुर विश्वकर्माले बर्सेनि समयमा पाठ्यपुस्तक उपलब्ध नहुनु लाजमर्दो भएकाले भरपर्दो र वैकल्पिक एवं दीर्घकालीन समाधानका उपाय ल्याउन तथा जनक शिक्षाको प्रशासनिक र व्यवस्थापकीय सुधार गर्न आग्रह गरे । बैठकमा प्रबन्ध सञ्चालक झाले लक्ष्यभन्दा बढी पाठ्यपुस्तक माग भएको र समयमा छपाइ कागज उपलब्ध नहुँदा उत्पादन ढिलाइ भएको र अब लक्ष्यको पाँच प्रतिशत पुस्तक छाप्न बाँकी रहेको जानकारी दिए ।

    मन्त्री पौडेलले नयाँ संविधानअनुसार सङ्घीय शिक्षा ऐन र अन्य चार शैक्षिक विधेयकका मस्यौदा तयार गरी अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायत निकायमा पठाउँदा समयमा राय तथा समर्थन प्राप्त नभएकाले ती विधेयक संसद्मा पेश गर्न नसकिएको उल्लेख गरे । विधेयक छिटो ल्याउन समिति, सञ्चारकर्मी र सबै पक्षले सहयोग गर्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो ।

     

  • स्कुल बस निर्देशिक त छ तर रुपन्देहीका विद्यालयले टेर्दैनन्(फोटफिचर)

    स्कुल बस निर्देशिक त छ तर रुपन्देहीका विद्यालयले टेर्दैनन्(फोटफिचर)

    मोहम्मद हबिब
    भैरहवा, असार-

    स्कुल बस व्यवस्थापनका लागि चार वर्षअघि अर्थात १६ चैत ०७४ मा यातायात व्यवस्था विभागले निर्देशिका तयार गरेका थिए । तर, निर्देशिका बनेकाे चार वर्षदेखि रुपन्देहीका कुनै पनि निजी स्कुलले एक पटक पनि नपल्टाएकाे प्रष्ट हुन्छ ।

    निर्देशिका बनाए पनि यसकाे कार्यान्वयन गर्ने निकाय निजी विद्यालयहरूकाे अटेरीपनले अलपत्र जस्तै भएकाे हाे । निर्देशिकामा १२ वर्षभन्दा माथि उमेरका विद्यार्थी बोक्ने बसले सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्न नपाउने, भाडामा लिएको बसमा ‘अन स्कुल ड्युटी’ लेखेर चलाउनु पर्ने, अग्नि नियन्त्रक प्रणाली तथा प्राथमिक उपचार बाकस राख्नुपर्ने, चालक तथा परिचालकले तोकिएको पोशाक लगाएर परिचयपत्र बोक्नुपर्ने लगायतका मापदण्डहरु छन् । जो रुपन्देहीका विद्यालयले पालन गरेका छैनन् ।

    भैरहवामा अहिलकोे अधिकतम तापमान ४० डिग्रीसम्म पुगेको छ । सर्वसाधारण अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किन सकिरहेका छैनन् । यस्तो अवस्थामा पनि रुपन्देहीका विभिन्न विद्यालयका बसहरूले भेडाबाख्रा कोचे झै बिद्यार्थी कोचेर विद्यालय पुर्‍याउने गरिरहेका छन् ।

    ट्राफिक प्रहरीकाे अनुगमन

    चर्को शूल्क असुलेर पनि विद्यार्थीलाई सहुलियतको नाममा भेडा बाख्रा बनाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुगमन सुरू गरेको छ । विद्यालयको यो अवस्था नियन्त्रणमा होस् भन्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव केसीकै नेतृत्वमा रुपन्देहीको विभिन्न ठाउँमा अनुगमन गरिएको छ ।

    कार्यालय मातहतका निकायले स्कुल बस चेकजाँच गरी सम्झाइबुझाई गरेको छ । हामीले पहिलो दिन जिल्लाका विभिन्न ठाँउमा चेकजाँच गर्दा ६५ विद्यालयलाई सम्झाइबुझाई छाडेको ट्राफिक प्रहरी प्रमुख केसीले बताए । चेकजाँच गरिएको बसमध्ये अधिकांसले क्षमताभन्दा बढी बालबालिका बोकेका थिए । अधिकांस बस निर्देशिका विपरित रहेकोले सचेत गराइएको उनले भने ।

