Blog

  • नेपालमा सुरक्षा चुनौति भएको भन्दै आवश्यक कामबाहेक नेपाल भ्रमण नगर्न क्यानडा सरकारको आग्रह

    नेपालमा सुरक्षा चुनौति भएको भन्दै आवश्यक कामबाहेक नेपाल भ्रमण नगर्न क्यानडा सरकारको आग्रह

    पुष १ -टोरण्टो ।
    क्यानडा सरकारले आफ्ना नागरिकहरुलाई अति आवश्यक काम बाहेक नेपाल भ्रमण नगर्न आग्रह गरेको छ । नागरिकको सुरक्षा जोखिमतालाई ध्यान दिएर सूचना जारी गरिएको हो ।

    नेपाल भ्रमण गर्ने व्यक्ति तथा कोउनीहरुका परिवारलाई घुमफिर, व्यवसाय, अध्ययन वा अन्य कुनै कारणले पनि आवश्यक नपरेका खण्डमा नजान भनिएको छ । नेपालमा सुरक्षा चुनौति भएका कारण नेपाल जान वा क्यानेडियन नागरिक नेपालमै भए आफ्नो बसाई छोट्याउन भनिएको छ ।
    नेपालमा हाल अशान्ति, हिंसा, कमजोर राजनीतिक अवस्था, कमजोर सुरक्षा अवस्था लगायतका कारण यात्रा नगर्न जानकारी दिइएको हो । नेपालमा क्यानडा सरकारको कन्सुलर सेवा सीमित भएका कारण पनि नेपालको बसाई खतरापूर्ण हुनसक्ने बताइएको छ ।

    सेम्टेम्बर ८, २०२५ मा नेपालमा भएको प्रदर्शन र झडपका कारण सयौँको संख्यामा घाइते र मृत्यु भएको थियो । त्यसपछि बेलाबेला प्रदर्शन र विरोधका कार्यक्रमहरु भइरहेका सन्दर्भमा क्यानडा सरकारले नागरिकको थप सुरक्षाका लागि १५ डिसेम्बर अर्थातहिजो आज मंसिर २९ गते सोमबार सूचना अध्यावधिक गरेर जारी गरेको हो ।

  • भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

    भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

    चितवन, पुष १ –
    विद्यार्थीहरूको वित्तीय ज्ञान वृद्धि गर्नुका साथै सूचना प्रविधिमा आधारित करिअरप्रति सचेत बनाउने उद्देश्यले भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुन लागेको छ।

    उक्त कार्यक्रम २०८२ पुष ३ गते (डिसेम्बर १८, २०२५), बिहीबार कलेज परिसरमा बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म VSC सेमिनार हल, भ्याली स्टेट कलेज मा सञ्चालन हुनेछ। कार्यक्रम विशेष रूपमा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको हो।

    कार्यक्रम माछापुच्छ्रे बैंक लिमिटेड, हाकिम चोक शाखा, प्याराडाइज इन्फोटेक, चितवन तथा रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउनको सहकार्यमा सञ्चालन हुनेछ। बैंकिङ क्षेत्र र सूचना प्रविधि क्षेत्रबीचको सहकार्यमार्फत विद्यार्थीहरूलाई व्यवहारिक र समयसापेक्ष ज्ञान प्रदान गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो।

    माछापुच्छ्रे बैंक लिमिटेडद्वारा वित्तीय सचेतनामा बैंकिङ प्रणालीको परिचय, दैनिक जीवनमा बैंकको भूमिका, बचतको महत्व, अनुशासित वित्तीय व्यवहार, मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, डिजिटल बैंकिङको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट जोगिने उपाय, साइबर सुरक्षा, लगानीका आधारभूत सिद्धान्त तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी दिइनेछ। यसबाट विद्यार्थीहरूले वित्तीय व्यवहारमा सचेत र जिम्मेवार बन्न सक्नेछन्।

    त्यसैगरी, प्याराडाइज इन्फोटेक, चितवनद्वारा आयोजित आईटी सचेतनामा आजको रोजगारी बजारमा सूचना प्रविधिको महत्व, बैंकिङ तथा वित्तीय सेवामा प्रविधिको प्रयोग, विद्यार्थीहरूले विकास गर्नुपर्ने प्रमुख डिजिटल सीपहरू, आधुनिक कार्यस्थलमा आईटीको भूमिका र भविष्यका करिअर अवसरबारे जानकारी दिइनेछ।

