Blog

  • यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी

    यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी

    काठमाडौँ, पुस ३ –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी हुनुभएको छ ।

    त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी हुनुभएको छ ।

    त्यसैगरी, सचिव महेश बस्नेतले १५४४मत, छविलाल विश्वकर्माले १५०६मत, पद्माकुमारी अर्यालले १५३०मत , शेरधन राईले १५०३मत , हिक्मतकुमार कार्कीले १३३७मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी हुनुभएकोे छ । रासस

  • एमालेको चुनावी परिणाम : संस्थापन पक्षको प्रभूत्व, यस्तो बन्यो पदाधिकारी टिम

    एमालेको चुनावी परिणाम : संस्थापन पक्षको प्रभूत्व, यस्तो बन्यो पदाधिकारी टिम

    पुष ३,काठमाडौं ।
    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश अध्यक्ष केपी ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।

    एमाले अध्यक्षमा केपी शर्मा ओली भारी अन्तरालले विजयी भए । उनका प्रतिस्पर्धी ईश्वर पोखरेललाई अपेक्षित मत आएन । महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन् ।

    संस्थापन इतर वा ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराईले जितेका छन् । १९ सदस्यिय पदाधिकारीमा १७ जना संस्थापन पक्षका छन् ।
    यस्तो बन्यो पदाधिकारी टिम

    अध्यक्ष : केपी शर्मा ओली
    उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त
    महासचिव : शंकर पोखरेल

    उपमहासचिव
    लेखराज भट्ट
    रघुवीर महासेठ
    योगेश भट्टराई

    सचिव
    महेश बस्नेत
    पद्माकुमारी अर्याल
    छविलाल विश्वकर्मा
    शेरधन राई
    हिक्मत कुमार कार्की
    खगराज अधिकारी
    यामलाल कँडेल
    राजन भट्टराई
    भानुभक्त ढकाल

  • ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

    पुष ३,भरतपुर –
    नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) चितवनको १४औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट भोजबहादुर खड्का अध्यक्षमा निर्वाचित भएका छन्।

    भोज बहादुर खड्का २८ मतका साथ विजयी भएका हुन् ।प्रतिद्वन्दीद्वय सुदिप भट्टराईको २१ र प्रज्वल पौडेलको ११ मत ल्याएका छन् ।

    आइएमआइएस एजुकेशनका सञ्चालक खड्काले तीन प्यानलबीच भएको प्रतिस्पर्धामा जीत हासिल गरेका हुन्।

    त्यस्तै उपाध्यक्षमा मेघराज कंडेल, सचीव लक्ष्मण कंडेल, कोषाध्यक्ष गोकर्ण अर्याल, सदस्यहरुमा रुपेश गौतम, विशाल थापा, वसन्त पराजुली र प्रचण्ड राज न्यौपाने निर्वाचित भएका छन् ।

    कुल ५८ मतका लागि भएको निर्वाचनमा खड्कासँग पेनग्युइन एजुकेशनका सञ्चालक सुदिप भट्टराई र आकारुई एजुकेशनका सञ्चालक प्रज्वल पौडेल प्रतिस्पर्धामा थिए।

    नवनिर्वाचित अध्यक्ष खड्काले पारदर्शिता, स्वस्थ प्रतिस्पर्धा र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै ई–क्यान चितवनलाई थप व्यवस्थित र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै आजै मध्यरातसम्म नयाँ कार्यसमितिको घोषणा गरिएको ई–क्यान चितवनका वर्तमान अध्यक्ष दिपकचन्द्र भट्टराईले जानकारी दिए।

  • नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

    नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

    काठमाडौँ, पुस ३ –
    नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले कम्बोडिया–नेपाल बी२बी व्यापारिक अन्तरक्रिया कार्यक्रम २०२६ आयोजना हुने भएको छ ।

    आगामी पुसको अन्तिम साता कम्बोडियामा आयोजना हुन लागेको कार्यक्रम कम्बोडियाको जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेयसएम कम्बोडिया) द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्रमको व्यवस्थापन गर्ने बताइएको छ ।

