Category: राप्ती

  • ‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित

    ‘अफ सिजन’मा पर्यटक आएपछि सौराहाका व्यवसायी उत्साहित

    चितवन, १५ साउन
    बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् ।

    साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर, कर्मचारीमध्ये अवस्था हेरेर आधालाई बिदासमेत दिने गरिन्छ । यही समयमा स्वदेशी र विदेशी पर्यटक गत वर्षको तुलनामा बढेपछि व्यवसायी उत्साहित भएका हुन् ।

    क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष गङ्गा गिरीका अनुसार अहिले सौराहामा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म पर्यटक रहेको अनुमान छ । तीमध्ये आधा विदेशी छन् । विदेशीमा पनि चिनियाँको सङ्ख्या बढ्दो छ । सौराहामा एक सय २५ होटल छन् । ती होटलको क्षमता छ हजार दुई सय जनाको रहेको छ । क्षमताको हिसाबले पर्यटक न्यून भए पनि बेमौसममा समेत आएको यो सङ्ख्याले व्यवसायीलाई उत्साहित बनाएको उहाँको भनाइ छ । यस बेला चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल वाकबाहेकका गतिविधि रोक्ने गरिन्छ । सामुदायिक वनमा सफारीका गतिविधि सञ्चालन हुने गर्दछन् ।

    अहिले दैनिक एक सय जनाभन्दा बढीले हात्ती सफारी गरिरहेको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिनुभयो । यसरी हात्ती चढ्नेमा धेरै विदेशी छन् । कोभिडपछि पहिलोपटक चिनियाँ आएकाले हात्ती सफारीमा उनीहरुको ध्यान बढी हुने गरेको छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे सडकको अवस्था राम्रो नहुँदासमेत आएको पर्यटकको यो सङ्ख्यालाई राम्रो मान्नुहुन्छ । कतिपय होटलमा कार्यक्रम चलिरहेका छन् ।

    राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारीकरण गर्नसक्ने होटलमा पर्यटक बढी रहेका छन् । उहाँले भन्नुभयो, “विगतको बर्सातको तुलनामा यो वर्ष पर्यटकको सङ्ख्या राम्रो छ । ” चिनियाँ आउन थालेकाले अबको हिउँदपछि क्रमश पूर्ववत् अवस्थामा पर्यटन व्यवसाय फर्कनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

    होटल व्यवसायी गुणराज थपलियाले यो बेमौसम भएकाले पर्यटक राम्रो छ भन्न नसकिए पनि विगतको भन्दा सुधार हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्केत राम्रो छ । अबका दिनमा पक्कै पनि पर्यटकको माहोल राम्रो बन्छ ।” विगतको तुलनामा कोभिडको प्रभाव क्रमशः घट्दै गएको उहाँको बुझाइ रहेको छ । यहाँ स्वदेश र विदेशबाट चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा सफारी गर्न पर्यटक आउने गर्दछन् । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । चितवन भित्रने अधिकांश पर्यटकको रोजाइ सौराहा हुने गर्दछ । पछिल्ला वर्षहरुमा खर्चिला पर्यटक पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा जान रुचाउने गरेका छन् ।

    भूकम्प, नाकाबन्दी, कोभिडका कारण थला परेको पर्यटन व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्कने अपेक्षा व्यवसायीकोे छ । (रासस)

  • चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

    चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

    भरतपुर, १५ साउन
    लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ ।

    आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान सुरु गरिएको हो । नगरप्रमुख शशीकुमार खनियाँ, उपप्रमुख कविता उप्रेतीलगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयवासी अभियानमा सहभागी भएका थिए । सो अवसरमा नगरप्रमुख खनियाँले अभियानलाई निरन्तरता दिने जनाउँदै सबै स्वास्थ्यका सवालमा नागरिक सचेत बन्नुपर्ने बताउनुभयो । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन निरन्तर सरसफाइको लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

