Category: भरतपुर

  • पच्चीस वर्षपछि क्यान्सर अस्पतालका भवनको नक्सापास

    पच्चीस वर्षपछि क्यान्सर अस्पतालका भवनको नक्सापास

    चितवन, भदौ २ –
    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ । अस्पतालका २९ वटा भवनको एकैपटक नक्सापास गरिएको हो ।

    विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल विसं २०५६ बाट नियमित सञ्चालनमा आएको थियो । हाल पेट स्क्यान र बोनम्यारो प्रत्यारोपणका लागि भवन निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएपछि भरतपुर महानगरपालिकामा भवनहरूको अभिलेखीकरण गरिएको हो ।

    अस्पतलका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार भवन निर्माणको क्रममा कुनै पनि भवनको नक्सा पास नरहेकाले सबैको नक्सा बनाएर अभिलेखीकरण गरिएको हो । नक्सा बनाउन रु २२ लाख हाराहारी खर्च भएको छ । अभिलेखीकरणका लागि महानगरपालिकामा रु एक करोड ७८ लाख राजस्व बुझाएको उहाँले बताउनुभयो ।

    यी अस्पताल भवन चीन सरकारले निर्माण गरिदिएको हो । पछिल्लो समय केही भवन भने नेपाल सरकारले निर्माण गरेको थियो । बोनम्यारो प्रत्यारोपणका लागिसमेत चीन सरकारले भवन, उपकरण र जनशक्ति व्यवस्थापन सहयोग गर्दैछ ।

    दीर्घकालिन प्रभावका महत्वपूर्ण काम भइरहेको उहाँले बताउनुभयो । भवनहरूको अभिलेखीकरण भएसँगै अन्य महत्वपूर्ण कामअघि बढेको उहाँको भनाइ छ । जिल्लामा सरकारीस्तरमा जिल्ला प्रशासन कार्यालय र क्यान्सर अस्पतालका भवन मात्रै महानगरमा अभिलेखीकरण भएका छन् । धेरैजसो सरकारी कार्यालय भवन अभिलेखीकरण भएका छैनन् । – रासस

  • वरिष्ठ गीतकार प्रेमविनोद नन्दनको निधन

    वरिष्ठ गीतकार प्रेमविनोद नन्दनको निधन

    काठमाडाैं भदौ २,

    वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ । चितवनमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति ९१ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

    उनका भतिजा तथा वामपन्थी नेता केशवलाल श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै नन्दनको आइतबार राति ९:३० बजे उपचारका क्रममा निधन भएको उल्लेख गरेका छन् । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

    तनहुँको बन्दीपुरमा १९९२ सालमा जन्मिएका नन्दनको वास्तविक नाम प्रेमलाल श्रेष्ठ हो । उनी तनहुँबाट बसाइँ सरेर चितवन पुगेका थिए।

    नन्दन लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल गर्नसमेत सक्दैनथे । नन्दनको आजै देवघाटमा दाहसंस्कारको तयारी गरिएको छ । अहिले उनको पार्थिव शरीरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । उनी नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहकार समेत हुन् ।

    नन्दन साहित्य लेखनसँगै नाटकको लेखन, निर्देशनसहित गीत गायनमा पनि तल्लीन थिए । उनले पहिलोपटक २०११ सालमा व्यवस्थाविरुद्ध ‘झटारो’ नामक कृति प्रकाशन गरेका थिए ।

    नन्दनले प्रेमध्वज प्रधानका केही गीतको लेखन गरेका छन् । त्यसमध्ये ‘यही हो नेपाल, नेपालीको घर…’ निकै सुनिएको गीतमा पर्छ ।

    नन्दनले लेखेका गीतमा नातिकाजी, शम्भुजित बाँस्कोटा, गोपाल योञ्जनलगायतका संगीतकारले संगीत र आशा भोस्ले, सुरेश वार्कर, नगत अजिज, उदितनारायण, दिपा झा, प्रेमध्वज प्रधान, शिव शंकर, प्रसाद श्रेष्ठलगायतका गायक गायिकाहरूले स्वर दिइसकेका छन्।