    हामीले पहिलो चरणमा अञ्चललपुर, एयरर्पोट, धकधई, आँखा अस्पताल, मायादेवी, पर्सा लुम्बिनस्, सालझण्डी, सरौली, मंगलापुर, छपिया बजार र डण्डा पुल अगाडि विभिन्न बसहरू चेकजाँच गरेको यसलाई अभियानकै रुपमा लैजाने ट्राफिक प्रहरी प्रमुख केसीले बताए ।

    दुई जना विद्यार्थी बस्ने सिटमा ४–५ जनासम्म राख्ने, उभ्याएर विद्यार्थी आसार्ने, बसको अवस्था दुरुस्त नरहेको पनि पाइएकोले पहिलो दिन यस्तो बसलाई सम्झाइबुझाई छोडेको कार्यालयले जानकारी दिएको छ ।न्युज कारखाना

     

  • जसले ५१ वर्षपछि पुस्तकालयलाई पुस्तक फिर्ता गरे, किताबसँगै पठाए यस्तो नोट

    जसले ५१ वर्षपछि पुस्तकालयलाई पुस्तक फिर्ता गरे, किताबसँगै पठाए यस्तो नोट

    भ्यानकुभर, ७ असार-

    कुनै पनि पुस्तकालयबाट पुस्तक लगेपछि प्रायः मानिसले तोकिएको मितिमा नै पुस्तक फिर्ता गर्नुपर्ने हुन्छ । तर, एक जना यस्ता व्यक्ति भेटिएका छन् जसले दशकौँपछि पुस्तक फिर्ता गरेका छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर, क्यानडाको भ्यानकुभरमा यस्तै घटना भएको छ ।

    त्यहाँको सार्वजनिक पुस्तकालयले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गर्दै ५१ वर्षपछि एउटा किताब ठ्याक्कै उस्तै अवस्थामा फर्किएको जनाएको छ । कितावसँगै एउटा मनछुने नोट पनि पठाइएको छ ।

    ‘तपाईको पुस्तकालयबाट । धेरै माफ गर्नुहोस् यो अलि ढिलो भयो । ५१ वर्ष भयो । तर धेरै राम्रो अवस्थामा छ । धन्यवाद ।’, नोटमा भनिएको छ । भ्यानकुभर पब्लिक लाइब्रेरी अफ साउथ हिलले सार्वजनिक गरेको तस्बीअनुसार ‘द टेलिस्कोप’ नामको पुस्तक ह्यारी एडवर्ड निलले लेखेका हुन् ।

    पुस्तक भित्रको कार्डमा लगाइएको छापमा पुस्तक बुझाउने अन्तिम मिति सन् १९७१ को २० अप्रिल लेखिएको छ । पुस्तकको तस्बिर पुस्तकालयले जुन ७ मा क्याप्ससहित सेयर गरेको थियो । क्याप्सनमा लेखिएको छ, ‘यस पुस्तकमा भएको यस्तो मीठो नोट हाम्रो दक्षिण हिल शाखामा केही ढिलो (५१ वर्ष!) पछि फर्कियो ।’एजेन्सी

  • बैतडीमा अझै पुगेन पाठ्यपुस्तक

    बैतडीमा अझै पुगेन पाठ्यपुस्तक

    बैतडी, असार ४-
    बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सकेको छैन । बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै जिल्लामा पुगेका छन् । सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । विद्यार्थीसित विना पुस्तक पढाई गर्नुपर्ने बाध्यता छ ।

    विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि पाठ्यपुस्तकको अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । नयाँ शैक्षिक सत्रको पढाइ सञ्चालनमा रहेको भए पनि सबै पाठ्यपुस्तक नपुग्दा समस्या भएको छ । उनले भने, “विद्यार्थी सङ्ख्याका आधारमा पाठ्यपुस्तक पुगेका छैनन्, पाठ्यक्रम हेरेर पठाउनुपर्ने बाध्यता छ ।”

    स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र केही दिनमै जिल्लामा पाठ्यपुस्तक पुग्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए । उनले भने, “कक्षा ७ र ९ को सबै पुस्तक अभाव छ, बाँकी पनि विद्यार्थी सङ्ख्याका आधारमा आइपुगेको छैन । पाठ्यक्रम हेरेर पठनपाठन सञ्चालन गर्नुस् भनेर विद्यालयलाई भनेका छौँ ।” बैतडीमा ५४० सामुदायिक विद्यालय छन् ।

     

