Blog

  • कांग्रेसले २४ घण्टाभित्रै क्रमसंख्यासहितको फारम जिल्ला पठाउने

    कांग्रेसले २४ घण्टाभित्रै क्रमसंख्यासहितको फारम जिल्ला पठाउने

     

    काठमाडौँ, २९ मङ्सिरः

    नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम पठाउने निर्णय गरेको छ।

    महामन्त्री गगन थापा संयोजक रहेको समितिले मातहत समितिहरूमा २४ घन्टाभित्र क्रम संख्या उल्लेख गरिएका फारम पठाउने निर्णय गरेको हो।

    समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले क्रम संख्या भएका फारम पठाउने निर्णय भएको जानकारी दिए।

     

  • चितवनमा होण्डा गाडीको सर्भीस सेन्टर खुल्यो, सौरभ ज्योती दम्पत्तीले गरे उद्वघाटन : जेन्युन अटोसँग सहकार्य

    चितवनमा होण्डा गाडीको सर्भीस सेन्टर खुल्यो, सौरभ ज्योती दम्पत्तीले गरे उद्वघाटन : जेन्युन अटोसँग सहकार्य

    चितवन, पुष १ –
    चितवनमा होण्डको कारका ग्राहकवगलाई लक्षित गर्दै जेन्युन अटो वल्र्डले अत्याधुनिक सुविधा सम्पन्न सर्भीस् सेन्टर सुभारम्भ गरेको छ । होण्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा ली को आधिकारिक सर्भीस् सेन्टरका रुपमा रहदै सर्भीस सेन्टर सुभारम्भ गरेको हो ।

    यसअघि जेन्युनले नै टोयटा व्राण्डको कार तथा गाडीहरूको सर्भीस् तथा स्पेयर विगत १५ वर्षदेखि सेवा दिदै आईरहेको छ जेन्युन अटोका अध्यक्ष ईन्द्र रेग्मीले भन्नुभयो-अब दुवै जापानीज व्राण्डका कार तथा गाडीहरूको सर्भीस् एकै ठाँउमा हुनेछ । जेन्युन अटो वल्र्डको अत्याधुनिक सर्भीस् सेन्टरको स्याकार ट्रेडिङकका अध्यक्ष सौरम्भ ज्योती र प्रबन्ध निर्देशक सिर्जना जोशीले रिबन काटेर उद्धघाटन गरेका थिए ।

    होण्डाका ग्राहकहरुलाई मध्येनजर गरि वागमती प्रदेशको चितवन आसपासका शहरहरुलाई लक्षित गरि होण्डसँग सहकार्य गर्दै अत्याधुनिक सर्भीस् सेन्टर सुभारम्भ गरेको जेन्युन अटो वल्र्डका अध्यक्ष ईन्द्र रेग्मीले प्रष्ट पार्नुभयो ।

    सो अवसरमा बोल्दै स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतीले ग्राहक वर्गहरुको मागलाई ध्यान दिदै जेन्युन अटोसँगको सहकार्यमा सञ्चालन आएको सर्भीस् सेन्टरले स्पेयर पाट्स र सर्भीस् मा विशेष ध्यान दिने बताउनुभयो । साथै नयां कारको लञ्चिगंसगै सोरूम पनि छिटै चितवनमा सञ्चालन हुने जानकारी गराउनुभयो ।

    यसैविच शुभारम्भसगैँ सर्भिस सेन्टरमा तीन दिने फ्रि सर्भिस क्याम्प सुरू समेत भएको छ । जसमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एचडीएस स्क्यानमाका साथै २००१ मोडल देखि २०१४ मोडलसम्मका कम्पनीले तोकिएका गाडीहरुमा होण्डा सेफ्टी रि कल अन्र्तगत निःशुल्क एयर ब्याग पनि परिवर्तन गरेको छ । भविष्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

    क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवम् स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण निःशुल्क रुपमा गराउन सक्नेछन् ।

     

