Blog

  • पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

    पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

    काठमाडौँ, पुस १ –
    चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गर्न सकेको हो ।

    महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार मङ्सिर मसान्तसम्म रु ३३ अर्ब ८७ करोड ४३ लाख बराबर मात्रै पुँजीगत खर्च भएको छ । यसवर्षका लागि पुँजीगत शीर्षकमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख बराबर विनियोजन भएको थियो ।

    चालुगततर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोडको वार्षिक विनियोजन रहेकामा हालसम्म ३३ दशमलव सात प्रतिशत अर्थात् रु तीन खर्ब ९८ अर्ब चार करोड ७२ लाख खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा ३५ दशमलव ३२ प्रतिशत अर्थात् रु एक खर्ब ३२ अर्ब ५३ करोड ९७ लाख खर्च भएको छ ।

    यसरी चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सरकारको कुल खर्च वार्षिक विनियोजनको २८ दशमलव ७४ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यसवर्षका लागि रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबर बजेट विनियोजन भएकोमा हालसम्म रु पाँच खर्ब ६४ अर्ब ४६ करोड १२ लाख खर्च भएको हो ।

    बजेट खर्च मात्र नभई राजस्व सङ्कलन पनि कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको सरकारले पाँच महिनामा २७ प्रतिशत अर्थात् रु चार खर्ब १४ अर्ब ९० करोड बराबर मात्रै उठाउन सकेको छ । मङ्सिर मसान्तसम्म रु पाँच खर्ब २० अर्ब ४४ करोड राजश्व उठाइसक्ने सरकारको लक्ष्य थियो । तर उक्त लक्ष्यको तुलनामा प्राप्ति ७८ दशमलव ७४ प्रतिशतमा खुम्चिएको छ । त्यस्तै, मङ्सिर महिनामा मात्र रु ९५ अर्ब २० करोड कर उठाउने लक्ष्य राखेको सरकारले त्यसको ८४ दशमलव ३१ प्रतिशत अर्थात् रु ८० अर्ब २७ करोड बराबर मात्रै असुली गरेको छ ।

    हालसम्म कर राजस्वतर्फ वार्षिक लक्ष्यको २८ दशमलव ८३ प्रतिशत अर्थात् रु तीन खर्ब ८२ अर्ब २३ करोड र गैरकर राजश्वतर्फ १५ दशमलव ५९ प्रतिशत अर्थात् रु २४ अर्ब सात करोड बराबर सङ्कलन भएको छ । यसवर्ष रु ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म नौ दशमलव ५८ प्रतिशत अर्थात् रु पाँच अर्ब १२ करोड १० लाख बराबर अनुदान लिएको छ ।

    हालसम्मको सरकारको आम्दानी र खर्चको हिसाब हेर्दा बजेट घाटा डेढ खर्ब हाराहारी पुगेको छ अर्थात् सरकारले गरेको आम्दानीभन्दा खर्च रु एक खर्ब ४९ अर्ब ५५ करोड ८५ लाखले बढी छ । रासस

  • भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

    भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

    नयाँदिल्ली, पुस १ –
    उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।

    प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरुकोे ठक्करको कारणले उनीहरुको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

    सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेकको बताइएको छ । रासस

  • उमेर हदले अनेरास्ववियुबाट बिदा भएका  नरेश रोकाया बने  एमाले केन्द्रीय सदस्य

    उमेर हदले अनेरास्ववियुबाट बिदा भएका नरेश रोकाया बने एमाले केन्द्रीय सदस्य

    १ पुस, काठमाडौं।
    ३२ वर्षे उमेर हदका कारण अनेरास्ववियुबाट बिदा भएका तत्कालीन महासचिव नरेश रोकाया नेकपा एमालेको केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । भृकुटीमण्डपमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा रोकायाले खुला युवा कलष्टरमा उम्मेदवारी दिएका थिए।