  • विद्यालयको हिसाबकिताब खोज्ने शिक्षिकामाथि प्रधानअध्यापकबाट हातपात

    विद्यालयको हिसाबकिताब खोज्ने शिक्षिकामाथि प्रधानअध्यापकबाट हातपात

    खोटाङ, ४ असार-

    दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्कीमाथि प्रधानअध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् । विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा विवाद हुँदा प्रअ पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विद्यालय व्यावस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् ।

    पौडेलले शिक्षिका कार्कीको पानीपेटमा लात्तीले हान्दा गम्भीर चोट लागेको शिक्षिका कार्कीले बताइन् । निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार नोबेल अस्पताल विराटनगर रेफर गरेको छ । कार्कीलाई आफन्तले शुक्रबार रातिनै जिल्ला अस्पताल पुर्‍याएका थिए । घाइते शिक्षिकाका आफन्तले शनिबारनै जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी पनि दिएका छन् ।

    पाठ्यपुस्तकको १० हजार आठ सय ८५, सीपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको नौ हजार, छात्रवृत्तिको चार हजार आठ सय, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवा खाजाको ३४ हजार पाँच सय ९६ सहित एक लाख ३२ हजार नौ सय ३१ को आयव्यायका बारेमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीको भनाइ छ । कार्की पनि सोही विद्यालयकी पुर्वप्रअ हुन् । यसअघि अप्रेशन गरेको ठाउँमा चोट लाग्दा स्वास्थ्य समस्या निम्तिएको अनुमान छ ।

    विव्यास अध्यक्ष सकुन्तला खत्री घटनाका बेला केही पर भएकाले लात्तीले हानेको नदेखेको बताइन् । ‘यो भन्दाअघिको बैठकमा पनि उहाँहरूबीचमा आर्थिक हिसाबको विषयमा विवाद भएको रहेछ,’ खत्रीले भनिन्, ‘शुक्रबारको बैठकमा पनि त्यही विषय निस्केर विवाद भएको हो । ठेलाठेल भएको देखेँ । पछि पेट दुख्यो भन्दै उहाँ (गोमा कार्की रुँदै हुनुहुन्थ्यो ।’-न्युज कारखाना

  • शंखरापुरको वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

    शंखरापुरको वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

    काठमाडौं, ३ असार-

    काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि समाज कल्याण परिषद्का कोषाध्यक्ष विनय लामाले विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङ ‘वसन्त’लाई चाबी हस्तान्तरण गरेर विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे ।

    सफा सुनौलो नेपालकी संस्थापक एवं राकेश हमालकी पत्नी सुनिता हालले विद्यालयको लागि दिगो, भूकम्प प्रतिरोधी र भरपर्दो संरचना निर्माण गरेर प्रदान गर्न पाउँदा खुसी लागेको बताएकी छन् । ‘मेरो श्रीमान‍्को सपना पनि शिक्षाका क्षेत्रमा केही गर्ने थियो । आज उहाँकै नामबाट ६ कोठो सुविधासम्पन्न भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन् ।

    कार्यक्रममा कानुनी सल्लाहकार अधिवक्ता देवीराम उपाध्यायले सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा काठमाडौंको दुर्गम गाउँमा भवन बन्नु सुखद कुरा भएको बताए। उनले नयाँ भवन बनेसँगै विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास लिएका छन् ।

    ‘लगानीकर्ता आकर्षित बने । इन्जिनियर, ठकेदार सबैले समयमै काम गरे । र, अपेक्षाकृत रूपमा समयमै भवन निर्माण सम्पन्न भयो । यसले विद्यार्थी र शिक्षकमा थप हौसला प्रदान गर्ने छ,’ उपाध्याय भन्छन् ।

    विद्यालयका प्रधानाध्यापक तामाङले सबैको सहयोगले स्कुल स्कुल जस्तो भइरहेको बताए । उनले काठमाडौं जिल्लामै रहेर पनि भौतिक संरचना अभावमा समस्या खेपिरहेको विद्यालयलाई नयाँ भवन प्राप्त भएसँगै पठनपाठनमा सहयोग पुग्ने धारणा राखे ।

    कार्यक्रमका प्रमुख अतिथि लामाले अहिलेको आवश्यकता पूर्वाधार निर्माणसँगै प्राविधिक शिक्षाको भएको औँल्याएका थिए । उनले नयाँ भवन विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा समेत दातृ निकायबाट विद्यालयलाई सहयोग हुनेमा आफू आसावादी रहेको धारणा राखे ।