  • शान्ति श्री परियार र गोपाल सापकोटाको  “काली गङ्गा सलल” गीत सार्वजनिक

    शान्ति श्री परियार र गोपाल सापकोटाको  “काली गङ्गा सलल” गीत सार्वजनिक

    भरतपुर । लोकप्रिय कलाकार शान्ति श्री परियार र गोपाल सापकोटाको आवाजमा रहेको नेपाली लोकदोहोरी गीत “काली गङ्गा सलल” सार्वजनिक भएको छ ।

    उक्त गीत सङ्गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    प्रेम रसमा आधारित यस गीतमा सङ्गीत गोपाल सापकोटाले गरेका छन् भने शब्द अमृत गौतमले लेखेका हुन् । गीता ढुङ्गाना, सुरेश कोली, सम्पदा अम्गाई, अमृत गौतम र प्रवीन सुवेदीको नृत्य तथा अभिनय  रहेको यस गीतलाई छायाँङ्कन रजेश घिमिरेले र निर्देशन स्मृति तिमिल्सिना “गुरुआमा” ले गरेका हुन् ।

    गायक सापकोटाका एक दर्जन  हाराहारीमा गीतहरू बजारमा आएका छन् । जस मध्ये यस भन्दा आगाडि बजारमा आएका तोरी पेले तेल, गोजी रित्तै छ, हजार जुनी जुनी, रैछेउ रनैपनि, तिम्रो याद आउँदा लगायतका गीतहरू लोकप्रिय बनेका छन् ।

  • एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

    एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

    काठमाडौँ, १ पुस :
    नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन् ।

    उनका अनुसार लुम्बनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका हुन् ।

    यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि) बाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछिडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।

    यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।

    यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिए । उपमहासचिव पदमा उम्मेदवार दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिएका छन् ।

  • एमालेको मतदानमा ढिलाइ- विद्युतीय मेसिनमा नाम इन्ट्री गर्नै ४-५ घण्टा लाग्ने

    एमालेको मतदानमा ढिलाइ- विद्युतीय मेसिनमा नाम इन्ट्री गर्नै ४-५ घण्टा लाग्ने

    पुष १ ,काठमाडौं ।
    नेकपा एमालेको नयाँ नेतृत्व छनोटका लागि मतदान हुन ढिलाइ भएको छ । विद्युतीय मेसिनमा उम्मेदवारहरूको नाम प्रविष्ट गर्न गर्न अझै ४-५ घण्टा लाग्ने बताइएको हो ।

    सुरुको कार्यक्रम तालीका अनुसार आज १० बजेबाट मतदान सुरु हुनुपर्ने थियो । तर, अहिलेसम्म पनि कुनै सुरसार छैन । १० बजेबाट १ बजे भनियो । फेरि ४ बजे भनिएको छ । तर, हामीले विद्युतीय मेसिनका सञ्चालकसँग कुरा गर्दा उनले नाम प्रविष्ट हुन बाँकी नै रहेको बताए ।

    ‘सुरुमा आएको उम्मेदवारको सुचीमा फेरबदल भएर फेरि नयाँ सुची आएको छ । त्यसैले समय लाग्छ । नाम प्रविष्ट गर्नलाई नै ४-५घण्टा लाग्छ,’

  • सभापति देउवा र नेता कोइरालाबीच भेट

    सभापति देउवा र नेता कोइरालाबीच भेट

    काठमाडौँ, पुस १ –

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गर्नुभएको छ ।

    सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो ।

    भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर विनाका फाराम जिल्ला जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु बताउनुभएको थियो । उहाँले नम्बर बिनाका फाराम तत्काल फिर्ता गरी नयाँ फाराम पठाउनसमेत सभापतिको ध्यानाकर्षण गराउनुभयो ।

    पार्टीभित्र कारबाहीमा परेका नेताको कारबाही फुकुवा गरी पार्टीको महाधिवेशन र आम निर्वाचनमा खटाउन कोइरालाले आग्रह गर्नुभयो । भेटमा कोइरालासँगै पार्टीका नेता एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजाल पनि देउवा निवास पुग्नुभएको थियो । रासस

