Category: शिक्षा

  • कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार

    कहाँ–कहाँ पुगेन पाठ्यपुस्तक ? विवरण माग्दै सरकार

    काठमाडौं, जेठ २६-

    नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ ।

    विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यावसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएका छन् ।

    निजी क्षेत्रले माथिल्लो तहका पाठ्यपुस्तक पनि छपाइ गरिरहेका छन् । विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको विषय सङ्घीय संसद् र सञ्चारमाध्यममा दैनिकजसो उठिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र भने आफूले छाप्न बाँकी रहेकाबाहेक छापिइसकेका पुस्तक पनि सम्बन्धित विद्यालयमा नपुगेको जनाइरहेका छन् ।

    मन्त्रालयका सचिव एवं केन्द्रको सञ्चालक समितिका यादवप्रसाद कोइरालाले आज केन्द्रका अधिकारीलाई अपुग भएका क्षेत्रबाट तथ्याङ्क लिएर छिटोछरितोरुपमा बिक्रीवितरण गर्न निर्देशन दिनुभएको छ । चालू शैक्षिकसत्रका लागि कक्षा ४ देखि १० सम्म कूल एक करोड ९८ लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकामा आजसम्म १ करोड ८० लाख थान (करिब ९० प्रतिशत) उत्पादन भइकेको केन्द्रको भनाइ छ । छपाइ भइसकेकामध्ये कतिपय पुस्तक ढुवानीका क्रममा रहेको र विद्यालयमा पुग्न बाँकी रहेकाले नपुग भएको गुनासो आएको केन्द्रका प्रवक्ता चित्र आचार्यले बताउनुभयो ।

    दैनिक एक लाख पाठ्यपुस्तक उत्पादन गर्दै आएको केन्द्रबाट आज मात्रै सुर्खेत र चितवनका लागि पाठ्यपुस्तक ढुवानी भएको छ । रासससँग कुरा गर्दै आचार्यले अबको १५ दिन (असार १० गतेभित्र) बाँकी सबै (करिब १५ लाख थान) पुस्तक छपाइ सम्पन्न गरिने जनाउँदै बजारमा समानुपातिक वितरण नहुँदा यो समस्या आएको बताउनुभयो । हाल कक्षा ६ र ८ का सामाजिक, अङ्ग्रेजी र नेपाली विषयका पुस्तक बढी अभाव देखिएको छ । ती पुस्तक निजी क्षेत्रले पनि उत्पादन गरेकाले केन्द्र र निजी क्षेत्रबीचको समन्वय नहुँदा कहाँ कति विद्यार्थीका लागि कसले कति उत्पादन र वितरण गर्ने भन्ने तथ्याङ्कको अभाव पनि देखिएको छ ।

    कक्षा ५, ८ र १० का पाठ्यपुस्तक आगामी शैक्षिकसत्रमा परिवर्तन (कोर्स आउट) हुने भएकाले पनि केन्द्रले भण्डारमा नरहने गरी यस वर्षका लागि आवश्यक सङ्ख्यामा मात्रै उत्पादन गरिरहेको छ । यस्तै पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ४, ७ र ९ का अनुदित (अंग्रेजी माध्यम)का पाठ्यपुस्तकको मुद्रणीयप्रति (सिआरसी) प्राप्त नभएकाले पनि माग भए पनि आफूहरुले अनुदित पुस्तक दिन नसकिएको केन्द्रको भनाइ छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पनि पढाइ हुन थालेको र कति विद्यालयमा अनुदित पुस्तक चाहिने भन्ने तथ्याङ्क पनि सरकारी नियकासँग उपलब्ध छैन ।

    कतिपय सन्दर्भमा स्थानीय बिक्रेताले केन्द्रका प्रादेशिक कार्यालयबाट समयमा नलैजाने, बिक्रेतासँग उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्नेजस्ता कारणले विगतमा पनि विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको देखिन्छ ।

    केन्द्रले सार्वजनिक सूचना जारी गरी स्थानीय बिक्रेताकोमा पाठ्यपुस्तक उपलब्ध नभए कक्षा र विषय खुलाइ स्थानीय बिक्रेतामार्फत् केन्द्रका प्रादेशिक कार्यालयका साथै सम्बन्धित तह, शिक्षा विकास तथा समन्वय इकाइ र जनक शिक्षाको केन्द्रीय कार्यालय सानोठिमीमा जानकारी गराउन आग्रह गरेको छ ।

