Category: विदेश

  • हुरीका कारण क्यालिफोर्नियामा नयाँ ठाउँमा डढेलो लाग्ने खतरा

    हुरीका कारण क्यालिफोर्नियामा नयाँ ठाउँमा डढेलो लाग्ने खतरा

    वासिङ्टन डीसी, माघ १ –
    अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा जङ्गलमा लागेको डढेलो मत्थर हुने कुनै सङ्केत छैन । डढेलो सुरु भएको एक हप्ता भन्दा बढी भइसकेको छ । यस्तोमा नयाँ क्षेत्रमा डढेलो लाग्ने सम्भावना बढेको छ ।

    लस एन्जलस वरपरको दक्षिण–पश्चिमी क्यालिफोर्नियाको ठुलो भाग बुधवारसम्ममा भीषण आगलागीको खतरामा रहेको समाचार एजेन्सी एपीले एउटा समाचारमा भनेको छ ।

    अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार राति लस एन्जलसमा ४५ देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो । यो हुरी मंगलबार १२० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्ने बताइएको छ । यसले अन्य क्षेत्रमा डढेलो भड्काउन सक्ने बताइएको छ । लस एञ्जलको जङ्गलमा फैलिएको डढेलो बस्तीमा पस्दा अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ ।

    डढेलो जनवरी ७ मा देखि सुरु भएको थियो । एक हप्ता बितिसक्दा पनि यो पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएपछि डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्षेत्रहरूको भ्रमण गर्न सक्नेछन् । रोयटर्सका अनुसार लस एन्जलसको डढेलोमा अहिलेसम्म १ खर्ब ३५ अर्ब देखि १ खर्ब ५० अर्ब डलरसम्मको क्षति भएको छ । – एजेन्सी

  • लस एन्जलसको आगलागीबाट अहिलेसम्म के–के भयो ?

    लस एन्जलसको आगलागीबाट अहिलेसम्म के–के भयो ?

    काठमाडौं, माघ १ –
    अमेरिकाको लस एन्जलसमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । २३ जना हराइरहेका छन् ।

    डढेलो अझै फैलिरहेको क्षेत्रमा पालिसेड, इटन र हर्स्ट रहेका छन् । हजारौं घर जलेर नष्ट भएका छन् । आगलागी २३ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

    आगलागीबाट अहिलेसम्म के–के भयो ?
    – अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी अहिलेसम्म २४ जनाको मृत्यु भएको छ । २३ जना हराइरहेका छन् ।

    – आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा पेलिसेडस पहिलो स्थानमा रहेको छ । आगलागी २३ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । १४ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको छ । आगो निभाउन पाँच हजारभन्दा बढी मानिस खटिएका छन् ।

    –आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र इटनको ३३ प्रतिशत क्षेत्र मात्र नियन्त्रणमा आएको छ । १४ हजार एकडभन्दा बढी जमिनमा अझै पनि आगो लागेको छ ।

    –शतप्रतिशत नियन्त्रणमा आउनुको अर्थ आगो पूर्णरुपमा निभिसकेको भन्ने होइन । यसको अर्थ आगोको ज्वालालाई अगाडि बढ्नबाट रोकेको छ ।

    –नेसनल वेदर सर्भिसका मौसमविद् रिच थम्पसनले लस एन्जलसमा लागेको डढेलोलाई बढावा दिने सेन्टा एना हावाबाट अझै पनि राहत पाउन नसकिएको बताए ।

    –अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘हामीले गुमाएका २४ निर्दोष आत्माप्रति हाम्रो सम्मान छ ।’ बीबीसी

  • युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु

    युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु

    सियोल, पुस २९ –
    युक्रेनसँगको युद्धमा तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।

    रुसले युक्रेनविरुद्धको युद्धमा करिब तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै दुई हजार सात सयजना घाइते भएको दक्षिण कोरियाली सांसदले सोमबार सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बताएका छन् ।