    पहिलो दिन नगरपालिकाको वडा नम्बर ६ र ८ मा अभियान सञ्चालन गरिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निर्मल घिमिरेले बताउनुभयो । उहाँले बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको जनाउँदै सबै वडामा यो अभियान सञ्चालन हुने जानकारी दिनुभयो । डेङ्गुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको उहाँको भनाइ छ । “नगरपालिकाका विभिन्न क्षेत्र लामखुट्टेको लार्भा बनाउनका लागि उपयुक्त वातावरण छन्”, उहाँले भन्नुभयो, “तीव्र सहरीकरणका कारण पानी जम्ने ठाउँसमेत प्रशस्तै छन् ।”

    विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यो लामखुट्टे फूल पार्छ । विशेष गरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । जटिल प्रकृतिको डेङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् ।

    सतर्कता अपनाउन आग्रह

    चितवनकै रत्ननगर नगरपालिकाले लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै सबै नगरवासीमा सतर्कता अपनाउन आग्रह गरेको छ । नगरपालिकाले लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सहभागी हुन सबै टोलवासीमा अनुरोध गरेको छ ।

    रत्ननगर नगरपालिकाले लामखुट्टेको बासस्थान र लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरू गरेको जानकारी दिँदै जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले एडिज जातको लामखुट्टे सफा पानीमा बस्ने, त्यहीँ फुल पार्ने र लार्भा वृद्धि गर्ने भएकाले घरवरपर रहेका टिनका डब्बा, थोत्रा टायर, गमला, फुलदानीलगायतमा पानी जम्न नदिन आग्रह गर्नुभयो । उहाँले १६ वटै वडाका स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्यसेविका एवं टोल विकास समितिका अध्यक्षहरुलाई डेङ्गु रोगबारे सचेतना फैलाउन आग्रह गर्नुभएको छ ।

    डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ पुग्यो

    चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । तीन दिनअघि आठ जना डेङ्गु सङ्क्रमित रहेको आइतबार बढेर १३ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको अनुसार विभिन्न अस्पतालमा एक सय २१ जनाको परीक्षण गर्दा १३ जनामा सो सङ्क्रमण देखिएको छ ।

  • नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध

    नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध

    चितवन, १४ साउन
    पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ ।

    बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको ठाउँलाई प्राथमिकतामा राखेर काम गरिएको हो । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जीनीयर शङ्कर बुढाथोकीका अनुसार नदीको जोखिमयुक्त ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको छ ।

    नदीको भरतपुरतर्फको ३५ किलोमिटरमध्ये २२ किलोमिटर क्षेत्रमा अहिले तटबन्ध गरिँदै छ । अत्यन्त जोखिमपूर्ण देखिएको बाह्रघरे, गाजीपुर, हीरापुर, सिसई, भगडी, बालुवा जस्ता गतवर्षमा बाढी छिरेका ठाउँमा तटबन्ध गरिएको उहाँले बताउनुभयो ।

    विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै–थोरै काम हुँदै आएकामा रकमको निकासासँगै गत वर्षबाट नदी किनारका भरतपुर महानगरपालिकातर्फका अधिकांश भू–भागमा काम थालिएको हो । पाँच खण्ड बनाएर काम गरिएको छ । तीमध्ये नारायणी नदी बीच मोडलको काम सम्पन्न भइसकेको छ । बुढाथोकीका अनुसार समग्रमा ३५ प्रतिशत काम सम्पन्न भएको छ । नारायणी नदीको महानगरतर्फ सिसइबाट बलुवासम्मको तटबन्धका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ ।

    सो खण्डमा १५ प्रतिशत काम सम्पन्न भएको छ । पाँच दशमलव सात किलोमिटर उक्त खण्डको सिसइ र भगडी क्षेत्र उच्च जोखिममा छन् । बुढाथोकीका अनुसार सिसइको लगभग काम सम्पन्न भएको छ भने भगडीको अतिजोखिम ठाउँको काम भएको छ । गाँजीपुरबाट हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ । सो खण्डको १८ प्रतिशत काम सम्पन्न भएको छ । पाँच किलोमिटर लामो उक्त खण्डको गाँजीपुर र हीरापुरको बढी जोखिमपूर्ण ठाउँमा काम भएको हो ।