    दुई पदका लागि निर्धारण गरिएको उक्त कलष्टरमा रोकायासँगै सुशील कुमार थापाको मात्रै उम्मेदवारी परेका कारण दुवै जना सर्वसम्मत चयन भएका हुन्।

    बाजुराका रोकाया र दैलेखबाट प्रतिनिधित्व गर्ने थापाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवारी दिएका थिए । तर अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट उक्त कलष्टरमा उम्मेदवारी नै नपरेपछि सर्वसम्मतको अवस्था बनेको थियो।

    अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य रहेका थापा पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य छन् भने २०७४ सालमा उनी प्रदेश सभा सदस्य समेत बनेका थिए।बाजुराका रोकाया भने अनेरास्ववियुका निवर्तमान महासचिव हुन् ।

    अध्यक्षको दाबेदार रोकाया संगठनमा लगाइएको ३२ वर्षे उमेर हदका कारण अनेरास्ववियुबाट बिदा भएका थिए । तर, ३८ वर्षीय उनै रोकाया अहिले भने पार्टीको केन्द्रीय सदस्यमा निर्विरोध भएपछि पार्टी नेताको भूमिकामा आइपुगेका छन्।

    ‘मैले दुई दशकसम्म अनेरास्ववियु मार्फत विद्यार्थीको आवाज बनेर उनीहरुको भावना र मुद्दा बोकेर काम गरेँ । अब भने जनताको मुद्दा लिएर अघि बढ्छु,’ रोकायाले भने, ‘पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै युवाको बढी भन्दा बढी प्रतिनिधित्व गर्ने काममा लाग्छु।’

  • मकवानपुरमा रुखबाट लडेर युवकको मृत्यु

    मकवानपुरमा रुखबाट लडेर युवकको मृत्यु

    बागमती, पुस १ –
    रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक युवकको मृत्यु भएको छ ।

    स्थानीय मनकामना सामुदायिक वनमा आज बिहान ०८ बजेतिर साजको रुखको हाँगा काट्ने क्रममा लडेर मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोक्चेराङ घर भई मनहरी गाउँपालिका–७ लामा टोलमा बस्दै आएका ३५ वर्षीय सुरेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

    रुखबाट लडेर गम्भीर घाइते लामालाई उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल भर्ना गरिएकोमा बिहान १०ः२० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । रासस

  • सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

    काठमाडौँ, पुस १ –
    चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको छ । रासस

  • काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

    काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी

    काठमाडौँ, पुस १ –
    काठमाडौँ र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार मात्रै काठमाडौँको तारकेश्वर नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानबाट सोमबार मात्रै सुनका विभिन्न गरगहना र नगदसमेत गरी करिब ५७ लाख बराबरको धनमाल चोरी भएको हो ।

    तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईको कोठाबाट रु दुई लाख ९१ हजार, तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट रु तीन लाख ७७ हजार र काठमाडौँ महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र ल्याप्टप एक थान गरी करिब रु सात लाख ४० हजार बराबरको चोरी भएको छ ।

    प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–१ भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट रु चार लाख चार हजार र कृष्ण मन्दिर चोक नजिकै बाबुराम पाण्डेको कोठाबाट रु ३९ लाख ४७ हजार बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्नको खोजी गर्नुका साथै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

  • औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

    औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौँ, पुस १ –
    प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुनेगरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ ।

    प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले जातीय संस्थाको प्रतिनिधित्व गर्दै आएका पदाधिकारीबाट सकारात्मक प्रतिवेदन आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।

    प्रधानमन्त्री तथा प्रतिष्ठानकी अध्यक्षसमेत रहनुभएकी कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । सोमबार साँझ प्रज्ञा–प्रतिष्ठान, कमलादीमा सम्पन्न बैठकमा प्रतिष्ठानका महत्त्वपूर्ण नीति, कार्यक्रम र संरचनात्मक विषयमा आवश्यक निर्णय गरिएको छ । प्रधानमन्त्री स्वयं अध्यक्ष रहने प्रतिष्ठानमा कार्यकारी उपाध्यक्ष र सदस्य सचिव नियुक्त हुने व्यवस्था छ । प्रतिष्ठानमा हाल उपाध्यक्ष रेशम गुरुङ र सदस्य सचिव ज्ञानेन्द्र पुन हुनुहुन्छ ।

