Category: राप्ती

  • चितवनको खुरखुरेमा दुई बस एक आपसमा ठक्कर खाँदा ३१ जना घाइते

    चितवनको खुरखुरेमा दुई बस एक आपसमा ठक्कर खाँदा ३१ जना घाइते

    चितवन, असोज ८

    चितवनको राप्ती नगरपालिका–८ खुरखुरेमा दुई बस एक आपसमा ठक्कर खाँदा ३१ जना घाइते भएका छन् ।

    इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार आज दिउँसो पोखराबाट गौर तर्फ आइरहेको ग१ख ७५३२ नं.को यात्रु बाहक बस र वीरगन्जबाट काठमाडाँै तर्फ जाँदै गरेको ना७ख ६०४१ नं.को बस एक आपसमा ठक्कर खाँदा दुवै सवारी साधनको चालक सहित दुबै सवारी साधनमा सवार यात्रुहरु घाइते भएका हुन् ।

    घाइतेहरुमा सुरेश राय, फुल कुमारी देवी, जय मंगल राय यादव, अर्पना चौधरी, गिता भुजेल, जुनामाया अधिकारी, राममाया, श्री बहादुर तितुङ, बिवेक गुप्ता, महोमद अस्ताव, मिना लम्साल, क्षितिज लम्साल, कृष्णमाया जिम्बा, महोमत अर्मान, बछिया देवी, अर्जुन ठाकुर, कौशिला रेग्मी, शिवबालक साह, अनत राउत, रामनाथ साह, वली प्रसाद कलवार, रानी धोवी, ब्युटी कुमारी कलवार, जुना थापा, जमदार कुमार, शर्मिला कँडेल, किश्वर गुप्ता, संजिता घोष रहेका छन् ।

    प्रहरीका अनुसार १.ना७ख ६०४१ बस चालक नाम, थर नखुलेको वर्ष ३९÷४० को पुरुष गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ग१ख ७५३२ नं.को बसको सहचालक रौतहट चन्थपुर–६ का २२ वर्षीय सुदर्शन पट्टेल मध्यम, सोही बसमा सवार भरतपुर ९ बस्ने वर्ष ४२ की राधा तिमल्सिना सामान्य घाइते भएकी छन् ।

    घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

  • गिद्ध संरक्षण सप्ताह: राप्ती किनारामा सरसफाइ

    गिद्ध संरक्षण सप्ताह: राप्ती किनारामा सरसफाइ

    चितवन, १५ भदौ
    गिद्ध संरक्षण सप्ताहका अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको छ । सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा राप्ती किनारमा सरसफाइ गरिएको हो ।

    सङ्कटापन्न अवस्थामा पुगेको गिद्ध संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान बछौलीको आयोजना तथा वर्ड एजुकेशन सोसाइटी, नेचर गाइड एशोसियसन र सौराहा लेडी जेसीजको सहआयोजनामा कार्यक्रम गरिएको हो । शनिबार स्कुलका विद्यार्थीलाई कुमरोज सामुदायिक वनमा घुमाएर गिद्धसहितका चराको अवलोकन र महत्वका बारेमा जानकारी गराइँदैछ ।

    सरसफाइ कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरको प्रमुख आतिथ्यतामा भएको थियो । उनले गिद्धको सङ्ख्यालाई पुरानै अवस्थामा फर्काउन मुश्किल रहे पनि जोगाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

    कार्यक्रममा वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीका गिरीले नेपालमा गिद्ध सङ्कटापन्न अवस्थामा रहेको जनाउँदै चितवनमा यसको प्रजनन् हुन छाडेको बताए । जाडो महिनामा अन्तबाट गिद्ध चितवन आउँछन् । तर चितवनमा गिद्ध छैन । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, नेपाली सेनाका गुल्मपति हरि तिवारी, वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिलकुमार गुरुङ, बाघमारा वनका अध्यक्ष जितु तामाङ, चित्रसेन वनकी सचिव रिता थापा लगायतको उपस्थिति थियो ।

  • चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने

    चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने

    भरतपुर (चितवन), ६ भदौ
    चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेले जानकारी दिनुभयो । पुल निर्माणका लागि अहिले बजेटसमेत विनियोजन भएको उहाँले बताउनुभयो ।