    चलचित्र मोहनीमा अत्यधिक रुचाइएको गीत ‘यो गाउँको ठिटो म कान्छा मेरो नाम’ पनि उनले लेखेका हुन् । शम्भुजीत बास्कोटाको संगीत र उदीतनारायणको स्वरमा उक्त गीत तयार भएको थियो ।

    चलचित्र कर्जामा उनले लेखेको गीत ‘ज्यानको माया नैनारेशम छ दायाँबायाँ, ज्यानले गर्दा नैनारेशम मैले पो गाल खाँया…’ पनि अत्यधिक रुचाइएको गीत थियो ।

    कान्छी सन्तान, मोहनी, अवला, मानिस, कर्जालगायतका नेपाली चलचित्रमा उनले लेखेका गीतहरू चर्चित बनेका थिए ।

    नन्दनका झटारो, अञ्जली, सपनीवाट ब्यूझेर, विपनीका पाइलाहरु, ऐना भित्रको आकाश गिती संग्रह, सिद्धार्थको ग्रह त्याग लघु काव्य र पत्रम पुष्पम कविता संग्रह २०७७ प्रकाशित छन् ।

    नन्दनले छिन्नलता गीत पुरस्कार २०५४, चिसाप प्रतिभा पुरस्कार २०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार २०६४, नारायणी प्रज्ञा पुरस्कार २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए ।

  • अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    चितवन, साउन ३१ –
    भरतपुर महानगरपालिका ५ विकास चोकमा रहेको अर्बिट स्कुलका कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ ।

    शुक्रबार कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई भरतपुरको सिएमटी होटलमा आयोजित कार्यक्रमकाबीच स्वागत गरेका हुन् । कक्षा ११ का ३०० भन्दा बढी विद्यार्थीलाई स्वागत गरिएको हो । स्वागत कार्यक्रममा विद्यार्थीहरुले आआफ्नो सांगितिक प्रस्तुती समेत गरेका थिए ।

    कक्षा १२ मा अध्ययनरत विद्यार्थी रिदेश पाठकको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघीय सांसद अन्जनी श्रेष्ठ, अतिथिहरुमा भरतपुर महानगरपालिका ५ का वडाध्यक्ष युद्धप्रसाद श्रेष्ठ, भरतपुर ५ का निवर्तमान वडाध्यक्ष पदमपाणी सुवेदी, अर्बिट स्कुलका प्राचार्य रामप्रसाद अधिकारी, अर्बिट स्कुलका अध्यक्ष दिपेन्द्रराज ढकाल, अर्बिट स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र अधिकारी, विकास चोक टोल विकास संस्थाका अध्यक्ष रञ्जित भट्टराई, अर्बिट स्कुल इन्चार्ज नारायण गौतम, अर्बिट स्कुलका जनसम्पर्क अधिकृत अरुणेश्वर खनाल लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमलाई अर्बिट स्कुलका प्लस टु संयोजक देवीप्रसाद बन्जाराले सञ्चालन गरेको थिए भने आनौपचारिक कार्यक्रमलाई विद्यार्थीहरुले सञ्चालन गरेका थिए ।

  • सुक्खा पहिराेले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    सुक्खा पहिराेले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    भरतपुर भदौ १
    सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

    सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

  • शुभ पेट्रोल्याण्ड नारायणगढमा चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण

    शुभ पेट्रोल्याण्ड नारायणगढमा चालकहरुको निशुल्क स्वास्थ्य परीक्षण

    चितवन, साउन ३१ –
    नारायणगढको लायन्स चोकमा रहेको शुभ पेट्रोल्याण्डले सवारी चालक तथा स्थानीयबासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

    आज बिहान ८ बजेदेखि १० बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म आयोजित परीक्षण कार्यक्रममा १५५ जनाको सुगर र १८० जनाको रक्तचाप जाँच गरिएको शुभ पेट्रोल्याण्डका सञ्चालक सबल पियाले जानकारी दिए ।

    निदान प्याथोलोजी भरतपुरको सहकार्यमा मधुमेह र रक्तचापको परीक्षण गरिएको हो । शुभ पेट्रोल्याण्डले विभिन्न समयमा निदान प्याथोलोजीसँग सहकार्य गर्दै स्वास्थ्य परीक्षण गर्दै आइरहेको छ ।