    केन्द्रले स्थानीय बिक्रेतामार्फत ७७ वटै जिल्लामा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक ढुवानी गरी यही जेठ ५ गतेदेखि बिक्री वितरण गर्दै आएको छ । पाठ्यपुस्तक छपाइ र वितरणमा निजी क्षेत्रबाट संलग्न मुद्रण व्यावसायी दीपक भण्डारीले आफूहरुलाई प्राप्त भएको अभावको सूचनाका आधारमा प्रदेशगतरुपमा पनि समन्वय गरी उपलब्ध गराउने गरिएको बताउनुभयो ।

    उहाँले हालै आफूले हुम्ला, डोल्पा र विराटनगरमा समन्वय गरी अभावको समस्या समाधान गरेको जनाउनुभयो ।रासस

     

     

  • तारा एयर दुर्घटनामा मृत्यु हुनेको सम्झनामा चितवनको एरोटेक स्कुलमा दीप प्रज्वलन (भिडियो)

    तारा एयर दुर्घटनामा मृत्यु हुनेको सम्झनामा चितवनको एरोटेक स्कुलमा दीप प्रज्वलन (भिडियो)

    चितवन, जेठ २४ –
    मुस्ताङमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा चितवनको एरोटेक इन्टरनेशनल स्कुलमा दीप प्रज्वलन गरिएको छ ।

    भरतपुरको रिजाल चोकमा अवस्थित स्कुलले स्कुल परिसरमा दीप प्रज्वलन गरेको हो । एरोटेकका सञ्चालक सुमन भट्टले एउटै फिल्ड भएकाले पनि उक्त घटनाबाट एरोटेक स्कुल परिवार निकै मर्माहत रहेको बताए ।

    जेठ १५ गते आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार सबै २२ जनाकै मृत्यु भएको थियो ।

    दीप प्रज्वलन कार्यक्रममा एयर होस्टेसका विद्यार्थी र शिक्षकहरुको सहभागिता रहेको थियो । एरोटेक कलेजले एयर हेस्टेस र क्याबिन क्रियुलगायतका एयरसम्बन्धी कक्षाहरु सञ्चालन गर्दे आएको छ ।

  • एसइईको कापी जाँचेको शुल्क बढाउनुपर्ने माग राख्दै चितवनका शिक्षकहरुले बुझाए ज्ञापनपत्र

    एसइईको कापी जाँचेको शुल्क बढाउनुपर्ने माग राख्दै चितवनका शिक्षकहरुले बुझाए ज्ञापनपत्र

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, जेठ २१ –
    एसइईको परीक्षाको कापी जाँचेको शुल्क बढाउनुपर्ने माग राख्दै चितवनका शिक्षकहरुले जिल्ला शिक्षा समन्वयन इकाइ चितवनलाई ज्ञापनपत्र बुझाएका छन् ।

    निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरुले आज भरतपुर माविमा एक कार्यक्रमका बीच जिल्ला समन्वयन इकाइका परीक्षा इकाइ प्रमुख रुद्र पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमामा ध्यानाकर्षण गराउन आग्रह गर्दै पौडेललाई ज्ञापनपत्र बुझाइएको हो ।

    अहिले एसइईको कापी जाँचेको शुल्क प्रति कापी २४ रुपैयाँ र समपरीक्षण गरेको शुल्क ६ रुपैयाँ रहेको छ । आफूहरुले मूल्य अभिवृद्धि कर कट्टी गरी प्रति कापीको शुल्क ३० रुपैयाँ बनाउन माग गरेको कापी परीक्षक एवम् टे«ड युनियन चितवनका सहसचिव रामनिधी पन्तले बताए ।

    मंहगी बढिरहेको र ३ वर्षदेखि एउटै शुल्क कायम रहेकाले शुल्क बढाउन माग गरिएको अर्का कापी परीक्षक लेखनाथ अधिकारीले बताए ।

    ज्ञापन पत्र बुझाएर आफ्नो माग राखिएको र कापी जाँच भने जारी राख्ने शिक्षकहरुले बताएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरलाई सम्बोधन गरी लेखिएको पत्रमा १०९ जना कापी परीक्षक शिक्षकहरुले हस्ताक्षर गरेका छन् ।

    चितवनमा एसइईको कापी परीक्षण केन्द्र भरतपुर माविलाई तोकिएको छ । जिल्लाभरबाट करिब १३५ जना शिक्षकहरु भरतपुर माविमा आएर नियमित कापी जाँच गरिरहेका छन् । देशभर जम्मा ३६ वटा परीक्षण केन्द्रहरु रहेका छन् ।