    प्रधानमन्त्रीले लोपोन्मुख, सीमान्तकृत, पिछडिएका तथा पिछडिएका अवस्थामा रहेका सबै आदिवासी जनजातिको उत्थान, संस्कृति संरक्षण तथा प्रवर्द्धनमार्फत देशको विविधता उजागर गर्दै पर्यटन प्रवर्द्धनमा योगदान दिनुपर्नेमा जोड दिनुभयो । उक्त बैठकले प्रतिष्ठानको आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का संस्थागत प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि उद्देश्य पूरा हुने कार्यक्रम, योजना तथा नीति तय गर्ने निर्णय गरेको छ ।

    बैठकले प्रतिष्ठानमा रहेका कर्मचारी दरबन्दीमा संशोधन गर्ने निर्णय पनि गरेको छ । हाल चार सहसचिव, पाँच उपसचिव र १० अधिकृतसहित ५२ जनाको दरबन्दी रहेकामा अब दुई सहसचिव, चार उपसचिवसहित ४२ जनाको दरबन्दी कायम गर्नेगरी कर्मचारी विनियमावली संशोधन गर्ने निर्णय भएको छ ।

    त्यस्तै, तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको २२ वटा लोपोन्मुख थर भएका जातिलाई छुट्टै जनजातिमा सूचीकृत गर्ने प्रस्तावका सन्दर्भमा ती थर हाल सूचीकृत ६० जनजातिभित्रकै रहेको बैठकले पुष्टि गरेको छ । बैठकमा प्रतिष्ठानले आव २०८३/८४ का लागि न्यूनतम रु २६ करोड बजेट आवश्यकपर्ने प्रारम्भिक योजना तथा कार्यक्रम प्रस्तुत गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा अर्थमन्त्रीसमेत रहनुभएका रामेश्वर खनाल र प्रधानमन्त्री कार्कीले प्रतिष्ठानको कामको औचित्य पुष्टि भएमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरू, अर्थ तथा संस्कृति मन्त्रालयका सचिव, प्रज्ञा–प्रतिष्ठानका कुलपति, विभिन्न जातीय सङ्घ–संस्थाका प्रतिनिधि तथा परिषद् सदस्यको सहभागिता रहेको उपाध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसअघि वर्षमा एकपटकमात्रै बस्दै आएको सञ्चालक परिषद् बैठक अबदेखि वर्षमा दुईपटक बस्ने निर्णय भएको र यस वर्षदेखि प्रतिष्ठानले आवश्यक बजेट सरकारबाट प्राप्त गर्ने विश्वास रहेको सदस्य सचिव पुनले जानकारी दिनुभयो । रासस

  • हालसम्मकै उच्च रेकर्ड बनाएको सुनको मूल्य मंगलबार घट्यो , कतिमा हुदैँछ कारोबार ?

    हालसम्मकै उच्च रेकर्ड बनाएको सुनको मूल्य मंगलबार घट्यो , कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं पुस १ –
    अघिल्लो दिन हालसम्मकै उच्च रेकर्ड बनाएको सुनको मूल्य मंगलबार केही घटेको छ ।

    सोमबारको तुलनामा सुनको मूल्य आज प्रतितोला १ हजार ७ सय रुपैयाँले मूल्य घटेको हो ।

    अघिल्लो दिन २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ३ हजार ८८५ रुपैयाँ तय भएको महासंघले जनाएको छ ।गत शुक्रबार चाँदीको भाउ हालसम्मकै उच्च मूल्य ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

  • एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

    एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

    काठमाडौँ, पुस १ –
    नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

    सो पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा जारी रहेकोे छ ।

    यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ ।

    तीन उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको छ । नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगले आज अपराह्न साँझ ४ बजेदेखि निर्वाचन गर्ने तयारी गरेको छ । महाधिवेशनमा २२६२ प्रतिनिधि छन् । रासस

  • एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

    एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

    चितवन, पुस १ –
    मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना आज पुस १ गतेदेखि सुरु हुँदैछ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना सुरु गर्न थालिएको हो ।

    वन तथा वातावरण मन्त्रालयलअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र वन तथा भूसंरक्षण विभागको समन्वयमा गरिने बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ । त्यस्तै गणनामा नेपाली सेना, मध्यवर्ती तथा सामुदायिक वन उपभोक्ता समितिलगायत सहयोगीका रुपमा परिचालित हुने गरेका छन् ।

    जम्मा दुई ५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने योजना रहेको निकुञ्ज विभागले जनाएको छ । गणनामा एक हजार १०० अत्याधुनिक क्यामेराको प्रयोग गरिने र बाघको फोटो सङ्कलन गरेर विश्लेषण गरी सङ्ख्या एकिन गरिने विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।

    निकुञ्ज विभागका अनुसार गणनामा जनशक्ति परिचालन, मेमोरी कार्ड, टेन्ट, सिल्पिङ ब्यागलगायत लजिस्टिक सामानका लागि करिब रु तीन करोड खर्च लाग्ने बताइएको छ । त्यसैगरी, क्यामेरा भने यसअघिकै खरिद गरिएका सबै एक हजार १०० क्यामेरा प्रयोग गर्न लागिएको हो । जुन प्रतिक्यामेराको मूल्य करिब रु ३५ हजार रहेको छ ।

    नेपालले स्वचालित क्यामेरा ट्रयापबाट प्रणालीबद्ध रूपमा बाघ गणना गर्न थालेको सन् २००९ देखि हो । उक्त गणनाअनुसार नेपालमा एक सय २१ वटा बाघ रहेका थिए । त्यसअघि बाघका खुट्टाका छाप तथा पदमार्गको अनुमानका आधारमा गणना गरिन्थ्यो र त्यो पनि राष्ट्रियस्तरमा नभई निकुञ्जमा सीमित हुन्थ्यो ।

    सन् २००९ यता हरेक चार वर्षमा बाघको सर्वेक्षण हुँदै आएको छ । बाघ संरक्षण कार्ययोजनामा उल्लेख भएअनुसार सन् २०१३, २०१८ र २०२२ मा गणना सम्पन्न भइसकेको छ । अहिले सन् २०२६ का लागि गणना हुनलागेको हो ।बाघको सर्वेक्षण खासगरी हिउँदको समयमा गरिन्छ । किनभने यो चिसो समयमा बाघ सुक्खा ठाउँमा र झाडी नभएको खुला क्षेत्रमा बढी हिँडडुल गर्ने भएकाले क्यामेरामा ट्रयाप गर्न सहज हुने निकुञ्ज विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गणनाका लागि सो क्षेत्रमा दुई वर्गकिलोमिटर क्षेत्रफलमा स्वचालित क्यामेरा राखिन्छ र उक्त क्यामेराले २४सै घण्टा जुनसुकै वस्तु चलायमान हुँदा स्वाचालित रूपमा तस्बिर लिएर रेकर्ड गर्छ ।

    पुस ३ गतेदेखि क्यामेरा राखिने

    “गणनाका खटिने टोलीलाई क्यामेरा जडान गर्न र निकाल्न एक साताको समय लाग्छ भने ट्रयापिङका लागि कम्तीमा १५ दिन राखिन्छ । यही पुस १ र २ गते औपचारिक उद्घाट्न तथा ओरियन्टेसन कार्यक्रम रहेको छ । यही पुस ३ गतेदेखि फिल्डमा गएर क्यामेरा ओछ्याउने काम सुरु हुन्छ”, वरिष्ठ इकोलोजिष्ट आचार्यले भन्नुभयो ।

