Category: भरतपुर

  • बोस्टन इन्टरनेशनल कलेजमा नवप्रवर्तनको उत्सव- प्रोजेक्ट र कला प्रदर्शनी हुँदै

    बोस्टन इन्टरनेशनल कलेजमा नवप्रवर्तनको उत्सव- प्रोजेक्ट र कला प्रदर्शनी हुँदै

    चितवन साउन १०
    शिक्षा सिर्जनशीलता र उद्यमशीलताको संगमका रूपमा परिचित बोस्टन इन्टरनेशनल कलेज भरतपुरले ‘Project Exhibition V 4.0 – Learning by Building Projects’ र ‘Art Fusion 1.0 – Colours of Expression’ आयाेजना गर्ने भएकाे छ । कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।

    कलेजका आरएमसी विभाग प्रमुख डा. सुनिल पोखरेलले कार्यक्रममा सहभागी विद्यार्थीहरूको सिर्जनशीलता व्यवहारमा रूपान्तरण गर्ने उद्देश्य राखिएको जानकारी दिँदै भने:”हामी विद्यार्थीहरूलाई सोच मात्र गर्न होइन, समस्याको व्यवहारिक समाधान निकाल्न उत्प्रेरित गर्न चाहन्छौं। यस कार्यक्रममार्फत उनीहरूले अनुसन्धान, प्रयोग र प्रस्तुति — तीनै तहमा सक्रिय सहभागिता जनाउन पाउँछन्।”

    Project Exhibition V4.0 मा सूचना प्रविधि, व्यवस्थापन, होटल व्यवस्थापन लगायत संकायका विद्यार्थीहरूले तयार पारेका २५ भन्दा बढी नवप्रवर्तन परियोजनाहरू प्रदर्शन गरिने छन्।

    प्रदर्शनीमा समावेश प्रमुख परियोजनाहरूले विद्यार्थीहरूको गहिरो अनुसन्धान र व्यावहारिक सोचको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नेछन्। ‘Pariwartan’ नामक परियोजना डिजिटल समाज व्यवस्थापन प्रणालीको अवधारणामा आधारित छ, जसले स्थानीय प्रशासन र नागरिक सेवाहरूलाई प्रविधिमैत्री बनाउन सहयोग पुर्‍याउनेछ।

    त्यस्तै, ‘Karma Yogi’ नामक प्लेटफर्मले व्यक्तिको सीप, रुचि र समाजसेवामूलक अभिप्रेरणालाई एकै ठाउँमा जोड्ने प्रयास गरेको छ, जसबाट सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन सकिनेछ।

    घरपालुवा जनावरको सुरक्षालाई ध्यानमा राखेर विकास गरिएको ‘Petify’ नामक प्रणालीले जनावरहरूको निगरानी, स्वास्थ्य र हेरचाह प्रविधिको माध्यमबाट गर्न सकिने उपाय प्रस्तुत गर्नेछ।

    वातावरणीय सचेतनालाई प्रोत्साहित गर्ने उद्देश्यले तयार पारिएको ‘Aura’ परियोजनाले वायु गुणस्तर मापन गर्न सकिने स्मार्ट उपकरण प्रदर्शन गर्नेछ, जसले विशेष गरी शहरी क्षेत्रका बासिन्दालाई वायुप्रदूषणको अवस्थाबारे जानकारी दिन मद्दत गर्नेछ।

    त्यस्तै Smart Wheelchair, SignTalk, Period Tracker, Club Connect, Gantabya, Stylenest, Mero Events, Sahara, Yatra जस्ता परियोजनाहरूले पनि सामाजिक र प्रविधिमा जोड दिनेछन्।कार्यक्रममा समावेश अर्को विशेष कार्यक्रम Demo Day V6.0 मा, कलेज अन्तर्गत सञ्चालित Boston Incubation for Growth (BIG) बाट तयार भएका स्टार्टअपहरूको प्रस्तुति हुनेछ।

    यस अवसरमा Brikshya, Maali Dai र Weebmart नामक तीन स्टार्टअपले विश्वविद्यालय अनुदान आयोग (UGC) बाट क्रमशः रु ११ लाख, ८ लाख ५० हजार र ६ लाख २५ हजारको Startup Seed Fund जितेका छन्।त्यस्तै The Heritage Fade, The Vertical, Mugs and Mind जस्ता नव स्टार्टअपहरूले पनि कार्यक्रमलाई अझ आकर्षक बनाउनेछन्।