    सेवा लिन आएका लायन्स रोड टोल सुधार समितिका अध्यक्ष रामजी दाहालले कार्यक्रम धेरै नै प्रभावकारी भएको बताए । उनले शुभ पेट्रोल्याण्डले विभिन्न सामाजिक काम गर्दै आइरहेको भन्दै सञ्चालक पियाको प्रसंशा गरे ।

    स्वास्थ्य परीक्षण गर्न आएका चालकहरुले शुभ पेट्रोल्याण्डले आफूहरुको स्वास्थ्यको चिन्ता गरी परीक्षण गराएको भन्दै सञ्चालक पियालाई धन्यवाद दिएका छन् ।

  • नेपाल ढकाल समाज प्रतिष्ठान भरतपुरको अध्यक्षमा रामप्रसाद ढकाल

    नेपाल ढकाल समाज प्रतिष्ठान भरतपुरको अध्यक्षमा रामप्रसाद ढकाल

    चितवन, साउन ३०-
    नेपाल ढकल समाज प्रतिष्ठान भरतपुर महानगर शाखा कमिटीको प्रथम अधिवेशनबाट आज रामप्रसाद ढकाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

    त्यस्तै, उपाध्यक्षमा सावित्री कोइराला ढकाल, सचिवमा ऋषिराम ढकाल, सहसचिवमा सुरेश ढकाल, कोषाध्यक्षमा डीलकुमारी ढकाल र सदस्यमा दिनेश ढकाल र उपेन्द्र ढकाल सर्वसम्मत निर्वाचितभएका छन् ।

    छविलाल ढकालको सभापतित्वमा सञ्चालन भएको अधिवेशनमा प्रमुख अतिथि नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष सीता शर्मा ढकाल रहेकी थिइन्। उनले अधिवेशनको सफलताको शुभकामना दिँदै ढकालहरूको एकतामा भरतपुर महानगरमा यो समितिले राम्रो कार्य गर्न सफल हुनेछ भनी शुभकामना व्यक्त गरिन् ।

    यस अवसरमा नेपाल ढकाल समाज प्रतिष्ठानका सचिवालय सदस्य हरि ढकालले शुभकामना दिदैँ ढकालहरूको एकतालाई कायम राख्दै देवघाटमा बन्न लागेको आश्रममा सबैले सहयोग गरी त्यसलाई पूर्णता दिनुपर्ने कुरामा जोड दिए ।

    त्यस्तै प्रतिष्ठानका केन्द्रीय सदस्य एवं चितवन संयोजक नवराज ढकालले प्रतिष्ठानको कारणले आज हामीहरु एकै छानामुनि बसी कार्य गर्न सफल भएका छौं त्यसैले देवघाटको आश्रमलाई हर तरहले सहयोग गरी निर्माण सम्पन्न गर्न यस समितिले सहयोग गर्नेछ भन्ने विश्वास गरे।

    प्रतिष्ठानका जिल्ला अध्यक्ष मुक्तिनाथ ढकालले नेपाल ढकाल समाज प्रतिष्ठान भरतपुरले प्रतिष्ठानका हरेक कार्यक्रममा सक्रियतापूर्वक सहभागी भई सफल भएकोमा धन्यवाद दिए र आगामी दिनमा पनि यस्तै कार्यक्रम अपेक्षा गरे कार्यक्रमको सञ्चालक जीवाखर ढकालले गरेका थिए ।

  • पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    भरतपुर साउन २९
    संघीय सरकारले संसद्मा पेस गरी विचाराधीन रहेको शिक्षा विधेयकप्रति संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सनले आपत्ति जनाएको छ । निःशुल्क शिक्षाका नाममा सरकारले पास गर्न लागेको विधेयकप्रति कडा आपत्ति जनाउँदै प्याब्सनले आफ्ना जायज माग सम्बोधन नभए आन्दोलनमा जानुको विकल्प नरहेको जनाएको छ ।