  • स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

    स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

    चितवन,पुस १-
    गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका बिरामीको सङ्ख्या घटेको छ । गत आर्थिक वर्षको मङ्सिरसम्म ५३८ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यस आर्थिक वर्षको सोही समयमा ४२६ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

    कार्यालय प्रमुख निर्मल घिमिरेकाअनुसार गत आवको साउनमा ४५, भदौमा १२७, असोजमा १४३, कात्तिकमा १२७ र मङ्सिरमा ९६ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । यस आर्थिक वर्षको साउनमा ७१, भदौमा ६५, असोजमा १२१, कात्तिकमा १२४ र मङ्सिरमा ५४ जनामा यो रोगको सङ्क्रमण देखिएको घिमिरेले बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै यो रोगको सङ्क्रमण विस्तारै घट्दै जाने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विशेष गरी गर्मी मौसममा बढी सङ्क्रमण फैलने यो रोग अब घट्दै जान्छ । गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ ।”

    मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्ने गर्छ । खेतबारीमा एवं विशेषगरी घर बाहिर काम गर्ने व्यक्तिमा यो रोग लाग्ने उहाँले जानकारी दिनुभयो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया पाँचदेखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जन्डिस हुने र पेट दुख्ने लक्षण देखिन्छ । सङ्क्रमण घटे पनि जाडो समयमा समेत बिरामी फाट्टफुट्ट भेटिने क्रम भने जारी रहेको उहाँको भनाइ छ । रासस

  • अपाङ्गमैत्री छैनन् स्थानीय सरकार

    अपाङ्गमैत्री छैनन् स्थानीय सरकार

    तानसेन (पाल्पा), पुस १ –
    विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक सुधार भएको देखिए पनि अझै कयौंँ अपाङ्गता भएका व्यक्तिको पीडा उस्तै छ । शिक्षा, रोजगार दिने निकाय, सार्वजनिक यातायातका साधन, सार्वजनिकस्थल अपाङ्गताता अनकूलको नहुँदा अपाङ्गता भएका व्यक्तिले दिनहुँ समस्या सामना गर्नुपरेको छ । भौतिक संरचना अपाङ्गतामैत्री नहुँदा धेरैजसो अपाङ्गता भएका व्यक्तिले आफ्ना दैनिक क्रियाकलाप गर्नसमेत कठिनाइको सामना गर्नुपरेको हो । भौतिक संरचनाकै कारण उनीहरू शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सेवाबाट विमुख छन् । बजार गएर कुनै सामग्री खरिद तथा बिक्री गर्न, यातायातका साधन प्रयोग गर्न समस्या पर्ने गरेको छ । कतिपय अपाङ्गता भएका व्यक्तिले त भौतिक अवरोधकै कारण सहर/बजारमा भाडामा कोठा पाउन नसकेको अवस्था छ ।

    अपाङ्गतामैत्री भौतिक संरचनाको अभावमा राज्यले दिने सेवा–सुविधा पनि सहज रूपमा लिन पाएका छैनन् । स्थानीय सरकारका भवनसमेत अपाङ्गतामैत्री छैन । अधिकांश कार्यालय दुई÷तीन तलाको रहेका र सरकारी सेवा सुविधा लिन तलमाथि गर्न नसक्दा सास्ती बेहोर्नु परेको अपाङ्गता भएका सेवाग्राहीको गुनासो छ । उनीहरूका अनुसार राज्यले सरकारी तथा सार्वजनिकस्थल, भवन तथा कार्यालय अपाङ्गतामैत्री हुनुपर्ने घोषणा गरेको एकदशक बिते पनि यहाँ भने कार्यान्वयन हुनसकेको छैन । जिल्लामा रहेका सरकारी कार्यालय अपाङ्तामैत्री नहुँदा कार्यालय प्रमुखलाई सिधँै भेटेर सरकारी सेवा सुविधाप्रतिको गुनासो राख्न नसकिएको अपाङ्गता हुनुभएकी तानसेन–६ की सुमित्रा कुमालले बताउनुभयो ।

