Category: विदेश

  • भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु

    भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु

    काठमाडौं, पुस २३ –
    नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् ।

    चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।

    आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

    भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

  • भारतमा संदिग्ध माओवादीको आक्रमणमा नौ सुरक्षाकर्मीको मृत्यु

    भारतमा संदिग्ध माओवादीको आक्रमणमा नौ सुरक्षाकर्मीको मृत्यु

    काठमाडौं, पुस २२ –
    भारतको छत्तीसगढस्थित बिजापुरको कुटरू बेन्द्रे सडकमा संदिग्ध माओवादीको आक्रमणमा परी नौ सुरक्षाकर्मीको मृत्यु भएको छ । माओवादी प्रभावित क्षेत्रमा यो आक्रमण आईईडी विस्फोटबाट गरिएको प्रहरीले जनाएको छ ।

    दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरको स्पेसल टास्क फोर्स र सीआरपीएफ जवानको टोली माओवादी ‘अपरेसन’बाट फर्कंदै गर्दा उक्त आक्रमण भएको बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले बताए ।

    प्रहरीका अनुसार, सोमबार दिउँसो सुरक्षाकर्मीको टोली अम्बेली गाउँनजिकैबाट जाँदै थियो । त्यही बेला सुरक्षाकर्मीको एउटा गाडीमा बम विस्फोट भएको थियो ।

    विस्फोट यति शक्तिशाली थियो कि डिस्ट्रिक रिजर्भ गार्डका आठ जवान र एक सवारीचालक घटनास्थलमा मारिए । केही सैनिक गम्भीर घाइते भएका जनाइएको छ । बीबीसी हिन्दीबाट

  • यसै साता राजीनामा दिने तयारीमा क्यानडाका प्रधानमन्त्री ट्रुडो

    यसै साता राजीनामा दिने तयारीमा क्यानडाका प्रधानमन्त्री ट्रुडो

    ओटावा, पुस २२ –
    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना रहेको ‘द ग्लोब एन्ड मेल’ पत्रिकाले आइतबार जनाएको छ ।

    पार्टीको आन्तरिक मामिलाबारे जानकार तीन अज्ञात स्रोतलाई उद्धृत गर्दै ग्लोबले ट्रुडोको घोषणा छिटोमा सोमबार र ढिलोमा बुधबारसम्ममा आउनसक्ने जनाएको छ ।

    ग्लोब स्रोतका अनुसार घोषणा सम्भवतः बुधबार राष्ट्रिय लिबरल पार्टीको बैठकअघि हुनेछ । पार्टीले नयाँ नेतृत्व खोजिरहेको बेला ट्रुडो अन्तरिम हैसियतमा रहने वा नरहने भन्ने स्पष्ट नभएको द ग्लोबले जनाएको छ ।

    हालैका महिनाहरूमा ट्रुडोको लोकप्रियता घटेको छ, उनको सरकार अविश्वासको मतको शृंखबाट बचेको छ र आलोचकहरूले उनको राजीनामाको माग गरेका छन्।

    उनले सन् २०२५ को अक्टोबरमा हुने चुनावमा लिबरललाई मार्गदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रुडोले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको थप दबाबको सामना गर्नुपरेको छ । उनले क्यानाडाका सामानहरूमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।

    उपप्रधानमन्त्री क्रिस्टिया फ्रिल्यान्डले ट्रम्पको स्पष्ट योजनालाई कसरी प्रतिक्रिया दिने भन्ने विषयमा ट्रुडोसँग असहमति जनाएपछि डिसेम्बरमा राजीनामा दिएका थिए । सोही महिनाको अन्त्यतिर ट्रुडोले आफ्नो मन्त्रिमण्डलमा ठूलो फेरबदलको घोषणा गरे ।

    उनले राजनीतिक उथलपुथललाई समाधान गर्न आफ्नो मन्त्रिमण्डलको एकतिहाइ सदस्यलाई हेरफेर गरेका थिए । गत नोभेम्बरमा उनी ट्रम्पलाई भेट्न फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा गएका थिए ।

    ट्रुडो सन् २०१५ मा सत्तामा पुगेका थिए र सन् २०१९ र २०२१ मा लिबरललाई थप दुईवटा मतपेटिकामा जित दिलाएका थिए ।

    पछिल्लो जनमत सर्वेक्षणमा ट्रुडो आफ्ना मुख्य प्रतिद्वन्द्वी कन्जरभेटिभ पियरे पोइलिभ्रेभन्दा २० अंकले पछि परेका छन् ।

