Category: रत्ननगर

  • रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क

    रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क

    चितवन, २ भदौ
    पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको छ । उहाँका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी १४ शय्याबाहेक अन्य शय्या निःशुल्क गरिएका छन् ।

    अस्पतालमा यसअघि नै १० प्रतिशत शय्या तथा उपचार निःशुल्क गरिसकिएको डा ज्ञवालीले जानकारी दिनुभयो । प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले मातहतका १३ अस्पतालका सबै शय्या निःशुल्क गर्न निर्देशन दिएको थियो । साउन २२ गते स्वास्थ्यमन्त्री उत्तम जोशीले भदौ १ गतेदेखि क्याबिन, बाल र सघन उपचार कक्षबाहेक अन्य सम्पूर्ण शय्याहरु निःशुल्क गर्ने निर्णय गर्नुभएको थियो । मन्त्रीको निर्णयपश्चात् प्रादेशिक अस्पतालहरुका सामान्य शय्या (जनरल बेड) निःशुल्क गरिएका छन् ।

    बिरामीको चाप बढ्दै गएपछि सरकारले नागरिकलाई सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले मन्त्रालयले मातहतका १३ अस्पतालमा शय्या निःशुल्क गराएको प्रदेशका स्वास्थ्यमन्त्री जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा ती अस्पतालबाट सात लाख ५५ हजार २४ ले सेवा लिएका थिए । “स्वास्थ्य सेवालाई हुँदा खानेको पहँुचमा पु¥याउने उद्देश्यका साथ काम गरिरहेका छौँ”, मन्त्री जोशीले भन्नुभयो, “अब भर्ना भएका बिरामीले शय्या शुल्क तिर्नु पर्दैन् ।”

    प्रदेशका प्रयोगशालाहरुमा सर्वसुलभ रुपमा सेवा दिइएको भन्दै उहाँले डेङ्गु परीक्षण पनि निःशुल्क गरिएको बताउनुभयो । प्रदेशभित्र रहेका सीमान्तकृत, सबै आश्रममा रहेका, अपाङ्गको (क) एवं र (ख) वर्गका व्यक्ति, स्वयम् सेविकालगायतको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको मन्त्री जोशीले जानकारी दिनुभयो । “पक्षघात र मस्तिष्क घात भएका बिरामीलाई उपचारमा सहुलियत दिइएको, प्यारालाइसिस भएका बिरामीलाई आयुर्वेद अस्पतालमा निःशुल्क फिजियो थेरापी गर्ने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो ।

  • रत्ननगर नगरपालिकाले सुरु गर्‍यो गोठमा भेटेरिनरी, खेतमा कृषि प्राविधिक सेवा

    रत्ननगर नगरपालिकाले सुरु गर्‍यो गोठमा भेटेरिनरी, खेतमा कृषि प्राविधिक सेवा

    चितवन, ३१ साउन
    जिल्लाको रत्ननगर नगरपालिकाले गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक सेवा सुरु गरेको छ । पालिकाका १६ वटै वडामा महिनाको एकपटक विज्ञसहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्नेगरी सेवा सुरु गरिएको हो ।

    नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार कृषि र पशुपालनको विकासको प्राविधिक सेवा सुरु गरिएको छ । नगर गौरवको योजनाअन्तर्गत यस कार्यक्रमलाई अघि बढाइएको बताउँदै उहाँले प्रभावकारीरुपमा अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि र पशुपालनमा उत्पादन बढाउन प्राविधिक सेवा सुरु गरिएको हो ।”

    यो कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु ८० लाख बजेट विनियोजन जानकारी दिँदै उहाँले पशुपालनको विकास गरी दूध उत्पादन बढाउन घाँसमा प्रतिकट्ठा दुई हजार र दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान रकम वितरण गरिने बताउनुभयो ।

    कार्यक्रमअन्तर्गत १६ वटै वडामा महिनाको एकपटक विज्ञसहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “प्राविधिक सेवाको उपलब्धताका लागि नगरवासीले वडा कार्यालय तथा फोन गरेर प्राविधिकलाई खबर गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।”