    एउटा कापी जाँच्न विषय र अक्षर हेरेर १५ देखि ३० मिनटसम्म लाग्ने गरेको कापी परीक्षक लेखनाथ अधिकारी बताउँछन् ।

    ज्ञापनपत्र बुझ्दै जिल्ला शिक्षा समन्वयन इकाइका परीक्षा इकाइ प्रमुख रुद्र पौडेलले पत्रलाई उच्च महत्वका साथ सम्बन्धित निकायसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

    हेर्नुहोस्, बुझाइएको ज्ञापन पत्र :

  • चितवनमा शैक्षिक सत्र सुरु भए पनि पुस्तक अभाव

    चितवनमा शैक्षिक सत्र सुरु भए पनि पुस्तक अभाव

    चितवन, जेठ १९-
    नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालयअन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो ।

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र काक्षा ८ को नेपाली, स्वास्थ्य र अग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको छ । अन्य पुस्तक धमाधम वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यस केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ ।

    गत वर्ष यस केन्द्रबाट ४५ लाख सेट पुस्तक बितरण गरिएको थियो । यस शैक्षिक सत्रमा अहिलेसम्म ३० हजार सेट पुस्तक वितरण गरिएको छ । अझै १५ हजार सेट पुस्तक माग भएको उहाँले बताउनुभयो । थप माग भएका पुस्तक केन्द्रीय कार्यालयसँग माग भएको उल्लेख गर्दै उहाँले यही महिनाभित्र पुस्तक विद्यार्थीको हातहातमा पुग्ने बताउनुभयो ।

    यहाँबाट वितरण हुने जिल्लामा १६५ पुस्तक पसल दर्ता भएर पुस्तक बिक्री वितरणका लागि लगेका छन् । टाढाबाट आएका व्यवसायीले अहिले दर्ता गर्दै पुस्तक लाने गरेको उहाँको भनाइ छ । जिल्लामा मात्रै ८९ पुस्तक पसल दर्ता छन् । जिल्लामा ३२५ सामुदायिक विद्यालय रहेका छन् । ती विद्यालयमा ९५ हजार २०४ विद्यार्थी अध्ययनरत रहेका छन् ।

    शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीले पुस्तकको अभाव हुन नदिनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई अनुरोध गरिएको बताउनुभयो । जिल्लालाई उच्च प्राथमिकतामा राखेर थप पुस्तक पठाउनका लागि लिखितरुपमा अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

  • कक्षा १ देखि ५ सम्म मातृभाषामा पठनपाठन हुनुपर्छ : भाषा आयोग

    कक्षा १ देखि ५ सम्म मातृभाषामा पठनपाठन हुनुपर्छ : भाषा आयोग

    दिलमाया शाही

    जुम्ला, १६ जेठ-

    प्रत्येक सामुदायिक विद्यालयमा मातृभाषामा शिक्षण हुनुपर्ने भाषा आयोगले बताएको छ । आयोगले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मातृभाषामा पठनपाठन हुनुपर्ने बताइएको हो ।

    भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डा लवदेव अवस्थीले नेपपालको संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था गरेको बताए । उनले भने, ‘हरेक बालबालिकाको लागि घरमा आमाले बोल्ने भाषामा शिक्षण सिकाइ हुनुपर्छ । यसका लागि सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम निमार्ण गर्न आवश्यक छ ।’

    उनका अनुसार कुनै कुनै विद्यालयमा स्थानीय पठनपाठन भइरहेको छ । तर, यसको प्रभावकारिता माथि प्रश्नचिह्न उठ्नु स्वाभाविक रहेकाे र कुनै भाषा पढाइ हुनुलाई मात्रै मातृभाषा शिक्षण भन्न नमिल्ने भन्दै वस्थीले भने, ‘घरमा बोलिने भाषा विद्यालयमा पढाइ नहुँदा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी प्रभावकारी हुन नसेको हो । जबसम्म आफ्नो मात्री भाषाको संरक्षण हुँदैन तबसम्म देश विकास हुँदैन ।’-न्युज कारखाना जुम्ला

     

  • शिक्षा क्षेत्रका लागि ७० अर्व ५ करोड बजेट

    शिक्षा क्षेत्रका लागि ७० अर्व ५ करोड बजेट

    काठमाडौं, जेठ १५ –

    सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।

    त्यस्तै सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गरेको छ । सरकारले डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउने भएको छ ।