    सियोलले यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको भारी प्रतिबन्धित हतियार र स्याटेलाइट कार्यक्रमका लागि रुसी प्राविधिक सहयोगको बदलामा मस्कोलाई किएभविरुद्ध लड्न १० हजारभन्दा बढी सैनिक पठाएको दाबी गरेको थियो ।

    सप्ताहन्तमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभले दुईजना उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लडाकुलाई सोधपुछ गरिएको भिडियो सार्वजनिक गर्दै पक्राउ परेका युक्रेनी सैनिकका लागि कैदी साटासाटको सम्भावना बढाएको बताएका थिए ।

    “रुसमा उत्तर कोरियाली सेनाको तैनाथी कुस्रक क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको छ, उत्तर कोरियाली सेनाको हताहत तीन हजार नाघेको अनुमान गरिएको छ,” सांसद ली सियोङ–क्वेनले जासुसी एजेन्सीको ब्रिफिङपछि पत्रकारलाई भने ।

    सियोलको नेसनल इन्टेलिजेन्स सर्भिसको ब्रिफिङपछि लीले भने, “यसमा करिब तीन सयजनाको मृत्यु र दुई हजार सात सयजना घाइते भएका छन् ।”

    उत्तर कोरियाको ‘स्टोर्म कोर’का ती सैनिकलाई बन्दी बनाउनुको साटो आत्महत्या गर्न आदेश दिइएको लीले बताए ।

    उनले भने, “विशेष गरी मृतक सैनिकमा फेला परेका मेमोले उत्तर कोरियाली अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्नुअघि आत्महत्या गर्न वा आत्मविस्फोट गर्न दबाब दिएको संकेत गर्छ।”

    उनले केही सैनिकलाई ‘आममाफी’ दिइएको वा उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीमा सामेल हुन चाहेको र लडेर आफ्नो अवस्था सुधार्ने आशा व्यक्त गरेका छन् ।

    पक्राउ पर्न लागेका एकजना उत्तर कोरियाली सैनिकले ‘जनरल किम जोङ उन’ भन्दै चिच्याएर ग्रेनेड विस्फोट गर्ने प्रयास गरेको लीले बताए ।

    एनआईएसको विश्लेषणले उत्तर कोरियाली सैनिकमा ‘आधुनिक युद्धबारे नबुझेको’ र रुसले यसलाई ‘हताहत हुनेको संख्या उच्च’ हुने गरी प्रयोग गरिरहेको देखाएको छ । – रासस/एएफपी

  • लस एन्जलसमा डढेलो : २४ जनाको मृत्यु, १६ बेपत्ता

    लस एन्जलसमा डढेलो : २४ जनाको मृत्यु, १६ बेपत्ता

    काठमाडौं, पुस २९ –
    अमेरिकाको लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । डढेलो बस्तीमा फैलिँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

    आइतबारसम्म मृत्यु हुनेको संख्या २४ पुगेको बीबीसीले जनाएको छ । १६ जना बेपत्ता भएको समाचारमा उल्लेख छ । केही दिन हावाको गति केही कम भए पनि पुनः तीव्र गतिमा हावा चलिरहेको छ । प्रतिघण्टा ६० माइलको दरले हावा चलिरहेको छ । जसका कारण डढेलो धेरै भूभागमा फैरिहेको रहेको छ ।

    बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भइसकेको छ ।

    हालसम्म सयौँ घर र गाडीहरू जलेका छन् । एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् । हावाहुरीले रुखहरू ढलेका छन् ।

    लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपत्काल घोषणा गरेका छन् । वायुको गुणस्तर ‘निकै प्रदूषित’ रहेको बताएका छन् । खरानीका सूक्ष्म कण र धुवाँले आकाश ढाकिएको छ । प्रशासनले मृतकको संख्या अझै बढ्नसक्ने जनाएको छ ।