    “कार्यालय प्रमुख तथा नगरप्रमुख, उपप्रमुख बस्छन् दुई/तीन तलामाथि,” उहाँले भन्नुभयो, “भ¥याङ चढेर जान सकिँदैन । भूइँ तलामा कतिबेर कुरेर बस्नु रु हामी ह्विलचियर तथा बैसाखीको भरमा हिँड्नुपर्ने बाध्यता छ,” दुबै खुट्टा अशक्त भएकी उहाँले गुनासो गर्दै भन्नुभयो, “यहाँका सरकारी कार्यालयमा सानो सिफारिस लिन जाँदासमेत सहयोगी मान्छे लैजानुपर्छ ।” राज्यले हरेक सरकारी भवन अपाङ्गतामैत्री हुनुपर्ने भने पनि यहाँ यस्तो व्यवस्था नभएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । तानसेनकै प्रेम बुढाको सानैमा लडेर कम्मरबाट तल दुबै खुट्टा चल्दैनन् । उहाँ केही दिनअघि अपाङ्गता परिचयपत्र लिन तानसेन नगरपालिकामा पुग्नुभयो ।

    ह्वीलचियरको सहारामा हिँड्नुपर्ने उहाँलाई दाइले बोकेर कार्यालय प्रमुखसम्म पु¥याउनुभएको थियो । काम सकेर बाहिर आउँदा पनि उहाँलाई बोकेर ल्याइयो तर घरसम्म भने दाइले नै गाडीमा राखेर पु¥याउनुभयो । “दैलौमै सिंहदरबार आयो भन्छन्, सजिलै सेवा पाइन्छ भन्थे”, बुढाले भन्नुभयो, “हाम्रा लागि त केही पनि आएन, नगरपालिकामा सेवा लिन जाँदा धेरै कष्ट पार गर्नुपर्छ ।” स्थानीय सरकारमा जनप्रतिनिधि आए पनि आफूहरु जस्ता अपाङ्गता भएकाहरुका लागि सहजै सेवा पाउने अवस्था नभएको उहाँको गुनासो छ । कार्यालयमा गएर नगर प्रमुखलाई भेट्न पनि अरुको बुई चढेर जानुपर्ने बाध्यता रहेको उहाँले रासससँगको कुराकानीमा दुःखेसो पोख्नुभयो ।

    यस्तै रिब्दीकोट गाउँपालिकाका–४ रानीठाटीका गकुलसिंह कुँबरका पनि दुई वटै खुट्टा चल्दैनन् । दश वर्षअघि रुखबाट लडेर उहाँ शारीरिक अपाङ्गता हुनुभएको थियो । सरकारी सेवा लिन कार्यालयमा जाँदा होस् वा सवारी साधानमा यात्रा गर्दा धेरै समस्या झेल्नुपरेको उहाँ गुनासो गर्नुहुन्छ । अपाङ्गताको पीडा अपाङ्गताले नै बुझ्छन् र यसका लागि आवाज आफैँले उठाउनुपर्ने उहाँले बताउनुभयो । कुँबरले भन्नुभयो, “सम्बन्धित निकायमा बारम्बार ढोका ढक्ढकाउँदा पनि अपाङ्गतामैत्री संरचना निर्माण हुनुपर्ने र गाडीमा यात्रा गर्दा सहज गरिदिनुपर्ने मागको सुनवाइ हुँदैन । बोल्न सक्नेको त केही कुरा सुनिँदैन भने निमुखाहरू अझ कति पीडित होलान् ?” अपाङ्गताका लागि पहुँचयुक्त भौतिक संरचना बनाउनुपर्छ भन्ने नियम तथा निर्णय पनि गरिन्छन् तर ती कार्यान्वयन नभइ कागजमै सीमित हुने गरेको उहाँले बताउनुभयो ।