    कार्यक्रममा नेपालतर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स,लगायत पर्यटन, उड्डयन, यात्रा–पर्यटन, उत्पादन, संस्कृति, प्रविधि तथा आयात–निर्यात क्षेत्रका व्यावसायिक प्रतिनिधिहरूको सहभागिता रहनेछ । कम्बोडियातर्फबाट कम्बोडिया चेम्बर अफ कमर्स, पर्यटन तथा आतिथ्य सङ्घ संस्था, उड्डयान कम्पनी, निजी लगानी समूह, व्यापारिक संस्था तथा सांस्कृतिक–सिर्जनात्मक क्षेत्रका प्रतिनिधि सहभागी हुने कार्यक्रम संयोजक रामप्रसाद पाध्याले जानकारी दिनुभयो । उहाँका अनुसार एसियन मुलुकका व्यवसायी, कलाकार, उद्यमी र नवप्रवर्तकहरूलाई नेटवर्किङ र अनुभव आदानप्रदानको प्लेटफर्म पनि प्रदान गर्नेछ ।

    यसमार्फत नेपाल र कम्बोडियाबीचको द्विपक्षीय मित्रता, सांस्कृतिक कूटनीति र पर्यटन प्रवद्र्धनलाई थप बल मिल्ने अपेक्षा गरिएको गैरआवासीय नेपाली सङ्घ कम्बोडियाका पूर्व अध्यक्ष एवं व्यवसायी लालसिंह खड्काले बताउनुभयो । कार्यक्रमअन्तर्गत नेपाल–कम्बोडियाका व्यवसायीकहरुबीच लगानी तथा व्यापारीक भेटघाट, क्षेत्रगत छलफल, व्यापारिक नेटवर्किङ तथा नीतिगत संवाद सञ्चालन गरिनेछ । पर्यटन तथा आतिथ्य, उड्डयन, यात्रा सेवा, कृषि, उत्पादन, रियल स्टेट, सांस्कृतिक तथा सिर्जनात्मक उद्योग र डिजिटल नवप्रवर्तन जस्ता उच्च सम्भावनायुक्त क्षेत्रमा संयुक्त लगानी र सहकार्यका अवसर पहिचान गरिनेछ । कार्यक्रमको विशेष आकर्षणका रूपमा दुवै देशबीचको आर्थिक विकास, नवप्रवर्तन र द्विपक्षीय सहकार्यमा योगदान पु¥याउने उत्कृष्ट उद्यमी, उद्योगपति तथा संस्थाहरूलाई ‘इन्टरनेशनल एक्सिलेन्स अवार्डबाट सम्मान गरिनेछ । यो अवार्ड समारोहले कम्बोडियालगायत एसियन मुलुकका विभिन्न क्षेत्रमा सफल र सक्रिय उद्योगी, कलाकार, नवप्रवर्तन, पर्यटन, शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रका असाधारण योगदान दिएका व्यक्तित्व र संस्थाहरूलाई अवार्ड सम्मान प्रदान गर्नेछ ।

    एसियन मुलुकभरका पेसागत र संस्थागत व्यक्तित्वको योगदानलाई मान्यता दिने र अन्तरराष्ट्रिय सहयोग तथा सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्न ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड प्रदान गर्न लागिएको कार्यक्रम व्यवस्थापक प्रदीपराज वन्तले बताउनुभयो । अन्तरराष्ट्रिय व्यापार सम्मेलन २०२६ कार्यक्रम केवल व्यापारिक भेटघाट मात्र नभइ दुवै देशबीच दीर्घकालीन साझेदारी, जनस्तरको सम्बन्ध विस्तार र साझा समृद्धिको आधार निर्माण गर्ने महत्वपूर्ण मञ्चको रुपमा रहेको र यसले द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन विकास र लगानी विस्तारमा उल्लेखनीय योगदान पु¥याउने विश्वास गरिएको व्यवसायी खड्काले बताउनुभयो ।

    यसैबीच कम्बोडियाका चेम्बर अफ कर्मसका डाइरेक्टर जनरल डेपुटी डाइरेकटर जनरललगायत अन्य पदाधिकारी र नेपाल चेम्बरआफ कर्मसका अध्यक्षलगायत अन्य प्रतिनिधि र विभिन्न व्यवसायीहरुसँग भेटघाट भइसकेको छ । कम्बोडिया सरकारका पर्यटन उपमन्त्रीका राज्य सचिव डा थोक सोखोम, पर्यटन मन्त्रालयका सचिव कुच पन्नहासा र कम्बोडियन ट्रेड प्रमोशन एसोसिएसनका संस्थापक अध्यक्ष जेसी म्याककुलसँग दुई देशबीचको पर्यटन आदानप्रदान प्रवद्र्धन तथा नेपाल र कम्बोडियाका व्यवसायीबीच हुने व्यावसायिक भेटघाट कार्यक्रमलाई कसरी व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको कार्यक्रम संयोजक पाध्याले जानकारी दिनुुभयो । रासस

