Blog

  • ‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै

    ‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुँदै

    नेपालगञ्ज, पुस ७ –
    नेपाल-भारतबीच पर्यटनका क्षेत्रमा नयाँ सम्भावना खोजी गर्ने उद्देश्यले संयुक्त मञ्चका रूपमा ‘क्रस बोर्डर टुरिजम काउन्सिल’ गठन हुने भएको छ ।

    नेपालगञ्जमा भएको तीनदिने ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ दुई देशको पर्यटन प्रवर्द्धन गर्ने योजनासहित काउन्सिल गठन गर्न लागिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देल जानकारी दिनुभयो । “अझै कतिपय खास विषयमा संवाद गरिने छ, त्यसपछि औपचारिक रूपमा घोषणा गरिने छ”, उहाँले भन्नुभयो ।

    सिग्देलले सो काउन्सिल बनाउनका लागि तीनदेखि छ महिनाको समय लाग्ने जानकारी दिँदै क्रस बोर्डर पर्यटन सहजीकरणका लागि अनलाइन आवेदन दिने र अनुमति दिने प्रणाली लागू गर्न सरकारलाई आग्रह गरिएको बताउनुभयो ।

    हालै सम्पन्न भएको नेपालगञ्ज विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गरी पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्ज–दिल्ली सिँधा हवाई उडान सञ्चालन गर्न नेपाल र भारत दुवै देशका नागरिकले सम्बन्धित देशका सरकारसँग आग्रह गर्ने निर्णय भएको जानकारी पूर्वअध्यक्ष सिक्देलले जानकारी दिनुभयो । नेपालगञ्जलाई ‘डेष्टिनेसन वेडिङ’ बनाउन सम्बन्धित निकायमा पैरवी गर्न जोड दिइएको उहाँले उल्लेख गर्नुभयो ।

    नेपाल पर्यटन बोर्डको आयोजनामा नाट्टा बाँके च्याप्टरको संयोजनमा भएको कन्क्लेभमा पहिलो दिन विभिन्न पर्यटकीय क्षेत्रको अवलोकनदेखि अन्तिम दिन ग्रामीण पर्यटका रूपमा रहेको होमस्टे (घरबास) अवलोकन, बाँके निकुञ्जको सफारीसम्मका गतिविधि भएका थिए । दुई देशबीचका पर्यटन व्यवसायी, टुर अपरेटरहरूबीच बिटुबीसम्बन्धी कार्यक्रम पनि गरिएको थियो ।

    यसैबीच नेपाल–भारतका पर्यटन व्यवसायीबीच संयुक्त बैठकको आयोजना गरिएको छ । बैठकले जमुनाह नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूको सहजताका लागि नाट्टा बाँके च्याप्टरको सहजीकरणमा सुरक्षा निकायको बैठक तथा प्रमुख जिल्ला अधिकारीको समन्वयमा सुरक्षा निकायको बैठक राखी पर्यटकमैत्री वातावरण बनाउन पहल लिने निर्णय भएको सिग्देलले जानकारी दिनुभयो । रासस

  • चितवनको इच्छाकामनामा पुस ११ गतेदेखि दोस्रो सुन्तला महोत्सव हुने

    चितवनको इच्छाकामनामा पुस ११ गतेदेखि दोस्रो सुन्तला महोत्सव हुने

    चितवन, पुस ७ –
    यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइ समितिको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।

    पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने टेवा पुग्ने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाइ छ । आयोजक समितिले आज यहाँ पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी दिएको छ । प्रदर्शनीमा ५० भन्दा बढी स्टल रहने चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार महोत्सवमा इच्छाकामनाका १०० जना सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने तथा स्थानीयस्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको छ ।

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले रु नौ करोडदेखि १० करोडको कारोबार गर्ने गरेको बताउनुभयो । पछिल्लो समय केही बगैँचा नष्ट भएका कारण उत्पादनमा गिरावट आएको देखिएको उहाँले जानकरी दिनुभयो ।

    सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न प्रत्येक वर्ष बीउबाट उत्पादन गरिएको सुन्तलाका बिरुवा वितरण गरिँदै आइएको छ । नयाँ प्रविधियुक्त सामग्रीको वितरण, टिपाइ, गोडमेल, गोठेमल तथा सिँचाइ व्यवस्थापनमा आवश्यक सहयोग गाउँपालिकाले गर्दै आएको उहाँले बताउनुभयो ।

    गाउँपालिकामा विभिन्न प्रकारका पर्यटकलाई आकर्षित गर्न सक्ने सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । धार्मिकस्थल तथा प्राकृतिक रूपमा मनमोहक स्थान यहाँ रहेका छन् । त्यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न मद्दत पुर्याउन सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । रासस

  • भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

    भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

    चितवन, पुस ७ –
    भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो ।

    महानगडरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गर्नुभयो । महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरु गरिएको छ । नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा क्यामेरा जडानको काम सुरु गरिएको छ ।

    महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार २९ वटै वडाका २०० भन्दा बढी स्थानमा ४१८ क्यामेरा जडान गर्न लागिएको छ । चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित ४१८ उच्च क्षमताका भिएमएससहितका क्यामेरा जडान गर्न लागिएको छ । सिनजी आइटी सोलुसन प्रालिले रु पाँच करोड ५८ लाख २० हजार ६४९ को लागतमा क्यामेरा जडानको काम गर्दैछ ।

    उद्घाटन गर्दै महानगर प्रमुख दाहालले आधुनिक सहर बनाउने अभियानअन्तर्गत सिसी क्यामेरा जडानको काम सुरु गरिएको बताउनुभयो । सुरक्षित र भयरहित तवरले जनता बाँच्न पाउनुपर्ने भन्दै यो योजना अघि बढाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सिसी क्यामेरा जडानसँगै सुरक्षित सहरको सपना सहाकार भएको छ ।”

    महानगरपालिकाले २०६ किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडानको काम गरिएको उहाँले बताउनुभयो । एकानब्बे वटा चोकमा हाइमास्ट लाइट जडान गरिएको छ । यस्तै महानगरका छवटा चोकमा ट्राफिक लाइट जडान गर्ने योजना पनि कार्यान्वयनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ ।

    सो अवसरमा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा हुने हरेक घटनालाई निगरानी गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन महानगरपालिकाले क्यामेरा जडान गरेको बताउनुभयो । यो योजनाले जनता सुरक्षित भएको महसुस गर्ने उहाँको भनाइ छ । सो अवसरम महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले जडान गरिएका क्यामेराको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

    नेपाल टेलिकमको फाइबरमार्फत सिसी क्यामेरा सञ्चालन गरिने छ । महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो । नेपाल टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सार्वजनिक बिदाको दिनसमेत मर्मतको काम नरोकेर कामलाई अघि बढाइएको बताउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले क्यामेराको प्रभावकारी कार्यान्वयनको पक्षमा आफूहरू लाग्ने बताउनुभयो । रासस

  • माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

    माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ

    ७ पुस, काठमाडौं ।
    सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

    सो क्रममा माइतीघर मण्डलाबाट ५ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    रविकिरण हमालसहितका ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    मिराज ढुंगानासहितका युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

    प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् ।

    उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

  • नारायणघाटको दियालो रोड: सडक पेटीको गमलामा सुन्दर चित्र कोरिदै

    नारायणघाटको दियालो रोड: सडक पेटीको गमलामा सुन्दर चित्र कोरिदै

    चितवन, पुस ७–
    चितवनको भरतपुर महानगरपालिका–१, स्थित दियालो रोडलाई सौन्दर्यकरण गर्ने अभियान अन्तरगत सडक पेटीको गमलामा सुन्दर चित्रहरु कोर्न थालिएको छ ।

