Blog

  • आज बिहीबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

    आज बिहीबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष ३ गते । बिहीबार । इस्वी सन् २०२५ डिसेम्बर १८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–चतुर्दशी, ५४ घडी ५१ पला, रातको ४ बजेर ४६ मिनेट उप्रान्त औँसी । नक्षत्र–अनुराधा, ३४ घडी ४७ पला, बेलुकी ८ बजेर ४५ मिनेट उप्रान्त ज्येष्ठा । योग–धृति, २३ घडी ५८ पला, बेलुकी ४ बजेर २५ मिनेट उप्रान्त शूल । करण–भद्रा, दिउँसो ३ बजेर ४२ मिनेट उप्रान्त शकुनी, रातको ४ बजेर ४६ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–वृश्चिक ।
    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १० मिनेट । दिनमान २५घडी ५० पला ।

    आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा संकटको सामना गर्नु पर्ने हुन सक्छ । तापनि वित्तीय क्षेत्रमा लगानी गरी थोरै भए पनि नाफा कमाउन सकिनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) एकल तथा साझेदारी व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गर्दा आगामी दिनमा नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा सहपाठीहरूलाई किनारा लगाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने ऋणबाट मुक्त हुन सकिनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच विश्वास बढेर जानेछ । अफिसियल यात्राको गतिलो योग रहेको छ ।
    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययन तथा अध्यापनमा मन नजाँदा नतिजा वा उपलब्धि गुम्न सक्छ ध्यान दिनुहोला । प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग भए पनि टरेर जानेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सजक नबन्दा आफन्त टाढिनेछन् भने अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको कष्टकर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापारमा मन्दी आउने भए पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । छोटो समयका लागी हेरिने फाइदाले पछिलाई घाटा हुन सक्छ । योजनाहरू तत्काल सार्वजनिक नगर्नु नै उत्तम हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा पद गुम्ने खतरा रहेको छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) साहसी तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरूमा आत्मीयता थप प्रगाढ हुनेछ । अनलाइन व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वबाट सम्मान पाइने योग रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायमा नाफा कमाउन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोरी हुनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । सामाजिक क्षेत्रमा पद गुम्ने खतरा रहेको छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । पद प्राप्तिको गतिलो योग रहेको छ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तर पनि काम तथा अध्ययनको सिलसिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय वा शेयर बजारबाट केही मात्रामा लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनता तथा कार्यकर्ताको साथ समर्थन रहनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गरी पद प्राप्त हुने योग रहेको छ । राजनीतिमा जनता तथा कार्यकर्ताको समर्थन पाइनेछ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । इमानदारिता तथा लगनशीलताको उच्च मूल्याङ्कन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ध्यान दिनुहोला अवसरवादीहरूले फसाउन सक्छन् । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला कागजपत्र नमिल्नाले विलम्ब हुन सक्छ । तर पनि व्यापार व्यवसाय फस्टाएर जानेछ । राजनीतिज्ञको लागी उत्तम रहेको छ । प्रेमको डोरो कसिलो हुनेछ । प्रविधिको प्रयोग गरी अध्ययन वा कामलाई सहज बनाउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । सामाजिक संघ संस्था तथा प्रतिष्ठानबाट सम्मान पाइने समय रहेको छ ।
    तपाईँको दिन शुभ रहोस् ।

  • गोल्डेन फ्युचर इङ्गलिस स्कुलको स्पोर्टस् मिट आजदेखि सुरु

    गोल्डेन फ्युचर इङ्गलिस स्कुलको स्पोर्टस् मिट आजदेखि सुरु

    भरतपुर, २ पुसः
    भरतपुर–१३ स्थित गोल्डेन फ्युचर इङ्गलिस बोर्डिङ स्कुलको वार्षिक स्पोर्टस् मिट बुधबारदेखि सुरु भएको छ । स्पोर्टस् मिटको उद्घाटन अघि विद्यार्थीहरुले भरतपुर–१३, २२ र ६ नम्बर वडाको विभिन्न स्थानमा साइकल ¥याली निकालेका थिए । विद्यार्थीहरुले समुदायमा पुगेर विभिन्न प्रस्तुती समेत देखाएका थिए ।