    यसै अवसरमा आयोजना हुन गइरहेको Art Fusion 1.0 – Colours of Expression मा विद्यार्थीहरूले कला, चित्रकला, डिजाइन र रङमार्फत सामाजिक सन्देश र भावनात्मक अभिव्यक्ति प्रस्तुत गर्नेछन्।कार्यक्रमको मूल उद्देश्य विद्यार्थीहरूमा नेतृत्व विकास, नवप्रवर्तनशील सोच, सामाजिक योगदान र व्यावहारिक शिक्षाको सशक्त अभ्यास गराउनु रहेको बताइएको छ। कलेजका अनुसार चितवन र नवलपुरका ७५ भन्दा बढी शिक्षण संस्थाका +2 तथा स्नातक तहका विद्यार्थीहरू कार्यक्रम अवलोकनका लागि सहभागी हुनेछन्।

    कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलेजका अन्य विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कलेज अध्यक्ष आनन्द बहादुर चन्द निर्देशक पुष्पराज अधिकारी आरएमसी विभाग प्रमुख डा. सुनिल पोखरेल बीबीए कार्यक्रम संयोजक सरिता थापा र पेल्समनेट हेड सुनिता गुरुङको उपस्थिति रहेको थियो।

     

  • भरतपुर महानगरसँगको साझेदारीमा रूरूक्षेत्रमा निर्माण गरियो फल्चा

    भरतपुर महानगरसँगको साझेदारीमा रूरूक्षेत्रमा निर्माण गरियो फल्चा

    गुल्मी, साउन १० –
    गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक र ऐतिहासिक क्षेत्र रूरूक्षेत्रमा रिडीमा आकर्षक र सांस्कृतिक महत्व बोकेको फल्चा निर्माण गरिएको छ ।

    रूरूक्षेत्र गाउँपालिका वडानम्बर–१ स्थित कालिगण्डकी नदीको किनारमा निर्माण गरिएको उक्त फल्चा आन्तरिक तथा बाह्य पर्यटक र रिडी पुग्ने तीर्थयात्रीलाई लक्षित गरी बनाइएको हो ।

    फल्चा निर्माणसँगै त्यस क्षेत्रमा सानो पार्कसमेत निर्माण गरिएको छ । जसले रिडी क्षेत्रको पर्यटकीय वातावरणलाई रमणीय र स्वागतयोग्य बनाउने रूरूक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताए ।

    रूरूक्षेत्र गाउँपालिका र भरतपुर महानगरपालिका बीच भगिनी सम्बन्धको सन्दर्भमा संयुक्त रूपमा निर्माण गरिएको हो । दुवै पालिकाले ५०/५० प्रतिशत लगानी साझेदारीमा फल्चा निर्माण गरिएको अध्यक्ष ज्ञवालीले बताए ।

    ३२ लाख २६ हजारको लागतमा नीलकण्ठ कन्ट्रक्सनले निर्माण गरेको हो । काठमाडौं संस्कृति, कला र नेवारी वास्तुकलाको झल्को दिनेगरी फल्चा निर्माण गरिएको छ ।

    जसले पर्यटकलाई काठमाडौंको पुरानो शहरको अनुभव गराउनेछ । रिडी प्रसिद्ध धार्किक क्षेत्र रहेकाले यसको महत्व धेरै रहेको छ ।

    पछिल्लो समय यस्ता मौलिक कलात्मक स्थलहरु निर्माणले झनै महत्व झनै बढ्ने स्थानीयको अपेक्षा छ । यसले रिडी बजार र आसपासका क्षेत्रका व्यवसायिक गतिविधिमा पनि सकारात्मक असर पार्ने स्थानीयको विश्वास गरिएको छ ।

    फल्चा निर्माणपछि पर्यटकहरूलाई सहज रुपमा विश्राम गर्न मिल्ने, फोटो खिच्न आकर्षक पृष्ठभूमि रहेको छ । रिडी क्षेत्र कालीगण्डकी नदीको किनारमा अवस्थित रहेकाले विभिन्न मेला, पर्व, र धार्मिक गतिविधिका लागि प्रसिद्ध छ ।

    यस्ता संरचना निर्माणले थप व्यवस्थित र पर्यटकमैत्री बन्दै गएको छ । रिडीमा निर्माण भएको फल्चाको निर्माणमा प्रयोग गरिएका काष्ठकलाहरू गुल्मी जिल्लामै उत्पादित काठ र श्रमद्वारा निर्मित रहेको छ ।

    काष्ठकलामा प्रयोग गरिएका कलात्मक सामग्रीहरू गुल्मी जिल्ला कारागारमा रहेका कैदीबन्दीले आफ्नै सीप र दक्षताबाट निर्माण गरेका हुन् ।

    कारागारभित्र रहेका कालिगड कैदीबन्दीले कुँदेका कलात्मक सामाग्री देशभर र देशबाहिर समेत निर्यात हुने गरेको छ ।

  • चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

    चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

    भरतपुर साउन,८

    चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।

    सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उनले बताए । सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन् ।

    वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन् । बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन् । सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १६९ जना घाइते भएका छन् । उनका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आव २०७८/२०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो ।

    मध्यवर्ती क्षेत्रका बासिन्दाहरू निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँसदाउराका लागि जाने गर्दछन् ।

    चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताए । निकुञ्जले जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गरिरहेको जनाएको छ ।

    वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशुको क्षति भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको छ । बाघको आक्रमणबाट ३७ र अजिङ्गरबाट दुई वटा पशुको क्षति भएको सूचना अधिकारी रानामगरले जानकारी दिए ।

    चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका २३ वटा घरमा हात्तीले क्षति पुर्‍याएको छ । निकुञ्जका अनुसार गत आवमा मात्रै १३ वटा घरको अन्न भण्डारमा हात्तिले क्षति गरेको छ ।

  • विद्युतीय शवदाह भवनको सकियो निर्माण कार्य : भदौदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइँदै

    विद्युतीय शवदाह भवनको सकियो निर्माण कार्य : भदौदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइँदै

    देवघाट साउन ६

    पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्णरुपमा सञ्चालनमा आउने भएको हो ।

    विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो । मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको शवदाह भवन सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले निर्माण गरेको हो । कार्यालयका प्रमुख झपटबहादुर थापाका अनुसार साउनभित्रमा शवदाह भवनको बाँकी काम सम्पन्न गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।

    भवनको निर्माण सम्पन्न भए पनि यसमा विद्युत् जोड्ने, शवदाहको मेसिन जडान, प्रविधिलाई तालिमलगायतको काम बाँकी रहेको उनले जानकारी दिए । यी सबै काम सम्पन्न गरेर शव पोल्ने जनशक्तिलाई तालिम दिएपछि दायित्व पूरा हुने उनको भनाइ छ । आन्तरिक तयारीको सबै काम सकिएपछि भवन हस्तान्तरण गरिने उनले बताए ।

    भवनको काम हेर्दै आएका कार्यालयका इन्जिनियर द्रोण कटुवालका अनुसार विद्युत् जडानका लागि मिटर आइसकेको छ । केही दिनमा मिटर जडान हुनेछ । यससँगै महानगरपालिकाले पठाउने जनशक्तिलाई तालिम दिइनेछ । भवनमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । ती मेसिनले अधिकतम ९० मिनेटमा शवलाई जलाउने छन् । शव राख्नुपर्दा चारवटा शव राख्न मिल्नेगरी ‘फ्रिज’ जडान गरिएको छ ।

    बर्सातमा पानीको सतह माथि आएकाले भुइँतला खाली गरी माथिल्लो तलामा उपकरण जडान गरिएको छ । क्रियापुत्री बस्नका लागि ठाउँ छुट्याइएको छैन । आवश्यकताअनुसार क्रियापुत्रीका लागि भुइँतलामा व्यवस्थापन गर्न सकिने उनले बताए । भवनमा शौचालय, स्नानघरलगायतका सुविधासमेत रहेको छ ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले विद्युतीय शवदाहले धेरै सहज हुने बताए । उनका अनुसार सरदर हिसाब गर्दा दैनिक सात दशमलव पाँच शव देवघाट आउने गर्दछन् । ती शव अन्त्येष्टि गर्न अहिले एक महिनामा दुई लाख ५० हजारको दाउरा खरिद गर्नुपरेको छ । विद्युतीय शवदाह सञ्चालनसँगै दाउराको खपत घट्ने उनको भनाइ छ ।