    उहाँले मानिसबाटै आफूहरु अपमानित हुनुपरेकोसमेत गुनासो गर्नुभयो । जिल्लामा निकै कम स्थानमा मात्र सार्वजनिक शौचालय छन् । अझ त्यसमाथि पनि अपाङ्गतामैत्री शौचालय भेट्न त निकै मुस्किल छ । “शौचालयकै कारण घरबाहिर निस्किनै नपरे हुन्थ्यो जस्तो लाग्छ । घरबाहिर निस्किनुपर्नासाथ शौचालयको समस्यालाई सम्झन्छु” तानसेनका मनोज केसीले भन्नुभयो “सदरमुकाम तानसेनमै सार्वजनिक शौचालय भेट्नै मुस्किल छ । भेटिए पनि अपाङ्गतामैत्री छैनन् । त्यसैले घर नपुञ्जेलसम्म दिसापिसाब लागे रोक्ने बाहेक अन्य उपाय छैन ।”सीमित स्रोतसाधनबाटै सरकारी सेवा अपाङ्गतामैत्री रूपमा प्रदान गर्न सकिने भए पनि सरकारले संवेदनशीलता नदेखाएको दृष्टिविहीन शिक्षक तथा सिर्जनशील अपाङ्गता स्वावलम्बन केन्द्रका अध्यक्ष सन्दीप भट्टराईको भनाइ छ । “हामीले उठाएका यी विषय बहसको मात्रै बन्नु अपाङ्ताप्रति राज्यको विभेद् हो”, उहाँले गुनासो गर्नुभयो ।

    सार्वजनिक संरचना र स्थानीय सरकार अपाङ्गतामैत्री नहुँदा सेवा लिन जाँदा अपाङ्गता भएकाले सास्ती खेप्नुपरेको भट्टराईले बताउनुभयो । उहाँले स्थानीय सबलीकरण परियोजना अन्तर्गतका कार्यक्रममा नगरपालिकालाई पटक–पटक अपाङ्गतामैत्री सेवा प्रवाह गर्न आग्रह गरे पनि कार्यन्वयन नगरेको गुनासो गर्नुभयो । भट्टराईले आफू कयौँपटक नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा पुग्न सास्ती खेप्नु परेकोसमेत बताउनुभयो ।आवाज उठ्न थालेको वर्षौँं भइसक्दा पनि पाल्पाका स्थानीय सरकारले अपाङ्गतामैत्री भौतिक संरचना अझै तयार गर्न सकेका छैनन् । उनीहरुले स्रोतसाधनको अभाव देखाउँदै सेवा प्रवाहमा बेवास्ता गरेका हुन् । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकाले अपाङ्गतामैत्री संरचना बनाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले लिफ्ट राख्ने योजना बनाए पनि पुरानो भवन भएकाले सफल नहुने अवस्था आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पुराना संरचनालाई अहिले तत्काल बनाउन सकिने अवस्था छैन तर नयाँ बन्ने संरचना अपाङ्गतामैत्री बनाउने गरेका छौँ । ”नयाँ संरचना निर्माण गरिएको रामपुर नगरपालिकामा पनि उस्तै सकस छ । रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकामा पनि अपाङ्गता भएकालाई कार्यालय प्रमुख, जनप्रतिनिधि भेट्नसक्ने अवस्था छैन । अधिकांशका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीयको कक्ष दोस्रो तल्लामा छ । बगनासकाली गाउँपालिका र पूर्वखोला गाउँपालिका (दुवैको नयाँ भवन बनेपछि) भने लिफ्टको व्यवस्था छ । लिफ्ट नै भए पनि अपाङ्गता भएकाहरूका लागि अपाङ्गतामैत्री संरचना नभएपछि भेट्न जान समस्या हुने गरेको अपाङ्गता भएकाहरुको गुनासो छ ।