    यसैगरी विषादीमा ७५ प्रतिशत र रासायनिक विषादीमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । हाललाई कृषिमा तीन र पशुमा तीन जना प्राविधिक टोली परिचालन गरिएको छ ।

    पशुशाखा प्रमुख शालिग्राम पौडेलका अनुसार गोठ र खेतमा पुगेका प्राविधिकले उपचारसँगै किसानलाई आवश्यक परामर्श सेवासमेत उपलब्ध गराउने छन् । पशुपालनतर्फ रत्ननगरमा एक सय १५ वटा गाईफार्म र २५ वटा व्यावसायिक भैँसी फार्म रहेका छन् । यहाँ दैनिक ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । कृषितर्फ रत्ननगरमा १५ हजार किसानले खेती गर्दै आएको नगरपालिकाको तथ्याङ्क छ ।

  • सौराहामा हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी

    सौराहामा हात्ती सफारीको विकल्प खोज्दै पर्यटन व्यवसायी

    चितवन, २८ साउन
    पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम हुँदै गएपछि यहाँका व्यवसायीले विकल्प खोज्न थालेका छन् ।

    विश्वका विभिन्न देशमा हात्ती माथि गरिने सफारी राम्रो मानिँदैन । बरु यसको विकल्पमा हात्ती सेञ्चुरी सुरु गरिएको पाइन्छ । हात्तीलाई खुल्ला ठाउँमा छाड्ने प्रक्रियालाई हात्ती सेन्चुरी भनिन्छ । कतिपय देशमा हात्तीसँग पर्यटक घुमाएर पर्यटन व्यवसाय गरेको पाइन्छ ।

    सौराहाका पर्यटन व्यवसायीबीच सामूहिक योजना नबनेपछि केहीले पर्यटकलाई हात्तीसँगै घुमाउन सुरु गरिसकेका छन् । एकै ठाउँमा खुल्लारुपमा हात्तीलाई छोडेर तीनै हात्तीसँग पर्यटकलाई विभिन्न गतिविधिमा समावेश गरी मनोरञ्जन दिन थालिएको छ ।

    सौराहाको सपना भिलेजका सञ्चालक ध्रुब गिरीले छ वटा हात्तीलाई खुल्ला ठाउँमा छोडेर पर्यटकीय गतिविधि गर्दै आउनुभएको छ । हात्ती सफारी बन्द गरेर उहाँले पर्यटकलाई हात्तीका विभिन्न गतिविधिमा समावेश गरी हात्ती सफारीभन्दा बढी आम्दानी गरिरहनुभएको छ । उहाँको भनाइमा बिहानीमा ‘एलिफेन्ट सनराइज बुस वाक (झाडीमा हात्तीसँगै घुम्ने) प्याकेज तयार गरिएको छ । यो प्याकेज अन्तर्गत पर्यटक काँसको झाडीमा हात्तीको अघि–पछि घुम्छन् । उनीहरुले बिहानी खाजा (ब्रेक फाष्ट) हात्तीसँगै खुलारुपमा लिन्छन् । गिरीका अनुसार यो प्याकेजवापत पर्यटकसँग रु तीन हजार पाँच सय लिइन्छ । हात्ती सफारी गर्दा रु दुई हजार पाँच सय मात्रै आउने भन्दै उहाँले सफारीभन्दा बढी आम्दानी हात्ती सेञ्चुरीबाट हुने गरेको सुनाउनुभयो ।