    “अहिले सर्भेलगायतका कामका लागि बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “अब बहुवर्षीय योजनाअन्तर्गत पुल निर्माणका लागि बजेट विनियोजन हुनेछ ।” सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले सर्भेको काम सम्पन्न गरेर डिजाइनको काम गरिरहेको सांसद पाण्डेले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको कसराबाट रिउसम्म ११ किलोमिटर कच्ची सडक रहेको छ । पुल निर्माण भएसँगै भरतपुर र माडी जोड्ने सडकको दूरी निकुञ्जमा मात्रै तीन दशमलव नौ किलोमिटर छोटो हुने उहाँले बताउनुभयो । नयाँ पुल निर्माण भएपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षासँगै वन्यजन्तुलाई असर नपर्ने उहाँको भनाइ छ । पुल निर्माणसँगै निकुञ्जभित्र कालोपत्रसमेत गरिने छ ।

    “अहिले कच्ची सडक हुँदा त्यस वरपरका बोटबिरुवा र वन्यजन्तुलाई समेत असर परेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि पनि यहाँ कालोपत्र गर्न जरुरी छ ।”

    माडी जानका लागि कसरामा पुल निर्माण नहुँदासम्म धु्रबघाटको बाटो प्रयोग हुने गरेको थियो । भरतपुर २३ का वडाध्यक्ष दीपक दबाडीले ठोरीबाट रसुवासम्म नुन बोकेर जाने बाटो यही भएको जानकारी दिनुभयो । पुल निर्माण भएसँगै भरतपुर माडी यात्राका लागि सहज हुने उहाँले बताउनुभयो ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले धु्रवघाटमा पुल निर्माणका लागि वन मन्त्रालयले स्वीकृति दिइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माणका लागि २०७९ असोजमा मन्त्रालयले स्वीकृति दिएको हो, चाँडै पुल निर्माणको काम अघि बढ्छ ।”

    निकुञ्जले वन्यजन्तुमैत्री पूर्वाधार बनाउनका लागि सुझावसमेत पेस गरेको भन्दै पुल निर्माण भए निकुञ्जलाई पनि फाइदा पुग्ने उहाँले बताउनुभयो । “अहिले कसरमा रहेको पुल जीर्ण अवस्थामा छ, पुल साँघुरो भएका कारण दोहोरो सवारीसाधन सञ्चालन गर्न मिल्दैन”, उहाँले भन्नुभयो । हुलाकी सडकअन्तर्गत राप्तीमा एउटा पुल आवश्यक रहेको र त्यसमा पनि ध्रुबघाट उपयुक्त देखिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । रासस

  • कागतीमा खटिरे रोग देखिएपछि कागती किसान समस्यामा

    कागतीमा खटिरे रोग देखिएपछि कागती किसान समस्यामा

    -सनद अधिकारी
    नारायणगढ (चितवन), १ भदौ
    विगत तीन वर्षदेखि पूर्वी चितवनमा कागतीखेती गर्दै आएका प्रेम कँडेल कागतीमा रोग देखिएपछि चिन्तित बन्नुभएको छ । उत्पादन दिने समयमा समस्या देखिएसँगै उत्पादित कागतीले बजार पाउन नसकेको उहाँले बताउनुभयो ।

    राप्ती नगरपालिका–७ मा कागतीखेती गर्दै आएका उहाँ अहिले कागतीमा खटिरे रोग (क्याङ्कर) को समस्या देखिएपछि बजारमा लैजान नपाएको बताउनुहुन्छ । उत्पादनमा रोगको समस्या देखिएर बजार नपाउँदा भारतीय कागतीले बजार पाएको उहाँले गुनासोे गर्नुभयो ।

    उहाँले भन्नुभयो, “कागतीमा क्याङ्करको समस्या आएपछि बिरुवा र फलमा वृद्धि विकास नहुने र उत्पादित फलले बजार नपाउने हुँदोरहेछ ।” यहाँका कागतीमा क्याङ्कर भएपछि बजारमा बिक्री हुन नसकेको भन्दै उहाँले भारतबाट एक नासका कागती आउने हुँदा यहाँको राम्रो उत्पादनले पनि बजार पाउन नसकेको बताउनुभयो ।

    कालिका नगरपालिका–२ पदमपुरका रामप्रसाद न्यौपानेले आफूले लगाएको कागतीको उत्पादनमा ५० प्रतिशत दानामा क्याङ्करको समस्या देखिएको बताउनुभयो । विसं २०७५ देखि कागतीखेती गर्दै आउनुभएका न्यौपानेले कागतीमा यस्ता खालका समस्या यो समयमा बर्सेनि आउने गरेको बताउनुभयो । कागतीमा क्याङ्करको समस्याभन्दा पनि बजारको समस्या बढी भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कागतीमा लागेको रोग त उपचार गरेर निको बनाइएला तर भारतीय कागती नेपाली बजारमा भित्रिएपछि हाम्रो उत्पादन थन्किने समस्या कसरी नियन्त्रण गर्ने ?”