    वडा नं.१ को आर्थिक सहयोगमा दियालो रोड टोल विकास संस्थाले करिव ६ सय मिटरको दुरीमा रहेका ७५ वटा चारपाटे गमलामा चित्र कोर्ने काम भइरहेको टोलका अध्यक्ष रवि कुमार प्रधानले जानकारी दिए । नारायणघाटको लिला चोकदेखि गौरेश्वर पशुपति मन्दिरसम्मका सडकमा विभिन्न जातजातिको संस्कृति झल्किने, हिमाल, बाघ, गैंडा, मयुँर, विभिन्न भगवानका चित्र कोर्न थालिएको छ । अहिलेसम्म ६५ प्रतिशत चित्र बनाउने काम सकिएको छ । ‘करिव करिव चित्र बनाउने काम सकिनै लागेको छ, यसले हाम्रो टोलको सडकलाई सुन्दर बनाउने छ’–टोल अध्यक्ष प्रधानले भने । उनले वडाले बजेट निकासा गरेर साथ दिएकाले यो काम संभव भएको बताए ।

    वडालाई सुन्दर बनाउन चित्र कोर्नका लागि ४ लाख ५० हजार बजेट विनियोजन गरेर काम अगाडि बढाईएको वडा अध्यक्ष केशव महर्जनले जानकारी दिए । उनले दियालो टोलसंगै नारायणघाटको नमस्ते चोकदेखि बालकुमार क्याम्पस हुँदै बालकुमारी कन्या चोकसम्मको रोडमा पनि चित्र कोर्न सुरु गरिने जानकारी दिए । टोलसंग सहकार्य गरेर सौन्दर्यकरणको अभियान थालिएको वडा अध्यक्ष महर्जनले बताए । ‘हामी वडा नं.१ लाई पूर्ण सरसफाइयुक्त र सुन्दर बनाउने अभियानमा छौं, भरतपुरको पहिचान झल्किने खालका चित्रलाई प्राथमिकता दिएर चार पाटे गमलामा चित्र कोर्न थालेका छौं’–वडा अध्यक्ष महर्जनले भने ।

  • लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरलाई अन्तर्राष्ट्रिय अवार्ड

    लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरलाई अन्तर्राष्ट्रिय अवार्ड

    पुस ७ भरतपुर ।
    लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर यही डिसेम्बर १५ देखि १९ सम्म भारतको अहमदाबादमा सम्पन्न लायन्स अन्तर्राष्ट्रियको इसामे फोरममा उत्कृष्ट उपलब्धि हासिल गरेको जानकारी गराइएको हो ।

    क्लबका डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटाका अनुसार उक्त फोरममा क्लबले मेम्बरसिप रिक्रुइटमेन्ट टार्गेट एचिभमेन्ट अवार्ड, एलसिआइसी टार्गेट एचिभमेन्ट अवार्ड तथा जिएटी रिजनल अवार्ड प्राप्त गरी अन्तर्राष्ट्रिय मञ्चहरुमा ह्याट्रिक गर्ने पहिलो क्लब बनेको थियो । उनका अनुसार अन्तर्राष्ट्रिय मञ्चहरुमा सहभागी सबै डिष्ट्रिक्टमध्ये ह्याट्रिक गर्ने पहिलो डिष्ट्रिक्ट बनेर सर्वोत्कृष्ट पहिचान दिलाउन सफल भएको छ ।

    क्लबको छमहिने उपलब्धि

    क्लबले छ महिनामा उल्लेख्य काम गरेको पनि दाबी गरेको छ । स्वास्थ्य, शिक्षा, विपद् तथा वातावरण संरक्षणसँगै र सङ्गठन विस्तारमा ऐतिहासिक उपलब्धि हासिल गरेको क्लबले दाबी गरेको छ ।

    क्लबका डिष्ट्रिक्ट गभर्नर सापकोटाले बाढीपीडितको उद्धार र राहत वितरणदेखि क्यान्सर उपचारका लागि आवास तथा स्मार्ट क्यान्टिन निर्माण गरिनुका साथै भरतपुरमा आँखा अस्पतालमा भवन, मानवसेवा आश्रममा पाकशाला भवन निर्माण गरेर समुदायमा दीर्घकालीन प्रभाव छाड्न सफल भएको दाबी गरे ।

    मध्यविन्दु अस्पतालको प्रसूति कक्ष स्तरोन्नति, थासी कम्युनिटी सामुदायिक अस्पतालमार्फत मधुमेह रोकथाम कार्यक्रम तथा उपकरण सहयोग तथा जनचेतनाका गतिविधिहरुले स्वास्थ्य सुरक्षामा पनि योगदान पु¥याएको उनले बताए । भरतपुर अस्पतालमा मिर्गौला रोगपीडितका लागि डायलासिस मेसिन हस्तान्तरण गर्नुका साथै नागरिकलाई निःशुल्क उपचार र औषधि वितरण गर्न सफल भएको उनले बताए ।

    लायन्स अन्तर्राष्ट्रियको सहयोगमा म्याचिङ हङ्गर ग्रान्टअन्तर्गत राप्ती नगरपालिकाको ब्रह्मनगरमा ‘स्मार्ट क्यान्टिन’ निर्माण कार्य अघि बढाइएको उनले बताए । थासी कम्युनिटी सामुदायिक अस्पताल, ललितपुरमा मधुमेह सचेतना कार्यक्रम तथा उपकरण खरिदका लागि अनुदान स्वीकृत भई कार्यान्वयन प्रक्रियामा रहेको उनले बताए ।

    स्टान्डर्ड म्याचिङ ग्रान्टअन्तर्गत विद्यालय भवन निर्माण तथा अस्पतालमा डायलासिस मेसिन खरिद प्रक्रिया अघि बढिसकेको उनले बताए । जेनजी आन्दोलनका कारण ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय चितवनलाई तत्काल १५ थान कम्प्युटर, पाँच थान प्रिन्टर तथा स्क्यानर हस्तान्तरण गरी सङ्कट व्यवस्थापनमा पनि भूमिका निर्वाह गर्न पाएको क्लबले जनाएको छ ।

  • स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

    स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

    वालिङ (स्याङ्जा), पुस ७ –
    स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन् ।

    सदरमुकाममा रहेका दुई कार्यालय गाभिएसँगै यही पुस १ गतेदेखि एउटै कार्यालयबाट सेवा सुरु भएको हो । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार नयाँ संरचना सृजना भएसँगै गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत ‘एकीकृत सेवा कार्यालय’ राखिएको छ ।

    पुतलीबजार नगरपालिकाका छुट्टै स्थानबाट सेवा दुई छुट्टाछुट्टै कार्यालय स्थापना गरी सेवा दिइरहेका कार्यालय गाभिएर बनेको एकीकृत सेवा कार्यालयले साविकको सामाजिक विकास कार्यालय र साविकको पर्यटन तथा उद्योग कार्यालयले प्रदान गर्ने सेवालाई निरन्तरता दिने कार्यालय प्रमुख जीवन पौडेलले बताउनुभयो ।

    “दुई छुट्टाछुट्टै कामको प्रकृति भएका कार्यालय एकै ठाउँबाट सञ्चालन हुँदा सेवाग्राहीलाई सहजता हुनुका साथै खर्चमा मितव्ययिता हुन्छ”, उहाँले भन्नुभयो, “सेवाग्राहीलाई छिटो, छरितो र बढीभन्दा बढी सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा हामी प्रयत्नशील छौँ ।” दुई कार्यालय गाभिएर हाल बनेको एकीकृत सेवा कार्यालयले साविकको पर्यटन तथा उद्योग कार्यालय पुतलीबजार–१ अभियानपथबाट सेवा दिन थालेको हो ।

    साविकको पर्यटन तथा उद्योग कार्यालयले प्रदान गर्दै आइरहेको उद्योग व्यवसाय दर्ता, नवीकरण, उद्यम तथा व्यवसायको प्रवर्द्धनात्मक कार्यक्रम, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण, सीपमूलक तथा आयआर्जनमूलक तालिम निरन्तर रूपमा सञ्चालन हुने उहाँले बताउनुभयो ।

    त्यस्तै साविकको सामाजिक विकास कार्यालयले प्रदान गर्दै आएको लक्षित वर्गका लागि क्षमता अभिवृद्धि, सीपमूलक तालिम, शिक्षाका क्षेत्रमा पूर्वाधार निर्माण, सांस्कृतिक, धार्मिक क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रमलाई एकीकृत कार्यालयमार्फत निरन्तरता दिइने भएको हो । एकीकृत विकास कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेको छ । रासस

  • संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

    संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

    काठमाडौँ, पुस ७ –
    जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ । तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा भनिएको छ, “सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।”

    सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको स्पष्ट गर्दै लेखमा भनिएको छ, “सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ ।” सेनामा राजनीतिक महत्वकाङ्क्षा पटक्कै नभएको उल्लेख गर्दै भनिएको छ, “तत्कालीन राजनीतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वकाङ्क्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र ?” विद्यमान अवस्थालाई मूल्याङ्कन गरी सुरक्षा निकायलाई मजबुत बनाउनु राष्ट्रको हितमा भएको उल्लेख गर्दै भनिएको छ, “परिस्थितिको सतहीभन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा रहन्छ”, लेखको पूर्ण विवरण यसप्रकार छ :

    भदौ २३–२४ गतेपश्चातको परिस्थिति: नेपाली सेनाको भूमिका

    गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन र सोपश्चात् विकसित घटनाक्रममा सेनाको भूमिका र राष्ट्रिय सुरक्षाको सम्बन्धमा विभिन्न पक्षबाट बहस भएको देखिन्छ । लोकतन्त्रमा समालोचना अपरिहार्य हुन्छ । नेपाली सेनालगायत राज्यका संरचनाहरूको समालोचना, प्रशंसा तथा खबरदारी गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार हो । यसबाट उक्त निकायहरूलाई आआफ्नो जिम्मेवारी थप प्रभावकारी ढङ्गबाट निर्वाह गर्न सहयोगीसिद्ध हुने नै छ । तत्कालीन सङ्कटको परिस्थितिमा भएको घटना सम्बन्धमा तीन महिनापछिसम्म पनि बहस कायम रहनु तथा विविध कोणहरूबाट विश्लेषण हुनु सुरक्षा सचेतनाको परिप्रेक्षमा सकारात्मक नै हो । नेपाली सेनाको भूमिकामा विभिन्न दृष्टिकोणबाट टिकाटिप्पणी तथा प्रश्नहरू आए । देशमा आइपरेको अकल्पनीय सङ्कटको अवस्थालाई पार लगाउने क्रममा राज्यको प्रमुख सुरक्षा अङ्गले खेलेको भूमिकाको सम्बन्धमा भएका टिकाटिप्पणी बारेमा यहाँ थप स्पष्ट पारिएको छ ।

    संवैधानिक दायरा र नागरिक सर्वोच्चता

    नेपालको संविधानले नेपाली सेनालाई पूर्णतः नागरिक सर्वोच्चता र निर्वाचित सरकारको अधिनमा राखेको छ । सेनाको परिचालन, भूमिका र सीमा स्पष्ट छन् । कार्यपालिकाको निर्णयबिना सेना आन्तरिक सुरक्षामा स्वतः प्रवेश गर्न सक्दैन । यही संवैधानिक मर्यादाले नेपाली सेनालाई आज पनि देशकै सबैभन्दा विश्वसनीय संस्था बनाएको हो । यो नेपाली सेनाको संविधान र लोकतान्त्रिक शासन प्रणालीप्रतिको सम्मान पनि हो । यदि सेनाले कार्यपालिकाको स्पष्ट आदेशबिना हस्तक्षेप गरेको भए र २४ गते थप नागरिकको मृत्यु भएको भए परिस्थिति सम्हालिन कठिन त हुने नै थियो । बिनाआदेश आफैँ परिचालन भयो भनी त्यसको दोष पनि सेनामाथि नै पर्ने थियो ।

    गत भदौ २४ मा तत्कालीन अवस्थाले उच्च जोखिममा परेका विशिष्ट व्यक्तिहरू, कूटनीतिज्ञ तथा सर्वसाधारणको जीवन रक्षा नेपाली सेनाको पहिलो दायित्व बन्यो । जीवन रक्षा कुनै व्यक्ति विशेषको संरक्षण होइन, यो राज्यको आधारभूत कर्तव्य हो । भदौ २४ मा अवस्था अझ व्यापक र अराजक बन्दा जीवन जोगाउने प्राथमिकतासहित संयमित रुपमा उपस्थित भयो सेना । उक्त दिन कुनै अकल्पनीय घटना भएको भए त्यसले निम्त्याउने थप द्वन्द्व र अस्थिरतातर्फ पनि गहिरिएर विचार पुर्याउनु पर्दछ । भौतिक पूर्वाधार महत्त्वपूर्ण भए पनि जीवनभन्दा माथि कदापि हुँदैन । मानवीय क्षतिको मूल्यमा भौतिक संरचना जोगाएको भए पनि फेरि प्रश्न उठ्ने पक्का थियो कि, सेनाले सिंहदरबार जोगाउन जनतालाई किन गोली हान्यो रु सर्वसाधारण व्यक्तिहरूले पनि कठिन परिस्थितिमा सेनाले तत्काल सहयोग र उद्धार गरेको अनुभव सार्वजनिक गरेकै छन् । नेपाली जनताको जीवन रक्षालाई नै पहिलो प्राथमिकता दिएको थियो । भूकम्पजस्तो विपद्का समयमा मानिस घर÷सम्पत्ति छोडेर किन खुला ठाउँमा निस्कन्छन् रु यो पनि विचारणीय छ ।

    विश्वसनीयताको मेरुदण्ड, नागरिक सरकारको आदेशमा आधारित कार्यप्रणाली

    आन्तरिक दङ्गा नियन्त्रणमा प्रहरी र सशस्त्र प्रहरी बल नेपाल अग्रपङ्क्तिमा रहने संवैधानिक व्यवस्था छ । सेना अन्तिम उपायका रूपमा रहन्छ । यही विभाजनले लोकतन्त्रलाई सुरक्षित राख्छ । सोहीअनुसार आवश्यकताको सिद्धान्तले छिटोभन्दा छिटो पहलता लिई सेनाले उद्धार, मानवीय सहायता र संवेदनशील स्थानको संरक्षणमा संयमित भूमिका खेलेकै थियो । अप्रत्याशित रूपमा विकसित घटनाक्रममा सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद नेपाली सेनाले सङ्कटको व्यवस्थापन गरेको कुरामा पर्याप्त सार्वजनिक बहस भएकै छन् ।

    सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरु आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै हो, जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । अन्ततः निर्णयको अधिकार कार्यपालिका र सम्माननीय राष्ट्रपतिको नै रह्यो र सेनाले त्यसलाई सम्मान ग¥यो । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।

    पृथ्वीनारायण शाहको तस्बिरः राष्ट्रिय एकताको प्रतीक

    भदौ २४ गते सेना प्रमुखको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर देखिनुलाई विभिन्न ढङ्गबाट आलोचना गरेको देखिन्छ । पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता र राष्ट्रिय एकताको प्रतीक हुन् भन्नेमा कोही पनि सच्चा नेपाली जनताको दुईमत नहोला । राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि रहेको नेपालको ऐतिहासिक पहिचान हुन् । सङ्कटको क्षणमा राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराउनु कुनै राजनीतिक सन्देश होइन, राष्ट्रिय चेतनाको आह्वान हो । त्यस सन्दर्भमा सेनाको नेतृत्वले एकताको सन्देश दिने प्रयास गर्नु सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम गर्नु पर्दछ भन्ने सन्देश थियो ।

    सेनाको विश्वसनीयता र प्रतिबद्धता

    इतिहासतर्फ फर्केर हेर्दा आजको दिनसम्म नेपाली सेनाले कहिल्यै सत्ता हस्तक्षेप गरेको छैन । बरु, संवैधानिक सङ्क्रमणको समयमा संयम र अनुशासित भई नागरिक सर्वोच्चताको पक्षमा उभिएको छ । इतिहासकालदेखि हालसम्म नेपालमा भएका परिवर्तनहरूलाई सेनाले आत्मसाथ गर्दै आएको छ । संयुक्त राष्ट्र सङ्घका शान्ति मिसनहरूमा निरन्तर सहभागी हुँदै फौज खटाउने राष्ट्रहरुको सूचीमा अग्रस्थानमा रहेको नेपाली सेनाले आफ्नो व्यावसायिकता, मानवअधिकारप्रतिको प्रतिबद्धता र अन्तरराष्ट्रिय विश्वसनीयता प्रमाणित गरेको छ । सेनामा राजनैतिक महत्वाकाङ्क्षा पटक्कै देखिँदैन । तत्कालीन राजनैतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वाकाङ्क्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र ?

    वर्तमान राष्ट्रिय सुरक्षा र आगामी निर्वाचन

    आज देश निर्वाचनको दिशामा अघि बढिरहेको छ । यस्तो समयमा संस्थागत धैर्य, सुरक्षा संयन्त्रबीच स्पष्ट कार्यविभाजन र सबै निकायका नेतृत्वहरुको जिम्मेवारी महत्त्वपूर्ण रहेको छ । सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र अन्य सरोकारवाला निकायहरुसँग समन्वय गर्दै संवैधानिक आदेशअनुसार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नजिकिँदै गएको निर्वाचनलाई भयरहित ढङ्गबाट सुसम्पन्न गर्न आम जनसमुदायसहित सबै एकजुट हुनु पर्दछ ।

    अन्त्यमा, गत भदौ २३–२४ गतेको जटिल परिस्थितिमा सेनालगायत सबै सुरक्षा निकायको भूमिकाको सन्दर्भमा नागरिक वृत्तमा सकारात्मक छलफल तथा बहस गरी सुझाव दिनुलाई राम्रै मान्नुपर्छ । सोहीअनुसार सेनाले आन्तरिक रूपमा उक्त कार्य गरेकै छ । यद्यपि परिस्थितिको सतहीभन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा रहन्छ । सङ्कटको समयमा राष्ट्रिय सुरक्षाका अङ्गहरूबीच थप आपसी समन्वय, सद्भाव र सहकार्य हुनु जरुरी छ । उक्त घटनाक्रममा सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको छ । तत्कालीन परिस्थितिमा न त हस्तक्षेप गरेको छ, न कुनै राजनीतिक महत्वाकाङ्क्षा राखेको छ । जीवन रक्षालाई सधैँ प्राथमिकतामा राख्यो, संयमता अपनायो र अन्ततः निकास प्रक्रियाबाटै खोजियो । सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ । रासस

  • लुम्बिनी राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक

    लुम्बिनी राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक

    काठमाडौं, पुस ७-
    लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयले सरकारी गाडी सन्चालनमा रोक लगाएका छन् ।

    अमेरिकाको एमसीसी परियोजना अन्तर्गत एमसीए नेपालले दुई लेनमा स्तरोन्नति गर्न लागेको धानखोला–लमही सडकखण्ड चार लेनमा बिस्तारको माग गर्दै स्थानीयले सरकारी गाडी सञ्चालनमा रोक लगाएका हुन् ।

    धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीले माग सम्बोधन नभएसम्म आज पुस ७ गतेदेखि यो महिनाभर प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन नदिने बताए ।

    शाहीको नेतृत्वमा केही युवाहरु लुम्बिनी प्रदेश राजधानी गेट, राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक केन्द्र मुख्य प्रवेश क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

    लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रमा प्रस्तावित दुई लेनको धानखोला–लमही सडक खण्डमा एमसीसी परियोजना अन्तरगत एमसीए नेपालले साविकको ७ मिटर चौडा सडकलाई दायाँ–बाँया २.५/२.५ मिटर थपेर १२ मिटर मात्र सीमित गरी उही २ लेनकै सडक बनाउन खोजेको भन्दै स्थानीय विरोधमा छन् ।

    यसअघि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट स्थानीय संघर्ष समितिका प्रतिनिधिसहित काठमाडौं आएर भौतिक पूर्वाधार, यातायात र सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाएर माग सम्बोधनका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

    तर एमसीसी परियोजना अनुसार काम हुन लागेकाले यसमा आफूहरुले भने अनुसार नहुने जवाफ कुलमानले दिएका थिए ।

  • सुनको मूल्य तोलाको २ लाख ६१ हजार भन्दामाथि

    सुनको मूल्य तोलाको २ लाख ६१ हजार भन्दामाथि

    काठमाडौँ, पुस ७-
    नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

    महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।