  • ओली प्यानलकै उम्मेदवार अगाडि

    ओली प्यानलकै उम्मेदवार अगाडि

    काठमाडौँ, पुस ३-
    नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको परिणाम अनुसार, ओली प्यानलकै वर्चश्व देखिएको छ । अध्यक्षमा केपी शर्मा ओली, महासचिवमा शंकर पोखरेलले सुरुदेखि नै अग्रता बनाइरहेका छन् ।

    पछिल्लो परिणाम अनुसार, ओलीले ८४३ र ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् । महासचिवमा शंकर पोखरेलले ६१३ मत प्राप्त गरेका छन् भने सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, उपाध्यक्षमा पनि ओली प्यानलबाटै उम्मेदवार बनेकाहरूको अग्रता देखिन्छ । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । उपाध्यक्षको दोस्रो स्थानमा विष्णु प्रसाद पौडेल छन् । त्यसपछि राम बहादुर थापा छन् । उनीहरू ओली प्यानलका हुन् ।

    उपमहासचिवमा ओली प्यानलबाट लेखराज भट्ट र रघुवीर महासेठ अगाडि छन् । योगेश भट्टराई तेस्रो नम्बरमा छन् । भट्टराई ईश्वर पोखरेल प्यानलबाट निर्वाचनमा सहभागी भएका थिए ।

    सचिवमा पनि महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, शेरधन राई अगाडि छन् । उनीहरू सबै ओली प्यानलबाट उम्मेदवार बनेका हुन् ।

  • एमाले सचिवको मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि

    एमाले सचिवको मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि

    काठमाडौँ,पुस ३ –
    नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत भएको चुनावको मतगणना जारी छ । जारी मतगणनामा सचिव पदमा सबैभन्दा धेरै मतान्तरसहित महेश बस्नेत अगाडि छन् । १ हजार १३९ मत गन्दा बस्नेतले ७८३ मत पाएका छन् । पद्मा कुमारी अर्यालले ७७८ र छविलाल विश्वकर्माले ७६९ मत पाएका छन् ।

  • जनता भोट हाल्न आतुर छन्, देश चुनावमा होमिइसक्यो : मन्त्री खरेल

    जनता भोट हाल्न आतुर छन्, देश चुनावमा होमिइसक्यो : मन्त्री खरेल

    ३ पुस, काठमाडौं ।
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरू निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन् ।

    बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरू निर्वाचनमा होमिएको बताएका हुन् ।

    राजनीतिक दलहरूले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको बताउँदै उनले निर्वाचनको तयारी स्वरुप कतिपय राजनीतिक दलहरूले गाउँदेखि शहरसम्म अभियान चलाएको उल्लेख गरे ।

    ‘कतिपय राजनितिक दल महाधिवेशन गर्दै हुनुहुन्छ, गर्नेवाला हुुनुहुन्छ, गाउँदेखी शहरसम्म अभियान चलाउनुभएको छ । यहाँहरूलाई जानकारी गराउँ, उम्मेद्वारको नाम सिफारिस भइरहेको छ । समानुपातिकमा नाम सिफारिस भइरहेको छ,’ मन्त्री खरेलले भने, ‘भनेपछि राजनितिक दलहरू चुनावमा होमिनु भइसकेको छ । सरकार सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर चुनावलाई सफल बनाउने वातावरणमा सरकारले त्यो काम गरिरहेको छ । जनता भोट हाल्न आतुर छन् । निर्वाचन अव उत्सव होइन, महोत्सव बन्दैछ । मुलुक निर्वाचनमा अगाडी बढिसक्यो ।’

    फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरू थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको दाबी पनि गरे ।

