Blog

  • खगेन्द्रप्रसाद र रुद्रकलीलाई लिन भैरहवा आइपुग्यो जहाज

    खगेन्द्रप्रसाद र रुद्रकलीलाई लिन भैरहवा आइपुग्यो जहाज

    काठमाडौँ, पुस २ –
    खगेन्द्रप्रसाद र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज भैरहवा आइपुगेको हो ।

    खगेन्द्रप्रसाद र रुद्रकलीलाई मंगलबार नै चितवनबाट भैरहवा पुर्‍याइएको हो ।

    यसअघि आज बिहान भैरहवामा अवतरण गर्न नसकेपछि जहाज भारतको कोलकाता डाइभर्ट भएको थियो । अहिले कोलकाताबाट जहाज भैरहवा आएको हो ।भैरहवाबाट उडान भरेको जहाज ४ घण्टामा कतार पुग्नेछ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बिहान मौसम खराब हुँदा जहाज कोलाकाता डाइभर्ट भएको बताएका थियो । उनका अनुसार बिहान ७-८ पटक फन्का मार्दा पनि मौसम नखुलेपछि जहाज कलकत्ता डाइभर्ट भएको हो ।

  • एमाले महाधिवेशनमा ५ घण्टामा ५३२ मत खस्यो

    एमाले महाधिवेशनमा ५ घण्टामा ५३२ मत खस्यो

    काठमाडौं पुस २ –
    नेकपा (एमाले) को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा हालसम्म ५ घण्टामा ५३२ मत खसेको छ । नेतृत्व चयनका लागि आज बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो ।

    काठमाडौंको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको छ । एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् । यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ ।

  • टी-२० विश्वकप २०२६ को ट्रफी टुर नेपालसहित एसियाका सात देशमा हुने

    टी-२० विश्वकप २०२६ को ट्रफी टुर नेपालसहित एसियाका सात देशमा हुने

    काठमाडौँ, पुस २-
    आइसिसी पुरुष टी-२० विश्वकप २०२६ ट्रफी टुर सुरु भएको छ। भारतमा सुरु भएको ट्रफी टुर एसियाका देशमा हुनेछ।

    जसमा भारतसहित श्रीलंका, कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियामा टी-२० विश्वकपको ट्रफी ल्याइनेछ। टुरका दौरान लाखौं फ्यानलाई ट्रफीलाई नजिकबाट हेर्ने अवसर दिइनेछ।

    यस्तै टुरमा क्याम्पस भ्रमण, फ्यान भेटघाट, सार्वजनिक सक्रियताहरू र क्रिकेट कार्निभलहरू जस्ता विविध कार्यक्रमहरू समावेश हुनेछन्।

  • दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

    दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

    तनहुँ, पुस २ –
    मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ ।

    पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन चार लेनको पुलमा दैनिक एक सय ३० जना कामदार परिचालन गरिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यातायात आवागमनका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण भइरहेको छ ।

    तीन सय १५ मिटर लामो यस पुलको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ । “सम्झौताअनुसार काम नसकिएपछि ११ महिना म्याद थप गरिएको हो”, इञ्जिनियर पाण्डेले भन्नुभयो, “पछिल्लोपटक थप गरिएको म्यादभित्र पुल सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको छ । ”

    अहिले पुलको ढलान गर्नुपूर्वको फर्मा लगाउने, डण्डी तान्ने, टेका लगाउनेलगायत काम भइरहेको छ ।” उहाँका अनुसार चार लेनको एउटै बेस निर्माण गरिएको उक्त पुल पृथ्वी राजमार्गकै पहिलो र लामो छ ।

    गत साउन २६ गते म्याद सकिएपछि आगामी असार १९ गतेसम्मलाई समय थपिएको इञ्जिनियर पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जेठ, असार, साउन र भदौ गरी चार महिना वर्षायाम भएकाले निर्माण रोकिएकामा दसैँ लगत्तैदेखि पुनः निर्माणले गति लिइरहेको छ ।” उहाँका अनुसार पुलमा छ वटा स्पान हुनेछन् ।

    पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले विसं २०७९ साउन २६ गते रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताउनुभयो ।

    मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आँबुखैरेनी–जामुनेसम्मको ४१ दशमलव ४५ किमी कालोपत्र सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । रासस

  • चितवनमा जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

    चितवनमा जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

    चितवन, पुस २ –
    जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो ।

    जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन् । उनीहरुमध्ये एक जना ८९, एक जना ८१, दुई जना ७०, एक जना ४२, एक जना ३९ वर्षका रहेका छन् ।

    सङ्क्रमितमध्ये १० जना महिला हुन भने सात जना पुरुष रहेका छन् । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका रहेका छन् । सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाए– नलगाएको बारे स्पष्ट नरहेको उहाँले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये सात जना भरतपुर महानगरपालिकाभित्रका रहेका छन् ।

    यस्तै खैरहनी नगरपालिकाका चार जना, माडी नगरपालिकाका एक जना, रत्ननगर नगरपालिकाका एक जना, राप्ती नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जना रहेका छन् ।

    यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिरनै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सङ्क्रमित सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोक्यो भने सर्दछ । धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गर्दछ । रासस

  • युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ

    युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ

    काठमाडौँ, पुस २ –
    वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका लागि युके लैजाने भन्दै रु ५२ लाख रकम लिई लामो समयसम्म झुक्याएर राखी युके नपठाई सम्पर्कविहीन भएका उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।

    पक्राउ परेका बराइलीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो । रोजगारीका लागि विदेश पठाउने नाममा ठगी गर्ने क्रम बढेकाले त्यसतर्फ सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ । रासस

  • घरमा ढुङ्गा खस्दा चार जना घाइते

    घरमा ढुङ्गा खस्दा चार जना घाइते

    अदानचुली (हुम्ला), पुस २-
    गएराति सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुङ्गा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् ।

    ‎सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर रावतको घरमा भाडा गरी बस्ने सुन्दरलाल विककी श्रीमती २८ वर्षीया सरिता विक, सर्केगाड गाउँपालिका–४ रायागाउँकी २१ वर्षीया लालसरा विक, लालसराकी छ वर्षीया छोरी रेविका र‎ सर्केगाड–८ की प्रवीणा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी शङ्कर खड्काले जानकारी दिनुभयो ।

    “सरिताको दाहिने गाला र दाहिने हातमा चोट लागेको छ । उहाँको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । लालसराको टाउकोमा र उहाँकी छोरीको निधारमा चोट लागेको छ । प्रवीणाको पनि टाउकोमा चोट लागेको छ”, उहाँले भन्नुभयो ।

    ‎राति घरमाथि रहेको वनबाट खसेको ढुङ्गा खस्दा घरभित्र रहेका चार जना घाइते भएका जनाउँदै सूचना अधिकारी खड्कमाले सरिताको उपचार साया स्वास्थ्य चौकीमा हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको बताउनुभयो । उहाँका अनुसार अन्य तीन जनालाई सामान्य चोट लागेकाले उपचार पनि घर फर्काइएको छ ।

    ‎सो बस्ती माथिबाट ढुङ्गा खस्ने जोखिममा पर्दै आएको छ । बाजरमाथि ढुङ्गाको भिरालो वन भएकाले जोखिम रहँदै आएको हो । यसअघि पनि सो स्थानमा ढुङ्गा खस्दै आएको स्थानीय प्रकाश शाहीले बताउनुभयो । रासस

  • मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण

    मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण

    दोधारा चाँदनी (कञ्चनपुर), पुस २-
    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको र महाकाली चार लेन पुलको स्थलगत निरीक्षण गर्नुभएको छ ।

    सो अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले आयोजनाको पछिल्लो प्रगतिका बारेमा जानकारी दिनुभएको थियो ।