  • भागदौड मामिलामा अल्लु अर्जुनलाई राहत, विदेश जान अनुमति

    भागदौड मामिलामा अल्लु अर्जुनलाई राहत, विदेश जान अनुमति

    काठमाडौं, पुस २८ –
    गत ४ डिसेम्बरमा भारतको हैदरावादस्थित सन्ध्या थिएटरमा भएको भागदौड घटनामा अभिनेता अल्लु अर्जुनलाई राहत मिलेको छ । उनले जमानतमा छुट पाएका छन् ।

    भागदौड मामिलामा उनी डिसेम्बर १३ मा पक्राउ परेका थिए । भोलिपल्ट १४ डिसेम्बरमा उनी धरौटीमा रिहा भए । जमानतको शर्त अनुसार उनी हरेक आइतबार स्थानीय चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुनुपर्ने थियो ।

    साथै उनलाई विदेश जान पनि अनुमति दिइएको थिइएन । नयाँ खबरअनुसार, हैदरावादको नामपल्ली अदालतबाट जमानत सर्तहरू खुकुलो पारिएको छ । अल्लु अर्जुनलाई विदेश यात्रामा जान समेत अनुमति दिइएको छ । अब उनले हरेक साता प्रहरीमा हाजिरी समेत गर्नुपर्ने छैन ।

    आइतबार हाजिर हुनुअघि अल्लु अर्जुनको कानुनी टोलीले सर्तमा छुट दिन अदालतलाई अनुरोध गरेको थियो, जसलाई अदालतले स्वीकृत गरेको छ । सुरक्षाको कारण अभिनेतालाई छूट दिनुपर्ने माग राखिएको थियो ।

    फिल्म ‘पुष्पा : द रुल’ डिसेम्बर ५ मा रिलिज भएको थियो । रिलिज हुनुअघि हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियर भएको थियो । अल्लु अर्जुन प्रिमियरको क्रममा फ्यानहरूलाई सरप्राइज दिन पुगेका थिए । उनलाई हेर्न यति धेरै भीड जम्मा भयो कि भागदौड मच्चियो ।

    भीड अनियन्त्रित भएपछि धेरै बेहोस समेत भए । रेवती नामकी एक महिलाको मृत्यु भयो भने छोरा श्रेतेज गम्भीर घाइते भएका छन् । यस मामिलामा अल्लु अर्जुनसहित १८ जनाविरुद्ध डिसेम्बर ६ मा उजुरी परेको थियो ।

    १३ डिसेम्बरमा अल्लु अर्जुनलाई उनको हैदराबादको घरबाट पक्राउ गरिएको थियो । उनलाई स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो ।

  • हङकङको जंगलमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा

    हङकङको जंगलमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा

    हङकङ, पुस २८ –
    हङकङको युनलङस्थित जंगलमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ।

    शनिबार साँझ ५ः३० बजेदेखि सल्किएको आगो आइतबार बिहान १०:४० बजे नियन्त्रणमा आएको हो।

    युनलङस्थित काइकङ लेङ, पाटह्युङको पहाडी क्षेत्रमा लागेको आगो ताइमो शानबाट काइकङ लेङ क्षेत्रतिर दुई लाइन भएर सल्केको थियो। अग्नि नियन्त्रकहरूले रातभरिको प्रयासपछि बिहान डढेलो नियन्त्रणमा लिएका हुन्।

    साथै, बिहान सरकारी उडान सेवाले आगलागी क्षेत्रको माथिबाट पाइन खन्याएको थियो भने नागरिक सहायता सेवा पनि सहयोगका लागि पहाडमा उक्लिएको थियो।

  • लस एन्जलस डढेलोको कहरमा मच्चियो लुटपाट

    लस एन्जलस डढेलोको कहरमा मच्चियो लुटपाट

    काठमाडौं, पुस २८ –
    अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्र यतिखेर भयानक डढेलोको चपेटामा परेको छ । डढेलोबाट १६ जनाको मृत्यु भइसकेको छ भन लाखौँ मान्छे घरबारविहीन भएका छन् । बीबीसीका अनुसार डढेलोमो अझै १३ जना मान्छे हराइरहेका छन् ।

