Blog

  • एमाले महाधिवेशनः ३ घण्टामा साढे ३०० खस्यो मत

    एमाले महाधिवेशनः ३ घण्टामा साढे ३०० खस्यो मत

    काठमाडौं, पुस २-
    नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यो जानकारी दिएका हुन् ।

    गौतमका अनुसार काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् । यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ ।

  • उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक

    उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक

    काठमाडौँ, पुस २ –
    पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका वित्तीय सेवा प्राप्त गर्न सहज स्मरण गराएको छ ।

    “बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र यस बैंकको निर्देशनको अधिनमा रही कर्जा प्रवाह गर्नु, प्रवाह गरेको कर्जासम्बन्धी परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुलउपर गर्नु सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य हो”, केन्द्रीय बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणबाट निक्षेप संकलन गरी कर्जा प्रवाह गर्ने भएकोले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने, तरलतामा प्रभाव पर्ने हुँदा ऋणीले लिएको कर्जा भुक्तानी नियमित रूपमा गर्नुपर्ने उल्लेख गरेको छ ।

    कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा परेको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले समय समयमा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नसक्ने लगायतका व्यवस्था गरी सहजीकरण गर्दै आएको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

    बैंकिङ कारोबार सम्बन्धमा कुनै गुनासो भएमा सम्बन्धित संस्था र यस बैंकमा गुनासो सुनुवाइको व्यवस्था रहेकोले ग्राहकलाई मर्का परेमा गुनासो गर्न र समाधान गर्न सकिने व्यवस्था समेत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध भएका गैरव्यावसायिक तथा उच्छङ्खल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधन परिचालनमा कठिनाइ हुने भएकाले वित्तीय सेवा प्रभावित हुने क्रियाकलापमा संलग्न नहुन सम्बन्धित सबैलाई जानकारी गराएको छ ।

    बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीसँग गैरजिम्मेवार व्यवहार गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही हुने भएकाले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई मनोबल उच्च राखी कार्य गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । रासस

  • चाँदीको भाउमा नयाँ रेकर्ड, नाघ्यो ४ हजार

    चाँदीको भाउमा नयाँ रेकर्ड, नाघ्यो ४ हजार

    २ पुस, काठमाडौं ।
    बुधबार चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार नाघेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकेको छ । एकैदिन चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो ।

    अघिल्लो दिन ३ हजार ८८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । एक सातामै चाँदीको भाउमा नयाँ रेकर्ड बनेको हो । यसअघि गत बुधबार चाँदी ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनेको थियो ।

    आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

  • भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

    भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

    गण्डकी, पुस २ –
    पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको आयोजना भोलि यहाँ हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरामा रहेको १२ सदस्यीय भारतीय ‘टुर अपरेटर र सोसल मिडया’कर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ ।

    टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्र्दै स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो । गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत भारतीय टोलीलाई होटल सङ्घ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझेदारीलगायत विषयमा अन्तक्र्रिया गर्नुुका साथै चितवनका पर्यटकीयस्थल अवलोकन गराइएको थियो ।

    उत्तर प्रदेशको पर्यटन विभागका सहनिर्देशक दिनेश कुमारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्य क्त गर्नुुभयो ।

    भारतीय टोली आज पर्वत र बागलुुङका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण्मा छ । रासस

  • निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

    निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

    काठमाडौँ, पुस २-
    निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।

    आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने छन् । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रबन्धको प्रस्ताव गरेको हो ।

    आयोगले उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई तीन × चार फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख गरेको छ ।

    प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ । यसैगरी निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक, समकर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न पाइने छैन । चुनाव प्रचारका क्रममा जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने व्यवस्था गर्न लागिएको छ ।

    अनलाइन, वेवपेज, टिभी, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम, काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारबारेमा कुनै पनि प्रचारप्रसार गराउन पाइने छैन । तर, राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारिक वेवपेजमा त्यस्तो प्रचार सामग्री राख्न भने बाधा पर्ने छैन ।