    गिरीले आफ्नै करिब २२ विघा जमिनमा हात्ती पालन गरिरहनुभएको छ । दिनभर हात्तीसँग रमाउन चाहने पर्यटकका लागि अर्को प्याकेज ‘डे विथ एलिफेन्ट’ पनि छ । यो प्याकेज अन्तर्गत ‘सनराइज बुस वाक’ पनि पर्छ । विहानको खाजापछि होटलमा फर्किएसँगै पर्यटक हात्तीको सरसफाइमा जुट्छन् । उनीहरुले हात्तीको दिसा सफा गर्ने, केरा ल्याउने, हात्तीका लागि दाना बनाउने र खुवाउने गर्दछन् । उनीहरुले दिउँसोको खाना पनि हात्तीसँगै रमाएर खान्छन् भने बेलुकाको खाना पनि हात्तीसँग रमाउँदै लिने गर्छन् । यो प्याकेजका लागि प्रति पर्यटकले रु १५ हजार लाग्छ ।

    समूहमा काम गर्न सबै इच्छुक नभएपछि बिगत तीन वर्षदेखि आफूले ‘हात्ती सेञ्चुरी’ सुरु गरिरहेको गिरीको भनाइ छ । “हात्तीलाई बाँधेर पाल्नु पर्दैन र सफारी पनि गर्नु पर्दैन । त्योभन्दा बढी सञ्चुरी मेडलबाट आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो । सौराहाका अन्य व्यवसायीले सङ्गठितरुपमा सेञ्चुरी मोडलमा हात्तीको प्रयोग गर्न केही वर्षदेखि गृहकार्य गरिरहेका छन् ।

    क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईका अनुसार थाइल्याण्ड गएर यो मोडलबारेमा अध्ययन गरिएको थियो । हात्ती सेञ्चुरीका लागि एक अमेरिकी संस्थाले सहकार्यको प्रस्ताव पनि गरेको भन्दै उहाँले त्यसले पूर्णता भने पाउन नसकेको बताउनुभयो । तत्कालिन समयमा कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि लागू भएको बन्दाबन्दीका कारण उक्त प्रयास स्थगित भएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो “हात्ती बिनाको पर्यटन सौराहामा सम्भव छैन, त्यसैले हामीले यसको विकल्प सोच्नैपर्छ ।” हात्ती सफारी दिगोरुपमा सम्भव नरहेको भन्दै उहाँले ढिलो चाँडो हात्ती सेञ्चुरीमा जानुको विकल्प नभएको बताउनुहुन्छ ।

    सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे युरोपेली, अमेरिकन, अष्ट्रेलियनलगायतका देशका पर्यटकले प्याकेजमा हात्ती सफारी छाडेको उहाँको भनाइ छ । जनावरमाथि चढेर उनीलाई सास्ती दिनु हुँदैन भन्ने मान्यता अनुसार त्यसो गरिएको हो । थाइल्याण्ड, कम्बोडिया, भियतनामलगायतका देशमा हात्ती सेञ्चुरी राम्रो भएको घिमिरेको भनाइ छ । उहाँले भन्नुभयो, “हात्तीले खाएको, नुहाएको, हात्तीसँगै हिँडेको जस्ता गतिविधिको अवलोकन गराइ पर्यटकबाट आम्दानी गर्न सकिन्छ ।”

    सौराहामा हाल ‘युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था’ सञ्चालनमा छ । संस्था अन्तर्गत हाल ३० वटा हात्ती छन् । संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहामा निजी हात्तीको सङ्ख्या ४२ वटा छ । कोरोना महामारी सुरु हुनुअघि हात्तीको सङ्ख्या ८० थियो । संस्थामा मात्र कोभिडअघिसम्म ६५ हात्ती रहेकोमा कोभिडपछि यो सङ्ख्या घटेर ३० मा सीमित भएको उहाँको भनाइ छ ।

    व्यवसायीहरुले हात्ती पाल्न नसकेपछि बाहिरबाट ल्याइएका हात्ती फिर्ता गरेको उहाँको भनाइ छ । एउटा हात्ती पाल्न मासिक करिब रु एक लाख २० हजार खर्च हुने खतिवडाले जानकारी दिनुभयो । एउटा वयस्क स्वस्थ हात्तीको मूल्य औसतमा रु एक करोड ५० लाख पर्छ ।