    रामघाटबाट काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको छ । सो खण्डमा ३५ प्रतिशत काम सम्पन्न भएको छ । पाँच किलोमिटर लामो यस खण्डको जोखिमपूर्ण मानिएको भगेरीथान र बाह्रघरेमा काम गरिसकिएको छ ।

    बालुवाबाट गोलाघाटसम्मको सात किलोमिटरमध्ये दुई दशमलव पाँच किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्भारको काम भइरहेको छ । यसका लागि रु २३ करोडमा ठेक्का सम्झौता भएको हो । त्यसको ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बालुवा क्षेत्रको काम सम्पन्न भएको छ भने गोलाघाट क्षेत्र बाँकी छ । बुढाथोकीले बढी जोखिमपूर्ण ठाउँमा काम सम्पन्न भइसकेको बताउनुभयो ।

    नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिबीचको काम सम्पन्न भइसकेको छ । तटबन्ध बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाइएको हो । विगत १० वर्षदेखि तटबन्ध बनाउन थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धमा एकैपटक रु पाँच अर्बको काम अघि बढाइएको हो । यसमध्ये भरतपुर र नवलपरासी दुवैतर्फ यस बजेटबाट काम हुँदैछ ।

    आर्थिक वर्ष २०६६÷६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोडमात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटीय क्षेत्रमा निरीक्षण पश्चात् यसवर्ष बाढीको जोखिम कम हुने बताउनुभयो । तटबन्धका सबै क्षेत्रमा स्थलगत निरीक्षणपछि उहाँले स्थानीयलाई यो वर्षातमा केही जोखिम रहे पनि आउँदो वर्षबाट ढुक्क हुन सकिने बताउनुभयो ।

    तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण काम भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस वर्ष बाढी पूरै छेक्न नसकिए पनि आगामी वर्षबाट पश्चिम चितवनवासी नारायणी नदीको बाढीबाट सुरक्षित हुने छन् ।” उहाँले तटबन्धको गुरुयोजना निर्माणदेखि महानगरको सक्रिय भूमिका रहेको जनाउँदै तत्कालीन समयमा यसै क्षेत्रबाट निर्वाचित हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहयोगले काम भएको बताउनुभयो ।

    तीन वर्षको ठेक्का भए पनि पहिलो वर्ष नै ३५ प्रतिशत काम सम्पन्न भइसकेकाले निर्धारित समयमै काम सम्पन्न हुनेमा ढुक्क रहन उहाँले आग्रह गर्नुभयो । नदी तटीय क्षेत्रलाई पर्यटकीय मार्ग बनाउने महानगरको योजना छ ।

    हाल तटबन्ध पश्चात् हरियालीसमेत बनाइँदै छ । महानगर प्रमुख दाहाल तटबन्धको क्षेत्रमा पुग्दा सम्बन्धित वडाका वडाध्यक्ष सहित स्थानीयले खुसी व्यक्त गरेका थिए । गएका वर्षमा वर्षात्को समयमा नदी तटीय क्षेत्रका बासिन्दा रातको समयमा सुत्न पाउँदैनथे । स्थानीय घरायसी सामग्री र बालबालिका बोकेर विद्यालयमा शरण लिन पुग्ने गर्दथे । यसवर्ष बाढी आइनसके पनि अब आउने बाढीले दुःख कम दिने अपेक्षा गरिएको छ । (रासस)

     