    कृषि ज्ञानकेन्द्र चितवनका अनुसार जिल्लामा लगाइएको कागती बालीमा ३० प्रतिशतमा क्याङ्करको सङ्क्रमण देखिएको छ । मौसममा आएको परिवर्तनले क्याङ्कर जीवाणुको सङ्क्रमण भएपछि यो रोग लाग्ने गर्दछ । जिल्लामा लगाइएका प्रायःकागतीमा यो समस्या देखिएको कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भरतपुरका बाली संरक्षण विज्ञ रमेशचन्द्र सुवेदीले जिल्लामा लगाइएका कागतीमध्ये उत्पादनको ३० प्रतिशतमा खटिरा रोगको सङ्क्रमण देखिएको बताउनुभयो । समग्र जिल्लामा लागाइएको बाली हेर्दा खानै नमिल्ने गरी १० प्रतिशत, धरै असर नगरेको १० प्रतिशत र अलिकति असर देखिएको १० प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “कृषकले समयमै रोग किरा नियन्त्रणका उपाय अवलम्बन नगर्दा समस्या आएको हो ।” दाना लाग्ने समयमा नै यसको उपचार गर्न सके रोग नियन्त्रणमा आउने उहाँको भनाइ छ । कृषि ज्ञानकेन्द्रका बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार यस रोगले पात, हाँगा र फलमा आक्रमण गर्ने गर्दछ । यस रोगका कारण फलको गुणस्तरमा कमी आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा यो रोगको जीवाणुले सङ्क्रमण गरेपछि पातको तल्लो तहमा साना गोलो उठेको पानीले भिजेको जस्तो दाग देखिन्छ, पछि पुरै बोटलाई यसले असर गर्दछ ।”

    यो रोगबाट बच्नका लागि रोगी बोटबाट बिरुवा उत्पादन गर्न नहुने, रोग सहनसक्ने जातका बिरुवा लगाउनुपर्ने, बगैँचामा काम गर्दा बोटलाई चोटपटक दिन नहुने र पातमा सुरुङ बनाउने लिफ माइनर किरालाई नियन्त्रण गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

    किराको व्यवस्थापनका लागि लार्भा हातले टिपेर फाल्ने, स्पाइनोसाड ४५ प्रतिशत एससी शून्य दशमलव चार मिलि प्रतिलिटर पानी वा स्पाइनोसाड दुई दशमलव पाँच प्रतिशत एससी एक दशमलव दुई मिलि प्रतिलिटर पानी वा इमामेक्टिन बेनजोएट पाँच प्रतिशत, एसजी एक ग्राम प्रतिलिटर पानीमा मिसाइ २–३ पटकसम्म १५ दिनको फरकमा छर्कनुपर्ने उहाँले बताउनुभयो ।

    जिल्लामा झन्डै २० बिघा क्षेत्रफलमा कागतीखेती गरिएको छ । कालिका नगरपािलका, राप्ती नगरपालिका र माडी क्षेत्रमा विशेष गरी कागतीखेती गरिन्छ । यहाँको उत्पादन चितवनसहित काठमाडौँ, पोखरालगायतका सहरमा जाने गरेको छ । रासस

  • सौराहाका हात्तीलाई वनभोज

    सौराहाका हात्तीलाई वनभोज

    चितवन, साउन २७
    १२औँ अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ।

    युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको प्रांगणमा वनभोज खुवाइएको हो। हात्ती दिवसको अवसरमा हरेक वर्ष हात्तीलाई फलफूल, सखरसहितको भोजन खुवाइने गरिन्छ। सन् २०१२ देखि क्यानडाबाट हात्ती दिवस मनाउन सुरु गरिएको थियो।