    भरतपुर मेट्रो प्याब्सनका अध्यक्ष मीनराज बस्ताकोटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगरमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । विचाराधीन विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै उक्त विज्ञप्तिमा भनिएको छ, ‘निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइनेछ भन्ने वाक्यांश आफैँमा विरोधाभाषपूर्ण छ, व्यक्तिगत तथा संस्थागत लगानीमा सञ्चालित विद्यालयहरूलाई गैरनाफामूलक विद्यालय बनाउनका लागि राज्यले निजी विद्यालयहरूको लगानी फिर्ताको वातावरण नबनाएसम्म असम्भव छ ।’

    त्यसैगरी जबरजस्ती लादिएको ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ । संस्थागत विद्यालयप्रति पूर्वाग्रही ढङ्गले आएको उक्त शब्दले निजी विद्यालयहरूले बर्सेनि उपलब्ध गराउँदै आएको ठूलो रकमबराबरको छात्रवृत्तिको अवमूल्यन भएको प्याब्सनको ठहर छ । विज्ञप्तिमा अहिले निजी विद्यालयहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत छात्रवृत्तिलाई कायम राख्नुपर्ने माग गरिएको छ । निजी विद्यालयहरूले विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् ।

    अहिले विचाराधीन विधेयकअनुसार विद्यालयले १५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ । यो व्यवस्था लागु भएमा शुल्क वृद्धि गर्नुपर्ने वाध्यता आइपर्ने र त्यसले अभिभावकको ढाड सेक्ने भएकोले सो निर्णयउपर विचार गरिदिन आग्रह गरिएको छ । त्यसैगरी प्याब्सनले ‘छात्रवृत्तिअन्तर्गत मासिक शुल्क, भर्ना शुल्क र वार्षिक शुल्क मात्र समावेश गरिनुपर्ने माग गरेको छ । आफ्ना माग पूरा नभए आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै अध्यक्ष बस्ताकोटीले भने, ‘हामीले विमन्रतापूर्वक सरकारसँग माग राखेका छौँ, हाम्रा जायज माग पूरा नभए आन्दोलन कस्तो हुन्छ हामी देखाउँछौँ ।’

    ज्ञापन पत्रमा उल्लेख छ, ‘सरकारले नियमन गर्नुको साटो नियन्त्रण गर्ने सोचले झन्झटिलो नियमकानुन निर्माण गर्नाले निजी क्षेत्र अस्थिरतातर्फ धकेलिएको छ, निजी क्षेत्रप्रति सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुको साटो अस्थिर राजनीतिले हरेक समय फेरिने सरकारसँगै बदलिने नीतिले निजी विद्यालयलाई अस्थिरता र अन्योलपूर्ण अवस्थामा काम गर्न वाध्य बनाइएको छ ।’ देशको जिडिपीमा ७.२ प्रतिशत योगदान पु¥याउने निजी विद्यालयलाई घोर बेवास्ता गरिएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘चार लाख रोजजागरी सिर्जना गरिरहेको क्षेत्रलाई सरकारले सौतेनी व्यवहार गरेको छ ।’ ‘सरकारले लगानीमैत्री कानुन निर्माण गर्नुको साटो निजी विद्यालयलाई अप्ठेरोमा पार्ने मनशायले ल्याएको शिक्षा विधेयक मान्य हुँदैन ।’

    प्याब्सन केन्द्रीय समितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति, विभिन्न राजनीतिक दलका मुख्य सचेतकहरू, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राजनीतिक दलका शीर्ष नेतृत्व, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूलाई यसअघिनै ज्ञापन पत्र बुझाइसकेको छ ।

    देशभरका सम्पूर्ण पालिकामा सम्बन्धित स्थानका प्याब्सन कमिटीले ज्ञापन पत्र बुझाउने कार्यक्रमअनुसार बिहीबार प्याब्सन महानगर कमिटीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुखलाई उक्त ज्ञापन पत्र बुझाएको हो । भोलि (शुक्रबार) प्याब्सन चितवनले प्रमुख जिल्ला अधिकारी र शिक्षा समन्वय इकाइ चितवनलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको चितवन प्याब्सनका कोषाध्यक्ष युवराज पौडेलले जानकारी दिए ।

  • “१५ वर्षको अनुभवसहित युटेक कलेजमा इन्जिनियरिङ अध्ययनको सुनौलो अवसर”