  • भरतपुरको सडकमा पाइडल रिक्साको सट्टा ई–रिक्सा

    भरतपुरको सडकमा पाइडल रिक्साको सट्टा ई–रिक्सा

    नारायणगढ, १४ साउन
    कुनै समय चितवनको मुख्य बजार नारायणगढ र भरतपुरको सडकमा यत्रतत्र गुड्ने पाइडल रिक्सा अहिले देख्न पाइदैन । साँझ होस् या बिहान, राति होस् वा दिउँसो, जुनसुकै समयमा पनि यात्रुको प्रतीक्षामा सडकका चोक–चोकमा भेटिने पाइडल रिक्सा अहिले खोज्दा पनि नभेटिने अवस्थामा पुगेका छन् ।

    साँघुरा सडक र ठूला सवारीसाधन नजाने बाटोमा यात्रुको सहारा बन्ने गरेका यस्ता रिक्सा विगत पाँच÷सात वर्षदेखि भरतपुर तथा नारायणगढ बजारमा देखिन छाडिएका छन् । मानव श्रमबाट चल्ने वातावरणमैत्री पाइडल रिक्सा अहिले लोप भएका छन् । पाइडल रिक्सालाई ब्याट्रिबाट चल्ने इलेक्ट्रिक रिक्सा र इन्धनबाट चल्ने अटो रिक्साले विस्थापित गरेको हो ।

    भरतपुर महानगरपालिका–९ का मैतलाल गुरुङले २०३५ सालमा पहिलोपटक पाइडल रिक्सा यहाँ भित्र्याउनु भएको थियो । तत्कालीन समयमा भरतपुरमा साइकल पसल सञ्चालन गर्नुभएका गुरुङले यस क्षेत्रमा यातायात सहज बनाउने उद्देश्यले भारतीय सिमावर्ती बजार रक्सौलबाट १० चालकसहितका रिक्सा ल्याई सञ्चालन गर्नुभएको थियो । उहाँले दैनिक भाडामा साइकल दिँदै गर्दा यहाँ रिक्सा पनि ल्याएर भाडामा दिन सकिने सोच बनाउँदै रिक्सा ल्याउनु भएको थियो ।

    गुरुङले भन्नुभयो– “सुरुआतमा रिक्सा ल्याउँदा ब्लुबुकसमेत दिने गरिन्थ्यो ।” साइकल व्यवसायमा रिक्सा थपेपछि व्यापार अझ उकासिन्छ भनेर रिक्सा खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । सो समयमा प्रति रिक्सा रु सात सयका दरले किनेर चितवन ल्याएको गुरुङले स्मरण गर्नुभयो । त्यसपछि क्रमशः नारायणगढका अन्य व्यापारीले पनि रिक्सा ल्याउने क्रम बढ्दै गएको उहाँको भनाइ छ । बजारमा अन्य व्यवसायीले पनि रिक्सा ल्याएर भाडामा दिने क्रम बढेपछि आफूले साइकल पसल र त्यो व्यवसाय नै छाडेको गुरुङले बताउनुभयो ।

    उहाँ भन्नुहुन्छ– “मैले ल्याएका रिक्सा पनि बजारका व्यापारीलाई सुम्पेर अन्य व्यवसायमा लागेँ ।” पाइडल रिक्सा व्यवसायको सुरुवात गर्ने ८५ वर्षीय गुरुङलाई अहिले आएका वैकल्पिक सवारीसाधनको कारणले रिक्सा लोप हुँदा त्यति खुसी भने लागेको छैन । उहाँले भन्नुभयो “बिना इन्धन चल्ने रिक्सा जतिको सहज सवारीसाधन अहिलेका सवारी छैनन् ।”

    विगत ४० वर्षदेखि नारायणगढमा रिक्सा चलाउँदै आउनुभएका छोटेलाल चौधरी अहिले पनि कहिलेकाहीँ पाइडल रिक्सा रिक्सा चलाउनुहुन्छ । उहाँ आफ्नो व्यक्तिगत कामका लागि मात्रै पाइडल रिक्सा चलाउनुहुन्छ ।