    सौराहामा निजी स्तरमा सञ्चालित तथा सरकारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीलाई वनभोज खुवाइएको हो। हात्तीलाई पोष्टिक आहारको रूपमा केरा, स्याउ, उखु, खर्बुजा, चना खुवाइएको थियो।

    हात्तीलाई लोप हुनबाट बचाउन यसको आवश्यकता महसुस गरी संरक्षणमा नीतिगत व्यवस्था गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताए । नेपालमा जंगली तथा घरपालुवा गरी करिब ५ सय हात्ती रहेको तथ्यांक छ।

  • चितवनका नर्सिङ कलेज सञ्चालक आन्दोलित

    चितवनका नर्सिङ कलेज सञ्चालक आन्दोलित

    चितवन, २५ साउन
    नर्सिङ कलेज बन्द भएपछि सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । विगतमा सञ्चालन हुँदै आएका नर्सिङ कलेज राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ का कारण कलेजहरू बन्द हुन पुगेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

    उक्त सङ्घर्ष समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी उक्त ऐनका कारण देशभर दुई सय २८ शिक्षण संस्था बन्द भएकामा चितवनका नौ वटा नर्सिङ क्याम्पस परेको छ । हाल देशभरका सिटिइभिटीअन्तर्गत सञ्चालित प्रिडिप्लोमा तहका स्वास्थ्य विषयका एक सय ३७, स्टाफ नर्सका ७७ र विश्वविद्यालयअन्तर्गतका स्नातक तह बिएन १० एवं बिएस्सी नर्सिङका आठ वटा कार्यक्रम बन्द भएका छन् । समिति संयोजक शम्भु सुवेदीले कार्यक्रम बन्द हुँदा विद्यार्थी देश छोडेर विदेश जान बाध्य भएको बताउनुभयो । उक्त ऐनले स्नातक तहमा स्वास्थ्य विज्ञानका सबै कार्यक्रममा भर्ना क्षमताको २० प्रतिशतमा सीमित गराईएको उहाँको गुनासो थियो ।

    सो ऐनबमोजिम सिटिइभिटी र विश्वविद्यालयका कार्यक्रम एउटै क्याम्पसमा सञ्चालन गर्न पाइदैन । त्यसका लागि कम्तीमा एक सय श्ययाको अस्पताल आवश्यक हुन्छ । यसअघि ५० श्ययाको अस्पतालमा नर्सिङको पढाई सञ्चालन हुँदै आएका थिए । एक सय श्ययाभन्दा माथि भएका अस्पतालले पनि प्रमाणपत्र तह वा स्नातक तहमध्ये एउटा मात्रै पढाउन पाउने व्यवस्था गरिएको छ ।
    स्वास्थ्य सङ्काय सञ्चालन गर्न आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था पनि छ । यसअघि अन्य अस्पतालमा प्रयोगात्मक कक्षा गराएर पढाइहुँदै आएका धेरै क्याम्पस छन् । संयोजक सुवेदीले एक सय श्ययाको अस्पताल सञ्चालन गर्न रु दुई अर्ब लगानी हुने र तोकेअनुसारको जनशक्ति व्यवस्थापन गर्न कठिन हुने बताउनुभयो । चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सिटिइभिटीको पुनःसंरचना गरिनुुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाको तत्काल भर्ना खोल्नुपर्ने माग सङ्घर्ष समितिको छ ।

    यस्तै आयोग र सिटिइभिटीका कारणले बन्द भएका कलेजमा तत्काल भर्ना खोल्नुपर्ने, कलेज बन्द हुँदा खोसिएका रोजगारी सुनिश्चित गर्नुपर्नेलगायत माग पनि गरिएको छ। यसअघि विभिन्न खालका बौद्धिक हिसाबका सङ्घर्षका कार्यक्रम गर्दै आएका सञ्चालकहरूले अब सार्वजनिक विरोधका कार्यक्रम गर्ने जनाएका छन् ।

    पत्रकारहरुले सोधेका प्रश्नमा फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रीय सल्लाहकार नारायणसिंह कुँवर, मैयादेवी कन्या कलेजका अध्यक्ष टङ्कनाथ पौडेल, मौलाकालिका अस्पतालका प्रबन्ध निर्देशक डा केशव भूर्तेल, बोस्टन कलेजका सञ्चालक मनोज विष्ट, बालकुमारी क्याम्पसका अनन्त ढुङ्गानालगायतले जवाफ दिनुभएको थियो ।