  • पूर्वी चितवनबाट भरतपुर भित्रिने सार्वजनिक गाडीलाई नारायणगढसम्म जान नदिए राष्ट्रिय स्वतन्त्र पार्टी आन्दोलनमा उत्रने

    पूर्वी चितवनबाट भरतपुर भित्रिने सार्वजनिक गाडीलाई नारायणगढसम्म जान नदिए राष्ट्रिय स्वतन्त्र पार्टी आन्दोलनमा उत्रने

    चितवन, साउन २७
    राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले पूर्वी चितवनबाट भरतपुर भित्रिने सार्वजनिक गाडीलाई नारायणगढसम्म जान नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ । रास्वपा चितवन र चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले शुक्रबार छुट्टा–छुट्टै विज्ञप्ति जारी गरी पूर्वी चितवनको लोथरसम्मबाट आउने सार्वजनिक गाडीलाई तत्काल नारायणगढसम्म जान दिन आग्रह गरेका हुन् ।

    सांसद ढकाल शुक्रबार सार्वजनिक गाडी चढेर नारायणगढको लायन्स चोकसम्मै पुगेका थिए । प्रहरीको अवरोधका बीच ढकालको नेतृत्वमा केहि सार्वजनिक गाडी नारायणगढसम्म गएपनि अवस्था सहज भएको छैन । पूर्वी चितवनबाट आउने गाडीलाई केन्द्रिय बसपार्कमै रोक्ने भरतपुर महानगरपालिकाको निर्णयका कारण २०७९ मंसिर १९ गतेदेखि पूर्वी चितवनका बासिन्दाले दुःख पाएको ढकालले बताए ।

    ‘भरतपुर–नारायणगढमा अस्पताल, क्याम्पस, व्यवसाय र रोजगारीका लागि आवतजावत गर्दा यातायातको साधन परिवर्तन गरी गन्तव्यसम्म पुग्नुपर्ने सकसपूर्ण कारणले पूर्वी चितवनबासीको यातायात खर्च बढ्नुको साथै असहज र असुविधा भएको छ’, ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा सम्बन्धित पक्ष र जिल्ला प्रशासन कार्यालयसँग पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सम्बोधन र सहजिकरणका लागि ८ महिना वितिसक्दा पनि कुनै सुनुवाई नहुँदा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’

    रास्वपा चितवनको विज्ञप्तिमा रास्वपाको पूर्वी चितवनका चार वटै पालिका सभापतिले हस्ताक्षर गर्दै साउन ३० गतेसम्म पनि समस्या समाधान नभए साउन ३१ गतेदेखि पूर्वी चितवनबासी निर्णायक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सांसद ढकालको पहलमा सार्वजनिक गाडीलाई नारायणगढसम्म लैजाने प्रयासलाई स्थानीय प्रशासनले धरपकड र अवरोध गरेको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुसालले बताए ।

  • रत्ननगर नगरपालिका मा रहेको रत्नप्रिय क्लबको वार्षिकउत्सवको अवसरमा भएको रक्तदानमा ७९ युनिट रगत संकलन

    रत्ननगर नगरपालिका मा रहेको रत्नप्रिय क्लबको वार्षिकउत्सवको अवसरमा भएको रक्तदानमा ७९ युनिट रगत संकलन

    चितवन, साउन २७

    रत्ननगर नगरपालिका–९ मा रहेको रत्न प्रिय क्लबको प्रथम वार्षिकउत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम भएको छ ।

    ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो, स्वस्थ रहौं, समृद्ध बनौं’ भन्ने मूल नाराका साथ रत्न प्रिय क्लबको आयोजना तथा रत्ननगर नगरपालिका वडा नं. ९ को सहआयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

    कार्यक्रममा ७९ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष बसन्त राना मगरले जानकारी दिए । राना मगरका अनुसार ७४ पुरुष र ५ जना महिलाले रक्तदान गरेका थिए । चितवनमा रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको उनले बताए ।

    कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख पल्हाद सापकोटाले चितवनमा मात्रै नभईकन देशैभर रगत अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम गर्नु प्रशंसनीय भएको बताए । उनले भने, ‘हरेक चिज बनाउन चाहेमा बनाउन सकिन्छ । रगत बनाउन सकिदैन, रगत अति आवश्यक छ ।’

    रत्न प्रिय क्लबले लागुऔषध नियन्त्रण, ट्राफिक सचेतना, सरसफाई, खेलकुदलगायत सामाजिक क्षेत्रहरुमा थुप्रै उदाहरणीय कार्यहरु गरिरहेको उनले बताए । रत्ननगर वडा नं. ९ का वडा अध्यक्ष अनन्त अधिकारीले सामाजिक क्षेत्रमा धेरै कार्यक्रम गर्ने क्लबले रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिएकोमा आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रममा वडा कार्यालयले सधै सहयोग गर्ने बताएका थिए ।

    बालुवाटार विपत् व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेलले यस प्रकारको रक्तदानले धेरैको जीवन बच्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा योगदान राष्ट्रको लागि रत्ननगरका अध्यक्ष लक्ष्मण पौडेल, समाजसेवी ज्ञानेन्द्रराज पाण्डे, एनिमल वेलफेरका प्रतिनिधि रामचन्द्र आचार्य लगायतको उपस्थिति थियो । क्लबका सचिव विजय लामाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक विशाल ओझाले स्वागत मन्तव्य राखेका थिए ।

     

  • सौराहाका हात्तीलाई वनभोज

    सौराहाका हात्तीलाई वनभोज

    चितवन, साउन २७
    १२औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ।

    युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्रांगणमा वनभोज खुवाइएको हो। हात्ती दिवसको अवसरमा हरेक वर्ष हात्तीलाई फलफूल, सखरसहितको भोजन खुवाइने गरिन्छ। सन् २०१२ देखि क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको थियो।

    सौराहामा निजी स्तरमा सञ्चालित तथा सरकारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई वनभोज खुवाइएको हो। हात्तीलाई पोष्टिक आहारको रूपमा केरा, स्याउ, उखु, खर्बुजा, चना खुवाइएको थियो।

    हात्तीलाई लोप हुनबाट बचाउन यसको आवश्यकता महसुस गरी संरक्षणमा नीतिगत व्यवस्था गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताए । नेपालमा जंगली तथा घरपालुवा गरी करिब ५ सय हात्ती रहेको तथ्यांक छ।

  • रत्ननगरमा मापसेगरी मोटरसाइकल चलाउँदा ट्रकमा ठोक्किएर पछि….

    रत्ननगरमा मापसेगरी मोटरसाइकल चलाउँदा ट्रकमा ठोक्किएर पछि….

    चितवन, साउन २७-
    चितवनको रत्ननगरमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा ट्रकमा ठोक्किएर तीन जना घाइते भएका छन् ।

    आज बिहान भरतपुरबाट हेटौडातर्फ जादै गरेको ना ७ ख ९४४ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५४ प ४१५४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइलकमा सवार तीन जना घाइते भएका हुन् ।

    घाइते हुनेहरुमा मोटरसाइकल चालक रत्ननगर– ३ बस्ने बर्ष ३० को अमृत बोहोरा, रत्ननगर–१० बस्ने वर्ष ३५ को बालकृष्ण पाण्डे र खैरहनी नगरपालिका–८ बस्ने वर्ष ३० को विकास सुवेदी रहेका छन् । बोहोरा र पाण्डेले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ । बोहोरोको अवस्था गम्भिर, पाण्डे र सुवेदीको अवस्था सामान्य छ ।

    प्रहरीका अनुसार गम्भिर घाइते भएका बोहोरोको अस्पतालमा उपचार भइरहेको छ ।

  • चितवनका नर्सिङ कलेज सञ्चालक आन्दोलित

    चितवनका नर्सिङ कलेज सञ्चालक आन्दोलित

    चितवन, २५ साउन
    नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । विगतमा सञ्चालन हुँदै आएका नर्सिङ कलेज राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ का कारण कलेजहरू बन्द हुन पुगेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