    यही संकटकाबीच डढेलो प्रभावित क्षेत्रमा लुटपाट पनि मच्चिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार डढेलोको जोखिमले खाली गराइएका बस्तीमा लुटेराहरू छिरेका छन् । लस एन्जलस प्रहरी प्रमुख माइक लोरेन्टका अनुसार डढेलोप्रभावित क्षेत्रमा लुटपाट ठूलो समस्या भएको छ । लुटपाटबाट आफ्नो सम्पत्ति जोगाउन स्थानीयवासीले निजी सुरक्षा गार्ड राख्न थालेका छन् ।

    डढेलोको जोखिमले खाली गरिएका बस्ती र खाली गर्न निर्देेशन दिइएका क्षेत्रमा लुटपाट रोक्नका लागि भनेर कफ्र्यु लगाइएको छ । लुटपाट रोक्नका लागि भनेर चार सयजना प्रहरी खटाइएको छ । डढेलो प्रभावित इटन क्षेत्रमा स्थानीय समयअनुसार बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म कफ्र्यु लगाइएको छ । लुटेराको आशंकामा २० जना मानिस पक्राउ परेका छन् ।

    लस एन्जलस क्षेत्रमा एक हप्ताअघिदेखि सुरु भएको डढेलो अझै नियन्त्रणमा आएको छैन । लस एन्जलस क्षेत्रका पेलिसेड्स, इटन, हस्र्ट, केनिथ, लिडिया र आर्चर क्षेत्रमा सल्केको डढेलो अझै नियन्त्रणमा आएको छैन । हिउँदको सुक्खा मौसम र तीव्र हावाका कारण आगो नियन्णत्र गर्न मुस्किल भइरहेको छ ।

    डढेलेको धुवाँ र धुलोले वायुमण्डल छोपेका कारण लस एन्जलस क्षेत्रको वायु प्रदूषण समेत बढेको छ । यही कारण लस एन्जलस क्षेत्रमा स्वास्थ्य आपतकाल घोषणा गरिएको छ । यसबाहेक पेलिसेड्स क्षेत्रको पिउने पानी पनि प्रदूषित भएको छ । यस क्षेत्रमा धारामा आउने पानी नपिउन निर्देशन जारी गरिएको छ ।

    अगो निभाउनका निम्ति हेलिकोप्टर र हवाईजहाज पनि प्रयोग गरिएको छ । तर, ११० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हावाका कारण आगो निभाउन सकिएको छैन । डढेलो सुरु भएदेखि करिब साढे तीन लाख मान्छेलाई स्थानान्तरण गरिएको छ । एक लाख ६६ हजार मान्छेलाई जतिखेर पनि घर छाडेर जानका लागि तयार भएर बस्न निर्देशन दिइएको छ ।

    आगलागीप्रभावित इटन सहरको १५ प्रतिशत क्षेत्र जलेको छ । हस्र्ट सहरको ७६ र केनेथको ९० प्रतिशत हिस्सा जलेको छ । पेलिसेड्स सहरको ११ प्रतिशत हिस्सा आगलागीमा परेको छ । तीव्र हावा नरोकिए डढेलो अझै फैलिने सम्भावना छ । यस क्षेत्रमा हावाको गति अझै बढ्ने आकलन गरिएको छ ।

    आगो फैलाउने हावा

    लस एन्जलसमा यतिखेर ‘सान्टा एना’ नामको हावा चलिरहेको छ । ‘सान्टा एना’ हावा हिउँदमा चल्ने हावा हो । यो हावा ९५ देखि १३० किलोमिटर प्रतिघन्टाको गतिसम्म चल्ने गर्छ ।

    हिउँदमा चल्ने यो हावालाई ‘सान्टा एना’ नाम कसले दियो र किन दियो भन्ने कुरा यकिन छैन । यो हावा दक्षिणी क्यालिफोर्नियाको ओरेन्ज काउन्टीमा रहेको सान्टा एना खोंचबाट आएर समुद्रतर्फ जाने गर्छ । यो हावालाई ‘दानवी हावा’ ‘रातो हावा’ पनि भन्ने गरिन्छ ।