    विभिन्न वडा परिक्रमा गरी साइकल ¥याली विद्यालयमा पुगेर समापन भएको थियो । स्थानीय आमा समूह, विद्यार्थी र शिक्षकहरुले सामुहिक रुपमा बेलुन उडाएर स्पोर्टस् मिटको औपचारिक रुपमा उद्घाटन गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने स्पोर्टस् मिटमा विद्यार्थीहरु भलिबल, क्रिकेट लगायतका विभिन्न खेलकुद गतिविधिमा सहभागी हुनेछन् ।

    विद्यालयका प्रिन्सिपल लिलानाथ चापागाई शर्माले विद्यार्थीलाई शारिरीक र मानसिक रुपले समेत स्वस्थ राख्न स्पोर्टस् मिटको आयोजना गरिएको बताए । ‘हामीले विद्यार्थीको चौतर्फी विकासको लागि सबै किसिमको ज्ञान दिँदै आएका छौँ’, उनले भने । यसपटक स्पोर्टस् मिट फरक किसिमले मनाइएको भन्दै उनले विद्यालयले किताबी ज्ञान मात्र नभई अतिरिक्त ज्ञानमा समेत जोड दिँदै आएको बताए ।

    हरेक शुक्रबारलाई ‘बुक फ्रि डे’को रुपमा मनाउने गरिएको बताउँदै उनले हरेक वर्ष स्पोर्टस् मिट सञ्चालन गर्ने गरिएको बताए । स्पोर्टस् मिटको उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधि, स्थानीय टोल विकास संस्थाका प्रतिनिधि लगायत सहभागी थिए ।

  • एमालेले भन्यो– मतदान आज रातभरि चल्नेछ

    एमालेले भन्यो– मतदान आज रातभरि चल्नेछ

    काठमाडौँ, २ पुस :
    नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधबार रातभरि मतदान चल्ने भएको छ।

    एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार साँझ ५ बजेर २ मिनेट जाँदासम्म ८०२ जनाले भोट हालेको र मतदान रातभरि चल्ने जानकारी दिए।

    उनले प्रतिव्यक्ति २० देखि २५ मिनेटमा भोट हाल्न सकिने अनुमान गरिएकोमा सोचेभन्दा बढी समय लागेको बताए।

  • एमाले निर्वाचन : ५० प्रतिशत मत खस्यो

    एमाले निर्वाचन : ५० प्रतिशत मत खस्यो

    काठमाडौँ, २ पुस :
    नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न ११औँ महाधिवेशनमार्फत गरिएको मतदानमा हालसम्म ५० प्रतिशत मत खसेको छ ।

    केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार बुधबार बिहान ८ बजेदेखि सुरु भएको मतदानमा राति ८ बजेसम्म एक हजार एक सय ५ मत खसेको हो ।

    २ हजार २ सय ६३ प्रतिनिधिमध्ये एक हजार एक सय ५ जनाले आफ्नो मत खसालेका हुन् । अब १ हजार एक सय ५८ मत खस्न बाँकी रहेको छ ।

    आयाेगका अनुसार दिउँसाेकाे तुलनामा अहिले छिटाे मतदान भइरहेकाे छ ।

    एमालेको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर मैदानमा उत्रिएका छन् ।

  • नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

    नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

    मोरङ, २ पुसः 
    नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने बताउनुभएको छ ।

    विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले त्यसका लागि सरकारले सुरक्षाको वातावरण, विभिन्न जेलबाट फरार भएका कैदी पक्राउ र लुटिएका हातहतियार बरामद गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले आफू तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस निर्वाचन र महाधिवेशनमा सँगसँगै जाने उल्लेख गर्नुभयो ।

    नेता कोइरालाले भन्नुभयो, “पार्टीको विधानअनुसार दुई पटक सभापति भइसक्नुभएका वर्तमान सभापति शेरबहादुर देउवा अब हुने महाधिवेशनमा सभापतिमा उठ्नु हुन्न ।”