    “यात्रु चढ्न छाडेपछि आफ्नै कामका लागि प्रयोग गर्ने गरेको छु”, ६० वर्षीय चौधरीले भन्नुभयो– “सबै साथीहरुले रिक्सालाई ठेलामा परिणत गरेर सामान बोक्ने गरेका छन्, तर मलाई त्यसो गर्न मन लागेन ।” आफ्नो परिवारका सदस्यलाई नजिकको यात्राका लागि पाइडल रिक्सा प्रयोग गर्ने गरिएको चौधरीको भनाइ छ ।

    नारायणगढका रिक्सा ग्यारेज सञ्चालक राजकिशोर चौधरीले बजारमा पाइडल रिक्सा नचलेपछि आफ्नो ग्यारेजमा भएका रिक्सालाई सामान बोक्ने ठेला बनाएर भाडामा लगाउँदै आएको बताउनुभयो । उहाँ अटो रिक्सा पनि चलाउँदै आउनुभएको छ । विसं २०७२ मा चितवनमा ई–रिक्सा भित्रिएको हो ।

  • खाणलाई अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छः नेता सिंह

    खाणलाई अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छः नेता सिंह

    चितवन, १४ साउन
    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताउनुभएको छ ।

    नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पार्नुभयो । उहाँले अहिले अदालतमा विचाराधीन रहेको मुद्दामा कांग्रेसले पहिला पनि कारबाही नगरेको भन्दै खाणको विषयमा समेत मुद्दाको फैसला आएपछि मात्रै निर्णय गर्ने बताउनुभयो ।

    पुरानो नजिरलाई लिएर खाणलाई कारबाही नगरिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो ।”

    कांग्रेस भ्रष्टाचारको संरक्षणमा नलाग्ने उहाँले स्पष्ट पानुभयो । उहाँले भन्नुभयो “निष्पक्ष तवरले कानुनी राज्यको पक्षमा कांग्रेस रहेको छ । आफ्ना पार्टीका नेतालाई पर्दा कानुन लाग्नुहुँदैन भन्ने पक्षमा कांग्रे नहरेको उहाँको भनाइ थियो ।

  • बोस्टन इन्टरनेशनल कलेजका विद्यार्थीहरुद्धारा परियोजना प्रर्दशनी

    बोस्टन इन्टरनेशनल कलेजका विद्यार्थीहरुद्धारा परियोजना प्रर्दशनी

    चितवन, १३ साउन
    भरतपुरमा रहको बोस्टन इन्टरनेशनल कलेजका विद्यार्थीले परियोजना प्रर्दशनी गरेका छन् । परियोजनामा आधारित रहेर शिक्षा हासिल गर्ने उद्देश्यका साथ बिसिआइएस छैठौँ र आठौँ सेमेस्टरका विद्यार्थीले आफ्नो परियोजनाका विषयमा तयार परेको विषयवस्तु प्रर्दशनी गरेका हुन् ।

    सो कार्यक्रममा “एप्लिकेसन-बि प्रिजेन्ट”, “सेकेरयूटि सिस्टम- थर्डआई”, “मोबाइल एप्लिकेसन-जोडी,” “इम्बेडेड-अटोमेटिक इरिगेसन (एग्रोटेक)”, “मोबाइल एप्लिकेसन-खाना फाइन्डरू”,”इम्बेडेड-पेस्ट सेग्रेसन”,”मेशिन लर्निङ-डिजिज डिटेक्सन नामक परियोजनाहरुको प्रदर्शनी रहेको थियो।

    प्रत्येक समूहले आफ्नो परियोजनाको प्रस्तुति र डेमो दिएका थिए। यस कार्यक्रममा विभिन्न आइटि क्षेत्रका उद्यमी, विशिष्टका साथै शिक्षक शिक्षिकाहरु अतिथिका रुपमा उपस्थित रहेका थिए। विद्यार्थीहरुले आफूले बनाएको परियोजनाको बिक्रि गर्न सक्ने समेत बताएका थिए। त्यस्तै गरी बिसिआइएस सातौं सेमेस्टरमा सत प्रतिशत नतिजा आउन सफल भएको उपलक्ष्यमा उत्सव पनि मनाइएको थियो।