    लामो समयदेखि प्रक्रियागत अल्झनले पुल र सिचाँइको काम प्रभावित भएपछि बनेको जनाइएको छ । राष्ट्रिय गौरवको आयोजनामा महाकाली सिँचाइ तेस्रो चरणको २८ किलोमिटर मूल नहर निर्माण भएर पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइका लागि संरचना तयार भए पनि टनकपुरबाट भारतीय पक्षले नहरमा पानी नछोड्दा यहाँका किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन् ।

    सो अवसरमा उहाँले सिँचाइ आयोजनाको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिनुभयो । “महाकाली सिँचाइ तेस्रो चरण नहरमा पानी सञ्चालनका लागि माथिल्लो तहबाट नै भारतसँग पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँको समस्याका बारेमा जानकारी भएको छ समस्या समाधानमा लाग्छौँ ।”

    त्यसैगरि भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको छेउमा निर्माण हुने कृतिम ताल र तटबन्ध निर्माणका लागि मन्त्रिपरिषद् स्तरीय निर्णय नहुँदा डेढ वर्षदेखि निर्माण कार्य बन्द छ । यसअघि निर्माण भएको तटबन्ध महाकाली नदीको बाढीले भत्काएपछि डिजाइनमा परिवर्तन गरिएको थियो । उक्त डिजाइन हालसम्म पनि स्वीकृत नहुँदा काम हुन सकेको छैन । उहाँले “तटबन्ध निर्माण नहुँदा यहाँ बाढीको जोखिम रहेछ बर्सात अघि नै यहाँको समस्या समाधान हुनेगरी काम गर्छौं ।” रासस

  • निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

    निर्वाचनको विकल्प छैन : प्रधानमन्त्री कार्की

    २ पुस, काठमाडौं ।
    प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् ।

    ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनलेमात्रै मुलुकलाई संविधानसम्मत अघि बढाउन सकिने बताएकी हुन् ।

    ‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एकमात्र विकल्प भनेको निर्वाचन नै हो,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

    उनले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अर्जुनदृष्टिका साथ सरकारले अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताइन् ।

    निर्वाचनमार्फत् व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

    ‘निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु,’ उनले भनिन् ।

    २३–२४ भदौको जेनजी आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेको बताइन् ।

    समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु नहुने भन्दै उनले शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन् ।

    ‘खराब तत्वको विरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ,’ प्रधनमन्त्री कार्कीले भनिन्, ‘आउनुहोस्, यसमा हातेमालो गरौं ।’

  • ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’

    ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’

    काठमाडौँ, पुस २-
    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर व्यारेजबाट नेपालतर्फ पानी पठाउन भारतसँग प्रयास भइरहेको बताउनुभएको छ ।

    राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको आज बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले नेपालतर्फ पानी पठाउन भारतीय पक्षसँग दुई देशका संयन्त्र एवं द्विपक्षीय भेटमा निरन्तर अनुरोध भइरहेको बताउनुभएको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।

    कञ्चनपुरका सुक्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतका तर्फबाट जलप्रवाह गर्ने निर्णय आउने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल–भारतबीच एकीकृत महाकाली सन्धिअनुरुप नेपालले हिउँदयामा तीन सय क्युसेक र वर्षायाममा एक हजार क्युसेक पानी पाउने व्यवस्था रहेको छ । सन्धिबमोजिम पानी उपयोगिता गरी सिँचाइ सुविधा उपलब्ध गराउन संरचना बनिसकेका छन् । करिब नौ अर्ब लगानी भइसक्दा पनि प्रतिफल पाउन नसकेको भन्दै स्थानीय रूपमा आलोचना हुने गरेको छ । पानी सञ्चालन नभएकाले निर्मित संरचना बिग्रिन थालेको आयोजनाले जनाएको छ ।

    महाकाली सिँचाइ आयोजनामार्फत सतह सिँचाइबाट २८ हजार, भूमिगत सिँचाइबाट पाँच हजार गरी ३३ हजार हेक्टर क्षेत्रमा दिगो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । आयोजनाको कुल अनुमानित लागत रु ३५ अर्ब छ । रासस