    दलको झण्डाको वा दल एवम् उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन पाइनेछैन । कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका कुनै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नहुने गरी आचारसंहिताको प्रस्ताव गरिएको छ । आयोगले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने गरी आचारसंहिताको प्रस्ताव गरिएको जनाएको छ ।रासस

  • बढ्यो अमेरिकी डलरको मूल्य,हालसम्मकै उच्च बिन्दुमा

    बढ्यो अमेरिकी डलरको मूल्य,हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ, पुस २-
    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १७ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८७ पैसा र बिक्रीदर २२ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ १४ पैसा , ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ०९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

  • एमाले महाधिवेशनमा मतदान सुरु, एकजनालाई मतदान गर्न ३० देखि ४० मिनेट लाग्ने

    एमाले महाधिवेशनमा मतदान सुरु, एकजनालाई मतदान गर्न ३० देखि ४० मिनेट लाग्ने

    काठमाडौं,पुस २-
    नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मतदान सुरु भएको छ । एमाले अध्यक्षका निम्ति उमेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिवका उमेदवार शंकर पोखरेल र सुरेन्द्र पाण्डेले अहिले मतदान गरिरहेका छन् ।

    हिजो नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउँदै आजबाट मतदान सुरु गरिएको हो । विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भइरहेको हो । एकजनालाई मतदानका लागि ३० देखि ४० मिनेट लाग्ने बताइएको छ ।

    एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । उनीहरू प्यानल बनाएरै प्रतिस्पर्धा गरिरहेका छन् । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन् ।

  • आज कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

    आज कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष २ गते । बुधबार । इस्वी सन् २०२५ डिसेम्बर १७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–त्रयोदशी, ४९ घडी २६ पला, रातको २ बजेर ३६ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–विशाखा, २८ घडी १५ पला, बेलुकी ६ बजेर ७ मिनेट उप्रान्त अनुराधा । योग–सुकर्मा, २२ घडी ३९ पला, दिउँसो ३ बजेर ५३ मिनेट उप्रान्त धृति । करण–गर, दिउँसो १ बजेर ३० मिनेट उप्रान्त वणिज, रातको २ बजेर ३६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धाता योग । चन्द्रराशि–तुला, बिहान ११ बजेर २८ मिनेट उप्रान्त वृश्चिक ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ९ मिनेट । दिनमान २५घडी ५१ पला ।

    आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा अरु दिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । जीवन साथीको सहयोगले राम्रा गर्न सकिने तथा छोटो दुरीको पारिवारिक यात्राको तय हुनेछ । बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर तान्न सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । बिहानको समय मध्यम रहेकोले स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय मध्यम रहेकोले राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ । विद्यार्थीले प्रतिस्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरूभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरूभन्दा पछि परिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबार गर्नेहरूका लागी समय मध्यम रहेको छ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्नुहोला ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रूढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमाबाट अन्धविश्वासलाई चिर्दै समाज रूपान्तरण गर्नमा तपाईँको सक्रिय भूमिका रहनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रबाट थोरै भएपनि नाफा कमाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिहानको समय राम्रो रहेकोले व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ । बैक तथा वित्तीय बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले माया प्रेममा धोका हुनेछ भने परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ । पढाइ लेखाइमा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समयमा लामो दुरीको यात्रा तथा विदेशसँग सम्बन्धित कामहरू हुनेछन् । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले सामाजिक काम गरी नाम कमाउन सकिनेछ । व्यापार वा शेयर बजारमा नयाँ लगानी थप्न सकिनेछ । इमान्दार तथा लगनशील भएर लाग्नाले ठुलो उपलब्धि हासिल गर्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानी गर्नेहरूका लागी समय राम्रो रहेको छ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय दिनुपर्ने हुनसक्छ । मध्यान्हबाट पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) काम गर्ने थुप्रै बाटाहरू भेटिनेछन् भने व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यक्ताहरु परिपूर्ति गर्न सकिनेछ । मायाको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरूको आशीर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्ति प्राप्त हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • एमाले महाधिवेशनः मतदान बुधबार बिहान

