Blog

  • रवि र छविको मुद्दा बुटवल उच्च अदालतको एक नम्बर इजलासमा

    रवि र छविको मुद्दा बुटवल उच्च अदालतको एक नम्बर इजलासमा

    रुपन्देही, पुस ३-
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुरको बुटवल इजलास अन्तर्गत एक नम्बर इजलासमा परेको छ । लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा छन् ।

    यो मुद्दा एक नम्बर इजलासमा न्यायधिश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा परेको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुँवरले जानकारी दिए । मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो ।

  • ‘अङ्कुरम् जुनियर म्याथ च्यालेन्ज’ : बालबालिकाको तार्किक क्षमता अभिवृद्धि गर्ने अवसर

    ‘अङ्कुरम् जुनियर म्याथ च्यालेन्ज’ : बालबालिकाको तार्किक क्षमता अभिवृद्धि गर्ने अवसर

    भरतपुर,पुस ३-
    विद्यार्थीको गणितीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘जुनियर म्याथ च्यालेन्ज १.०’ प्रतियोगिता आयोजना गरिएको छ । प्राथमिक तहका बालबालिकामा गणितप्रतिको रुचि बढाउने, तार्किक सोचको विकास गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउँदै विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा चितवनका विभिन्न स्कुलका २५ समूहको सहभागिता रहेको थियो ।

    भरतपुर–७, कृष्णपुरस्थित अङ्कुम् एकेडेमीको आयोजनामा सम्पन्न प्रतियिोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा समस्या समाधान गर्ने सीपको विकास गराउनु रहेको विद्यालयको गणित विभागका हेड अफ डिपार्टमेन्ट विनोद अधिकारीले जानकारी दिए । उनले भने, ‘सहभागी विद्यार्थीको स्तरअनुसार प्रश्नहरू तयार पारिएको थियो जुन प्रश्नले प्रतियोगीलाई सोच्न, विश्लेषण गर्न र समाधान खोज्न प्रेरित ग¥यो ।’ प्राथमिक तहका गणितीय अवधारणाहरूलाई विद्यार्थीले व्यावहारिक र सिर्जनात्मक तरिकाले बुझ्न सकून् भन्ने उद्देश्यले प्रश्नहरू तयार पारिएको उनले बताए ।

    प्रतियोगितामा वाल्कीकी शिक्षा सदनका रिदम सापकोटा र प्रिसा अधिकारीको टिम पहिलो, डन एकेडेमीका विधान दुवाडी र स्मारिका डल्लाकोटीको टिम दोस्रो र स्मल हेभन मोडल स्कुल आँपटारीा स्वर्णिमा पन्त र रिजन गाहामगरको टिमले तेस्रो स्थान हासिल गरे । पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद पुरस्कार रु. सात हजार ५००, पाँच हजार र तीन हजार तथा मेडल र प्रमाणपत्र पाए ।

    कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गरेका गणित शिक्षक माधव पोखरेलका अनुसार प्राथमिक तहको कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धात्मक भावना र सामूहिक भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । प्रतिस्पर्धाबाट विद्यार्थीहरूले नियमको पालना गर्न, एकाआपसमा सदासयता दर्शाउन, सफलतामा खुशी हुन र असफलतामा धैर्य गर्न सिकेको उनले बताए ।

    यसले बालबालिकामा सकारात्मक सोच र आत्मविश्वास बढाउन सहयोग पु¥याएको तहप्रमुख अर्जुन जी शर्माले जानकारी दिए । प्रतिस्पर्धाबाट विद्यार्थीमा आत्मअनुशासन, समय व्यवस्थापन तथा आत्ममूल्याङ्कनजस्ता जीवनोपयोगी सीपको विकास गर्न सहयोग पुगेको उनले बताए । सीमित समयमै प्रश्न समाधान गर्नुपर्ने नियमका कारण विद्यार्थीहरूमा समयको सदुपयोग गने सीपको विकास भएको उनको भनाइ थियो ।

  • सुनको मुल्य फेरी बढेर दुई लाख ६० हजार भन्दा माथि

    सुनको मुल्य फेरी बढेर दुई लाख ६० हजार भन्दा माथि

    काठमाडौँ ,पुस ३-
    नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला सात सय रूपैयाँ बढेर दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

    बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार सात सय रूपैयाँमा कायम भएको थियो।

