Category: भरतपुर

  • नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध

    नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध

    चितवन असोज २०
    नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।

    गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् ।

  • चितवनमा १८५ करोड लगानीमा खुल्यो होटल र सपिङ स्टोर

    चितवनमा १८५ करोड लगानीमा खुल्यो होटल र सपिङ स्टोर

    चितवन, ६ असोज : 
    चितवनमा होटल ‘लड्र्स’ सिबिसी प्लाजा र सपिङ स्टोर ‘सेल्सबेरी’ एकसाथ सञ्चालनमा आएका छन् । भरतपुर महानगरपालिका–१०, विमानस्थल अगाडि एउटै भवनबाट होटल र सपिङ स्टोर सञ्चालनमा आएका हुन् ।

    चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) र चितवन बिजनेसन मार्टले सञ्चालन गरेको सेल्सबेरीले आज पत्रकार सम्मेलनको आयोजना गरी दुवै सेवा एकसाथ सञ्चालनमा आएको जनाएको छ । चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (सिबिसी) का कार्यकारी अध्यक्ष दिनुप बरालले भवन र होटलमा गरी कुल रु एक अर्ब ६० करोड र सपिङ स्टोर ‘सेल्सबेरी’मा रु २५ करोड लगानी रहेको बताउनुभयो ।

    उहाँका अनुसार दुई तला अन्डरग्राउन्डसहित ११ तल रहेको उक्त कम्प्लेक्समा अन्डरग्राउन्ड दुई तलामा पार्किङ, तीन तलामा सेल्सबेरी, छवटा तलामा होटल सञ्चालन गरिएको बरालले जानकारी दिनुभयो । अन्तरराष्ट्रिय रूपमा ख्यातिप्राप्त अमेरिका, भारत, नेपाललगायत विभिन्न देशमा चेन होटल सञ्चालन गरेको लड्र्स हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याइएको बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “होटलमा ५८ वटा कोठा रहेका छन् । तीमध्ये प्रेसिडेन्टियल एक, स्विट तीन, सुपर डिलक्स १०, प्रिमियम १५ र बाँकी स्ट्यान्डर्ड कोठा रहेका छन् ।” होटल शुभारम्भका अवसरमा  सन् २०२५ भरि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

    होटलमा ५०० क्षमताको सभा कक्ष, १०० क्षमताको कन्फ्रेन्स हल, ३० जना क्षमताका तीनवटा बैठक कक्ष रहेको भन्दै कार्यकारी अध्यक्ष बरालले भन्नुभयो, “रेष्टुरेन्टमा बाहिर र भित्र गरी १२५ जना एकै पटक बसेर सेवा लिन सक्ने क्षमता रहेको छ ।” भवनको माथिल्लो तलामा स्वीमिङ पुल छिट्टै सञ्चालनमा आउने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

    कम्प्लेक्सको तीनवटा तलामा सेल्सबेरीको ३८औँ शाखा सञ्चालनमा आएको भन्दै उहाँले भन्नुभयो, “ग्रोसरी, हाउसवायर, इलेक्ट्रोनिक्स, कस्मेटिक्स, मदिरा (लिक्वायर) लगायत घरायसी सम्पूर्ण सामग्री सेल्सबेरीमा रहेका छन् ।” कपडा, फर्निचरलगायतका सामग्री निकट भविष्यमा उपलब्ध हुने उहाँको भनाइ थियो ।

    भवनको अन्डरग्राउन्ड दुई तलामा पार्किङको व्यवस्था गरिएको भन्दै उहाँले जहाँ चारपाङ्ग्रे (कार) ८० वटा र दुईपाङ्ग्रे (मोटरसाइकल स्कुटर) २०० वटा पार्किङका लागि सहज व्यवस्था रहेको बताउनुभयो । यहाँका स्थानीय १८ जना व्यवसायीको लगानी रहेको यो व्यवसायमा लक्ष्मी सनराइज बैङ्कसँग सहकार्य गरिएको छ ।

  • मुग्लिन– नारायणगढ सडक : पहिरो हटाउने कार्य जारी, लेन अनुशासनमा रहन आग्रह

    मुग्लिन– नारायणगढ सडक : पहिरो हटाउने कार्य जारी, लेन अनुशासनमा रहन आग्रह

    काठमाडौँ असोज ६
    मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरोका कारण अहिले एकतर्फी सडक सञ्चालनमा रहेको छ । दुई तर्फी सञ्चालनका लागि पहिरो हटाउने कार्य भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