    क्याम्पस बन्द हुँदा नर्सिङ जनशक्ति अभाव हुँदै गएको, भारतीय सीमा क्षेत्रमा नर्सिङ क्याम्पस सञ्चालनमा आएकाले नेपालको धेरै रकम बाहिरिएको भन्दै उहाँहरुले चिन्ता पनि व्यक्त गर्नुभएको थियो । यसैगरी हालसम्म नेपालमा अध्ययन गरेका नर्सहरुमध्ये धेरैले विश्वका धनी राष्ट्रहरुमा राम्रो पारिश्रमिक पाएर रोजगार बनेको उहाँहरुको भनाइ थियो । (रासस)

  • भरतपुरमा डेङ्गी परीक्षणको शुल्क ६ सय रुपैयाँ

    भरतपुरमा डेङ्गी परीक्षणको शुल्क ६ सय रुपैयाँ

    चितवन, २४ श्रावण
    भरतपुर महानगरपालिकाले डेङ्गी रोग परीक्षणका लागि शुल्क तोकेको छ।

    डेङ्गीको परीक्षणमा ल्याबहरुले जथाभाबी रुपमा मूल्य लिन थालेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेको हो। महानगरपालिकाले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै डेङ्गी परीक्षणका लागि अधिकतम मूल्य ६ सय रुपैयाँ तोकेको छ।

    जिल्लाका ल्याबहरुमा डेङ्गी परीक्षणको शुल्क एकरूपता नभएको गुनासो आएपछि शुल्क निर्धारण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए।

    ‘देशै भरी डेङ्गी रोग फैलिरहेको छ। यसमा महानगरपालिका समेत उच्च जोखिममा छ। तर रोग निदानका लागि गरिने परीक्षणमा एकरूपता नभएको गुनासो आएपछि सरोकारवालाहरुसँगको बैठकको निर्णय अनुसार अधिकतम दस्तुर रकम ६ सय लिन अनुरोध छ’–उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    उनले सबै स्वास्थ्य संस्थालाई लागु गर्न समेत अनुरोध गरेका छन्। डेङ्गी परीक्षण गरेको कुनै ल्याबले भरतपुरमा हजार रुपैयाँ सम्म लिने गरेका छन्।

    नेपालमा डेङ्गी रोगको संक्रमण पहिलो पटक चितवनमा देखिएको हो। यहाँ एक वर्षको अन्तरालमा डेङ्गीको महामारी नै हुने गर्दछ। साउन यता जिल्लामा ४६ जनामा संक्रमण देखिएको छ। सबैभन्दा बढी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा भेटिएको छ।

  • राप्तीवासीको रगतमा लाग्ने परीक्षण शुल्क नगरपालिका आफैँले तिर्ने

    राप्तीवासीको रगतमा लाग्ने परीक्षण शुल्क नगरपालिका आफैँले तिर्ने

    चितवन, २४ साउन
    चितवनको राप्ती नगरपालिकाले नगरवासीको उपचारमा आवश्यक पर्ने रगतमा लाग्ने परीक्षण शुल्क आफैँले तिर्ने भएको छ । राप्ती नगरपालिका र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरबीच यससम्बन्धी सम्झौता भएको हो ।

    नगरप्रमुख शमशेर लामाका अनुसार नगरवासीका लागि रेडक्रस सोसाइटीले उपलब्ध गराएको रगतको तोकिएको सेवा शुल्कवापतको रकम नगरपालिकाले रेडक्रस सोसाइटीलाई बैंकमार्फत भुक्तानी गर्नेछ ।

    सम्झौतामा सेवा लिने व्यक्तिले स्थायी बसोबास भएको नेपाल सरकारको मतदाता परिचयपत्र, नागरिकता वा नगरपालिका तथा वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने छ । नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीको हकमा भने कर्मचारी परिचयपत्र वा सिफारिस पेस गर्नुपर्ने, आपत्कालीन अवस्थामा रगत लिनुपर्ने भई अन्य कागजात पेस गर्न नसकेको अवस्थामा बिलका आधारमा सोझै नगरपालिकाबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने सम्झौता भएको छ ।