    निर्वाचनमा भोट हाल्न जनता पनि आतुर रहेको उनको भनाइ छ ।

    ‘सरकार अर्न्तगनका निकायहरूलाई पनि हामीले त्यो स्वतन्त्रता दिएका छौँ र भ्रष्टाचार नियन्त्रणसम्बन्धि मुद्दाहरू अहिले मज्जाले अगाडी बढिरहेको छ । सुशासनका कामको सुरुवात हामीले गरेका छौँ । निर्वाचनको कुरा गर्दा फागुन २१ मा निर्वाचन हुँदैछ । निर्वाचन आयोग द्रुत गतिमा काम गरिरहेको छ । ८ लाख भन्दा बढी नयाँ मतदाताहरूले उत्साहपुर्वक रुपमा मतदाता नामावली दर्ता गरेका छन् । करिब करिब सवै राजनीतिक दलहरू चुनावमा होमिइसकेको देख्छौं,’ मन्त्री खरेलले भने ।

    सरकारले सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको पनि उहाँले जानकारी दिए ।

    वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेटअनुसार नै चलेको बताउँदै उनले निर्वाचनको तयारी तिब्र गतिमा बढेको उल्लेख गरे ।

    ‘यो सरकारले जेन–जी आन्दोलनपछि हामीले तीन वटा म्याण्डेट पाएका छौं । भ्रष्टाचार नियन्त्रणका कामहरू अगाडी बढाउने, त्यसको लागी ऐतिहासिक रुपमा तीन महिनाको अवधिमा ३० वटा भन्दा बढी भ्रष्टाचारका मुद्दाहरू अहिले अदालत पुगेका छन् र कारबाही अगाडी बढेको छ,’ मनत्री खरेलले भने, ‘यसमा यो सरकारले बढाएको भन्न खोजेको होईन, विगतका दिनहरूमा जुन खालको प्रभाव र दबाबमा मुद्दाहरू अगाडी बढ्न नसक्ने अवस्था थियो, हामीले अहिले राज्यका निकायहरूलाई स्वतन्त्र रुपमा काम गर्नको लागी सरकारको तर्फबाट बनाउनुपर्ने वातावरण बनाएका छौं,’ उनले भने ।

  • तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल

    तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल

    पाटन (ललितपुर), पुस ३ –
    अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको बताउनुभएको छ ।

    अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा आज आयोजित ‘गोरखापत्र डिस्कोर्स’ को उद्घाटन समारोहमा मन्त्री खनालले बितेको तीन महिनाको तथ्याङ्कले नेपालको अर्थतन्त्र चलायमान भएको पुष्टि गर्ने धारणा राख्नुभयो ।

    युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उहाँले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिनुभयो ।

    “गएको तीन महिनामा १० प्रतिशतको हाराहारीमा राजस्व वृद्धि भएको छ । उत्पादकत्व र उत्पादन वृद्धि भइरहेको छ, अन्तरिम सरकारले छोटो अवधिमा पनि सुधार गर्दै लगानीको वातावरण तयार गरेको भनेर चिनियाँ लगानीकर्ताले प्रशंसा गरिरहनुभएको छ”, अर्थमन्त्री खनालले भन्नुभयो ।

    मन्त्री खनालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै यस क्षेत्रमा रहेको तरलता व्यवस्थापन र लगानीको वातावरण तयारका लागि सरकारले येजनाबद्ध काम गरिरहेको बताउनुभयो ।

    नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले गोरखापत्रले गरिरहेको कामले ज्ञानको दायरा बढाउने बताउँदै पुराना पत्रिका अध्यायन अनुसन्धानका लागि अर्थविद्हरू प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार विकासलाई जोड दिनुपर्ने बताउँदै उहाँले सरकारले ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न नेपाल राष्ट्र बंैक तत्पर रहेकामा जोड दिनुभयो ।

    गभर्नर डा पौडेलले निजी व्यवसायीलाई उच्चमनोबलका साथ काम गर्न प्रोत्साहित गर्दै निष्पक्ष रूपमा हुने आगामी निर्वाचनले स्थायित्व कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले समाचारका साथसाथै बहसको माध्यमबाट नेपाली अर्थतन्त्रमा देखिएको रिक्तता पूर्ति गर्दै चुनौतीलाई चिर्न र आशाको सञ्चार गर्न यो बहस आयोजना गरिएको बताउनुभयो ।

