Blog

  • नयाँ वर्षको अवसरमा क्याम्पाचौरमा ५ दिन फुड एण्ड म्युजिक कार्निभल हुँदै

    नयाँ वर्षको अवसरमा क्याम्पाचौरमा ५ दिन फुड एण्ड म्युजिक कार्निभल हुँदै

    नारायणगढ । अंग्रेजी नयाँ वर्षको अवसरमा नारायणगढको क्याम्पाचौरमा फुड एण्ड म्युजिक न्यु इयर कार्निभल हुने भएको छ । ॠषिङ नेवा: पर्व एवं संस्कृति खलको आयोजनामा पुष १३ देखि १७ गतेसम्म उक्त कार्यक्रम हुने भएको हो ।

    पाँच दिनसम्म चल्ने कार्यक्रममा खाना खाजाका स्टलसँगै हरेक दिन चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ । पहिलो दिन पुष १३ गते डिसेम्बर २८ मा कन्द्ररा ब्याण्ड र हुलाकीको प्रस्तुति रहनेछ । यस्तै न्यु इयर इभको दिन पुष १६ गते चर्चित र्‍यापर लाहुरे र तृष्णा गुरुङ एण्ड दि कोल्याब आउनेछन् ।

    नयाँ वर्षको दिन पुष १७ गते अर्थात जनवरी १ मा भिटेन र समिर श्रेष्ठ फिचरिङ्ग गूड ब्वाईजले दर्शक झुमाउनेछन् । यस बाहेक चितवनको दृश्य, यात्रा, ड्रिमर्ज, एफथ्री, प्रकाश एण्ड दि एराज र अध्याय ब्याण्डको पनि प्रस्तुति रहनेछ ।

    कार्यक्रमका लागि टिकट दर पाँच सय रुपैयाँ तोकिएको छ । खल्ती एपबाट अनलाइन टिकट खरिद गर्न सक्ने आयोजकले जानकारी दिएको छ । यस्तै सोही दिन कार्यक्रमस्थलबाटै पनि टिकट लिन सकिनेछ ।

  • रवि लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जाँदै

    रवि लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जाँदै

    काठमाडौं पुष ६
    रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने बालुवाटार भएका छन् ।

    उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न लागेका हुन् । लामिछाने र प्रधानमन्त्रीको भेटघाट कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको छ ।

    अदालतको आदेशपछि थुनामुक्त भएपछि आज पहिलोपटक पार्टी कार्यालयमा पुगेर उनले जिम्मेवारी पनि सम्हालेका छन् । रिहाइपछि राजनीतिक गतिविधिमा सहभागी भएका उनलाई आज वनस्थलीस्थित पार्टी कार्यालयमा नेता कार्यकर्ताले औपचारिक स्वागत गरे । कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरूले रविलाई स्वागत गरेका थिए ।

    उनले शनिबार काठमाडौंमा जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेटेका थिए ।

     

     

  • गृहमन्त्रीलाई सम्पर्क गर्नुभन्दै सुदनले सार्वजनिक गरिदिए नम्बर

    गृहमन्त्रीलाई सम्पर्क गर्नुभन्दै सुदनले सार्वजनिक गरिदिए नम्बर

    काठमाडौं, पुस ६ –
    द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारसँग सम्झौता भए पनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरिदिएका छन् ।

    उनले भदौ २३ र २४ को आन्दोलनको आधारमा पक्राउ परेर रिहा हुन नसकेकाको परिवारले सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्नू भन्दै मोबाइल नम्बर सार्वजनिक गरिदिएका हुन् ।

    सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको छ । राजपत्रमा समेत प्रकाशित भइसकेको जेनजी आन्दोलनको सम्झौता अनुसार प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने उल्लेख छ । तर, भ्रष्टाचारीलाई समेत कारबाही गर्ने भनेर जेनजी अभियन्ताहरूसँग सम्झौता गरेको सरकारले उल्टै जेनजी आन्दोलनमा सहभागीलाई झुटा मुद्दा चलाएर फसाएको आरोप गुरुङले लगाएका छन् ।

  • मिराजको माग : न्यायपालिकाको फैसलाको प्रत्यक्ष प्रसारण हुनुपर्छ

    मिराजको माग : न्यायपालिकाको फैसलाको प्रत्यक्ष प्रसारण हुनुपर्छ

    काठमाडौँ, ६ पुस –
    जेनजी अभियन्ता रहेका गरी खान देउका संयोजक मिराज ढुङ्गानाले न्यायपालिकाको फैसला प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन् ।

    उनले संयुक्त जेनजी आन्दोलन घोषण सभामा उनले भने– ‘केहि संवेदनशील विषय बाहेक अन्य फैसलाहरू प्रत्यक्ष प्रसारण हुनुपर्छ ।’ उनले जेनजी आन्दोलनमा सहभागी भएकाहरूलाई निशर्त रिहाइको माग समेत गरेका छन् ।

  • वर्तमान सरकारले जेनजीको नेतृत्व गर्न सक्दैन : मिराज ढुंगाना

    वर्तमान सरकारले जेनजीको नेतृत्व गर्न सक्दैन : मिराज ढुंगाना

    काठमाडौं, पुस ६ –
    जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेनजी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

    आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा गर्दै उनले सर्वपक्षीय सरकार आजको आवश्यकता भएको बताए ।

    उनले जेनजी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताए । तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उनको आरोप छ । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको उनले बताए ।

    उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका समेत व्यक्त गरे । उनले निर्वाचन गराउनुलाई आन्दोलनको ठुलो उपलब्धि नठान्न सरकारलाई आग्रह गरे ।