    कार्यक्रममा उपस्थित अतिथिहरुले विद्यार्थीहरूले बनाएका परियोजनाको प्रशंसा गर्दै आगामी दिनहरुमा त्यस परियोजनामा आफूले सहायता प्रदान गर्ने समेत बताएका छन्। कार्यक्रमको अन्त्यमा सम्पूर्ण विद्यार्थीहरु तथा अतिथिहरुको सम्मान गर्दै बोष्टन ईन्टरनेशनल कलेजका कार्यकारी निर्देशक राजु लामाद्वारा मन्तव्य दिँदै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषणा गर्नुभएको थियो।

  • उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु

    उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु

    भरतपुर, ११ साउन
    चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीेको जीर्णोदार सुरु गरिएको छ । इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो ।

    यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए । पुरातत्व विभागसँगको समन्वयमा कोत घर, काठे पुल, ढोका र मन्दिरको जीर्णोदार गर्न सुरु गरिएको इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । उहाँले पुरातत्व विभागको डिजाइन र अनुगमनमा जीर्णोदारको काम भइरहेको जानकारी दिनुभयो ।

    “गढीको पुरानोस्वरुप बिग्रँदैन”, उहाँले भन्नुभयो, “जीर्णोद्धारपछि कोत घरलाई पुरानै अवस्थामा ल्याउँछौँ ।” उहाँले गढी बाहिरको क्षेत्रमा खानेपानीको व्यवस्था, यात्रु प्रतीक्षालय र शौचालय निर्माण गर्न लागिएको बताउनुभयो । गाँउपालिकाको आन्तरिक स्रोतबाट जीर्णोदारको काम भइरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले गढीको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग पनि बजेट माग गरिएको बताउनुभयो । उहाँले गढीको जीर्णोद्धारसँगै जग्गा संरक्षणको कामलाई पनि अघि बढाएको बताउनुभयो । चितवन र समग्र देशको इतिहाससँग जोडिएको गढीलाई गाउँपालिकाले प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन लागिएको छ ।

    गाउँपालिकाले यस वर्ष उक्त गढीेलगायत पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजना गरेको छ । “उपरदाङगढीको विकासका लागि गाउँपालिकाको बजेट पर्याप्त छैैन”, अध्यक्ष गुरुङले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारसँग बजेट मागेर यसको विकास गर्छौं ।” पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपरदाङगढीसँगै इच्छाकामना मन्दिर, पाथिभरा, सिँराइचुली र जलवीरे झरनालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा अघि बढाइने उहाँले जानकारी दिनुभयो । सडक सञ्जालले जोडिएपछि र पूर्वाधार निर्माण हुन थालेपछि यस ऐतिहासिक गढी घुम्न आउनेको सङ्ख्या बढेको छ । जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै एक घण्टामा मोटरसाइकल र साना गाडीमा सहजरुपमा उपरदाङगढी पुगिन्छ । शक्तिखोर फिस्लिङ सडकका कारण पनि यहाँ घुम्न आउने बढेका हुन् ।

    स्थानीयवासी गणेशबहादुर थापाले पछिल्लो समय यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको बताउनुभयो । उहाँले दैनिक सयौँको सङ्ख्यामा यहाँ घुम्न, फोटो खिच्न र एतिहासिक गढीको जानकारी लिन आउने गरेको जानकारी दिनुभयो । यहाँ बस्नका लागि केही होमस्टे (घरबास) सञ्चालनमा छन् । उहाँका अनुसार गढीमा मासिक रु एक लाखको टिकट बिक्री भएको छ । गढीमा घुम्न आउनेबाट पालिकाले रु ५० शुल्क लिने गरेको छ ।

    इच्छाकामनासँग जोडिएको कालिका नगरपालिकाले पनि उपरदाङगढीसँग जोडेर पर्यटन पूर्वाधार निर्माणका गरिरहेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीले उपरदाङगढीसम्म पुग्न सडक पूर्वाधार निर्माण भइसकेको भन्दै दुई पालिका जोडेर पर्यटकीय गतिविधिको विकास गर्ने गरी काम गरिरहेको बताउनुभयो । चितवनका डाँडाकाँडामा पर्यटन प्रवद्र्धनको राम्रो सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको उहाँको भनाइ छ ।