    उक्त सङ्घर्ष समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी उक्त ऐनका कारण देशभर दुई सय २८ शिक्षण संस्था बन्द भएकामा चितवनका नौ वटा नर्सिङ क्याम्पस परेको छ । हाल देशभरका सिटिइभिटीअन्तर्गत सञ्चालित प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका एक सय ३७, स्टाफ नर्सका ७७ र विश्वविद्यालयअन्तर्गतका स्नातक तह बिएन १० एवं बिएस्सी नर्सिङका आठ वटा कार्यक्रम बन्द भएका छन् । समिति संयोजक शम्भु सुवेदीले कार्यक्रम बन्द हुँदा विद्यार्थी देश छोडेर विदेश जान बाध्य भएको बताउनुभयो । उक्त ऐनले स्नातक तहमा स्वास्थ्य विज्ञानका सबै कार्यक्रममा भर्ना क्षमताको २० प्रतिशतमा सीमित गराईएको उहाँको गुनासो थियो ।

    सो ऐनबमोजिम सिटिइभिटी र विश्वविद्यालयका कार्यक्रम एउटै क्याम्पसमा सञ्चालन गर्न पाइदैन । त्यसका लागि कम्तीमा एक सय श्ययाको अस्पताल आवश्यक हुन्छ । यसअघि ५० श्ययाको अस्पतालमा नर्सिङको पढाई सञ्चालन हुँदै आएका थिए । एक सय श्ययाभन्दा माथि भएका अस्पतालले पनि प्रमाणपत्र तह वा स्नातक तहमध्ये एउटा मात्रै पढाउन पाउने व्यवस्था गरिएको छ ।
    स्वास्थ्य सङ्काय सञ्चालन गर्न आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था पनि छ । यसअघि अन्य अस्पतालमा प्रयोगात्मक कक्षा गराएर पढाइहुँदै आएका धेरै क्याम्पस छन् । संयोजक सुवेदीले एक सय श्ययाको अस्पताल सञ्चालन गर्न रु दुई अर्ब लगानी हुने र तोकेअनुसारको जनशक्ति व्यवस्थापन गर्न कठिन हुने बताउनुभयो । चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सिटिइभिटीको पुनःसंरचना गरिनुुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाको तत्काल भर्ना खोल्नुपर्ने माग सङ्घर्ष समितिको छ ।

    यस्तै आयोग र सिटिइभिटीका कारणले बन्द भएका कलेजमा तत्काल भर्ना खोल्नुपर्ने, कलेज बन्द हुँदा खोसिएका रोजगारी सुनिश्चित गर्नुपर्नेलगायत माग पनि गरिएको छ। यसअघि विभिन्न खालका बौद्धिक हिसाबका सङ्घर्षका कार्यक्रम गर्दै आएका सञ्चालकहरूले अब सार्वजनिक विरोधका कार्यक्रम गर्ने जनाएका छन् ।

    पत्रकारहरुले सोधेका प्रश्नमा फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रीय सल्लाहकार नारायणसिंह कुँवर, मैयादेवी कन्या कलेजका अध्यक्ष टङ्कनाथ पौडेल, मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा केशव भूर्तेल, बोस्टन कलेजका सञ्चालक मनोज विष्ट, बालकुमारी क्याम्पसका अनन्त ढुङ्गानालगायतले जवाफ दिनुभएको थियो ।

    क्याम्पस बन्द हुँदा नर्सिङ जनशक्ति अभाव हुँदै गएको, भारतीय सीमा क्षेत्रमा नर्सिङ क्याम्पस सञ्चालनमा आएकाले नेपालको धेरै रकम बाहिरिएको भन्दै उहाँहरुले चिन्ता पनि व्यक्त गर्नुभएको थियो । यसैगरी हालसम्म नेपालमा अध्ययन गरेका नर्सहरुमध्ये धेरैले विश्वका धनी राष्ट्रहरुमा राम्रो पारिश्रमिक पाएर रोजगार बनेको उहाँहरुको भनाइ थियो । (रासस)