    करार अवधि सम्झौता भएको मितिले चार वर्षको हुने र प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने, सहमति र सहकार्यको आधारमा करार अवधि थपघट गर्न सक्ने सम्झौतापत्रमा उल्लेख रहेको लामाले जानकारी दिनुभयो । यो सम्झौता भदौ १ गतेदेखि लागू हुने नगरप्रमुख लामाले बताउनुभयो । सम्झौतापत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख लामा र रेडक्रस सोसाइटीको तर्फबाट रेडक्रसका जिल्ला सभापति हरिप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ । एक पाउन्ड रगत बराबर रु आठ सय ५० तिर्नुपर्ने हुन्छ ।(रासस)

  • चितवनमा युवा केन्द्रित लिडरशिप ओडेसि कार्यक्रम हुने, सांसद सोबिता गौतम प्रमुख वक्ता

    चितवनमा युवा केन्द्रित लिडरशिप ओडेसि कार्यक्रम हुने, सांसद सोबिता गौतम प्रमुख वक्ता

    चितवन, साउन २३
    अन्तराष्ट्रिय युवा दिवसका अवसर पारेर साउन २७ गते शनिबार चितवनको भरतपुरमा वृहत युवा केन्द्रित कार्यक्रम लिडरशिप ओडेसी -२०२३ हुने भएको छ ।

    कार्यक्रम लिडरशिप ओडेसी २०२३ का संयोजक ई. प्रबिन काफ्लेका अनुसार “अन्तराष्ट्रिय युवा राजनीतिज्ञ” को रुपमा पुरस्कृत माननीय सोबिता गौतम, युवा नेता कविन्द्र बुर्लाकोटी र लिडरशिप कोच अनिल केशरी शाह वक्ताको रुपमा रहने जानकारी दिए । युवा नेत्री प्रसमा पौडलले कार्यक्रम संचालन गर्ने काफ्लेले बताए ।

    चितवनका सातवटा पालिकाबाट राजनीतिमा आवद्द नरहेका बिभिन्न क्षेत्रमा अब्बल १/१ जनालाई सम्मान र प्रोत्साहन गर्ने कार्यक्रमको उदेश्य रहेको छ।

    कार्यक्रममा करिब १००० जना युवा सहभागिताको लक्ष्य लिईएको संयोजक काफ्लेले बताएका छन्।

    सो कार्यक्रममा युवा उद्यमीलाई प्रबर्धन गर्ने लक्ष्य पनि राखिएको छ। कार्यक्रम भने निशुल्क हुनेछ ।

  • मनकामना अस्पतालको लापरवाहीले गर्भवतीको मृत्यु, साढे २७ लाखमा सहमति

    मनकामना अस्पतालको लापरवाहीले गर्भवतीको मृत्यु, साढे २७ लाखमा सहमति

    चितवन, २० साउन
    उपाचारको क्रममा चार महिने गर्भवती महिलाको मृत्यु भएको घटनामा मनकामना अस्पतालले गल्ति स्वीकारेको छ।

    भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा मृत्यु भएको थियो । चार महिने गर्भवतीको मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकले लापरवाही गरेको भन्दै अस्पताल घेराउ गर्दै गेटमा ताल्चा समेत लगाइदिएका थिए । आज दिनभर आफ्न्त र अस्पताल प्रशासन बीच भएको बैठकमा अस्पतालले आफ्नो गल्ति स्वीकारेको हो ।

    गल्ति स्वीकार गर्दै अस्पतालले पिडित पक्षलाई २७ लाख ५० हजार रुपैंया दिएको छ । सो रकम वार्ताकै क्रममा पिडित पक्षलाई अस्पतालले चेक हस्तान्तरण गरेको वार्तामा सहभागि एक आफन्तले बताएका छन्। स्रोतका अनुसार पिडित पक्षले सुरुमा ४० लाख मागेको थियो तर अस्पतालले १० लाख मात्रै दिने भनेको थियो । यसै बीच कुरा नमिले पछि २७ लाख ५० हजार रुपैंयामा सहमति भएको हो । आज दिनभर भएको अस्पताल प्रशासन र आफन्तहरु विचको वार्तामा अस्पतालले गल्ती स्वीकारेपछि शव उठाएको मृतकका देवर सन्तोष चौधरीले बताए ।

    चार महिनाको गर्भपतनको लागि अस्पताल आएकी उनको अपरेसन पछि अत्याधिक रक्तश्राव भएर मृत्यु भएको हो ।

    घटनाको बिषयमा अस्पतालले आधिकारीक रुपमा केहि जानकारी गराएको छैन ।