    साथै पहिरो हटाउनका लागि १ बजेदेखि ३ बजेसम्म सवारी रोकिएका छन् भने सवारी चालकलाई आफ्नो लेन अनुशासनमा रहन आग्रह गरिएको छ ।

    ‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै हाल एकतर्फी सञ्चालन भइरहेकोमा पहिरो पूर्ण रूपमा हटाई सडक दुईतर्फी सञ्चालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकी पहिरो हटाउने कार्य सुचारु भइरहेको जानकारी गराइन्छ,’ सूचनामा भनिएकाे,‘उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन समेत अनुरोध गरिन्छ ।

  • चाडपर्वको अवसरमा प्याराडाइज इन्फोटेक चितवनले आईटी कोर्समा २० प्रतिशत छुट दिँदै

    चाडपर्वको अवसरमा प्याराडाइज इन्फोटेक चितवनले आईटी कोर्समा २० प्रतिशत छुट दिँदै

    चितवन, असोज १ –
    चाडपर्वको खुशियालीलाई थप उत्साहपूर्ण बनाउन प्याराडाइज इन्फोटेक चितवन (Paradise Infotech Chitwan) ले आफ्ना लोकप्रिय आईटी कोर्सहरूमा २० प्रतिशत विशेष छुटको घोषणा गरेको छ ।

    यस अफर अन्तर्गत फुल स्टाक वेभ डेभलप्मेन्ट र ग्राफिक डिजाइन (Full Stack Web Development र Graphic Designing) जस्ता उच्च माग भएका कोर्सहरूलाई बजारमै आवश्यक पर्ने व्यावहारिक शिक्षा सहित सिक्न सकिने प्याराडाइजले जनाएको छ ।

    संस्थाका अनुसार यो छुट विशेष गरी चितवनमा अध्ययनरत विद्यार्थी तथा आईटी क्षेत्रमा करियर बनाउन इच्छुक युवाहरूलाई लक्ष्य गरेर ल्याइएको हो । यस अवसरमार्फत सहभागीहरूले व्यावहारिक शिक्षा र बजार–केन्द्रित प्रशिक्षण सस्तो मूल्यमा पाउनेछन् ।

    इच्छुकले अफरको लाभ लिन आजै आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् । यसका लागि प्याराडाइज इन्फोटेक चितवनको कार्यालयमा प्रत्यक्ष उपस्थित भई वा फोनमार्फत पनि बुकिङ गर्न सकिन्छ।

    ???? स्थान : सरस्वती टावर, हाकिम चोक, भरतपुर–१०, चितवन
    ???? सम्पर्क : 056-511432 | 9802358601

  • चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै,आजदेखि खुले बिद्यालय

    चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै,आजदेखि खुले बिद्यालय

    चितवन, भदौ २९-

    जेनजी आन्दोलनका कारण बन्द भएका यहाँका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । यही भदौ २४ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालय विद्यालय बन्द भएका थिए । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु गर्न आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा जिल्लाको जनजीवन शान्त बन्दै गएकाले सम्पूर्ण शैक्षिक संस्था तथा लामो एवं छोटो दूरीका सवारीसाधान सञ्चालन गर्न भनिएको छ ।

    आजदेखि सबै कार्यालयबाट सम्भव भएसम्मका सेवाहरू उपलब्ध गराउनसमेत निर्देशन दिइएको छ । सेवा उपलब्ध गराउन नसक्ने कार्यालयको हकमा सोहीबमोजिमको सूचना सम्प्रेषण गर्ने, सबै कार्यालयले सेवाग्राहीलाई नम्र एवं विनयशील रूपमा प्रस्तुत भई संवाद गर्ने सूचनामा उल्लेख छ । तोडफोड, आगजनी भएका कार्यालयको सरसफाइ कार्यालयकै कर्मचारीबाट गराउने तथा कार्यालयका कर्मचारी सम्भव नहुने प्रकृतिका सरसफाइ कार्यका लागि थप जनशक्ति व्यवस्थापन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने, नेपाल विद्युत् प्राधिकरणले जलेका मिटर तत्काल जडान गर्ने, खानेपानी कार्यालयले खानेपानी आपूर्तिको सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

    कार्यालय प्रमुखहरूको बैठकले सो निर्णय गरेको अर्यालद्धारा जारी सूचनामा जनाइएको छ । तोडफोड तथा आगजनीबाट भएको क्षति मूल्याङ्कनका लागि गठित समितिसँग समन्वय गरी तत्काल क्षतिको विवरण एकिन गर्नसमेत सबै कार्यालयलाई निर्देशन दिइएको छ ।

  • चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो

    चितवनमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो

    चितवन भदौ २८
    जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा र कर्फ्यु आदेश पूर्ण रूपमा हटाएको छ। प्रशासनले भदौ २८ गते एक सूचना जारी गर्दै बिहान ७ बजेदेखि नै सबै प्रकारका प्रतिबन्धात्मक आदेशहरू हटाइएको जानकारी दिएको हो।

    पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको थियो। जिल्ला सुरक्षा समितिको भदौ २६ गते बसेको बैठकले सुरक्षा अवस्थाको विश्लेषण गरी निषेधाज्ञा र कर्फ्यु लगाउने निर्णय गरेको थियो।

    नागरिकको जनजीवनलाई सामान्य बनाउन आदेश फुकुवा गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा आगामी दिनहरूमा पनि जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्न सबैलाई अपिल गरिएको छ।

    निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ भने बजार, यातायात तथा अन्य गतिविधिहरू पुनः सञ्चालनमा आएका छन्।

  • उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

    उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

    भरतपुर, २७ भदौः
    चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ ।

    जेनजी समूहको प्रदर्शनका क्रममा यही भदौ २४ गते दिउँसो उपप्रमुख चित्रसेन अधिकारीको घरमा आगो लगाउँदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर–२१ का १९ वर्षीय सरोज गुरुङको उपचारका क्रममा आज मृत्यु भएको हो ।

    ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । आगलागीबाट उपप्रमुख अधिकारीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

    यस्तै पूर्वी चितवनको भण्डारामा खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर एक जनाको मृत्यु भएको छ । आज बिहान राप्ती नगरपालिका–७ सिक्सग्रुपस्थित अमृतपानी खानेपानी तथा सरसफाइ समितिको चेम्बरभित्र स्थानीय ४० वषीय कमल घलेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

    जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

    चितवन,भदौ २४

    जेनजीले चितवन बन्दको घोषणा गरेको छ । सार्वजनिक अपिल जारी गर्दै बन्दको आब्हान गरिएको हो । उनिहरुले बिहान ११ बजेदेखि भरतपुरको चौबीसकोठीबाट प्रदर्शन सुरु गर्ने जनाएका छन । चितवनमा जेनजीले आह्वान गरेको प्रर्दशनका क्रममा २३ जना घाइते भएका छन् । सोमबार भरतपुर महानगरपालिका अगाडि भएको झडपमा १५ जना प्रर्दशनकारी र ८ जना प्रहरी गरी २३ जना घाइते भएका हुन् । घाइतेहरुको उपचार चितवन मेडिकल कलेज लगायत भरतपुरका विभिन्न अस्पतालमा भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको अवस्था समान्य रहेको छ ।

    झडपका क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर र दर्जनौँ अश्रूग्यास प्रहार गरेको उहाँले बताउनुभयो । चितवनको भरतपुरमा सोमबार दिनभर तनावग्रस्त बनेको थियो । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको अर्यालले बताउनुभयो ।

    महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको उहाँले बताउनुभयो । अश्रुग्यास प्रहारपछि प्रदर्शनकारीहरू तितरबितर बनेको उहाँले बताउनुभयो । प्रर्दशनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनकारीले साँझ पनि लायन्सचोकमा टायर बालेर प्रर्दशन गरेका थिए । चितवनमा आजपनि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । प्रजिअ अर्यालले आज परिस्थिती हेरेर निर्णय गरिने भन्दै आवश्यक परे कफ्यू समेत लगाइने बताउनुभयो ।

    यसैविच चितवनका सबै संस्थागत विद्यालयहरु आज एक दिनका लागि बन्द हुने भएका छन । जेन–जीको आन्दोलनका कारण असहज स्थिति भएको र विद्यार्थीहरुको मृत्यु भएका कारण शोकमा आज सबै विद्यालय बन्द गरिएको प्याब्सन चितवनले जानकारी दिएको छ । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले आज विद्यालय बन्द हुने समेत जानकारी दिनुभयो । सोमबारको जेन–जीले चितवनसहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए ।

  • मेट्स इन्टरनेशनल, चितवनको १७औँ  वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

    चितवन भदौ २२
    मेट्स इन्टरनेशनल, चितवनले आज ७ सेप्टेम्बरका दिन आफ्नो १७औँ वार्षिकोत्सव विशेष उत्सवका साथ सम्पन्न गरेको छ।