    उहाँले तोकिएको समयमा निर्वाचन नभएमा पार्टीले संसद् पुनःस्थापनाको माग उठाउने धारणा राख्नुभयो । उहाँले  पार्टीको महाधिवेशन तोकिएको समयमा हुने तर क्रियाशील सदस्यको समस्या समाधान गर्न दुई/चार दिन मिति पछि सर्नसक्ने जानकारी दिनुभयो ।

  • एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान

    एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान

    काठमाडौँ, २ पुस :
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा हालसम्म ८०२ मत खसेको छ ।

    महाधिवेशन स्थल भृकुटीमण्डपमा जारी मतदानमा अहिले ५ः०० बजेसम्म ८०२ जनाले मतदान गरिसक्नुभएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो ।

    बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको हो । उहाँले मतदानमा मतदाताले ढिलोमा दुई घण्टा पाँच मिनेट र छिटोमा नौ मिनेटससम्म समय लगाएर मतदान गर्नु भएको बताउनुभयो । उहाँका अनुसार मतदान गर्नका लागि सरदर एक जना मतदातालाई २५ देखि ३० मिनेट लाग्ने गरेको छ ।

    उहाँले साँझ ८ः०० बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभयो । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।

    एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिव ६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा ८० वटा विद्युतीय भोटिङ् मेसिन प्रयोगमा ल्याइएको  छ ।

    आयोगका उपाध्यक्ष पोखरेलका अनुसार मतदान सकिएको दुई घण्टामा परिमाण सार्वजनिक हुनेछ । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

  • एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

    एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

    भरतपुर, २ पुस 
    एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले बुधबार आयोजना गरेको शैक्षिक मेला ‘ग्लोबल स्टडी फेस्टः क्यानडा–न्युजिल्याण्ड’ मा विद्यार्थीको घुइँचो लागेको छ ।

    भरतपुर–१०, स्थित एक्सपर्ट बेसक्याम्पमा गरिएको मेलामा विद्यार्थीहरुको दिनभर भीड लागेको थियो ।

    फेस्टमा क्यानडा र न्युजिल्याण्डका डेढ दर्जन युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा जानकारी लिएको एक्सपर्टका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए । बिहान १० बजेदेखि सुरु भएको मेलामा अबेरसम्म विद्यार्थी उपस्थित थिए । उनीहरुले प्रत्यक्षरूपमा युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट नै प्रक्रिया र पढ्ने अवसरको बारेमा सबै जानकारी पाएकोमा खुसी व्यक्त गरे ।

    एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मेलामा सहभागी सबै विद्यार्थीहरुलाई धन्यवाद दिए । ‘ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीको उल्लेख्य उपस्थिति रह्यो, केही वर्षपछि जाने तयारीमा रहेका विद्यार्थीहरु समेत उपस्थित भएर मेलाको फाइदा उठाउनुभएको छ’–अधिकारीले भने ।

    फेस्टको बैंकिङ पार्टनरमा माछापुँछ«े बैंक रहेको थियो । विद्यार्थीहरुले त्यहाँबाट वैदेशिक अध्ययनमा जाँदा गर्नुपर्ने बैंकिङ प्रबन्धको बारेमा पनि जानकारी लिएका छन् ।

    एक्सपर्टले २२ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए तथा न्युजिल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिने अपरेसन म्यानेजर किरण पौडेलले जानकारी दिए ।

  • पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

    पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

    भद्रपुर (झापा), पुस २-
    आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५ दशमलव ८१ प्रतिशत हो ।

    आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले जानकारी दिनुभयो । “चालु आवको पहिलो पाँच महिनामा रु एक अर्ब ३६ करोड नौ लाख ७० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८४ दशमलव ५० प्रतिशत राजस्व सङ्कलन भयो”, उहाँले भन्नुभयो ।

    आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको पाँच महिनामा आयकरबाट रु ४२ करोड ८८ लाख ३८ हजार, मूल्य अभिवृद्धि करबापत रु ४० करोड ५२ लाख ५८ हजार अन्तः शुल्कबापत रु २६ करोड १० लाख ८४ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८१/०८२ को मङ्सिर मसान्तसम्ममा रु एक अर्ब आठ करोड ८५ लाख २४ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत थापाले जानकारी दिनुभयो ।

    कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिलका लागि निरन्तर बजार अनुगमन र निगरानी गर्नुका साथै लाभग्राही केन्द्रित व्यवहारिक कर शिक्षा प्रदान गर्ने काम भइरहेको प्रमुख कर अधिकृत थापाले बताउनुभयो । रासस

  • भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’

    भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’

    काठमाडौँ, पुस २-
    हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्नुभएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ यही पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शन हुनेभएको छ ।

    सो चलचित्रको विषयमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित कार्यक्रममा निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “चलचित्रकर्मीको दायित्व मनोरञ्जन दिने मात्र नभई समाजलाई जागरुक बनाउने पनि हो । सोही मूल्यमान्यतालाई आत्मसात् गरी भ्रष्टाचार र सामाजिक विकृतिका विरुद्ध आवाज उठाउँदै देश र जनताका पक्षमा चलचित्र निर्माण गरेको छु । देशभक्त सच्चा नागरिकले सोच्ने कोणबाट चलचित्र तयार गरिएको छ ।”

    गत जेन्जी आन्दोलनअघि नै चलचित्रको छायाङ्कन सकिएको उल्लेख गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार, बेथिति र विसङ्गति विरुद्धको आवाजलाई चलचित्रमार्फत् उजागर गर्न यथासक्य प्रयास गरिएको बताउनभयो । उहाँले चलचित्रले सामाजिक सन्देश प्रवाह गरेता पनि त्यसको शैली चलचित्रकै रहेको स्पष्ट पार्नुभयो ।

    निर्देशक घिमिरेले चलचित्रको नामले नै कथाको सङ्केत गरेको बताउँदै ‘झरीपछिको इन्द्रेणी’लाई अध्यारोपछिको उज्यालोको रूपमा बुझ्न आग्रह गर्नुभयो ।

    उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

    अभिनेता रमेश उप्रेतीले चलचित्रले अहिलेको समग्र देशको अवस्थालाई चित्रण गरेको बताउनुभयो । “मैले धेरै समयपछि यो चलचित्रमा काम गरेँ, किनकी यसको विषयवस्तु ठूलो पर्दामार्फत दर्शकमाझ पुग्नुपर्छ भन्ने लाग्यो । आम नागरिकको कथामा बनेको चलचित्रलाई एउटा कलाकारले कलाको माध्यमले न्याय दिनुपर्छ भन्ने महसुस गरी काम गरेका छौँ”, उहाँले भन्नुभयो ।

    यसै चलचित्रमार्फत नव कलाकारका रूपमा विमोचन दवाडी देखिँदै हुनुहुन्छ । उमेरले जेनजी पुस्ताका कलाकार दवाडीले आफ्नो पुस्ताको भावना र आवाजलाई चलचित्रमा समेटिएको बताउनुभयो ।

    “म आफैँले पनि चलचित्रको कथा र पात्रसँग ‘कनेक्ट’ भएको महसूस गरेँ । पहिलो चलचित्र पाउनुको खुसीसँगै मेरो पुस्ताको कथा पाउँदा म आफूलाई भाग्यमानी महसुस गर्छु । अहिले मसँगका धेरै साथी विदेशमा गएर अध्ययन गर्ने र भविष्य बनाउने सोचमा हुनहुन्छ । अहिले नेपालमै बस्नु भनेको रहर नभई बाध्यताका रूपमा पनि बुझ्ने गरिएको छ, त्यो प्रवृतिलाई चलचित्रमा समेटिएको छ र समाधान पनि दिइएको छ ।”, उहाँले भन्नुभयो ।

    नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको उक्त चलचित्रमा निर्देशक घिमिरेले कथा लेखन, गणेश कार्की तथा विशाल घिमिरेले पटकथा लेखन र बुद्ध थापाले छायाङ्कन गर्नुभएको छ । रासस

  • ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

    ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

    काठमाडौँ, पुस २ –
    काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

    मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोदा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “आज बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार न्यौपाने गम्भीर घाइते हुनुभएको थियो । उहाँको आज उपचारका क्रममा मृत्यु भएको हो ।”

    यसैगरी उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोदा अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो । रासस