    ‘अब भौतिक पूर्वाधारसँगै हाम्रा नानीबाबुहरूलाई समयसापेक्ष प्राविधिक शिक्षामा समेत जोड दिनुपर्छ । शिक्षकहरूले समयानुकूल प्रयोगात्मक शिक्षामा जोडिदिनु नै हुने छ । त्यसका लागि दातृ निकाय र स्थानीय सरकारबाट सहयोग हुने नै छ,’ उनले भने । उनले सामाजिक व्यक्तित्व हमालको नाममै भवनको स्थापना गरिनु थप सह्रानीय कार्य भएको बताए । सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिका नाममा यस्ताखाले सम्मानको अपरिहार्यता रहेको लामाले बताए ।

    दातृ संस्थाका लुईउल्फ ग्राम र जोलाउल्फ ग्रामले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए । उनले आगामी दिनमा पनि विद्यालयलाई आफूहरूको सहयोग रहने बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।न्युज कारखाना

  • लोकसेवामा नक्कली परीक्षार्थीको सेटिङ, पोखराका बस्ताकोटी पक्राउ

    लोकसेवामा नक्कली परीक्षार्थीको सेटिङ, पोखराका बस्ताकोटी पक्राउ

    पोखरा, ३ असार-

    लोकसेवा आयोगको परीक्षामा पटक पटक आन्तरिक सेटिङका घटना बाहिरिँदै आएको छ । नक्कली परीक्षार्थी लगाएर परीक्षा दिन लगाउने गरेको धेरै पटक खुलासा भएको छ । पोखरा-२४ कास्कीकोटका एक जना शिक्षकले पनि लामो समयदेखि नक्कली परीक्षार्थी लगाएर परीक्षा दिने गरेको खुलेको छ ।

    कास्कीकोटका कालिका माविका उपप्रधानाध्यापकसमेत रहेका दीपेन्द्र बस्ताकोटीले आफ्नै विद्यालयका विद्यार्थी लगाएर परीक्षा दिन लगाउने र उनले पनि आफै परीक्षा दिँदै आएको खुलेको हो ।

    उनले लोकसेवा आयोगको परीक्षा दिन फाराम भरेका परीक्षार्थीसँग लाखौं रुपैयाँ लिने र आफ्ना विद्यार्थी लगाएर उनीहरुको परीक्षा दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत १९ चैतमा हेटौंडामा भएको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी फेला परेपछि अनुसन्धानका क्रममा बस्ताकोटी ट्रयापमा परेका हुन् ।

    रेडक्रसले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा सहभागी गराउने भन्दै लैजाने गरेको विद्यालयले जनाएको छ । प्रधानध्यापक ईश्वरीप्रसाद बस्ताकोटीले विद्यालयबाट सधैँ विद्यार्थी हाजिरी जवाफका लागि भनेर लैजाने गरेको बताए । ‘हाजिरी जवाफ भनेर लैजानुहुन्थ्यो । कहिले १५ जना हुन्थे । कहिले १० जना हुन्थे । हाजिरीजवाफ भनेपछि संख्यातिर ध्यान दिएनौं,’ उनले भने, ‘स्थायी विज्ञान शिक्षक । आफै पनि भद्र मान्छे भएकोले त्यस्तो गर्नुहोला भन्ने कल्पना गरेकै थिएनौं ।’

    १९ चैतमा सोही विद्यालयमा पढ्ने एक छात्रालाई उनले हाजिरी जवाफका लागि भनेर लगेका थिए । ‘काठमाडौं भनेर लैजानुभएको हो । त्यहाँबाट सरुवा भयो भनेर हेटौंडा लग्नुभयो । १९ चैतमा परीक्षा दिएर आएँ,’ उनले भनिन्, ‘हामी उही दिन फर्कियौं । डेढ घण्टाको परीक्षा दिएको हो । त्यसपछि धेरै पटक परीक्षाको रिजल्ट मागेँ, दिनुभएन । परीक्षाको रिजल्ट सोधेपछि आउनै छोड्नुभयो ।’

    बस्ताकोटी अहिले पुर्पक्षका लागि मकवानपुर कारागारमा थुनामा छन् । उनले एउटै सक्कली परीक्षार्थीबाट २० देखि ३० लाखसम्म लिने गरेको बताइएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-न्युज कारखाना

  • सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने

    सातवटै प्रदेशमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गरिने

    काठमाडौं, जेठ ३१ –
    नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र कागज अभावका कारण यस शैक्षिक सत्रका लागि निःशुल्क पाठ्यपुस्तक छपाइ तथा वितरण पर्याप्त हुन नसकेको सन्दर्भमा पाठ्यपुस्तक पुग्न नसकी पढाइमा सहजताका लागि सामग्री उपलब्ध गराउने गरी सरकारले वैकल्पिक व्यवस्था पनि गर्दै आएको छ ।

    शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको सरकारी स्वामित्वको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट छपाइ तथा वितरण हुने व्यवस्था भए तापनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशनबाट र कक्षा ११–१२ को साझा प्रकाशनमार्फत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ । केन्द्रबाट कक्षा ४–१० सम्मका विद्यार्थीका लागि जम्मा एक करोड ९६ लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरण गर्नुपर्नेमा हालसम्म एक करोड ७० लाख थान छपाइ तथा वितरण भइसकेको छ भने बाँकी छपाइ सम्पन्न हुने क्रममा छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको मङ्गबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गतको छलफलका क्रममा सांसद्हरुले राखेका जिज्ञासामाथि जवाफ दिँदै कोभिड–१९ का कारणबाट शैक्षिक सत्र २०७८ मा विद्यालय लामो समय बन्द रहेका र विद्यार्थीको पढाइमा पुगेको क्षति कम गरी उक्त सत्रमा हुनुपर्ने पढाइलाई पूरा गर्न शैक्षिक सत्र २०७९ असार पहिलो साताबाट हुने भनिएको र सोही अनुसार छपाइका पूर्व तयारी भएको अवस्थामा सरकारबाट जेठ १ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय हुँदा एक महिना अघि शैक्षिक सत्र सुरु भएको तथा रुस र युक्रेन युद्धका कारण कागज आपूर्तिमा समेत प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गए तापनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा हुनसकेको अवगत गराउनुभयो ।

    अपेक्षाअनुसार भएन शिक्षा बजेट
    शिक्षामन्त्री पौडेलले शिक्षा क्षेत्रमा अपेक्षाअनुसार बजेट विनियोजन नभए पनि अन्य मन्त्रालयको तुलनामा सबैभन्दा बढी रकम शिक्षा मन्त्रालयका लागि विनियोजन भएको बताउनुभयो । मन्त्री पौडेलले बजेट बढाउन आफूले सक्दो कोसिस गरेको र सांसदहरुले पनि त्यसमा चासो दिएकामा धन्यवाद दिनुभयो । उहाँले बजेट तर्जुमाका क्रममा मन्त्रालयलाई चालु आर्थिक वर्षकै निरन्तरताका आधारमा बजेट सीमा प्राप्त भएकामा आफूहरुले आपत्ति जनाएर राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा गम्भीररुपमा छलफल गरेको अवगत गराउँदै सरकारको नीति तथा कार्यक्रममा कक्षा ८ सम्मका विद्यार्थीका लागि दिवा खाजा दिइने भनिएकामा बजेट वक्तव्यमा कक्षा ६ सम्मका मात्रै भनिएकाले त्यसलाई कक्षा ८ सम्ममै खाजा उपलब्ध गराउन अझै पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।

    आर्थिक वर्ष २०७९/८० का लागि सरकारको कूल बजेट रु १७ खर्ब ९३ अर्ब ८३ करोडमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट कार्यान्वयन हुने नेपाल सरकार, प्रदेश र स्थानीय तहका लागि जम्मा रु एक खर्ब ९६ अर्ब ३८ करोड छुट्याइएको छ । यो वर्ष कुल विनियोजनको १० दशमलव ९५ प्रतिशत शिक्षामा छुट्याइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रको बजेटमध्ये एक खर्ब २१ अर्ब १ करोड (६१दशमलव ६२ प्रतिशत) अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहमा शैक्षिक व्यवस्थापनका लागि सोझै विनियजित भई जान्छ । प्रदेश तहमा प्रमुखरुपमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सञ्चालन र विद्यालय शिक्षक तालिम कार्यक्रमका लागि जम्मा रु पाँच अर्ब ३२ करोड (२ दशमलव ७१ प्रतिशत) सोझै विनियोजित भइजान्छ । मन्त्रालय तहमा जम्मा ७० अर्ब पाँच करोड बजेट (३५ दशमलव ६७ प्रतिशत) विनियोजन भएको छ । मन्त्रालयमा विनियोजन भएको बजेटमध्ये राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, माध्यमिक तहका विद्यार्थीका लागि सीपमूलक तालिम तथा कक्षा ६ का विद्यार्थीका लागि दिवाखाजा कार्यक्रम आदिका लागि झण्डै रु ११ अर्ब स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्था छ ।