    सन् २००८ को आजकै दिन (७ सेप्टेम्बर) मेट्स इन्टरनेशनलले आफ्नो तेस्रो शाखा चितवनको भरतपुर–नारायणगढमा स्थापना गर्दै सेवा सुरु गरेको थियो। त्यही अफिसमार्फत विगत १७ वर्षदेखि हजारौं विद्यार्थीहरूको शैक्षिक यात्रा र भविष्य निर्माणमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ। विद्यार्थीहरूको विश्वास, परिश्रमी टिम र सहयोगी साझेदारहरूको साथले मेट्स इन्टरनेशनलले आजसम्मको सफल यात्रा तय गरेको छ।

    मेट्स इन्टरनेशनल नेपालमा मात्र नभई विश्वका विभिन्न मुलुकहरूमा आफ्नो सशक्त उपस्थिति कायम गर्दै आएको एक अग्रणी शैक्षिक परामर्श संस्था हो। हाल संस्थाका कार्यालयहरू नेपालका प्रमुख शहरहरूसँगै अष्ट्रेलिया, फिजी, फिलिपिन्स, भारत लगायतका देशहरूमा सञ्चालनमा छन्। यी कार्यालयमार्फत विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षण संस्थामा भर्ना, भिसा प्रक्रिया, छात्रवृत्ति अवसर तथा करियर काउन्सिलिङमा निरन्तर सहयोग पुर्‍याइँदै आएको छ।

    विगत १७ वर्षदेखि विद्यार्थीहरूको शैक्षिक भविष्य निर्माणमा संलग्न मेट्स इन्टरनेशनलले हजारौं विद्यार्थीलाई अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजमा अध्ययन र करियरमा सफलतापूर्वक अघि बढ्न मद्दत पुर्‍याएको छ। यस अवधिमा प्राप्त विश्वास, सफलता र अनुभवकै आधारमा मेट्स इन्टरनेशनल आज दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा विश्वसनीय शैक्षिक परामर्श संस्था मध्ये एकको रूपमा स्थापित भएको छ।

    यस यात्रालाई सम्भव बनाउन विद्यार्थी र अभिभावकको विश्वास, टिम सदस्यहरूको अथक परिश्रम, सञ्चार माध्यमको सहयोग, सहकर्मी तथा परिवारजनको निरन्तर समर्थनले महत्वपूर्ण भूमिका खेलेको छ।

    यस विशेष अवसरमा, मेट्स इन्टरनेशनल परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक, टिम सदस्य, सञ्चार माध्यम, सहकर्मी तथा परिवारजनप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

  • भदौ १९ गतेदेखि चितवनमा‘महिला उद्यमी मेला–२०८२’ आयोजना हुने

    भदौ १९ गतेदेखि चितवनमा‘महिला उद्यमी मेला–२०८२’ आयोजना हुने

    चितवन,भदौ १८

    उद्योग वाणिज्य संघ चितवन महिला उद्यमी विकास समितिको आयोजनामा ‘महिला उद्यमी मेला–२०८२’ आयोजना हुने भएको छ। भदौ १९ देखि २३ गतेसम्म उद्योग वाणिज्य संघ परिसरमै मेला आयोजना गर्ने तयारी गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

    ‘महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरण’ भन्ने मूल नाराका संचालन हुने मेलामा करिब ३० वटा स्टल रहनेछन । मेलामा हस्तकला, लघु घरेलु उत्पादन तथा कृषि क्षेत्रसँग सम्बन्धित वस्तुहरुको प्रदर्शनी गरिने कार्यक्रम संयोजक अस्मिता तिमल्सिना रिजाले जानकारी दिनुभयो । एकल महिला, दुर्गम क्षेत्रका महिला तथा स्टार्टअप उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइने उहाँले बताउनुभयो ।

    पाँच दिने मेला अवलोकन गर्न कम्तीमा पनि १५ हजार दर्शकको उपस्थिति रहने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मेलाबाट करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । उहाँका अनुसार महिला उद्यमीका उत्पादनलाई प्रचार–प्रसार गर्ने, स्वरोजगार र आत्मनिर्भरता बढाउने, नयाँ व्यवसायिक सम्पर्क तथा साझेदारी कायम गर्ने अवसर मेलाबाट प्राप्त हुनेछ।

    मेलाको क्रममा उद्यमशिलता सम्बन्धी गोष्ठी तथा राष्ट्रिय योग्यता प्रणाली कार्यक्रमको सहकार्यमा प्यानल डिस्कसन पनि आयोजना गरिनेछ। आयोजकले महिला आर्थिक सबलीकरणसँगै सामाजिक सशक्तिकरण र व्यवसायिक क्षमतामा टेवा पुग्ने विश्वास लिएको छ।