    ‘सान्टा एना’ हावा सेप्टेम्बरको अन्तदेखि मे महिनासम्म चल्ने गर्छ । यो अवधिमा यो हावा कहिलेकाहीँ वा बढीमा एक हप्तासम्म निरन्तर चल्ने गर्छ । यो हावा पश्चिमी अमेरिकाको ठूलो क्षेत्रमा हावाको दबाब उच्च भएपछि सिर्जना हुन्छ । सुक्खा क्षेत्रमा सिर्जना हुने दबाबका कारण चल्ने यो हावामा आद्र्रता हुँदैन ।

    लस एन्जलस क्षेत्रमा डढेलोलाई भयानक बनाउन यही हावाको भूमिका छ । यो हावाको गति कम नभएसम्म डढेलो रोक्न मुस्किल हुने बताइएको छ ।

  • बम खसेजस्तो देखिन्छ आगलागीपछिको लस एन्जलस

    बम खसेजस्तो देखिन्छ आगलागीपछिको लस एन्जलस

    काठमाडाैं, पुस २८ –
    अमेरिकाको लस एन्जलसको ठूलो क्षेत्रमा आगलागी हुँदा हालसम्म ११ जनाको ज्यान गइसकेको छ भने बाहिर आएका तस्वीरहरूले यो विनाश कति ठूलो छ भन्ने देखाउँछन्। प्रशासनले मृतकको संख्या अझै बढ्नसक्ने आशंका गरेको छ।

    सयौं घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । जलेर कारका केवल ढाँचामात्र बाँकी छन्, एटीएमहरू पग्लिएका छन् र तीव्र हावाका कारण रूखहरू ढलेका छन्।

    लस एन्जलसका अधिकारीहरूले स्थानीय स्वास्थ्य आपतकाल घोषणा गर्दै हावाको गुणस्तर अत्यन्त खराब रहेको बताएका छन्। यहाँको आकाश खरानीका साना कण र धूवाँको तहले ढाकिएको छ।

    लस एन्जलसमा सयौं भवनहरू ध्वस्त भइसकेका छन् र दशौं हजार मानिसलाई त्यो क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।

    हालसमम आगो निभाउन हजारौं दमकलकर्मीहरू खटिएका छन्, तर कैयौं ठाउँमा अझै आगोलाई नियन्त्रणमा लिन नसकिएको जानकारी आएको छ।

    त्यहाँ दुई लाख घरमा अहिले विद्युत् छैन।

    लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले भने, ‘यो क्षेत्रमा मानौं कसैले बम खसालेजस्तो देखिन्छ।’

    प्यासिफिक प्यालिसेडमा आफ्नो जलेको घरको अगाडि उभिएका ग्रेग च्याम्पियनले पनि यस्तै धारणा राखे। उनले भने, ‘यहाँको अवस्था यस्तो छ, मानौं यहाँ बम खसेको हो।’

    विशेषज्ञहरूले मौसम र जलवायु परिवर्तनका अन्तर्निहित प्रभावहरूले आगामी दिनहरूमा पनि आगलागीका घटनाहरूलाई बढावा दिन सक्ने चेतावनी दिएका छन्। साथै, यस आपत्तिको तयारीमा कमजोरीका लागि अधिकारीहरूले कडा आलोचना सामना गर्नुपरेको छ।

    अमेरिकालाई सहयोग गर्न क्यानाडाली सरकारले पहल गरेको छ। आगो निभाउन मद्दत पुर्‍याउन क्यानाडाले दमकलकर्मीहरू र विशेष उपकरणहरू पठाउँदैछ।

    ताजा अपडेट के छ?
    लस एन्जलसको इतिहासकै सबैभन्दा विनाशकारी मानिएको यस आगलागीमा हालसम्म १० हजार भन्दा बढी भवनहरू जलेर खरानी भएका छन्।

    ६० हजार अन्य भवनहरू जोखिममा छन्। बीमा अन्तर्गत पर्ने कूल सम्पत्तिको क्षति ८ अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ, किनभने यहाँका धेरै महँगा सम्पत्तिहरूलाई क्षति पुगेको छ।