    सन् १९६० को शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख गरिएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीबाट सञ्चालन हुन्थ्यो । तल्कालीन बाइसे चौबिसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ । भित्र हतियार घर, कुँवा र दुईकोठे घर छन् । समुद्री सतहबाट एक हजार दुई सय ७५ मिटर उचाइमा रहेको उपरदाङगढीबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ । स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लाम्टाङ, इच्छाकामना, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र सजिलै देखिन्छन् । यो रमणीय स्थानमा चेपाङ, मगर र गुरुङको पातलो बस्तीले घेरिएको छ । यी जातजातिको आफ्नै मौलिक परम्परा, संस्कृति र रीतिरिवाज छन् । रासस

  • चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने

    चितवनमा ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने

    चितवन, साउन १०
    युवा विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनको भरतपुरमा अन्तर माध्यमिक विद्यालय (९–१२) स्तरीय ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.चितवनको सहकार्यमा चितवन जिल्ला फुटबल संघको आयोजनामा दुई दिने प्रतियोगिता आयोजना हुन लागेको हो ।

    चितवन जिल्ला फुटबल संघले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै यही साउन २० र २१ गते भरतपुरस्थित द शरदपुर फुटसल खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । संघका अध्यक्ष श्रीकृष्ण कार्की भन्छन्–‘यस प्रतियोगिताले युवा भाइहरुलाई फुटसल र फुटबल खेलतर्फ आकर्षित बनाउन महत्वपूर्ण भूमिका खेल्छ, युवाहरुलाई खेलप्रति रुची बढाउनकै लागि हामीले यो प्रतियोगिता आयोजना गरेका हौं ।’

    एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लि.को २०औं वार्षिकोत्सवको अवसर पारेर कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने गरि प्रतियोगिता आयोजना गर्न लागिएको हो । एक्सपर्टले साउन २३ अर्थात् अगष्ट ८ मा २०औं वार्षिकोत्सव समारोह मनाउँदै छ । त्यसैको छेकोमा प्रतियोगिता यही साउन २० र २१ गते भरतपुरस्थित द शरदपुर फुटसल खेलस्थलमा प्रतियोगिता गर्न लागिएको प्रतियोगिताका संयोजक मिराज पौडेलले जानकारी दिए ।

    उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउनका लागि यही साउन १७ गते साँझ ५ बजेभित्रमा टिम दर्ता गराउनुपर्ने हुन्छ । टिम दर्ताका लागि निःशुल्क व्यवस्था मिलाईएको छ । त्यसका लागि मिराज पौडेलः ९८०७१६६५६६ र गोपाल गुरुङः ९८४५९२०९५५ लाई सम्पर्क गर्नुपर्ने हुन्छ ।

    प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनेछ । आयोजकका अनुसार प्रथम पुरस्कार रु.२० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार रु.१५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार रु.१० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र र विभिन्न उपहारहरु र प्लेयर अफ दि म्याचलाई प्रमाणपत्र र विभिन्न उपहारहरु प्रदान गरिने आयोजकले जनाएको छ ।

    विज्ञप्ती :-

  • भरतपुरमा लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

    भरतपुरमा लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

    चितवन, १० साउन
    आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व सङ्कलन भएको हो ।

    लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्यभन्दा रु पाँच अर्ब ७९ करोड ५३ लाख ७६ हजार कम राजस्व सङ्कलन भएको हो ।