    सरकारले २०६० सालमा अपाङ्गतामैत्री भवन निर्माण आचारसंहिता जारी गरेको थियो । २०६९ सालमा ‘भौतिक संरचना र सञ्चार निर्देशिका’ बनेको थियो । आचारसंहिता र निर्देशिकामा त्यसयता बन्ने सरकारी तथा सार्वजनिक भवनमा ढोका, भ¥याङ, शौचालय तथा सेवा सुविधा प्रदान गर्नेस्थल अनिवार्य रूपमा अपाङ्गतामैत्री हुनुपर्ने व्यवस्था छ । तर, आचारसंहिता जारी भएयता मात्रै जिल्लामा एक दर्जनभन्दा बढी सरकारी भवन बनेका छन् । ती भवन कुनैमा पनि यस्तो व्यवस्था छैन ।

    आगामी दिनमा सरकारी तथा गैरसरकारी निकायले सरकारले बनाएको निर्देशिकाअनुसार काम गर्नु जरुरी छ । सोही अनुरुप सरकारी तथा गैरसरकारी क्षेत्रका भवन अपाङ्ता मैत्री बनाउन आवश्यक छ । साथै ह्विलचियर प्रयोगकर्ताका लागि ¥याम्प, लिफ्ट, बहिरा व्यक्तिका लागि सङ्केत चिन्ह, दृष्टिविहीन व्यक्तिका लगि ब्रेललिपि तथा ध्वनिका माध्यमबाट जानकारी तथा सूचना दिने व्यवस्था गरेमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि सहजता हुने थियो । यसका लागि नेपाल सरकार तथा सरोकारवालाले अपाङ्गता भएका व्यक्तिका अधिकारका लागि बनेका नीति–नियमका आधारमा भौतिक संरचनाको निर्माण गरेमा मात्र अपाङ्गता भएका व्यक्तिले अपाङ्गतामैत्री भौतिक संरचनाको अभावमा विविध कठिनाइको सामना गर्नुपर्ने थिएन । रासस

  • बिलबिजक नभएको सामानसहित पक्राउ

    बिलबिजक नभएको सामानसहित पक्राउ

    काठमाडौँ, पुस १ –
    बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र नभएको चिनियाँ किराना सामानसहित सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायव महानिरीक्षक मनिष थापाले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसेबाट एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

    सोही जिल्लाको बाह्रबिसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

    तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आइचर गाडीमा राखी ल्याउँदै गरेको सामानको बिजलबिजक तथा भन्सार प्रज्ञापनपत्रसमेत फेला नपरेपछि सो गाडीका चालक तामाङ्गलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले आज जानकारी दिएको हो ।

    नियन्त्रणमा लिइएका सामान स्टेशनरी, खेलकुद तथा किरानालगायतका सामान रहेका छन् । बरामद सामानको अन्दाजी मूल्य सात लाख २२ हजार १० रूपैयाँ र गाडीको १५ लाख मूल्यसहित जम्मा मूल्य २२ लाख २२ हजार १० रूपैयाँ रहेको छ ।

    नियन्त्रणमा लिइएका तामाङ्गलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको पनि थापाले जानकारी दिनुभयो । रासस

  • रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

    रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

    चितवन, पुस १ –
    नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी गरिएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ः०० बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले ती हात्तीलाई विमानस्थलको छेउमा रहेका खाली जग्गामा राखिएको छ । ती हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको थियो । ती हात्ती राख्नका लागि बनाइएको खोरमा राखी ट्रकमा पठाइएको हो ।

    बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले भैरहवामा नै कतारी दूतावासलाई ती हात्ती हस्तान्तरण गर्नुहुने छ । हस्तान्तरण गरिएपछि कार्गो विमानमार्फत ती हात्तीलाई कतार पठाइनेछ ।

    रुद्रकली पूजाकली र खगेन्द्र कोशी कलीको बच्चा हो । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको उहाँले बताउनुभयो । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।

    यसअघि नेपालले विभिन्न देशलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँइदै आइएको छ । पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो । रासस