    यस्तै, बिहीबार चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार तोलामा चार हजार ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • एमाले महाधिवेशन: महासचिव पदमा शंकर पोखरेलको शुरुआती अग्रता

    एमाले महाधिवेशन: महासचिव पदमा शंकर पोखरेलको शुरुआती अग्रता

    काठमाडौँ, पुस ३ –
    नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा महासचिव पदमा शंकर पोखरेलले शुरुआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार पाण्डे पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको मत १०८ छ ।

  • एमाले महाधिवेशनः मतगणना सुरु

    एमाले महाधिवेशनः मतगणना सुरु

    काठमाडौँ, पुस ३ –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।

    महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताउनुभयो । आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको र ३६ प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।

    एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७ः०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए । रासस

  • एमाले महाधिवेशनः अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

    एमाले महाधिवेशनः अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

    काठमाडौं,पुस ३-
    नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५७ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।

  • मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

    मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

    महेन्द्रनगर (धनुषा), पुस ३ –
    मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने हुनुभएको छ ।
    मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाउनु भएको थियो । मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्राचार गरिएको हो । संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

    मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

    प्रदेशसभामा विद्यमान अवस्थाअनुसार मुख्यमन्त्री यादवले सहजै विश्वासको मत प्राप्त गर्ने अनुमान गरिएको छ । विश्वासको मत प्राप्त गरेपछि मधेस प्रदेश सरकारको कार्यकाल थप स्थिर हुने र बजेट कार्यान्वयन, विकास निर्माण तथा सुशासनका कार्यमा सरकार अझ सक्रिय हुने अपेक्षा गरिएको छ ।

    सभामुखका लागि पुस ६ गते निर्वाचन हुने

    यसैबीच मधेस प्रदेशसभाको सभामुखका लागि यही पुस ६ गते निर्वाचन हुने भएको छ । प्रदेशसभा बैठकमा उपसभामुख बबिता राउत ईशरले सभामुख निर्वाचनको मिति तय भएको बताउनुभयो । प्रदेशसभाको सभामुख पद रिक्त रहेकाले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७ बमोजिम निर्वाचन प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

    निर्वाचनका लागि पुस ५ गते सभामुख निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालालाई निर्देशन दिइएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख ईशरले राष्ट्रपति कार्यालय, प्रदेश प्रमुखको कार्यालय तथा सर्वोच्च अदालतबाट प्राप्त विभिन्न विषयका पत्रहरू बैठकमा पढेर सुनाउनु भएको थियो ।

    प्रदेशसभाको अर्को बैठक पुस ४ गते शुक्रबार साँझ ४ बजे बस्ने जनाइएको छ । रासस

  • निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

    निर्वाचन ७७ दिन बाँकीः निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

    काठमाडौँ, पुस ३ –
    निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ ।

    ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ तयार पारी आयोगले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । स्रोत सामग्रीमा सात वटा परिच्छेदमा विभिन्न विषयवस्तु समावेश गरिएका छन् ।

    परिच्छेद एकमा लोकन्त्र र संविधान, परिच्छेद दुईमा निर्वाचन तथा राजनैतिक दलसम्बन्धी व्यवस्था, परिच्छेद तीनमा निर्वाचन प्रणाली, विभिन्न तहको निर्वाचन तथा समावेशिता, परिच्छेद चारमा निर्वाचन चक्र, प्रक्रिया (मतदान प्रक्रिया, नोटा (नो भोट) मतगणना आदि) बारे विषयवस्तु समावेश छन् ।

    यसैगरी परिच्छेद पाँचमा निर्वाचन व्यवस्थापन गर्ने निकाय तथा सम्बद्ध कानुन, परिच्छेद छमा निर्वाचन आचारसंहिताको पालना, अनुगमन र पर्यवेक्षण र परिच्छेद सातमा निर्वाचनका सरोकारवालाहरू, नागरिकको कर्तव्य र अधिकार तथा निर्वाचन प्रक्रियामा शिक्षकको भूमिका, निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमणसम्बन्धी विषय उल्लेख छन् । रासस

  • तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

    तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

    दमौली (तनहुँ), पुस ३ –
    यहाँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्यालयले स्थलगत रुपमै उत्पादन र बजारीकरणसम्बन्धी विवरण सङ्कलन सुरु गरेको हो । तनहुँबाट वार्षिक करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारले कार्यालयले सुन्तला बगैँचा अवलोकनका साथै देखिएका समस्या तथा सम्भावित समाधानका उपायबारे किसानलाई जानकारी गराइएको बताउनुभयो ।

    अघिल्लो वर्षको सुन्तलामा यस वर्ष सुन्तला उत्पादन वृद्धि हुने अनुमान छ । बेनीकोटका किसान दलबहादुर थापाले केही वर्षयता सुन्तलाका बोटहरु सुक्दै जाने समस्या देखिएको बताउनुभयो । उहाँका अनुसार बेनीकोटबाट यस वर्षमात्रै रु दुई करोड बढीको सुन्तला बिक्री भइसकेको छ । यहाँ १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् । कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाबाट रु ४२ करोड ५० लाखको सुन्तला बिक्री भएको थियो । त्यतिबेला एक हजार ६५७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएकामा ९६८ हेक्टर क्षेत्रफलमा पाँच हजार ८३१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

    त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो । त्यतिबेला तीन हजार ७५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाका आठ हजार ६७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तलाखेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । रासस

  • एमालेको महाधिवेशन: २२ घण्टापछि सकियो मतदान, २ हजार २ सय २७ मत खस्यो

    एमालेको महाधिवेशन: २२ घण्टापछि सकियो मतदान, २ हजार २ सय २७ मत खस्यो

    काठमाडौँ पुस ३
    नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए । यो ९८.०४ प्रतिशत हो । ३६ जना भने मतदानमा अनुपस्थित रहेका छन् ।

    बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज (बिहीबार) बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए ।

    मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन भएको एमालेको महाधिवेशन मङ्सिर २८ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा प्रवेश गरेको थियो । २८ गते बिहान ७ः३० बजे सुरु हुने भनिएको बन्दसत्र अन्तिम समयमा अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी बैठकका कारण दिउँसो ३ः३० बजे मात्र सुरु भएको थियो ।

    नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदानको कार्यतालिका सार्वजनिक गरिए पनि पटक–पटक सर्दै मतदान पुस २ गते बिहान ९ः३० बजेबाट सुरु भएको थियो ।

    अध्यक्ष पदका लागि दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ ।

    त्यस्तै, शक्तिशाली मानिने महासचिव पदमा पनि दुई जनाबिच मात्र प्रतिस्पर्धामा उत्रिएका छन् । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

    विधानअनुसार पाँच जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि ११ जना नेताहरूले उम्मेदवारी दिएका छन् । यस्तै, तीन जना निर्वाचित हुने उपमहासचिव पदमा छ जनाको उम्मेदवारी परेको छ ।

    नौ सिट रहेको सचिव पदमा सबैभन्दा बढी आकर्षण देखिएको छ । सचिव पदका लागि २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । सचिव बन्नका लागि गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, अग्नि खरेल, शेरधन राई लगायतका नेताहरूले उम्मेदवारी दिएका छन् ।

    यसअघि मङ्सिर २८ गते १० महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै भदौ २०–२२ गते गोदावरीमा भएको विधान महाधिवेशनले गरेको निर्णय उल्टाएको थियो ।

    विधान महाधिवेशनले केन्द्रीय कमिटीको आकार २५१ सदस्यीय पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो ।

    अध्यक्ष केपी शर्मा ओलीले २८ गतेको अन्तिम केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राखेका थिए । सोही अनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९ जना बनाइएको थियो । वरिष्ठ उपाध्यक्ष पद थपिएन । विगतमा सो पद रहेको थियो ।

    निर्वाचन आयोगले २८ गते आइतबार साँझ निर्वाचन कार्यतलिका प्रकाशन गरेको थियो । आइतबार प्रकाशन गरिएको कार्यतालिका अनुसार पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहे पनि पटक पटक संशोधन हुँदै मंगलबार साँझ पुर्‍याइएको थियो । मंगलबार साँझ अन्तिम समयमा प्राविधिक कारण देखाउँदै मतदान पुस २ गते बुधबार बिहान ८ बजेलाई सारिएको थियो । बिहान ८ बजे देखि हुने भनिएको मतदान साढे एक घण्टा ढिला गरी ९ बजेमात्र सुरु भएको थियो ।