    एमाले महाधिवेशनः मतदान बुधबार बिहान

    काठमाडौँ, १ पुसः
    नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान बुधबार बिहान हुने भएको छ ।

    आज साँझ हुने भनिएको मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ नेतृत्वका लागि बुधबार बिहान ८ः०० बजेदेखि मतदान हुने छ ।

    “विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि आज साँझदेखि सुरु गर्ने भनिएको मतदान स्थगित गरिएको छ”, उहाँले भन्नुभयो । यसअघि आज साँझदेखि मतदान हुने तय भएपछि प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसेका थिए ।

    तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

  • मूलाको पात पोषणको खजाना, फ्याँक्नुअघि सोच्नुहोस्

    मूलाको पात पोषणको खजाना, फ्याँक्नुअघि सोच्नुहोस्

    मूलाको जमिनमुनिको भाग (जरा) मात्र होइन, यसको पातहरूमा पनि प्रशस्त पोषण तत्त्वहरू लुकेको हुन्छ। धेरैजसो मानिसहरूले मूलाका पातहरूलाई फ्याँकिदिने गर्छन्, तर यी पातहरू स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक हुन्छन्।

    मूलाका पातहरूमा भिटामिन ए, सी र के को राम्रो मात्रा पाइन्छ, जुन हाम्रो छाला, हड्डी र रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) का लागि आवश्यक हुन्छ। यसका साथै, यसमा फाइबर, आइरन, क्याल्सियम र पोटासियम पनि भरपुर मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।

    मूलाका पातका मुख्य फाइदाहरू

    एन्टिअक्सिडेन्टको स्रोत: मूलाका पातहरूमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्टहरू हुन्छन्, जसले शरीरमा फ्री रेडिकलबाट हुने क्षतिलाई कम गर्छ। यी एन्टिअक्सिडेन्टले मुटुको स्वास्थ्यलाई सुधार गर्छन् र शरीरको इन्फ्लेमेसन घटाउन मद्दत गर्छन्।

    हड्डी र दाँतलाई मजबुत: पातमा भएको क्याल्सियम र आइरनका कारण यसले हड्डी र दाँतलाई मजबुत बनाउँछ। भिटामिन केले रगत जम्न मद्दत गर्छ र हड्डीको मजबूती कायम राख्छ।
    मधुमेहमा लाभदायक: मूलाका पातहरूको सेवन मधुमेह (डाइबिटिज) का बिरामीहरूका लागि पनि फाइदाजनक छ। यसमा उपस्थित फाइबरले रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्न र मधुमेहको जोखिम कम गर्न मद्दत गर्छ।

    मुटु र रक्तचाप नियन्त्रण: पातहरूमा म्याग्नेसियम र पोटासियम हुने भएकाले यसले मुटु र रक्तचापलाई नियन्त्रण गर्न सहायक हुन्छ।
    रक्त अल्पतामा राहत: मूलाका पातहरूमा आइरनको उपस्थिति रक्त निर्माणलाई बढवा दिन्छ र रक्त अल्पता (एनिमिया) जस्ता समस्याहरूमा राहत दिन्छ।
    कसरी खाने?

    मूलाका पातहरूलाई विभिन्न तरिकाले खान सकिन्छ।

    यसलाई सुप, सलाद वा तरकारीमा मिसाएर उपयोग गर्न सकिन्छ। हल्का स्टीम (बाफमा पकाएर) गरेर पनि यसको सेवन गर्न सकिन्छ, जसबाट यसको पोषक तत्त्वहरू सुरक्षित रहन्छन्।

    केही मानिसहरू मूलाका पातहरूको तरकारी बनाउँछन् वा यसलाई जुसमा पनि मिसाएर पिउँछन्। खानेकुराको यो तरिकाले शरीरलाई पौष्टिकता मात्र होइन, पाचन शक्तिलाई पनि मजबुत बनाउँछ।