    उनले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने बताए ।

  • प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूची बुझाउने समय आउन एक साता बाँकी

    प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूची बुझाउने समय आउन एक साता बाँकी

    काठमाडौं पुस,६
    राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय आउन एक साता बाँकी छ । एक साता अगाडि बन्दसूचीमा रहने समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य हेरफेर भएको छ ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम गत मंसिर २१ गतेदेखि सुरु भएको थियो ।

    निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिने समय दिइएको थियो । तोकिएको समयमा एक सय दलले निवेदन दिएका छन् ।

    समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दले यही पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेस गर्ने समय पाउनेछन् ।

    बन्दसूची पेस गर्दा समानुपातिकमा समावेशी कोटा अनुसार बुझाउनुपर्ने हुन्छ ।

    यसअघि २०७९ को चुनावमा २०६८ सालको जनगणनाअनुसार नै समानुपातिकमा समावेशी कोटा निर्धारण गरिएको थियो ।

    यसपटक भने २०७८ सालको जनगणना अनुसार समानुपातिकमा समावेशी कोटा निर्धारण गरिएको छ । यसका लागि सरकारले अध्यादेशमार्फत निर्वाचन ऐन नै संशोधन गरेको छ ।

    राष्ट्रपतिबाट गत शुक्रबार जारी भएको अध्यादेश अनुसार अब २०७८ सालको जनगणना अनुसार समानुपातिकमा समावेशी कोटा बमोजिम राजनीतिक दलहरूले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने हुन्छ ।

    प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र ११० सदस्यको चयन एक समानुपातिक निर्वाचन प्रणलीद्वारा गरिन्छ । ११० सिटमा हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारको बन्दसूची बुझाउँदा समानुपातिकमा समावेशी कोटाअनुसार बुझाउनुपर्ने हुन्छ ।

    निर्वाचन आयोगका अनुसार संशोधित ऐनअनुसार ११० सिटमै उम्मेदवारी दिँदा खसआर्य ३३, आदिवासी जनजाति–३२, मधेशी–१८, दलित–१५, थारू ७ मुस्लिम समुदायबाट ५ जनाको नाम बन्दसूचीमा बुझाउनुपर्ने हुन्छ । समग्रमा ५० प्रतिशत महिला हुनुपर्छ ।

    प्रारम्भिक सूची आगामी माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २) गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

    विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ ।

    प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका छ ।

     

  • चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

    चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

    चितवन, ६ पुसः
    नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता परित्याग गर्ने गरेको उहाँले बताउनुभयो ।

    जिल्लामा साउनयता २० महिला र २९ पुरुषले गैरआवासीय नागरिकता लिएका छन् । यो नागरिकताका लागि कार्यालयले जारी गरेको अनुसूची फर्म भरेर पासपोटको फोटोकपी, विदेशी नागरिकताको फोटोकपी, नागरिकता त्यागेको निस्सा र नातेदार वा चिनजानको व्यक्तिले सनाखत गर्नुपर्ने उहाँले बताउनुभयो ।

    विदेशमा बसेका नोपालीहरूले नेपालमा लगानी गर्न सहजताका लागि गैरआवासीय नागरिकता लिने गरेको उहाँले जानकारी दिनुभयो ।

    जिल्लामा दुई जनाको नागरिकता रद्द गरिएको उहाँले बताउनुभयो । दोहोरो नागरिकता रहेको वा राज्यविरोधी गतिविधि गरेकाहरूको नागरिकता रद्द गरिएको हो । साउनयता यस कार्यालयबाट वंशजका आधारमा तीन हजार ७५९ जना र वैवाहिक अङ्गीकृत नागरिकता ११ जनाले लिएका छन् ।

  • योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण

    योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण

    काठमाडाैँ ६ पुस
    विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ । काठमाडौंको टुंडिखेलमा ध्यान र योग गरेर विश्व ध्यान दिवस मनाइएको हाे ।

    ध्यान कार्यक्रममा बोल्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा अहिले पनि हाल पनि करिव ६० देशका मानिसहरु आएर ध्यान गर्ने गरेको बताए । ध्यान र योगको आवश्यकता नेपाल भन्दा पनि विकसित देशहरुमा रहेको उनले बताए ।

    ध्यान र योगको विकासका लागि नेपाल सरकारले पनि सहयोग गर्न जरुरी रहेको उनले बताए । योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय नेपालमा आवश्यक रहेको भन्दै उनले आयुर्वेदको संवद्र्धन र ध्यानका साधकका लागि अभिभावक मन्त्रालय दिन सरकारसँग माग गरे ।

    धार्मिक संस्थाको पैसामा कर नलगाउन पनि उनले माग गरे । योग र ध्यानलाई कुनै सरकारी सहयोग नमिलेको भन्दै यसबारे सोच्न सरकारसँग उनले आग्रह गरे । मुठी दानमा १५ प्रतिशत कर लाग्नु दुःखको कुरा भएको उनकाे भनाइ छ ।

  • विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

    विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

    विराटनगर ६ पुस 
    नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।

    प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजेको समयमा मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए।

    उनी सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी हुन्।

    पाँचौँ तलामाथिबाट भुईँमा खसेका यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहानै उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए।

    यादव नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

  • आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै

    आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै

    काठमाडौँ ६ पुस
    आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको संयुक्त बैठक बस्ने भएको छ ।

    बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्ने भएको हो ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसँग विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।