    आयकरतर्फ लक्ष्यको ८३ दशमलव २१ प्रतिशत अर्थात् रु दुई अर्ब ५१ करोड २० लाख ९७ हजार, बहालकरतर्फ लक्ष्यको ८३ दशमलव ६१ प्रतिशत अर्थात् रु चार करोड ६४ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । यस्तै व्याजकरतर्फ ८२ दशमलव १७ प्रतिशत अर्थात् रु एक करोड १२ लाख २४ हजार, मूल्य अभिवृद्धि करतर्फ ८१ दशमलव ६८ प्रतिशत अर्थात् रु एक अर्ब ८२ करोड ३९ लाख पाँच हजार, अन्तःशुल्कतर्फ ७६ दशमलव ६६ प्रतिशत अर्थात् रु १५ अर्ब ९६ करोड पाँच लाख ९२ हजार र स्वास्थ्य सेवा करतर्फ एक सय ६१ दशमलव ६१ प्रतिशत अर्थात् रु दुई करोड ६२ लाख ९४ हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

    ढकालका अनुसार बजारमा उत्पादित सामग्रीको मागको सङ्कुचनका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको हो । मागको सङ्कुचनका कारण उत्पादन घट्दा राजस्वमा पनि कमी आएको छ । उहाँले भन्नुभयो, “मागको सङ्कुचनका कारण आर्थिक गतिविधिमा शिथिलता आएको देखियो । जसका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन ।”

    कोभिड–१९ पछिको आर्थिक तरलताको प्रभाव बजारमा देखा पर्न थालेको उहाँले बताउनुभयो । अघिल्लो आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन भए पनि गत आर्थिक वर्ष भने काम भएको हो । अघिल्लो आर्थिक वर्षमा रु २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य तोकिएकामा रु २२ अर्ब दुई करोड ३२ लाख २२ हजार राजस्व सङ्कलन भएको थियो । सो वर्ष लक्ष्यभन्दा एक प्रतिशत राजस्व बढी सङ्कलन भएको उहाँले बताउनुभयो ।

    कार्यालयले खैरहनीमा समेत राजस्व सङ्कलन केन्द्र स्थापना गरी राजस्व सङ्कलन गर्दै आएको छ । जिल्लामा व्यक्तिगत प्यान लिने एक लाख ४४ हजार दुई सय ९८ र व्यावसायिक प्यान लिने ६८ हजार पाँच सय ९० जना रहेका छन् । (रासस)

  • लोकसेवा तयारी पुस्तकमा महिलालाई निच शब्द प्रयोग गरिएको प्रति अनेरास्ववियु चितवनको आपत्ति

    लोकसेवा तयारी पुस्तकमा महिलालाई निच शब्द प्रयोग गरिएको प्रति अनेरास्ववियु चितवनको आपत्ति

    चितवन, १० साउन
    लोकसेवा तयारीको लागि अध्ययन गर्ने पुस्तकमा महिला सम्बन्धि अत्यन्तै गम्भीर निच शब्द प्रयोग गरी बनाएको प्रश्नमाथि अनेरास्ववियु जिल्ला कमिटी चितवनले आपत्ति जनाएको छ ।

    आज अनेरास्ववियु जिल्ला कमिटी चितवनका हरि आचार्यले बिज्ञप्ति जारि गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

    राम एकवाल दासद्वारा लिखित ” नेपाल वन सेवा दिग्दर्शन गेम स्काउट वन रक्षक सफलताको साथी ” नामक पुस्तकको १४३ पृष्ठमा महिलालाई निच शब्द प्रयोग गरिएको थियो । उक्त पृष्ठमा महिलालाई भालु किन भनिएको होला ? भन्ने प्रश्न रहेको थियो ।

    सो पुस्तक विद्या विकास पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।

    महिलाको संवेदनशीलता माथि खेलबाड गर्ने नियत देखिएकोले प्रकाशन, लेखक र सम्पादकलाई सार्वजनिक रूपमा माफि माग्न अनेरास्ववियुले माग गरेको छ । साथै बजारमा भएको पुस्तक फिर्ता लिन भनिएको छ ।

    माफि नमागे अनेरास्ववियु चितवन निर्मम कदम चाल्न बाध्य हुने समेत चेतावनी दिइएको छ ।

    बिज्ञप्ति: