Blog

  • अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

    अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

    वीरगन्ज, पुस ७-
    वीरगञ्जका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। त्यधिक चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भन्दै महानगरपालिकाभित्रका विद्यालय तीन दिनका लागि बन्द गरिएको हो ।

    महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार तीन दिन यता चिसो बढेपछि महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

    उक्त बिदा वर्षे सट्टे विदाबाट कट्टा गरिने उनी बताउँछन्।

  • सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते

    सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते

    काभ्रेपलाञ्चोक पुस,७
    सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

    आइतबार अपराह्न साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो । भान्सामा प्रयोग भइरहेको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानएको छ ।

    आगलागी हुँदा घरभित्रै रहेकी दुर्गामान बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जन आगलागीमा परेको र आगो अत्यन्त तीव्र भएकाले उनलाई बाहिर निकाल्न नपाउँदै घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

    आगलागीमा ससुरा दुर्गामान बम्जन घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले जलाएको छ । घाइते बम्जनको अवस्था मध्यम रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको जनाउँदै तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

    स्थानीय बासिन्दाले आगलागी भएको खबर प्रहरीलाई दिएलगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    प्रहरीका अनुसार भान्सामा प्रयोग गरिने ज्वलनशील पदार्थ (मट्टितेल वा पेट्रोल) असावधानीपूर्ण प्रयोगका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । ‘साँघुरो भान्सा कोठा र त्यहाँ रहेको ज्वलनशील सामग्रीले आगो फैलिन सहयोग गरेको देखिन्छ’, प्रहरी प्रमुख सुवेदीले जानकारी दिए ।

    प्रहरीले यस्ता ज्वलनशील पदार्थ प्रयोग गर्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । भान्सा कोठामा मट्टितेल, पेट्रोलजस्ता पदार्थ प्रयोग गर्दा सानो लापरबाहीले पनि ठूलो मानवीय क्षति हुन सक्ने भन्दै सावधानी आवश्यक रहेको प्रहरीको भनाइ छ ।

    घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र अनुसन्धानको निष्कर्षपछि आगलागीको कारण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

     

  • महाधिवेशनविना कांग्रेस चुनावमा जाँदैन : गगन थापा

    महाधिवेशनविना कांग्रेस चुनावमा जाँदैन : गगन थापा

    काठमाडौं पुस,७
    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानलाई ट्रयाकमा फर्काउन २१ फागुनमा निर्वाचन गर्नु अनिवार्य रहेको बताएका छन् । उनले महाधिवेशनविना कांग्रेस चुनावमा नजाने पनि बताए ।

    धुम्बाराही ब्यांकेटमा सोमबार काठमाडौं–४ का कार्यकर्ताहरूसँगको छलफलमा उनले पार्टीको महाधिवेशन गरेर २१ फागुनको निर्वाचनमा सहभागी हुने बताए ।

    थापाले भने, ‘अधिवेशन विना नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन, जान सक्दैन, क्लियर यसमा ।’

    उनले अहिले सार्वजनिक भएको वडा अधिवेशनको सन्दर्भमा केही दिन तलमाथि भए पनि अधिवेशन नरोकिने बताए । ‘जुन तिथिमा हामीले वडाको अधिवेशन भनेका छौं, त्यसमा एक–दुई दिन तलमाथि होला, थोरै तलमाथि होला,’ उनले भने, ‘कि नियमित अधिवेशन सरासर अगाडि बढ्छ कि विशेष महाधिवेशन हुन्छ । त्योभन्दा अर्को कुरा केही पनि छैन । अधिवेशन हुन्छ ।’

    उनले अधिवेशनपछि पार्टी चुनावमा जाने बताए । चुनाव फागुन २१ मै हुनुपर्नेमा उनले जोड दिए । ‘पार्टीको आधिकारिक निर्णयमा टेकेर मैले भन्नुपर्छ कि फागुन २१ गते चुनाव गर्ने कुरा अनिवार्य छ,’ महामन्त्री थापाले भने, ‘फागुन २१ गते चुनाव हुने कुरा किन आवश्यक छ भने संविधान ट्रयाकभन्दा बाहिर गएको छ, संविधानलाई ट्रयाकमा फर्काउनका निम्ति फागुन २१ गते निर्वाचन गर्ने ।’

    निर्वाचनबाट चुनिएर आउने संसद्ले विस्तारै संविधानअनुसार कामहरू अघि बढाउने उनको भनाइ थियो । ‘निर्वाचनले नयाँ संसद् ल्याउँछ । अनि त्यो संसद्ले विस्तारै आफ्नो काम गर्ने,’ महामन्त्री थापाले भने ।

    २१ फागुनका लागि तय भएको निर्वाचन कांग्रेसका लागि अनुकूल–प्रतिकूल जेसुकै भए पनि चुनावमा जानुपर्नेमा महामन्त्री थापको जोड थियो ।

    ‘चुनावको परिणाम के होला, हाम्रा लागि कति अनुकूल होला, कति प्रतिकूल होला, त्यो हाम्रो आन्तरिक विषय हो,’ उनले भने, ‘हामी छलफल गरौंला, त्यसलाई अनुकूल बनाउने कोसिस गरौंला, थप मेहनत गरौंला, आफ्ना कुरा भनौंला ।’

    महामन्त्री थापाले चुनाव नभए देश ठूलो अनिश्चितातर्फ जाने पनि जिकिर गरे । ‘अब चुनाव भएन भने हामी फेरि ठूलो अनिश्चिततातर्फ जान सक्छौं । ००७ साल देखि ०१५ सालको जस्तो अवस्था,’ उनले भने, ‘त्यसकारणले गर्दा इलेक्सन गर्ने कुरा आवश्यक भयो ।’

  • आजको मौसम : तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने

    आजको मौसम : तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने

    काठमाडौँ ७ पुस
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ ।

    देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिन्छ ।

  • आज सोमबार नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल

    आज सोमबार नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल

    आज मिति वि.सं.२०८२ साल पौष ७ गते । सोमबार । इस्वी सन् २०२५ डिसेम्बर २२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–द्वितीया, ७ घडी २७ पला, बिहान ९ बजेर ५१ मिनेट उप्रान्त । नक्षत्र–उत्तराषाढा, ५५ घडी १३ पला, रातको ४ बजेर ५८ मिनेट उप्रान्त श्रवण । योग–ध्रुव, २५ घडी २२ पला, बेलुकी ५ बजेर ११ मिनेट उप्रान्त व्याघात । करण–कौलव, बिहान ९ बजेर ५१ मिनेट उप्रान्त तैतिल, बेलुकी १० बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–धनु , बिहान ९ बजेर ५४ मिनेट मकर ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १२ मिनेट । दिनमान २५घडी ५० पला ।

    आजको राशीफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । बिहानको समयमा मन्दिर वा धार्मिक प्रतिष्ठान तिरको यात्रा हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाज तथा समुदायको हितमा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोजीमूलक क्षेत्रमा लगानी बढाउँदा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइ कै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा समय लगानी गरी अरूको सेवा गर्ने अवसर जुर्नेछ । बिहानको समय मध्यम रहेकोले यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले आफन्त तथा दिदी बहिनीहरूबाट सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । नसोचेको धन प्राप्त हुने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । तपाईँको बोलीको प्रभाव बढ्ने हुनाले राम्रा काम गरी नाम कमाउन सकिनेछ । वित्तीय बजारमा आज गरिने लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार वा शेयर बजारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायमा गरिएको लगानी फस्टाएर जानेछ । व्यापार कै सिलसिलामा छोटो दुरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसाय तथा शेयर बजारबाट प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरू पुरा गर्न सकिनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विद्या तथा प्रतिस्पर्धामा सहपाठीहरूलाई पछि पार्दे पुरस्कार तथा प्रशंसा पत्र हात पार्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसाय फस्टाएर जानेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने मन परेका मानिसबाट उपहार प्राप्त हुनेछ । सन्तान तथा आफन्तले सहयोग गर्ने हुँदा मन प्रसन्न हुनेछ । आत्मबल बढ्नेछ भने सामाजिक मान सम्मान तथा मर्यादामा अभिवृद्धि हुनेछ । बिहानको समयमा आफन्तबाट टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।

    वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, शेयर बजार तथा व्यापारको लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा प्रशंसकहरू बढ्नेछन् भने मेहनतले सम्मानित स्थान दिलाउनेछ । स्रोत साधन जुट्नाले व्यापार तथा शेयर बजारमा लगानी बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइमा मन जानेछ । काम वा अध्ययनको लागी लामो दुरीको यात्राको योग रहेको छ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग मार्फत बौद्धिक स्तर फराकिलो बनाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । भौतिक सम्पत्तिको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित पार्न सकिनेछ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । मन पर्ने वस्त्र तथा अलङकार उपहार पाइनेछ । बिहानको समयमा नीति संगत काम नगर्दा दण्ड वा जरिवाना हुन सक्छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी दिन प्रभावकारी रहनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैतृक धन तथा सम्पत्तिको प्रयाग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी हुनेहरूका लागी कारोबारमा सुधार हुनेछ । विद्यार्थीहरूका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रसन्न रहनेछ । यात्रा, बैठक, गोष्ठी तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

    खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ

    नवलपरासी, ६ पुसः
    ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले घरघरमा बत्ती पुगेजस्तै किसानको खेतखेतमा पनि कृषि विद्युतीकरण आवश्यक रहेको बताउनुभएको छ ।

    पश्चिम नवलपरासीको परासीमा नवलपरासी उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित छलफल कार्यक्रममा मन्त्री घिसिङले किसानलाई सहज हुनेगरी खेतखेतमा विद्युतीकरण गरेर लागत घटाउनुपर्छ भन्नुभयो । विकासको नाममा जथाभावी लगानी गरिएको उल्लेख गर्दै उहाँले विकासलाई प्राथमिकताका आधारमा अगाडि नबढाई भ्यूटावरजस्ता क्षेत्रमा अर्बौं रुपैयाँको लगानीले देश समृद्ध बन्दैन भन्नुभयो ।

    यसैबीच पश्चिम नवलपरासीको विभिन्न ठाउँमा निर्माणाधीन अधुरा आयोजनाको अवलोकन गर्दै मन्त्री घिसिङले समयमै काम सम्पन्न गर्न निर्देशनसमेत दिनुभयो । प्रतापपुर गाउँपालिका–७ गुठ्ठीसूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको अवलोकन गर्दै उहाँले टर्वाइनलगायत उपकरण छिट्टै मर्मत गराई विद्युत् उत्पादन बढाउन निर्देशन दिनुभयो । मन्त्री घिसिङले भन्नुभयो, “समृद्ध देश बनाउन र सुशासन कामय गर्न नेतृत्वको सही चयन गर्नुपर्छ ।”

    उज्यालो नेपाल पार्टीले एउटा क्षेत्र मात्र नभइ समग्र क्षेत्रलाई समेटेर नेपाललाई उज्यालो बनाउने मन्त्री घिसिङको भनाइ थियो ।
    –––

  • प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि

    प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि

    काठमाडौँ, ६ पुसः
    प्रधानमन्त्री सुशीला कार्की भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्।

    आइतबार साँझ उनीसँगै उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू शिशिर खनाल र सोभिता गौतम पुगेका हुन्।

    अहिले उनीहरूबीच छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

    शुक्रबार (पुस ४ गते) सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए।

    रिहा भएपछि लामिछानले पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका हुन्।

  • विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

    विश्वकप क्रिकेटका लागि खेलाडी छनोट

    काठमाडौँ, ६ पुसः
    आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ का लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक चरणमा २४ खेलाडी छनोट भएका छन् ।

    सोमबारदेखि सुरु हुने प्रशिक्षण क्याम्पका लागि २४ जना खेलाडी छनोट गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

    छनोट हुने खेलाडीमा रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, नन्दन यादव, सन्दीप लामिछाने र आरिफ सेख छ्न ।