    सेलिब्रिटीहरूको घर पनि नष्ट भएको छ । तिनमा एन्थोनी हप्किन्स, मेल गिब्सन, लिटन मेस्टर, एडम ब्रोडी, जेम्स वुड्स र पेरिस हिल्टन लगायत छन् ।

    पेरिस हिल्टनले मालिबुस्थित आफ्नो घर यस आगलागीमा गुमाएकी छिन्। उनले आगलागीका कारण विस्थापित भएकाहरूलाई सहयोग गर्न आपतकालीन कोष स्थापना गर्ने घोषणा गर्दै त्यसका लागि एक लाख डलर दान गरिसकेकी छिन्।

    लस एन्जलस काउन्टीमा शुक्रबार करिब एक लाख ४४ हजार मानिसलाई आफ्नो घर खाली गर्न आदेश दिइएको थियो। तीमध्ये अधिकांशले आफूले बोक्न सक्ने कुरा लिएर घर छोडेका छन्।

    यसबाहेक, १.६६ लाख मानिसलाई चेतावनी दिइएको छ कि चाँडै नै उनीहरूलाई पनि आफ्नो घर छोड्नुपर्ने हुन सक्छ। – एजेन्सी

  • ट्रम्पको सपथ समारोहमा सहयोगको ओइरो

    ट्रम्पको सपथ समारोहमा सहयोगको ओइरो

    काठमाडाैं, पुस २७ –
    अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङले डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहका १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

    बोइङबाहेक गुगल र माइक्रोसफ्टले पनि १० लाख डलर रकम दान गरेको बीबीसीले जनाएको छ ।

    ट्रम्पको सपथ ग्रहण समारोहमा चन्दा दिनेहरूमध्ये धेरै अमेरिकी कम्पनीहरू छन् ।

    तेल उत्पादक कम्पनी शेभरन र टेक्नोलोजी दिग्गज मेटा, अमेजन र उबर समावेश छन् ।

    डोनाल्ड ट्रम्प जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको सपथ लिँदै छन् । यो उनको दोस्रो कार्यकाल हो ।

    कार कम्पनीहरू फोर्ड, जनरल मोटर्स र टोयोटाले पनि उद्घाटन समारोहमा एक-एक मिलियन डलर सहयोग गरेका छन् ।

  • लस एन्जलस आगलागी : अहिलेसम्म ११ जनाको मृत्यु

    लस एन्जलस आगलागी : अहिलेसम्म ११ जनाको मृत्यु

    काठमाडाैं, पुस २७ –
    अमेरिकाको लस एन्जलस काउन्टीका मेडिकल एग्जामिनरका अनुसार आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।

    मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य ६ जनाको इटन आगलागीमा मृत्यु भएको बताए। मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत भएको बीबीसीले जनाएको छ ।

    लस एन्जलसका पाँचवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले निरन्तर काम गरिरहेका छन्।

    आगो पलिसेड्समा सबैभन्दा व्यापक छ। यहाँको २० हजार एकडभन्दा बढी जमिन आगलागीबाट प्रभावित भएको छ । हालसम्म आठ प्रतिशत आगो नियन्त्रणमा आएको छ ।

    इटनमा फैलिएको आगलागीका कारण करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ । यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आएको छ ।

    लिडियामा लागेको आगो ७५ प्रतिशत नियन्त्रणमा आएको छ । आगलागीबाट करिब चार सय एकड जमिन प्रभावित भएको छ ।

    हर्ष्टमा ७७१ एकड क्षेत्रफल जलेको छ भने ३७ प्रतिशत आगो नियन्त्रणमा आएको समाचारमा उल्लेख छ ।

    योसँगै केनेथको एक हजार एकडभन्दा बढी जमिनमा फैलिएको आगो फैलिनबाट रोकिएको छ । हालसम्म ३५ प्रतिशत आगो नियन्त्रणमा आएको छ ।