Category: विदेश

  • लसएन्जलस आगलागीमा पाँचजनाको मृत्यु, एक हजारभन्दा बढी घरमा क्षति

    लसएन्जलस आगलागीमा पाँचजनाको मृत्यु, एक हजारभन्दा बढी घरमा क्षति

    काठमाडौं, पुस २५ –
    लसएन्जलसमा दश हजार एकडमा फैलिएको आगलागीका कारण पाँचजनाको मृत्यु भएको छ ।

    अल्टाडेना क्षेत्रको इटनमा भएको आगलागीमा परी पाँचजनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

    लसएन्जलस काउन्टी फायर चिफ एन्थोनी मार्रोनका अनुसार इटनको आगो अहिले दश हजार ६०० एकडमा फैलिसकेको छ । नियन्त्रणमा आउन सकेको छैन ।

    उनले भने, “पाँच नागरिकको मृत्यु भएको छ । केही घाइते भएका छन् । हालसम्म एक हजारभन्दा बढी घर क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।”

    एन्थोनी मार्रोनले क्यालिफोर्नियालगायत एरिजोना बाहिरका अधिकारीहरू पनि अग्नि नियन्त्रकहरूलाई सहयोग गरिरहेका छन्

    लसएन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगलागी फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै आपतकाल घोषणा गरिएको छ ।

    सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी दिइएको छ । बीबीसी

  • दुबईमा दुर्घटनामा परे दक्षिण भारतीय अभिनेता अजित

    दुबईमा दुर्घटनामा परे दक्षिण भारतीय अभिनेता अजित

    काठमाडौं, पुस २४ –
    दक्षिण भारतीय अभिनेता अजित कुमार दुबईमा दुर्घटनामा परेका छन्।

    भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनलाई चोट भने लागेको छैन। यतिबेला सामाजिक सञ्जालमा उनको दुर्घटनाको भिडिओ भाइरल भइरहेको छ। भिडिओमा अजित कार चलाइरहेका छन्।

    उनी कार रेसमा सहभागी हुन दुबई पुगेका थिए। जसका लागि उनले ६ घण्टा लामो प्रशिक्षण लिइरहेका थिए। प्रशिक्षण सकिनुअघि उनको कार भित्तामा ठोक्कियो।

    अजित दुबईमा हुने २४ एच दुबई २०२५ रेसमा भाग लिँदैछन्। उनले आफ्नो टिमसँग प्रशिक्षण सुरू गरेका थिए।

    अजित रेस टिमको मालिक पनि हुन्। उनी आफ्नो साथी मैथ्यू डेट्री, फैबियन डफिक्स र क्यामरन मैकलियोडसँग ९९९ क्लासमा पनि सहभागी हुनेछन्।

  • चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ

    चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ

    काठमाडौं, पुस २४ –
    चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

    ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ ।

    नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो ।

    तिब्बतमा नेपालीहरु पनि छन् । तर नेपालीहरु हताहतीको सूचना नरहेको अधिकारीहरुले बताएका छन् ।

    ल्हासास्थित महावाणिज्य दूतावासका अनुसार तिब्बतमा करिब पाँच हजार जना नेपालीहरु छन् । भूकम्पको केन्द्रविन्दु दिङ्गी गाउँ र त्यस आसपासका क्षेत्रमा पनि करिब एक सय जना नेपाली व्यवसायीहरु छन् । तर उनीहरु सबै सुरक्षित रहेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

  • अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा

    अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा

    काठमाडौं, पुस २४ –
    अमेरिकाको लस एन्जलसमा आपत्‌कालको घोषणा गरिएको छ । सुरुमा १० एकडमा लागेको आगो केही घण्टामै २९ सय एकडमा फैलिएपछि आपत्‌कालको घोषणा गरिएको बीबीसीले जनाएको छ ।

    बीबीसीका अनुसार, ३० हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

    केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड्स क्षेत्रका घरहरू नजिकका क्षेत्रबाट धुवाँ निस्किरहेको देखिन्छ ।