    प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो दुई कार्यकालमा ट्रुडोले सिनेटमा सुधार ल्याए । संयुक्त राज्य अमेरिकासँग नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरे । क्यानाडाको हरितगृह ग्यास उत्सर्जन कम गर्न उनले कार्बन कर लागु गरे ।

    तीन सन्तानका पिता रहेका ट्रुडोले भाङलाई कानुनी मान्यता दिएको, बेपत्ता र हत्या गरिएका आदिवासी महिलाको बारेमा सार्वजनिक अनुसन्धान गर्ने नेतृत्व गरेको र चिकित्सकीय सहायताले आत्महत्या गर्न अनुमति दिने कानुन पारित गरेका थिए । – रासस

  • चीनमा फैलिएको एचएमपीभी भाइरस भारत पुग्यो

    चीनमा फैलिएको एचएमपीभी भाइरस भारत पुग्यो

    काठमाडाैं, पुस २२ –
    चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा समेत पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    आईसीएमआरले कर्नाटकमा नियमित परीक्षणको क्रममा एचएमपीभीका दुई घटनाहरू पत्ता लगाएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार दुवै घटनामा बालबालिकामा संक्रमण देखिएको छ । तीन महिनाकी बालिकामा संक्रमण देखिएको हो ।

    बच्चाको अवस्था स्थिर रहेको र उनलाई निगरानीमा राखिएको समाचारमा उल्लेख छ ।

    पछिल्ला केही दिनदेखि चीनमा एचएमपीभी संक्रमण तीव्र गतिमा फैलिरहेको खबर आएको छ ।

  • ३४ बन्धकलाई रिहा गर्न हमास तयार

    ३४ बन्धकलाई रिहा गर्न हमास तयार

    गाजा, पुस २२ –
    हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा ३४ बन्धकहरूलाई रिहा गर्न सहमत भएको छ। हमासका एक वरिष्ठ अधिकारीले बीबीसीसँग ३४ बन्धकहरूको सूची साझा गरेका छन्।

    यससँगै इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको अधिकारीले बताए । यीमध्ये कतिजना बन्धकहरू जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन।

    सूचीमा रहेका नामहरूमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना बन्धकहरू छन्, जसमा केही युवा पुरुषहरू पनि छन्, जसलाई हमासले इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेको थियो। हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ।

    यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगरेको बताएको छ। यसअघि इजरायलले कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको बताएको थियो ।

    इजरायलले गाजा पट्टीमा आक्रमण बढाएको बेला फेरि युद्धविरामको विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो । आइतबार गाजामा कार्यरत स्वास्थ्य एजेन्सीले विगत २४ घण्टामा भएको आक्रमणमा ८८ जनाको मृत्यु भएको बताएको छ ।

    आइतबार, इजरायली सेनाले गाजा पट्टीमा गत दुई दिनमा १०० भन्दा बढी ‘आतंकवादी लक्ष्यहरू’ मा आक्रमण गरेको र ‘दर्जनौं हमास आतंकवादीहरूलाई मारेको’ बताएको छ। – एजेन्सी

  • अमेरिकामा भीषण हिमआँधीपछि आपत्‌काल घोषणा

    अमेरिकामा भीषण हिमआँधीपछि आपत्‌काल घोषणा

    अमेरिका, पुस २२ –
    अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपत्‌काल घोषणा गरिएको छ ।

    बीबीसीका अनुसार केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी र मिसौरीलगायत धेरै राज्यले आपत्‌काल घोषणा गरेका छन्।

    भारी हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन्। प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ। हिमपातबाट अमेरिकाका दुई राज्य कन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित छन्। त्यहाँ आइतबार दिउँसोदेखि केही क्षेत्रमा १० इन्चसम्म हिउँ जमेको छ।

  • चीनको तरकारी बजारमा आगलागी, ८ जनाको मृत्यु

    चीनको तरकारी बजारमा आगलागी, ८ जनाको मृत्यु

    काठमाडाैं, पुस २० –
    उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । अन्य १५ जना घाइते भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

    बेइजिङको उत्तरपश्चिममा रहेको झाङ्जियाकोउ शहरमा भएको आगलागीपछि किआओसी जिल्ला जनसरकारले भने, ‘घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ र हाल उनीहरूको जीवनमा कुनै खतरा छैन ।’​

    लिगुआङ बजारमा बिहान ८ः४० बजे आगलागी भएको थियो र बिहान १० बजेपछि निभाइएको जिल्ला सरकारले जनाएको छ ।

    आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

    अक्टोबरमा प्रमुख सहर चेङ्दुमा लागेको आगलागीमा २४ जनालाई सास फेर्न गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको राज्य मिडियाले जनाएको छ ।​​