    क्यामेरा ओछ्याउन सहजताका लागि बाघ पाइने क्षेत्रलाई सिस्टमेटिक बनाउनलाई ब्लकमा विभाजन गरिएको छ । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी मुख्य तीन ब्लकमा विभाजन गरिएको छ । हरेक ब्लकलाई फेरि क्याम्प–क्याम्पमा बाँडेर प्राविधिक कर्मचारी खटाएर क्यामेरा राख्ने काम गरिन्छ । एउटा पाटे बाघको पाटा अर्कोसँग नमिल्ने र फोटोमा कुनै द्विविधा नहुने भएकाले यस प्रविधिको गणनालाई वैज्ञानिक मानिन्छ ।

    क्यामेराबाट तथ्याङ्क आइसकेपछि निकुञ्ज विभागमै विश्लेषण र जम्मा गरी सङ्ख्या एकिन गरिन्छ । अन्तिम परिणाम आगामी जुलाई २९ अर्थात् अन्तरराष्ट्रिय बाघ दिवसका दिनसम्म प्रतिवेदन सार्वजनिक गर्ने भन्ने योजना रहेको वरिष्ठ इकोलोजिष्ट आचार्यले बताउनुभयो ।

    निकुञ्ज विभागले बाघ गणना सम्पन्न भएपछि गैँडाको पनि गणना गर्ने तयारी रहेको जनाएको छ । त्यस्तै सम्बन्धित निकुञ्जले बाघ र गैँडाको जस्तो नियमित र राष्ट्रियस्तरको नभए पनि चितवन र बर्दियामा घडियाल गोही, पर्सा र चितवनमा गौरी गाई र कोशीमा अर्नाको गणना गर्ने गरेका छन् ।

    नेपालले धान्न सक्ने बाघको सङ्ख्या कति ?

    पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । यी मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् ।

    उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ ।

    नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ ।

    वर्तमान अवस्थामा नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा समेत बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) र आहारा तथा बासस्थानको गुणस्तरका बारेमा समेत गहिरो अध्ययन हुनुपर्नेमा जोड दिनुभएको छ ।

    नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)लगायत संस्थाले अध्ययन गरिरहेका छन् ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसी) का सदस्यसचिव डा नरेश सुवेदीले मुलुकको पर्यापर्यटनमा बाघको सबैभन्दा बढी महत्व रहेकोे उल्लेख गर्दै बाघको उचित व्यवस्थापनमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “वन मन्त्रालयसँग मिलेर हामीले बाघ संरक्षणका सवालमा स्थानीय समुदायमा जनचेतना जगाउने र आर्यआर्जनलगायत सीपमूलक तालिम तथा कार्यक्रम गर्दै आएका छौँं ।” उहाँले पर्यापर्यटन प्रवर्द्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव–बाघ सहअस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा भगवानराज दाहालले भन्न्नुभयो, “अहिले नै बाघको सङ्ख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो बासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नुपर्छ ।” पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।

    नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा एक सय नौ, सन् २००५ मा एक सय २६, सन् २००९ मा एक सय २१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर दुई सय ३५ पुगेको थियो ।

    विश्वजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले बाघ पर्यापर्यटनको ठूलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका स्थानीयलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ ।

    देशभरका खोरमा १८ समस्याग्रस्त बाघ

    बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ ।

    हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १८ वटा छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पाँच, चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा चार, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक–एक बाघ खोरमा राखिएका छन् । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनि सरकारको ठूलो रकम खर्च हुँदै आएको छ ।

    सन् २०२५ पछिल्लो तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या बढेर पाँच हजार ३५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा सात सय ५०, इण्डोनेसियामा चार सय, नेपालमा तीन सय ५५, थाइल्याण्डमा एक सय ८९, भुटान एक सय ५१, मलेसियामा एक सय ५०, बङ्गलादेशमा एक सय ४६, म्यान्मामा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुईवटा बाघ रहेका छन् । रासस