    मन्त्री पौडेलले भन्नुभयो, “सरकारले शिक्षामा विनियोजन गरेको बजेट पर्याप्त नभए पनि चालु आर्थिक वर्षको भन्दा केही वृद्धि भएको छ । शिक्षाको बजेट र सुधारका बारेमा सांसदहरुले राख्नुभएका चासो प्रति म सहमत छु । शिक्षामा सबै एकै पक्ष छौँ । कोही पक्ष विपक्ष छैनौँ ।”

    सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि प्रतिबद्ध
    उहाँले सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र नीति तथा बजेट र कार्यक्रममा विद्यालय शिक्षा, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र सीप विकास र उच्च शिक्षा सुधारमा जोड दिइएको बताउँदै विद्यालय शिक्षा सुदृढीकरणका लागि विद्यालय शिक्षा क्षेत्र योजना, उच्च शिक्षामा सुधारका लागि उच्च शिक्षामा उत्कृष्टता प्रवर्धन कार्यक्रम तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सुधारका लागि सीप विकास कार्यक्रम कार्यान्वयनमा जोड दिइएको जानकारी दिनुभयो ।

    उहाँले आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्यूनतम भौतिक पूर्वाधार विकास गर्न कार्यक्रम तय गरिएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा विद्यालय पुनर्निर्माण कार्य सम्पन्न गरिनेछ । बाँकी ४५ जिल्ला लक्षित गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भौतिक निर्माण कार्य सञ्चालन गरिनेछ । उच्च शिक्षा प्रदायक त्रिचन्द्र कलेजलगायतका आंगिक क्याम्पसको भौतिक निर्माणकार्य सुरु गरिने जानकारी दिनुभयो ।

    शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला विस्तार तथा सुदृढीकरण, सूचना प्रविधि प्रयोगाशाला स्थापना तथा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, विद्यालयमा विषयगत शिक्षकको सुनिश्चितताका लागि गणित, विज्ञान तथा अंग्रेजी विषय शिक्षकको व्यवस्था गर्न कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले शिक्षकको पेशागत सीप र क्षमता विकासका लागि भर्चुअल विधिसमेत प्रयोग गरी शिक्षक तालिम कार्यक्रम सञ्चालन, शिक्षक दरबन्दी मिलान कार्य सम्पन्न, प्रदेश शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना तथा सञ्चालन र डिजिटल सिकाइ सामग्रीको उत्पादन, आवश्यकताका आधारमा पाठ्यपुस्तकमा सामयिक परिमार्जन तथा अद्यावधिकरण, नमुना तथा उत्कृष्ट विद्यालय विकास तथा सञ्चालन, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई प्रोत्साहनलगायतका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

    “विद्यालयको भौतिक पूर्वाधार विकास नभइ गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्न कठिन हुन्छ । शैक्षिक तथ्याङ्कका आधारमा अझै पनि २८ हजार भवन निर्माण गर्न आवश्यक रहेको छ । विद्यालय पुनर्निर्माण कार्यक्रमबाट सात हजार ५८३ विद्यालयको निर्माणकार्य सम्पन्न भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट तीन हजार ९८२ विद्यालय भवन निर्माण भएका छन् । आगामी तीन वर्षभित्र अन्य विद्यालय निर्माण, सवलीकरण तथा पुनर्निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले शिक्षा मुलुक विकासको पूर्वाधारको पनि पूर्वाधार भएकाले सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यावहारिक शिक्षाको प्रत्याभूति नगरी देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन नसक्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो “विद्यालय शिक्षालाई गुणस्तरयुक्त बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सुदृढीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा मन्त्रालय प्राथमिकताका साथ लागिरहेको छ । शैक्षिक सुधारका लागि उपलब्ध बजेटको उच्चतम् उपयोग गर्ने प्रयास गरिएको छ । शिक्षा सुधारका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ ।” सरकारले बालविकास शिक्षक, प्रत्येक सामुदायिक विद्यालयमा एक एकजना विद्यालय सहयोगी कर्मचारी र प्रत्येक माध्यमिक विद्यालयमा थप एक सहायक कर्मचारी गरी ३६ हजार कर्मचारी व्यवस्था गर्न एकमुष्ठ अनुदान उपलब्ध गराउँदै आएको छ ।