    बर्सातमा शव जलाउन कठिन हुने, दाउराको समस्या, समयको बचत सबै विषयले शवदाह धेरै प्रभावकारी हुने उनले बताए । सहरी विकास कार्यालयले ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो । शवदाह भवन ६०० वर्गमिटर क्षेत्रफलमा बनेको छ । रासस

  • चितवनको कारागारबाट छुट्ने भन्दा आउने बढी

    चितवनको कारागारबाट छुट्ने भन्दा आउने बढी

    चितवन, साउन ५ –
    कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो ।

    कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका छन् । यस्तै, सोही समयमा ६७२ जना छुटेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थपिएका कैदीबन्दीमध्ये १५० जना नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का हुन् भने अन्य चितवनका छन् ।

    गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १४५ जना छ । यस्तै, उपचारका लागि विभिन्न कारागारबाट आउने कैदी छ जना रहेको उहाँले जानकारी दिनुभयो ।

    उक्त अवधिमा ४२ जनाले ‘प्यारोल’ सुविधा लिएका छन् । प्यारोल सुविधाका लागि एक वर्षभन्दा बढी कैद तोकिएका र दुई तिहाइ कैद भुक्तान गरेका हुनुपर्ने हुन्छ ।

    कारागारमा गत आर्थिक वर्षमा दुईजना कैदीबन्दीको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । क्यान्सर रोगका कारण उनीहरूको मृत्यु भएको हो । अहिले कारागार कार्यालयमा ७३० जना छन् । जसमध्ये ६८४ जना पुरुष र ४६ जना महिला रहेका छन् । तीसँग आश्रित पाँचजना बालबालिका रहेका छन् । कारागारमा ४७० पुरुष र ३५ जना महिला राख्ने क्षमता रहेको छ । – रासस

  • भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए

    भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए

    चितवन, साउन ५ –
    भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन लाख २० हजार ६४८ जनाले सेवा लिएका छन् । जसमध्ये ११ हजार ३४९ जनाको शल्यक्रिया गरिएको हो । तिनीहरूमध्ये चार हजार १३५ जनाको ‘फेको’ (मेसिन) प्रविधिबाट शल्यक्रिया गरिएको छ ।

    अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अघिल्लो आर्थिक वर्षमा तीन लाख ५३ हजार ३९७ जनाको आँखा उपचार गरिएको थियो । उक्त वर्ष ११ हजार ३२४ जनाको शल्यक्रिया गरिएको थियो । तीमध्ये चार हजार ३१२ जनाको फेको प्रविधिबाट शल्यक्रिया गरिएको हो ।

    नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको यस अस्पताल मातहत चितवनसहित आठवटा जिल्लाका २५ ठाउँमा अस्पताल र आँखा उपचार केन्द्र सञ्चालनमा छन् । गत आर्थिक वर्षमा अस्पतालबाहिर बाह्य क्याम्प ९शिविरमार्फत० ४० हजार ९३३ जनाको उपचार गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ४२ हजार ८९४ रहेको थियो ।

    अस्पतालका कार्यवाहक अध्यक्ष तेजेन्द्र खड्काका अनुसार अघिल्लो वर्ष आँखा पाक्ने समस्याले बिरामीको उच्च चाप भएकामा गत वर्ष यो समस्या कम रहेको थियो । यस्तै, अन्य सरकारी र निजी क्षेत्रका अस्पतालहरूले पनि आँखाको सेवा विस्तार गरेसँगै बिरामीको सङ्ख्या केही घटेको हो । यद्यपि अस्पतालाले क्षेत्रसँगै सेवा विस्तार गर्दै गएको उहाँले बताउनुभयो ।

    सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा विभिन्न जिल्लाका पालिकाहरूमा आँखा सेवा पु¥याइएको उहाँले बताउनुभयो । विभिन्न दातामार्फत प्राप्त हुने उपकरण र सहयोगका कारण सुलभ शुल्कमा उच्चस्तरको आँखाको उपचार दिन सकिएको उहाँ बताउनुहुन्छ ।

    अस्पतालको भरतपुरमा सबैखाले उपचार हुने आँखाको टर्सरी अस्पताल छभने भरतपुर हाइटमा सिटी क्लिनिक सञ्चालनमा छ । पर्साको ठोरी र नवलपरासीको कावासोतीमा शल्यक्रिया सेवासहितको अस्पताल छभने २१ ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