  • भरतपुरमा डेङ्गी परीक्षणको शुल्क ६ सय रुपैयाँ

    भरतपुरमा डेङ्गी परीक्षणको शुल्क ६ सय रुपैयाँ

    चितवन, २४ श्रावण
    भरतपुर महानगरपालिकाले डेङ्गी रोग परीक्षणका लागि शुल्क तोकेको छ।

    डेङ्गीको परीक्षणमा ल्याबहरुले जथाभाबी रुपमा मूल्य लिन थालेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेको हो। महानगरपालिकाले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै डेङ्गी परीक्षणका लागि अधिकतम मूल्य ६ सय रुपैयाँ तोकेको छ।

    जिल्लाका ल्याबहरुमा डेङ्गी परीक्षणको शुल्क एकरूपता नभएको गुनासो आएपछि शुल्क निर्धारण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए।

    ‘देशै भरी डेङ्गी रोग फैलिरहेको छ। यसमा महानगरपालिका समेत उच्च जोखिममा छ। तर रोग निदानका लागि गरिने परीक्षणमा एकरूपता नभएको गुनासो आएपछि सरोकारवालाहरुसँगको बैठकको निर्णय अनुसार अधिकतम दस्तुर रकम ६ सय लिन अनुरोध छ’–उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    उनले सबै स्वास्थ्य संस्थालाई लागु गर्न समेत अनुरोध गरेका छन्। डेङ्गी परीक्षण गरेको कुनै ल्याबले भरतपुरमा हजार रुपैयाँ सम्म लिने गरेका छन्।

    नेपालमा डेङ्गी रोगको संक्रमण पहिलो पटक चितवनमा देखिएको हो। यहाँ एक वर्षको अन्तरालमा डेङ्गीको महामारी नै हुने गर्दछ। साउन यता जिल्लामा ४६ जनामा संक्रमण देखिएको छ। सबैभन्दा बढी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा भेटिएको छ।

  • चितवनमा युवा केन्द्रित लिडरशिप ओडेसि कार्यक्रम हुने, सांसद सोबिता गौतम प्रमुख वक्ता

    चितवनमा युवा केन्द्रित लिडरशिप ओडेसि कार्यक्रम हुने, सांसद सोबिता गौतम प्रमुख वक्ता

    चितवन, साउन २३
    अन्तराष्ट्रिय युवा दिवसका अवसर पारेर साउन २७ गते शनिबार चितवनको भरतपुरमा वृहत युवा केन्द्रित कार्यक्रम लिडरशिप ओडेसी -२०२३ हुने भएको छ ।

    कार्यक्रम लिडरशिप ओडेसी २०२३ का संयोजक ई. प्रबिन काफ्लेका अनुसार “अन्तराष्ट्रिय युवा राजनीतिज्ञ” को रुपमा पुरस्कृत माननीय सोबिता गौतम, युवा नेता कविन्द्र बुर्लाकोटी र लिडरशिप कोच अनिल केशरी शाह वक्ताको रुपमा रहने जानकारी दिए । युवा नेत्री प्रसमा पौडलले कार्यक्रम संचालन गर्ने काफ्लेले बताए ।

    चितवनका सातवटा पालिकाबाट राजनीतिमा आवद्द नरहेका बिभिन्न क्षेत्रमा अब्बल १/१ जनालाई सम्मान र प्रोत्साहन गर्ने कार्यक्रमको उदेश्य रहेको छ।

    कार्यक्रममा करिब १००० जना युवा सहभागिताको लक्ष्य लिईएको संयोजक काफ्लेले बताएका छन्।

    सो कार्यक्रममा युवा उद्यमीलाई प्रबर्धन गर्ने लक्ष्य पनि राखिएको छ। कार्यक्रम भने निशुल्क हुनेछ ।