    चालू आव २०७८/७९ मा सङ्घीय सरकारबाट रु. ८ हजार र स्थानीय तहबाट रु. सात हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्था गरिएको छ । बालविकास शिक्षकको हकमा सङ्घीय सरकारबाट .रु दुई हजार थप गरी १० हजार उपलब्ध गराउन बजेट व्यवस्था गरिएको छ । हाल विद्यालयमा कार्यरत पूर्व प्राथमिक शिक्षक, कर्मचारीको विवरण अध्यावधिक गरी कर्मचारी व्यवस्थापनको सेवा शर्त निर्धारणका लागि कार्य अघि बढाइएको छ । सेवा शर्त निर्धारण भएपछि सोही अनुरुप कर्मचारीको तलब निर्धारण हुनेगरी अर्थ मन्त्रालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाइनेछ ।

    शैक्षिक गुणस्तर सुधारलगायत शैक्षिक विकासका लागि प्रस्तावित कार्यक्रम सार्वजनिक विद्यालय सुदृढीकरणका लागि लक्षित छन् । विद्यालय भौतिक पूर्वाधार विकास, शिक्षक तालिम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, विभिन्न प्रकारका प्रयोगशालाको स्थापना, शिक्षण सिकाइमा सूचना प्रविधिको उपयोग, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकको क्षमता विकासका कार्यक्रम समेटी विद्यालय शिक्षाक्षेत्र योजना कार्यान्वयनमा ल्याइएको छ । साथै उच्चशिक्षामा सुधारका लागि उच्चशिक्षामा उत्कृष्टता प्रवर्धन कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

    उच्च शिक्षामा गुणस्तर कायम गर्न त्रिविविलाई उत्कृष्टता केन्द्रको रुपमा विकास गर्न कार्यक्रम प्रस्ताव गरिएको छ साथै विश्वविद्यालय तथा क्याम्पसको भौतिक तथा शैक्षिक पूर्वाधारका कार्यक्रम प्रस्ताव गरिएको छ ।

    बजेटमा विद्यालय शिक्षामा छात्रा, दलित, अपाङ्गता भएका विद्यार्थी तथा लक्षित समूहका लागि आवासीय तथा गैर आवासीय छात्रवृत्तिको व्यवस्था, विद्यालय दिवाखाजा कार्यक्रम, निःशुल्क पाठ्यपुस्तकको व्यवस्था, छात्राका लागि सेनेटरी प्याड आदिको व्यवस्था गरिएको छ । उच्चशिक्षामा पिछडिएको समुदायका विद्यार्थीका लागि छात्रवृत्ति, चिकित्सा तथा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिलगायतका कार्यक्रम प्रस्ताव गरिएका छन् । विशेष आवश्यकता भएका विद्यार्थीका लागि आवासीय विद्यालय सञ्चालन, आवासीय विद्यालय स्थापना तथा सञ्चालन, ब्रेल पाठ्यपुस्तकलगायत सिकाइ र सहयोगी सामग्रीको व्यवस्थाका लागि कार्यक्रम सञ्चालन गरिने भनिएको छ ।

    सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच सुनिश्चतता, सिक्दै कमाउँदै कार्यक्रम विस्तार, व्यावसायिक तालिमको अवसर वृद्धि गरी शिक्षालाई रोजगारमूलक र व्यावसायिक बनाउन जोड दिइएको छ । सञ्चालनमा रहेका विश्वविद्यालयको पूर्वाधार विकास तथा शैक्षिक कार्यक्रम सञ्चालन गरी उच्च शिक्षा सुधार गर्ने लक्ष्य छ ।

    आङ्गिक क्याम्पसको भौतिक सुधार
    त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसको भौतिक पूर्वाधार विकास, शिक्षण सिकाइमा शैक्षिक प्रविधिको प्रयोग र शिक्षण सिकाइलाई अनुसन्धानमुखी बनाउन त्रिभुवन विश्वविद्यालयलाइ उत्कृष्टताको केन्द्र बनाउन कार्यक्रम तय गरिएका छन् । चिकित्सा शिक्षा अध्ययनको अवसर विस्तारका लागि नयाँ मेडिकल कलेज विकासका लागि कार्यक्रम सञ्चालनमा ल्याएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्र (सेडा, सेरिड, सिनास, रिकास्ट)लगायत अन्य विश्वविद्यालयका अनुसन्धान केन्द्रहमार्फत हुने अन्वेषण तथा अनुसन्धान कार्य गर्ने तय गरिएको छ । मन्त्री पौडेलले शैक्षिक मुद्दाहरुको समाधानका लागि वार्ता र संवादबाट समाधान गर्न सकिने भएकाले अबदेखि विश्वविद्यालयमा कुनै पनि तालाबन्दी र हड्ताल नगर्न पनि आह्वान गर्नुभयो ।