    विक्रम संवत् २०४४ चैत १८ गते भरतपुरमा स्थापना भएको यस आँखा अस्पतालले सेवा विस्तार गर्दै आठवटा जिल्लामा पुगेको हो । चितवन, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) पर्सा, बारा, धादिङ, सिन्धुली, तनहुँ र सर्लाहीमा अस्पताल र क्याम्पमार्फत सेवा दिँदै आएको छ । – रासस

  • मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत पूरा

    मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत पूरा

    भरतपुर साउन ५
    नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ ।

    पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा एकैठाउँमा पाँच किलोमिटर कालोपत्र गरिएको छ भने बाँकी विभिन्न ठाउँमा कालोपत्र गरिएको हो । थप आठ किलोमिटर क्षेत्र कालोपत्र गर्ने तयारी गरिएको छ । सो सडकको २५ किलोमिटर भागमा पक्की नाली बनाइएको छ । सडकको चौडा गर्ने काम नाली बनाएका क्षेत्रमा भइसकेको छ । थप आठ किलोमिटर क्षेत्रमा सडक चौडा गर्ने काम बाँकी रहेको छ ।

    सो सडक खण्डमा रहेका छवटा पुलमध्ये गोमती खोलाको पुलको काम सम्पन्न भएको छ । बाँकी तीन पुलमा साउनभित्रमा ढलान गर्ने योजना रहेको नेपालले बताए । थप दुई पुल वर्षा सकिएपछि काम अघि बढाइने छ । ती पुलमा पिल्लर उठाउने काम भएको छ ।

    आयोजनाले मुआब्जा दिनुपर्नेमध्ये ७० प्रतिशत वितरण गरिसकेको छ । विद्युत्का खम्बा ४०० बाट सार्नुपर्नेमा ३०३ वटा सारिएको छ । वर्षात्को समयमा पुलको ढलानको काम र निर्माण सामग्री प्रशोधनको काम मात्र हुने गर्दछ । नेपालले भदौपछि अरू काम थालिने बताए ।

    यो खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक सात दशमलव दुई किलोमिटर हुनेछ । यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो–ओरालो खण्डमा तीन लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन दुई दशमलव तीन किलोमिटर हुनेछ । बाँकी सडक ‘डेडिकेटेड’ दुई लेनको हुनेछ ।

    विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडकखण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ । यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ ।

    शर्मा–जेडआइसिजीले रू चार अर्ब ८० करोड ५९ लाखमा यस खण्डको स्तरोन्नतिको ठेक्का लिएको हो । सडकको विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम गर्नुपर्ने हुन्छ । यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।

    काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रुपमा यो सडक रहेको छ । सडकमा सवारीसाधनको उच्च चाप र कच्चापदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको हो । यससँगै सुरूका वर्षमा डिजाइन परिवर्तन हुँदा पनि काममा ढिलाइ भएको नेपालले बताए । रासस

  • नारायणी नदी सहित देशका यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

    नारायणी नदी सहित देशका यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ असार ३१
    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूको जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। यसका साथै, आज देशका विभिन्न जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार, कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ। तर, आगामी तीन दिन यी नदीहरूको जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। कमला र बागमती नदीमा भने आज र भोलि बहाव सामान्य बढ्ने र पर्सी उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।

    महाशाखाले आज ससाना नदीहरूमा बाढीको जोखिम औँल्याएको छ। पूर्वानुमान अनुसार, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

    त्यसैगरी, इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (पूर्व र पश्चिम), लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला र आसपासका जिल्लाहरूमा पनि स(साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहनेछ।

  • क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने

    क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने

    काठमाडौँ, असार २९-
    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताउनुभएको छ ।

    नेपालमा औषधि उपलब्ध नभएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हटाउन अन्तरराष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो चरणको औषधि नेपाल ल्याइएको उहाँको भनाइ छ । यसअघि मन्त्री पौडेलले त्यस्ता औषधि प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको थियो ।

    डाइरेक्ट रिलिफले वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा मन्त्री पौडेलले औषधि अभावमा विदेश गएर महङ्गो खर्च गनुपर्ने बिरामीको बाध्यता हटाउन लामो मेहनतपछि सफलता प्राप्त भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महङ्गा औषधी नेपालको आवश्यकताअनुसार पाँच वर्षसम्म सहयोग स्वरुप उपलब्ध गराउने मन्त्री पौडेलले जानकारी दिनुभयो ।