    यसैगरी आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतिस जीसी र रुपेशकुमार सिंह पनि छनोटमा परेका छन् ।

  • गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ

    गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ

    काठमाडौँ, ६ पुसः
    सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ«े टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौँको नयाँबसपार्क बस्ने २४ वर्षीय अशोक क्षेत्री र रसुवाको नौकुण्ड गाउँपालिलिका–१ घर भई काठमाडौँको नयाँबजार बस्ने ३६ वर्षीय रामकृष्ण विक रहेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनको गरगहना चोरीमा क्षेत्री र बेचबिखनमा विक सङ्लग्न रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिनुभयो ।

    प्रहरीले पक्राउ परेका क्षेत्रीको साथबाट रेडमी मोबाइल एक थान, आइफोन चार थान, फलामको छिनो एक थान र अमेरिकी डलरसमेत बरामद गरेको छ ।

    यस्तै, विकसँग सुनको ब्रासलेट एक थान, औँठी एक थान, नथी एक थान, तिलहरि एक थान, सिक्री एक थान, पाउजू एक थान, बाला एक थानलगायतका गरगहना बरामद गरेको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।
    –––

  • थ्री एन्जल्स नेपाल चितवनद्वारा एक वर्षदेखि बेपत्ता किशोरीको उद्धार

    थ्री एन्जल्स नेपाल चितवनद्वारा एक वर्षदेखि बेपत्ता किशोरीको उद्धार

    राप्ती, पुस ६-
    पूर्वीचितवनको राप्तीमा रहेको थ्री एन्जल्स नेपाल चितवन शाखाले एक वर्षदेखि बेपत्ता रहेकी एक किशोरीको उद्धार गरेको छ।

    कालिका नगरपालिका स्थायी ठेगाना भएकी १८ वर्षीया अस्मिता (नाम परिवर्तन) एक वर्षदेखि घरपरिवारसँग सम्पर्कविहीन अवस्थामा रहेकी थिइन्।

    गत बिहीवार थ्री एन्जल्स नेपाल चितवन शाखाले उनलाई उद्धार गरी परिवारको जिम्मा लगाएको हो।

    बिहीबार दिउँसो करिब ३ बजे नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा राप्ती नगरपालिका–१ लोथरबाट अन्दाजी २७/२८ वर्षको एक युवकसँगै उक्त किशोरी यात्रा गरिरहेको अवस्थामा भेटिएकी थिइन्।

    शङ्कास्पद अवस्थालाई ध्यानमा राख्दै थ्री एन्जल्स नेपाल चितवन शाखाको टोलीले किशोरीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको थियो।

    थ्री एन्जल्स नेपाल चितवन शाखाकी प्रमुख सुनिता सिल्वालका अनुसार, किशोरीलाई इलाका प्रहरी कार्यालय भण्डाराको रोहवरमा राखी आवश्यक सोधपुछ गरिएको थियो। त्यस लगत्तै सो किशोरीकी आमासँग सम्पर्क गरी कानुनी प्रक्रिया पूरा गर्दै परिवारलाई जिम्मा लगाइएको हो।

    सो क्रममा किशोरीसँगै रहेका पुरुष भने उक्त स्थानबाट फरार भएको र उनको खोजी तथा आवश्यक अनुसन्धानका लागि प्रहरीलाई जानकारी गराइएको प्रमुख सिलवालले बताउनुभयो।

    थ्री एन्जल्स नेपाल चितवन शाखाले पछिल्लो समय मानव बेचबिखन, ओसारपसार तथा बेपत्ता महिला, बालबालिका र बेवारिसे व्यक्तिहरूको उद्धारलाई प्राथमिकतामा राख्दै सक्रिय भूमिका खेल्दै आएको छ।

    सो संस्थाले समुदायस्तरमै निगरानी बढाई जोखिममा परेका व्यक्तिहरूलाई सुरक्षित गर्न र परिवारसँग पुनर्मिलन गराउन निरन्तर पहल गरिरहेको जनाएको छ।