    आयोजकका अनुसार, कार्यक्रमले विद्यार्थीहरूलाई सूचित वित्तीय निर्णय लिन सक्षम बनाउने, आधुनिक बैंकिङ प्रविधिको सुरक्षित प्रयोगमा दक्ष बनाउने र प्रविधिमा आधारित उद्योगका लागि तयार गर्ने विश्वास लिइएको छ। यसले विद्यार्थीहरूको व्यवहारिक, जीवनोपयोगी र भविष्य उन्मुख ज्ञान अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रत्यक्ष प्रश्न सोध्न र छलफलमा भाग लिन सक्ने अवसर पाउनेछन्। यसले उनीहरूको सीप, समझदारी र भविष्यका करिअर सम्बन्धी निर्णयमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

  • मुग्लिन-पोखरा सडकः दमौली बजारमा निर्माणाधीन चार लेनको मादी पुल अन्तिम चरणमा

    मुग्लिन-पोखरा सडकः दमौली बजारमा निर्माणाधीन चार लेनको मादी पुल अन्तिम चरणमा

    दमौली (तनहुँ), पुस १-
    मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।

    उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माण तीव्रगतिमा अगाडि बढाइएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको उहाँले बताउनुभयो ।

    सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । उहाँले भन्नुभयो, “पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।” उक्त पुलमा ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।

    तीन सय १५ मिटर लामो पुलमा छवटा स्पान रहनेछ । पुलको वारिपारि दुई–दुई ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उहाँका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । उहाँले भन्नुभयो, “मिडल स्पान दुईवटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम पनि भइरहेको छ ।”

    रु एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ ।

    सूचना अधिकारी पाण्डेले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वीतर्फ ८८ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । कालोपत्र सबै सकिएको बताउँदै उहाँले सडकका अन्तिम चरणका काममात्र बाँकी रहेको उल्लेख गर्नुभयो । पुलको पहुँचमार्गको काम भने बल्ल सुरु भएको पाण्डेले बताउनुभयो ।

    निर्माण कम्पनी व्यवस्थापक दिनेशकुमार श्रेष्ठले निर्धारित मितिअगावै पुल निर्माणको काम सकिने जानकारी दिनुभयो । उहाँका अनुसार असार १९ गतेसम्म म्याद रहे पनि वैशाखमा पुल निर्माणको काम सक्नेगरी काम भइरहेको छ । पुल निर्माणका लागि हाल दैनिक एक सय ५० कामदार खटाइएको छ ।

    छवटा स्पानमध्ये दुईदुई स्पानको काम सकिएको र बीचको दुईवटा स्पान ६३ मिटरको काम भइरहेको उहाँले जानकारी दिनुभयो । पुलको दायाँबायाँ पाँच सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बायाँतर्फ व्यक्तिका घर परेकाले मुआब्जा दिनुपर्ने र दायाँतर्फ सडक डिभिजन कार्यालयको भवन रहेकाले भवन भत्काएर पहुँच सडक निर्माण गर्नुपर्ने अवस्था छ ।”

    पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।रासस

  • एमाले महाधिवेशन : मतदानको समय सर्‍यो, उम्मेदवार र प्रतिनिधि प्रचारमा व्यस्त

    एमाले महाधिवेशन : मतदानको समय सर्‍यो, उम्मेदवार र प्रतिनिधि प्रचारमा व्यस्त

    काठमाडौं पुस,१
    नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान हुनुअघि उम्मेदवारहरु र तिनका समर्थकहरु मतमाग्न व्यस्त छन् । मतदान स्थल भृकुटीमण्डपमा मत माग्दै हिँड्ने र प्रचार प्रसार गर्नेहरुको बिहानैदेखि चहलपहल छ ।

    मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएपछि उम्मेदवारहरुले प्रचार प्रसारको समय पाएका छन् । कतिपय उम्मेदवार आफ्ना समर्थकसहित हुल बाँधेर भोट माग्दै हिँडिरहेका छन् । समर्थकहरु उम्मेदवारको नाम लिँदै नारा लगाइरहेको पनि सुनिन्छ । कतिपय भने शान्त तरिकाले भोट मागिरहेको देखिन्छ ।

    प्रदर्शनी मार्ग क्षेत्रको सडकमा एमाले कार्यकर्ताहरुको भिड देखिन्छ । त्यसैले प्रहरीले सो सडक बन्द गराएको छ ।

    एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन् । प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकेको छ तर उम्मेदवारहरुको अन्तिम नामावली प्राप्त हुन ढिलो भएकाले मतदान पनि केही ढिलो हुने प्राविधिकहरुले बताएका छन् । विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण इन्ट्री गर्नुपर्ने भएकाले मतदान सुरु हुन चार बज्न सक्ने भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले बताए ।

    उनका अनुसार एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान छ ।

     

  • काठमाडौंको वायु प्रदूषणले नाघ्यो अस्वस्थको तह

    काठमाडौंको वायु प्रदूषणले नाघ्यो अस्वस्थको तह

    काठमाडौं पुस,१
    काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ ।

    रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १५२ छ । १५१ नाघ्नुलाई अस्वस्थ मानिन्छ ।

    नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

    काठमाडौं समग्रमा संसारकै अस्वस्थ सहरमध्ये ११औं स्थानमा रहेको छ । पहिलो स्थानमा पाकिस्तानको लाहोर र दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । यी दुवै सहरमा वायु प्रदूषणले खतरनाकको तह अर्थात ३१५ नाघेको छ ।

  • आज मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज मंगलबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष १ गते । मंगलबार । इस्वी सन् २०२५ डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–द्वादशी, ४४ घडी ५ पला, रातको १२ बजेर २७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–स्वाती, २१ घडी ५६ पला, दिउँसो ३ बजेर ३५ मिनेट उप्रान्त विशाखा । योग–अतिगण्ड, २१ घडी ३२ पला, दिउँसो ३ बजेर २६ मिनेट उप्रान्त सुकर्मा । करण–कौलव, बिहान ११ बजेर २७ मिनेट उप्रान्त तैतिल, रातको १२ बजेर २७ मिनेट उप्रान्त गर । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ८ मिनेट । दिनमान २५घडी ५१ पला ।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बैक तथा वित्तीय क्षेत्रमा लगानी गरी उल्लेख्य नाफा कमाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । संस्कार संस्कृतिको भरपुर सदुपयोग गर्दै रमाइलो गर्न सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा सन्तानको साथ सहयोग नपाइने हुनाले कामहरू सुस्त गतिमा अगाडी बढ्नेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्दा समस्या आउनेछ भने जीवन साथीसँग सामान्य कुरामा पनि मनमुटाब बढ्नेछ । लेखन तथा साहित्यको क्षेत्रमा थालिएको काम अधुरै रहनेछ । पेट सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । तर पनि भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घर परिवार तथा आफन्तहरूमा विभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेको छ भने आन्तरिक धन सम्पत्तिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आट,पराक्रम गर्न नडराई अगाडी बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । शेयर बजार तथा वित्तीय बजारको कारोबारबाट नाफा कमाउन सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रशस्त समय लगानी गरे पनि समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ । माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । तर पनि भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । गरगहना, खाद्यान्न, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य सुधार हुनेछ । बैक तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला, राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महसुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । तर पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागी हुने योग रहेको छ । विदेशी भूमिमा बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर जुर्नेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तर पनि सवारी साधनको प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा काम नबन्नाले दुख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । सवारी साधन प्रयोग गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । गोप्य सूचना तथा घर परिवारका कुराहरू बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला । तर पनि परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
    तपाईँको दिन शुभ रहोस् ।

  • डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

    डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

    काठमाडौँ, मङ्सिर २९-
    नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छभने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।

    मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ कायम भएको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

    निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

    इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ ९३ पैसा घटेर तथा पेट्रोलमा एक रुपैयाँ ९४ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

  • नेपाल शैक्षिक परामर्श संघ चितवनको अध्यक्षमा भोजबहादुर खड्काको उमेदवारी घोषणा

    नेपाल शैक्षिक परामर्श संघ चितवनको अध्यक्षमा भोजबहादुर खड्काको उमेदवारी घोषणा

    चितवन, मंसिर २९
    नेपाल शैक्षिक परामर्श संघ चितवनको १४औँ साधारण सभा तथा ८औँ अधिवेशनअन्तर्गत हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदका लागि भोजबहादुर खड्काले आफ्नो उमेदवारी घोषणा गरेका छन्।

    त्यस्तै, उनको प्यानलको उपाध्यक्ष पदका लागि ठाकुर रेग्मी ‘शिशिर’, सचिव पदमा सरोज कोइराला, कोषाध्यक्ष गोर्कण आर्याल, सदस्य पदमा प्रचण्ड राज न्यौपाने र बसन्त पराजुली रहेका छन् ।