    जुलाईमा, दक्षिणपश्चिमी शहर जिगोङको एक शपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो ।

  • पेरुमा बस दुर्घटना, ६ जनाको मृत्यु

    पेरुमा बस दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडाैं, पुस २० –
    उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा छ जनाको मृत्यु तथा १७ जना बेपत्ता भएका छन् ।

    अधिकारीहरूका अनुसार बस बिहीबार साँझ लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो ।

    उक्त बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो, जसमा केही यात्रुहरू हालसम्म बेपत्ता रहेका छन् ।

    स्थानीय मिडियाले सडकको खराब अवस्थालाई सम्भावित कारणको रूपमा उद्धृत गरेका छन् ।

    घटनास्थलमा प्रहरी र सिभिल डिफेन्स टोली तैनाथ भएकाले उद्धार कार्य जारी रहेको छ ।

  • सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा

    सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा

    काठमाडौं, पुस २० –
    विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले दक्षिण सुडानका लाखौं मानिसहरूलाई तत्काल मानवीय आवश्यकतालाई सहयोग गर्न आगामी छ महिनामा ४०४ करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ।

    बिहीबार साँझ जारी गरिएको आफ्नो पछिल्लो प्रतिवेदनमा डब्लुएफपीले दीर्घकालीन खाद्य तथा पोषण असुरक्षाका कारण देश लामो समयदेखि मानवीय सङ्कटको सामना गरिरहेको जनाएको छ। प्रतिवेदनले सुडानमा जारी द्वन्द्वले अवस्था झन् बिग्रिएको र सन् २०२४ नोभेम्बर ३० सम्ममा आठ लाख ९२ हजार मानिस दक्षिण सुडानबाट भाग्न बाध्य भएको जनाएको छ।

    डब्ल्यूएफपीले चेतावनी दियो, “परिस्थिति झन् खराब हुन सक्छ। सन् २०२५ मा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गर्न सक्छन्।” प्रतिवेदनका अनुसार करिब ७७ लाख मानिसमध्ये २५ लाखले खाद्यान्न असुरक्षाको आपतकालीन स्तरको सामना गर्न सक्ने जनाएको छ।

    डब्लुएफपीले २१ लाख बालबालिका तथा ११ लाख गर्भवती महिला तीव्र कुपोषणबाट पीडित हुने सम्भावना रहेको पनि उल्लेख गरेको छ। डिसेम्बर २०२४ मा, डब्लुएफपीले दाताहरूलाई खाद्य आपूर्तिहरू पूर्व-स्थापना गर्न प्रारम्भिक रकम उपलब्ध गराउन आह्वान गर्यो।

    जनवरी सन् २०२४ देखि, डब्लुएफपीले ४२ लाख मानिसलाई सहयोग गरेको छ। सन् २०२४ डिसेम्बर ११ मा, डब्लुएफपीले खाद्य असुरक्षा, द्वन्द्वबाट प्रभावित सीमान्तकृत समुदायहरूलाई सहयोग गर्न दक्षिण सुडान लचिलोपन रणनीति सुरु गर्यो ।

  • चीनमा एचएमपीभी भाइरसको सङक्रमण फैलियो

    चीनमा एचएमपीभी भाइरसको सङक्रमण फैलियो

    चीन, पुस २० –
    चीनमा ह्यूमन मेटान्यूमो अर्थात् एचएमपीभी भाइरसको सङक्रमण फैलिएको छ । कोरोना भाइरसका जस्तै लक्षण रहेको यो सङक्रमणबाट सयौं नागरिक बिरामी परेका छन् ।

    अस्पतालमा यस्ता लक्षणसहित बिरामीको चाप बढ्दो छ । पाँच वर्ष अघि चीनबाट कोरोना महामारी फैलिएको थियो । अहिले फैलिएको एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

    चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस फैलिने जोखिम धेरै हुने र भाइरसको असरले ब्रोन्काइटिस र निमोनिया हुनसक्ने चेतावनी दिइएको छ ।

    चीन सरकारले अहिले देखा परेको भाइरसलाई नियन्त्रण गर्न नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको जनाएको छ ।

    सन् २००१ मा पहिलो पटक फेला परेको एचएमपीभी भाइरस सबै मौसममा जीवित रहन सक्ने र तर चिसो मौसममा फैलिने सम्भावना धेरै रहने डाक्टरको भनाइ छ ।

    डाक्टरले कोरोना महामारी जस्तै यो भाइरसले पनि अर्को स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने हो की भन्ने चिन्ता व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । – एजेन्सी