    “१५ वर्षको अनुभवसहित युटेक कलेजमा इन्जिनियरिङ अध्ययनको सुनौलो अवसर”

    भरतपुर साउन २८ –

    एक दशक बढी समयदेखि विशुद्ध इन्जिनियरिङ विषय अध्यापन गराउँदै आइरहेको चितवनको पुरानो शैक्षिक संस्था हो युनाइटेड टेक्निकल कलेज ९युटेक कलेज० १ पोखरा विश्वविद्यालयबाट अनुमति प्राप्त भरतपुर–११ मा रहेको यस कलेज सन् २०१० देखि निरन्तर इन्जिनियरिङ विषय मात्रै अध्यापन गराउँदै आएको छ । जसले गर्दा विद्यार्थीहरुलाई पठन–पाठनमा थप सहज बनेको छ । एउटै कलेजमा विभिन्न विषय पढाई हुँदा इन्जिनियरिङका विद्यार्थीहरुलाई धेरै अवसर पाउने गरेका छैनन् । एउटा मात्रै विषय अध्यापन गराउँदै सबै पूर्वाधार निर्माण हुनुको साथै गुणस्तरमा समेत ख्याल गरिन्छ । त्यसैले वर्षौदेखि इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरुको रोजाईमा युटेक कलेज पर्ने गरेको छ ।

    अहिले कक्षा १२ उत्तीर्ण गरेर बसेका विद्यार्थीहरुका लागि स्नातक तहमा ४ वर्षे बीइ कार्यक्रममा भर्ना खुलेको छ । इन्जिनियरिङ अध्ययनमा छनोट हुन लागिका लागि यही भदौं ११ गते दिउँसो २ बजे प्रवेश परीक्षा राखिएको युटेक कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिए । उनका अनुसार प्रवेश परीक्षाका लागि धेरै विद्यार्थीहरुले फारम भरेका छन् । प्रवेश परीक्षामा उत्तीर्ण भएपछि सिट संख्याको आधारमा भर्ना प्रक्रिया सुरु हुने ढकालले जानकारी दिए ।

    युटेक कलेजमा अहिले बी।इ।कार्यक्रम अन्तरगत चार वटा कोर्षमा अध्यापन हुँदै आइरहेको छ । बीइ इन सिभिल इन्जिनियरिङ, बीइ इन इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स इन्जिनियरिङ र बीइ इन कम्प्युटर इन्जिनियरिङ र बीइ इन्फरमेशन टेक्नोलोजी ९आइटी० इन्जिनियरिङ गरी यी चार कोर्षमा अध्ययनका लागि अहिले भर्ना खुलेको छ । सिभिल इन्जिनियरिङमा ९६, इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्समा ४८, कम्प्युटर इन्जिनियरिङमा ४८ र आइटी इन्जिनियरिङमा ४८ जनाको सिट रहेको छ । आइटी इन्जिनियरिङ चितवनमा पहिलो र एक मात्र युटेक कलेजमा पढाई हुन लागेको हो ।

    कलेजले विद्यार्थीहरुको सहजताको लागि विभिन्न प्रकारका छात्रवृत्ति समेत घोषणा गरेको छ । विभिन्न कोर्षमा १५ प्रतिशतसम्म छुटको सुविधा दिइएको छ भने कक्षा १२ मा ४ जीपीए अंक ल्याएका विद्यार्थीहरुलाई भर्नामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको कलेजका प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । यस कलेजले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि अनुसन्धानमुलक शिक्षालाई पनि विशेष जोड दिएको छ ।

    कलेजले इन्जिनियरिङमा स्नातकोत्तर ९मास्टर्स० समेत अध्यापन गराउँदै आएको छ । चितवनमा यही कलेजले नै पहिलोपटक इन्जिनियरिङमा स्नातकोत्तर ९मास्टर्स० पढाउन थालेको हो । यस कार्यक्रम अन्तरगत २ वर्षे कन्सट्रक्सन म्यानेजमेण्ट कोर्षमा अध्यापन हुँदै आइरहेको छ । यस तहमा पढ्नका लागि १५ जनाको मात्रै सिट संख्या रहेको छ । यस्तै ट्रान्सपोटेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयमा पनि यहाँ मास्टर्सको अध्यापन हुँदै आइरहेको छ । दुई वर्षे ट्रान्सपोटेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट विषयका लागि ३० सिट संख्या रहेको छ । यी दुवै कार्यक्रमहरु चितवनमा युटेक कलेजमा मात्रै अध्यापन हुँदै आइरहेको छ । मास्टर्समा वर्षमा दुई पटक भर्ना खुल्ने गरेको छ ।

  • ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    चितवन साउन २७
    शैक्षिक परामर्श संस्था ग्लोबल रिचले यही आउंँदो भदौ २ गते भरतपुरमा शैक्षिक मेला गर्ने भएको छ । हरेक बर्ष जस्तै जनवरी फेब्रुअरी इन्टेकलाई लक्षित गर्दै भरतपुर ओरालो स्थित आफ्नै कार्यालय परिषरमा उक्त मेला गर्न लागेको हो ।

    संस्थाका चितवन शाखा प्रमुख सुरेश पौडेलले अष्ट्रेलिया जाने विद्यार्थी एव अभिभावकलाई कलेजका प्रतिनिधीसंँग प्रत्यक्ष परामर्श दिने उद्धेश्य सहित शैक्षिक मेला गर्न लागिएको चितवन आजलाइ जानकारी दिनुभयो । ‘

    हामीले चितवनमा हरेक बर्ष दुईपटक शैक्षिक मेला गर्दै आएका छौं, उहांँले भन्नुभयो, कलेज तथा युनिभर्सिटीका प्रतिनिधीसंँग प्रत्यक्ष परामर्श गर्न पाउनेछन ।’

    शैक्षिक मेलामा ८ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधिले परामर्श दिने उहांँले बताउनु भयो । मेलामा कुनैपनि संकायका व्याचलर देखि पिएचडीसम्मका विद्यार्थीले स्कलरसिप, फि स्ट्रक्चर , कोर्स लगायतका बिषयमा परामर्श लिनसक्ने छन ।

    सहभागी विद्यार्थी तथा अभिभावकलाई मायाको चिनो उपलब्ध गराइने छ । शैक्षिक डकुमेन्ट तयार भएका विद्यार्थीले अन द स्पट एप्लाई गर्न सकिने उहांँले बताउनु भयो ।

  • मदन भण्डारी स्मृति पार्कमा राष्ट्रिय युवा संघ नेपाल चितवनले गर्याे वृक्षारोपण

    मदन भण्डारी स्मृति पार्कमा राष्ट्रिय युवा संघ नेपाल चितवनले गर्याे वृक्षारोपण

    चितवन, साउन २७ –
    मदन भण्डारी स्मृति पार्क भरतपुर १७ गाँजीपुरमा वृक्षारोपण गरिएको छ ।

    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनले विश्व युवा दिवसको अवसर पारेर वृक्षारोपण गरेको हो । विभिन्न जातका फलफुल, फुल लगायतका विरुवाहरु रोपिएको हो ।

    युवा संघको केन्द्रीय कमिटीको आह्वान बमोजिम ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नाराका साथ वृक्षारोपण गरिएको हो ।

    कार्यक्रममा मदन भण्डारीको शव फेला पार्ने दुई जना बहादुर थापा र कृष्ण राज ठकुरीलाई संघले आर्थिक सहयोगसहित सम्मान गरेको छ ।

    वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज अमृता भट्टराई, अतिथिहरुमा एमाले चितवनका अध्यक्ष कमल राज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, सचिव प्रकाश ढुंगाना, एमाले चितवनका लेखा आयोग अध्यक्ष शंकर अधिकारी, कालिका नगरपालिका प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, नेकपा एमाले चितवनका युवा फाँट प्रमुख प्रताप डल्लाकोटी, युवा संघका प्रदेश एवम् जिल्लास्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।

    वृक्षारोपण अघि औपचारिक कार्यक्रम गरिएको थियो । संघका अध्यक्ष झलकराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य र सचिव उत्तम सेढाईले सञ्चालन गरेका थिए ।

    राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय रहेको युवा संघ चितवनले यही साउन ३० गते रक्तदान कार्यक्रम पनि गर्दै छ ।