    सङ्घीय शिक्षा ऐन र शिक्षक दरबन्दी व्यवस्थापन
    मन्त्री पौडेलले सङ्घीय शिक्षा ऐन (विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, राष्ट्रिय योग्यता प्रारुप र एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी)को मस्यौदा तयार भइसकेको र सहमतिका लागि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक छलफल भइरहेको जानकारी दिनुभयो भने शिक्षक दरबन्दी मिलान प्रतिवेदनका अनुसार प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उक्त प्रतिवेदन अनसार १२ हजार ८३५ शिक्षकको स्थान्तरण गरी मिलान गर्नुपर्ने हुन्छ ।

    सो सङ्ख्यामध्ये नौ हजार ४९६ शिक्षक सम्बन्धित स्थानीय तहभित्र नै मिलान हुने एवम् तीन हजार ३३९ शिक्षकको जिल्लान्तर सरुवाबाट मिलान हुनेपर्ने अवस्था छ । स्थानीय तहभित्र नै मिलान हुनुपर्ने सङ्ख्यामध्ये आठ हजार ५०० शिक्षकको मिलान सम्पन्न भइसकेको छ र बाँकी ९९६ जना शिक्षकको मिलान चालु शैक्षिक सत्रमा नै मिलान गरिसक्ने लक्ष्य छ ।

    जिल्लान्तर सरुवाबाट मिलान हुनुपर्ने सङ्ख्यामध्ये एक हजार ४८६ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भइसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने लक्ष्य छ । न्यून रहेको शिक्षक दरबन्दी आपूर्तिका लागि यसै वर्ष माध्यमिक तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका चार हजार ७५० जना र आधारभूत तह कक्षा ६–८ मा २६०० जना गरी सात हजार ३५० जना शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको छ । उक्त सङ्ख्याका अतिरिक्त प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नका रुपमा परिचालन गर्न बजेट व्यवस्था गरिएको छ ।रासस

     

  • केपी ओलीकी छोरीलाई अध्ययन खर्च अभाव

    केपी ओलीकी छोरीलाई अध्ययन खर्च अभाव

    खड्क सुनार
    मुगु ३१ जेठ-

    मुगुको मुगूम कार्मारोङ गाउपालिका–८ मांग्रीमा रहेकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व लिएको ठिल्लेसाङ्मु लामाको अध्ययनमा भएको खर्च अभाव अझै टरेको छैन । १ वैशाख २०७५ मा कर्णाली रारा पर्यटन महोत्सव उद्घाटन गर्दै लामाको अभिभावकत्व ग्रहण गरेका तत्कालीन प्रधानमन्त्री ओलीले अध्ययन, गाँस, बास, कपासमा आर्थिक सहयोग नगर्दा छोरीका पढाइमा समस्या आएको आमा छिचु लामाले जानकारी दिइन् ।

    ओलीले अभिभावकत्व ग्रहण गरेपछि लामालाई ओलीको छोरी भनेर गाउँमा बोलाउन थालिए पनि उनको दैनिकीमा भने कुनै फेरबदल आएको छैन । अभिावकत्व ग्रहण गरेपछि अध्यक्ष ओलीले तीन पटक १० / १० हजार नगद र एक पटक लत्ता कपडा मात्र सहयोग गरेको छिचुले बताइन् ।

    ठिल्लेसाङ्मु अहिले बुद्ध माद्यमिक विद्यालयको कक्षा ४ मा अध्यायनरत छिन् । अध्ययनमा तीक्ष्ण रहे पनि आर्थिक समस्याले गर्दा ठिल्लेसाङ्मुलाई पठनपाठनमा कापी, कलम, डे«स अभाव रहेको प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले जानकारी दिए ।

    उनलाई अध्ययनका लागि आवश्यक सामग्री र खर्च जुटाउन सक्ने पारिवारिक व्यक्ति नभएकाले अध्यक्ष ओलीले उनको अभिभावकत्व ग्रहण गरेका थिए । ठिल्लेसाङ्मुको बुबाको मृत्यु भइसकेको छ ।न्युज कारखाना