    उहाँका अनुसार नेपालको आर्थिक पुनरुत्थान, लगानीको वातावरण बनाउन र भविष्यका विकास, रणनीतिबारे उच्चस्तरीय राष्ट्रिय बहसका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकार भएका निकायका प्रतिनिधिबीच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरको पहिचान गर्ने उद्देश्यले संस्थानले पहिलोपटक ‘गोरखापत्र डिस्कोर्स अन रिकभरी एण्ड रिजिलेन्स’ शीर्षकमा कार्यक्रम आयोजना गरेको हो ।

    पहिलोपटक भइरहेको यस डिस्कोर्समा ‘स्मार्ट पूर्वाधारः विकास र व्यवस्थापन’, ‘कस्तो मनोबल?’ र ‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ विषयमा शीर्षकगत तीन वटा छलफलसत्र हुँदैछन् । गोरखापत्र विसं १९५८ मा प्रकाशन सुरु भएको नेपालको पहिलो समाचारपत्र हो । रासस

  • चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

    चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

    चितवन, पुस ३-
    चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् ।

    निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । उहाँले पहिलो भागअन्तर्गत यस क्षेत्रमा दुई सय ८६ वटा ग्रिड बनाएर गणना गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।”

    चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको जनाउँदै मगरले उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको बताउनुभयो । उहाँका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखी बाघ गणना गरिने छ । चितवन–पर्सा ब्लकमा नौ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको उल्लेख गर्दै सूचना अधिकारी मगरले यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने जानकारी दिनुभयो ।

    “योसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गरिँदै छ । तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार/चार वर्षमा बाघ गणना गरिँदै आइएको छ”, मगरले भन्नुभयो । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका उहाँले जानकारी दिनुभयो ।

    ग्रिडहरू बीचभागमा पर्ने स्थानमा गणना गर्ने प्राविधिक क्याम्प (शिविर) सथापना गरी गणकका लागि बस्ने व्यवस्था गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । गणकहरूले भूगोल अनुसार आठदेखि १२ सम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने उहाँले जानकारी दिनुभयो ।

    “ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ”, सूचना अधिकारी मगरले भन्नुभयो । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले बताउनुभयो ।

    “हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स (समूह) यो हो भने दोस्रो बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा ब्लक हुनेछन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुनेछ । यसलाई एउटै ब्लक बनाइने छ”, उहाँले भन्नुभयो ।

    यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा तीन सय ५५ वटा वयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दियामा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए । बाघ गणना भएपछि गैँडा गणना गर्ने तयारी गरिने निकुञ्ज कार्यालयले जनाएको छ । गत वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो । रासस

  • पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

    पाँच वर्षमा पनि बनेन सेती नदीमा पुल

    तनहुँ, पुस ३-
    यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुल पाँच वर्षमा पनि सम्पन्न भएको छैन । हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

    व्यास–३ र ऋषिङ–१ जोड्ने उक्त पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलाइ गरेको हो । पटक–पटक ताकेता गरेपछि निर्माण कम्पनीले हालै पुनः काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुलको ‘स्टिल पाटर्स’ निर्माण हुने भएकाले फेब्रिकेसन भइसकेको छ ।”

    दुई ‘स्पाम’ मध्ये चालु आर्थिक वर्षमा एक ‘स्पाम’ निर्माण पूरा हुनेगरी काम गरिरहेको र बाँकी अर्को एक ‘स्पाम’ निर्माणका लागि निर्माण कम्पनीले भारतबाट समान ल्याइसकेको पूर्वाधार कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार १९४ को लागतमा पुल निर्माण भइरहेको हो । कार्यालयका अनुसार पुल निर्माणका लागि विसं २०७७ मंसिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । १५५ मिटर लामो पुलको चौडाइ ९ दशमलव ५० मिटर हुनेछ ।

    पाइल फाउण्डेशनमा निर्माण हुने पुल ‘स्टिल ट्रस’ को हुनेछ । उक्त पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्यादसहित विसं २०७७ चैत २३ गते शिलान्यास गरिएको थियो । हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ चैतसम्म म्याद थप गरिएकोमा उक्त अवधिभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिन थालेको सो कार्यालयले जनाएको छ । रासस