    मेडिकल शिक्षाका लागि विदेशी विद्यार्थी आकर्षण बढाउन मेडिकल कलेजहरुलाई प्रोत्साहन गर्ने सरकारले जनाएको छ ।

  • देवघाटको आश्रममा रहेका बालिकासँग खुसी साट्दै स्टार्स मन्टेश्वरीले मनायो  १२ औं बार्षिक उत्सव

    देवघाटको आश्रममा रहेका बालिकासँग खुसी साट्दै स्टार्स मन्टेश्वरीले मनायो १२ औं बार्षिक उत्सव

    चितवन, जेठ १५ –
    भरतपुर ११ को मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरी एकेडमीले आश्रममा रहेका बालिकासँग खुसी साट्दै आफ्नो १२ औं वार्षिक उत्सव मनाएको छ ।

    देवघाटमा रहेको श्रीरामजानकी बालिका आश्रमका बालिकाहरुलाई बिहानको खाना खुवाउँदै मन्टेश्वरीले वार्षिक उत्सव मनाएको हो ।

    मन्टेश्वरीकी सञ्चालक जानकी खड्काले आश्रम आउँदा आश्रमका बालबालिका र मन्टेश्वरीमा आउने बालबालिकामा धेरै फरक पाएको बताइन् । उनले मन्टेश्वरीमा आउने बालबालिकालाई सामाजिक र व्यावहारिक ज्ञान सिकाउन अझ जोड दिइने बताइन् ।

    २०६७ सालदेखि सञ्चालनमा रहेको मन्टेश्वरीबाट अध्ययन गरी भरतपुरका नाम चलेका विद्यालयमा गएका विद्यार्थीहरुको नतिजा उत्कृष्ट हुने गरेको भरतपुर शाखाका सञ्चालक गणेश रानाले दाबी गरे ।

    उत्कृष्ट कहलिएको सो मन्टेश्वरीमा नयाँ भर्ना गर्न आउनेहरुको संख्या बढ्दै गएपछि भर्ना गर्न आएका जति सबैलाई भर्ना गर्न नसकिने अवस्थामा आफू रहेको बताउँदै उनले सबैलाई भर्ना गर्न सक्ने गरी संरचना बनाउने योजना रहेको सुनाए ।

    आश्रममा मनाइएको वार्षिक उत्सवमा मन्टेश्वरीमा रहेका सम्पूर्ण शिक्षकशिक्षिकाहरु सामु आश्रमका बालिकाहरुले गीत तथा स्वस्तिवाचन गरेका थिए ।

     

  • कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै

    कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै

    काठमाडौं, जेठ १५-
    राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।

    सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका एक हजार २९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताउनुभयो ।

    उहाँका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ ।

    विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर)मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।

    तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा. शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गर्नुभएको छ ।

    यसैबीच, कक्षा ११ को परीक्षा पनि सोमबारदेखि नै सञ्चालन हुने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकाङ्श विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने भएका हुन् ।

  • काठमाडौँ विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै

    काठमाडौँ विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै

    बनेपा, जेठ १४ –
    काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् ।

    कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् ।

    दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका १५७ रहेका छन् ।

    कार्यक्रममा पाँच जनालाई काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपाधि प्रदान गरिने विश्वविद्यालयले जनाएको छ । सत्ताइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट अहिलेसम्ममा ३८ हजार ३३६ उत्तीर्ण हुनेछन् ।रासस

  • अब विद्यालयमा पनि शनिबार र आइतबार बिदा, हिउँदे र वर्षे विदामा भने कटौती

    अब विद्यालयमा पनि शनिबार र आइतबार बिदा, हिउँदे र वर्षे विदामा भने कटौती

    काठमाडौं, बैशाख २८ –
    शिक्षा मन्त्रालयले विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

    मन्त्रालयमा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी निजी र सरकारी विद्यालयमा दुई दिन नै बिदा दिने निर्णय गरेको हो ।

    सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय समेत गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । शनिबार र आइतबार बिदा हुने भएपछि शुक्रबार ४ बजेसम्म पढाइ हुने उनले बताए ।

    मन्त्रालयको निर्णयअनुसार विद्यालय बिहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । हिउँदे, वर्खे र स्थानीय बिदालगायतको बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिन बिदा दिन सकिने निर्णय गरिएको छ ।

    उनले विद्यालयको हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सीटीईभीटीले र विश्वविद्यालयको हकमा विश्वविद्यालय अनुदान आयोगले विदा व्यवस्थापन गर्नुपर्ने बताए ।