    क्यालिफोर्नियामा लाखौँ मानिसका लागि चेतावनी जारी गरिएको छ ।

  • उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

    उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल

    बेइजिङ,पुस २३ –
    चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्वपूर्ण निर्देशन दिँदै घाइतेहरुको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गर्नुभएको छ ।

    साथै, उहाँले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनस्र्थापना गर्न पनि आग्रह गर्नुभयो ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मङ्गलबार उद्धार कार्य सञ्चालन गर्न आह्वान गर्नुभएको छ ।

    उहाँले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताउनुभयो ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले भूकम्प गएको ठाउँमा टोलीको नेतृत्व गर्नुभएको छ । – रासस

  • तिब्बतमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

    तिब्बतमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

    काठमाडौं, पुस २३ –
    तिब्बत भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ९५ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

    नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको धक्का मापन गरेको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । भूकम्पको धक्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

  • भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्‍यो सगरमाथा क्षेत्र

    भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्‍यो सगरमाथा क्षेत्र

    काठमाडौं, पुष २३ –
    चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।

    सगरमाथा (माउन्ट कोमोलाङ्‍मा) क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो । चीनमा हालसम्म भूकम्पमा परी ५३ जनाको मृत्यु भएको र ६२ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

    डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्‍मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

    मौसम पूर्वानुमान महाशाखाले डिङ्ग्रीको तापक्रम माइनस १८ डिग्री सेल्सियसदेखि शून्यभन्दा तलसम्म रहेको जनाएको छ । सगरमाथा क्षेत्रमा नेपालतर्फबाट भने अहिले कुनै गतिविधि हुँदैनन् । – एजेन्सी

  • ट्रम्पको अभिव्यक्तिले क्यानडामा तरंग

    ट्रम्पको अभिव्यक्तिले क्यानडामा तरंग

    काठमाडाैं, पुस २३ –
    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेतृत्वबाट राजीनामा दिने घोषणा गरेकै समयमा अमेरिकी नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको एक विवादास्पद अभिव्यक्तिले नयाँ तरंग पैदा गरेको छ ।

    ट्रम्पले सामाजिक सञ्जालमा क्यानडाबासी अमेरिकाको ५१ औं राज्य बन्न मन पराउने दाबी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘क्यानडा अमेरिकाको ५१औं राज्य बन्ने कुरालाई क्यानडाका धेरै मानिसहरूले मन पराएका छन् ।’

    ट्रम्पले क्यानडामाथि २५ प्रतिशत आयात शुल्क लगाउने प्रस्ताव गरेका छन् । त्यही प्रस्ताव विवादित बनिरहेका बेला ट्रम्पको अर्को अभिव्यक्तिले क्यानडामा तरंग आएको हो ।

    ट्रम्पको यस्तो अभिव्यक्तिलाई लिएर क्यानडाको लिबरल पार्टीभित्र पनि ठूलो विवाद देखिएको छ ।

    क्यानडाका उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डले भन्सार शुल्क लगायत अन्य विषय जोड्दै प्रधानमन्त्री ट्रुडो र ट्रम्पको सम्बन्धलाई लिएर गत डिसेम्बरमा अप्रत्याशित रूपमा आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।

    ट्रुडोको राजीनामासँगै क्यानडाको आगामी राजनीतिक बाटो थप अनिश्चित भएको छ । क्यानडाको आगामी आम निर्वाचन २० अक्टोबरभन्दा अघि हुनुपर्ने संवैधानिक प्रावधान छ ।

  • तिब्बतमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, एक हजारभन्दा धेरै घरमा क्षति

    तिब्बतमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, एक हजारभन्दा धेरै घरमा क्षति

    काठमाडौं, पुस २३ –
    चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।

    चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

    सीजीटीएनका अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । अहिलेसम्म ६३ जना घाइते भएको बीबीसीले जनाएको छ ।

    नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

  • भूकम्पले चीनमा ३६ जनाको मृत्यु

    भूकम्पले चीनमा ३६ जनाको मृत्यु

    काठमाडौँ, पुस २३ –
    मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

    बेइजिङ समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।

    चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।

    भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।