    खड्का शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि क्रियाशील खड्का अनुभव, क्षमता र पेशागत निष्ठाका आधारमा आफ्नो व्यवसायिक पहिचान स्थापित गर्न सफल व्यक्तित्वका रूपमा परिचित छन्।

    वैदेशिक शिक्षा, व्यवस्थापन दक्षता र रणनीतिक सोचका कारण उहाँको नेतृत्वले संघको संस्थागत विकास र व्यवस्थापन प्रणालीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

    योग्य, प्रतिबद्ध र दूरदर्शी नेतृत्वमार्फत संघलाई अझ सशक्त र प्रभावकारी बनाउने लक्ष्यसहित उनीहरूको उम्मेदवारीलाई शैक्षिक परामर्श क्षेत्रका सरोकारवालाहरूले सकारात्मक रूपमा लिएको जनाइएको छ।

  • मौलाकालिका मन्दिरमा चोरी प्रकरण: कर्मचारीसहित चार जना पक्राउ

    मौलाकालिका मन्दिरमा चोरी प्रकरण: कर्मचारीसहित चार जना पक्राउ

    मंसिर २९, गैँडाकोट –
    गैँडाकोटस्थित प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा दानपेटिकाबाट रकम चोरी तथा सीसी क्यामेराको हार्डडिस्क लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले तीन जना युवक र मन्दिरकै एक कर्मचारीलाई पक्राउ गरेको छ।

    मंसिर २६ गते भएको उक्त घटनामा संलग्न भएको आशंकामा मन्दिरका सहायक व्यवस्थापक छवि खनाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ। यसअघि पक्राउ परेका युवकहरूले प्रारम्भिक बयानमा चोरी तथा लुटपाट मन्दिरकै कर्मचारी खनालको सहयोगमा गरिएको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको हो।

    पक्राउ पर्नेहरूमा गैँडाकोट–४ झपर्दिका सुदिप महतो, अनिल श्रेष्ठ र राजु घिमिरे रहेका छन्। प्रहरीका अनुसार मन्दिरको दराजमा राखिएको करिब दुई तोला बराबरको सुनको सिक्री केही दिनअघि हराएको विषय सार्वजनिक भएको भोलिपल्टै दानपेटिकाको रकम चोरी हुनुका साथै सीसी क्यामेराको हार्डडिस्कसमेत गायब बनाइएको थियो।

    प्रहरीले घटनामा प्रमाण नष्ट गर्ने उद्देश्यले योजनाबद्ध रूपमा चोरी गराइएको हुन सक्ने आशंका गरेको छ। प्रारम्भिक अनुसन्धानबाट मन्दिरका कर्मचारीको मिलेमतोमा घटना घटाइएको देखिएको प्रहरीले जनाएको छ।

    आस्थाको केन्द्र मानिने मौलाकालिका मन्दिरमै कर्मचारीको संलग्नतामा चोरी भएको घटनाले भक्तजन तथा स्थानीयवासीलाई स्तब्ध बनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

  • कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

    कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

    काठमाडौँ, मंसिर २९ –
    नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनका योद्धा, पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्र्दै उहाँको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

    पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको हो । बैठकले यही मङ्सिर २९, पुस १ र २ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    नेता उपाध्यायको काठमाडौँको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा यही मङ्सिर २७ गते शनिबार साँझ ९१ वर्षको उमेरमा निधन भएको थियो । बैठकले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

    यसैगरी बैठकले आगामी पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा उहाँको गृह जिल्ला मोरङमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको छ । उहाँको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ ।

    विसं २०४८ मा राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएका उपाध्याय विसं २०५६ मङ्सिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । विसं २०५६ मा उहाँ शिक्षा तथा खेलकुदमन्त्री हुनुहुन्थ्यो भने विसं २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनःस्थापित व्यवस्थापिका संसद्को सदस्य हुनुहुन्थ्यो । त्यसैगरी विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।

    शालिन र वौद्धिक व्यक्तित्वका रूपमा पार्टीमा परिचित स्व उपाध्याय विसं २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । राजनीतिक सङ्घर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताउनुभएका उपाध्यायले निर्वासित जीवनसमेत बिताउनुभएको थियो । समाजसेवा र अध्ययनमा विशेष रुची राख्ने उपाध्यायका विभिन्न पत्रपत्रिकाहरूमा लेख रचनासमेत प्रकाशित भएका छन् ।

    पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता उपाध्यायको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ । रासस