    “क्यान्सरको औषधि महङ्गो हुँदा विपन्न नागरिकलाई समस्या छ”, मन्त्री पौडेलले भन्नुभयो, “राज्यको लगानीबीना नै धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।” हाल ३७ प्रकारका औषधि क्रमैसँग आउने भए पनि अन्य आवश्यक औषधि समेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलको भनाइ छ ।

    मन्त्री पौडेलले सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएको समेत बताउनुभयो । मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसङ्ग निकाल्दै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गनुभयो ।

    मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले पाँच वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधि प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिनुभयो । वन हर्ट वर्ल्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट मात्र औषधि प्राप्त भएको उल्लेख गर्दै नेपालका लागि ठूलो उपलब्धि भएको बताउनुभयो ।

    स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र काठमाडौँस्थित वीर अस्पताललाई हस्तान्तरण गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । रासस

  • क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

    क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा

    चितवन, असार २९-
    चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी) ’ मेसिन सञ्चालनमा ल्याएको छ ।

    स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना ९टिस्यु० भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

    अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सहज भएको छ । उहाँले भन्नुभयो, “बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण अनिवार्य हुन्छ । अब त्यो परीक्षण सजिलै यहीँ हुनेछ ।”

    यसअघि परीक्षण भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्नेलगायत समस्या थिए । अब भने छिटो, सटिक र वैज्ञानिक आधारमा रिपोर्ट प्राप्त गर्न सकिने भएको छ ।

    अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार ‘रोश बेन्चमार्क अल्ट्रा’ एक पूर्ण स्वचालित प्रणाली हो, जसले टिस्युमा रहेका प्रोटिन मार्करहरू पत्ता लगाउँछ । उहाँले भन्नुभयो, “यसले लक्षित थेरापी र सम्पूर्ण उपचार योजनामा वैज्ञानिकता र विश्वसनीयता थप्नेछ ।” यो सेवा सुरु भएपछि अब नेपालमै ‘टप टेन कमन क्यान्सर’ जस्तै स्तन, पाठेघर, फोक्सो, ओभरी, पेट र आन्द्राका क्यान्सरको सटिक परीक्षण सम्भव भएको छ ।

    उहाँका अनुसार यो मेसिन क्यान्सरको प्रकार पत्ता लगाउन प्रयोग गरिन्छ । विशेषगरी टिस्यु ९मासुको नमूना०मा कुन प्रोटिनहरू उपस्थित छन् भन्ने कुरा पत्ता लगाउन यसले सहयोग पुर्याउँछ । यो मेसिनले टिस्यु स्लाइडहरूमा इम्युनोहिस्टोक्यामेस्ट्री ९आइएचसी०० परीक्षण गर्छ, जसबाट ट्युमरमा कुन प्रोटिन अभिव्यक्त भएको हो भन्ने कुरा थाहा हुन्छ र यसले छिटो, सटिक र भरपर्दो नतिजा दिन्छ ।

    क्यान्सरको केवल पुष्टि भएरमात्र पुग्दैन, कस्तो क्यान्सर हो भनेर थाहा पाएपछि मात्र कुन थेरापी दिने भनेर निर्णय गर्न सकिन्छ जस्तैः केमोथेरापी दिने कि रेडिएसन, कुन औषधि प्रयोग गर्ने, रोगको आक्रमकता कति हो भनेर जानकारी हुन्छ । अस्पताल आफैँले मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको डा पौडेलले जानकारी दिनुभयो ।

    अस्पतालका उपनिर्देशक डा उमेश नेपालले प्रविधिले बिरामीलाई छिटो उपचार सुरु गर्न सहयोग पुग्ने र बिरामी र आफन्तको मानसिक र आर्थिक बोझ पनि कम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यस किसिमको प्रविधिको थालनीले अस्पताललाई प्रविधिमैत्री राष्ट्रिय क्यान्सर उपचार केन्द्रका रूपमा सुदृढ बनाउनेछ ।”

    अस्पतालले आगामी दिनमा थप यस्ता आधुनिक प्रविधि थप्दै क्यान्सर उपचार तथा अनुसन्धान सेवा अझ प्रभावकारी बनाउने योजना अघि सारेको निर्देशक डा पौडेलले बताउनुभयो । रासस